Friday 22 September 2023

केहि अब्डेरा प्रश्नहरु

 

उत्तरदातालाई पनि अप्ठ्यारो पार्ने प्रश्नहरूलाई यक्ष प्रश्न भन्ने गरिन्छ । महाभारतको वन पर्वमा यक्षले युधिष्ठिरलाई सोधेका केही कालजयी प्रश्नहरू नै यक्ष प्रश्न हुन् । वनवासी महाराज युधिष्ठिरको १२ वर्षको वनवास समाप्त हुनै लागेको बेला एक जना ऋषिको यज्ञका लागि आगो बाल्ने अरणी यन्त्रसहितको काठ एउटा बलियो मृगले सिङमा अड्काएर भागेछ । त्यसलाई खोजेरे ल्याइदिन ऋषिले पाण्डव दाजुभाइहरुसँग सहयोग मागेका रहेछन् । त्यो सामग्री फिर्ता लिनका लागि पाँचै भाइ मृगको खोजीमा हिँडे तर मृग कतै फेला परेन । थाकेका पाँचै दाजुभाइ थकाइ र तिर्खाले एक वृक्षमुनि बसेर पानीको खोजी गर्न थाले । युधिष्ठिर ले पहिले नकुललाई पानी लिन पठाए तर उनी फर्केनन्, सहदेव गए, उनी पनि समयमा फर्केनन्, अर्जुन र भीम पनि पानी लिन गए तर कोही पनि फर्केर नआएपछि युधिष्ठिर आफैँ पानी र भाइहरूको खोजीमा हिँडे ।


चारै जना भाइहरू एक पोखरी किनारामा बेहोस ढलेका थिए । युधिष्ठिर चारै  भाइहरूका क्षमता सम्झी सम्झी विलाप गर्न थाले । त्यतिबेलै बकुल्लाको रुपमा यक्ष देखा परे र अनुमति बिनै पानी खान खोजेकाले चार भाइ दण्डित भएको कुरा बुझाए । उपायस्वरुप यक्षले युधिष्ठिरलाई केहि प्रश्न सोध्ने भए र सहि उत्तर आएमा भाइहरुको ज्यान पनि बच्ने भयो र पानी पनि पिउन पाइने भयो । यस्तो चर्को प्रसंगमा त होइन तर पनि हरेक पटकको सोधाइमा अप्ठेरो लाग्ने केहि अब्डेरा प्रश्नहरुको मैले यहाँ चर्चा गरेकी छु ।

तपाईंको परिचय ?

देश गुणाको भेष भनेजस्तै आफ्नो आफ्नो संस्कारमा अपरिचित व्यक्तिसँग कुराकानी शुरु गर्ने बेग्लाबेग्लै परम्परा हुन्छन् । पटक्कै नचिनेको व्यक्ति फेला पर्दा हाम्रोतिर भनें, “यहाँको परिचय ?” भनेर सोध्ने गरिन्छ । बिना सोचविचार प्रचलित नियम अनुसार भन्ने हो भनें त म फलाना थरको फलाना व्यक्ति भनिन्छ । त्यतिले नपुगे अझ आफू भन्दा नाम चलेका व्यक्तिको परिचयसँग आफ्नो परिचय जोडिन्छ । त्यतिले पनि आफ्नो परिचय नखुले छर छिमेकीको सहारा लिएर भएपनि आफू उभिन खोजिन्छ । योचाहिँ अलि पुरानो समयको चिनापर्चीको तरकिव हो । अहिले आएर कतिपय अवस्थामा आफ्ना पद, सामाजिक ओहदाका सहायताले पनि आफूलाई उभ्याउने चलन छ ।

मलाई भर्खरै यस्तै पर्यो । “अनि तपाईंको परिचय ?” तत्क्षणमा त मैले यो प्रश्नको समाधान पुरातन पद्धतिले नै गरें । म फलानी, फलानीकी छोरी, फलाना ठाउँमा जन्मेको यस्तै यस्तै । तर मलाई पछि भनें यस कुरादेखि चित्त बुझेन । वास्तवमा मचाहिं को हुँला त ? नाम त म जन्मेपछि अरुले टाँसिदिएको हो । नामपछिका कुरा त अझ पछि थपिँदै गएका हुन् । पढाई, जागिर, लोग्ने, छोराछोरी, स्थान जस्ता परिचयका अनगिन्ति फूर्काहरू सबै पछि थपिँदै, जोडिँदै आएका हुन् । 

