हामी सहकर्मीहरु बसेर गफ गर्ने सिलसिलामा एकदिन ‘सेवानिवृत्त’ जीवनको बारेमा कुरा चल्यो । कसैले भने, ‘रिटायर्ड भएपछि त के काम गर्नु र ? चूपचाप घरमा बस्यो, खायो, सुत्यो ।’ कसैले यसको प्रतिवाद गर्दै भने, ‘रिटायर्ड भएपछि त यो नियमित जागीरबाट छुटकारा पाइन्छ । अनि आफूले यतिन्जेल चाहेर पनि गर्न नसकेका कामहरु कुनै वाधा व्यवधानबेगर गर्ने नि !’ यसै क्रममा एकजनाले बडो घतलाग्दो कुरा सुनाए । उनले भने— ‘रिटायर्ड हुनु भनेको कामै नगरी घर बस्नु भनेको होइन नि ! यसको मतलब त री–टायर हो नि ! अथवा हाम्रो दैनिकीको पुरानो टायर फेरेर नयाँ टायर लगाउनु हो !’ उनका यस्ता कुराले मेरो मन छोयो । हो त नि, हाम्रो जीवनको एउटा कालखण्डको अन्त्यपछि शुरु भएको अर्को खण्ड हो सेवानिवृत्त जीवन । जुगाड गर्दै गर्दै धेरै समय चलेको गाडीको पुरानो टायर फेरेर नयाँ टायर हालेपछि गाडी जुन गतिमा कुद्न थाल्छ, कतिपय व्यक्तिहरु रिटायर्ड भएपछि पहिलेभन्दा सकृय भएर आफ्नो जीवनमा अगाडि बढ्छन् । आफ्ना अधूरा सपनाहरु पूरा गर्छन् र चर्चित पनि हुन्छन् ।
जब जीवनको दोस्रो खण्डमा कुनै नयाँ काम गरेर त्यसैमा कीर्ति स्थापित गर्ने व्यक्तिका कुरा आउँछन् , म सबभन्दा पहिले फ्र्यान्सिस म्याकोर्ट अर्थात् फ्र्याङ्क म्याकोर्टलाई सम्झिन्छु । उनको जन्म न्यूयोर्कको ब्रुकलिन भन्ने ठाउँमा सन् १९३० मा भएको थियो । उनका मातापिता आयरल्याण्डबाट बसाइ सराइ गरी अमेरीका पुगेका थिए । पेशाले उनी माध्यमिक विद्यालयमा अध्यापन गर्ने एक साधारण शिक्षक थिए । न्यूयोर्कका विभिन्न ३३ वटा विद्यालयमा उनले सिर्जनात्मक लेखन विषय पढाए । उनको पढाउने शैलीलाई त्यो बेलाको शिक्षण प्रणाली मुताविक काम गर्ने व्यक्तिहरुले खासै रुचाएनन् । त्यसैले त उनी एक विद्यालयदेखि अर्को विद्यालयमा भौंतारिइरहे । वास्तवमा उनी तत्कालिन शिक्षा प्रणालीमा फिट हुन सकेनन् । यसको मुख्य कारण म्याकोर्टले आफ्नै शिक्षण पद्धति प्रतिपादन गरेका थिए । पाठ्यपुस्तकमा दिएका विषयवस्तुमा भन्दा उनको चाख विद्यार्थीहरुका अनुभवमा बढी थियो । त्यसैले उनी यिनै अनुभवका आधारमा आफ्ना पाठ्य सामग्री बनाइ अध्यापन गर्थे । उनले हुबहु आधिकारिक पाठ्यक्रम अनुसार नपढाए पनि विद्यार्थीहरु उनको शिक्षण शैलीबाट सन्तुष्ट थिए । फ्र्याङ्क म्याकोर्ट आफ्नो पेशामा रहुन्जेल गुमनाम शिक्षक थिए । उनलाई सीमित परिवेशका मान्छेले बाहेक कसैले चिन्दैनथ्यो ।
