Friday 24 March 2023

ट्वाइलेट कथा

 

 

मलाई लाग्दैनथ्यो कुनै दिन कलम समातेर म ट्वाइलेटको कथा लेख्न बस्नेछु । अहिले यो लेख लेख्दै गर्दा मलाई आफूले ४÷५ वर्षअगाडि हेरेको हिन्दी चलचित्र ‘ट्वाइलेट एक प्रेम कथा’ को पनि सम्झना भैरहेछ । यो चलचित्र खासगरि भारतको ग्रामीण क्षेत्रमा ट्वाइलेटको अभावमा महिलाहरुले भोग्नुपर्ने समस्याका वरिपरि घुमेको छ र त्यही विषयवस्तुभित्र चलचित्रका नायक र नायिकाको प्रेम पनि अटाएको छ ।


मेरो ट्वाइलेट कथा भने ठीक यसको विपरित छ, अर्थात् ट्वाइलेटसँगै उब्जेको कथा । कथा शुरु गरौँ है त । यसपालीको होलीको छुट्टीमा मलाई झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङ्गसम्मको यात्रा जुरेको थियो । यो यात्रा पारीवारिक र साहित्यिक यात्राको सम्मिश्रण थियो । चालक भाइसमेत जम्मा एघारजना यात्रु सम्मिलित यो यात्रा ५ दिनको थियो । शनिबार बिहान भालेको डाकसँगै, दमक १, भाङ्बारीबाट हाम्रो यात्रा शुरु भयो ।

सुरुङ्गामा पुगेपछि चिया खान हामी रोकियौँ । काठमाडौँबाट आउनुभएकी एकजना सहयात्री बैनीले झापाको भक्काको कुरा मात्रै सुनेको तर यो के कस्तो हुन्छ नदेखेको कुरा गर्नुभएको थियो । “मेम, मैले हजुरको ‘भक्कावालीका पक्का गफ’ आर्टिकलमा भक्काको बारेमा पढीँ । यसपाली त भक्का चाख्नी है,” उहाँले लमजुङ्गे लवजमा आफ्नो इच्छा व्यक्त गर्नुभएको थियो । त्यसैले हाम्रो टोली पहिले भक्कामा भिड्यो । एकैचोटि एघारजना भक्का पाकिरहेको भाँडो वरिपरि झुम्मिँदा भक्का पकाउने बैनी पनि एकछिन त आत्तिए झैं गरिन् । तर एकैछिनमा स्थिति सम्हालिन् र हामी सबैलाई पालैपालो तात्तातो भक्का ख्वाउन भ्याइन् । त्यसपछि चिया पिइयो । अर्को बिसौनीमा पुग्नुअगाडि गर्नुपर्ने अन्तिम काम रह्यो— ट्वाइलेट गइ हल्का हुने । प्रायः चियाखाजा अथवा खाना खाने ठाउँमा ट्वाइलेट हुने गर्छ । तर सुरुङ्गाको चिया पसलेले हामीलाई करीब पचास मीटर पर भएको पब्लिक ट्वाइलेट देखाइदियो । तिनै लमजुङ्गे बैनी, म र मेरी जेठानी दिदी पहिलो लटमा गयौँ ।