मैले जेलाई म भनिरहेकी थिएँ, वास्तवमा म ती नाम, पद, ओहदा, सम्बन्ध केहि पनि होइन रहेछु । म त हाड, मासु, छालाको पिण्ड सम्म पनि रहेनछु । गहिरिएर मनन गर्दा ‘म आफूले मलाई परिचयहीन पायो । हामीलाई समाजले सम्मानपूर्वक भिराइदिएका परिचय फुकालिदिएर हेर्दा त सबैजना बराबर पो देखिने रहेछ । यहाँ घटुवा सिद्दान्त लगाएर सम्पूर्ण पगरीहरु फाल्दै गएपछि शरीर बाँकि रह्यो । बाहिरको गर्व गर्न लायकको छाला र मासु समेत घटुवा गरेपछि त सवै उस्तै । पक्का समाजवादी सिद्धान्त त यो पो रहेछ जस्तो लागेर आयो मलाई ।  आजसम्म म जे जे कुरामा आफूलाई गौरवान्वित महसूस गर्थे, त्यहि मेरो परिचय हो भन्दी रहेछु म । अरुले पनि त्यहि नै नियम पालना गर्ने रहेछन् । तर ती पद, ओहोदा, प्रतिष्ठा समयको जाँतोमा धुलिने रहेछन् । समय आफैं एउटा रहस्यमय गुफा जस्तो हुने रहेछ । स्वाट्ट समयचेत भित्र पसेपछि विचित्रतामा रम्दै भुलिदै गर्दा फुत्त बाहिरिनुपर्ने घन्टी बजिहाल्ने ।


अनि तपाईंको पहाड चैं ?

पुराना पातहरुका बात नै छुट्टै । तपार्इंको परिचय मागिसकेपछि उनीहरुले सोध्ने भनेकै तपाईंको पहाड हो । हाम्रोभन्दा अघिल्लो पुस्ता प्रायः पहाडबाटै झरेको पुस्ता हो । उहिले मधेसमा औलोका भयले गर्दा पहाडेहरू त्यति नझर्ने ।  वि.सं. २०१५ वरिपरिवाट मात्र पहाडबाट मधेस झर्नेको बाढि लाग्न शुरु भयो र वन फडानी शुरु भयो । औलोका भुमरीमा कुइनाइनका गोलीका भरमा मान्छे जंगल फाड्न जीउ ज्यान छोडेर लागि परे । यहाँका आदिवासीहरू छेउ लागे । पहाडे टाठाबाठाले मधेसमा आधिपत्य जमाए । हो तिनै पुराना पुस्ताले खोजि गर्ने हो, उत्पत्ति थलो, “तपाईंको पहाड चैं कता ?” भनेर । पुरानो पुस्ता जो पहाडबाट तराई झर्यो, त्यसको पुरानो थातथलो, बाजे बराजु भएको ठाउँ पहाड हुनसक्ला तर अहिलेका मधेसमा हुने नवपुस्ताहरुले पहाड सुनेका मात्र हुन सक्छन् । म आफैँ र मेरो श्रीमानले समेत आफ्नो पहाडको दर्शन भर्खरै पायौं । अझ हाम्रा छोरा छोरी, भतिजा, भतिजीहरुले त कसरी पहाड खुट्याउन् ? हामी गतवर्ष असमतिर घुम्दा समेत त्यहाँका नेपालीहरूले पहाड सोधे । उनीहरू आफैं त्यहिँ जन्मेर हुर्केका भएपनि बाबु बाजेहरु कुन स्थानबाट असम छिरे भन्ने कुरा उनीहरूले नबिर्संदा रहेछन् । मूलजरो सधैँ प्यारो हुने रहेछ ।

तपाईं चैं के थरि ?