तर जब उनी सेवानिवृत्त भए, उनले आफ्नो सिर्जनात्मक लेखाइको सीपलाई पुस्तक लेखनमा लगाए । उनकोे जीवनको दोस्रो काल खण्डले म्याकोर्टलाई विश्वप्रसिद्ध बनायो । उनको पहिलो पुस्तक ‘एन्जेलाज् यासेज्’ सन् १९९६ मा प्रकाशित भयो । यसबेला उनको उमेर ६६ वर्ष भैसकेको थियो । यसैगरी दोस्रो पुस्तक ‘इट इज: अ मेमोइर’ सन् १९९९ मा र तेस्रो पुस्तक ‘टिचर म्यान’ सन् २००५ मा प्रकाशित भएका थिए । उनको पुस्तक ‘एन्जेलाज् यासेज’ ले सन् १९९७ मा ‘पुलिट्जर प्राइज’ पाएको थियो । यो पुस्तकमा उनले आफ्नी आमा एन्जेला र आपूmहरुले आयरल्याण्डमा हुँदा भोगेको चरम गरिबीको बारेमा लेखेका छन् । म्याकोर्टको जन्म अमेरीकामा भएपनि उनी ४ वर्षका भएपछि उनीहरुको परिवार पुनः आयरल्याण्ड फर्केको थियो । त्यसैले उनको बाल्यकाल त्यहीँ बितेको थियो । यो पुस्तकमा आधारित चलचित्र पनि बनेको छ । यसरी आफ्नो जीवनको उत्तरार्धमा नै फ्र्याङ्क म्याकोर्ट चर्चित भए । आज संसारले उनलाई एक प्रख्यात लेखकको रुपमा चिन्छ । उनको सन् २००९ मा भौतिक रुपमा मृत्यु भएता पनि उनी आफ्ना कृतिमा अमर छन् ।
फ्र्याङ्क म्याकोर्टजस्तै जीवनको उत्तरार्धमा चर्चित भएकी अर्की व्यक्तित्व हुन्— एना म्यारी रोबर्टसन् मोसेज अर्थात् ग्रयान्मा मोसेज । उनको जन्म सन् १८६० मा अमेरीकामा भएको थियो । उनी एक प्रख्यात चित्रकार थिइन् । आश्चर्यको कुरा, उनले आफ्नो पहिलो चित्र ७८ वर्षको उमेरमा बनाएकी थिइन् । ढल्किंदो उमेरमा नयाँ पेशाको थालनी गरे पनि उनी त्यो पेशामा सफल भइन् र नाम कमाइन् । अमेरीकाबाट प्रकाशित हुने ‘टाइम’ पत्रिकाले सन् १९५३ मा उनको बारेमा छापेपछि उनको प्रसिद्धि चुलिएको हो । त्यो समयमा विभिन्न टेलिभिजन कार्यक्रममा उनको चर्चा हुने गथ्र्यो ।
वास्तवमा ग्रयान्मा मोसेजको पूर्वार्धको जीवन निकै संघर्षपूर्ण थियो । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी १२ वर्षको उमेरदेखि नै अर्काको घरमा काम गर्न बसेकी थिइन् । यस्तो काम गरेर उनले १५ वर्ष बिताइन् । आफ्नो विवाहपश्चात् उनी आफ्ना श्रीमान्सित खेतीबारीको काममा व्यस्त भइन् । उनको बाल्यकालदेखिको सपना भने चित्र बनाउनु नै थियो । घर व्यवहारको कामले ओझेलमा परेको त्यो सपनालाई मूर्त रुप दिन ग्रयान्मा मोसेले ७० को दशक पार गर्नु प¥यो । खुशीको कुरा, उनी यसमा पूर्ण रुपमा सफल भइन् । अहिले उनले बनाएका चित्रहरु संसारमा विभिन्न संग्रहालयहरुमा संग्रहित छन् । सन् १९६१ मा उनको मृत्यु भयो । त्यो बेला उनी १०१ वर्षकी थिइन् ।
