Tuesday 25 October 2022

मनमा तमोर बग्छ

 

 

          मेरो मनको मध्यभागबाटै तमोर बग्छ, घना अमेजन जङ्गलका बीचबाट अमेजन नदी बगेजस्तै । यो मन कहिलेकाहिँ त पार पाइनसक्नु आटव्य जंगल जस्तै नै हुन्छ । बढो होशियारीपूर्वक फुकी फुकी पाइला नचाल्ने हो भने ठूलो दुर्घटनामा परिने जस्तै । भयानक जंगलमा पस्दा पनि त्यहि हो । जंगल र मन दुवै भयावह मात्र हुँदैनन्, यीभित्र प्रचुर संभावनाहरु पनि लुकेका हुन्छन् । यिनै त्रासदी र संभावनाका बीचबाट मेरा मनको तमोर बग्छ । तमोरलाई मैले शान्त भएर बगेको देखेकी छु । यसलाई उर्लिएको देखेकी छु र यसको प्रलयकारी रुप पनि देखेकी छु ।


          यसपाली दशैँ दशैँजस्तो थिएन । सधैँ सँगै नभए पनि हामी घरतर्फ़का छोराछोरीहरुको गन्ती बाह्रबाट घटेर एघार पुगेको वर्ष थियो हाम्रा लागि यो । शीरदेखि गनिल्याउँदा अंक नौँ अब हाम्रो परिवारमा छैन । यसैगरी माइततर्फ़ पनि हामी पाँचबाट घटेर चार छोराछोरी भएको दूर्भाग्यपूर्ण वर्ष यो ; नम्बर चार हेर्दाहेर्दै अनन्तमा बिलाइगयो । यसै पनि बा–आमाहरु नहुनुभएपछि मूलघर सकिएको छ । पुराना पुस्ताका मानिसहरु या त अशक्त भए, या त परमधाम नै गए । नयाँ पुस्तालाई बाँध्ने डोरिहरु छिनेका छन् । अझ सम्झेर ल्याउँदा अहिलेका केटाकेटीहरु त चंगा झैं कता हो कता फर्फ़राइरहेका छन् । यसपालि त दशैँभर आकाश वर्षिरह्यो । निरन्तरको झरी कुनैबेला रोकिएन । दुई जनाको जहानमा सल्लाह मिल्न कति बेरै नलाग्ने ! यो लामो फूर्सदीमा केहि दिन धनकुटा जाने अनि त्यहाँबाट भोजपूर चैनपूर पुग्ने योजना बने । झोला कसिए । तर निरन्तरको झरीले झोलाहरु धनकुटामै थन्किए । त्यो पनि राम्रै भयो । मधेशको गर्मीबाट उन्मुक्ति पाइयो । आकाश उघ्रेका बेला वरिपरि रमाइयो ।

          तर मनले तल तमोर झर्न भित्रभित्रै ठेलिरहेको थियो । समय बदलिँदा धेरै कुराहरु सहज भएका छन् । धनकुटाबाट एउटा अटोमा चढेर हामी तल तमोर झर्यौ  । अटोवाला भाइ बढो रमाइला रहेछन् । उनले आफ्ना पेशा सम्बद्ध धेरै किस्सा सुनाए । एकपटक उनले एउटी महिलालाई, ‘जाने हो ?’ भनेछन् । उसले पनि, ‘लाने भए जाने नि, म सिङ्गल हो,’ भनेपछि आफ्नो गाडी हुँक्याएछन् । ‘आपत् पार्ली भनेर भागेँ नि । भरे छाड्दै छाडिन भनेँ के गर्नु ? हेन्सम हुनु पनि पिरलो पो छ,’ भन्दै अटोवाला भाइ हाँसे ।


          ओहो ! आफ्ना बुवाले तीस पैतिस वर्षसम्म तन, मन, धनले सेवा गरेको विश्रान्ति मन्दिर परिसर पनि भव्य बनेछ । विशाल घरहरु खडा भएछन् । त्यहाँ बस्ने ४३ वृद्धवृद्धाहरु विश्रान्ति पुण्यस्थलमा बिहानको खानापछि सुस्ताएर बसेका थिए । जो जो पुरानाहरु थिए, बुवा मुवाँको कारणले मलाई चिनेर मसँग बोल्न आए । ममता दर्शाए ।

