Friday 29 October 2021

म काबुलीवाला

 

, तिमी मलाई सम्झिन्छौ ?’

अँ, अलि गाह्रो भयो...।’ 

तिम्रो नाम याद छ मलाई, तर अनुहार बिर्सें, सरी है साथी ।’

सम्झन्छु ।’

अहिले त्यति सम्झनामा आएन । तर केहि छैन, बोलचाल हुँदै गएपछि सम्झिहालिन्छ नि !’

यस्तै दुई चार महिनाअगाडि सामाजिक संजाल फेसबुकमार्फत आजभन्दा करिब ३५/४० वर्ष अगाडिका स्कूले साथीहरुसँग जोडिएपछि गरिएको संवादको एक अंश हो माथिको । ती साथीमध्ये कतिपयका नाम मेरो स्मृतिमा ताजै थिए, कतिपयका मधुरा, अनि कतिपयका चाहिँ विस्मृतिमा गैसकेका थिए । यसरी वर्षौं अगाडि छुटेका साथीहरुको सम्पर्कमा आउँदा मलाई एकातिर उधुम खुशी लागेको थियो भने अर्कातिर म उनीहरुको बारेमा जान्न उत्सुक पनि थिएँ ।

मैंले मसँग पुनः मित्रताको हात बढाएका साथीहरुको फेसबुक पेज खोलेर हेर्न थालें । सर्वप्रथम त, मेरो मनमस्तिष्कमा उनीहरुको जुन छवि बसेको थियो, त्यो छविसँग उनीहरुका  वर्तमान तस्वीरको मेल हुन सकेन । ती तस्वीरका व्यक्ति मेरा साथी नै थिएनन् । मलाई आश्चर्यमा पार्ने अर्को कुरा, उनीहरुमध्ये धेरैजसो धार्मिक कार्यक्रममा सहभागी भएका देखिए । तस्वीरमा कोही पुराण सुनिरहेका देखिन्थे, कोही भजन गाइरहेका, अनि कोही भने तीर्थस्थलतिर गइरहेका । अझ कतिपयले भने मेरो नाती, मेरी नातिनी भनेर केटाकेटीका हँसिला फोटोसमेत राखेका थिए । 

म विस्फारित नजरले उनीहरुको तस्वीर हेर्दै उनीहरुसँग तालमेल मिलाउन खोजिरहेकी थिएँ । तर अहँ, सकिरहेकी थिइन । कहाँ १३/१४ वर्षका ती निस्फिक्री केटाकेटी ! अनि कहाँ अहिलेका अनेक उत्तरदायित्वले थिचिएका प्रौढ अनुहारहरु ! मलाई त्यतिबेला भारतीय मूलका प्रसिध्द साहित्यकार रविन्द्रनाथ टेगोरको ‘काबुलीवाला’ कथाको सम्झना भयो ।


    यो कथाका मुख्य पात्र काबुलबाट काम गरी खान कलकत्ता आएको मान्छे काबुलीवाला र लेखककी पाँच वर्षिया सानी छोरी मिनी छन् । शुरुमा त मिनी ठूलो धोक्रो बोकेर हिंड्ने काबुलीवालाको छेउमा जान समेत डराउँछे । तर काबुलीवालाले उसलाई काजु – किसमिस दिएर फकाउँछ । दुई चार दिनमै उनीहरु घनिष्ठ मित्र हुन्छन् र घन्टौंसम्म अनेक किसिमका गफ गर्दै, हाँस्दै समय बिताउँछन् । यस्तै रमाइला दिनकै बीचमा कुनै परिबन्धमा परेर काबुलीवाला जेल जान्छ । बिस्तारै बिस्तारै मिनीले उसलाई बिर्सन्छे । उसको जीवनमा अरु नै साथी आउँछन् र त्यो पुरानो साथी काबुलीवालाको सम्झनालाई विस्थापन गर्छन् । धेरै वर्ष बित्छ । एकदिन अचानक त्यो काबुलीवाला जेलबाट छुटेर आफ्नी सानी साथी मिनीलाई खोज्दै मिनीको घरमा आइपुग्छ । त्यो दिन मिनीको विवाहको दिन हुन्छ । पहिलेकैजस्तो उसले मिनीलाई दिन काजु–किसमिस ल्याएको हुन्छ । तर जब  मिनीलाई बेहुलीको रुपमा देख्छ, ऊ निकै झस्किन्छ । मिनी पनि त्यो काबुलीवालालाई चिन्दिन । उनीहरु आफ्नो त्यो पुरानो मित्रतालाई पुनर्जीवित गर्न सक्तैनन् । 

