Friday 15 December 2023

चस्मा खाने बाँदर

 

 

                दुई दिनको हाम्रो दिल्ली घुमाइ बसाइ समाप्त हुँदै थियो अबको हाम्रो गन्तव्य भनेको वृन्दावन थियो हामीहरुलाई विशुद्ध पर्यटनले मात्र पुग्दो रहेनछ यो भन्दा महत्वपूर्ण धार्मिक पर्यटन हुनेरहेछ पशुपतिको यात्रा सिद्राको व्यापार' भनेजस्तो पहिले सकेसम्म देव दर्शन गरिहाल्ने, अनि यो सँगसँगै घुमाइ फिराइ आफैं भैहाल्छ भने जस्तो त्यसैले दिल्ली पुगेपछि त्यत्रो धार्मिक महात्म्य बोकेको वृन्दावन नपुगी भयो ?


            बसबाट जाने कि ट्रेनबाट जाने भन्ने विषयमा एकछिन हाम्रो छलफल भयो यसो बाहिर निस्केर स्थानीयबासीलाई सोधिहेर्दा ट्रेनको भरपर्दो सूचना कसैले दिएन त्यसैले हामीले बसबाट नै जाने निर्णय गर्यौं छन पनि दिल्लीबाट वृन्दावनको दूरी कति नै पो ? १६० किलोमीटर हो त्यसैले तीन चार घण्टामा पुगिहालिने रहेछ नि !

            मेरो मनमा वृन्दावनको बढो सुन्दर तस्वीर कोरिएको थियो भगवान् कृष्ण हुर्के बढेको ठाउँ, राधासँग हिँडेडुलेको ठाउँ कति रमणीय होला   ! सफा, शान्त, ठूला ठूला फूलबारी बगैँचाले सजिसजाउ ठाउँको कल्पना गर्थें   हुन पनि मैले धेरै मान्छेहरु भौतारिँदै वृन्दावन गएका त्यहाँको वातावरणमा लठ्ठिएर आध्यात्मिक जीवनयापन गरी उतै बसेका धेरै कथा सुनेकी  थिएँ मेरो मनको भित्री तहमा आफू पनि अध्यापन सेवाबाट अवकाश प्राप्त भएपछि बाँकी जीवन उतै गएर अध्यात्म  चिन्तनमा पो बिताउने हो कि भन्ने सानो लोभ लुकेको हुँदो हो

            वृन्दावनको पवित्र भूमिमा टेक्नेबित्तिकै मेरो कल्पनाको तस्वीर च्यातिएर यत्रतत्र छरियो बाटोको दायाँबायाँ अव्यवस्थित तरिकाले फ्याँकिएका फोहोरका थुप्राले हाम्रो स्वागत गर्यो  घरैपिच्छे मन्दिर भएर के गर्नु ? त्यस्तो फोहोरी वातावरणमा भगवान् निसास्सिँदैनन् ? मैले सोचेकी थिएँ यस्तो धार्मिकस्थलमा छानी छानी आश्रममा बस्न पाइएला यस्ता सेवामुखी आश्रममा बस्न खान निशुल्क पाइने स्वेच्छाले यथासक्य चन्दा दिँदा हुने कुरा पनि मैले सुनेकी थिएँ तर कहाँ यस्तो हुँदो रहेछ ?

            हाम्रो चारजनाको टोलीमा जिना भाउजूचाहिँ पहिले पनि त्यो ठाउँमा पुगिसक्नु भएको रहेछ उहाँका अनुसार त्यहाँको सबभन्दा नाम चलेको मन्दिर बाँकेविहारी भएको अरु मन्दिरमा जान नसके पनि त्यहाँ चैँ पुगेर बाँकेविहारीको दर्शन गर्नैपर्ने रहेछ त्यसैले हाम्रो बसाइ यसैको आसपासमा हुनुपर्यो   सामानसँगै सबैजना लखर लखर हिँड्ने कुरा भएन त्यसैले भाउजू अलि घुइँचो  कम सफाजस्तो ठाउँ हेरेर सामान रुँघ्न बस्यौँ दुईजना बासको खोजीमा निस्किनुभयो


