Saturday 13 January 2024

हुस्सुको पर्दा

 

 

            मधेशतिर काम्नेगरि चिसो नभै जाडो जाला जस्तो भैसकेको थियो पसलतिर, चोकतिर, जमघटतिर जाडो नआएको गुनासो सुनिँदै थियो तर जाडोले किन बाटो बिर्सिन्थ्यो ? नआउनु जाडो आएपछि बाक्लो हुस्सुको कम्बल ओढेर आयो जाडोको चहलपहल अलि भिन्न रमाइलो पो लाग्छ मलाई सुस्त सुस्त गर्दै मस्त जाडो आयो


            अगाडिका आकृति देख्न मुश्किल हुस्सेमा मर्निङ्ग वाक गर्नेहरु आफ्नो धर्म नछाडि हिँडिरहेका हुन्छन् पातलो पातलो चल्ने सवारी साधनहरु दुर्घटनाको भयले होशले गुडिरहेका हुन्छन् भक्कावालीहरु झिस्मिसैमा सडक किनारातिर आगो जोरिरहेका हुन्छन् अनि तिनीहरुका वरिपरि स्कूल कलेजका केटाकेटी हर्हर वाफ उडाउँदै भक्का खाइरहेका हुन्छन्

            यो हुस्सुको पर्दाका आडमा सुस्तरी पाइला चाल्दै हिड्ने प्रेमिल जोडीहरु मलाई मन पर्छन् यी जोडीहरु हुस्सुलाई बढो प्रेम गर्छन् जस्तो लाग्छ मुखबाट फरर वाफ उडाउँदै सरक सरक पाइला चाल्दै हुस्सुमै बिलाइजाने स्वरमा धिमा गतिमा बोल्दै हिँड्ने एक जोडी युवालाई मैले सोधेँ—‘हुस्सु कति रमाइलो हगी ?’

            आजकलका ठिटाठिटी वाचाल हुन्छन् उनीहरु भन्छन्— ‘हो ! हुस्सु रमाइलो हुन्छ यो अँध्यारो पनि हैन उज्यालो पनि हैन कसैले कसैको हात समाएको पनि झट्ट देखिदैन

            हेर्नोस् हुस्सु कति रोमान्टिक यो युवा वार्तापछि हुस्सु अझ प्यारो लाग्छ मलाई माथि लेकतिर जस्तो एकदिन एकदिन घामै नलागे पनि हुन्थ्यो जस्तो लाग्छ

            गएराति मात्र टाढा दूरदेशमा वैदेशिक रोजगारी गर्ने एउटी आमाको फोन आयो उनी भने हुस्सुदेखि डराइरहेकी थिइन् ती एकल बहिनी एक्ली छोरीलाई सासूको साथमा छोडेर चारपैसाको जुगाड गर्न विदेशिनु परेको थियो यता उनी हुर्कंदो उमेरकी छोरीको मगजमा हुस्सु लाग्ला कि ? दिमागी हुस्सुमा बरालिएर उसले बाटो बिराउली कि भन्ने पीरमा थिइन् उनले त्यतिमा आफूलाई कहाँ रोक्थिन् ! फोनमै आफ्नो व्यथा सुनाउन थालिन्, ‘हामीले त्यो उमेरमा बाउ आमालाई पनि  शत्रु देखियो जङ्गलमा चरो कराउँदा पनि कसैले सुसेली हालेर आफैंलाई बोलाए जस्तो लाग्थ्यो पर डाँडामा मादल बज्दा यता खुट्टा उचालिन्थ्यो किताप देख्यो कि झुसुल्किरा जस्तो लाग्थ्यो जस्तो किनेको उस्तै हाप दाममा किताप बेचिन्थ्यो अनि नपढेपछि अहिले तिरिमिरी झ्याइँ भाको नि आफू जस्तो नहोस् छोरीले दुःख नपाओस् जस्तो लाग्छ नि यसो सम्झाइदिनुहोस् है मिस्

            टाढादेखि एउटी आमाले छोरीप्रति दर्शाएको प्रेम अज्ञात भय उनका शब्दभन्दा कति कति गहिरा थिए दिमागी हुस्सुको कुरा उनले सम्झाइन् हो पनि, यो चन्चले दिमागमा गर्न पर्ने कुराहरुलाई अर्थोकै कुराले छोपेर ल्याउँछ के को हुस्सुले झ्याप्प छोप्छ, छोप्छ ती परदेशी आमाले भोगेरै हुस्सुको जालिम खेल बुझेकी रहिछन् हुस्सु साँच्चै नै मायावी रहेछ

            हुस्सुले सारा जगत छोपेपछि घामको चाहना बढेर आउने रहेछ एक आङ्ग घाम ताप्न पाए कस्तो हुन्थ्यो नि जस्तो हुँदो रहेछ यो हुस्सु विम्वलाई जसरी जता पनि मिलाउन सकिने रहेछ अलि अगाडि नै हो मैले भेटेका एकजना सज्जनलाई सम्झें   उनले पनि हुस्सेकै गफ गरेका थिए उनले अझ सिङ्गो मुलुकको राजनीतिमै हुस्से लागेको गफ गरेका थिए कहिले यो अस्पष्टताको हुस्से फाट्ला झलमल्ल घाम लाग्ला नि भन्दै चिन्ता व्यक्त गरेका थिए हुन पनि हो उनले भनेजस्तै अब घाम लागिहाल्छ कि भनेर आशा गर्यो। उज्यालो फुट्यो कि जस्तो हुन्छ तर फेरि हुस्सेले ढपक्कै छोपेर ल्याउँछ देशको शिक्षा, स्वास्थ्य, व्यापार, न्याय सबैतिर राजनीतिक हुस्से ड्याम्मै लागेको स्पष्ट उज्यालो कतै छैन जताततै हुस्से मुस्लिएको , मडारिएको