बिहानै थियो, सबैतिर सुनसान । हामीले बाहिरफेर हे¥यौँ, कोही देखिएन । आफ्नो काम सकेर हामी फर्कदैँ थियौँ । पछाडिबाट एउटा तीखो स्वरले टोकस्यो, “खोई पैसा दिएको ?” छक्क पर्दै हामी पछाडि फर्कियौं । यसो पालेघरजस्तोको सानो झ्यालमा एउटी १४÷१५ वर्षकी केटीको अनुहार देखियो । हामीले मुखामुख ग¥यौँ । संयोगवश् कसैले खुद्रा पैसा बोकेको रहेनछ । “कति हो एकजनाको ?” मैले सोधेँ । “दश रुपैयाँ,” उसले च्याँट्ठिएरै जवाफ दिई । “पिसाब मात्रै फेरेको नि दश रुपैयाँ ?” जेठानी दिदीले पनि कडै स्वरमा सोध्नुभयो । केटीले हामीलाई आँखा तरी र भुत्भुताउन थाली, “पैसा दिएर मात्र जानू है ! ट्वाइलेट गएपछि पैसा तिर्नुपर्दैन ?...” यस्तै यस्तै । मसँग हजारको नोट थियो । मैले सोधेँ, “हजारको साट्ने छ ?” उसले फेरि रिसाएको अनुहार लगाई । लमजुङ्गे बैनी, “ला, अब हामी ट्वाइलेटको बन्दी भयौँ ! क्यार्ने ?” भन्दै ठट्टा गर्न थाल्नुभयो । मैले श्रीमानलाई फोन लगाएँ । फोन उठे पो ! हामी आफ्नै सुरमा अब के गरेर पैसा मागी ल्याउने अथवा त्यही केटीलाई नै उता लगेर पैसा दिने कि भनी छलफल गर्दै, आफ्नो अवस्था देखेर हाँस्दै थियौँ । अचानक केटी बाहिर निस्किई र च्याँट्ठिई, “पैसासैसा नतिरी, हिँ...हिँ... हाँस्तै जान लाज लाग्दैन ?” हामीले नतिर्ने त भनेकै थिएन । सारै पो गाली गरी यसले त । जेठानी दिदीको नि पारा तातेछ । उहाँ पनि कस्सिनुभो, “लाग्दैन लाज हामीलाई...!” खानेजति गाली खाइहालियो ल जाउँ अब भनेर हामी हिँड्यौँ । यता हाम्रा सहयात्रीहरु भने कत्रो बेर लगाएको भनेर गनगनाउन थाले । हाम्रा कुरा सुनेर कसैले पनि त्यो ट्वाइलेटमा जान मन गरेन । अब अर्कै ठाउँमा जाउँला भनी हामी सबै गाडीमा चढ्यौँ ।


    हाम्रो पहिलो दिनको यात्रा फिदिमसम्मको थियो । त्यसैले हामीले बिहानको खाना इलामको बिब्ल्याँटेमा खाने निधो गरेका थियौँ । त्यहाँ पुगेर यसो वरपर खोजेर, एउटा राम्रो र सफा देखिने होटलमा पस्यौँ । फेरि पहिलो नम्बरमा त ट्वाइलेटमा नै जानु थियो ! त्यहाँको ट्वाइलेटमा लेखिएको भाषाले हामी सबैको ध्यान खिच्यो । संसारका धेरै ठाउँ घुमियो तर ट्वाइलेटको यस्तो नाम कतै देखिएको थिएन । एउटा ट्वाइलेटमा ‘ट्वाइलेट किङ्’ र अर्को ट्वाइलेटमा ‘ट्वाइलेट क्वीन’ लेखिएको थियो । आहा ! त्यो देख्दै कस्तो ‘गुड फिलिङ्’ आउने ! यो होटलवालाको शायद ग्राहकहरुलाई सम्मान गर्ने शैली थियो । हो नि त, हामी सबै आफ्नो आफ्नो संसारका राजा रानी नै त हौँ । ट्वाइलेटमा पस्दा पनि आफूलाई राजा अथवा रानीको जस्तो अनुभूति हुने । सुरुङ्गाको ट्वाइलेटमा पैसा नभएर भिखारी भएको अवस्थाबाट बिब्ल्याँटेमा आएर रानी हुन पाएका थियौँ हामी । समयचक्र नि विचित्र छ ।

