Thursday, 28 April 2022

विचारको अचार

 


    गर्मीको समय भित्र बस्नुभन्दा बाहिरै शीतल हुन्छ । म बाहिरै बसेर आँगनका डिलमा रहेका सुपारीका बोटमा टाँसिएर फुल्न थालेका सुनाखरीका फूलहरु हेर्दै थिएँ । यी फूलहरुसँग आमालाई सम्झिँदै पनि थिए । आमाले गो–लोक प्रस्थान गरेपश्चात् फूलबारी, बगैँचा, करेसाबारी उजाडिएको छ । पुराना गुलाबका बोटहरु स्याहार सुसार नभएर कक्रक्क परेका छन् । अनेक प्रकारका मौसमी फूल लगाएर तिनै बिरुवासँग खेली बस्ने आमा अब हुनुहुन्न । मेरो सोचाइ श्रृङ्खला भंग गर्न एउटा मानिस बाटोबाट बिस्तारै म भएतिरै मोडियो । एउटा ब्याकप्याक बोकेको सामान्य जस्तो लाग्ने मानिस एक अर्कोको आवाज सुन्न सकिने दूरीमा उभियो र सोध्यो, “दिदी, यो बाटो कहाँ जान्छ ?”

          प्रश्न सरल थियो र उत्तर सरल हुन सक्थ्यो । तैपनि मेरो दिमागले बक्र मार्ग रोज्यो । मैले झट्ट सोचेँ– ‘यो बाटो जहाँ सोच्यो, त्यहिँ नै जान्छ ।’ तर अपरिचित त्यस व्यक्तिलाई यस्तो बाङ्गो उत्तर दिनु उचित थिएन । अनि मैले भने, “तपाई कता जानुहुन्छ ?”

          “म त यत्तिकै डुलुवा मान्छे । कता जानु र ?”

          “त्यसो हो भनेँ तपाई हिंडिरहनु नि त । गन्तव्य नै नभएपछि र हिंड्ने मात्र उद्देश्य भएपछि बाटो के सोधिराख्नु ?” त्यो मान्छे फनक्क फर्कियो र बाटा लाग्यो । पछि मैले सोचेँ – त्यसो नभन्नु पर्थ्यो।

          बाटो कहाँ जान्छ र ? बाटाहरु स्थिर छन् । बाटाहरु कतैबाट कतै जाँदैनन् । हाम्रो चेतना र शरीर भनेँ बाटो कुबाटो दौडिरहन्छ । सडक आफैं कतै जाँदैन । युग युगदेखि यो यत्तिकै लम्पसार लडिरहेको छ । हजारौँ जीवहरु हिड्छन् र तिनीहरुका पदचापहरु सडकमै विलीन हुन्छन् ।

          सडक नाप्ने खुट्टाहरु र खुट्टाहरुलाई अह्राउने दिमागका बीचमा गहिरो सम्बन्ध हुन्छ भन्छन् दार्शनिकहरु । डाँडाका टुप्पामा जाँदा होस् वा वेँसीमा ओर्लंदा मान्छेले आफ्नो मन सधैँ बोकेकै हुन्छ । मनमा जस्तो भारि बोकेको छ, बाहिरी दुनियाँ त्यस्तै देखिन्छ ।


          एउटा किसान कस्सिएर बारी खन्दै रहेछ । त्यसबेला एउटा बटुवा आइपुगेछ र सोधेछ, “त्यो पल्लो गाउँ पुग्न कति बेर लाग्छ ?”

“कति बेर लाग्नु पर्ने त्यति नै बेर लाग्छ । तिमी कत्तिको हिंड्छौ, मलाई के थाहा?” त्यो किसानले अलि रुखो उत्तर दिएछ ।

          सडक छेउमा खेतीबारी भएको त्यो किसान अर्को दिन त्यसै गरी खेतमा काम गरिरहेको रहेछ । अर्को दिन अर्कै बटुवाले प्रश्न गरेछ –“दाजु यो गाउँमा कस्ता मान्छे बस्छन् ?”

