Saturday, 14 May 2022

हजुरहरु कहाँ नाम्नुहुन्छ?

         


    गुवाहाटीदेखि विश्वनाथ चाराली पुग्नु थियो हामीले । बाटो त त्यस्तै चार पाँच घन्टाको मात्र रहेछ भू–यानमा तर हामीलाई झण्डै सात घन्टा लाग्यो । ढिलाइको प्रमुख कारण त ट्राफिक जाम नै थियो । नौलो ठाउँमा एक्लै हुँइदो हो त मनमा अलिकति सन्देह हुन्थ्यो होला । तर हाम्रो त दशजनाको जत्था थियो । बसमा चढ्ने बित्तिकै आफ्नै भाका र भाषामा गफका पर्रा छुटे । सोणितपुर जिल्ला त्यतै पर्ने रहेछ । कमल दाजुले आफ्नो शास्त्रीय ज्ञान जोडेर सोणितपुरको कथा लगाउनुभयो । आदिकालमा भगवान शिवका सेना र कृष्णका सेना बीचमा यसै स्थानमा भयानक युद्ध भएको रहेछ । युद्धको कारणचाहिँ शिवभक्त वाणासुर नामक राक्षसकी छोरी उषाले श्रीकृष्णका नाती अनिरुद्धलाई मन पराएर अपहरण नै गरिछे । उनीहरुबीच गन्धर्व विवाह पनि भएछ । त्यो विवाह पनि अचम्मसँग जुरेको रहेछ । वाणासुर राजाकी छोरी उषाले सपनामा श्रीकृष्णका नाती अनिरुद्धलाई देखेकी रहिछ । अनि त्यो सपनाका वर्णनका आधारमा उषाकी साथी चित्रलेखाले चित्र उतार गरिछ । अनि मात्र त्यस दिव्य पुरुषको खोजी गर्दा अनिरुद्ध फेला परेछन् । यसरी नातीको रक्षामा उत्रिएका हरि (कृष्ण) र भक्त वाणासुरका पक्षमा उभिएका हर (शिव) का सेनाबीचको भयानक रक्तपातपूर्ण (सोणित) युद्ध भएको स्थान नै सोणितपुर रहेछ । कथाको अन्त्यचाहिँ सुखद रहेछ । ती दुई प्रेमीको मिलन भएछ ।

 असम घुम्ने क्रममा ती चित्रलेखाले चित्र कोरेको ठाउँ र यसै मिथकसँग जोडिएको अग्निगढ़ पर्वत समेत देख्न पाउँदा कमल दाजुजति हर्षित को भयो होला र ?

          यो कथा चल्दै थियो । यसै बिचमा अलिकति तलतल र अलिकति भोक पनि मेट्न मुस्ताङबाट आएका स्याउका सुकुटी निस्के, निर्मला दिदीको ब्यागबाट । त्यसपछि सुबना दिदीले भुजिया, सोनपापडी लगायतका वस्तु झोलाबाट फुतुफुतु निकालेर बाँड्नुभयो । उहाँले रेलमा बाँडिएका ती वस्तु जोगाएर राखेर बसको यात्रामा बाड्नुभएको थियो तर ठट्टामा हितान सरले, “मैले पनि त्यहाँ बढारेको बेला टिपेको भए अहिले कति काम लाग्ने रहेछ,” भन्दा हाँसोको फोहरा नै छुट्यो । समय कटनी गर्नु थियो । परपरका पहाड, सडक छेउका धापिला जमिन, सुपारीका रुखहरु, ब्रम्हपुत्रका विशाल र उर्वर फाँटका बीचबाट बस बेतोड दौडिरहेको थियो । अब गफले अर्को मोड लियो– “असममा के छ ?” असममा हामीले नदेखेको कुरा केहि नभएको निस्कर्ष निस्कियो । यो केवल ठट्टामिश्रित हाँसोको खुराकी मात्र थियो । हामी यति जोडले बोलेछौँ र हाँसेछौँ कि छेउका एकजना भाइले हल्ला कम गरिदिन अनुरोध गरे । अलिकति लाज माने जस्तो गरेर टोली एकछिन चुप लाग्यो तर कसरी चुप लागेर बस्न सकिन्थ्यो र ? फेरि गफहरु शुरु भए । बस ससाना बजार र गाउँ पार गर्दै अघि बढिरहेको थियो । एक ठाउँमा चिया खाजा खान बस एकछिन रोकियो । हाम्रा बिचमा के खाने, कसो खाने विषयमा चर्चा परिचर्चा चल्यो । अन्तिममा हामीले असमको मिठो चिया मात्र किनी खाने टुङ्गो लगायौं । अञ्जना दिदीले काठमाण्डौ देखि जतनसाथ ल्याउनुभएको फुरन्दाना, खजुरी र विराटनगरमा सुमन र महिमा छोरीले बाटोमा खान किनिदिएको भुजिया र मिठाई यतिबेला बहुत काम लागे।