          एकजना सेवा निवृत्त शिक्षक सपत्नी नै त्यहाँ रहेछन् । ती गुरुले समय दिएर हामीलाई सबै घुमाइ देखाइ गरे । एउटा भव्य लाइब्रेरी, आगन्तुक कक्षहरु, मलामी विश्राम स्थल, क्रिया स्थल लगायतका सुविधाहरुले भरिपूर्ण विश्रान्ति मन्दिर देखेर मन प्रशन्न भयो । आफ्नै बाबु, आमा, ठूलीआमाहरु समेतको अन्त्येष्टि भएको स्थान हो यो । तमोरकै किनारमा एउटा भव्य भवन रहेछ । तमोर उर्लेर आउँदा पर्खाल नाघेर पानी र लेदो भित्र पसेको र तल्ला तलाका फलामे ढोकाहरु समेत बङ्ग्याएको, भत्काएको काफ्ले गुरुले देखाए । नदीको त्यो रौद्र रुपसँग उनले कुनै रोष प्रकट गरेनन् । बरु यी नदी छिन् र त यो हामी छौँ,’ भनेर बढो सौम्य भावमा  बेलिविस्तार लगाए ।

          हो नि, यो तमोर सदियौँदेखि, सृष्टीको आरम्भदेखि निरन्तर बहिरहेको छ । समयका उतार चढाव, सिमानाका परिवर्तन, व्यवस्थाका परिवर्तन, आधुनिकीकरण जस्ता कुनै कुराले यसलाई छोएको छैन । यो निरन्तर बगिरहेको छ । नदीले विध्वंश गरेको कुरा हामी गर्छौँ तर वास्तवमा नदीले विध्वंश गर्दैन । उसले त हाम्रा विध्वंशहरुलाई साइजमा ल्याइदिने हो । नदी कज्याउँने प्रयासलाई कहिलेकाहिँ प्रकृतिमाथि अत्याचार नगर है भनेर नदीले चेतावनी दिने हो । प्रकृति अविजेय छ भनेर ध्वङ्सात्मक प्रजातिको मान्छेलाई सम्झाउने हो ।

          आफ्ना बुवाले नामाकरण गर्नेदेखि त्यसलाई हुर्काएर आजको स्थितिमा ल्याइपु¥याएको तमोर किनाराको विश्रान्ति धाम मेरा लागि त चार धाम नै हो । तमोरले न जसको ख्याल गर्छ, न अब्जसको ख्याल गर्छ, न त उसले प्रसिद्धी हेर्छ, न त अमर हुने इच्छा गर्छ । अहिले मलाई लाग्छ, तमोरले नै बुवालाई त्यो गुह्य ज्ञान दियो होला । त्यसैले उहाँले तमोरको साथ नछोड्नुभएको होला । तमोरले जस्तै उहाँले आफूले सकेको काम मात्र गरिरहनुभयो । न त प्रसिद्धीको पछि लाग्नुभयो, न त जस अब्जसको ख्याल राख्नुभयो । उहाँ तमोर बाँच्नुभएछ ।  त्यसैले मलाई तमोर प्यारो छ । यो मनको माझैबाट तमोर बग्छ ।


          तमोरको किनारामा उभिएर सोचेँ — अब कुनै दिन सेवानिवृत भएर आएर यतै बस्नुपर्ला । यतै सकेको सेवा गर्नुपर्ला । यस कुराको त निर्क्योल गरिहाल्नु पर्छ जस्तो मनमा भाव आयो । काफ्ले गुरु विश्रामेश्वर मन्दिरको नयाँ रुपको वर्णन गर्दै थिए । मैले सोधेँः

          के यहाँ आफैं आश्रम बनाएर बस्न पाइन्छ, गुरु ?’