यो यात्राको अर्को ट्वाइलेट कथाको परिवेश भने फिदिमको हामी बास बसेको होटलको रहेको छ । फिदिममा हाम्रो एउटा साहित्यिक भेटघाट थियो दिउँसोतिर । थाकेका हामी साँझमा खाना साना खाएर आ–आफ्ना कोठामा छिरेका थियौँ । भोलिपल्ट बिहान करिब चार बजेतिर श्रीमानजीको मोबाइल फोनको घण्टी बज्दा म ब्यूझिएँ । हामीछेवैको कोठा कान्छी नन्द र उहाँका सुपुत्र भान्जा बाबुको थियो । दाजु बैनीको फोन वार्ताबाट थाहा भयो भान्जा बाबु बाथरुममा छिर्नुभएको रहेछ, धारामा पानी आएनछ । परेन त फसाद ! एकाबिहानै भएको हुनाले होटलका स्टाफ पनि बाहिरफेर देखिएका थिएनन् । मामाचाहिँले बल्ल बल्ल एउटा स्टाफलाई उठाउनुभएछ र बाथरुममा पानी नभएको कुराको जानकारी दिनुभएछ । अनि १० ÷ १५ मिनेटपछि मात्र बल्ल धारामा पानी झ¥यो । पछि कुरा बुझ्दा पो थाहा भयो भान्जा दीर्घशंका गर्न बस्नुभएको रहेछ । यसो धारा छाम्दा पानी गायब ! कत्रो आपत ! नौलो ठाउँ, अनि आफ्नो यस्तो अप्ठ्यारो अवस्था ! धन्न आमा कोठामै हुनुभएकीले भन्न पाउनुभयो । कहिले कहिले त होटल रुममा एक्लै पनि बस्नुपर्ने हुन्छ । त्यस्तो बेलामा आफू अभर परेका बेला ट्वाइलेटमा पानी नहुँदा चाहिँ के गर्नु होला ? होटलवालाले यस्ता कुरामा त बेलैमा सचेत हुनु नि !

यसरी यसपालीको भ्रमणमा पहिले कहिल्यै नभेटिएका नौला ट्वाइलेट कथा भेटिए । म यतिबेला उहिले उहिले आफू धनकुटाबाट नाइट बस चढेर काठमाडौँ गएको पनि सम्झँदैछु । त्यतिबेला बाटामा कतै ट्वाइलेट हुँदैनथ्यो । अँध्यारामा चालकले बाटोको छेउमा गाडी रोक्थ्यो र “लु है दिसा, पिसाब गर्न जानू । यसपछि गाडी रोकिँदैन नि,” भन्थ्यो । केटाहरु त दायाँ बायाँ लागेर उभिइहाल्थे । केटीहरुलाई महासमस्या । उनीहरुले २÷४ जनाको समूह बनाएर अलि पर जानुपर्ने र यसो झाडीमा छलिएर बस्नुपर्ने । हेड लाइट बाल्दै विपरित दिशाबाट अर्को गाडी आउँदा आफूले खप्नुपर्ने आपतको बयान कसलाई गर्नु र ? यो समस्या 'ट्वाइलेट एक प्रेमकथा' चलचित्रमा देखाइएजस्तै समस्या त हो !

हिजोआज भने लामो दूरीमा चल्ने गाडीहरु ट्वाइलेट भएकै ठाउँमा रोकिन्छन् र यात्रा तुलनात्मक रुपमा अलि सहज पनि भएको छ । जे होस्, मानव जीवन र ट्वाइलेटको निकट सम्बन्ध आदिकालदेखि नै छ र अनन्तसम्म रहिरहने छ । त्यसैले ट्वाइलेटका नयाँ नयाँ कथा पनि आइरहन्छन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 24 March 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Friday 17 March 2023

मनको घाम नअस्ताओस्

 

 

हिजोआज सामाजिक सञ्जालमा वरिष्ठ सिने कलाकार बी.एस्. राणाको परिवारको अवस्थाका बारेमा बनाइएका भिडीयोहरु भाइरल भइरहेका छन् । हुन त चार वर्षअगाडि कलाकार राणाको मृत्यु भएको बेलामा उनको परिवारसँग कात्रोसम्म किन्ने पैसा नभएकाले अन्य कलाकार मिलेर उनको अन्तिम संस्कार गर्न पैसा जुटाएको समाचार सञ्चार माध्यममा आएको थियो । त्यसपछि राणाको परिवार कता गयो, के गर्यो भन्ने केही समाचार आएन र मानिसहरुले बिस्तारै यो कुरा बिर्सँदै गए । अचानक यो परिवार अहिले फेरि चर्चाको शिखरमा छ ।


उनीहरुको दयनीय स्थितिको भिडीयो सार्वजनिक भएको एक हप्ता नबित्दै धेरै सहयोगी मनहरु कलाकार राणाको परिवारलाई पुनः स्थापित गर्ने कर्ममा जुटेका छन् । राणाका एक पत्नी, जेठी छोरी नन्दिनी र सुस्त मनस्थितिकी कान्छी छोरी आरती रहेका छन् ।