          हाम्रा अघिल्तिर बस्ने एकजना व्यक्ति बेलाबेला हामीतिर हेर्थ्यो अनि फेरि बाहिर हेर्थ्यो । ऊ एक्लो यात्री थियो । यसैबीचमा उसलाई कतैबाट फोन आयो । फोनको स्क्रिनमा होम–१ लेखेको देखियो । उसले केहि बेर शायद असमी भाषामै कुरा गर्यो । त्यसको लगत्तैपछि उसको अर्को फोन आयो र स्क्रिनमा होम–२ देखियो । त्यसै कुरालाई लिएर डा. कुमार र मेरा श्रीमानले गफ शुरु गर्नुभयो– “यसका दुई घरबार रहेछन् ।” कुरामा कुराहरु जोडिए । हाँसो त कति हो कति । त्यस व्यक्तिका शारीरिक स्वरुपका बारेमा पनि कुरा भए । त्यसको आधा घन्टाजति पछि साँझ पर्न थालिसकेको थियो । हामी कता उत्रने भन्ने टुङ्गो थिएन । अब कण्डक्टरलाई सोध्नुपर्ला भन्ने सल्लाह हुँदाहुँदै

त्यसै व्यक्तिले सोध्यो, “हजुरहरु कहाँ नाम्नुहुन्छ?”

          ला, त्यो व्यक्तिको हामीले त्यत्रो खिल्ली उडायौं । बिचरा उसले पनि सुन्यो होला । ऊ हामीलाई सोध्दै थियो कहाँ झर्नुहुन्छ भनेर । उनी त्यतै बस्ने हरि ओली रहेछन् । हामीले साहित्य सम्मेलनमा आएका र फलानालाई भेट्नु पर्नेछ भन्नासाथ उनले फोन लगाए । पाहुनाहरु आउँदैछन् भन्ने खबर गरिदिए र अन्त्यमा हामीसँगै ओर्लेर प्रतिक्षार्थीहरुसँग मिलन पनि गराइदिए ।

          दिनभरी बसमा वरपर गर्ने, ढोकामा उभिएर यात्रुलाई बोलाउने एकजना बलिष्ठ कदका भाइ थिए । तिनले हामी नेपाली हौँ भन्ने कुरा त डा. खगेनबाट गुवाहाटीमा बस चढ्ने क्रममै चाल पाएका हुनुपर्छ । तर ती भाइ पनि बढो छुपेरुस्तम निस्किए । दिनभर बाटोमा मुसुक्क हाँस्थे, “चा के लिए बाहर जाइये,” जस्ता कुरा हिन्दीमै गर्थे । यात्राको अन्तमा भनेँ उनले छेउमा आएर सोधे– “कति दिन बस्ने हो यता? तपाईँहरु नाम्ने ठाम् आउन आट्यो ।” पछि पो थाहा भयो ती त त्यहिँ विश्वनाथ चाराली गोलियाका नेपाली भाइ रहेछन् । एकजना बंगाली युवतीसँग प्रेम विवाह गरेपछि चटक्कै नेपाली बोल्न छाडेका रहेछन् । नेपाली बोल्न छाड्नुको पछाडिको कथा व्यथा अर्कै होला तर जे होस् हामीसँग त अलिकति बोले ।

          बासबाट नाम्ने बेलामा त झमक्क साँझ परिसकेको थियो । बसको ढोकैमा वर्षौदेखिको चिनाजाना जस्तो ज्ञानबहादुर दाजुले सबैको नामले एक एक गर्दै पुकार्नुभयो । यता पुराना मित्रहरु झैं, वर्षौपछि देखादेख भएका दाजुभाइ झैं  चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा, पूर्णकुमार शर्मा, अञ्जन बाँस्कोटा, चिन्तामणि शर्मा, प्रकाश लिम्बू लगायतका सहृदयीहरु गाडी लिएर हामीलाई दुई घन्टादेखि पर्खिरहनुभएको रहेछ । गाडीमा सामान थन्क्याएपछि फोटो उठाउने काम भयो । त्यस भेगमा फोटो खिच्ने नभनेर फोटो उठाउने भनिँदो रहेछ । त्यसैगरि बसलाई ‘बास’ भनेको र सरलाई ‘सार’ भनेको पनि स्थानीय जनजिब्रोमा राम्रो सुनिंदो रहेछ ।

