Thursday 10 June 2021

रुमानी रागको आयु



एक दिन बाटोको कुइनेटोमा बुढो मार्कश लठ्ठी टेकेर बस चढ्ने ठाँउतिर जाँदै गरेको भेटियो । सधैं भेटिने मार्कश प्रायश: आफ्नी पत्नीसँगै हिंड्थ्यो । हाम्रो वासस्थानभन्दा पाँच घर पर्तिर उसको घर थियो । सधैं साथसाथै हिड्ने प्रेमिल जोडी सँगै नदेखेपछि मैले ख्यालठट्टा गर्दै सोधें, “ खोई त आज तिम्री परेवी ?” एक दुईवटा फुस्किएका दाँत देखाएर हाँस्दै बुढो बोल्यो, “चालिस वर्षमा प्रेमको राग उडिसक्यो । ऊ क्या त प....र वुढी घल्च्याक घल्च्याक गर्दै आउँदैछे ।” हो , बुढीमान्छे परैबाट मलाई हात हल्लाउँदै आउँदै रहिछ । 

मार्कशको कुराले तत्काल क्षणमा हाँसो उठेपनि मलाई सोच्न वाध्य वनायो, ‘के यो प्रेम बोतलको अत्तर हो , समय क्रमसँगै उडिजाने ?’ त्यस प्रश्नलाई मैले मेरा सहकर्मीहरुको वीचमा मन्थनको लागि छाडिदिने विचार गरें । पश्चिमी दुनियाँका लागि त्यो कुरा ठिक नै रहेछ । मेरी साथी जुलीले आफ्नो पचास वर्षे जीवनमा पाँचवटा केटा साथी फेरेको र बिहाचाहिँ नगरेको कुरा गरी । अर्की साथी यूना एउटी छोरी लिएर एक्लै बसेकी रहिछ । पुरुष सहकर्मी पिटर भने आफ्ना जहान परिवार त्यागेर नयाँ प्रेमिकासँग बसेको रहेछ । मेरै विद्यावारिधीकी गाइड मारी टेरेस पहिलो प्रेमीसँगको एक छोरासँग बसेकी भए पनि उसको त्यतिबेला तेश्रो प्रेमीसँगको साथ रहेछ । 

“हाम्रोतिर त यो लज्जाको विषय पो हो त,” मैले करिव पैसठ्ठी वर्षे मारीलाई भनें । “होइन नि ! मन नमिल्दा नमिल्दै घिस्सिएर सँगै बाँच्नु चाहिं लाज हो । यो जीवन कतिवटा हुन्छ ? एक जीवन मन नपरी नपरी घिस्याउनु पर्ने जरुरी छ र ?” “होनि हुन त, तर किन यस्तो हुन्छ मारी ?” भन्दा उसले मलाई सहज र चित्त बुझ्दो जवाफ दिई, “उमेरसँगै मान्छेका चाहना बदलिन्छन् । एक समयमा मिल्ने रुचीहरु केहि वर्षपछि फरक हुन्छन् । यिनै विभेदहरुले गर्दा मानिस आआफ्नो बाटोमा लाग्छन् ।”

आदिम खेल 

प्रेम गर्ने, रसरागतिर मन जाने आदिम कालदेखि चलिआएको प्राकृतिक कुरा नै हो । मूलतः यो सन्तानोत्पादन कृयासँग प्रत्यक्ष जोडिएको हुन्छ । मानिस बाहेकका अन्य चराचरलाई हेर्ने हो भनें यो प्रष्ट देखिन्छ । उनीहरु बीचमा हुने प्रेमको प्रकार अलग छ । तर मानवीय प्रेम (यहाँ प्रेम भनेर प्रेमी प्रेमिका बीचको अथवा श्रीमान् श्रीमती बीचको प्रेमलाई लिइएको छ ) भने बढी नियन्त्रणमुखी हुन्छ । एक समयमा एक अर्कासँग मिलेको मन रहँदा, बस्दा बटारिन, अमिलिन र धमिलिन पनि सक्छ । आ–आफ्ना रुची, प्राथमिकता र संसारलार्ई हेर्ने दृष्टिकोण फरक हुँदै  जान सक्छन् । यी बदलिंदा परिस्थितिले गर्दा हिजो नजिकिएको मन आज टाढा हुन सक्छ । यस्ता कैयन उदाहरण हाम्रा सामुन्नेमा छन् । यसै कारणले गर्दा आजभोलि सम्बन्ध विच्छेद र घरेलु हिंसाको दर बढ्दै गइरहेको छ । 

