Thursday 9 July 2015

सिक्काको अर्को पाटो

"अपार्टमेन्टहरुको चैं हालत नै भयो, होगि? अपार्टमेन्टमा लगानी गर्ने सबै डुबे। अब त काठमाडौंमा कोहि पनि अपार्टमेन्ट किन्दैनन्," एकजना परिचितले २/४ दिन अघि मात्र मतिर हेर्दै आफ्नु प्रखर विश्लेषण शक्तिको प्रदर्शन गरे। आफू पनि अपार्टमेन्टमै बस्ने हुनाले उनको तर्कसँग  म १००% सहमत थिइन तर अपार्टमेन्टको विरोध गर्न विशेषत: सारा संचारमाध्यम नै उल्टिएको बेला ती परिचितले यसो भन्नुमा के आश्चर्य थियो रआखिरमा उनको सम्पूर्ण सूचनाको स्रोत यिनै संचारमाध्यम न थिए।
  
हिजोआज अपार्टमेन्ट भन्नेबित्तिकै प्राय: सबै मानिसमा नकारात्मक दृष्टिकोण रहेको पाउँछु, म। तर वैशाख १२ गतेका दिन भूकम्पले सबैलाई मच्चाइरहेका बेला एक समय यस्तो आयो, जतिबेला हरेक व्यक्तिले ईश्वरसँग सिर्फ आफ्नु जीवन रक्षाको भीख मागे होलान्। घरबार, धनसम्पत्ति, रुपियाँपैसा जस्ता कुरा जोगाउने होस कहाँ थियो र त्यतिबेला! सबैका मनमा त्यो संकटपूर्ण घडीमा आफ्नु ज्यान मात्र जोगाउन पाए कत्रो न रण जितिने थियो जस्तो लागेको हुँदो हो। होइन भने कुनै टिभी च्यानलमा देखाइएको सिन्धुपाल्चोकको एउटा भिडियो क्लिपमा किन एकजना व्यक्ति, ", आइज! आइज! हेर्, हामी बाँच्यौं! हामी बाँच्यौं!" भनेर रनबन घन्किनेगरि चिच्याउंदा हुन् र?
     
त्यो दिनको प्रलयकारी भूकम्पले खालि अपार्टमेन्टहरुलाई मात्र त क्षति पुर्याएको थिएन नि! हेर्दा हेर्दै अरु कैयौं बलिया बलिया घर पनि ढलेनन् र त्यतिबेला? किर्तिपुरको पाँगामा एकजना सज्जन व्यक्तिले कुनै कन्जुस्याईं नगरी एक करोड खर्च गरेर भूकम्प प्रतिरोधात्मक घर नै बनाएका थिए। तर त्यो विनाशकारी भूकम्पले यो घरलाईसमेत देखिसहेन र कच्याक कुचुक पारेर भत्काइदियो।  यी सबै भौतिक क्षतिभन्दा बढी त्यो दिन मानव क्षति भएको थियो जुन हाम्रो राष्ट्रका लागि सधैंभरि अपूरणीय हुनेछ। वर्षौंदेखि बस्तै आएको आफ्नु प्यारो घरले किचेर कैयौं मानिसको ज्यान गएको थियो, त्यो दिन। भत्किएका भौतिक संरचना बिस्तारै बिस्तारै पुन: निर्माण हुँदै जालान्। तर त्यो क्रुर एक क्षणमा गुमेका निर्दोष जीवनहरु हामी कसै गरे पाउन सक्तैनौं। अझ ती गुमेका जीवनसंगै फुटेका, भत्किएका र तहसनहस भएका जीवित प्रियजनका मन शायदै पुरानै स्थितिमा पुगेर जोडिएलान्!
हो, यस्तो कहालीलाग्दो मानव क्षतिको कुरा मनमा आउँदा अपार्टमेन्टहरुले लगाएको गुन सम्झिन्छु, म। काठमाडौंमा त्यत्रा त्यत्रा गगनचुम्बी अपार्टमेन्टहरु भैकन पनि तिनले एउटई  मानव क्षति गराएको कम से कम मैंले अहिलेसम्म सुनेकी छुईन। यो आफैंमा महत्वपूर्ण कुरा होइन र? ती अपार्टमेन्टका भित्ता अवश्य चर्किए, फुटे। बाहिरबाट हेर्दा ती भवन डरलाग्दा देखिए तर तिनले आफूमा आश्रित व्यक्तिहरुलाई बचाए। यस्ता कुरा त संचारमाध्यममा आएका देखिंनन्।
कुलेश्वर अपार्टमेन्टस् 