          कारहरुका लस्करलाई धेरै बेर लागेन गन्तब्यमा पुग्न । छिनभरमै हामी सरकारी पाहुनाघर सर्किट हाउसमा छिरेउं। तल बन्दूकसँग गार्डहरु पहरामा थिए । अबका दुई रात हामीले सर्किट हाउसमै बिताउनुपर्ने थियो । सिम्सिमे पानी पर्दापर्दै, हामीले प्रकाश सुब्बा र विष्णुदेवी बहिनीले आयोजना गर्नुभएको रात्री भोजनको आतिथ्य स्वीकार गर्न पुग्नुपर्ने थियो । हामी नेपालको भौगोलिक सीमाबाट कोशौँ टाढा थियौँ । आफ्नो बासस्थानबाट हजारौँ किलोमिटर टाढाको बाजे बराजुहरुले खोजेको र बिराएको नयाँ धर्तीमा थियौँ । तर यति टाढासम्म ब्रह्मपुत्रको विस्तिर्ण फाँट झैं फैलिएको नेपालीत्व मान र सत्कारले भावविव्हल भएका थियौँ । खानापछि छुट्टिने बेलामा फेरि एउटा फोटो नउठाइकन त किन पो मन मान्थ्यो र !

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 13 May 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Sunday, 8 May 2022

अतिथि देवो भवः

 


धेरै समयको अन्तरालपछि यसपाली फेरि असम यात्रा जुर्यो मलाई । कस्तो अचम्म ! कोरोना कालअगाडि पनि मैले अन्तिममा असम यात्रा नै गरेकी थिएँ । त्यतिबेलाको यात्रा गुवाहाटीसम्मको मात्र थियो । यो पटक भने त्यहाँभन्दा पर तेजपूर र विश्वनाथ चाराली सम्मको यात्रा तय हुने भएकोले म त्यो यात्रामा सम्मिलित हुन लोभिएकी थिएँ ।

        हुन त यो साहित्यिक यात्रा थियो तर म भनेँ नयाँ ठाउँ हेर्न र त्यहाँका मानिसहरुको रहनसहन बुझ्न बढी उत्सुक थिएँ । हाम्रो टीम पनि यसपाली त जम्बो नै थियो– दश जनाको । डा. गोविन्दराज भट्टराईको नेतृत्वमा हामी सबैजना पछि लागेका थियौं । आफूभन्दा अग्रजहरुसँग जाने भएकाले यो पटक कहाँ बस्ने, कहाँ जाने, के के गर्ने भन्ने कुराको जिम्मा उहाँहरुले नै लिनुभएको थियो । मैले मान्नुपर्ने शर्त खालि टीममा मिल्न सक्नु थियो ।

        बिहानको मिरमिरे उज्यालोमा दमकबाट हाम्रो यात्रा शुरु भयो । जंग भाइको ट्याक्सीमा चढेपछि हामीले कुनै कुराको चिन्ता लिनै पर्दैन । बाटोमा आइपर्ने सबै समस्या भाइले सुल्झाउनुहुन्छ । आफू मात्र गएको भए काँकडभिट्टाबाट बोर्डर क्रस गरी पानीटङ्की पुग्न सास्ती नै हुन्थ्यो होला । तर जंग भाइलाई नागरिकताको प्रमाणपत्र र कोभीड–१९ को खोपकार्ड बुझाएपछि हामीले केहि गर्नै परेन; ट्याक्सीबाट समेत उत्रनु परेन । सबै कुरा उहाँले टाकटुक मिलाउनुभयो ।

        दशजना मान्छे कसरी एउटै ट्याक्सीमा अटाए होला भन्ने प्रश्न यहाँ उठ्न सक्ला ! हाम्रो टीममा चारजना महिला थियौँ र महिला जति जंग भाइको ट्याक्सीमा चढेका थियौँ । बाँकी छ जना पुरुष जीपमा हुनुहुन्थ्यो । पछि थाहा भयो– जीपमा चढ्नेहरुसँग बोर्डरमा निकै सोधपूछ भएछ । जंग भाइका अनुसार सानो गाडीमा चढेकालाई भन्दा ठूलो गाडीमा चढेकालाई बढी शंकाको दृष्टिले हेरिन्छ रे बोर्डरमा ।

        न्यू जलपाइगुडीबाट हाम्रो ट्रेन दिउँसो १२:५५ बजे थियो तर नौ बजेतिरै हामी ट्रेन स्टेशन पुगिहाल्यौँ । तीन चार घण्टा प्रतीक्षामा बिताउनु पनि कष्टकर नै हुन्छ । पर्खिने काम त्यसै पनि मलाई पटक्क मन पर्दैन । १५–२० मिनेट पर्खिनु त सजायजस्तो लाग्ने मान्छेलाई करीब चार घण्टा पर्खिनु कम चुनौतीपूर्ण थियो र ! तैपनि मान्छे धेरै भएको हुनाले यताउता गर्दै, गफ गर्दै, कविता सुन्दै त्यो समय कटनी भयो ।