प्रेमका आधार

हाम्रो समाजमा पहिलो नजरमै केटा र केटीका बीचमा प्रेम बस्ने कुरा पनि प्रचलित छ तर यो कुरालाई विज्ञानले स्वीकारेको छैन । यस्तो रुमानी प्रेम केका आधारमा गरेको हो, त्यसमा नै प्रेमको टिकाउपन निर्भर गर्दछ । यस सम्बन्धमा एउटा घतलाग्दो कथा छ । एउटा धनी मानिसले एउटी सुन्दर युवतीलाई देख्नेबित्तिकै प्रेम प्रस्ताव राख्दछ । युवतीले त्यो युवकलाई सोध्छे, “तपाईं किन मसँग प्रेम गर्न चाहनुहुन्छ ?” युवक भन्छ, “ म तिम्रो रुप र सौन्दर्यबाट मोहित छु ।” अनि ऊ त्यो युवतीका सम्पूर्ण अंगहरुको बारेमा लामो गीत गाउँछ ।  युवतीले त्यो मानिसलाई “सात दिनपछि आउनू र मलाई भेट्नू,” भन्छे ।  शर्त बमोजिम युवक सात दिनपछि फर्कन्छ र युवतीसँग भेट्ने चाहना राख्छ । भित्रबाट एक दुर्बल, क्षीण र बिमारले थलिएकी जस्ती केटी निस्कन्छे । उसका हातमा एउटा ढक्कनले छोपिएको सुन्दर चाँदीको भाँडो हुन्छ । केटीले त्यो भाँडो युवकका अगाडी राखिदिन्छे र भन्छे, “ तपार्ईंले मन पराएका सम्पूर्ण कुरा यहीं भाँडामा छन् र त्यो अस्तिकी केटी मै हुँ ।” युवकले त्यो कुरा पत्याउन सक्दैन किनभने उसले त अत्यन्त सुन्दरी केटी देखेको थियो । केटीको आग्रहमा उसले त्यो भाँडो खोलेर हेर्दा ऊ दुर्गन्धले झन्डै मुर्छा पर्छ । त्यसबेला केटीले भन्छे, “तपाईंले मन पराएका कुरा त यिनै हुन् । अब सोच विचार गर्नुहोस् र फेरि सात दिनमा आउनुहोस् ।”

खासमा त्यो बुद्धिमान केटीले युवकको परीक्षा लिन खोजेकी थिई । उसले युवकको प्रेम प्रस्ताव आएपछि जुलाफ सेवन गरी । जुलाफको प्रभावले उसलाई उल्टी र पखाला भयो ।  त्यस बिकारलाई उसले बाहिरबाट सुन्दर देखिने भाँडोमा छोपेर राखी । बिमारले गर्दा उसको दिव्य रुप पनि ओइलाएर गयो । उसले सन्देश दिन खोजेको कुरा के थियो भने – रुप र सौन्दर्यलाई मात्र प्रेम गर्ने हो भने त्यो टिकाउ हुँदैन ।  

एक सत्य घटनामा आधारित, प्रेम के हो भनेर देखाउन खोजेको फिल्म 'द नोट बुक’ ले पनि यस्तै कुरा भन्छ ।


फिल्ममा युवा उमेरमा भेट भएका एक जोडी पछि बुढाबुढी भएपछि मात्र भेट हुन्छन् । युवावस्थामा उनीहरु बीचमा गाढा पिरती बसेको हुन्छ तर जागिर नभएको केटालाई बाबु आमाले केटी दिन मान्दैनन् । यसरि केटा र केटी आफ्नो आफ्नो कर्ममा लाग्छन् तर मनमा उनीहरुले एक अर्कालाई भुल्न सकेका भने हुँदैनन् । धेरै पछि उनीहरुको भेट हुन्छ तर कस्तो अवस्थामा भने केटी सम्पूर्ण रुपमा विस्मृतिमा गैसकेकी हुन्छे । तर केटो नोआ आफ्नी पुरानी प्रेमिका एलीलाई पुरानो नोट बुक निकालेर उनीहरुले जवानीका दिनमा के के गरे भन्ने कुरा बिस्तारै सुनाउँदै बुढी प्रेमिकालाई विस्मृतिबाट ब्युँझाउने प्रयत्न गर्छ र यसमा ऊ सफल हुन्छ । 

अस्तित्व स्वीकार  

हार्बर्ड बिश्वविद्यालयका न्युरो साइन्टिस्टहरुले २०१६ मा गरेको एक अध्ययनले पनि अमर प्रेम सम्भव छ भन्ने निस्कर्ष निकालेको छ । तर यसका लागि केहि पूर्वशर्तहरु रहेका छन् । ती हुन् – प्रेमिल जोडीहरुका यात्रा बिन्दु र गन्तब्य एकै हुनु पर्छ । बीचमा विचारहरुमा मतभेद हुनु स्वाभाविक हो तर एकले अर्काका इच्छाहरुको कदर भने गर्न सक्नुपर्छ । यसपछि पनि अमर प्रेम सम्बन्धमा धेरै अध्ययन भएका छन् । यी सबै अध्यननको निचोड भने एउटै छ – एक अर्काको विचार र इच्छाको कदर गर्दै गए प्रेम जीवितै रहन्छ । 


घरेलु हिंसाका, सम्बन्ध विच्छेदका अथवा पारिवारीक कलहका स्वरुप विविध भए पनि एक प्रमुख कारकतत्व भनेको एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु नै हो । केहि समयसम्म एकप्रकारको बानीबेहोरा र स्वभाव  भएको मान्छे बिस्तारै आफ्नो स्वभाव बदल्छ । तर त्यो बदलिएको स्वभावलाई अर्को पक्षले स्वीकार नगर्ने हो भने समस्याको सिर्जना हुन्छ । आपसी प्रेमलाई जोगाउन र सम्बन्धलाई सुमधुर राखिराख्नको लागि एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु जरुरी छ ।     


 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 11 June, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]

 




2 comments:

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).