          किसानले प्रश्नको आँकलन गरेछ र उल्टै सोधेछ, “तपाईं कहाँबाट आउनुभएको ?”

          “म त सात गाउँ पारीबाट राम्रा, असल मान्छेहरुको बस्ती खोज्दै हिँडेको ।”

          “अनि तपाई बसेको जगामा कस्ता मान्छे बस्छन् त ?” किसानले सोधेछ ।

          “त्यहाँ त जाली, लुच्चा, फटाहा मात्र बस्छन् ।” अनि किसानले भनिदिएछ, “यो त झन् ज्यानमाराहरुकै बस्ती भने पनि हुन्छ । सबै बौलाहा जस्ता छन् यहाँ त ।”

          यो सुनेर बटुवा सरासर आफ्नो बाटो लागेछ ।

          त्यसको केहि दिनपछि अर्को एउटा बटुवा त्यहि किसानसँग ठोक्किन आइपुगेछ । त्यो बटुवाले किसानलाई नमस्कार गरेर सोधेछ, “मलाई अलिकति गरिखाने ठाउँ चाहिएको छ । यतातिर पाइन्थ्यो कि ? फेरि यता कस्ता मान्छे बस्छन् ?”

          किसानले उसै गरि भनिदिएछ, “तपाई पहिले बसेको ठाउँमा कस्ता मान्छे थिए र किन नयाँ ठाउँ खोज्नु भयो ?”

          बटुवाले भनेछ, “ए, त्यहाँ त साह्रै असल र गुणी मानिसहरु बस्छन् । त्यो ठाउँ त स्वर्गै हो भने पनि हुन्छ । तर मलाई नयाँ ठाउँ हेरौँ, देखौँ जस्तो लाग्यो । हामी त्यहाँ पाँच पुस्तादेखि बसिआएका छौं । अब खेती गर्ने ठाउँ साँगुरो भयो । अनि नयाँ ठाउँ खोजिहिँडेको नि ।”

          “ए त्यसो भए तपाईले खोजेको ठाउँ यहि हो । यहाँ पनि तपार्इं बसेको ठाउँमा जस्तै असल मानिस बस्छन् । यहाँका मानिस आफ्नो आफ्नो काम गर्छन् । एकार्कालाई होच्याउने र झगडा गर्ने चलन यता छैन,” किसानले भनेछ ।

          हो, यो कथामा जस्तै हामी आ–आफ्ना दिमागमा आफ्नो दुनियाँ बोकेर हिँडेका हुन्छौँ । आफू भलो त जगत भलो । पहिलो बटुवाले भेट्ने जाली फटाहा नै हुन् र दोस्रोले भेट्ने सज्जन नै हुन् ।

         यसरी सडक हिँड्दैनन् । सडक कतै पुग्दैनन् । यी सडक हुँदै हाम्रा पाइलाहरु चल्ने हुन् । यी पाइलाहरु स–साना फड्का मारेर पनि संसारै नाघ्न समर्थ हुन सक्छन् । यी पाइलाहरुले लरबराउँदै भए पनि नयाँ जीन्दगीको खोजी गर्न सक्छन् । यी पाइलाहरु गन्तव्यको सीमासँग सन्तुष्ट हुन पनि सक्छन् । यी पाइलाहरुलाई न त केहि हराउने डर छ, न केहि भेटिने उत्साह छ । हाम्रो सोचलाई साथ दिने मात्र हो पाइलाले । पाइलाहरु आफैंलाई न कतै पुग्ने हतार छ, न कतै नपुगेकोमा पछुतो छ ।

         


