Saturday 18 April 2015

साउथ अफ्रिकामा सात दिन

'गुड मोर्निङ एभ्रिवन ! आई एम योर गाइड द होल डे टुडे', हाम्रो गाइड क्लाइभले हँसिलो मुस्कान छर्दै हामीतिर हेरेर भन्यो।
 सन् २०११ को जनवरीको अन्तिम सातामा एउटा अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्ने मुख्य उद्देश्यले साउथ अफ्रिकाको केपटाउन पुगेकी मलाई यो सहरको एकहप्ते भ्रमण गर्ने सौभाग्य मिलेको थियो।

Byanjana (left), Marie (middle) & Olive
अस्ट्रेलियाको मेलबोर्नदेखि करिब १७/१८ घन्टा लामो यात्रा तय गरेर आफ्ना सुपरिवेक्षक मारी टेरेस जेन्सेन र पपुआ न्युगिनीकी साथी ओलिभ बोलोइलोइका साथ लागेर म त्यता लागेकी थिएँ। ओलिभलाई नभेटुन्जेल मलाई उसको देशको बारेमा एक अफ्रिकी लेखक चिमामान्दा अडिचीले भनेजस्तो 'सिंगल स्टोरी'मात्र थाहा थियो। पपुवाका मानिस भनेपछि मेरो मनमा पिछडिएका आदिवासी जो जंगलमा सिकार खेलेर आफ्नु जीविका चलाउँछन् र लोग्नेमान्छेहरू आफ्नो लिंगलाई खुकुरी दापमा हालेजस्तो काठको टोकरीमा हालेर हिँडछन् भन्नेजस्तो तस्बिर आउँथ्यो। तर अहँ, त्यसो होइन रहेछ। त्यहाँ पनि सभ्य, पठित र सुसंस्कृत मानिस हुँदा रहेछन्। ओलिभ र उसको परिवार यसको प्रमाण थिए।

हामी पहिला तीन दिन त सम्मेलनमै व्यस्त भयौं। मलाई मैंले आफ्नो पीएचडी अनुसन्धानका सिलसिलामा पढेका ब्राउन स्ट्रिट र पेनिकुकजस्ता हस्तीहरूसँग पनि भेट गर्ने अवसर मिल्यो। उनीहरूका कुरा सुन्न पाइयो। रमाइलो कुरा चाहिँ त्यहाँ सबैभन्दा ठूलो जमात हामी मोनास युनिभर्सिटीबाट गएका व्यक्तिहरूकै थियो ९/१० जनाको। तीमध्ये ओलिभ र मबाहेक अर्की एकजना गरी तीनजना मात्र विद्यार्थी थियौं।

सम्मेलनपछिका केही दिन हामीले केपटाउन घुम्नका लागि छुट्याएका थियौं। त्यसैले सम्मेलन सकिएको भोलिपल्ट बिहानै हामी आफ्ना झोलाझाम्टा पोको पारेर सिटी सेन्टरतिर लाग्यौं। मारी, ओलिभ र मैंले टाउन हल होटेलको बजेट रुममा बस्ने निर्णय गर्‍यौं। हुन त मारीले चाहेकी भए एक्लै रुम लिएर आलिसान तरिकाले बस्न सक्थिन् तर अस्ट्रेलियादेखि नै उनको साथ लागेर आएका दुई बबुरी चेलीलाई उनले छोड्न चाहिनन्। त्यसैले उनले आफ्नो माथिल्लो स्तरको पर्वाह नगरी हामी विद्यार्थीकै स्तरमा मिलेर बस्न रुचाइन्। 