बी.एस्. राणाको परिवारको कथाले मलाई धेरै कुरा सोच्न वाध्य बनाएको छ । सर्वप्रथम त मानिसले आफ्नो भविष्यको लागि केही बचत नगरी कमाउन्जेल बेपर्वाह खर्च गर्दा जिन्दगी भयावह हुने रहेछ भन्ने कुराको राम्रो उदाहरण हो यो । राणालाई नजीकबाट चिन्ने एकजना कलाकारले त आफ्नो परिवारको बारेमा केही नसोच्ने बी.एस्. राणा ‘गैरजिम्मेवार’ व्यक्ति हुन् सम्म भनेका छन् । मर्ने त मरिहाल्छ । तर यदि परिवार त्यहि व्यक्तिमा आश्रित छ भने परिवारको बिजोक हुने रहेछ ।

राणाको मृत्युपश्चात् आफूले बाँची आएको सम्भ्रान्त जीवनलाई गरीबीको अन्धकारले छोपेपछि उनकी पत्नीले मानसिक सन्तुलन नै गुमाइन् । जेठी छोरी नन्दिनीको काँधमा यस्ती आमा र सुस्त मनस्थितिकी बहिनी आरतीको जिम्मेवारी आइपर्यो । नन्दिनीको अदम्य साहसले जो कोहीलाई पनि प्रभावित पार्न सक्छ । निराधार उनले कसरी चार चार वर्ष यो परिवारलाई समेटेर राख्न सकिन् होला ?

उनका कुरा सुन्दा उनी एक सकारात्मक सोच भएकी व्यक्ति जस्तो लाग्छ । आफ्नी आमाकी दिदी, उनकी ठूलीआमाले उनीहरुको खानपिन र घरभाडाको बन्दोबस्त गरिदिए पनि उनीहरुका अन्य अनगिन्ती अभावका खाडल देखिन्छन् । तर नन्दिनीलाई एकदिन यी सम्पूर्ण समस्याबाट पार पाइन्छ भन्ने पूर्ण विश्वास भएजस्तो लाग्छ ।

अहिलेको परिप्रेक्ष्यमा आर्थिक मन्दीका कारण निराश भएर आत्महत्या गर्न पुगेका विभिन्न उद्यमी, व्यवसायीहरुका खबर हामी सुनिरहेका, पढिरहेका हुन्छौँ । यस्तो नैराश्यपूर्ण वातावरणमा नन्दिनीले पक्कै पनि आशा जगाएकी हुन् कि जस्तो लाग्छ । विगत चार वर्षभित्रै हामीले कोरोना काल खप्यौँ । त्यो समयमा उनले आफूमा पूर्ण आश्रित आमा र बहिनीको कसरी सुरक्षा गरिन् होला ? आफूलाई सहयोग गर्नुपर्ने आफन्त सबै टाढिँदा पनि यी महिलामा कुनै गुनासो देखिँदैन । यी आफूले गर्नसक्ने काममा निरन्तर लागि नै रहेकी रहिछन् भन्ने कुरा उनलाई सुनेपछि बुझ्न सकिन्छ ।

मुम्बईमा शिक्षादीक्षा पाएकी र राम्रो संस्कारमा हुर्किएकी नन्दिनी आफ्नो प्रतिकूल परिस्थितिबाट बिलकूलै विचलित भएजस्ती देखिन्नन् । आफ्नो जीवनमा एकदिन पक्कै सूर्य उदाउँछ भन्ने कुरामा उनी ढुक्क भएजस्ती सुनिन्छिन् । उनले प्रयोग गर्ने भाषा पनि उच्च स्तरको छ । एकजना पत्रकारसँग कुरा गर्ने र आफूसँग भएका सामान देखाउने क्रममा नन्दिनी पुरानो ट्याङ्काबाट “क्रोकरी” निकालेर देखाउँछिन् । यो शब्दको अर्थ नबुझेर पत्रकार अल्मलिन्छन् र पुनः के भन्नुभएको भनेर सोध्छन् । नन्दिनी उसले बुझ्ने भाषामा यो डिनर सेट हो जापानदेखि ल्याएको भन्छिन् । पहिले पहिले हाम्रो घरमा पार्टी भैरहँदा गेष्टहरुलाई यिनैमा खान दिइन्थ्यो भनेर उनी प्रष्ट पार्छिन् । यसबाट के देखिन्छ भने मानिसको हैसियत सधैँ एकै नासको भैरहँदो रहेनछ । कहाँ राजपरिवारको जस्तो ठाँटबाटमा आफ्नो पूर्वार्धको जीवन बिताएका बी.एस्. राणाका पत्नी र छोरीहरु उत्तरार्धमा आएर अरुको मुख ताक्ने स्थितिमा पुगेका छन् । यसबाट परिवारका दुई सदस्य विचलित भएका देखिन्छन् भने एकजनाचाहिँ आफ्नो परिवार जोगाउन कटिबद्ध भएर लागेकी देखिन्छिन् ।