          पाइन्छ । ऊ त्यहाँ तीन जना दाताहरुले आ–आफ्ना कोठाहरु निर्माण गर्नुभएको छ ।’

          हामी त्यतै गयौँ । हो, रहेछ तीनतले घरको माथिल्लो तलामा लहरै तीनवटा कोठा रहेछन् । अट्याच बाथरुम सहितका सुविधायुक्त कोठा रहेछन् । मनमा मेरो लोभ पलायो — यस्तो पुण्यस्थलमा एउटा कोठा मेरो पनि भए त कहिलेकाहिँ म आउँथे होला ।

          अनि आफू  नबस्दा ताला लगाएर हिँड्न पाइयो नि ?’

          त्यसो चाहिँ मिल्दैन । तपाइँहरुले प्रयोग नगर्दा अरु कसैले गर्छ । खुल्लै रहनुपर्छ यी कोठा ।’ गुरूका कुराले मेरो चेतनाको ढोका उघारिदियो । आश्रममा आउँदा नै नीजत्व भाव त्याग्नु पर्ने रहेछ । मन नाङ्गो हुनुपर्ने रहेछ । वस्त्रले त शरीरको नाङ्गोपन मात्र पो छोप्ने रहेछ त ! मनमा अमेजनको जङ्गल बोकेर मन्दिर, आश्रम र तीर्थ दौडनुको अर्थ रहेनछ । सम्पूर्ण म र मेरो त्याग्न नसक्ने हो भनेँ र तमोर बन्न नसक्ने हो भने घरमै बसेको बेस रहेछ । आश्रमका कोठाका ढोकाहरु जस्तै मनका ढोका खुल्ला राख्ने आँट नगरुन्जेल दिनदुनियाँमा रमाउनु नै बेस रहेछ । दिनदुनियाँको झिलिमिलिलाई पनि प्राथमिकतामा राख्नु र परमार्थ चिन्तन पनि गर्नु असम्भव रहेछ जस्तो विचार मेरा मनमा आयो ।

       तमोरले सिकाउने कुरा पनि त्यहि नै हो जस्तो मलाई लाग्यो । तमोर क्षण क्षणमा मात्र बाँच्ने रहेछ । एक निमेष अघिको तमोर एक निमेष पछि नरहने रहेछ । अहिले भर्खर छोएको पानी फेरि त्यसै गरी छुन नसकिने रहेछ । मेरो मनको तमोर पनि निरन्तर उसैगरी बहिरहेछ । यसलाई छेक्ने, थुन्ने र यथास्थितिमा राख्ने दैया मसँग छैन । विश्रान्ति भ्रमण र तमोर दर्शनले एउटा ज्ञान भने मलाई दियो — निरन्तर बगिरहनु नै जीवन हो । न त यो जीवनको वहावलाई थुनछेक गर्न सकिन्छ, न त पुनः पछाडि फर्केर सच्याउन सकिन्छ । यो निरन्तर जसरी जहाँबाट हुन्छ सागरमा नपुगुन्जेल बहि नै रहने हो ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 21 October 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Monday 17 October 2022

स्मृतिको उत्खनन्

 

 

          स्मृति बिम्बहरुमा आफ्नो बाल्यकालको स्मृति अत्यन्त प्यारो हुन्छ । ती बाल्य स्मृतिहरु सम्झेर ल्याउँदा सुखद् अनुभूति हुन्छ । ती नफर्किने दिनहरुका पृष्ठभूमिमा तयार गरिएको फिल्म ऐना झ्यालको पुतली हेर्दा मलाई त्यस्तै अनुभव भयो । पचासको दशकको सेरोफेरोमा बनाइएको यो फिल्मलाई मैले नेपाली सिनेमा जगतको एक उत्कृष्ट कलाकारिताको नमूना नै मानेँ । मेरो सामान्य बुझाइलाई यो फिल्म नेपालबाट ओस्कार अवार्डका लागि छनोट भएको कुराले पनि पुष्टि गरेको छ ।


