Friday, 25 July 2014

त्यो रात...

यो घटना आजभन्दा धेरै अगाडिको भए पनि मलाई हिजो अस्ति घटेजस्तो लाग्छ I त्यतिबेला हामी किर्तिपुरको ट्याङ्गलाफाँटमा बस्थिउं I ट्याङ्गलाफाँटको बाटोको कुरा के गर्नु र?  हिउँदमा त ठिकै हो, तर बर्षामा अति बिजोग हुने! सधैं हिलो ग्याज ग्याज ! हिलो बाटो काटेर सुख्खा ठाउँमा पुग्नका लागि मानिसहरु जुत्ता हिलोले नपुरियोस भनेर जुत्ता लगाएको ठाउँदेखि घुंडासम्म टनटनी प्लास्टिक बाँध्थे I

म त्यतिबेला काठमाण्डौ शिक्षा क्याम्पसमा पढाउंथें I त्यहाँ राती पढाई हुन्थ्यो I श्रीमानको राइजिङ्ग नेपालमा काम सकिने समय र मेरो क्लास सकिने समय करिब करिब उस्तै भएकाले हामी उंहाको बाइकमा संगै घर फर्कने गर्थेउँ I त्यो बर्षाको एक रात थियो I श्रीमानलाई हिले बाटो कटाएर घरसम्म बाइक पुरयाउनु, त्यसमाथि मलाई सुरक्षित पछाडी बसाएर, अति नै चुनौतीपूर्ण थियो I एकदमै होशियार भएर उँहा सबभन्दा कम गतिमा बाटाको छेउ छेउबाट बाइक लाँदै हुनुहुन्थ्यो I म "कहिले यो हिलो कट्छ र बाइक बाट वर्लिनु," भन्ने सोच्दै डराएर पछाडी बसेकी थिएँ I

अलि अगाडि बढेपछि, होस् गर्दा गर्दै, बाइकको सन्तुलन बिग्रियो I मैले श्रीमानले "ला... !" भन्नुभएको सुनें I अनायास मेरो मुखबाट, "गइयो ?" भन्ने शब्द निस्कियो I उँहाले पनि, "गइयो...," भन्नुभयो I त्यसपछि मेरो सबै होस् हरायो, म चेतनाशून्य भएँ I जब होस् आयो, तब मैले आफूलाई बाटोभन्दा करिब २० फीट तलको धान खेतमा पसारिएको अबस्थामा पाएँ I चारैतिर अँध्यारो थियो I सबै घटनाक्रम सम्झिनलाई मलाई केहीबेर लाग्यो I आफ्नु चेतना पूर्ण रुपमा फर्केपछि म बिस्तारै उठेर बसें I आँखा च्यातेर वरिपरि हेरें I मभन्दा अलि पर्तिर गोडा पसारेर बसिरहनु श्रीमानजीको छायाँ देखें I उहाँले बिस्तारै हात लम्काएर मलाई छाम्छुम पार्न थाल्नुभयो I त्यस्तो संकटको घडीमा नि मलाई हाँस उठ्यो I मैले हाँस्दै सोधें, "मरी कि ज्यूँदै छ, भनेर छाम्नु भएको?" उहाँले मलीन स्वरमा, "अँ," भन्नुभयो I

केहीबेर त्यत्तिकै बसेपछि श्रीमानलाई बाइकको सम्झना आएछ I "बाइक खोइ त?" भन्दै उहाँले यता उता हेर्नुभयो I त्यतिन्जेलमा हाम्रा आँखा अँध्यारोमा अभ्यस्त भैसकेका थिए I हाम्रो बाइक त बाटोको भित्तामा पलाएको तितेपातीको सानु र कम्जोर झ्यांगमा पो अड्किएको रहेछ ! बाफ रे! त्यो बाइक तितेपातीको झ्यांगमा नथामिई हामी संगसंगै खसेको भए त किचेर ठहरै मार्ने रहेछ नि! त्यो धान खेतमा कुनै चुच्चो ढुंगा, शिशा अथवा किल्ला भएको भए, र मेरो हेल्मेट नलगाएको टाउको त्यहीं जोतिएको भए! यस्ता कल्पनाले मेरो मन सिरिङ्ग सिरिङ्ग हुन थाल्यो! धन्न त्यहाँ हिलो मात्र थियो!

हामीमा त्यहाँबाट उठेर हिंड्ने शक्ति आइसकेको थिएन I कहाँ गएर हो हाम्री भतिजी रिचा पनि अलि ढिलै घर  फर्कदै रहिछ I तितेपातीको झाङ्गमा काकाको बाइक देखेर उसलाई उदेक लागेछ र ऊ निहुरी निहुरी, "काका... काका...," भन्दै बोलौंदी रहिछ I बीस फीट तलबाट मैले "रिचा...!" भनेर बोलाएको सुन्दा एकछिन त उसको हंग्सले पनि ठाउँ छोडेछ I मेरो आवाज पछयाउंदै केहि बेरपछि ऊ  हामी भएको ठाउँमा आइपुगी I दुर्घटनाग्रस्त काका र सानिमाका कुरा सुनीI अनि हामीलाई लिएर घर गई I

घरको उज्यालोमा पो देखियो, म त शिरदेखि पैतालासम्म पुरै हिलै हिलो पोतिएर हिले माछो जस्ती भएकी
रहेछु I त्यसैले त ठुली भतिजी सेवा मलाई देख्नेबित्तिकै, "आमा...! सानिमा, के भयो?" भन्दै अत्ताल्ली I हल्ला र खल्ला सुनेर दिदि भिनाजु पनि बाहिर आउनुभयो I हाम्रा कुरा सुनेर सबैजना डराउनुभयो I

मलाई लाग्छ, त्यो रात मान्छेको कल्पनाभन्दा धेरै बाहिरको कुनै अदृश्य शक्ति आएर हामीलाई बंचाएको थियो I नत्र साधारण अवस्थामा २-३ किलोको तितेपातीको झ्यांगले ८०-९० किलोको मोटरसाइकल थाम्न सक्छ र? अनि त्यत्रो भीरबाट सिधै तल पछारिंदा कतै, केहीमा नठोक्की, कुनै ठुलो चोट पटक नलागी सर्लक्क उम्किने सम्भावना कत्तिको हुन्छा? एकचोटी मेरी माइली दिदीको सानु छोरो ऋषभ खेल्दाखेल्दै  कता हो कारमुनि पसेको थियो अरे I धन्न उसलाई केहि भएनछ! पछि त्यस्तो कुरो सुन्दा मुवांले रिसाउँदै सान्दिदीलाई हकार्नु भएको थियो, "ए रंजी! त्यो छोरोलाई राम्ररी हेर्नु पर्दैन? त्यो बालखलाई कारले किचेको भए तँ के गर्थिस?" सान्दिदिले चाहिं केहि नभए जस्तो गरेर आरामले जवाफ दिनुभएको थियो, "आ... के हुन्छ र? काल नआई केहि हुँदैन! भगवानले हात थापिहाल्नु हुन्छ नि!" सान्दिदिको जस्तो सजिलो तर्कसंग म  पूर्णतः सहमत नभए पनि हाम्रो त्यो दुर्घनाग्रस्त रातमा भने भगवानले पक्कै हात थापिदिएको कुरामा म विश्वस्त छु I





No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).