नन्दिनी आफूलाई पनि आफ्नो बुबाजस्तै ठूलो कलाकार भएर नाम कमाउने इच्छा भएको कुरा व्यक्त गर्छिन् । फेरि उनी त्यसै कलाकारितामा हाम फाल्ने पक्षमा पनि देखिन्नन् । आफ्नो परिस्थितिमा सुधार आएपछि आमा र बहिनीको उपचार गर्ने र उनीहरु ठीक भएपछि आफू मुम्बई गएर अनुपम खेरको इन्स्टिच्यूटमा अभिनयसम्बन्धी तालीम लिने, अनि मात्रै कलाकारिताको क्षेत्रमा आउने भन्ने कुरा नन्दिनी आत्मविश्वासका साथ बताउँछिन् ।


हुन त उनलाई पनि समस्या नभएको होइन तर आमाको र बहिनीको समस्याका अगाडि आफ्नो भाँच्चिएको खुट्टाले दिने दुःख उनलाई नगन्य लाग्छ । नन्दिनीलाई सुनिरहँदा उनी चारदिवारबाट मुक्त भएर स्वतन्त्र जीवन बिताउन लालायीत भएकी जस्ती लाग्छ । तर उनी आफ्ना आमा र बहिनीलाई बिचल्लीमा छोडी आफ्नो कर्तव्यपथबाट बिमुख हुनेजस्ती पटक्कै छैनन् । उनको पहिलो प्राथमिकता भनेको परिवारका सदस्यलाई सामान्य अवस्थामा फर्काउनु नै छ । एकदिन यो सम्भव छ भन्ने कुरामा उनी ढुक्क भएजस्तो गर्छिन् । उनीहरुको जीवनको टुङ्गो लागेपछि मात्र आफ्नोबारेमा सोच्ने भन्ने भाव उनी व्यक्त गर्छिन् ।

यसरी मानिसको जीवन सधैँ एकनासको हुँदैन भन्ने कुराको उदाहरण कलाकार बी.एस्. राणाको परिवारले पेश गरेको छ । यो परिवारले चरम सुखभोग गर्यो । त्यसपछि कसैले कल्पना नै गर्न नसक्ने समस्या र अभावको दलदलमा यो परिवार फँस्यो । अहिले फेरि यो परिवारमा सुधारका संकेत देखिँदैछन् । उनीहरु मानिसका आँखामा परेका छन् । एउटा सामाजिक संस्थाले उनीहरुको उद्धार गरेको छ । उनीहरुको जीवनशैली परिवर्तित भएको छ ।

यो सबै कसरी सम्भव भयो त ?

मेरो विचारमा मुख्य रुपमा यो नन्दिनीको हिम्मतले गर्दा नै भएको हो । कुनै मान्छे आफ्नो वर्तमान परिस्थितिसँग विचलित भएर डगमगाउन थाल्यो भने अंग्रेजीमा ‘ह्याङ्ग इन देयर’ भन्ने गरिन्छ । यसको अर्थ के हो भनें हामीले मैदान छोडेर भाग्नु हुँदैन । यसको एउटा उदाहरणका रुपमा नन्दिनीलाई लिन सकिन्छ । आफ्नो परिस्थिति देखेर उनी पनि बेला बेला आत्तिइन् होला ! तर फेरि आफूलाई सम्हालेर कर्तव्यपथमा लागिरहिन् नन्दिनी । एउटा अन्तर्वाताका क्रममा उनले बाबूले उनलाई ‘हेड अफ द फेमिली’ बनाएको कुरा गरेकी थिइन् । उनले त्यो जिम्मेवारी यथासक्य निभाइन् पनि ।


