Friday 27 August 2021

एक चाङ सम्झना


आज करीब एक महिनापछि बल्ल बल्ल हजुर मेरो सपनामा आउनुभयो । अस्ति अस्ति कत्ति ‘मुवाँलाई सपनामा देखूँ,’ भनेर पुकारा गरें तर कहिल्यै देखिनँ । आज अचानक नसोचेको समयमा हजुर आउनुभयो । यहाँ हो कि नेपालमै हो, मलाई प्रष्ट हुन सकेन, हजुर माथि तलामा कुर्सीमा बसेर टेबलमाथि केही राखेर एकचित्त भै पढ्दै हुनुहुँदो रहेछ  । म तलबाट पाउरोटी र टमाटरको सुप लिएर हजुर हुनुभएको ठाउँमा आएँ र अंग्रेजीमा भनें, ‘आइ ह्याभ  कम टु माइ बिलभेड मदर ।’ (म मेरी प्यारी आमाको छेउमा आएँ है !) हजुरले मतिर पुलुक्क हेर्नुभयो र चम्चामा सुप लिएर मलाई खुवाइदिनुभयो । यत्तिकैमा म ब्यूँझिएँ । यसरी अचानक हजुरलाई देख्न पाएर म निकै बेर खुशी भएँ ।

मुवाँ, साइकिक मिडियमहरूले यसरी मृत आफन्तसँग सपनाको माध्यमबाट सम्पर्क हुनुलाई अर्थपूर्ण मानेका छन् । एक त, सशरीर पृथ्वीमा उपस्थित नभए पनि आत्मिक रूपमा उनीहरू यहाँ भएका प्रियजनसँग सधैं सँगै छन् भन्ने संकेत हो, यो । अर्को चाहिं मृत्युपश्चात् पनि उनीहरू कुशलमंगल र खुशी छन् भनेर जीवित आफन्तलाई निश्चिन्त पार्नु हो । कार्ल जङका अनुसार सपनालाई सांकेतिक रूपमा विश्लेषण गर्न सकिन्छ । यी दुवै धारणाका आधारमा मैले देखेको सपनालाई हेर्ने हो भने— हो, हजुर मसँगै हुनुहुन्छ किनभने म हजुरको उपस्थितिको हर क्षण अनुभूति गर्न सक्छु । अनि हजुर यो सांसारिक झन्झटबाट मुक्त भएर खुशी र शान्त हुनुहुन्छ भन्ने कुरामा पनि दुई मत छैन । कार्ल जङको सिद्धान्तलाई पछ्याउँदा हजुर त्यसरी ध्यानमग्न भएर पढ्नुलाई मैले हजुरलाई ‘मैले लेखेका यिनै चिठीहरू पढ्नुभएको हो’ भन्ने ठानेकी छु । यसरी नै हजुरले प्रेमपूर्वक मलाई सुप खुवाइदिनु चाहिं हजुर अझै पनि मलाई आशिर्वाद दिँदै हुनुहुन्छ भन्ने हो । के मेरो सपनाको सही अर्थ लगाउन सकें, मुवाँ मैले ?



यो त भयो सपनाको कुरा । अब एक छिन वास्तविक जीवनको कुरा गरौं है त, मुवाँ ? मैले हजुरलाई प्रश्नहरू सोध्ने क्रममा, ‘मेरो जन्मको उद्देश्य आखिर के हो त ?’ भनेर सोधेकी थिएँ । हजुरले, ‘तँलाई जीवनमा सबभन्दा गर्न मन लागेको कुरा के छ ?’ भनेर प्रतिप्रश्न गर्नुभएको थियो । तब धेरै बेर सोचेपछि मेरो मनमा आएको थियो, ‘म सधैं मेरी आमाको कथा हाम्रो घरपरिवारबाट निस्किएर समाजमा जाओस्, समाजबाट देशभरि जाओस्, र हुन सक्छ भने देशबाट पनि निस्किएर विदेशसम्म जाओस्’ भन्ने चाहन्थें । त्यतिबेला मेरो चेतना झल्याँस्स खुलेको थियो, ‘ओहो ! भगवानले  त मलाई मुवाँको कथा लेख्न पो यो धर्तीमा पठाएका रहेछन् ।’ हो, त्यो क्षणमा मैले हजुरलाई लेखेका यी चिठीहरूलाई पुस्तकाकारमा निकाल्ने निर्णय गरें । त्यतिन्जेल भने यिनले हजुर र म बीचमा एक सशक्त सम्पर्क माध्यमको काम गरेका थिए— मेरो पीडा कम गर्न ।

मुवाँ, हजुरले शायद कहिल्यै सोच्नुभएको थिएन होला, हजुरको जीवन कतिसम्म उपलब्धिमूलक थियो भन्ने, होगि  ? मलाई सधैं लाग्छ— हजुर एक साधारण घरपरिवारकी असाधारण नारी हुनु हो । हजुरले एउटा युगको प्रतिनिधित्व गर्नुहुन्छ । म भन्दिनँ, ‘हजुरको जमानामा हजुर जस्ता नारी नेपालमै थिएनन्,’ भनेर । थिए होला, थुप्रै थिए होला । तर म के चाहिं ठोकेर भन्न सक्छु भने हाम्रो जस्तो मध्यमवर्गीय सामाजिक–आर्थिक अवस्था भएको घरपरिवारमा, अझ भनौं धनकुटा जस्तो पहाडी ठाउँको परिप्रेक्ष्यमा त्यतिबेला हजुर बाहेक त्यति साहसिक, उत्साही, संघर्षशील र शिक्षा क्षेत्रमा मरिमेटेर लाग्ने महिला व्यक्तित्व अर्को थिएन ।

