Monday 20 October 2014

धराने चटपटे

यो घटना म यस्तै ५-६ कक्षामा  पढ्दाको हो।  हामी धनकुटाबाट जाडोको लामो बिदा मनाउन धरान झर्ने गर्थौं। धरानमा सान्दिदी र मलाई भने सधैं ठुलोबुवाको घरमा बस्न मज्जा लाग्थ्यो जहाँ सुनिता दिदी, सविता, विनायक र संजिताको साथ् पाइन्थ्यो - रमाइलो गर्नका लागी। घरको मस्ती त छँदै थियो, त्यसमाथि निस्फिक्री भएर टोलीमा धरान बजार घुम्नु, सिनिमा हल् चहारी चहारी सिनिमा हेर्नु र होटलमा पसेर समोसा, लाल मोहन र रसबरी खानुले छुट्टी मनाउनुको अर्थ अझ बढी खुल्थ्यो।

त्यो दिन यस्तै मस्ती मजाकको एक दिन थियो। सान्दिदी, म, सविता र विनायक लाई कुनै भिन्न कुरा गर्न मन लाग्यो। त्यतिबेला संजिता हाम्रो साथमा थिई कि थिईन मलाई सम्झना छैन तर सुनिता दिदीले भने हाम्रो ग्रुपमा सामेल हुन प्रष्ट रूपमा इन्कार गर्नु भएको थियो।

यदाकदा बाटातिर निस्किएर चटपटे खाने गरेको भए पनि त्यो दिन हामीलाई घरमै चटपटेवाला बोलाएर सानसंगले चटपटे खान मन लाग्यो। हाम्रो त्यही निर्णय मुताबिक सविताले छतबाट "ए भाइ यहाँ आऊ त," भनेर बाटामा हिंडिरहेको चटपटेवालालाई बोलाई। हामी सबै आ-आफ्ना पैसा च्यापेर तलतिर कुद्यौं।

आँगनको बीचमा चटपटेवालाले आफ्नु स्टल थाप्यो। ऊ पनि "आज भने राम्रो आम्दानी हुने भयो," भनेर भित्रभित्रै मख्ख परिरहेको हुँदो हो। हामी चारजना उसको  वरिपरी झुम्मियौं। उसले पहिलो अर्डर लिएर चटपटे बनाउने सुरसार मात्र के गरेको थियो "ए भाइ पख् पख् ," भनेको सुनियो। यसो पछाडी हेर्दा ठुलोबुवा बाटाबाट घरतिर आउंदै गर्नुभएको देखियो।

"ए केटा केटी हो, हेर, हेर त्यसका हात कस्ता छन्? त्यसका भाँडा कस्ता छन् ?" उहाँले हाम्रा छेउमा उभिएर ओजपूर्ण स्वरमा सोध्नुभयो। ठुलोबुवासंग सवाल जवाफ गर्ने आँट कसको पो थियो र ! हामीले खाली पराजयी भावमा एक अर्कासंग आँखा जुधायौं र चुपचाप त्यहीं उभियौं। "ए भाइ, जा," ठुलोबुवाले अधिकारपूर्वक निर्देशन दिनुभयो। त्यो चटपटेवालाले "अब यी भुराहरुको केहि दम चल्नेवाला छैन," भन्ने कुरा बुझेर थपक्क आफ्ना माल टाउकामा राख्यो र हामीतिर हेर्दै नहेरी  टुंई  टुंई  हिंड्यो।

आफ्नु काम सकेर ठुलोबुवा त घरतिर लागिहाल्नु भयो। हामी भने "बेक्कारमा ठुलोबुवा कुसमयमा आएर हाम्रो मज्जा मात्र किरकिरा गरिदिनुभयो," भन्ने कुरा गर्दै धेरै बेर बाहिरै बसेर गनगनाई रह्यौं।

{The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 


No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).