        रेल सेवामा पनि “राजधानी एक्सप्रेस” चैँ एकदमै ठीक समयमा चल्ने गर्छ भन्ने कुरा सुनिएको थियो । हो रहेछ ! हाम्रो १२:५५ को रेल ठीक त्यतिबेलै न्यू जलपाइगुडीबाट छुट्यो । करीब सात बजेतिर हामी गुवाहाटी ट्रेन स्टेशनमा उत्रियौँ । अब यहाँबाट कता लाग्ने, के गर्ने भन्ने कुराको चिन्ता हामीले गर्नै परेन । गुवाहाटी विश्वविद्यालयको नेपाली विभागका प्रोफेसर डा. खगेन शर्मा हाम्रो स्वागतका लागि  हामी स्टेशनबाहिर निस्कने बित्तिकै भेटिनुभयो । उहाँले नै हाम्रो होटल अग्रिम रुपमा नै बुक गरिदिनुभएकोले त्यतैतिर लिएर जानुभयो । भोलिपल्ट हामी गुवाहाटीमै घुम्ने भयौँ । यसका लागि पनि खगेन सरले नै गाडीको बन्दोबस्त गरिदिनुभयो । यति मात्र होइन, खगेन सरकी श्रीमती अनुपाले त्यो दिनभरि हाम्रो गाइड हुन सहर्ष स्वीकार गर्नुभयो । त्यो दिन बेलुका प्रसिद्ध साहित्यकार लीलबहादुर क्षत्रीलाई भेट्न उहाँको बासस्थानमा पुगेका हामी एउटा सानो सानो भोज नखाई बिदा हुनै पाएनौं ।


        पर्सीपल्ट बिहान हामीले विश्वनाथसम्मको यात्रा तय गर्नु थियो । होटलमै अलि ढिलो गरी ब्रेकफास्ट खाएर हामी निस्कियौँ । त्यतिबेला पनि कहाँ गएर बस चढ्ने होला भनी चिन्ता गर्नु परेन । उनै खगेन सरले हामीलाई बसको टिकट काटिदिनेदेखि बस चढाएर पठाउने सम्मको जिम्मा लिनुभयो ।

        बाटोमा हामी निकै जाममा पर्यौं। त्यसैले गर्दा विश्वनाथ पुग्दा झमक्क साँझ पर्यो । तर बस स्टपमा उत्रदां हामीलाई कुनै अपरिचित ठाउँमा पुगेजस्तो लागेन । हाम्रो स्वागतका लागि त्यहाँ करीब ६-७ जना व्यक्तिको उपस्थिति थियो । विश्वनाथमा हामी दुई दिन बस्यौँ, त्यहाँ हाम्रो खाने बस्ने व्यवस्था भव्य रुपमा गरिएको थियो । त्यहाँका मानिसहरुको सद्भाव देखेर हामी धेरै प्रभावित भयौँ ।

        त्यहाँ नाम चलेको भवन, “सर्किट हाउस” रहेछ । त्यो सरकारी भवनमा बाहिरबाट आउने विशिष्ट व्यक्तिहरु मात्र बस्ने रहेछन् । आम जनताको पहुँचभन्दा बाहिरको त्यहि भवनमा त्यहाँका व्यवस्थापक साथीहरुले हाम्रो बस्ने व्यवस्था मिलाउनुभएको थियो । हाम्रा टोली नेतालाई त मन्त्री बस्ने भव्य कक्ष मिलेको थियो । हामी पुगेको साँझ हाम्रो खाने व्यवस्था व्यवस्थापक साथीमध्येकै एकजनाको घरमा गरिएको रहेछ । यसरी अन्जान शहरमा समेत हामीले घरको न्यानोपनको अनुभूति गर्न सक्यौँ ।

        यति मात्र होइन, हाम्रो टोलीका पाँच जनाले विश्वनाथ कलेजमा हुन गैरहेको कार्यशाला गोष्ठीमा आ–आफ्नो कार्यपत्र प्रस्तुत् गर्नुपर्ने थियो । बाँकी रहेका अरु पाँचजना सिर्फ स्रोता मात्र थियौँ । तर पनि हामीलाई त्यहाँ कुनै विभेदकारी व्यवहार गरिएन । दशैजनालाई दिइएको आतिथ्य सत्कार र सम्मान उस्तै थियो ।