          एउटा निम्न मध्यम वर्गीय परिवारले बेहोर्नुपर्ने घनचक्कर भित्र पिसिएर सामान्यजनका सपना कसरी धुलिसात् हुन्छन् भन्ने कुरा फिल्मको नामले नै भन्छ — ऐना झ्यालको पुतली । शीशाको झ्यालबाट बाहिरी दुनियाँ त देखिन्छ तर उडेर जौँ न त बाहिर भन्दा पुतली ठोकिइजान्छ । ऊ तल खस्छ । बाहिर उज्यालो छ भन्ने जान्नु, उडिजाने प्रयत्न गर्नु तर बेगिन नसक्नु आममानिसको नियति नै हो । यहि माखेसाङ्लालाई श्रव्य दृश्यमा दुरुस्त उतारिएको कथा हो ऐना झ्यालको पुतली । यस कथामा एउटा सानो परिवार छ । आमा बाबु र दुई छोरा छोरी छन् । सरल र सहज कथा छ तर कथाले सिंगो नेपाली समाजको प्रतिनिधित्व गर्छ । थोरै पात्रहरु लिएर सरल कथामार्फत निर्देशकले यस फिल्मद्वारा दर्शकहरुलाई भावनात्मक यात्रामा डोहोर्याउन सफल भएको मैले पाएँ ।

विद्याको विद्रोह

          फिल्मकी एक मूल पात्र विद्याका वरिपरि कथाले फन्को मार्छ । किशोरावस्थाकी विद्या पढाइमा तीब्र छ । उसलाई उच्च शिक्षाको चाहना पनि छ । बल्लतल्ल उसले कक्षा आठ पास गर्छे । पारिवारिक रुपमा निम्न आर्थिक स्थितिकी विद्या मुस्किलले घरमा आमासँग रोड्याईँ गरेर घरबाट टाढा गएर डेरा बसेर पढ्न अनुमति पाउँछे । तर दैव दशा ! उसकी आमाले कानका गहना बेचेर छोरी पढाउन भनेर जुटाएको खर्च चोरी हुन्छ । विद्याका सपना धुलिन्छन् । आमा मर्माहत हुन्छिन् र आखिरमा आमाको जस्तै नियति विद्यामा पनि दोहोरिन्छ । उसको विवाह हुन्छ ।

          मलाई यस फिल्ममा राम्रो लागेको एउटा पक्ष के हो भने विद्याले पढाइको महत्व बुझेकी छ । पढ्यो भनेँ वर्तमान अवस्थामा परिवर्तन आउँछ भन्ने दृढ विश्वास विद्या र उसकी आमामा छ । उसको जड्याँहा बाबु पूर्णतयाः लम्फू छ । ऊ घरमा केहि काम गर्दैन र रक्सीको नसामा डुबिरहन्छ । अन्त्यमा त्यसै कारणले नै बाबुको मृत्यु हुन्छ । यसै बिचमा  एकदिन विद्या घरको अन्न बेचेर रक्सी खान भनेर हिँडेको बाबुलाई रोक्न खोज्छे । ऊ अन्नको धोक्रो तान्छे । तर आमाले उल्टै छोरीलाई नै हतोत्साहित गर्छिन् । तर विद्याले हारे पनि ऊभित्र भएको त्यो विद्रोहको झिल्को विद्याको उमेरसँगै हुर्कियो होला भनेर म कल्पना गर्छु । विद्याभित्र भएको विद्रोही भाव र पढ्ने अनि केहि गर्ने आकांक्षाले विद्याको जीवनमा परिवर्तन ल्यायो होला, विद्याकी आमाजस्तै विद्याले दमित भएर जीवन बाँच्नुपरेन होला भन्ने कल्पना मेरो मनमा आउँछ । यो फिल्मको कथाभन्दा पर्तिरको कुरा भएपनि निर्देशकले दर्शकलाई कल्पना गर्ने ठाउँ प्रशस्त गरिदिएका होलान् भन्ने मलाई लाग्छ ।