अनि अर्को अप्ठेरो प्रश्न पनि छ हाम्रो समुदायमा । त्यो हो, “तपाईं चैं के थरि ?” मलाई यो प्रश्न जति वाहियात लाग्छ, त्यति नै समाजले यसलाई महत्व दिएको हुन्छ । अझ गहिरेर हेर्दा त महिलाको थरि नै पो नहुँदो रहेछ । बिहा नगरुन्जेल माइतीको थर । अनि बिहा भएपछि बाहुन क्षेत्रीको चाहिँ गोत्र नै परिवर्तन भएर थर पनि परिवर्तन हुने रहेछ । अनि माइतीको थरमाथि अर्को थर जोडिने । धन्न अहिले आएर बिहेवारी बीस वर्ष पारी भने सूत्रले गर्दा धेरैजसो दिदी बहिनीहरुले विवाहपूर्व नै नागरिकता बनाइसक्छन् र कमसेकम कागजी रूपमा माइतीको थर रहन्छ । उहिले उहिले त यो थरको चलन पनि रहेनछ । यसो पुराण शास्त्रतिर हेर्दा कुनै पनि थर उल्लेख भएको पात्र नपाइँदो रहेछ । नत्र सीता, सावित्री, गान्धारी, रावण, राम, कृष्ण, दुर्योधनका थर हनुपर्ने हैन र ? ती पौराणिक कथामा उल्लेखित पराक्रमी राजाहरुका वंश चाहिँ उल्लेखित छ है । जस्तै,  सूर्यवंशी, सेनवंशी, यदुवंशी आदि आदि । अनि ऋषिमुनिहरुका थर खोई ? परासर, वशिष्ठ, अत्री, पर्शुराम जस्ता ऋषिहरुको पनि थर भएजस्तो लागेन मलाई ।

पहिलेको समयमा जनघनत्व पनि कमै हुँदो हो, त्यहि भएर नाम र वंशले काम चल्थ्यो होला । पछि पछि गएर थरहरू थपिए होलान् । थरका सहयोगले गण, समूह छुट्याउन सजिलो भयो होला । यी थरहरू कसरी रहन गए र यसको अर्थ के हो भन्ने खोज अनुसन्धानको बाटो अर्कै छ । मलाई चाहिँ के लाग्छ भने मान्छेको परिचय, थर र वंशमा भन्दा उसका काम, क्षमता र योग्यताबाट निर्धारण गरिनुपर्ने हो । उहिले कसैले एकै दिनमा चालिस अध्याय वेद पाठ गर्यो  र चालिसे थर भयो भन्ने गरिन्छ । अब त्यहि अर्थमा हेर्ने हो भनें थरको बिँडो थाम्ने मुश्किलले मात्र भेटिन्छन् ।


कस्तो मोटाको ?

अर्को मलाई खट्किने प्रश्न चाहिँ, “कस्तो मोटाएको ?”  भन्ने हो ।  भेट्न, बोल्न, हालचाल बताउन नपाई सोधिने प्रश्न हो, “किन यस्तो मोटाएको ?” त्यो प्रश्नकर्ता आफैं पनि अपवाद बाहेक उस्तै कुरुप स्वरुपकै हुन्छ । मोटाइनु वा दुब्लाइनुसँग खासमा त्यो प्रश्नकर्तालाई त्यति धेरै सरोकार पनि हुँदैन । तैपनि अलिकति मानमर्दन गरिदिइहालौँ भनेजस्तो कति मोटाएको भन्ने प्रश्नको सामना जोकोहिले गर्नुपर्छ । यहि प्रश्न सुन्दा सुन्दा आजित भएर अनेकौं उपाय लगाएर ज्यान झिनो बनायो फेरि पनि उस्तै । “आम्मै, कस्तो सन्याक्सुनुक भको । सुगर छ कि क्या हो ?”  ल अब के गर्दा चाहिँ भलो होला भनेर सोच्दा एउटै उपायरुपी अस्त्र फेला पर्यो -  “सहि हो, तपाईंले ठ्याक्कै मिलाउनुभयो ।

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  22 September 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 




2 comments:

  1. यति राम्रो लेख पढेर नअघाइने तर परिकाले शुद्ध पनि छप्नोस केही थरी एस्ता धेर छन।पतृकाको स्तर उठाउनोस।

    ReplyDelete
  2. सुन्दर अनि समय बाेध भएकाे रचना। बधाई छ सर्जकलाई ...

    ReplyDelete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).