आजको समाज अत्याधिक प्रचारमुखी छ । कसैले एउटा कविता लेख्यो कि उसको नाम ‘साहित्यकार’, कहीं यसो शिक्षाको कुरा गर्यो  कि ‘शिक्षाविद्’, कसैलाई (देखाउन नै किन नहोस्) सहयोग गर्यो  कि ‘समाजसेवी’ भनेर बिराला–टाउके अक्षरमा छापामा आइहाल्छ । तर हजुरले प्रचार प्रसारको चमकदमकपूर्ण दुनियाँदेखि टाढा रहेर जीवनभर यी क्षेत्रमा आफ्नो तहबाट जति सक्दो योगदान पुर्याउनु भएको छ । मेलबर्नको स्थानीय दैनिक पत्रिका ‘लीडर’ मा सधैं एउटा विज्ञापन हुन्छ— ‘मेक अ डिफरेन्स एभ्रीडे एण्ड वर्क लोकल्ली ।’ यो वाक्यले मलाई हजुरको सम्झना दिलाउँछ । हजुरले सधैंभरि यसै गर्नुभएको होइन र ? हजुर एक जना एभ्रीडे हिरो हो, मुवाँ । सबै मान्छेलाई संसारमा परिवर्तन ल्याउन मन लाग्छ तर आफू  भने बदलिन मन लाग्दैन । यसको विपरीत हजुरले चाहे शिक्षाको क्षेत्रमा होस् वा समाजसेवाको क्षेत्रमा होस् आफैं  अघि सरेर र काम गरेर देखाइदिनुभएको छ । परिवर्तनको शुरूआत एक व्यक्तिबाट हुन्छ । माइकल ज्याक्सनले ‘आइ एम स्टार्टिङ विथ द म्यान इन द मिरर । आइ एम आस्किङ हिम टु चेन्ज हिज वे…’ भनेर गीत गाएजस्तै । दलाई लामा, मदर टेरेसा र दीपक चोपडा जस्ता व्यक्तिहरूले पनि यदि हामी संसार बदल्न चाहन्छौं भने, यो कार्यको शुरूआत आफूलाई बदल्न थालेपछि मात्र हुन्छ भन्ने कुराको जोडदार समर्थन गरेका छन् ।


धनकुटालाई हजुरको बारेमा राम्ररी थाहा छ, मुवाँ । अहिले आएर अरूले पनि हजुरमा चासो लिन थालेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको हजुरको अन्तर्वार्ता यसको उदाहरण हो । म अझै सम्झिन्छु, जतिबेला झमक कुमारी भनेको को हो कसैलाई थाहा थिएन, हजुर र बुवा झमक कुमारी घिमिरेलाई भेट्न जानुहुन्थ्यो । उनको शारीरिक कमजोरी र मानसिक तीक्ष्णताका कुरा हामीलाई सुनाउनुहुन्थ्यो । त्यो सानी केटीभित्रको प्रतिभालाई हजुरले देख्नुभएको थियो । त्यसैले त हजुर उनलाई पढ्न प्रोत्साहित गर्नुहुन्थ्यो । मलाई विश्वास छ— ती मदन पुरस्कार विजेता झमक कुमारी घिमिरेले आज पनि ‘गुरुआमा’ लाई आफ्नी एक प्रेरणास्रोत मान्दिहुन् । हामीले इतिहासमा एक जना व्यक्ति, पृथ्वीनारायण शाहलाई शिक्षा दिने बूढीआमालाई त ‘गुरुआमा नेपालकी’ भनेर पढ्नुपर्छ । यसको तुलनामा हजुरले अनगिन्ती केटाकेटीको मनमा शिक्षाको ज्योति बालिदिनुभएको छ । उनीहरूलाई सत्कर्ममा लाग्ने प्रेरणा दिनुभएको छ । कमसेकम ‘गुरुआमा नेपालकी’ नभए पनि ‘गुरुआमा धनकुटाकी’ भनेर त मान्छेले हजुरलाई चिन्नुपर्छ । मुवाँ, हजुरको कथा धनकुटाकी एउटी सामान्य महिलाको जस्तो घरपरिवारमै सीमित हुने र कालान्तरमा बिर्सिइने खालको होइन । हरेक नेपाली महिलाले हजुरको सक्रिय जीवनबाट केही न केही सिक्न सक्छन् । मान्छेमा साँचो लगन भयो भने उमेरले अथवा रोगले केही गर्न पनि छेक्दैन भन्ने कुरा बुझ्न सक्छन् । त्यसैले हजुरको कथा नेपालीको घर घरमा पुग्न सक्नुपर्छ ।