    यी पाइलाहरुको प्रक्रिया मन र बुद्धिभन्दा अलग छ । खुट्टा नै नभएको मानिस पनि जिवीत रहन सक्छ । मन र बुद्धिले विचारको योजना गर्छ । यहि विचारको भारी बोक्न सघाउने मात्र हो हाम्रा पाइलाहरुले । विचारको तौल नरम सिमलको भुवा जस्तो पनि हुन सक्छ । यो बोझ बडेमानको चट्टानजस्तो पनि हुन सक्छ । अनि विचार अति सुविधाभोगी पनि हुन्छ । यी विचारहरु प्रज्वलनशील वस्तुजस्ता पनि छन् । कुनै पनि बेला मनमा आगलागी हुन सक्छ । मनमा आगलागी हुन कति बेर लाग्दैन । सानो वाणीलाई, व्यवहारलाई हामी हाम्रो मनमा आगो लगाउन दिन्छौँ र आफैं खरानी बन्छौँ । आगो झोसिदिनेहरुलाई त्यो रापले छुने मात्र हो । मन त हाम्रो ध्वस्त हुन्छ । तर गुढ रहस्य के हो भने हामीले स्वीकृति नदिए कसैले पनि हाम्रा मनमा आगो झोस्न सक्दैन।

          हाम्रा विचारहरु कहिल्यै स्थिर छैनन् । यी विचारहरु शाश्वत पनि छैनन् । आदिकालदेखि मानिसहरु एक अर्काका विचारहरु काट्दै आइरहेका छन् । विचारहरु प्रतिस्थापित भइरहन्छन् ।

          आफ्ना पाइलाहरुलाई नियन्त्रण गर्न सक्ने अथक यात्री मात्र आफ्नो गन्तव्यमा पुग्न सक्छ । त्यस यात्रीले मात्र नयाँ मार्ग र लक्ष्यको अगुवाई गर्न सक्छ । नत्र त बहुसंख्यक मानिसहरु पुरानै अर्काले खनिदिएको बाटो हिँड्नेहरु हुन् । दह्रिला पाइलाहरु हिँड्नमा विश्वास गर्छन्, आफ्नो गन्तव्यको खोजीमा अल्मलिँदैनन् ।

          विचारहरुले हाम्रा पाइलाहरुलाई नियन्त्रण गर्छन् तर हामी आफैं ती पाइलाहरुको विचार गर्दैनौं । पाइलाहरुलाई चल्न आदेश दिन्छौँ तर पाइलाहरु कता जाँदैछन् विचार गरिबस्दैनौँ । हामी खाना खान बस्छौँ, तर खाना खाँदैनौँ । हाम्रा विचारहरु खान्छौँ । हरक्षण हामी विचारसँगै हुन्छौँ । विचारसँग निवृत्त भएर रहनै सक्दैनौँ । विचारको सूप पिइरहन्छौँ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 22 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday, 23 April 2022

माइ लाइफ माइ च्वाइस


 हाम्रो छिमेकी बन्न आएका नौबागको परिवारमा दुई महिना जति अगाडि ठूलो उत्सवको आयोजना गरिएको थियो । छिमेकी हुनुको नाताले हामीकहाँ निम्तो समेत आयो । नौबागको परिवार करिब एक वर्ष अगाडिदेखि हाम्रो छिमेकी बनेका हुन् । कुरा बुझ्दै लैजाँदा त्यहाँ त विवाह समारोह रहेछ । बेहुला बेहुलीको भागी विवाह भएको एक दशक भइसकेको रहेछ । तर माइती पक्षले बोलाएर विवाह धर्म पूरा गरिदिन बाँकी रहेछ । हो, त्यही धर्म पालना गर्नलाई नौबाग परिवारले त्यो समारोहको आयोजना गरेको रहेछ । त्यहाँ तीन दिनसम्म निरन्तर लाउडस्पिकर घन्कियो । सुँगुरहरु काटिए । कुखुराहरु काटिए । अनेक परिकारको सुवास आई नै रह्यो । पाहुनाको लावालस्कर चल्यो । बढो रमाइलो दृष्य थियो त्यो ।