        विश्वनाथबाट हामी तेजपूर आयौँ । तेजपूरमा पनि एउटा कार्यक्रममा भाग लिनुपर्ने थियो । खासमा त्यहाँ लामो समयदेखि चलिआएको नेपाली पत्रिका ‘देशवार्ता’ को ३२ औँ वार्षिकोत्सव रहेछ । त्यहि उपलक्ष्यमा नेपाली भाषा र साहित्यमा योगदान पुर्याउने व्यक्तिहरुको सम्मान गर्ने कार्यक्रम रहेछ । त्यो विशेष कार्यक्रममा हामी ‘पाहुना’लाई उत्तिकै स्तरमा सम्मान गरियो । हामीलाई विश्वनाथ देखि तेजपूरसम्म नै साथ दिने व्यक्तिहरुमा असमका नेपाली साहित्यकारहरु ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा र अन्जन बाँस्कोटा हुनुहुन्थ्यो ।

        हामी विश्वनाथबाट तेजपूर हिँड्नुपर्ने बिहान यसो वरिपरि हावा खान लोकल बजारतिर निस्किएका थियौँ । एकैछिनमा निकै ठूलो पानी पर्यो । ओत लाग्नलाई हामी कुदेर एउटा चिया दोकानभित्र छिर्यौँ। पसलमा भएका २/३ जना भाइहरु उत्सुक भएर हामीसँग गफ गर्न थाले । हामीले चिया खाइसकेको भए पनि पसले भाइले फेरि सबैलाई चिया र बिस्कुट खुवाए । हामीले पैसा तिर्न खोज्दा उनले अस्वीकार गर्दै भने, “आमै, म कहाँ तपाईहरुसँग पैसा लिन्छु ! तपाईहरु त हाम्रा पाहुना ! हाम्रो ठाउँमा आउनुभयो, कार्यक्रम गर्नुभयो, हामीलाई धेरै खुशी लागेको छ ।”

        विश्वनाथ चारालीबाट तेजपूर जाँदा बाटोमा अन्जन बाँस्कोटा भाइको घर पर्दोरहेछ । भाइले हामीलाई बिहानको खाना खाने निम्तो दिनुभएको थियो । त्यहाँ पुग्दा हामीलाई उस्तै अपनत्वको अनुभूति भयो । म पहिलोचोटि गुवाहाटी जाँदा माघे संक्रान्तिको बेला परेको थियो । त्यतिबेला त्यहाँ “बिहू पर्व” भनेर उत्सव गरिरहेको देखिन्थ्यो । फेरि यसपाली पनि “बिहू” नै चलिरहेको थियो । पछि थाहा भयो असममा “बिहू” वर्षमा तीन पटक पो मनाइँदो रहेछ । तीमध्ये यो बैशाख महिनामा पर्ने चाहिं सबैभन्दा धुमधामले मनाइने रहेछ । बिहूमा विभिन्न खाले नाचगान हुने रहेछ । डा. खगेन शर्माका अनुसार त्यहाँ करीब १५८ वटा औपचारिक नृत्य समूह छन् रे । ती सबैका बीचमा प्रतिस्पर्धा समेत गराइँदो रहेछ । ती नृत्य समूह विभिन्न ठाउँमा आफ्ना कार्यक्रम लिएर हिँड्ने रहेछन् । बिहूको नाचगान हेर्न पाए  हुन्थ्यो भन्ने हाम्रो आशय बुझेर अन्जन भाइले


आफ्नो घर आँगनमै यस्तो नाचको आयोजना गरिदिनुभएको रहेछ ।

        ज्ञानबहादुर क्षेत्री दाइको घर तेजपूरमै रहेछ । उहाँको घरमा पनि हाम्रो भव्य खातिरदारी भयो । फर्केर आउँदा  गुवाहाटीमा साहित्यकार इन्दुप्रभा देवीको घरमा र डा. खगेन शर्माको घरमा हामी पाहुना बनेर पुग्यौँ । हामी गुवाहाटीमा आएर होटलमा खाना खाने कुरा सुनेर इन्दुप्रभा देवीले, “यहाँ हाम्रो घर हुँदाहुँदै कहाँ उहाँहरुलाई होटलमा खुवाउन पठाउनु ?” भनेर आफ्नै घरमा हाम्रालागि खानपानको व्यवस्था गर्नुभएको रहेछ । डा. खगेन शर्माको घरमा बिहानको चिया खाजा खान निम्त्याइएका हामी अनुपा बैनीले दिउँसोको खाजासमेत खानु नपर्ने गरिकन विभिन्न परिकार पस्कनु भएको थियो । यति मात्र होइन, साहित्यकार नव सापकोटा र मुन्नी सापकोटाको विवाहको ५० औँ विवाहोत्सवमा पनि हामी आमन्त्रित थियौँ ।