म त भन्छु— 
आफूलाई नारीवादी भन्ने र ‘छोरीलाई पनि आमाबाबुको सम्पत्तिमाथि छोराको जत्तिकै अधिकार हुनुपर्छ’ भनेर हुंकार गर्ने व्यक्तिहरूले त हजुरको कथा झनै पढेर मनन् गर्न सक्नुपर्छ । एउटी छोरीलाई बाबुआमाको सम्पत्तिको झूटो लोभ देखाउनु भन्दा उसलाई शिक्षित बनाएर स्वावलम्बी हुन सिकायो भने परिवार, समाज अथवा राष्ट्र नै कतिसम्म लाभान्वित हुन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ हजुर । जब मान्छे आफैं  सम्पत्ति कमाउन सक्षम हुन्छ, उसलाई बाबुआमाको सम्पत्तिमा कुदृष्टि लगाउनुपर्ने जरूरत पर्दैन नि, होइन मुवाँ ? विदेशीहरू, जो नेपालका नारीलाई सामान्यीकरण गरेर ‘अशिक्षित र पिछडिएका’ का रूपमा चित्रण गर्छन्, उनीहरूले पनि हजुर जस्ता स्वनिर्मित र सशक्त नारी पनि नेपालमै छन् भन्ने बुझ्न जरूरी छ ।

मलाई लाग्छ, म नेपालमै भएकी भए हजुरलाई दुई चार पटक भेट्न त सक्थें । अन्तिम समयमा पनि हजुरको दर्शन पाउँथें होला । तर मसँग हजुरको कथा लेख्न चाहिं पर्याप्त ज्ञान नहुन सक्थ्यो । मेरो कलम नतिखारिन सक्थ्यो । म डगमगाउन सक्थें । हजुरलाई गुमाउनुको पीडामा रुमल्लिएर 
आफूलाई हराउन सक्थें । अनि सबैभन्दा अहम् कुरा, मलाई आफ्नो जन्मको उद्देश्य पनि थाहा नहुन सक्थ्यो र शायद म जीवनपर्यन्त यसकै खोजीमा भौंतारिइरहन सक्थें । अर्कातिर, यसरी सम्पूर्ण आफन्त र आफ्नो देशबाट टाढा हुनुपरेर मैले एक्लै शोक–चिन्तन गर्ने मौका पाएँ र आफ्नो पीडाको चरम बिन्दुसम्म पुग्न सकें । यसले मलाई सहज स्थितिमा पुग्न ठूलो सहायता गर्नेछ भन्ने मलाई विश्वास छ । मनभित्रै कतै यो पीडा रहिरह्यो भने फेरि फेरि यो बल्झिरहन सक्छ नि, होइन त मुवाँ ? अनि यस्तो हुनु राम्रो होइन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 27 August, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




Monday 23 August 2021

ती अ / प्रिय खतहरु

 


खतहरु कहिल्यै सुन्दर हुन सक्छन् र ?” मैले उनको सुन्दर गार्डेनमा बसेर चिया खाँदै मेरीलाई सोधें । वरिपरि फुलहरुले घेरिएको अंगुरको झाङमुनि राखिएको टेबलमा हामी दुई र मेरीका दुई बूढाबूढी थियौं । मेरी आफ्नो लोग्ने डेभिडको घुँडामा भएको पुरानो र गहिरो खत देखाउँदै बोल्दै थिई 

