Saturday 9 July 2022

कैदी नम्बर १

 प्रिय कबीर,

          समय क्रमको प्रभावले होला मैले आफूलाई कैदी जस्तो पो ठान्न थालेकी छु । अलिअलि कुरा बुझ्न थालेदेखि म आफूलाई स्वतन्त्र पन्छी ठान्थेँ । यो स्वतन्त्रताभाव मेरो मनमा जरा गाडेर बसेको थियो । तर केहि समय यता म आफू लाई एक कैदीको रुपमा पाइरहेकी छु । मैले छानेको र ठानेको स्वतन्त्रताकै बन्धक पो रहेछु म त । म आफू  बन्धक बनेको ज्ञान मलाई भर्खरै भयो । म त ज्ञानको, पदको, धनको, शक्तिको, नामको र अरु थुप्रै शान बघार्ने कुराहरुको बन्धक रहेछु । यी धेरै कुराहरुबाट घेरिएर म कैदी जस्तो जीवन बाँचिरहेकी रहेछु । म आफू  हुनुमा जे जे कुरामा गर्व गर्थें, ती सबै


कुराहरुले मलाई कुँज्याइरहेको अनुभूति गर्दैछु, हिजोआज

ठूलो नहुनू

          ती भर्खरै बहुसंख्यक धरानेहरुले छानेका स्वतन्त्र युवा नेता हर्क साम्पाङ्ग बारम्बार भनिरहन्छन्— ठूलो हुनु त धूलो हुनु हो । हो रहेछ जस्तै लाग्यो मलाई पनि । मानिसलाई ठूलो के कुराले पार्छ ? त्यहि पदले, शक्तिले, पैसाले नै होइन र ? हो, यी कुराहरुले मानिसलाई मानिस हुन नदिने रहेछ । एक अर्काबाट टाढा पार्ने रहेछ । अर्को व्यक्तिको सामान्य पहुँचभन्दा पर भएपछि, अरुलाई अर्कै प्रजातिको जस्तो ठान्ने भएपछि मान्छे मान्छे नै नरहँदो रहेछ । त्यो ‘ठूलो’ विशेषण धारण गरेको व्यक्ति वास्तवमा धूलोमै परिणत हुने रहेछ । वी.पी. कोइरालाले समेत त्यहि कुरा भनेका रहेछन्— ठूलो होइन असल बन्नू भनेर । ठूलो नहुने प्रयासमा लागेका धराने साम्पाङ्गलाई देख्दा एक प्रकारको उत्साह जागेर आउँछ । सानै रहन, मान्छेकै तहमा रहन प्रयासरत साम्पाङ गिट्टी कुटिरहेका हुन्छन्, खनिरहेका हुन्छन्, दौडिरहेका हुन्छन् । यी मान्छे मात्र भइरहेका हुन्छन् । मान्छे हुने यिनको प्रयासले पनि मलाई छोयो, कबीर । म त सधैँ मान्छे बन्ने प्रयासमा अमान्छे पो हुँदै गइरहेकी रहेछु ।

नाङ्गो भएर हेरेँ

          मैले आफूलाई नाङ्गो भएर हेरेकी रहिनछु । अहिले भर्खरै मात्र मैले आफूलाई कति धेरै आवरणले ढाकेको रहेछ भन्ने कुरा थाहा पाएँ । उहि मैले अगाडि भनेजस्तो नाम, सम्मान, पद, हैसियत जस्ता परिधानले म हलचल गर्न नसक्ने गरी पुरिएकी रहेछु । म तिनलाई बढो जतनपूर्वक बच्चाले खेलौना च्यापेजस्तो गरी च्याप्दी रहिछु । ती हराउलान् भनिकन डराउँदी रहिछु । अनि अर्कोतिर फर्केर अरुसँग ती आफूसँग भएका कुरा छन् कि छैनन् भनेर हेर्दिरहिछु । हो, यो अर्कातिर हेर्ने भाव अति विषाक्त रहेछ । यसले द्वेष, राग, भय, क्रोध, ग्लानी जस्ता घातक भाव पो उब्जाउने रहेछ । यति जाबो कुरा मेरो मगजमा किन उहिल्यै नपसेको होला भनेर अहिले मलाई हाँसो उठ्छ । अहिले यो प्रकारको चेत आएपछि पो मैले आफूलाई नांगो पारेर हेरेँ । मैले मेरो नाम नै बिर्सेर हेरेँ । सम्पूर्ण सम्बन्धहरु हुत्याएर हेरेँ । आफूसँग जोडिएका सम्पूर्ण अलंकार र विशेषणहरु बिर्सिएर हेरेँ । ओहो, म त सर्लक्क मान्छे मात्र पो रहेछु ।