विशेषतः कोरोनाकालपछिको समयमा धेरै मानिसहरु निराशातर्फ़ धकेलिएका समाचारहरु सञ्चार माध्यममा आइरहन्छन् । सबैको कारण भने एउटै छ— आर्थिक मन्दी । व्यापार व्यवसाय नचल्नु, करोडौँको ऋणको भारी आफ्नो टाउकामा हुनु र बैंकहरुले पैसा तिर्नका लागि बारम्बार ताकेता गरिरहनु । तर यस्तो प्रतिकूल समय सधैँभरि नरहने रहेछ । त्यसैले हामी जे जस्तो विषम परिस्थिति आए पनि हिम्मत नहारौँ । एकदिन यस्तो असहज समय सहज भएर आउनेछ । बी.एस्. राणाकी छोरी नन्दिनीले यहि कुराको पुष्टि गरेकी छन् ।


(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 17 March 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Friday 3 March 2023

खोई त कामको सम्मान?

 

 

मलाई कसैले ‘तिमीलाई सबभन्दा मन नपर्ने काम के हो ?’ भनेर सोध्यो भने म तुरुन्त जवाफ दिन्छु, ‘भान्सामा हल्लिने काम !’ मन नपरेर के गर्नु र ? पकाएर खानु त परिहाल्छ । त्यसैले म भान्सामा कमसेकम समय बिताउन चाहन्छु । मलाई पकाउन अल्छी लाग्ने होइन तर भान्सामा गरिने कामको कहिँ कतै लेखाजोखा नगरिने भएकोले मलाई पहिलेदेखि नै भान्सामा समय व्यतीत गर्नुपर्दा वितृष्णा पैदा हुने गर्छ ।


तर बिडम्बना के छ भने मन परोस् या नपरोस् प्रायः सबैजसो घरमा भान्साको जिम्मा लिने भनेको महिलाले नै हो । स्वेच्छाले पुरुष वर्गले सघाउन सक्छन् तर महिलाका लागि यो वाध्यात्मक भएको मैले देखेकी छु र अनुभव पनि गरेकी छु । जो महिला पैसा कमाउन बाहिर निस्कँदैनन्, उनीहरुले त झन् भान्सा मात्र होइन, पुरै घर नै सम्हाल्नुपर्छ । यस्तै घरायसी काम गर्ने महिलालाई मैले, ‘तपाईँ के काम गर्नुहुन्छ ?’ भनेर सोधेँ भने उनको उत्तर हुनेछ, ‘केही गर्दिन । यस्तै घरको काम मात्र हो ।’ यस्तो उत्तर सुनेर म छक्क पर्छु । घरको काम एउटी गृहिणीका लागि पूर्णकालिक काम हुन्छ । कसरी केही गर्दिन भन्न सकेको होला ! यसका पछाडिको कारण पनि उहि हो —समाजले घरायसी कामलाई कामको रुपमा मान्यता नदिनु । जबकि बिहान उठेदेखि राती नसुतुन्जेलसम्म उनीहरु घरकै काममा व्यस्त रहन्छन् । खाना पकाउनु, घर सफा गर्नु, दाउरा पानीको जोहो गर्नु, केटाकेटी सयार्नु, बुढाबुढीको सेवा गर्नु कति हो कति । गनेर नसकिने ।