यी खतहरु निको भएका शरीर र मनका प्रमाण हुन् । यी खतहरु हाम्रा दुःखका स्मारक पनि हुन् । यिनलाई हेरेर हामी बितेको समयप्रति कृतज्ञ हुन सक्छौं । शरीरलाई बिरुप पारे पनि यी खतहरु आफैंमा सुन्दर हुन्छन् ,” उनले दार्शनिक कुरा पो गरिन् । मेरो मन कहाँ मान्थ्यो र ? खतहरु त खत नै हुन्, ती कसरी सुन्दर हुन सक्छन् भन्ने मलाई लाग्यो । म त्यस कुरामा सहमत नभएको भाव बुझेर हुन सक्छ, उनले फेरि कुरा थपिन् , “हो नि, यो खत अरुका आँखामा झट्ट हेर्दा कुरुप लागे पनि डेभिड र मेरो जीवनमा यसले ठूलो महत्व राख्छ । उनी दश वर्ष अगाडि ठूलो रेल दुर्घटनामा परे र जोगिए । त्यसबेला धेरै मान्छे मरे । उनको घुँडामा नराम्रो चोट लाग्यो । एउटा खुट्टै बिग्रियो । हिड्दा बैशाखीको सहारा चाहिन्छ । यो निको हुन दुई बर्ष लाग्यो । एक बर्ष त पूरै उनले अस्पताल बस्नुपर्यो । यो खत त पुनर्जीवनको निशानी हो । यो खतले बोकेको कथा, हामीले भोगेको मनोदशा हाम्रो लागि प्यारो भए पनि अरुका लागि महत्वहीन हुनसक्छ । अब तिमीलाई कस्तो लाग्छ, यी हामीले बोकेका खतहरु सुन्दर छैनन् त ?”
खेदिएकाहरुका खत
मरियम बज्यै बयानब्बे बर्षकी छन् । उनी आफ्ना काम आफैं गर्न मन पराउँछिन् । थोरै अंग्रजी भाषा र धेरै हावभावको सहाराले उनी बोल्छिन् । त्यस बूढेसकालमा समेत उनी भाषा सिक्नका लागि फारसी–अंग्रेजी सहायक पुस्तक पढिरहेकी हुन्छिन् । पैतिस वर्षअघि उनीहरु कसरी भाग्दैभाग्दै अष्ट्रेलिया आइपुगे भन्ने उनको कथा लामो छ । बहाई धर्म इरानमा निषेधित भएका समयमा उनी जेल परिन् । शासकहरुले उनका लोग्नेलाई विधर्मी भएको आरोपमा मारि नै दिएछन् । जेलबाट छुटेपछि लालाबाला लिएर छिमेकी मुलुकमा शरण लिएर सात वर्ष कटाएपछि अन्त्यमा अष्ट्रेलिया आइपुगेर मात्र मरियमले ढुक्कको सास फेर्न सकिछन् । जस्तै पीडा खपे पनि आफ्नो जन्मभूमिको कुरा गर्न उनी मन पराउँछिन् 
यसले मेरो देश र माटो सम्झाउँछ,” एउटा अत्यन्त सुन्दर चाँदीको बट्टामा अलिकति बिगुतजस्तो पदार्थ देखाउँदै उनले थपिन्, “ यो मेरो देश हो । यो मेरो माटो हो ।” आफ्नो देश छोड्दा उनले अलिकति माटो बोक्न भ्याइछन् । त्यो उनका पिता पुर्खाले आर्जेको माटोमा अनन्त कथा श्रृंखला जोडिएका हुँदा हुन् । मरियमका कुराले मलाई झन्डै भक्कानो छुटाएको थियो । मरियम आफैं यी सबै कुरा व्यक्त गर्न असमर्थ भए पनि उनका छोरा ब्रुसले दोभाषेको काम गरिदिन्थे । केहि समय अघि मात्र ब्रुसको लामो इमेल प्राप्त भयो, “आमा बित्नुभो । उहाँका खतहरु सबै दफनाइए ।”
हो नि, मरियम पनि भन्थिन्, “मैंले मेरो देशमा पाएको दुःख म बिर्सिन्न । ती खत बनेर मेरा मन मुटुमा बसेका छन् । देश सबैका लागि सधैं प्रिय हुन्छ । शासकहरु आफूलाई अमर ठान्छन् । असल शासक नपाउनु हाम्रो दुर्भाग्य हो ।” मरियमका कुरा सत्य हुन् । असल शासकको खोजी र असल शासन विधिको खोजीमै हाम्रा पूर्खाहरु बिते । अहिलेका समयको कथा पनि हाम्रा लागि त्यति फरक छैन 
मरियमसँग कुरा गरेपछि मलाई लाग्यो, यी खतहरु प्यारा हुने रहेछन् । यस्तै खतहरुका कथा मेरी एक विद्यार्थी साजी डाबीसँग पनि जोडिएका थिए । अल्पसंख्यक जातिमाथिको उत्पीडन खप्न नसकेर बर्माबाट ज्यान जोगाउँदै शरणार्थी बनेर अष्ट्रेलिया पुगेका साजी र उसका परिवारलाई बोलिचालीको अंग्रेजी भाषा सिकाउन स्वयम्सेवकका रुपमा म उनीहरुकै घरमा जान्थें । साजी र उसको लोग्ने यस र नो मात्र भन्थे । म जाँदा लोग्नेचाहिं लुङ्गी कसेर एकाकुनामा पल्टिरहेको हुन्थ्यो । साजी भनें म पुग्नासाथ किचेनमा छिरेर अति गुलियो चिया लिएर हाजीर हुन्थी । तेश्रो दिनमा मैले बल्ल बुझाउन सकें म चिया खान्न भनेर । साजीका एकजना आफन्तले सात दिनपछि बल्ल बुझाइदिए – लोग्ने चाहिंको ढाडमा दमनकारीले बन्दूकका कुन्दाले हानेका चोटका कारण ऊ लडिरहँदो रहेछ । अनि साजी फेरि गर्भवती भएकाले उनीहरु पढाइ स्थगित गर्न चाहँदा रहेछन् । त्यति कुरा बुझाउँन उनीहरुले छिमेकी गुहारेका रहेछन् । ती बर्मेली परिवारका खत मरियम र डेभिडका जस्ता पुराना थिएनन् । उनीहरुका चोट आलै थिए, खाटा बसिसकेका थिएनन् 
आला अफगानी खतहरु
एउटा मल्टिकल्चरल देश भएका कारणले अष्ट्रेलियाले यस्ता धेरै खतहरुमा मल्हम लगाइदिएको छ । हाम्रै नेपाली मूलका भुटानी दाजुभाइहरु समेत त्यहाँ पुनर्स्थापित भएका छन् । आफू बसेको ठाउँ नजिकै कर्नरमा सानो खाजा घर खोलेर बसेका अफगानी मूलका रहमान भाइलाइ सम्झन्छु म । अग्लो शरीर भएको, एउटा लामो घुर्मैलो रंगको कुर्ता लगाउने रहमान ठोसाइ पकाइरहेको हुन्थ्यो । उसकी जहान श्रीलंकन मूलकी ऊजस्तै शरणार्थी परिवारकी थिई । रहमान कसरी नाउ चढेर त्यहाँ शरण लिन आइपुग्यो भन्ने कथा कहालिलाग्दो छ । तर उसका खतमा मल्हम लगाउन बबिथा फेला परी । अहिले त ससाना छोराछोरीहरु पनि छन् रहमानका खत सुम्सुम्याइदिन 



