Friday 3 March 2023

खोई त कामको सम्मान?

 

 

मलाई कसैले ‘तिमीलाई सबभन्दा मन नपर्ने काम के हो ?’ भनेर सोध्यो भने म तुरुन्त जवाफ दिन्छु, ‘भान्सामा हल्लिने काम !’ मन नपरेर के गर्नु र ? पकाएर खानु त परिहाल्छ । त्यसैले म भान्सामा कमसेकम समय बिताउन चाहन्छु । मलाई पकाउन अल्छी लाग्ने होइन तर भान्सामा गरिने कामको कहिँ कतै लेखाजोखा नगरिने भएकोले मलाई पहिलेदेखि नै भान्सामा समय व्यतीत गर्नुपर्दा वितृष्णा पैदा हुने गर्छ ।


तर बिडम्बना के छ भने मन परोस् या नपरोस् प्रायः सबैजसो घरमा भान्साको जिम्मा लिने भनेको महिलाले नै हो । स्वेच्छाले पुरुष वर्गले सघाउन सक्छन् तर महिलाका लागि यो वाध्यात्मक भएको मैले देखेकी छु र अनुभव पनि गरेकी छु । जो महिला पैसा कमाउन बाहिर निस्कँदैनन्, उनीहरुले त झन् भान्सा मात्र होइन, पुरै घर नै सम्हाल्नुपर्छ । यस्तै घरायसी काम गर्ने महिलालाई मैले, ‘तपाईँ के काम गर्नुहुन्छ ?’ भनेर सोधेँ भने उनको उत्तर हुनेछ, ‘केही गर्दिन । यस्तै घरको काम मात्र हो ।’ यस्तो उत्तर सुनेर म छक्क पर्छु । घरको काम एउटी गृहिणीका लागि पूर्णकालिक काम हुन्छ । कसरी केही गर्दिन भन्न सकेको होला ! यसका पछाडिको कारण पनि उहि हो —समाजले घरायसी कामलाई कामको रुपमा मान्यता नदिनु । जबकि बिहान उठेदेखि राती नसुतुन्जेलसम्म उनीहरु घरकै काममा व्यस्त रहन्छन् । खाना पकाउनु, घर सफा गर्नु, दाउरा पानीको जोहो गर्नु, केटाकेटी सयार्नु, बुढाबुढीको सेवा गर्नु कति हो कति । गनेर नसकिने ।

एकजना बसाइँ सरेर अष्ट्रेलिया गएका भारतीय मूलका ट्याक्सी चालक पुरुष छिमेकीले गफको सिलसिलामा भनेका थिए, ‘अब अर्को महिना म आफ्नो देश जान्छु र बिहा गरेर बेहुली लिएर आउँछु । अनि त मेरो निकै खर्च जोगिन्छ । घरमै खाना पाक्छ । छुट्टिका दिन पनि घरैमा बसेपछि उति साह्रो खर्च हुँदैन।’ यसले के देखाउँछ भनें विदेशमै पढे पनि मानसिकतामा परिवर्तन आइहाल्दैन । ती ट्याक्सी चालक वर्षौंदेखि त्यहाँ बसेपनि महिलालाई उनले सेवककै दृष्टिले हेरेका रहेछन् । एकजना प्रौढावस्थाका चिनारुले भर्खरै मात्र पहिलो श्रीमती बितेको एक वर्ष पनि नबित्दै दोश्रो विवाह गरे । त्यो कुरालाई हुर्किसकेका छोराछोरी र छरछिमेकीले असामान्य रुपमा लिए । तर ती पुरुष भनें घरमा बुढी भएकी आमाको स्याहार गर्ने र घरेलु काम गर्ने मान्छेको खाँचै भएको हुनाले त्यो कदम उठाउनु परेको तर्क गर्दा रहेछन् । ती पुरुषले पनि जहान नभएर सेविका खोजेका रहेछन् । उनको  सट्टामा एउटी महिलाले त्यसो गरेको भए समाजले त्यति सहजै त्यस कुरालाई स्वीकार्ने थिएन होला ।   

यस्तो घरमै मात्र गरिने बेतलवी कामले पनि तलवी कामले जस्तै मान्यता पाउनुपर्छ भन्ने आवाज अहिले विश्वभरि नै उठिरहे पनि यो कार्यान्वयन हुन सकिरहेको छैन । याक्सन एडको एउटा रिपोर्टअनुसार संसारभरिका महिलाले यस्ता बेतलवी काममध्येको ७५ प्रतिशत काम गरिरहेका छन् । दैनिक औसत चार घण्टा पच्चीस मिनेट उनीहरु यस्ता काममा खर्चिन्छन् जुन पुरुषहरुले खर्चिने दैनिक एक घण्टा तेइस मीनेटको तुलनामा तेब्बरभन्दा बढी पर्न आउँछ ।


फेरि आश्चर्य के छ भनें ठूला ठूला होटलहरुमा अथवा पैसा आउने ठाउँमा चाहिँ पुरुषहरु खाना पकाउने काममा, सरसफाइ गर्ने काममा अथवा हेरविचार गर्ने काममा महिलाभन्दा बढी नै सक्रिय भएर लागेका हुन्छन् । घरमा मात्र यस्ता कामको धेरजति भार महिलामाथि परेको हुन्छ । यस्तो किन भन्ने प्रश्न मनमा उठ्नु स्वाभाविक हो ।