          त्यति मात्र होइन, कबीर । मसँग अझै पनि मेरो पहिचान बाँकी नै रहेछ । मलाई चिन्नेहरुले कसरी चिन्लान् त भन्ने सोचेर हेरेँ । ओहो ! मेरो शरीर, नाक नक्सा, रंग पनि त मेरा पहिचान रहेछन् नि । त्यसपछि त मैले मेरो छाला काढेर एकातर्फ़ थुपारिदिएँ । त्यति त थियो मेरो दृश्य रुपको परिचय । छाला काढिएको मान्छे कस्तो होला ? दश बीसजना मान्छेलाई छाला काढेर लहरै उभ्याइदिँदा कस्तो देखिएला त ! कसैले हेर्नासाथ त्यसलाई चिन्ला र ? त्यो छाला काढिएको जीव मान्छे नै हो भन्ने सम्म थाहा हुन्छ तर कसको छाला काढियो भनेर खुट्ट्याउन त ठूलै अनुसन्धान गर्नुपर्छ होला । हो, मैले पनि आफूलाई छाला काढेर मूढो बनाएर लडाएर हेरेँ । अनि मात्र मैले देखेँ— म केवल मान्छे नै मात्र त रहेछु । म अहिलेसम्म आफूले बोकेका आवरण वा अदृश्य भारिहरुबाट नमीठो गरेर किचिएकी रहेछु । त्यसैले पो त म निस्फिक्री हाँस्न सक्तिन रहेछु । बोल्न नसक्दी रहेछु । मलाई म हुनबाट म आफैंले अज्ञानतावश रोकेकी रहेछु । यसरी म आफैंले सिर्जना गरेको झ्यालखानाको कैदी बनेकी रहेछु ।


          कबीर, तिमी सोच्दा हौ — यति कुरा बुझिसकेपछि त म एक निस्फिक्री जीवन बाँचिरहेकी हुँला । तर होइन । यो जीवन त एउटा पखेटा काटिएको पिंजडाको चरा जस्तै हुने रहेछ । पिंजडाबाट मुक्त गरिदिए पनि उडेर भाग्न नसक्दो रहेछ । त्यो त्यहिँ पिंजडाकै वरपर डुलिहिड्दो रहेछ । मेरो मन अहिले त्यहि पिंजडाबाट मुक्त चरा जस्तै बन्न पुगेको छ । मैले आफूलाई निर्मुक्त ठाने पनि त्यहि सांसारिक कुरा  वरिपरि नै गाँजिएको, अल्झिएको पाउँछु । बिहान उठेका आँखा खोल्ने बित्तिकै म फेरि पनि त्यहि संसारको भारि ग्रहण गर्दी रहेछु, अनि अनगिन्ति समस्याको जालो पन्छाउन खोज्दी रहेछु । हरेक समस्यालाई म आफ्नै पहिचानसँग जोडेर हेर्दी रहेछु । समस्या सुल्झिए एकछिनलाई आफू सिकन्दर महान बनेको ठान्दी रहेछु र समस्या नसुल्झिए एक प्रकारको हरुवा भावले मन कोतरेर बस्दी पनि रहेछु । म त यिनै दैनिकीहरुका गुत्थीभित्र अल्झिएकी अनन्त समयदेखिकी कैदी रहेछु ।