यिनै खतहरुका कुराले मलाई अहिले ती नीरिह अफगानीहरुको सम्झना गरायो । आफ्ना मन र शरीरमा बर्षौदेखि अशान्तिको त्रास बोकेर बाँचेका ती नागरिकहरु कसरी रात काट्दा हुन्, कसरी दिन बिताउँदा हुन् ? मृत्यु, विस्थापन र संभावित आतंकका भय यिनीहरुका मनभरी होलान् । यिनीहरुका पुराना घाउमा खाटा बसिनसक्दै फेरि घाइते बनेका छन् । हामी टाढाबाट अफगानिस्तानमा शान्ति कायम होस् , मानिसहरु घरमा पस्न र सुत्न सकुन् भन्ने कामना गर्न मात्र सक्छौं । खालेद होसेनीको द काइट रनर र अ थाउजेन्ड स्पेन्डिड् सनले देखाइदिएको एक झल्को अफगानिस्तान सम्झेर ती बालकहरु कहिले खुशीले बुर्कुसि मार्दै विद्यालय जालान् र महिलाहरु मन खोलेर मुस्कुराउन सक्लान् भन्ने ठान्छु । अफगानिस्तानका चोटहरु छिटै निको हुन् भन्ने हाम्रो कामना छ 

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 20 August, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]


 



Friday 13 August 2021

तारा, हामी सबै छापामार

   




    मान्छेका सुखका कथा त छिनमै सकिइजान्छन्  । बाँकी पीडा, आक्रोश, अभाव, असन्तुष्टिले यो मगजमा अड्डा जमाइराखेका हुन्छ
न्। छापिएको एघार वर्षपछि तारा राईको छापामार युवतीको डायरी पढ्ने समय आयो । उनका पीडालाई धेरैले बाँडेछन् यो एघार वर्षको समयावधिमा । बाह्रवटा त संस्करण आइसकेछन् । यस किताबप्रतिको मोहले के हामी पीडा नै मन पराउँछौं भन्ने बुझाउँछ ? कि पीडाहरु पढेर आफूलाई त्यसैमा समाहित गर्न खोजेका हौं ? शायद हामीभित्रका संवेदनाहरु र रचनाकारका संवेदनाहरु मिल्दाजुल्दा भएका होलान् ।

ताराका काँचा सपना
    ६ कक्षामा पढ्दा पढ्दै कच्चा उमेरमै ताराले युद्ध रोजिन् । उनको बाल बुझाइमा यो अन्याय र अत्याचार विरुद्धमा गरिएको स्वतन्त्रताको लडाईं थियो । उनमा त्यसबेला यो युद्धलाई पुरै बुझ्ने परिपक्वता भने थिएन । ग्रामीण अभाव, गरिबी र बाबुआमासँग नहुनुको मनोदशाले पनि उनको किशोर हृदयलाई भड्काएको हुँदो हो । उनले मुक्ति मार्गको पाठ पढिन् र त्यसै अनुरुप आफूलाई ढाल्न खोजिन् । आफ्नो समाजमा भएका विविधतालाई वर्गको हिसाबले बिभाजन गर्न सिकिन् । वर्गीय मुक्तिको लालसामा आफ्नो प्राण आहुतिको चिनाइ र भोगाइ फरक भएको देखाउँछ उनको अनुभवले । पुलिस, प्रशासन र सेनालाई उनले फरक पाएको र उनलाई पढाइए जस्तो अति क्रुर हुन्छन् भन्ने कुरालाई उनी आफैंले नकारेकी छन् यस पुस्तकमा । आफूलाई अत्यन्त कठोर बनाउने प्रयास गर्दागर्दै पनि दशैं, तिहार सम्झेर भक्कानिएकी छन् । आमाको सम्झना र मायाले किशोरी ताराले किताब लच्याप्रै भिजाएकी छन् ।
    

    युद्धमोर्चामा छिरेको तीन महिनामै उनी पक्राउ परेपछि सेनाको ब्यारेक, इलाम जेल, भद्रपुर जेल अनि विराटनगर जेलका अवस्था र उनको भोगाइलाई इमान्दारिताका साथ उनले वर्णन गरेकी छन् । अतिरञ्जना नदेखिने किशोर वयकी ताराको लेखाई निश्छल छ । लेखाइमा आफ्नो स्वभाव झल्किन्छ भन्ने कुराको प्रमाण पनि यो पुस्तक हो जस्तो लाग्यो मलाई । शायद ताराको बोली र व्यवहार पनि मधुर हुँदो हो र त ब्यारेकदेखि जेलसम्मनै सबैकी प्रिय बनिन् । उनले पाएको यातना पक्कै पनि उनका कमरेडहरुले भोगेको तुलनामा नगण्य नै होला । एक कोमल मनले हेर्दा सेना र पुलिसको विवशतालाई पनि उनले आफ्नो लेखनीमा अटाएकी छन् ।

    हाम्री सासूआमाको काममा दमक घरमा आएकिजस्तो लाग्छ तारा, एउटा सानो बालकको साथमा । उमेर गणना गरेर हेर्दा अहिले उनी ३१ वर्ष जतिकी हुँदि हुन् । पक्कै पनि उनी इलाममै होलिन् र पुस्तकमा उल्लेखित अमर पनि साथै होलान् । सानैदेखिकी मुटुकी रोगी उनी कस्ती भइन् ? तारा पक्कै पनि पार्टिगत राजनीतिमा सक्रिय छैनन्  होला किनभने उनले पार्टिगत राजनीतिप्रति पुस्तकमा वितृष्णा जनाएकी छन् ।