एकजना बसाइँ सरेर अष्ट्रेलिया गएका भारतीय मूलका ट्याक्सी चालक पुरुष छिमेकीले गफको सिलसिलामा भनेका थिए, ‘अब अर्को महिना म आफ्नो देश जान्छु र बिहा गरेर बेहुली लिएर आउँछु । अनि त मेरो निकै खर्च जोगिन्छ । घरमै खाना पाक्छ । छुट्टिका दिन पनि घरैमा बसेपछि उति साह्रो खर्च हुँदैन।’ यसले के देखाउँछ भनें विदेशमै पढे पनि मानसिकतामा परिवर्तन आइहाल्दैन । ती ट्याक्सी चालक वर्षौंदेखि त्यहाँ बसेपनि महिलालाई उनले सेवककै दृष्टिले हेरेका रहेछन् । एकजना प्रौढावस्थाका चिनारुले भर्खरै मात्र पहिलो श्रीमती बितेको एक वर्ष पनि नबित्दै दोश्रो विवाह गरे । त्यो कुरालाई हुर्किसकेका छोराछोरी र छरछिमेकीले असामान्य रुपमा लिए । तर ती पुरुष भनें घरमा बुढी भएकी आमाको स्याहार गर्ने र घरेलु काम गर्ने मान्छेको खाँचै भएको हुनाले त्यो कदम उठाउनु परेको तर्क गर्दा रहेछन् । ती पुरुषले पनि जहान नभएर सेविका खोजेका रहेछन् । उनको  सट्टामा एउटी महिलाले त्यसो गरेको भए समाजले त्यति सहजै त्यस कुरालाई स्वीकार्ने थिएन होला ।   

यस्तो घरमै मात्र गरिने बेतलवी कामले पनि तलवी कामले जस्तै मान्यता पाउनुपर्छ भन्ने आवाज अहिले विश्वभरि नै उठिरहे पनि यो कार्यान्वयन हुन सकिरहेको छैन । याक्सन एडको एउटा रिपोर्टअनुसार संसारभरिका महिलाले यस्ता बेतलवी काममध्येको ७५ प्रतिशत काम गरिरहेका छन् । दैनिक औसत चार घण्टा पच्चीस मिनेट उनीहरु यस्ता काममा खर्चिन्छन् जुन पुरुषहरुले खर्चिने दैनिक एक घण्टा तेइस मीनेटको तुलनामा तेब्बरभन्दा बढी पर्न आउँछ ।


फेरि आश्चर्य के छ भनें ठूला ठूला होटलहरुमा अथवा पैसा आउने ठाउँमा चाहिँ पुरुषहरु खाना पकाउने काममा, सरसफाइ गर्ने काममा अथवा हेरविचार गर्ने काममा महिलाभन्दा बढी नै सक्रिय भएर लागेका हुन्छन् । घरमा मात्र यस्ता कामको धेरजति भार महिलामाथि परेको हुन्छ । यस्तो किन भन्ने प्रश्न मनमा उठ्नु स्वाभाविक हो ।

बिहान उठेदेखि बेलुका नसुतुन्जेलसम्म पनि एउटी गृहिणीले काम गरिरहेकी हुन्छिन् जबकि बाहिर गएर काम गर्ने मान्छेले बढीमा दिनको आठ घण्टा काम गरे हुन्छ । नेपालको परिप्रेक्ष्यमा ४० प्रतिशत भन्दा बढी महिला बेरोजगार छन् भन्ने तथ्याङ्क छ । यसरी घरायसी काममा व्यस्त हुने महिलालाई काम नै गर्दैनन् भनिदिँदा उनीहरुले आफूले गरिआएको कामलाई हेय दृष्टिले हेर्नु पनि स्वाभाविक देखिन्छ जुन कदापि ठीक होइन । यदि हामीले त्यति नै काम गर्न बाहिरको मान्छे लगाउने हो भने हामीले उसलाई मासिक रुपमा कम्तिमा १५÷२० हजार रुपैँया दिनुपर्ने हुन्छ । तर घरकै मान्छेले गर्ने हुँदा चाहिँ त्यो कामको किन अवमूल्यन भएको होला ? लैङ्गिक विशेषज्ञ तथा सामाजिक अर्थशास्त्री बिना प्रधान घरायसी कामलाई मान्यता दिलाउन राज्यले नै पहल गर्नुपर्ने कुरामा जोड दिन्छिन् । उनका अनुसार फ्रान्समा आफ्ना बाबु आमाको स्याहारसुसार गर्ने छोराछोरीलाई राज्यले नै तलवको व्यवस्था गरेको हुन्छ । खासमा यस्ता बुढाबुढीको हेरचाह गर्ने दायित्व राज्यको भएको हुँदा आफ्नो काम सघाइदिएवापत यी छोराछोरीलाई तलव दिइएको होला । जे भए पनि घरको कामले बाहिरको कामजत्तिकै मान्यता पाउनु निकै नै उत्साहवर्धक कुरा हो । महिलाहरुले खासमा आफूले गरिआएको कामको तलव पनि मागेका होइनन् । उनीहरु आफ्नो कर्तव्य सम्झेर घरको काम तन्मयतापूर्वक गर्छन् । चाहना यत्ति मात्र हो कि, उनीहरुको कामलाई सम्मानपूर्वक हेरियोस्, उनीहरुलाई बेरोजगारको समूहमा नराखियोस् अथवा उनीहरु केहि कामै गर्दैनन् भन्ने मानसिकता नपालियोस् ।