हामीले लिएको कोठामा दुईवटा खाट र एउटा ठूलो सुत्न मिल्ने सोफा थियो। एकजनाले राति त्यही सोफालाई नै ओछ्यान बनाएर सुत्नुपर्ने थियो। सबै सँगै बस्न पाएको खुसीयालीमा रमाएर ओलिभ सोफामा सुत्न तयार भई। मारी र मैंले एकएकवटा खाटमा डेरा जमायौं। मोनासका अरू सदस्य आआफ्नै हिसाबले फरकफरक होटेलमा बसे। घुम्न जाने बेलामा भने हामी सबैजना साथै हुन्थ्यौं। यो घुमन्ते टोलीमा हामीबाहेक ब्राजिल, यूके र दुबईबाट सम्मेलनमा भाग लिन आएका सहभागीहरू पनि थिए।

हामीलाई केपटाउन घुमाउने गाइड क्लाइभ साह्रै नै जीवन्त रहेछ। बिहान ऊ जुन उत्साहले हामीलाई अभिवादन गथ्र्यो, त्यही उत्साहलाई बेलुकासम्म कायम राख्थ्यो। गाडी कुदाउँदा नि ऊ एकैछिन मुख खाली नराखी आँखाले देखेसम्मका हरेक ठाउँका, बाटाघाटाका र मानिसका बारेमा केही न केही बताएर हामीलाई मनोरञ्जन गराइरहन्थ्यो। वरिपरि समुद्र नै समुद्रले घेरिएको केप टाउन सहर अति सुन्दर देखिन्थ्यो।

मेल्बोर्नको फिलिप आइल्यान्डमा 'पेन्गुइन परेड' हेर्नका लागि घन्टौंसम्म कुरेपछि अन्त्यमा सिलिङ-विलिङ १०/२० वटा पेन्गुइन देखेर अत्यन्त बेखुसी भएकी म केपटाउनको समुद्री किनारमा सयौं पेन्गुइन एकैसाथ देख्न पाउँदा हर्षले आत्तिएर चिच्याएकी थिएँ। त्यहाँ ठूलादेखि सानासम्मका जात जातका पेन्गुइन मस्तसँग आफ्नु जीवनचर्यामा लागेका देखिन्थे। तिनलाई धीत मरुन्जेल हेर्ने धोको पूरा नहुँदै हुरी चल्न थालेर डरलाग्दोसँग बालुवाले खेदेपछि हामी त्यहाँबाट टाप ठोकेका थियौं।

केप टाउनको अर्को विशेषता 'नेसनल बोटानिकल गार्डेन' थियो। यो विश्वप्रसिद्ध गार्डेनलाई साउथ अफ्रिकामा भएमध्येकै सबैभन्दा सुन्दर मानिँदो रहेछ। यहाँ स्थानीय प्रजातिका सबै र देश/विदेशबाट ल्याइएका अन्य कैयौं जातका बोटबिरुवा थिए। 
 हामीलाई बगैंचा डुलाउने गाइडले भ्याएसम्मका सबै बोटबिरुवाको सविस्तार व्याख्या गरेकी थिइन्। कलात्मक यो बगैंचाले मेरो मनलाई पुलकित बनाएको थियो। यसको अलि डाँडातिर गएर तलतिर हेर्दा पूरा केप टाउन सहर छर्लंग देखिन्थ्यो। यसले मलाई उहिले उहिले हामी हिँडेर धनकुटाबाट धरान झर्दा साँगुरी भन्ज्याङबाट देखिने धरान बजारको सम्झना गराएको थियो।

केप टाउनमा म्युजियमहरू पनि थुप्रै रहेछन्। यीमध्ये 'क्यासल मिलिटरी म्युजियम'ले साउथ अफ्रिकाको सिंगो राजनैतिक इतिहासलाई समेटेको रहेछ। वर्षौंसम्म दासताको जन्जिरमा जकडिएका स्थानीय जनताको स्थिति कति कष्टप्रद थियो भन्ने कुराको झलक यो म्युजियमले दिने रहेछ। त्यहाँ संरक्षित यातनागृह देखेर मेरो मन त्यसैत्यसै अमिलो पीरो भएको थियो। 
 ती ठाउँमा तत्कालीन दासहरूलाई बाँध्ने ठूलठूला फलामे साङ्ला थिए। कहीँ कहीँ त रगतका छिटाजस्ता पनि देखिन्थे। ती क्रूरताका नमुनाले मानव सभ्यताको खिल्ली उडाइरहेजस्तो लाग्यो, मलाई।