तारा, तिमी पढ्नू
    एउटी सम्पूर्ण रुपमा सांसारिक चेत पसिनसकेकी, सानो काया भएकी तारालाई पक्राउ परिसकेपछि जसजसले पढ्नू, अघि बढ्नू भन्ने सल्लाह दिएका छन्, ती सबैको आग्रहलाई स्वीकार्दै ताराले फेरि औपचारिक अध्ययनलाई अघि बढाइन् कि बढाइनन् तर उनले भनें सबैलाई पढाइन् । उनले गरिबी र अभावले मान्छेलाई कसरी सही निर्णय लिनबाट बञ्चित गराउँछ भन्ने कुरा अनुभवबाट सिकिन् र सोहि कुरा उनको पुस्तकमार्फत अरुलाई पढाइन् । उनी अदम्य आँट, शाहस र आत्मविश्वासले भरिपूर्ण छन् । आफ्नो लेखनीलाई ठूलो प्रयत्नले पुस्तक रुप दिन सकेको कुरा पनि उल्लेख गरेकिछन् उनले । उनको निश्छल लेखाइले जनयुद्दको एकपाटो झल्काउला तर युद्दका डरलाग्दा पाटा र विभिषिका भने यस पुस्तकमा छैनन् । लेखकले देखेको र भोगेको सानो पाटोमात्र पुस्तकले चित्रण गरेको छ । ताराले मलाई उनको डायरी पढाइन् र यसका माध्यमबाट मैले तारालाई पढ्न पाएँ । तारा एक प्रतिनिधि पात्र मात्र हुन् जनयुद्दकालकी । कति ताराहरु त नामेट पनि भए होलान् । कति ताराहरु लाचार भएर आफ्नो तेज गुमाएर बसेका होलान् । तर आफ्नो लेखनीका कारण यी तारा ‘अनमोल’ तारा बनेकी छन् ।
    तारा, तिमी उन्नति, सुशान्ति, राजनीतिक स्थिरता र विभेदरहित समतामूलक समाजको उद्देश्य लिएर मार्ने र मर्ने कसम खाएर युद्धाग्नीमा होमियौ । तर त्यो बलिदानको अभिष्ट यही सत्ता प्राप्ति मात्र थियो त ? शान्तिपूर्ण अवतरणपछि, अझ सहज अवस्थामा जो जसले जे जे सपनाहरु बाँडेर ताराहरुलाई हतियार बनाएर प्रयोग गरेका थिए, ती अगुवाहरु कता के मा अल्झिए ? हाम्रो समतामूलक समाज निर्माण गर्ने सपना तिरोहित भएको हो त ?

हामी सबै छापामार
    तिम्रो छापामार कथा पढ्दा मैले आफूलाई पनि एक निहत्था छापामार पाएँ, तारा । म आफूमात्र होइन, हामी सबै छापामार नै हौं । हामी हाम्रा सपनाहरु बोकेर निरन्तर आफ्नो स्वतन्त्रता, समृद्धि र स्वउन्नतिको लडाईंमा छौं । त्यो तिम्रो पुस्तकमा उल्लेखित भौतिक लडाईं थियो, यो मैले भन्न खोजेको आत्मिक लडाईं हो । यो कुराले मलाई एन्तोन चेखबको बाजी कथाको याद आउँछ । कथामा एउटा जवान वकिल र बैंकर बीचमा जीवनभर जेल बस्नु राम्रो कि मृत्युदण्ड राम्रो भन्ने विषयमा विवाद हुन्छ । बैंकर मृत्युदण्डका पक्षमा हुन्छ तर वकिलले भनें जेल नै ठीक भन्छ । यस कुरामा बाजी पर्छ । वकिल पन्ध्र बर्षसम्म बाहिरी दुनियाँको सम्पर्कमा नआई जेलमा बस्नुपर्ने र अन्तमा दुई लाख रुबल पाउने शर्तबन्दि हुन्छ । पन्ध्र वर्ष पुग्न लाग्दा यता बैंकर व्यापार बिग्रेर टाट पल्टिन लागेको हुन्छ । उसका मनमा कुबुद्दि पलाउँछ र वकिललाई मार्न जान्छ । वकिल भनें त्यस बीचमा पढ्दा पढ्दा यो रुपियाँ पैसा केहि होइन रहेछ भन्नेमा

पुग्छ र मिति पुग्नु अगावै जेलबाट भाग्छ ।

    हाम्रा मनमा पनि ती वकिल र बैंकरको मनमा जस्तै भयानक युद्द चलिरहन्छ । यहाँ शान्ति सम्झौता पनि हुन्छ । यो मनका युद्दमा हजारौं सपनाहरु शहीद हुन्छन् । बाहिरी युद्द कसैको आदेश र उक्साहटमा चल्छ तर यो आन्तरिक युद्धको निर्देशक पनि आफैं र लडाकु पनि आफैं हो । यस आन्तरिक लडाईंको उचित व्यवस्थापन गर्न नसके यसले पनि संसार ध्वस्त पार्छ । यहाँ संसार भन्नाले स्व अर्थात् आफू भन्ने बुझ्नुपर्छ, तारा । किनभने हाम्रो संसार हाम्रो आँखाले देखेभरि र चेतनाले छामेजति मात्र हो । यसरी हामी सबैले आ–आफ्ना टाउकामा आफ्ना आफ्ना संसारको भारी बोकेरै हिड्छौं र आफू नासिंदा आफ्नो संसारलाई पनि नामेट पारेर जान्छौं । तिम्रो मनको संसार तिमी नै बोक्छ्यौ, मेरो मैं बोक्छु । हामी आफ्नै मनदेखि तर्किन्छौं, उतर्सिन्छौं, मनसँगै हाँस्छौं, नाच्छौं, खुशी र उल्लास पनि मनाउँछौं । त्यो तिमीले युद्दभूमिमा गरेका कुरा यो मनमा पनि हुनेगर्छ । तिमीले भोगेको भौतिक जेल र जेलभित्र हुनुको आभाष पनि मैले मनैभित्र महशुस गरेकी छु । अनेकौं विचार र आकांक्षाहरुभित्र अहिले पनि तिमी जेलिएकै हौली । तिमी पक्कै पनि वादका, विचारका बिकारबाट म जस्तै जेलिएकी हौली । यही आफूले सिर्जना गरेको विवेकभरिको संसारमा आफैंले निर्माण गरेको वैचारिक जेलमा हामी मुुस्कुराएको जस्तो मात्र गर्छाैं तारा । तिमी जेलबाट छुट्दाको क्षणीक उल्लास भन्दा फरक वैचारिक जेल तोडेर आफूलाई निर्विचार बनाउन सके हामीलाई सच्चितानन्द प्राप्त हुँदो हो ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 13 August, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