मेरा पुराना साथीलाई देखेर मेरो अवस्था पनि त्यहि काबुलीवालाको जस्तै भयो । उनीहरु साथी त हुन् तर उनीहरुसँगको आत्मियतालाई कसरी पुनर्जीवित गर्ने ? के विषयमा कुरा गर्ने ? यो हराएको ४० वर्षभित्र सबैको जीवनमा के के भयो; त्यो समयको खाडललाई कसरी पुर्ने ? के अहिले पनि हाम्रा रुचि मिल्लान् र ? हामी पहिले जस्तै सहज भएर कुराकानी गर्न सकौंला ? यस्तै यस्तै प्रश्न मेरा मस्तिष्कमा उठ्न थाले ती हराएका स्कूले साथीलाई भेटेपछि ।


परिवर्तन अपरिहार्य

जब एउटा मान्छेको भेट अर्को मान्छेसँग समयको धेरै अन्तरालपछि हुन्छ, मैले उनीहरुलाई प्रायः पुरानो समयमा फर्किएर त्यहि समयमा घटित घटनाहरुको बारेमा कुरा गर्ने गरेको पाएकी छु । शायद यसो गर्नाले वार्तालाप अगाडि बढिरहन सक्छ ! नत्र त के कुरा गर्ने ? वर्तमान समयमा हाइ हेलो गरेपछि सक्किगो ! एक अर्काको बारेमा धेरै जानकारी नभएका कारण यो समयमा कुरा गर्ने विषय नै धेरै हुँदैनन् । अनि अन्दाजमा भविष्यका कुरा गर्नुको पनि कुनै तुक देखिंदैन । शायद भूतकालका कुरा गर्न सजिलो भएरै होला हिजोआज साहित्यमा संस्मरण विधा धेरै नै प्रचलित छ । यो खाली प्रसंगवश गरिएको मेरो एउटा अनुमान मात्र हो । 

    अंग्रेजीमा एउटा भनाइ छ – नोथिङ्ग इज कन्स्टयान्ट बट चेन्ज भन्ने । अर्थात यो संसारमा हरेक कुरा परिवर्तनशील छन् तर परिवर्तन आफैं चाहिं अपरिवर्तनीय छ कुनै पनि कुरा जस्ताको तस्तै भैरहँदैन । यो  परिवर्तनलाई   हामीले स्वीकार गरेनौं भने आफैं दुःख पाउँछौ । मैले बारम्बार मानिसहरुले भनेको सुन्ने गरेकी छु – ‘त्यो त पहिले यस्तो खालको थिएन, अहिले कस्तो भएछ !’

यहि प्रसंगमा म एउटा हालसालै घटेको घटना जोड्न चाहन्छु । दुई -चार दिन अगाडि हाम्रो घरमा एकजना पाहुना आउनुभएको थियो । उहाँको मनमा यो ठाउँमा बसेर सिमल तरुल खाएको एउटा चित्र रहेछ । त्यसैले उहाँले आउनुअगाडि नै फोन गरेर ‘म पहिले सिमल तरुल खान्छु है !’ भन्नुभएको थियो । बल्ल बल्ल आउने पाहुनाको इच्छा त पूरा गर्नै पर्यो । त्यसैले उहाँ आइपुग्नुअगाडि नै हामीले बजारबाट सिमल तरुल ल्याएर उसिनीवरी ठिक्क पार्यौं । उहाँ आएपछि उत्साही हुँदै, ‘अब खाने होइन त सिमल तरुल ?’ भनेर सोध्दा उहाँ अलि अकमकाउनुभयो । खाना खाइसकेपछि सिमल तरुल खाने भनेर किन नखानुभएको त भनेर सोध्दा पो हाम्रा पाहुनाले आफ्नो मनको कुरा खोल्नुभयो । ‘मैले त कहाँ यसरी बजारबाट ल्याएर खाने भनेको हो त ! घरकै तरुल खन्ने ! बाहिर चुलो बनाएर दाउरा बाल्ने अनि ठूलो भाँडामा तरुल उसिनेर सबै वरिपरि बसेर खाने,’ भन्दै उहाँ क्षितिजतिर हेरेर टोलाउन थाल्नुभयो । शायद उहाँ ३५/४० वर्षअगाडि आफुले देखेको र भोगेको ठाउँको चित्र अहिलेको परिस्थितिसँग मेल नखाएकाले बेखुशी हुनुहुन्थ्यो ।

हो त, यो संसारका अरु कुराजस्तै हामी सबै हरेक दिन परिवर्तन भइरहेकै हुन्छौं । हिजो हामी जे थियौं, आज त्यो हुँदैनौं र आज जे छौं, त्यो भोलि पनि हुँदैनौं । यो कुरा हाम्रो शारीरिक, मानसिक र वैचारिक सबै क्षेत्रमा लागू हुन्छ ।