            दर्शनार्थीको चापले गर्दा होटलमा, आश्रममा, कतै कोठा भेटिएनछ निराश भएर फर्कनै लागेको बेला अन्तिम प्रयाशस्वरुप ज्वाइँ जेठान एउटा आश्रममा पस्नु भएछ शुरुमा त्यहाँ पनि कोठा उपलब्ध छैन भन्ने कुरा गरेछन् कुराकानीकै सिलसिलामा त्यो आश्रमको व्यवस्थापक नेपाली भएको कसैले सुनाइदिएछ उहाँहरुले व्यवस्थापकलाई नै भेटी आफूहरु नेपालदेखि आएका कतै कोठा पाउन नसकेको गुनासो गरेपछि उसैले बल्लबल्ल एउटा कोठा मिलाइदिएछ  एकदिनको रु १५ सयका दरले यति गरेपछि भोजनचाहि निशुल्क पाइने रहेछ

            यहाँका मन्दिर बिहान बेलुका मात्र खुल्ने रहेछन् हामी कोठामा पुगेर सामान थन्क्याउँदा, आराम गर्दा, खाना खाँदा जम्मा यस्तै दुई जति बजेको रहेछ बेलुकाको नबजी मन्दिर नखुल्ने ! अब यो चार घण्टा के गरी बिताउने भन्ने छलफल गर्दा सबैको सहमति  मथुरा जाने रह्यो वृन्दावनबाट मथुरा धेर टाढा होइन रहेछ  १५ किलोमीटरको दूरी, अटोमा यस्तै २०-२५ मीनेट लाग्ने भन्नै त्यो ठाउँलाई मथुरावृन्दावन नगर निगम भन्दा रहेछन् हामी पो मथुरा छुट्टै हो भनेर बुझ्दा रहेछौँ

            तुलनात्मक रुपमा वृन्दावनभन्दा मथुरा सफा व्यवस्थित रहेछ जाँदाजाँदै हेर्ने भनेको त्यहाँ श्रीकृष्ण भगवानको  जन्मस्थल  रहेछ एक-दुई घण्टा त्यतै घुमेर हामी फेरि वृन्दावनतिरै फर्कियौँ त्यो दिन बेलुका हामीले स्वामी महाराज प्रभुपादको इस्कोन मन्दिर, अर्का स्वामी महाराज कृपालुको प्रेम मन्दिर बाँकेविहारी मन्दिर जानुथियो  

            हामी पहिले प्रेम मन्दिरतिर लाग्यौँ त्यहाँ मन्दिरको प्रवेशद्वार खुल्नु एक-दुई घण्टा अगावै मानिसको लर्को लागिसक्ने रहेछ जता हेर्यो, उतै मान्छे कतिसारो क्रेज कृपालु महाराजको ! भगवान् होइनन् तिनी ! भगवानका भक्तलाई किन भगवानकै  दर्जा दिनु होला ? मैले बुझ्न नसकेको कुरो त्यो भीडमा कतिपय त्यो मन्दिरभित्रको कलाकारिता हेर्न पनि लोभिएर गएका थिए कि ? हामीले त्यो भीडमा पस्ने आँट गरेनौँ प्रेम मन्दिरलाई परैबाट हेरेर इस्कोन मन्दिरतिर लाग्यौँ त्यहाँ पनि भीड थियो तर हामीले लाइनमा बस्ने हिम्मत गर्यौं  त्यहाँको अर्को आकर्षण भनेको प्रसादका रुपमा खिचडी खान पाइनु थियो पहिले हामी त्यही खिचडीको लाइनमा उभियौँ पेटपूजा गरेर मन्दिरतर्फ़ लाग्यौँ