विवाहको समाप्तीपछि मात्र मैले जिज्ञासा राखेँ– “नानीहरु पनि ठूल्ठूला भैसकेछन्, अहिले मात्र विवाह भयो त ?” “ए, पहिला आफैं  गरेका । अहिले विधान पूरा गरेको । विधान नगर्दा त सामाजिक रुपमा गाह्रो हुन्छ नि । उनीहरुका छोराछोरीको विवाह गर्नका लागि अड्को पर्ने भो नि त ।” नौबाग भाइले मलाई कुरा बुझाए  । पश्चिमा मुलुकतिर भनें आफ्नो गच्छे भएपछि, समय सन्दर्भ मिलेपछि मात्र विवाह गर्ने चलन मैले देखेकी थिएँ । नेपालमा पनि नौबागहरुले गरेको विवाहको प्रकारबारे मलाई त्यति थाहा रहेनछ । त्यस विवाह उत्सवको लगत्तै पछाडि हाम्रो विद्यालयकी सहचालक बहिनी कुसुमले बिदा मागिन् । उनको पनि धेरै वर्ष अगाडि आफूखुशी बिहे गरेर गइसकेकी नन्दको विवाह गरिदिएर अड्को फुकाइदिनु पर्ने रहेछ ।

उता पश्चिमतिर चाहिँ अड्को फुकाउनको लागि नभई विवाहको मजा लिन विवाह गर्ने रहेछन् । म अष्ट्रेलियामा हुँदा एकपटक पचासको दशकमा हिंड्दै गरेकी गील्डाले मलाई विवाहमा सामेल हुन निम्ता गरिन् । झण्डै एक वर्ष अघिदेखि उनी विवाहको तयारीमा जुटेकी थिइन् । खासगरी उनले विवाहमा लगाउने ड्रेसको चर्चा चल्थ्यो । उनका पनि छोराछोरीहरु वयस्क थिए । निश्चित बोलाइएका मानिसहरु मात्र विवाहमा सरिक थिए । विवाहपछिको पार्टिमा पनि हामीले खाना खाएको बिल आफैं  तिरेर हिँड्यौँ । अरु साथीहरुका लागि यस्तो प्रचलन नौलो नभए पनि मेरालागि चाहिँ अनौठो चलन थियो । बिहा भोजमा जानु र आफैं  पैसा तिरेर खानु । ठाउँ अनुसारको आ—आफ्नो चलन हो । एक प्रकारले मलाई त राम्रै लाग्यो । बिहेको नाममा ठूलो ऋणको भारी थाप्लामा बोक्नु नपर्ने । अझ कतिले त विवाहमा लगाउने ड्रेस समेत भाडामा लिँदा रहेछन् । यस्तै विवाह खर्चका बारेमा कुरा हुँदै गर्दा अमेरिकादेखि आउनुभएकी भारती दिदीले बील र हिलारी क्लिन्टनकी छोरी चेल्सीको विवाहको प्रसंग उठाउनुभयो । हाम्रातिर भए एउटा राष्ट्रप्रमुख भैसकेको मानिसकी छोरीको बिहामा कति मानिसहरु भोजमा बोलाइन्थे, कति तामझाम, भोज र तमासामा खर्च हुन्थ्यो होला भन्ने कुरा चले ।

तर चेल्सीको विवाहमा अत्यन्त सानो संख्यामा मानिसहरु बोलाइएको कुरा उहाँले गर्नुभयो । विवाह नितान्त रुपमा व्यक्तिगत कुरा हो र यो कुरामा अरुले हस्तक्षेप गर्नु हुँदैन भन्ने तर्क उहाँको रह्यो । कसरी उहाँ अमेरिकामै हुर्केका आफ्ना छोराछोरीको विवाहमा आफूले सोचे सम्झेका सबैलाई निम्तो गर्न असमर्थ हुनुभयो भन्ने कुरा रोचक थियो । "यता हाम्रातिर त सम्पूर्ण चिनाजानका मान्छे नबोलाए रिसाउँछन् । धेरै मान्छे बोलाएपछि स्वभावतः खर्च बढी नै लाग्छ । तर उता त अति निकटबाहेक अरुलाई बोलाइँदैन । नेपाली पारा गरेर आफूले बोलाउन खोज्दा पनि छोराछोरी मानेनन् । आफूले  कहिल्यै नचिनेका, नदेखेका र नबोलेका मानिसहरुलाई तपाईंहरु मेरो बिहेमा किन बोलाउनुहुन्छ ? यो त मेरो बिहे हो । कसलाई बोलाउने भन्ने कुराको निधो म गर्छु , भनेर छोरो कड्किएपछि चुप लाग्नै पर्यो,” दिदीले मनको वह पोख्नुभयो ।