        हुन त हाम्रो संस्कारमा “अतिथि देवो भवः” भन्ने कुरा चलेकै हो । तर यसको खास अर्थ मैले असममा यसपाली हामीलाई गरिएको व्यवहारबाट बुझेँ । हामी सबैतिर खुला हृदयले स्वीकृत भयौँ । विशेषगरि डा. खगेन शर्मा, अनुपा शर्मा, ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा र अन्जन बाँस्कोटाले उहाँहरुको अमूल्य समय पनि हामीलाई दिनुभयो । पाहुनालाई त्यस्तो अपनत्वको भाव देखाउने, त्यस्तो आतिथ्य गर्ने, त्यस्तो आदर गर्ने, हामी शायदै गर्न सक्छौं । हामी यान्त्रिक युगका यन्त्रजस्तै व्यस्त मानिस भइसक्यौं ।

        असममा हामीप्रति गरिएको व्यवहारका बारेमा मैले पहिले असममै बसोबास गर्ने र अहिले दमकमा रहनुभएका मेरा सहकर्मी सरसँग चर्चा गर्दा उहाँले गुह्य कुरा खोल्नुभयो । खासमा असममा बस्ने नेपालीमा भएको त्यो हार्दिकता र अपनत्वको भाव आसामीहरुसँगको संगतको प्रभावले आएको रहेछ । आसामीहरु आफ्ना पाहुनाको मात्र होइन आफ्ना छिमेकीका पाहुनाको सत्कार पनि उत्तिकै गर्छन् रे । छिमेकमा कोही आयो भने चिनजान गर्न जान्छन् रे । छिमेकीहरु घरमा छैनन् भनेँ उनीहरु आउन्जेल छिमेकका पाहुनालाई आफ्नै घरमा ससम्मान राख्छन् रे । मेरा सहकर्मी मित्रका अनुसार यस्ता उदार आसामीहरुसँगको उठ्बसले त्यहाँका नेपालीमा पनि यस्तो राम्रो संस्कार सरेको रहेछ ।

        जे होस् , “अतिथि देवो भवः” को साँचो अर्थ थाहा पाउनचाहिँ असमको जनजीवनलाई नजीकबाट हेर्नुपर्ने रहेछ भन्ने अनुभव रह्यो मेरो यसपालीको असम भ्रमण ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 6 May 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday, 30 April 2022

गोठाले गफको चमत्कार

 


    छ दशकभन्दा अगाडि अर्थात् ठ्याक्कै भन्नुपर्दा पैसठ्ठी वर्ष अगाडि लेखिएर निरन्तर चर्चामा रहन सफल उपन्यासका लेखकसँग भेट हुनु मेरा लागि एउटा अहोभाग्य थियो । छ दशकदेखि देवकोटाको मुनामदनपछि बसाइँ उपन्यास नै सर्वाधिक विक्रीको सूचीमा रहेछ । पाठ्यक्रममा समेत राखिएको यस पुस्तकले नेपालीभाषीहरुलाई एकपटक छोएकै होला जस्तो लाग्छ मलाई । विद्यार्थीकालमा पढिएका अविस्मरणीय पात्रहरु झुमा, रिकुटे र मोटे कार्कीजस्ता पात्रहरुको सिर्जना गर्ने एक अथक सर्जक लीलबहादुर क्षत्रीसँग भेट्ने मौका गुवाहाटी– तेजपुर– विश्वनाथ चारआली यात्राले यसपटक जुराइदियो । दश सदस्यीय टोलीको नाइके डा. गोविन्दराज भट्टराईसँग बसाइँका लेखक लीलबहादुर क्षत्रीको लामो र घनिष्ठ सम्बन्ध रहेछ ।

          गुवाहाटीको रेल स्टेशन छेउको पल्टनबजार पुग्दा रात परिसकेको थियो । सहृदयी डा. खगेनले बासको व्यवस्था मिलाइसक्नु भएको रहेछ । उहाँले आफ्नो गाडीमा हाम्रा झोलातुम्बी भरेर नाइकेलाई छेउमा राखेर अघिअघि लाग्नुभयो । हाम्रै टोलीका अर्का उम्दा सदस्य डा. कुमार कोइरालाले अघिल्लो यात्राकै समयमा बाटाको भेउ पाइसक्नु भएकाले हामी पैदलै उहाँका पछि लाग्यौं । भोलिपल्ट बिहानको नास्तापछि धार्मिक स्थलहरु कामाक्ष्या, उमानन्द र वशिष्ठ आश्रम घुमफिर र दर्शन गर्ने कार्यहरु भए । पहिले पनि पुगिसकेका ती धार्मिक क्षेत्र घुमुन्जेल पनि म साँझमा लीलबहादुर सरलाई भेट्न व्यग्र थिएँ । साँझमा आफ्ना प्राध्यापन कार्य सकेर धारिला शर्ट पेन्टमा साना काँटीका डा. खगेन आइपुग्नुभयो र हाम्रो टोलीलाई अगुवाई गरेर पल्टन बजारको पूर्वी खण्डतर्फ़ लैजानुभयो । सानो गल्लीबाट छिरेर अलिकति भित्र पसेपछि लीलबहादुर सरको घर पुगिने रहेछ । नब्बेको दशकमा हिंडिरहेको एउटा लेखनशिल्पी कस्तो हुन सक्ला त भन्ने कुरा मेरा मनमा खेलिरहेको थियो । उहाँसँग भेट हुँदा मेरो कल्पनाले मेल खाएन । उहाँ एक चुस्त शरीरका अध्येता र प्रष्ट वक्ता हुनुहुँदो रहेछ ।