म भन्दिन - यी अपार्टमेन्टहरु पूर्ण रुपमा दोषमुक्त छन्। यिनमा आफ्नै किसिमका कमी कमजोरी पक्कै छन्। सुन्नमा आएको छ - कतिपय यस्ता भवनहरु सरकारी मापदण्डअनुरुप छैनन्। नक्शा पास गर्दा तेह्र तलाको गर्ने अनि बनाउन चाहिं सत्र तलासम्मको बनाउने खबर नि प्रकाशमा आएका छन्। यस्तो ठगी गर्ने काममा संग्लग्न हुनेहरुलाई त यथोचित् कारवाही गर्नै पर्छ - यसमा दुई मत छैन। प्रष्ट छ - व्यक्तिगत घरभन्दा यस्ता सामूहिक घर बनाउने काम बढी संवेदनशील हुन्छ किनभने एउटा अपार्टमेन्ट बिल्डिंगमा कैयौं परिवार रहेका हुन्छन्। त्यसैले यी भवन निर्माणमा गरिने कुनै किसिमका सम्झौता स्वीकार्य हुने छैनन्। सीमित व्यक्तिले नाफा खाने निहुँमा सयौं मानव जीवनसँग खेलवाड गर्न कहाँ पाइन्छ र?   

यहाँ मेरो बहस खालि के हो भनें सबै अपार्टमेन्टहरुलाई एउटई खाले लेन्स लगाएर आम मानिसकासामू प्रस्तुत् गर्नु उचित होइन। कतिपय अपार्टमेन्टहरु अझै पनि बस्न योग्य छन्। उदाहरणका लागि हामी बसिरहेको कुलेश्वर अपार्टमेन्टस्। काठमाडौंका ८०% घरहरु पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएको अहिलेको परिप्रेक्षमा मरमतको खाँचो त कुन् घरलाई परेको छैन र? यस्तो मरमतबाट भने हाम्रो अपार्टमेन्ट पनि अछुतो छैन। हाम्रो छिमेकी मेट्रो अपार्टमेन्टस् बाहिरबाट हेर्दा डरलाग्दो देखिन्छ। यहाँ कोठाका भित्ताभित्तै खसेका छन्। यसो आँखा उठाएर मास्तिर हेर्दा कोठाको दृश्य छंगाछुर देखिन्छ। यस्तो क्षतविक्षत देखिए तापनि मेट्रोको बनावट मजबूत छ र यो ढल्दैन भनेर इन्जिनियरहरुले भनिदिएपछि यहाँ बस्ने मानिसको चहलपहल बढ्न थालेको देखिन्छ, अचेलभरि।     
शायद मानिसहरुले सत्तोसराप गर्ने अरु अपार्टमेन्टहरुको बनावट पनि मेट्रोको जस्तै मजबूत होला। त्यसैले त ती यतिका भूकम्प र पराकम्पका धक्का झेलेर ठडिएकै छन्, भलै तिनको बाह्य रुप बिग्रिएको होस्। साँच्चै नै ती ढलेर मानिसलाई किच्ने सम्भावना भएको भए त सम्बन्धित निकाय, व्यक्ति अथवा सरकारले नै यतिन्जेलसम्म तिनको व्यबस्थापनका लागि कुनै न कुनै पहल गर्दा हुन्। कानमा तेल हालेर किन बस्ता हुन् उनीहरु
   

जुनसुकै वस्तुका असल र खराब पक्ष हुन्छन् भन्ने कुरा सबैलाई थाह छँदैछ। त्यसैले अपार्टमेन्टमा पनि यी दुवै भेटिन्छन्। मलाई चित्त नबुझेको कुरो खालि सबैतिरबाट यसका नकारात्मक पक्षलाई मात्र देखाउनु हो। मैंले अनुभूति गरेको, अपार्टमेन्टहरुको सबभन्दा ठूलो सुन्दरता आफू बिग्रिएरै, भत्किएरै भए पनि आफूलाई विश्वास गरेर त्यहाँ बसेका मानिसहरुलाई एउटी आमाले आफ्ना सन्तान जोगाए जस्तै गरी जोगाउनु हो। देश रोइरहेको र चरम संकटको अवस्थाबाट गुज्रिरहेको वर्तमान समयमा यो मनन गर्न योग्य छैन र? अपार्टमेन्टका सबै खराब कुरा एकापट्टि र एउटई असल कुरा, जीवन रक्षा, अर्कोपट्टि भए पनि यही पाटोले अघिल्लो पाटोलाई जित्तैन त? दु:खको कुरो अपार्टमेन्टहरुले मानव जातिका लागि लगाएको यो गुन प्रकाशमा आउन सकेन।                                 


No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).