Tuesday 19 August 2014

यो कस्तो संयोग हो ?

साल २०७१, श्रावण महिनाको ३० गते शुक्रबारको दिन थियो त्यो । किन किन मलाई भर्खरै दिवंगत भएका नेपाली सिनेमा जगतका नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता खड्कालाई सान्त्वनास्वरुप एउटा पत्र लेखौं लेखौं जस्तो लागेर आयो । पोहोरको साल मात्र आफ्नी मायालु आमालाई अकस्मात रुपमा गुमाएकी मभित्र आफन्तको मृत्युको पिडा कति गहिरो हुन सक्तो रहेछ र यस्तो अथाह चोटबाट पनि क्रमश: कसरि बाहिर निस्कन सकिँदो रहेछ भन्ने अनुभव ताजै रहेकाले त्यसैको आधारमा मैंले श्वेतालाई चिठी लेखें । जब उनलाई म सान्त्वना दिंदै थिएँ, उज्यालो भविष्यको आशा देखाउंदै थिएँ, मेरा आदर्श पुरुष, मेरा बुवा यो संसार त्याग्ने क्रममा लाग्नु भएको रहेछ । यसका बारेमा म पूर्ण अनविज्ञ भै, श्वेताको अवर्णनीय दु:ख लाई आत्मसात गर्ने प्रयाश गर्दै थिएँ । त्यो पत्र लेखिसकेर मैंले आफ्नु इमेल खोल्दा बुवाको दुर्घटनाका बारेमा थाहा पाएँ 

यसैगरी, यसको ठिक एक हप्ता अगाडी, श्रावण २३ गते, शुक्रबारका दिन थुप्रै बहुमूल्य सामग्रीहरु संग्रह गरेर राखिएको हार्ड ड्राइव अचानक आफ्ना हातबाट खसेर धुलो भएको घटनालाई लिएर मेरा मनमा उब्जेका भावलाई समेटेर मैंले अंग्रेजीमा 'चेक, मेइट्' भन्ने लेख लेखी यही ब्लगमा छापेकी थिएँ। त्यो लेखमा आफूभन्दा ठूलो अदृश्य शक्तिका अगाडी मानव जाती सधैं निरीह र पराजित रहने तथ्यलाई औंल्यैएको छ । यस्तो निरीहतालाई आफन्तलाई गुमाउँदा लाग्ने चोट संग पनि जोडिएको छ 


मलाई लाग्छ, एक हप्ता भित्र लेखिएका र उस्तै विषयबस्तु समेटिएका यी दुवै लेखले म स्वयंलाई निकट भविष्यमा आफूमाथि आई लाग्ने वज्रपात सहनका लागि तयार पार्दै  थिएँ ! यस्ता कुरा गर्न मलाई कुनै अदृश्य शक्तिले नै प्रेरित गर्दैथियो! 'मृत्यु' जस्तो तीतो सत्यकै सेरोफेरोमा आफ्ना भावनाहरु पोखिई रहेका बेला मैंले श्रावण ३१ गते शनिबार यो परदेशमा आफ्ना पूजनीय पिताजीको मृत्युको खबर सुन्नुपर्यो । सबैको जीवनमा यस्तै हुन्छ । फरक सिर्फ कुन समयमा, कसरि  र कसलाई भन्ने मात्र हो । आफ्नु वेदनाले आफुलाई ढपक्क छोपेका बेला आफ्नु अगाडी लमतन्न पसरिएको कालो रातको अन्त कतै देखिँदैन ! यसले गर्दा झन् झन् कहाली लाग्छ! कालो रातपछि उज्यालो दिन पनि आउँछ भन्ने कुराको हेक्का नै रहँदैन!

ऐले मेरो सूर्य अस्ताएको छ, मेरो जीवनमा औंसीको रात आएको छ ! यस्तो संकटको घडीमा म आफूलाई पूर्ण: विश्वासका साथ  सम्झाउँदै छु, सान्त्वना दिंदैछु, "मेरो जीवनमा फेरि पनि सूर्य उदाउने छ, फेरि पनि पूर्णिमाको रात आउनेछ !"

{The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).