          नब्बे वर्षका लीलबहादुरलाई अर्पण गर्न उहाँकै नाटकहरु संकलित तीस प्रति पुस्तक थिए । नब्बे वर्षका युवा जस्तो हुनुहुँदो रहेछ उहाँ त । परिचय कार्यक्रम पछि उहाँले साहित्य चर्चा थालिहाल्नुभयो । “पाएका र भेटेका सबै पुस्तक म पढछु,” भन्दै गर्दा केहि समयअगाडि मुक्ति बराल दाजुका हातमा पठाइएको आफ्नो ‘घाम अस्ताएको होइन’ पुस्तक पनि उहाँले पढिरहेको कुरा सुन्दा खुशी लाग्यो । धनकुटामा धेरै पहिले बुवा र मुवाँलाई समेत लीलबहादुर सरले भेटेको सुन्दा त झन् मन कति प्रफुल्लीत भयो ।


          नब्बेका उमेरमा समेत उहाँ पढिरहनुहुँदो रहेछ । “उहाँ बिहान, दिउँसो, बेलुका पढिरहनुहुन्छ,” लीलबहादुरका कान्छा छोरा पल्लवले जानकारी दिए, “कार्यक्रमहरुमा पनि यदाकदा हिड्नुहुन्छ ।” संयोग पनि त्यस्तै पर्यो । लीलबहादुर सरलाई भेटेको केहि दिनपछि कवि नव सापकोटाको पचासौं विवाह उत्सवको कार्यक्रम रहेछ । हाम्रो नेपाली टोलीले समेत त्यस कार्यक्रममा निम्ता पाएको थियो । रात्री भोजको त्यस उत्सवमा पुनः लीलबहादुर सरसँग भेट भयो । त्यस उमेरमा समेत उहाँको त्यो सक्रियता सबैका लागि प्रेरणादायी कुरा हो ।

          दर्जनजति पाहुनाका बीचमा घेरिएर बस्नु भएका लीलबहादुर सरले भाषाको चिन्ता प्रकट गर्नुभयो । भाषा सर्जक र प्रयोक्ता रहुन्जेल भाषा नमर्ने कुरा गर्नुभयो । कुराकानीकै बीचमा एक वृद्ध माताको प्रवेश भयो । उहाँ श्रीमती क्षत्री अर्थात् लीलबहादुरकै श्रीमती हुनुहुँदो रहेछ । उहाँ पनि ८४ वर्षका उमेरमा चश्मा नै प्रयोग नगरी पढिरहनुहुँदो रहेछ ।

          कुराकानीका क्रममा उहाँले पठन संस्कृतिमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्नुभयो र भन्नुभयो, “अहिले पढ्ने चलन हरायो । तर म भनेँ फेला परे जति पुस्तकहरु पढ्छु,” यो कुरा हामी सबैका लागि असीमित उर्जा थियो । त्यसै क्रममा उहाँले अझ पनि केही काम गर्न बाँकि रहेको कुरा उल्लेख गर्नुभयो । उहाँलाई हामीले ती बाँकी कार्य के हुन् त भनेर दोहोर्याएर प्रश्न राखे पनि शायद श्रवण समस्याले होला, ती प्रश्नका उत्तर आएनन् । पछि मात्र डा. गोविन्दराजले उहाँका गर्न बाँकी कर्महरुबारे अर्थ्याइदिनुभयो । ओरिएन्टल प्रकाशनले छापेको र डा. गोविन्दराज भट्टराईले सम्पादन गरेको ‘लीलबहादुर क्षत्री चर्चित् नाटकहरु,’ पुस्तकको भूमिकामा यी कुराहरु राम्रोसँग अर्थ्याइएको रहेछ । लीलबहादुरका चर्चित नाटकहरु पुस्तकको भूमिकामा डा.भट्टराईले लील सरका अधुरा चारवटा कामहरुबारे चर्चा गर्दै भन्नुभएको छ:

क) भूमिकाहरुको प्रकाशन हुन बाँकी ।

          ख) नाटकहरुको प्रकाशन हुन बाँकी ।

          ग) निबन्धहरुको प्रकाशन हुन बाँकी ।

          घ) अन्तर्वार्ताहरुको प्रकाशन हुन बाँकी ।

माथि उल्लेखित मध्ये (क) र (ख) का कार्यहरु त सम्पन्न भैसकेछन् । 

          लीलबहादुर सरलाई नेपाल र भारतका विभिन्न साहित्यिक संस्थाले सम्मान र पुरस्कारले विभूषित गरिसकेका रहेछन् । उहाँले ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यास र अनवरत साहित्यिक योगदानका लागि भारतको साहित्य अकादमी पुरस्कार प्राप्त गर्नुभएको रहेछ । उहाँले नेपालका जगदम्बा सम्मान र प्रज्ञा–प्रतिष्ठानले स्थापना गरेको प्रथम भानु प्रज्ञा अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार पाउनुभएको रहेछ । त्यति मात्र नभएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाले स्थापना गरेको वासुदेव मालती स्मृति अन्तर्राष्ट्रिय पुरस्कार पनि उहाँलाई  प्रदान गरिएको रहेछ । गत वर्ष मात्र उहाँलाई भारतका राष्ट्रपतिको हातबाट पद्मश्री सम्मानले विभूषित गरिएको रहेछ । यी सम्पूर्ण सम्मान र उपलब्धीहरुलाई ठूलो बैठक कोठामा वरिपरि सजाएर राखिएका थिए ।

पहाडी जीवन र आप्रवासको चित्रण गरिएको ‘बसाइँ’ पछि लील सरका फुटकर रचना बाहेक ‘अतृप्त’, ‘ब्रह्मपुत्रका छेउछाउ’ र ‘प्रतिध्वनिहरु विस्मृतिको’ नामक तीनवटा मात्रै उपन्यास छन्।


    लीलसरले ‘बसाइँ’ लेखिसकेपछि केहि साथीलाई भेला गरेर सुनाउनुभएको रहेछ । त्यसमध्ये एकजना सुझबुझ भएका साथीले त्यसलाई मदन पुरस्कार गुठीमा नेपाल पठाउन चाहेछन् र कमलमणि दीक्षितसँग सम्पर्क गरेछन् ।  दीक्षितले पठाउनुस् भन्ने जवाफ दिएछन् । तर उहाँ आफ्नो पाण्डुलिपि त्यति टाढा पठाउने पक्षमा पनि हुनुहुँदोरहेनछ ।

“टाइप गरेको थिएन, हातले लेखेको एक प्रति, त्यति टाढा दुइ हजार किलोमिटर पर काठमाण्डुमा, क्या हो कसो हो?,” बी.बी.सी. नेपाली सेवाको एक अन्तरवार्तामा उहाँले बताउनुभएको छ । तैपनि साथीले हातैले भए पनि सारेर त्यसलाई काठमाण्डु पठाएछन् ।

“तर आखिर सुनको पारखी त जौहरी मात्रै हुन्छ, कमलमणिजीको हातमा पर्यो, अनि प्रकाशित भयो,” सोहि अन्तरवार्तामा उहाँले बताउनुभयो ।

मदन पुरस्कार गुठीबाट पुस्तक छापिए पनि शुरुवाती दिनमा कसैले पनि त्यसमा रुची देखाएनछन् ।

“एक सौ कपी बिक्रीको लागि मैले मगाएको थिएँ । दुइजना व्यक्तिले घरघरमा गएर पुश सेल्स गर्यौं । दाम दुइ रुपैंया थियो त्यसको । एकजना महाजनको पुस्तक पसलमा किताब छोडेको थिएँ, त्यसको केही पछि जाँदा उनले खुब गाली गरेः तपाईं जस्तो पढेलेखेको मान्छेले भगवानका कुरा लेखेको होला भन्ठानेको त, यस्तो गोठाले गफ हामीले नजानेको हो र?”

त्यत्रो उचाइमा पुगेका व्यक्तिको सरलता देखेर म ज्यादै प्रभावित भएँ । आफ्नो सम्पुर्ण जीवन नेपाली भाषा र साहित्यको सेवामा अर्पिएर पनि अझै धेरै काम गर्न बाँकि रहेको कुरा लील सरले गर्नुहुँदा म भनें अहिलेको हाम्रो बजारमुखी र प्रचारमुखी साहित्य सम्झेर चुकचुकाइरहेकी थिएँ । साहित्य सिर्जनामा कत्तिको साधना चाहिने रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण आफ्नै आँखासामु पाउँदा म खुशीले गद्गद् पनि भैरहेकी थिएँ । असमबाट हामी फर्केको एक हप्ता बितिसक्दा पनि लीलसरको भव्य व्यक्तित्व मेरो मानसपटलबाट हट्न मानिरहेको छैन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 29 April 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]