          कबीर, धेरैपल्ट सुनिएको एउटा कथा छ नि चोर आयो, चोर आयो भन्ने सुगाको कथा । कथामा एउटा मानिसले सुगा पालेको हुन्छ । हरेक पटक घरमा कोहि अपरिचित व्यक्ति प्रवेश गर्दा ऊ ‘चोर आयो, चोर आयो’ भनेर कराउँदो रहेछ । हो, हाम्रो जीवन पनि यहि सुगाको जस्तै रहेछ । जन्मेपछिको यात्रा एकदिन सपना जस्तै टुङ्गिने कुरा त हामी सुगाले चोर आयो भनेजस्तै रटिरहँदा रहेछौँ । तैपनि एउटा अनन्त मोहभावमा लडिबडी खेलेर कहिल्यै नअघाउने रहेछौँ । असंख्य कृत्यहरुमा हामी सम्मिलित भइरहने रहेछौँ । आँखै अगाडिको चोरलाई पहिचान गर्न नसक्ने रहेछौँ ।

          अहिले म बेलाबेला आफूलाई मान्छे मात्र भएर हेर्न कोशीश गर्न थालेकी छु । कुनै उल्लास, हतास, खुशी, विरक्तिबाट आफूलार्ई अलग राखेर हेर्न सिक्दै छु । मैले अघि तिमीलाई भनेजस्तो आफ्नो छाला काढेर पहिचानबिनाकी भएर संसार हेरे बढो आनन्द पो आउने रहेछ । यो आफूले देखेको संसारमा मान्छेजति हतासिएको, आत्तिएको, बौलाएको, छट्पटाएको कोहि नै नहुने रहेछ । संसारका अरु जीवात् त आफ्नै सुरमा चल्ने रहेछन् । मानिस जातिको यो अनन्त छट्पटिले हाँसो उठ्ने रहेछ । मानिसहरुमा नीहित अमरत्व खोज्ने भावले मानिस आफैं बौलाएको चाल नपाउँदो रहेछ । ऊ एकछिनमा रमाउँदो रहेछ, एकैछिनमा दुःखी बन्दो रहेछ । अझ त्यतिले नपुगेर घात, प्रतिघात पनि गर्दो रहेछ । अनन्तदेखि चलिआएको यो मानवीय प्रवृत्ति बढो रमाइलो किसिमको रहेछ ।

अष्टवक्र उवाचः

         


    यो मानव प्रवृत्तिको प्रथम अध्येता मैं हुँ भनेर मैले भन्न खोजेको होइन नि कबीर । यस्तो कुराको खोज आदिकालदेखि सन्त ऋषिमुनिहरुले गर्दै आएका रहेछन् । म केहि समयदेखि अष्टवक्र गीतालाई बुझ्ने कोशीशमा छु । जीवन जगतलाई राजा जनकका दृष्टिमा र सन्त अष्टवक्रका दृष्टिमा हुने भिन्नता बारेमा हेर्न खोज्दैछु । शान, वैभव र शक्तिमा निर्लिप्त राजा जनकले बुझेको संसारलाई कसरि अष्टवक्रले झूठो हो भनेर प्रमाणित गरिदिए भनेर बुझ्न खोज्दैछु । साँच्चै भन्नुपर्दा मलाई घत लागेको छ । हामीले निदाएका बेला देख्ने सपना र आँखा उघारेका बेला देख्ने बिपना बिचमा कुनै अन्तर छैन भनेर अष्टवक्रले जनकलाई नाङ्गो पारेर मान्छे मात्र बनाएर देखाइदिँदा जुन अहोभाव जनकमा आयो, त्यसले मलाई समेत छोएको छ । अन्त्यमा म एक श्लोक तिमीलाई सुनाएर यो पत्रको अन्त्य गर्छु है त कबीर !

          नाहं देहो न मे देहो जीवो नाहमहं हि चित् ।

          अयमेव हि मे बन्ध आसीद्या जीविते स्पृहा ।।

          अर्थात्, म शरीर पनि होइन, नत शरीर नै मेरो हो । म त चेतना मात्र हुँ । यो जीवन जगतप्रतिको आसक्तिले नै मलाई कैदी बनाएको हो । 

          अनि अर्को कुनै पत्रमा अष्टवक्र गीताको बारेमा मैले बुझेका कुरा पनि तिमीलाई सुनाउन मन छ । अहिलेलाई यति है त !

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 8 July 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).