समाजमा देखा परेको लैङ्गिक हिंसा, महिलाप्रति गरिने असमान व्यवहार र महिलाले पनि आफूलाई पुरुषको तुलनामा कमजोर सम्झिने मानसिकतालाई समेत यहि मान्यता नपाएको घरायसी कामसँग जोडेर हेर्न सकिन्छ भन्ने कुरामा विज्ञहरु जोड दिन्छन् ।

घरायसी कामलाई देशको आर्थिक विकाससँग जोडेर हेर्ने गरियो भने यस्ता कामले अरु तलवी कामसरह मान्यता पाउँछन् भन्ने तर्क अर्थविद्हरुको रहेको छ । हामीले समाज जति प्रजातान्त्रिक भयो भने पनि अझै यो पितृसत्तात्मकताबाट माथि उठ्न सकेको छैन । त्यसैले समाजले अथवा राज्यले विशेषगरि महिलासँग सम्बन्धित मुद्दालाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो, त्यति गम्भीरतापूर्वक लिएको देखिँदैन ।

विशेष गरेर महिलाहरु घरायसी काममा नै बढि संलग्न हुनाले उनीहरु शिक्षाका अथवा रोजगारीका अवसरबाट वन्चित हुनु परिरहेको कुरा पनि विभिन्न अध्ययनले बताउँछन् । यसले के देखाउँछ भने घरको काम महिलाको मात्र हो भन्ने हाम्रो परम्परागत मानसिकतामा व्यापक परिवर्तन आउन जरुरी छ । लिङ्गको आधारमा काम बाँडफाँड गर्नुभन्दा परिवारका सबै सदस्यले घरको काम गर्दा पुरुष महिला दुवैले बाहिर गएर आय आर्जन गर्न सक्छन् भन्ने आवाज विश्वस्तरीय रुपमा उठिरहेको छ । विकसित मुलुकमा यो कुरा लागू भए पनि हाम्रोजस्तो मुलुकमा यो सम्भव भैहाल्नेजस्तो देखिँदैन ।

हामीकहाँ गर्न सकिने पहल भनेको आफ्नो सोचाइमा परिवर्तन ल्याउनु नै हो । परिवारका प्रत्येक सदस्यले घरायसी कामको उचित मूल्याङ्कन गर्न थाल्नु हो भने यस्तो कामसँग जोडिएको नकारात्मक धारणा बिस्तारै बिस्तारै कम भएर जान सक्थ्यो होला । छन त यसपालीको विश्व महिला दिवसको नारामा लैङ्गिक समानताका लागि सबैको नयाँ प्रविधिमा सहज पहुँच भन्ने कुरामा जोड दिइएको छ । तर यस्तो प्रविधिमा पहुँच हुने नेपाली महिलाको संख्या तुलनात्मक रुपमा ज्यादै थोरै छ । त्यसैले हामी सबै कमसेकम यो प्रण गरौँ — अब उप्रान्त घरायसी कामलाई पनि हामी बाहिर गएर गरिने कामलाई जस्तै सम्मानको दृष्टिले हेर्नेछौँ । यस्तो कामको जिम्मेवारी महिला पुरुष दुवैले बराबरी उठाउनेछौँ । घरमा काम गर्ने महिलाले पनि बाहिर काम गर्ने महिलाले जत्तिकै गर्वको अनुभूति गर्न पाउनुपर्छ । सबैलाई महिला दिवसको हार्दिक शुभकामना ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 3 March 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]