            अबको गन्तव्य थियोबाँकेविहारी मन्दिर हाम्रा पाइला के त्यतातिर मोडिए, बाटोमा भेटिने प्रत्येक मान्छेले मेरो चस्मातिर देखाउँदै चस्मा जोगाउने सल्लाह दिए कोहीम्याडम, चस्मा उतारिए,’ भन्थे कोही, ‘चस्मा मत पहनोअनि कोही खालि चस्मातिर देखाउँदै, ‘चस्मा चस्माभन्थे बाबा ! चस्मा बाँकेविहारीको चै के सम्बन्ध होला भनेर छक्क परेँ किन किन मेरो चस्माको दुस्मन वृन्दावन मलाई मन परेन चस्मा खोलेर किन जानु ? पर परको दृश्य केही देख्न सक्तिनथेँ बल्ल भाउजूले रहस्य खोल्नुभयो, ‘यहाँका बाँदरले चस्मा लैजान्छन्, त्यसैले सतर्क हुनुपर्छ मैले पशुपतिका बाँदरले हातबाट खानेकुरा खोसेको धेरै देखेकी थिएँ तर चस्मा ? चस्मामा त्यस्तो के तत्व हुन्छ त्यसलाई झम्टनुपर्ने ? नभन्दै हामीले हेर्दाहेदौ एउटा बाँदरले एउटी महिलाको चस्मा फुत्त तानेर एउटा गाडीमाथि बत्तिएर गयो एकछिन पल्याक पुलुक गर्यो र त्यो चस्मा टुक्र्याउदै  कर्याउ कर्याउ गर्न थाल्यो यसरी आफ्नो चस्मा पनि लगिदियो भने मेरो केही उपाय हुँदैन, नघुमे  नि हुन्छ मलाई आँखै नभए जस्तो हुन्छ यस्तै यस्तै विचारले मेरो मस्तिष्क भरियो बाँकेविहारीको दर्शन गर्नुभन्दा मलाई आफ्नो चस्मा जोगाउनु पो धेर जरुरी भयो ! धन्न दाजुले एउटा छत्रे टोपी लगाउनुभएको थियो मैले उहाँको टाउकोबाट फुत्त त्यो टोपी तानेर आफ्नो टाउकोमा सिउरें यसले मेरो अनुहारको अलिकति भए नि सुरक्षा गर्यो अनि दुईवटै कानलाई मैले छोपे त्यतिबेला मेरो मनमा यो वृन्दावनबाट जतिसक्दो छिटो उम्किनु नै कल्याणकारी होला भन्ने भाव नाचि नै रह्यो

            बाँकेविहारी मन्दिरको भीड उता प्रेम मन्दिरको भीडलाई बिर्साउने रहेछ एकदुई किलोमीटर अगाडि देखि नै मान्छेराधे राधेभन्दै लामबद्ध भएर अगाडि बढिरहेका थिए अँध्यारो पनि भैसक्यो, यस्तो भीडमा नछिर्ने कि भन्दा भाउजू मान्दै मान्नुभएन यहाँसम्म आएर बाँकेविहारीको दर्शन नगरी फर्किनुहुँदैन,’ उहाँको अडान थियो त्यसैले हामी पनि त्यही भीडको नदिमा हेलियौँ बल्ल बल्ल बग्दै बग्दै हामी दर्शन गर्ने ठाउँसम्म पुग्यौँ तर यो के ? बाँकेविहारीलाई पर्दाले छोपेर पो राख्दा रहेछन् खुल्लम्खुल्ला हेर्न नपाइने ! निकैबेर त्यहाँ उभिएपछि फुत्त पर्दा सारिदिए एक नजर हेरि नसक्तै फेरि पर्दा हठात् बन्द भयो यसरी बाँकेविहारीको एक झलक हेरेर फर्किंदा हामीलाई एउटा ठूलै लडाईं जितेर फर्किएको अनुभूति भएको थियो


