Saturday 6 June 2015

त्रसित मनहरु


"खोई कहिलेसम्म हल्लाउने हो ! आज पनि पराकम्पहरु गए भन्छन्! के गर्ने, गर्ने ! बडो अन्योलमा परियो," हरेक दिन भेट हुँदा मेरा एक छिमेकी निन्याउरो मुख  लगाएर गुनासो गर्नुहुन्छ। हुन पनि हो,   नेपालमा त्रासदीपूर्ण भूकम्प गएको एक महिनाभन्दा बढी भैसकेको भए पनि पराकम्प जाने क्रम रोकिएको छैन। यहि निरन्तरको पराकम्पनले आम मानिसमा 'अझै ठूलो भूकम्प आउन बाँकि नै त छैन?' भन्ने त्रास भरिएको भेटिन्छ। अनि यो त्रासलाई पृष्ठपोषण गरिरहेछन् बारम्बार चल्ने आधारहीन र तथ्यहीन हल्लाहरुले।

हुन त भूकम्प हाम्रा लागि कुनै नौलो कुरो होइन। केहि वर्षको अन्तरालमा हाम्रो देशमा यी गैरहेकै छन् तर दुर्भाग्यवश्  यस पटकको भने हाम्रो पुस्ताका मानिसहरुले कहिल्यै अनुभव नगरेको र हाम्रो कल्पना भन्दा बाहिरको भयो। त्यसैले यसले केहि हदसम्मको डर निम्त्याउनु स्वाभाविक नै छ तर यहि डर हाम्रो स्वभावमा परिणत हुन गयो भने यसले अरु मानसिक समस्या निम्त्याउन सक्छ।

मेरो विचारमा मानिसहरु धेर त्रसित र सशंकित हुनमा एउटा कारण पर्याप्त मात्रामा सहि सूचनाको अभाव हो जस्तो लाग्छ। आखिरमा यी पराकम्प भनेका के हुन् र यी ठूलो भूकम्पपछि कति लामु समयसम्म गईरहन्छन् भन्ने मेरो उत्सुकतालाई मेटाउन मैले सन् २००० देखि २०१५ सम्म विश्वमा गएका ठूला भूकम्पहरुको इतिहास
हेरें। यिनमा देखिएका आधारमा भन्न सकिञ्छ - हामी कुनै अस्वाभाविक प्रक्रियाबाट गुज्रिरहेका छैनौं। 

उदाहरणका लागि भारतको गुजरातमा सन् २००१ को जनवरी २६ का दिन ७.७ रेक्टर स्केलको भूकम्प करिब दुई मिनेटसम्म गएको थियो जसबाट २०,००० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए। अमेरिकी भूगर्व सर्वेक्षण विभागका अनुसार त्यतिबेला एक दिनमा १२०० भन्दा बढ़ी पराकम्पनहरु रेकर्ड गरिएका थिए। अनि यस्ता पराकम्पन आउने क्रम मार्च महिना सम्म चलेको थियो। यसैगरी सन् २००४ को डिसेम्बर २४ मा इन्डोनेसियाको सुमात्रा प्रान्तमा ९.१ रेक्टर स्केलको भूकम्प गएको थियो। यसले २,३०,००० भन्दा बढी मानव क्षति गराएको थियो भने कैयौं मानिस वेपत्ता भएका थिए। अविश्वसनीय रुपमा अमेरिकी भूगर्व सर्वेक्षण विभागले यो भूकम्प ८ देखि १० मिनेटसम्म गएको रेकर्ड गरेको छ। यसका पराकम्पनहरु करिब चार महिनासम्म गएका थिए। अर्को ठूलो भूकम्प सन् २००८, मे १२ का दिन  चीनको सिचाउ प्रान्तमा गएको थियो। ७.९ रेक्टर स्केलको यो भूकम्प लगभग दुई मिनेटको थियो। यसले ६९,००० भन्दा बढी व्यक्तिको ज्यान लिएको थियो भने यो भूकम्पको पराकम्पनको रेकर्ड करिब नौ महिना पछिसम्म गरिएको थियो। हामी सबैको स्मृतिपटलमा रहेको अर्को महाभूकम्प २०१० को जनवरी १२ मा गएको हाइटीको हो। यो भूकम्प ७.० रेक्टर स्केलको भएको भए पनि यसमा परि १,००,००० भन्दा बढी मानिस हताहत भएका थिए। यसका पराकम्पनहरु पनि मार्चसम्मै गएका थिए।भूकम्प गैरहने देशहरु सम्झिनुपर्दा हामी सबभन्दा पहिले जापानलाई सम्झन्छौं। यहाँ सन् २०११ को मार्चमा ९.० रेक्टर स्केलको भूकम्प गएको थियो जुन छ मिनेटको थियो। यसमा परी १५,००० भन्दा बढी व्यक्तिले ज्यान गुमाए भने २,००० भन्दा बढी वेपत्ता भए। यसको पराकम्पनको रेकर्ड पनि नौ महिनापछि सम्म गरिएको थियो। विनाशका हिसाबले २०११ पछि अनुभव गरिएको ठूलो भूकम्प हाम्रै देशमा अहिले गएको हो। 
यी तथ्यबाट के निर्क्योल गर्न सकिन्छ भने अहिले नेपालको परिप्रेक्षमा पराकम्पन गैरहनु कुनै नौलो र अत्यासलाग्दो कुरो होइन। माथि उल्लेखित पाँच महाभूकम्पले देखाएअनुसार तीन महिनादेखि नौ महिनासम्म पराकम्पन गएका छन्। त्यसैले कम्तिमा पनि आउने अरु दुई महिनासम्म हामी पराकम्पिय झट्काको अपेक्षा गर्न सक्छौं।