Friday 6 August 2021

मन टाढा भाग्छ

 

 


दुःखमे सुमिरण सब करे
सुखमे करे कोय
जो सुख मे सुमिरण करे
दुःख काहेको होय
जब जब दुःख पर्छ तब मात्र परमात्माको सम्झना हुन्छ सुखको समयमा पनि परमात्मालाई स्मरण गर्ने हो भनें दुःख नै रहँदैन, सन्त कबीर भन्छन् यस दोहामा ईश्वर पुकारा गर्ने कुरा गरिए पनि यसलाई हामी सहज जीवनयापन गर्नका लागि पूर्वशर्त भनेर मान्न सक्छौं हामी सामान्यतयाः घामै घाम, उज्यालै उज्यालो सफलताको कामना मात्र गर्छौं आफ्ना लागि आफूले चाहेका निकटतम् मानिसका लागि शान्ति, प्रगति उत्तरोत्तर उन्नति चाहन्छौं तर सधैं त्यस्तो हुँदैन त्यस्तो सधैं पुग्दैन हामी सबै पटकपटक पछारिन्छौं धेरै पटक धूलो टक्टक्याएर उठ्छौं, अनि कतिपय समयमा निकै मुर्छित पनि हुन्छौं यो कुरा सबैलाई थाहा जीवनमार्ग सरर चल्ने रेलको लीक जस्तो हुँदैन तैपनि अलिकति उकालो, भिरालो, ढुङ्ग्यान वा पहरो देख्नासाथ जीवनपथबाट बिमुख हुन खोज्छौं यस्तो किन हुन्छ भन्ने बिषयमा जानकारहरु भन्छन् हामी असहजतालाई स्वीकार्दैनौं


असफलता स्वीकार
    हाम्रा सफलता हामीसँग छँदैछन् तर असफलता पराजय पनि आफ्ना भागमा पर्न सक्छन्  यी पराजयहरुलाई सहज रुपमा स्वीकार्न सिक्दा जीवन आफूले सोचेभन्दा सहज हुन्छ  पराजय स्वीकार गर्न नसक्ता उत्पन्न हुने भावाबेगले मानिसभित्र एक प्रकारको ग्लानी उत्पन्न हुन्छ सोहि ग्लानीभाव क्रोधमा परिणत हुन्छ  क्रोधित भएको बेला कसरि हाम्रो मन टाढा भाग्छ भन्ने सानो प्रसंग यहाँ प्रस्तुत  
    कुनै समयमा एक नयाँ चेलाले गुरुलाई सोधेछ, किन मानिसहरु रिसाएका बेला नजिक नजिक उभिँदा पनि साह्रो साह्रो चिच्याएर बोल्छन् ? अनि गुरुले उत्तर दिए, आक्रोशमा मानिसले विवेक गुमाउँछ  जति रिसायो हाम्रो मन तर्सेर उति टाढा भाग्छ  मन टाढा भएपछि नचिच्याई सुन्दै सुनिंदैन  कुनै कुनै बेला मन यति टाढा पुग्छ कि कहिल्यै फर्काएर ल्याउन सकिँदैन  मन नजिक भएका बेला मान्छे सुस्तरि नरम भाकामा बोल्छ  अझ मन नजिक भएका बेला आँखाको भाका इशारा नै पर्याप्त हुन्छ 