समययात्रा

          फिल्मका निर्देशकले अति सहज ढंगले दर्शकलाई आफ्नो जीवनको एउटा कालखण्डमा पुर्याइदिएर स्मृतिको उत्खनन् गर्न प्रेरित गर्छन् । मलाई लाग्छ, हरेक दर्शकले यो फिल्म हेर्दा एकपटक आफ्नो वाल्यकालको स्मृतिमा एक फन्को मार्छन् । कथाका पात्रहरुसँग आफूलाई दाँज्छन् । कथामा हाम्रा नजिकको अतीतलाई विभिन्न माध्यमबाट देखाइएको छ । पचासको दशक भन्ने शब्दहरु प्रयोग नगरी यो कथा पचासको दशकको हो है भन्ने कुरा देखाइएको छ । त्यसबेला गोरखापत्र संस्थानबाट निस्कने वालपत्रिका मुना पढ्ने र त्यसमा लेख्ने अनि छपाउने कुरा चानचुन थिएन । त्यसमा अझ आफ्नो रचना नै छापिनु त ठूलो गौरवकै विषय हुने भयो । विद्याको रचना मुनामा छापिँदाको हर्षलाई म आफैंले पनि अनुभव गरेँ । मेरो बाल्यकाल मुनाभन्दा धेरै अगाडिको हो । ऊ बेलामा भनेँ, घरमा रेडियो हुनु र छेउमा बसेर साँझमा आउने बाल कार्यक्रम सुन्नु कत्रो खुशीको विषय थियो । साँझमा हामी सास दबाएर बाल कार्यक्रम सुन्न रेडियो छेउमा बस्थ्यौँ । मीठो धुनसँगै बासुदेव मुनालको स्वरमा, “आऊ, मेरा प्यारा भाइ बैनीहरु रेडियो नजिक आऊ” भन्ने स्वर सुनिन्थ्यो । उनी को भन्दा को कम भन्ने प्रतियोगितात्मक कार्यक्रम पनि चलाउँथे । यसै उपक्रममा एकदिन मैले पठाएको मेरो कथा ‘उसको अपूरो इच्छा’ पनि रेडियोमा सुनियो । पछि यो कथा प्रतियोगितामा प्रथम भएको सुन्दा मेरो बाल मस्तिष्क खुशीले झण्डै नपड्किएको ! त्यो खुशी र त्यो अनुभव आजका मोबाइल युगका बालकहरुसँग हुँदैन ।

          फिल्ममा त्यस समयलाई दर्शाउने अरु कुराहरु पनि छन् । जस्तै रेडियोमा बिहान बज्ने शंख ध्वनी । रेडियो नेपालको समाचार । गिरिजा प्रसाद कोइरालाको प्रधानमन्त्रित्वकाल आदि कुराले फिल्मको समय सन्दर्भ खुट्याउन सकिन्छ ।

बाङ्गेको नियति

         


फिल्ममा विद्याको भाइ बसन्त बढो मन परेको पात्र हो मलाई । सानो भाइ फिल्म हेर्नमा क्रेजी छ । गाउँमा भिडियो देखाउने चलन हुन्थ्यो त्यसबेला । बसन्त पैसा चोरेर, स्कूलबाट भागेर फिल्म हेर्छ । चाइनिज कलम साथीसँग बाँकि लगेर पैसा तिर्दैन । साथीहरुसँग कुस्ती गर्छ । घुर्क्याएर घरबाट हिँडिदिन्छ । आँखा छलेर, ठूलाले भनेको नमानेर पौडि खेल्न गइदिन्छ । दिदीले पठाएको कविता स्कुलमा दिनै बिर्सिन्छ । एउटा हुर्किंदो उमेरको बालकले गर्ने सम्पूर्ण बद्मासीको झलक बसन्तले दिन्छ । बसन्तको एउटा साथी छ — बाङ्गे । बिचरा बाङ्गे घरेलु हिंसाबाट प्रताडित छ । ऊ बारम्बार बसन्तलाई फकाउँछ । शहर जौँ, भागौँ भन्छ । शहर जाने र धेरै पैसा कमाउने सपना देख्छ । तर वास्तवमा ऊ घरेलु हिंसाबाट उन्मूक्ति चाहन्छ ।

          ऐना झ्यालको पुतली  एउटा कालखण्डको करिब दुई घन्टाको कथा हो । व्यक्त र अव्यक्त माध्यमबाट फिल्मले दर्शकको मन मस्तिष्क झक्झक्याएको छ । दर्शकलाई आफ्नो अतीततिर डोहोर्याएको छ । कति सरल र सहज ढंगले पनि एक उत्कृष्ट फिल्म बन्न सक्ने रहेछन् भन्ने कुरा यस फिल्मले देखाएको छ ।