Table Mountain
त्यहाँको अर्को आकर्षण भनेको 'टेबल माउन्टेन' थियो। नभन्दै यो हिमालको टुप्पो हाम्रा हिमालको जस्तो चुच्चो चुचुरो नभएर टेबलकै सतहजस्तो सम्म परेको थियो। केबुल कार चढेर यसको चुचुरोमा पुग्न सकिन्थ्यो। तर दुर्भाग्यवश ओलिभलाई उचाइदेखि डर लाग्ने भएर त्यता जान मानिन। त्यसैले 'साथीलाई के एक्लै छोड्नु' भन्ने ठानी मैले टेबल माउन्टेन टेक्ने इच्छा नै मारिदिएँ र सहरबाटै यसको सौन्दर्यपान गरें।

हामी ६/७ दिनमा केप टाउनका धेरै रमणीय ठाउँहरू घुम्यौं। थुप्रै अलौकिक कुरा देख्यौं। यीमध्ये मलाई सबैभन्दा मन परेको चाहिँ एटलान्टिक ओसन र इन्डियन ओसनको संगम भएको ठाउँ हो। 'केप पोइन्ट'मा पुगेपछि धर्तीमा अवस्थित यो स्वर्गीय दृश्य देख्न र अलौकिक आनन्द प्राप्त गर्न सकेकी थिएँ, मैंले। संसारको कुनै ठाउँमा शायदै यसरी दुई महासागरको निर्वाध रूपमा भेट भएको देख्न सकिँदो हो !

यो सहरका मानिसबाट मैंले एउटा आश्चर्यलाग्दो जिज्ञासाको अनुभूति गरेकी थिएँ। हामी जहाँ जहाँ गयौं, त्यो त्यो ठाउँका मानिसको प्रश्न एउटै हुने गथ्र्यो, 'हाम्रो देशलाई बाहिरका मानिसले कसरी हेछन्? राम्रो भन्छन् कि भन्दैनन्?' हामी सबैतिर उस्तै प्रश्न दोहोरिँदा छक्क पथ्र्यौं र जवाफ दिन्थ्यौं, 'ओ ! हामीले चिनेजानेका व्यक्तिहरू साउथ अफ्रिकालाई राम्रो भन्छन्। त्यसैले त हामी यति लामो बाटो तय गरेर यहाँ आयौं।हाम्रो उत्तर सुनेर उनीहरू अनुहार चम्किलो पार्थे र भन्थे, , अँ, अहिले यहाँ पहिलेको जस्तो नराम्रो केही छैन। तिमीहरू आफ्ना साथीलाई यो कुरा भनिदिनु है। उनीहरू पनि हाम्रो देश हेर्न आऊन्।यसबाट के अनुमान लगाउन सकिन्थ्यो भने उनीहरू आफ्नो त्रासदीपूर्ण अतीतबाट अझै पूर्णत बाहिर आउन सकेका छैनन्। अर्थात् उनीहरू बाहिरी संसारसँगको सम्पर्कमा उतिसारो थिएनन्। उनीहरूको हार्दिक इच्छा हुँदो हो, साउथ अफ्रिकालाई हेर्ने आँखा अब बदलिऊन्। त्यहाँको स्थिति सुध्रिसकेको छ। हुन पनि हो, थोरै समयको अन्तरालमा नै यहाँको रूपरेखा बदलिएको कुरा विश्व मानव समुदायलाई थाहा नभएको होइन। त्यसरी यो देश व्यापक मात्रामा नसुधारिएको भए सन् २०१० मा विश्वकप जस्तो उच्चस्तरीय प्रतियोगिता यहाँ हुन कसरी सम्भव थियो र?