यस्तै विवाहको चर्चा चल्दा मैले हाम्रा ठाउँतिर कसरी बाबुआमाले खोजिदिएका कहिल्यै नदेखेका, नबोलेका मानिससँग विवाह गरेर जुनी बिताउनु पर्छ, भन्ने कुरा मेरा अष्ट्रेलियन साथीहरुलाई सुनाउँदा उनीहरु छक्क परेका थिए । एकैपटक पनि नदेखी कसरी बिहे हुन सक्छ र ती जोडीले कसरी एक जुनी गुजार्छन् भन्ने कुरा बुझाउन मलाई कठीन परेको थियो । हो पनि, जुन देशमा व्यक्तिगत स्वतन्त्रतामा बिल्कूलै अंकुश लगाइँदैन, मानिसहरु आफ्नो प्रकारले आफ्ना जीवनसाथी निर्वाध रुपले छनौट गर्न पाउँछन्, उनीहरुका लागि मेरा कुरा नौला नै थिए । जीवनसाथी छनोट गर्न आफ्नो विवेक प्रयोग गर्न नपाइने परिस्थितिलाई उनीहरुले अलि जंगली र पशुवत प्रथा हो भन्ने निश्कर्ष निकालेका थिए । वर्षौदेखि चलिआएको प्रचलनका विषयमा अरुले औँलो ठड्याउँदा म पनि एकपटक त झसंग भएँ । अझ तिनीहरुले हाम्रा आमा हजुरआमाहरुको बिहे सात आठ वर्षकै उमेरमा हुन्थ्यो भन्ने सुनेका भए के भन्दा हुन् ? यिनै कुराहरुले मलाई साउथ अफ्रिकी लेखक चिनुवा आचेबको ‘विवाह नीजि मामिला हो’ भन्ने कथाको याद आयो । कथामा दुई युवा युवती आफ्ना खुशीले विवाह गर्छन् । परिवारले र समाजले समेत लामो समयसम्म उनीहरुबीचको अन्तर्जातीय सम्बन्धलाई स्वीकार गर्दैन तर पछि गएर नाति नातिनाको मायाले गर्दा उनीहरु परिवारमा स्वीकार्य हुन्छन् । सुदूर देशमा लेखिएको कथा भए पनि हाम्रो परिप्रेक्ष्यमा आचेबको कथाले मेल खान्छ ।


एकजना युवा नेताको भाषण आजकल लोकप्रिय भएको छ । भाषणमा नेताले छोरी दिनभन्दा भोट दिन अझ सोचविचार पुर्याउनु पर्ने तर्क गर्छन् । जनतालाई सही मान्छे चुनेर भोट खसाल्नु पर्ने कुरा बुझाउन उनले यो भाषा प्रयोग गरेका हुन् । उनी बुझाउन सफल पनि छन् । तैपनि उनको विचार पुरातनपन्थी लाग्यो मलाई । छोरीलाई राम्रो पढाइ लेखाइ गराएर आत्मनिर्भर बनाउन सके उनको बेहुलो उनी आफै छान्न सक्छिन् । नेताले भाषणमा भनेजस्तो केटीका बाबुआमाले जुवाइं तौलेर हिंड्नु पर्दैनथ्यो । आफू सुहाउँदो केटा होस् वा केटी एउटा वयस्क मानिसले आफैं खोज्न सक्छ । पुरानो समयमा केटाकेटीको उमेर परिपक्व नभैसकेको अवस्थामा बाबुआमाले जोडा खोजिदिनु ठिकै पनि हो । आजको परिप्रेक्ष्यमा चिनुवा आचेबले भने जस्तै विवाह “प्राइभेट अफेयर” नै हो । यसका लागि केटाकेटीले आफ्नो जीवन साथीको छनोट पनि आफैं गर्न सक्नुपर्छ, आफ्नो रुचीअनुसारको मानिस अरुले खोजिदिन सक्दैन । जसरी जसरी विवाह गरे पनि अन्तिममा आएर त केटा र केटी दुई जना मिलेर नै जीवन चलाउने हो, होइन र ? यसैले मलाई त ‘माइ लाइफ माइ च्वाइस’ भन्ने स्लोगन घच्चीको लाग्छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 8 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Tuesday, 5 April 2022