          म फिल्मको पारखी नभएपनि सामान्य हेराइमा यो एक उत्कृष्ट फिल्म हो । सुन्दर कला र सरल प्रस्तुतिको समायोजनले फिल्मलाई उत्कृष्ट बनाएको छ । अझ फिल्मकी आमा पात्र बाहेक अन्य पात्रहरु ‘नन्— एक्टर’ हुन् भन्ने थाहा पाएपछि ती पात्रहरुको भूमिका प्रति गर्व लागेको छ । जीवन ससाना कुराहरुको संमीश्रण हो । यो फिल्म पनि ससाना क्षणहरुको कोलाज नै हो भन्दा फरक पर्दैन ।

          यति हुँदाहुँदै पनि यो फिल्म सर्वगुण सम्पन्न चाहिँ होइन । एक समयको कथा र व्यथा यसमा देखाइएको छ । फिल्ममा राम्रा विषयवस्तुहरुको उठान गरिएको छ तर पात्रहरु जुन अन्यमनस्क स्थितिमा कथाको उठानमा थिए, उनीहरु त्यहि त्यहि अवस्थामा रहेका छन् । विद्या, बाङ्गे र उसको साथीको प्रगतिको कल्पना गर्न सकिन्छ तर त्यस्ता बलिया सम्भावनाहरु प्रष्टसँग कथामा देखाइएको छैन । तर जे जस्तो भएतापनि फिल्म राम्रो बनेको छ । अर्थपूर्ण छ । एकपटक हेरेर पश्चात्ताप गर्नुपर्दैन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 14 October 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Saturday 1 October 2022

हामी चुक्दै त छैनौं ?

 


    केही दिनअगाडि मेरो एकजना मित्रसँग भेट भएको थियो । गफ गर्ने क्रममा हामीले केटाकेटीको पढाइका विषयमा प्रवेश गर्यौं । विद्यालयमा पढ्ने केटाकेटीले खालि पाठ्यपुस्तकमा मात्र भर नपरी समय पाएसम्म वाह्य पुस्तक पनि पढ्नुपर्छ भन्ने मेरो धारणा थियो । मसँग मेरा मित्रको पनि विमति थिएन । उनले मलाई सोधे, “मेरो छोरालाई कुन कुन पुस्तक पढ्न सुझाव दिनुहुन्छ त, म्याडम ?” मैले दुई/चारवटा नाम चलेका नेपाली पुस्तकको नाम भनेँ । मेरा मित्र अलि अक्मकाए र भने, “ऊ नेपाली पुस्तक पढ्नै मान्दैन । बुझ्दिन भन्छ ।” उनको  स्वरमा गर्व मिसिएको अनुभूति गर्न मलाई धेरै समय लागेन । यस्ता कुरा सुनेर म भनें तीन छक्क परें । नेपाली भएर नेपाली पुस्तक पढ्न मन नलाग्नु कुनै खुशीको कुरा हो र ? फेरि त्यो केटो विदेशमा भएको भए पनि एउटा कुरा ! नेपालमै बसेर, एउटा नौ/दश कक्षामा पढ्ने विद्यार्थीलाई नेपाली पुस्तक पढ्न मन नलाग्नु र त्योभन्दा बढि नेपाली पुस्तक नबुझ्नुले मलाई सोचमग्न बनायो ।

          भाषा सधैँ व्यक्तिको पहिचानसँग जोडिएको हुन्छ । आफ्नो मातृभाषालाई बेवास्ता गर्नु भनेको आफ्नै पहिचान धरापमा पर्नु पनि हो । मैले करिब एक दशकअगाडि आफू अष्ट्रेलियामा भएको बेला आफ्नो चार/पाँच कक्षामा पढ्ने छोराले नेपाली पढ्न लेख्न बिर्सिने हो कि भनेर आफू चिन्तित भएको सम्झिएँ । नेपाली भाषासँग उसको नाता नछुटोस् भनेर मैले एउटा उपाय निकालेँ । मैले एउटा डायरीमा हरेक दिन एक पन्ना लेखेर उसलाई पढ्न दिन थालेँ । उसले त्यहाँ लेखेको कुरा पढेपछि आफूलाई मनमा लागेको कुरा नेपालीमै एक पन्ना लेख्नु पर्थ्यो  । हामी बीचको कुराकानीको त्यो डायरी अझै मैले सुरक्षित राखेको छु । शायद यहि अभ्यासले होला ऊ हामी नेपाल फर्किएपछि आफैं  नेपाली पढ्ने र लेख्ने गर्न थाल्यो । 