            झलक्क हेर्दा बौद्दिकताको केन्द्र त्रिभुवन विश्वविद्यालयलाई हुस्सेले धुलिसात पारिसकेको राजनीतिक बाँडफाँड भागबन्डाले गर्दा शिक्षाको गुणस्तर भनें खच्कँदो अवस्थामा बाह्र पास गरेर विद्यार्थीहरु जसरी हुन्छ विदेश जाने उपायको खोजिमा छन् यता क्याम्पसहरु रित्तिइरहेका छन् पढ्न भनेर उम्किएका युवा फर्केर आउने सम्भावना अत्यन्त न्यून उद्योगहरु बन्द हुने क्रम जारी रोजगारका अवसरहरु अत्यन्त कम छन् लघु तथा मध्यम किसिमका वित्तिय संस्थाहरु समस्याग्रस्त छन् स्वास्थ्य क्षेत्रको भद्रगोल उस्तै कसैले कसैलाई गणना नगर्ने प्रचलन बढेर गएको हेर्नोस् ! राष्ट्रका शिर्षस्थ व्यक्ति नै बारम्बार विवादमा परेका अस्ति भर्खरै मात्र ज्यान मुद्दाका कसुरदारलाई आम माफि दिएको मुद्दा नसेलाउँदै अहिले राष्ट्रिय सभा सदस्य मनोनयन क्रममा पनि उस्तै गल्ति दोहोरिएको देखिँदैछ त्यसकै परिणाम हुनसक्छसर्वमान्य रहनुपर्ने व्यक्तिहरुका तस्वीरलाई हुत्याइँदैछ यी यस्ता प्रकारका हुस्सुले देशलाई ढपक्क ढाकेको

            यो हुस्से चिन्तन गर्दागर्दै मेरो ध्यान तुवाँलोतिर तानियो यसो शब्दकोश पल्टाइहेर्दा ब्रेन फगभन्ने शब्दावली प्रचलित नै रहेछ नि उहि अघि चर्चा गरिएकी परदेशी बहिनीले भनेजस्तो दिमागी कुहिरो जब दिमागमा तुवाँलो लाग्छ, मान्छेका मनमा भ्रमले डेरा जमाउने, छटपटि हुने, डिप्रेसन नै हुने अवस्थामा पुग्नेरहेछ हो, दिमागी तुवाँलो पन्छाउन अलि शान्त चित्त गर्ने, मनमा धेरै कुरा नखेलाउने ध्यान गर्ने बानी गर्नुपर्ने रहेछ उति नपढेपनि ती बहिनीले दिमागी हुस्सेका बारेमा अत्यन्त गहन जानकारी राखेकी रहिछन् आफ्नो पुरानो समयलाई सम्झेर उनले ज्ञानको सिर्जना गरेकी रहिछन् पढेर भन्दा परेर जानिन्छ भनेको त्यहि होला

            यता ती वाचाल युगल प्रेमीहरुलाई मैले बिर्सन सकेकै थिइँन उनीहरु हुस्सेप्रेमी थिए मनोविज्ञानतिर चियाएर हेर्दा उनीहरु सुतुरमुर्गे समस्यामा परेका हुन् कि भन्ने पनि लाग्यो तर कुरा त्यस्तो होइन उनीहरु प्रकृतिप्रदत्त हुस्सेमा उदात्त मनले रमाइरहेका मात्र थिए उनीहरु सुतुरमुर्ग जस्तो समस्याबाट भागिरहेका थिएनन्


            बरु सुतुरमुर्गको कुरा आउँदा मैले राजनीतिकर्मीहरुलाई चाहिँ सुतुरमुर्गे समस्याबाट  ग्रस्त भएको पाएँ सुतुरमुर्ग मरुभूमितिर रमाउने चरो रहेछ जब त्यस चराले कुनै विपद आइलाग्ने संकेत पाउँछ, आफ्नो मुन्टो बालुवामा लुकाउँदो रहेछ समस्यालाई आफ्ना आँखाले नहेरेपछि जेसुकै होस् नि सुतुरमुर्ग चराको यही बेहोराको अध्ययन गरेरअस्ट्रिच सिन्ड्रमभन्ने वाक्यांश प्रयोग भएको रहेछ अनि  मुलुकका हजारौँ समस्याहरुलाई देखेको नदेखेई गर्ने मुन्टो लुकाउने नेताहरु सुतुरमुर्गे समस्याबाट ग्रस्त भएका हैनन् ? हामी जनसाधारणले देख्न सक्ने भ्रष्टाचार, घुसखोरी, ढिलासुस्ती, चोरीपैठारी, तस्करी, अन्याय, अत्याचार, नातावाद, कृपावाद जस्ता अनगिन्ति कुराहरु देखेको नदेखेकै गर्न सक्नेहरुका दिमागी तुवाँलो अर्को चरणको चुनावमा पक्कै उघ्रने आशा गरौँ

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  12 January 2024)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).