Sunday, 20 November 2016

आमोई: एक तितो यथार्थ, एक आशा

"कान्छी! तेरो फुटेको खप्पर। यो चन्द्रागिरिभन्दा अग्लो जोवन कसरी काट्छेस् नि पुतली? अहिले तेरा पंख उम्रेकै छैनन्। राता भुवा फालेर अब सेता पंखले उड्नु पर्छ पुतली तैंले। अहिले तैंले लोक देखेकै छैनस्।तँलाई कहाली लागेकै छैन फुच्ची! तँलाई कहालीको बोधसम्म भएको छैन। धिक्कार हे! निर्दयी समाज, तँलाई नारीका विवशतालाई धीत फुकाएर हेर्ने रहर अझै छ। तिनका रहर पुर्याइदे राँड!"
  
माथिको भनाई भुवनहरि सिग्देलको यथार्थपरक उपन्यास "आमोई" (पहिलो प्रकाशन २०७२ साल) बाट लिइएको हो र यसले उपन्यासको चुरोलाई प्रस्ट पार्छ। यो उपन्यासकि प्रमुख पात्र अर्थात् आमोईको नौ वर्षको उमेरमा विवाह हुन्छ र ऊ बाह्र वर्षको उमेरमा विधवा हुन्छे! आफ्नु दुल्हासँग कुनै पनि किसिमको बोलचाल नभएको र ऊसँग आमोईको केही लगाव नभएकाले दुल्हाको मृत्युमा न त ऊ दु:खी हुन सक्छे, न कुनै पीडाको नै अनुभूति गर्छे! त्यसैले त छिमेककी कुनै आइमाई उसका छेउ आई माथिका कुरा बर्बराउदै अलापविलाप गर्दा ऊ त्यसको कुनै अर्थ लगाउन सक्तिन।    

"आमोई" ले हाम्रो समाजमा प्रचलित बाल विवाह र बाल विधवाको समस्यालाई उपन्यासको विषयबस्तु बनाएको छ! समय बित्तै जाँदा एक्ली विधवा महिलाले भोग्नु परेका विविध कठिनाईलाई यो उपन्यासले मिहिन रुपमा केलाएको छ! आमोईको जीवनको सबभन्दा कहालीलाग्दो पक्ष भनेको उसले कुनै पनि किसिमको पुरुष-स्पर्श अथवा पति-सुखको अनुभूति गर्न नपाई आफ्नु ७० वर्षे लामु र पट्यारलाग्दो जिन्दगी जिएर मृत्यु वरण गर्नु हो। यो कुरालाई ऊ बारम्बार दोहोर्याउँछे पनि।  

यति हुँदाहुँदै पनि आमोईका जीवनका केहि यस्ता पाटा छन् जसले जीवनप्रति आश जगाउँछन् र जीवन मूल्यको बोध गराउँछन्। आफ्नु १४ - १५ वर्षको कलिलो छोराले आत्महत्या गरी मृत्यु रोजेको भए पनि यसको दोष आमोईकि सासूले कहिलेई बुहारीलाई दिइनन्। आमोईले आफु बेहुली भएर भित्रिएको घरमा बेहुलो नभए पनि आफ्नी सासू, तीनजना जेठाजु, तीनजना जेठानी, आमाजू र आमाजूका श्रीमान् बाट सधैं प्रेम र सद्भाव पाई। त्यसैले त उसले त्यो घरका लागि हुनसम्मको गुन लगाई, आफ्ना सम्पूर्ण उत्तरदायित्व कुशलतापूर्वक निभाई।    

 समयसंगै आमोईका जेठा जेठाजु छुट्टिएर बस्न थाले। आमोई आफ्नु माईतीमा काम सघाउन आउने आइमाई न्याउरी जीवन अनुभव र आत्मज्ञानबाट अत्यधिक प्रभावित भई, उसमा गजबको चेतना पलायो र उसले अध्ययन गर्ने निर्णय गरी। आफ्ना बाबु, दाजु र माइला जेठाजुका सहयोगमा उसले लेख्न पढ्न पनि सिकी।

दैनिक झन्झट त छँदै थिए, त्यसमाथि आमॊइका जीवनमा थप कष्ट थपिए। गाउँमा फैलिएको हैजाले उसकी सासूलाई लग्यो, बिफरले माहिली र साइँली जेठानीलाई लग्यो। साइँला जेठाजु पहिलेई विरक्तिएर घर छोडी इन्डिया पसेका! हेर्दा हेर्दै उनीहरुको घर संसार उजाडिएर गयो - त्यहाँ आमोई, माइला जेठाजु र उनकी दश वर्षकी छोरी मात्र बाँकी रहे। आमोई भन्छे, "एउटी राँडी बुहारी, एउटा राँडो जेठाजु र नाबालक छोरी बाँचेको घर अनि त्यो घरको सन्नाटा कस्तो हुन्थ्यो ? अहिले स्मरण गर्न मलाई गाह्रो हुन्छ" (पेज नम्बर २०५)।

यस्तो अप्ठ्यारो परिस्थितिको सामना गरिसकेपछि सिग्देलको सखाप हुन लागेको घर संसारको वंश अगाडि बढाउन आमोईले जुन कदम उठाई, त्यो जो कोहि मानिसले साहस नगर्ने खालको देखिन्छ। उसले आफ्ना बा आमासँग आफुभन्दा १३ वर्ष कान्छी बहिनी मागेर आफ्ना माहिला जेठाजुसँग उसको विवाह गराइदिई। आमोईकि बहिनीले त्यो सुनसान घरलाई  तीन छोरा र तीन छोरी गरी छ जना छोराछोरीले भरिदिई। केटाकेटी ठूला हुँदै गए। यहि बिचमा आमोईका जेठाजुले पनि संसार छाडे। अब घर व्यबहारको सम्पूर्ण जिम्मा आमोईमाथि नै आयो। तर उसले आफ्नु धैर्य छोडिन।    

आमोईले सबै केटाकेटिलाई बढाई, पढाई, सबैलाई आ-आफ्ना टुंगामा पुर्याइदिई र उनीहरुको विवाहसमेत गराइदिई। यसका साथै उसले आफ्नै सन्तानसरह माया दिएर हुर्काएकि साइँला जेठाजुकी छोरीको पनि राम्रो घर परिवारमा विवाह गराईदिई। उतिबेलाको समाजमा पनि आमोई एउटी सचेत, ज्ञानी, कर्मठ र जोदाहा पात्रका रुपमा उभिएकी छ।

ऊ सिग्देलका घरमा नौ वर्षको उमेर मा कान्छी बुहारी बनेर भित्रिएकी थिई। पछि ऊ त्यहि घरकी अभिवाहक अर्थात "आमोई" बन्न पुगी। उसले आफुले गर्नुपर्ने सम्पूर्ण व्यबहार कुशलतापूर्वक निभाई, आफ्ना सबै उत्तरदायित्व सफलतापूर्वक पूरा गरी र यो संसारबाट बिदा भई। यसरी "आमोई" एउटी बालविधवा नारीको कष्टपूर्ण जीवन र उसको अथाह शक्तिमा आधारित प्रेरणादायी उपन्यास हो।    

[The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]


                                    


2 comments:

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).