तिमी हारे पो हामी जित्छौं

         


        चुनावले बजार तानेको बेला छ अहिले । आ–आफ्ना फण्डा लिएर सबै राजनीतिक दल अघि बढेका छन् । यस किसिमको चुनावमा चासो किन हुन्छ वा किन हुँदैन भन्ने कुराले मलाई आजकल कोतरिरहन्छ । हरेक पटक चुनावले ठूला ठूला योजना र सपनाका ज्वारभाटा नै ल्याउने गर्छ । यो चुनावी खेलमा शाब्दिक रुपमा वितण्डा मच्चाउन सक्ने व्यक्ति अघि बढ्छ र इमान्दार व्यक्ति लड्छ । जसले ठूलाठूला डिङ्ग हाँक्न सक्छ, ऊ नै प्रतिस्पर्धामा अगाडि आउँछ ।

        अहिले त अब त्यति प्रचनलमा नहोला तर केहि दशक अगाडि सम्म गोरु जुधाइ खेल्ने प्रचलन थियो । आ–आफ्ना गोरुलाई चौरमा लग्ने र जुधाउने अनि थप्पडी बजाउने । प्रतिस्पर्धा हो, हार र जीत त भइ नै हाल्छ । हार्ने पक्षले शीर झुकाएर हिँड्ने र जित्नेहरुले उल्लासमा शीर ठाडो पारेर हुँकार गर्दै हिँड्ने गर्छन् । अहिलेका चुनावी प्रतिस्पर्धा गोरु जुधाइ जस्तै लाग्छ मलाई । हामी आफ्नो गाँस काटेर तिरेको करमाथि ती जित्नेहरुलाई मनोमानी गर्ने अधिकार दिन्छौँ । जुन व्यक्ति हिजोे लामो प्रतिवद्धता पत्र बोकेर अगाडि बढेको र जितेको थियो, त्यहि व्यक्ति विभिन्न बहानामा काम गर्न नसकेको लाचारी प्रकट गर्छ र फेरि जनतासामु केहि झुठा सपनाका पुलिन्दा बोकेर गिड्गिडाउन आइपुग्छ । अहिले त्यहि कुराको पुनरावृत्ति भइरहेको छ ।
        एउटा सामान्य मनुष्यले समेत प्रश्न गर्छ– के यी जनप्रतिनिधिहरुको कुनै उमेर हद हुँदैन ? के यिनीहरुले कुनै शिक्षाको तह पूरा गर्नुपर्ने वाध्यता हुँदैन ? वास्तवमा सामान्य जस्तो लागे पनि यी अत्यन्त महत्वपूर्ण प्रश्नहरु हुन् । एउटा जागिरेको जागिर खान पाउने उमेरको हद हुन्छ । यदि कसैमा अझै  धेरै समयसम्म काम गर्न सक्ने क्षमता र दक्षता हुँदा हुँदै