बिहान उठेदेखि बेलुका नसुतुन्जेलसम्म पनि एउटी गृहिणीले काम गरिरहेकी हुन्छिन् जबकि बाहिर गएर काम गर्ने मान्छेले बढीमा दिनको आठ घण्टा काम गरे हुन्छ । नेपालको परिप्रेक्ष्यमा ४० प्रतिशत भन्दा बढी महिला बेरोजगार छन् भन्ने तथ्याङ्क छ । यसरी घरायसी काममा व्यस्त हुने महिलालाई काम नै गर्दैनन् भनिदिँदा उनीहरुले आफूले गरिआएको कामलाई हेय दृष्टिले हेर्नु पनि स्वाभाविक देखिन्छ जुन कदापि ठीक होइन । यदि हामीले त्यति नै काम गर्न बाहिरको मान्छे लगाउने हो भने हामीले उसलाई मासिक रुपमा कम्तिमा १५÷२० हजार रुपैँया दिनुपर्ने हुन्छ । तर घरकै मान्छेले गर्ने हुँदा चाहिँ त्यो कामको किन अवमूल्यन भएको होला ? लैङ्गिक विशेषज्ञ तथा सामाजिक अर्थशास्त्री बिना प्रधान घरायसी कामलाई मान्यता दिलाउन राज्यले नै पहल गर्नुपर्ने कुरामा जोड दिन्छिन् । उनका अनुसार फ्रान्समा आफ्ना बाबु आमाको स्याहारसुसार गर्ने छोराछोरीलाई राज्यले नै तलवको व्यवस्था गरेको हुन्छ । खासमा यस्ता बुढाबुढीको हेरचाह गर्ने दायित्व राज्यको भएको हुँदा आफ्नो काम सघाइदिएवापत यी छोराछोरीलाई तलव दिइएको होला । जे भए पनि घरको कामले बाहिरको कामजत्तिकै मान्यता पाउनु निकै नै उत्साहवर्धक कुरा हो । महिलाहरुले खासमा आफूले गरिआएको कामको तलव पनि मागेका होइनन् । उनीहरु आफ्नो कर्तव्य सम्झेर घरको काम तन्मयतापूर्वक गर्छन् । चाहना यत्ति मात्र हो कि, उनीहरुको कामलाई सम्मानपूर्वक हेरियोस्, उनीहरुलाई बेरोजगारको समूहमा नराखियोस् अथवा उनीहरु केहि कामै गर्दैनन् भन्ने मानसिकता नपालियोस् ।


समाजमा देखा परेको लैङ्गिक हिंसा, महिलाप्रति गरिने असमान व्यवहार र महिलाले पनि आफूलाई पुरुषको तुलनामा कमजोर सम्झिने मानसिकतालाई समेत यहि मान्यता नपाएको घरायसी कामसँग जोडेर हेर्न सकिन्छ भन्ने कुरामा विज्ञहरु जोड दिन्छन् ।

घरायसी कामलाई देशको आर्थिक विकाससँग जोडेर हेर्ने गरियो भने यस्ता कामले अरु तलवी कामसरह मान्यता पाउँछन् भन्ने तर्क अर्थविद्हरुको रहेको छ । हामीले समाज जति प्रजातान्त्रिक भयो भने पनि अझै यो पितृसत्तात्मकताबाट माथि उठ्न सकेको छैन । त्यसैले समाजले अथवा राज्यले विशेषगरि महिलासँग सम्बन्धित मुद्दालाई जति गम्भीरतापूर्वक लिनुपर्ने हो, त्यति गम्भीरतापूर्वक लिएको देखिँदैन ।

विशेष गरेर महिलाहरु घरायसी काममा नै बढि संलग्न हुनाले उनीहरु शिक्षाका अथवा रोजगारीका अवसरबाट वन्चित हुनु परिरहेको कुरा पनि विभिन्न अध्ययनले बताउँछन् । यसले के देखाउँछ भने घरको काम महिलाको मात्र हो भन्ने हाम्रो परम्परागत मानसिकतामा व्यापक परिवर्तन आउन जरुरी छ । लिङ्गको आधारमा काम बाँडफाँड गर्नुभन्दा परिवारका सबै सदस्यले घरको काम गर्दा पुरुष महिला दुवैले बाहिर गएर आय आर्जन गर्न सक्छन् भन्ने आवाज विश्वस्तरीय रुपमा उठिरहेको छ । विकसित मुलुकमा यो कुरा लागू भए पनि हाम्रोजस्तो मुलुकमा यो सम्भव भैहाल्नेजस्तो देखिँदैन ।

हामीकहाँ गर्न सकिने पहल भनेको आफ्नो सोचाइमा परिवर्तन ल्याउनु नै हो । परिवारका प्रत्येक सदस्यले घरायसी कामको उचित मूल्याङ्कन गर्न थाल्नु हो भने यस्तो कामसँग जोडिएको नकारात्मक धारणा बिस्तारै बिस्तारै कम भएर जान सक्थ्यो होला । छन त यसपालीको विश्व महिला दिवसको नारामा लैङ्गिक समानताका लागि सबैको नयाँ प्रविधिमा सहज पहुँच भन्ने कुरामा जोड दिइएको छ । तर यस्तो प्रविधिमा पहुँच हुने नेपाली महिलाको संख्या तुलनात्मक रुपमा ज्यादै थोरै छ । त्यसैले हामी सबै कमसेकम यो प्रण गरौँ — अब उप्रान्त घरायसी कामलाई पनि हामी बाहिर गएर गरिने कामलाई जस्तै सम्मानको दृष्टिले हेर्नेछौँ । यस्तो कामको जिम्मेवारी महिला पुरुष दुवैले बराबरी उठाउनेछौँ । घरमा काम गर्ने महिलाले पनि बाहिर काम गर्ने महिलाले जत्तिकै गर्वको अनुभूति गर्न पाउनुपर्छ । सबैलाई महिला दिवसको हार्दिक शुभकामना ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 3 March 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).