          एउटा बहुभाषीक र बहुसाँस्कृतिक मुलुक भएका कारण अष्ट्रेलियामा अनेक मुलुकका मानिसहरु छन् । यी हरेक भाषीक समूहहरुले आफ्नो मातृभाषा सिकाउनका लागि गरेका प्रयत्नहरु पनि मलाई प्रभावकारी लाग्छन् । प्रत्येक आइतबार छुट्टिका दिन पारेर चल्ने भाषा इन्डोनेशिया सिकाउने र चाइनिज म्यान्डारिन पढाइने सन्डे स्कुलहरुमा साथीहरुसँग म गएकी छु । साना साना नानीहरुलाई आफ्नो मातृभाषा सिकाउन गरेको उनीहरुको प्रयत्न देखेर म नतमस्तक भएकी छु ।


          नेपाली भाषालाई कसरी माया गरेर जीवन्त राख्नुपर्छ भन्ने कुराको सानो झलक मैले पाँच/छ महिना पहिले असम भ्रमणमा गएका बेला देखेकी थिएँ । त्यहाँ हामीले जतिजनालाई भेट्यौँ, सबैको नेपाली भाषाप्रति अगाध लगाव भएको देख्यौँ । आमाबाबु त आमाबाबु भैगए, छोराछोरीहरु पनि उत्तिकै उत्साही भएर नेपाली भाषा प्रयोग गर्थे । उनीहरुको विद्यालयको पाठ्यक्रममा नेपाली भाषा समावेश गरिएको छैन । तैपनि उनीहरुलाई यो भाषा सिक्नबाट केहिले छेकेको थिएन । यसमा उनीहरुका बाबुआमाको ठूलो हात थियो । मैले दुई चारजनासँग सोधेकी पनि थिएँ, “बोल्न त लौ घरमा आमाबाबुले त्यही भाषा प्रयोग गर्ने हुनाले केटाकेटीले सक्छन् । तर लेख्न पढ्न चाहिँ कसरी सिक्छन् ? उनीहरुले स्कूलमा नेपाली त पढ्नुपर्दैन !” उनीहरुको एउटै जवाफ थियो, “नेपाली भाषाको र हिन्दी भाषाको लिपी एउटै भएको हुनाले केटाकेटीलाई नेपाली पढ्न लेख्न सहयोग पुगेको छ। नेपालीमा पुस्तक लेखेर छपाउनु पनि त्यहाँ ठूलो क्रेज रहेछ । सबै पुस्तक फेरि चिटिक्क हार्ड कभरमा छापिएका । मैले पचास पेजका, बीस पेजका ससाना पुस्तक पनि यस्तै रुपमा देखेकी थिएँ । लेखक बाउआमाका २०/२२ वर्षका छोराछोरीले पनि आफ्नो नाममा पुस्तक लेखेर छपाइसकेका । यी असमी नेपालीको नेपाली भाषाप्रतिको लगाव देखेर म प्रभावित भएकी थिएँ ।


          हाम्रा बोर्डिङ्ग स्कुल जाने नानीहरुमा बिशेषगरी ‘नेपाली त मलाई आउदैन’ भन्ने प्रचलन नै जस्तै बनेको छ । अभिभावकहरुले पनि गर्वका साथ यसलाई नेपाली आउँदैन भनिदिएपछि नानीबाबुहरुको मेहनतमा कमी आइहाल्छ । तर अपवादलाई छाडेर वास्तविकता के हो भनें जो नेपालीमा कमजोर छ र मेहनत गर्दैन, त्यो विद्यार्थी अरु बिषयमा पनि अब्बल हुन सक्दैन । 