किन अवकाश दिइन्छ त ? यसका पछाडि खासगरी खच्कँदो उमेरसँगै आउने शारीरिक र मानसिक दुर्वलता नै हो । एउटा उर्वर काल कटिसकेपछि मानिस लगायत कुनै पनि जीव विस्तारै जीर्ण हुँदै जान्छ । उसबाट धेरै ठूलो उत्पादकत्व क्षमताको अपेक्षा गर्न सकिँदैन । कतिपय कार्यक्षेत्रमा त अझ वृद्धावस्थातिर लम्केका मानिसहरुबाट खतरा नै आइपर्ने डर हुन्छ । यसका साथै बुढाखाडाहरुले कुनै पद र पेशामा टाँसिइरहने हो भनेँ नयाँ पुस्ताले पालो नै पाउँदैन ।
यस बहसले हाम्रोमा मात्र नभइ विदेशतिर पनि चुनाव ताका ठाउँ ओगट्ने गरेको छ । गएको राष्ट्रपति चुनावमा भिडेका जो वाइडेन र डोनाल्ड ट्रम्प सत्तरी माथिका थिए र तीमध्ये हाल वाइडेन अमेरिकी राष्ट्रपति छन् । भारतीय प्रधानमन्त्री मोदी समेत सत्तरी नाघिसके । विश्वव्यापी रुपमै राजनीति, चिकित्सा र वकालत पेशामा हुनेहरु प्रायः सेवानिवृत्त भएर ढुक्कले बसेको पाइँदैन । हाम्रो सन्दर्भमा हेर्ने हो भनें प्रमुख दलका शीर्ष व्यक्तिहरु सत्तरी वा सोभन्दा माथिकै उमेरका छन् । तिनैमध्ये केहि व्यक्तिहरु पटक पटक सरकार प्रमुख भैसकेका छन् । उनीहरुका क्षमता र दक्षताका बारेमा जनताहरु पनि अनभिज्ञ छैनन् । उनीहरु दोहोर्याएर  सत्ता प्रमुख बनिसकेका छन् । फेरि पनि तिनै पुराना अनुहारहरु अगाडि बढिरहेका छन् । गर्न सक्ने र क्षमता हुने व्यक्ति वा पार्टीले एकै पालोमा केहि जनमुखी काम गर्न सक्छ र आफ्नो मार्ग फराकिलो पार्न सक्छ । यस कुराको उदाहरण भारतमा उदाइरहेको आम आदमी पार्टी र यसका अगुवा केजरीवाललाई लिन सकिन्छ । सन् २०१२ देखि उदाएको आम आदमी पार्टीले छोटो समयमै जनतालाई प्रभाव पार्न सकेको छ । विगत सत्तरी वर्षदेखि शासन गर्दै आएका पुराना पार्टीसँग वाक्क भएका जनताले केजरीवालको उत्साहलाई साथ दिएका छन् ।