            साँझ छिप्पिसकेको थियो अलि भोक भोक पनि लाग्यो हामी भीड छिचोलीसकेपछि एउटा रेस्टुरेन्टमा पस्यौँ वृन्दावनको यो रेस्टुरेन्ट यति शुद्ध साकाहारी कि त्यसमा लसुन, प्याजको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको थियो भोजन गरिसकेपछि हामी बाहिर निस्केर यसो यताउता नजर डुलाउँदै थियौँ, अचानक भाउजूले, ‘चस्मा चस्मा...’ भन्नुभएको मैले सुनेँ एक निमेषमा मेरो आँखामा चस्मा थिएन हरे ! यतिन्जेल जोगाएको मेरो चस्मा ! मैले तत्काल त्यो चस्माको माया मारिदिएँ फेरि कसैलेफ्रुटी, फ्रुटी...’ भनेर चिच्याएको मैले सुनेँ भाउजू धनुषबाट छुटेको वाँणजस्तो भएर फ्रुटी भएको पसलतिर दगुरेको पनि मैले देखेँ मेरो मनमा भने अब यहाँ चस्मा बनाउने ठाउँ कता हो ? भोलिको दिन चस्मामा नै बित्नेभयो भनेजस्ता कुरा खेल्दैथिए बाँदरले जुन ठाउँबाट मेरो चस्मा बडो सफाइका साथ थुतेर लग्यो, त्यही ठाउँमा मूर्तीजस्तै भएर उभिइरहेकी थिएँ भाउजूलेव्यन्जना मैया, आउनूभनेर बोलाउँदा आफ्नो चस्मा बनाउने कल्पनाको संसारबाट वास्तविक संसारमा आएँ कस्तो थाहा नै नपाइ त्यो चलाख बाँदरले मेरो चस्मा उडाइदिएको दाजु, भाउजू मेरा श्रीमान् अलि पर मलाई पर्खिरहनुभएको रहेछ के देख्तैछु ? श्रीमान ज्यूको हातमा  मेरो चस्मा जस्तो पो ! अलि नजिक गएर आँखा गाडेर हेरेको, हो रहेछ खुशीले झण्डै झण्डै चिच्याएँ, ‘आमै ! मैले माया मारिसकेको थियो कसरी पाउनुभयो यो ?’

            बाँदरले मेरो चस्मा तानेको बाहेक सबैजनाले देख्नुभएको रहेछ भाउजू फ्रुटी किन्न दौडिँदा ज्वाइँ, जेठान चाहिँ बाँदरको पछि लाग्नुभएछ बाँदर चस्मा लिएर फुत्त एउटा घरको छानामाथि चढेछ भाउजूले तुरुन्त फ्रुटी किनेर ल्याउनुभएछ त्यहाँका एक स्थानीयले त्यो फ्रुटी फुत्त बाँदर भएतिर फ्याँकिदिएछन् फ्रुटी समाउँदा बाँदरले चस्मा खसाएछ मुस्किलले एक मीनेटमा यो सबै भयो अलि ढिलो भएको भए मेरो चस्मा धूलोपीठो नै हुने नि


            हामीले भोलिपल्ट किन वृन्दावनका बाँदरले चस्मामा नै झम्टा दिएका भनेर सोधीखोजी गरिहेर्यौं । खासमा यो उनीहरुको खानेकुरा माग्ने तरिका रहेछ चस्मा मात्र होइन, हातमा बोकेको मोबाइल फोन पनि उनीहरुको निशानामा पर्दोरहेछ ती सामान लिएपछि बाँदर एकछिन पर्खिँदा रहेछन् फ्रुटी अथवा केरा दिएपछि सामान फिर्ता पाइने रहेछ तर नयाँ मानिसलाई यो सब कुरा कहाँ थाहा हुन्छ ?

            तपाईं पनि चस्मा लगाउनुहुन्छ वृन्दावन जाँदैहुनुहुन्छ भने खासगरि बाँकेविहारी मन्दिरतिर जाँदा फ्रुटी अथवा फलफूल बोक्न नबिर्सिनुहोला अँ, अनि मोबाइल फोन पनि हातमा टल्काउँदै नबोक्नुहोला

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  15 December 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).