जीवनको पहिलो खण्डमा असफलता नै असफलताको सामना गर्ने कर्णेल हारल्याण्ड स्यान्डर्सले ६५ वर्षको उमेरपछि मात्र सफलताको स्वाद चाख्न पाए । आजको समयमा ‘केएफसी’ को नाम नसुन्ने मान्छे यो संसारमा विरलै होलान् । यसको पूरा नाम ‘केन्टुकी फ्राइड चिकन’ हो । यो खाद्य सामग्रीलाई स्थापित गराउन स्यान्डर्सले धेरै नै पापड बेल्नुपरेको थियो । उनले आफ्नो उर्वर समयभरि विभिन्न किसिमका नोकरीबाट अस्विकृति खेपे, व्यापारमा घाटा सहे, सधैँ उनलाई आर्थिक तङ्गी थियो । हुँदा हुँदा ६५ वर्षको उमेरमा उनी टाट पल्टिए । तैपनि उनले आफ्नो तारेको कुखुराको मासु पकाउने विधिलाई व्यापारीकरण गर्न छोडेनन् । यही क्रममा १,००९ पटकसम्म अस्विकृतिको सामना गरेपछि बल्ल एउटा रेस्टुरेन्टले उनको केएफसी रेसिपि किन्यो । त्यसपछि यो बिस्तारै चर्चित हुँदै गयो । आज संसारभर यो खाद्य पदार्थ प्रचलित छ । कर्णेल हारल्याण्ड स्यान्डर्सको जन्म सन् १८९० मा अमेरिकामा भएको थियो । उनी ९० वर्षको उमेरमा सन् १९८० मा यो संसारबाट बिदा भए पनि अमर छन् ।
यहाँ वर्णन गरिएका तिनैजना व्यक्तिले उमेर भनेको खालि संख्या मात्र हो; यसले मानिसको सकृयता र सफलतालाई मापन गर्न सक्तैन भन्ने कुरा प्रमाणित गरेका छन् । यी केवल केहि उदाहरण मात्र हुन् । हामीले खोजी गर्यौं भने अरु थुप्रै यस्ता मानिस भेटिन्छन् । हाम्रो समाजमा पनि जीवनपर्यन्त सकृय जीवनशैली अपनाउने व्यक्तिहरु छन् । तैपनि अधिकांशमा के धारणा छ भने सेवानिवृत्त हुनु भनेको आफूमा भएको उर्वरता समाप्त हुनु हो । यो कुरामा कुनै सत्यता छैन । एक किसिमले आफ्ना सम्पूर्ण जिम्मेवारीहरु पूरा गरिसकेको यो समय भनेको स्वतन्त्रताको उपभोग गर्ने समय हो । व्यवहारिक झन्झटमा फँसेर पूरा हुन नसकेका आफ्ना कतिपय अधूरा र अपूरा सपना, चाहना र इच्छा पूरा गर्ने समय हो । कसलाई के थाहा, लगनशील भएर आफूलाई मन पर्ने काम निरन्तर गरिरहँदा हामीमध्ये पनि कोही फ्र्याङ्क म्याकोर्ट, ग्रयान्मा मोसे अथवा हारल्याण्ड स्यान्डर्सजस्तै विश्वभरि प्रसिद्ध भइ पो हाल्छौँ कि ? उनीहरुको स्तरको सफलता हासिल गर्न नसके पनि हामी आत्मसन्तुष्टि र आत्मविश्वासका साथ आफ्नो उत्तरार्धको जीवन व्यतीत गर्न भने पक्कै सक्छौँ ।
(जेष्ठ नागरिक द्वैमासिक पत्रिकाको आश्विन - कार्तिक २०८२ अंकमा प्रकाशित)