        यहाँ कसैको अपमान गर्न खोजिएको त होइन तर देश र समाजको लागि वर्तमान र भविष्यको खाका कोर्ने क्षमता भएका मानिस हामीले विगतमा चुन्न नसकेकै हो । हाम्रो सन्दर्भमा हेर्ने हो भनेँ देशले विकल्प खोजेको छ । पुराना नेता र पुराना भनिएका पार्टीले देशलाई अगाडि बढाउन सक्ने क्षमता प्रस्तुत गरेका छैनन् । नयाँ तथा वैकल्पिक शक्ति भनिएका पार्टीहरुमा समेत पुरानै व्यक्तिहरु हावी छन् । अलिकति आशा जगाउन खोजेको साझा वा विवेकशील समेत आन्तरिक लैलफडामा फँसेर फुट्ने , जुध्ने र टुट्ने भैरहेका छन् । अहिले घोषणापत्रको मौसम पनि चलेको छ । स्वदेशमै रोजगार सिर्जना गर्छौं  भनेर मौखिक प्रतिबद्धता प्रकट नगर्ने कुनै पनि पार्टी छैनन् । तर त्यस कुरामा कुनै तुक हुँदैन । कसरी, कहाँ, कहिले भन्ने कुराको योजना र खाका कतै भेटिदैँन । ससाना क्षणिक लाभका वृद्ध भत्ता बढाउने, सडक पीच गर्ने, खानेपानीको व्यवस्था गर्ने जस्ता झिना मसिना एजेण्डा बोकेर पार्टीहरु घर दैलो चहार्न थालेका छन् । हामी सबैलाई थाहा छ, जित्नेहरुले के के गर्छन् भन्ने कुरा । कसैले जिते वा हारे पनि हामीजस्ता आम जनताको जीवनमा तात्विक अन्तर आउने छैन । बजार भाऊ घट्ने छैन । शिक्षा, स्वास्थ्य र रोजगारको स्थितिमा सुधार आउनेछैन । चुनावको नाममा ठूलो धनराशी खर्च गरेर पनि नचुनिनु पर्ने मानिसहरु चुनिनेछन् । यी तीता यथार्थ हुन्, तर सत्य यही नै हो । नत्रभनेँ पार्टी प्रवेश गर्नेहरुको भीड हेरौँ । लंगुरबुर्जा खेलमा दाऊ लगाएजस्तै आज एक पार्टीमा र भोलि अर्को पार्टीमा हुलका हुल मानिस कुदिरहेका छन् । यी नवप्रवेशीहरुले गर्ने सिद्धान्त र आदर्शका कुरा फोस्रा गफ मात्र हुन् । एउटा सिद्धान्त बुझ्ने मानिस त एकै ठाउँमा बसेर टिकिरहन सक्नुपर्ने हो । तर जता भीड छ, जता चटक छ, त्यता दौडिनेले के सिद्धान्त बुझेको होला ?
        हाल देखिएको चुनावी गठबन्धन समेत अत्यन्त अप्रजातान्त्रिक प्रक्रिया हो । जनताले आफ्ना खुशीले उम्मेद्वार छनौट गर्ने अधिकारबाट जनतालाई वन्चित गराएर मिलेमतोमा मान्छे उभ्याउने काम प्रजातान्त्रिक हुनै सक्दैन । यो त सत्तामुखी कार्य हो । चुनावी प्रक्रियामै गठबन्धन खडा गर्नु देश र जनताप्रति घात हो । अलग अलग सिद्धान्त र आदर्श बोकेका राजनीतिक दलहरु सत्ता स्वार्थका लागि एक हुन सक्छन् भने तिनीहरु आपसमा मिलेर एकै दल निर्माण किन नगर्ने  ? जसरी जुन हालतमा पनि चुनाव जित्नु नै मात्र उद्देश्य हो भने तिनीहरुबाट जनहितको अपेक्षा कति गर्न सकिन्छ ? जनप्रियहरुले कुनै तिकडमबाजी नगरिकिनै जित्छन् । जनताको मन मुटु जित्न सक्नेहरुलाई गठबन्धनको जरुरत पर्दैन । एक्लो लडाईँ जित्न नसक्नेहरुले मैदानमा अग्रसर नभएको राम्रो । तिमीहरुले हारे मात्र जनताले जित्छन् । जनताको हित सोच्ने हो भने प्रतिगामीहरुले, पुरातनपन्थीहरुले, वृद्धावस्थाका नेताहरुले मार्ग प्रशस्त गरेकै राम्रो । तिमीहरुले एकपटकलाई हारिदिएकै राम्रो ।


        अब जित्ने चाहिँ कसले त ? प्रश्न उठ्न सक्छ । दल, छाप र सिद्धान्त जस्ता कुरालाई एकछिन बिर्सिएर संयमी, पठीत, निष्कलंक र उर्जावान् युवकहरुको जमातलाई अघि लगाउने हो भनेँ देशले पक्कै पनि नयाँ मार्गचित्र कोर्न सक्छ । होइन, पुरानै 
उर्जाहिन समूहलाई अघि लगाउने हो भनेँ हाम्रा दुुर्दिनहरु टाढा छैनन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 1 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]