          यसपालीको दार्जिलिङ्ग भ्रमणले मेरो अनुभव अझ फराकिलो भयो । त्यहाँ विश्व नेपाली साहित्य महासंघ, भारत शाखाले विराट साहित्य उत्सवको दुई दिने कार्यक्रम राखेको थियो । त्यहाँ भारतका विभिन्न ठाउँबाट आएका विद्वानहरुले उनीहरुको ठाउँमा नेपाली भाषा र साहित्यको विकासका बारेमा चर्चा गरेका थिए । उनीहरुको भनाइबाट के प्रष्ट हुन्थ्यो भने उनीहरु नेपाली भाषाको उन्नयनका लागि निरन्तर खटिरहेका छन् । यी नेपाली भाषा प्रेमीहरुले प्रस्तुत गरेका कार्यपत्र मध्य मेरो ध्यान सिलाङ्गका डा. बी. आर. जोशीको कार्यपत्रले खिचेको थियो । उनले मेघालयमा आफूहरु नेपाली भाषा जोगाउने काममा अहोरात्र लागिरहेको बताएका थिए । उनले भनेअनुसार पहिले पहिले त्यहाँ कुनै नेपाली पुस्तक प्रकाशित हुँदैनथे । त्यो समयमा पनि विद्यालयमा नेपाली पढ्ने विद्यार्थीलाई पुस्तकको कमी हुन नदिन उनीहरु दार्जिलिङ्गबाट पाठ्यपुस्तक खेप्थे रे । अहिले भने मेघालयमा नै नेपाली पाठ्यपुस्तक छापिन्छन् । यसरी डा.बी.आर. जोशीजस्ता व्यक्तिहरु मेघालयमा नेपाली भाषा जोगाउने र धेरैभन्दा धेरै लेखक र साहित्यकार जन्माउने काममा लागिपरेका छन् ।

          यसै सिलसिलामा सिलाङ्गका अर्का विद्वान सलील ज्ञवालीसँग हालसालै मेरो कुरा भएको थियो । ज्ञवालीका अनुसार तुलनात्मक रुपमा अहिले विविध कारणले गर्दा सिलाङ्गमा नेपाली भाषीको संख्या कम हुँदै गएको छ । यी मध्य बसाइ सराइ प्रमुख कारण रहेको उनले बताए । यसले गर्दा विद्यालयहरुमा स्वतः नेपाली भाषा पढ्ने विद्यार्थीको संख्या घटेको छ । पहिले पहिले त नेपाली भाषाको प्रभाव अरु मातृभाषा हुने केटाकेटीमा पनि पर्ने गर्थ्यो रे । फलस्वरुप नेपालीले मात्र होइन खासी र बंगला भाषीहरुले पनि विद्यालयमा नेपाली भाषा पढ्थे रे । परिस्थिति जस्तो भए पनि मेघालयका नेपाली भाषीहरुले आफ्नो भाषाको संरक्षण र संवर्धनमा गरेका प्रयाश सह्राहनीय छन् ।

          असम र मेघालय त खाली उदाहरण मात्र हुन् । विश्वभरि छरिएर रहेका प्रायः सबै नेपालीलाई आफ्नो भाषा कसरी जोगाउने भन्ने चिन्ता छ । आफ्ना छोराछोरीले आफ्नो मातृभाषा नबिर्सिउन् भन्ने कामना उनीहरुको छ । विभिन्न किसिमका संघसंस्था, विद्यालय अथवा तालिमकेन्द्र खोलेर उनीहरु नेपाली भाषाको संरक्षणका लागि अनेक कार्य गरिरहेका छन् ।

          यो परिप्रेक्ष्यमा मेरा मित्र पुत्रको नेपाली भाषाप्रतिको उदासिनता सुनेर मेरो मन अलि खिन्न पनि भयो । शायद नेपालमा नै भएर उसलाई आफ्नो मातृभाषाको  महत्व कम भएको हो कि ! नेपाली भाषामा चलेको उखान “नजिकको तीर्थ हेला” भनेको यस्तै होला ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 30 September 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]