वैचारिक मतभेद



    दैनिक जीवनमा हाम्रा विचारसँग अरुका विचार नमिल्नु स्वभाविक हो  विचारमा व्यवहारमा हार्न सक्नु पनि जित्नु नै हो  क्षणीक रुपमा विवादमा हारेजस्तो देखिए पनि अन्ततोगत्वा जीत आफ्नै हुन्छ  त्यसैले आफ्ना कर्म, विचार वाणीहरुलाई अरुका नकारात्मक विचार व्यवहारका प्रभावमा पर्न नदिने हो भनें जीत आफ्नै हुन्छ  त्यसैले अर्को पक्षको अँध्यारोलाई आफ्नो मनको उज्यालोमा ग्रहण लगाउन दिनुहुँदैन  यस प्रसंगमा मिल्दो एउटा कथा   कथामा एउटा साधुले खोला तर्ने क्रममा एउटा बिच्छी पानीबाट निस्कने असफल प्रयास गरिरहेको देख्छ  त्यस जीवलाई टपक्क टिपेर किनारामा राख्न खोज्दा बिच्छीले साधुलाई डस्छ  डसाइको पीडामा हात झट्कारिदा त्यो बिच्छी पुनः पानीमा पर्छ  साधुले दोश्रो प्रयासमा त्यस बिच्छीलाई बाहिर किनारामा राखिदिन्छ  त्यो दृष्य हेरिरहेको एकजनाले साधुलाई सोध्छ, त्यो बिच्छीले टोक्छ भन्ने जान्दाजान्दै तपाईंले हत्ते गरेर किन बाहिर निकाल्नु परेको थ्यो? हेर्नोस् तपाईलाई दुई पटक डस्यो  साधुले शान्त भएरै जवाफ दिए, यो बिच्छीको स्वभाव नै यस्तै हो  यसले अर्थोक गर्नै जान्दैन  तर हामी मानव हौं  आफ्नो स्वभाव अर्काको स्वभाव बीचको विभेद थाहा पाउन सक्छौं  हामी पशुप्राणीमा त्यहि अन्तर   यति सानो सत्कर्म गर्नबाट हामी चुक्नु हुँदैन 
    यो किस्सालाई हाम्रो जीवनमा प्रत्येक दिन आइपर्ने समस्याहरुसँग जोडेर हेर्न सकिन्छ  हामी आफ्ना स्वभावमा बाँचेका हुन्छौं  यदि अरुलाई पनि आफूजस्तै हुनुपर्छ भन्ने हो भनें समस्या उत्पन्न हुन्छ  साधुले जानीबुिझकन बिच्छीको स्वभावलाई स्वीकारे झैं अरुका विविध स्वभावलाई स्वीकार्न सके समस्या नै हुँदैन 


क्रोधले गर्ने क्षती
    क्रोधले गर्ने क्षती अपुरणीय हुन्छ  यसले आफूलाई कतिसम्म हानी गर्छ भन्ने कुरा क्रोधित व्यक्तिले ख्याल गरेको हुँदैन  एकपटक गौतम बुद्द आफ्ना चेलाचेलीहरुसँग हिड्दै गर्दा मध्यदिनमा एउटा गाउँमा पुगेछन्  टन्टलापुर घाम लागेको हुँदा उनीहरु थाकेर एउटा ठूलो रुखको छहारीमा बसे  बुद्द आएको सुनेर टाढा टाढादेखि मानिसहरु त्यहाँ आउन थाले  बिस्तारै भीड बढ्दै गयो  एउटा युवक त्यो बढ्दो भीडलाई हेरिरहेको रहेछ  उसलाई के लागेछ भनें यी कहाँका जोगी भेषधारी ठगहरु आएर मिठामिठा कुरा गरेर गाउँका सोझासाझा मानिसहरुलाई ठग्छन्  त्यस युवकलाई निकै झ्वाँक चलेपछि अघि सरेर भीडले सुन्नेगरि चिच्याएर भनेछ, तिमेरु ठगहरु यहाँबाट गइहाल  सोझासाझा मान्छेहरुलाई जाली कुरा गरेर ठग्न आएका हैन तिमीहरु यहाँ ?


कराएको सुनेर बुद्दले युवकलाई आफू नजिक बोलाएछन् भनेछन्, नकराऊ  तिम्रो चित्त नभड्काऊ  यसरि चिच्यायौ भनें तिम्रो चित्त तिम्रा बसमा रहदैन फेरि  यो टाढा भागिजान्छ  अनि छेउमा बसाएर त्यस युवकलाई बुद्दले भनेछन्, मानौं तिमीले तिम्रो सबैभन्दा प्रिय व्यक्तिलाई एउटा उपहार किनिदिएछौ  तर त्यस व्यक्तिले त्यो उपहार लिन मान्दै मानेनछ  अब त्यो उपहार कस्को हुन्छ ?
    त्यो प्रश्न सुनेर युवकले भनेछ, अर्को मानिसले लिनै मानेन भनें, मैले किनेको उपहार मैंसँग रहन्छ नि 
    हो कुराको चुरो यहि नै हो, बुद्दले भने, तिमीले हामीलाई गाली ¥यौ, सराप्यौ तर तिम्रा गाली सराप हामीले ग्रहण गरेनौ  तिम्रो व्यवहारबाट हामी कत्ति पनि बिचलित भएनौं  अब त्यो उपहार हामीले ग्रहण नगरेपछि तिम्रै भयो 
    त्यति सुनेपछि युवक लाजले भुतुक्क भएछ माफी मागेछ  यसरी हामीले पनि जे बस्तु, व्यवहार परिस्थितिले हामीलाई क्रोध उत्पन्न गराउँछ, त्यसलाई स्वीकार नगर्ने हो भनें क्रोधको उत्पत्ति नै हुँदैन  यसरी हेर्दा के देखिन्छ भने क्रोधको बीज हाम्रो हृदयमा अरु कसैले होइन हामी आफैं छर्दा रहेछौं  जसरी ऐनाले अगाडि जे पर्छ त्यसैको प्रतिबिम्ब देखाउँछ, त्यसैगरि हाम्रो बोली व्यवहार अनुसारको प्रतिफल हामीलाई प्राप्त हुन्छ 


अन्त्यमा
    सन्त कबीरको अर्को दोहाले मानिसलाई आफूले आफैंलाई नियाल्न, बुझ्न सल्लाह दिन्छ 
बुरा जो देखन मै चला
बुरा मिलिया कोय
जो मन देखा आपना
मुझसे बुरा कोय ।।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 6 August, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]