Cape town City Hall (at the back)
त्यहाँका जनता नेलसन मन्डेलालाई भगवान्कै अवतारका रूपमा मान्दा रहेछन्। उनीहरू आफूले उपभोग गर्न पाएको स्वतन्त्रताको सम्पूर्ण श्रेय मण्डेलालाई नै दिन चाहन्थे। त्यहाँ एउटा म्युजियम उनकै नाममा थियो, जुन उनका तस्बिर, संघर्षका कथा र दिव्य महान्वाणीबाट भरिपूर्ण थियो। हामीले, आफ्नो लामो जेलजीवनबाट मुक्त भएको केही घन्टापछि नै मन्डेलाले पहिलो पटक भाषण दिएको भवन 'केप टाउन सिटी हल' देख्यौं। स्थानीयवासीहरू 'मन्डेला ऊ त्यहाँ उभिएर भाषण गरेको'भन्दै एउटा बार्दलीतिर औंला तेस्याउँथे। 'ओहो, त्यो दिन यहाँ वरिपरि कस्तो भीड थियो ! मानिसहरू टाढा टाढादेखि उनलाई हेर्न र उनको भाषण सुन्न भातपानी छाडेर यहाँ ओइरिएका थिए', उनीहरू अगाडि थप्थे।

S. African musical band
केप टाउनमा जहाँ जहाँ गए पनि, जे जे हेरे पनि मलाई सबैभन्दा जान र हेर्न मन लागेको ठाउँ भने 'रोबिन आइल्यान्ड' थियो। आफ्नो जीवनकालका उर्बर २७ वर्ष बन्दी बनेर मन्डेलाले त्यहाँ बिताएका थिए। त्यो अत्यासलाग्दो समय उनले त्यसै खेर जान भने दिएका थिएनन्। त्यहाँ उनले अहिंसाको पाठ सिके। प्रेम र सद्भावको पाठ सिके। सम्पूर्ण मानवीय मूल्य र मान्यतालाई आत्मसात् गर्न सिके। सफल आध्यात्मिक जीवनको साधना गरे। समग्रमा भन्नुपर्दा आउँदो समयमा आफ्नी मातृभूमिलाई उन्मुक्तिको अनुभूति गराउनका लागि उनले त्यहि रोबिन आइल्यान्डको कालकोठरीमा बसेर आफूलाई हरतरहबाट तयार पारे। त्यस्ता महान् व्यक्तिको प्रेरणाको स्रोत त्यो आइल्यान्डमा टेकेर म धन्य हुन चाहन्थें। त्यसैले त हामीले अस्ट्रेलिया फर्कने दिनको अघिल्लो बिहान त्यहाँ जाने योजना बनाएका थियौं।

तर हरे मेरो दुर्भाग्य ! अचानक मौसम बिग्रनाले मेरो धोको पूरा हुन सकेन। सहरबाट फेरीमा चढेर मात्र रोबिन आइल्यान्ड पुग्न सकिन्थ्यो। समुद्री आँधीका कारण त्यो बिहान त्यतातिर जाने फेरि रद्द भयो। म दिनभरि झोँक्राइरहेँ। मारी र ओलिभले सम्झाए। साँझमा मन नलागीनलागी अन्तिम पटक सहरको रमिता हेर्न म उनीहरूको पछि लागेँ। त्यतिबेला सडक किनारमा बसेर संगीत साधनामा तल्लिन भएको साउथ अफ्रिकन ब्यान्डलाई देख्न र उनीहरूको मीठो संगीत सुन्न पाउँदा मेरो मन पुन प्रफुल्ल भयो।
(अन्नपूर्ण पोष्ट फूर्सद मा मिति २०७/१/५ मा प्रकाशित) 




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).