मेरो मनमा लागेको अर्को कुरा हाम्रा संचार माध्यमहरुले उल्लेख गरेको पराकम्पनहरुको संख्या हो। हामी समाचारमा सुन्दै आएका छौं - अहिलेसम्म २०,००० भन्दा बढी भूकम्पका झट्का गैसकेका छन्! यो "२०,०००" ले सबैका मनमा "बाफ् रे!" भन्ने भाव उत्पन्न भएर त्रास पैदा हुनु कुनै नौलो कुरो होइन। तर यसरी नियमित रुपमा भूकम्प गैरहेका बेला अति सामान्य र आम मानिसले अनुभूतिसमेत गर्न नसकेका झट्काहरुको संख्या प्रकाशमा ल्याइरहनु शायद आवश्यक हुँदैन होला।हाम्रो जस्तै ठूलो भूकम्प गएका र धेरै क्षति भएका अरु देशमा पराकम्पनको  संख्या यसरी अकाशिएको देखिँदैन। जस्तै, हाइटीको भूकम्पपछि अमेरिकी भूगर्व सर्वेक्षण विभागले जम्मा ५९ वटा पराकम्पन रेकर्ड गरेका थिए। यसरी नै जापानको त्यत्रो ठूलो ९.० रेक्टर स्केलको भूकम्पपछि गएका पराकम्पनहरुको संख्या ११,४५० थियो। हाइटीका र जापानका यी पराकम्पन अनुभूति गर्न सक्ने किसिमका थिए नकि सबै खाले झिना मसिना।
 
निष्कर्षमा के भन्न सकिन्छ भने हामी नेपालीहरु पक्कै पनि सहज परिस्थितिबाट गुज्रिरहेका छैनौं। हाम्रा मनहरु पक्कै पनि त्रसित छन् तर बेला बेला जति हुनु पर्ने हो त्योभन्दा बढी नै हो कि जस्तो लाग्छ, यसो आफ्नु वरपरको परिवेशलाई नियाल्दा। सधैं डराएर हाम्रो काम चल्नेवाला छैन। सम्भावित सहज वातावरणको सिर्जना गर्न स्कूलहरु खुलिसकेका छन्। हामी ढुक्क हुने अवस्था त भैसकेको छैन। अपेक्षा गरौँ  - पराकम्पहरु अझै आउनेछन्। यस्तो परिस्थितिका लागि आफू र आफ्नु परिवारलाई सजग राखौं। भुगर्वविद्हरु यस्ता सानातिना धक्का तुलनात्मक रुपमा क्षतिग्रस्त हुँदैनन् भन्छन् त्यसैले यी गनेर तर्सनेतिर नलागौं। एक दिन अवश्य आउनेछ जब हामी यो त्रासदीपूर्ण संकटबाट पूर्णत: बाहिर निस्कने छौं र आफ्नु नियमित जीवन चर्यामा फर्कनेछौं। हामी सबै आ-आफ्नु आत्मविश्वास बढाऔं र सम्भव भएसम्मको सामान्य जीवनतिर फर्कौं।     
(अन्नपूर्ण पोष्ट फूर्सद मा मिति २०७/२/३ मा प्रकाशित)                     


No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).