प्यारो विगत र तीतो यथार्थ

यो सत्य थाहा हुँदाहुँदै पनि विगतका सम्झनाहरुले हामीलाई झकझक्याइरहन्छन् । पुराना मित्र, पुराना चित्र, वस्तु, स्थानजस्ता सबै कुराले पुराना दिनका सुखद र दुःखद दुबै समयको स्मरण गराउँछन् । बीसौं शताब्दीकी प्रसिध्द उपन्यासकार भर्जिनिया उल्फ भन्छिन् – कसैले पनि त्यो (पुरानो) समयको मिठास तत्कालै भन्दा पनि पछि पछि गएर मात्र मजाले रसास्वादन गर्न सक्तछ । त्यो शायद गाईवस्तु चरेर फूर्सदमा उग्राएजस्तै होला, पछि पछि गएर पुराना कुरा सम्झिएर तिनमा हराउने कुरा पनि ।  

    हाम्रो मनमस्तिष्कमा पुराना मित्र र समयको जुन मिठास हुन्छ त्यो मिठास लामो समयपछि उही मित्र भेटिए पनि सोहि किसिमको नभएको मैले पाएकी छु । केहि समयसम्म त पुराना कुरा हुन्छन् । तर ती स्मृतिभित्रका कुरा रित्तिइसकेपछि के कुरा गर्ने त ?

बुध्दले अर्ती दिने क्रममा आफ्ना चेलाहरुलाई अतीतमा नबाँच्नू, भविष्यको सपना पनि नदेख्नू र वर्तमानमा ध्यान दिनू भनेका रहेछन् । अतीत र भविष्यलाई च्यापेर हिंडदा हिंडदै वर्तमान ध्वस्त हुने कुरा पनि ठिकै होला ।

पुराना साथीहरुसँग दशकौंपछि सम्पर्क हुँदा पैदा हुने संवादहीनताको स्थिति हाँस्यास्पद हुने रहेछ । पुराना मृत दिनहरुको स्मरण गरिसकेपछि फेरि वर्तमानमा नफर्की कुनै उपाय छैन । आफ्नो वर्तमान आफ्ना लागि प्रिय वा अप्रिय जे हुन्छ, आफैंसँग मात्र हुन्छ । त्यो कसैसँग बाँड्न सकिंदैन । हामी हाम्रा वर्तमानहरु बाँड्ने कोशिश त गर्छौं तर यी व्यक्तिबाट अविभाज्य कुरा हुन् । यस प्रकारले हेर्दा टेगोरको काबुलीवालाको स्थितीबाट हामी गुज्रिरहेकै हुन्छौं । मिठो अतीत हामी सबैले संगालेर राखेका हुन्छौं तर ती पुराना दिनहरुलाई दुरुस्तै पुनर्जीवित गर्न भनें सक्तैनौं ।  

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 29 October, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  

 



Friday 22 October 2021

सहि हो हजूर, सहि हो

 


हामीमध्ये कतिपयलाई आफ्नो भन्दा अर्काको पीर धेरै लाग्छ । एक व्यक्ति आफ्ना समस्यासँग अनन्त लडाई लडिरहेको हुन्छ तैपनि अरुतर्फ फर्केर सल्लाह दिन चुक्दैन । आफूले कहिल्यै साइकल चढेको हुँदैन र पनि अरुलाई साइकल यसरी चढ्नुपर्छ भनेर सुझाव दिन्छ । त्यस्तो मान्छे सानो हुन मान्दैन, सानो हुन जान्दै जान्दैन । यी स्वभावका व्यक्तिहरु मलाई भनें प्रिय लाग्छन् । तपाई सोधिमात्र हेर्नोस्, उनीहरु राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, शिक्षा र स्वास्थ्य लगायत सम्पूर्ण विषयमा ज्ञान राख्छन् । अझ रोचक पक्ष त के पनि हुन्छ भने यस किसिमका मान्छेहरु तपाईका भनाइलाई उनीहरुका आफ्नै सोचको उपज जस्तै बनाएर तपाईलाई नै उल्टै सुनाइदिन्छन् ।

आफूमात्र मान्छे

नेपालीमा एउटा उखान छ – आफू मात्र मान्छे अरु वनमान्छे भन्ने । आफूलाई मात्र मान्छे जस्तो देख्ने मनोरोगले ग्रसित मानिसहरु भेट्न त्यति गाह्रो छैन । यो सिङ्गो मानवजातिलाई आक्रान्त पार्ने रोगले सारा संसार नै पीडित छ । यसको ओखती त आदिकाल देखिनै हाम्रा धार्मिक ग्रन्थहरुले सुझाउँदै आएका छन् तर हामी ग्रहण गर्न तयार रहेका हुँदैनौ । औषधि नै ग्रहण नगरेपछि रोगले त च्याप्दै जाने नै भयो । यस किसिमका समस्याको सहज समाधान भनेकै आइपरेका कुराहरु आफ्ना भागमा परेकै हुन् भनेर सहज रुपमा ग्रहण गर्नु नै रहेछ । यस सम्बन्धमा एउटा छोटो किस्सा थपौं है त ।

एक समयमा एउटा बूढो किसान थियो । उसले एउटा घोडा पालेको थियो । एकदिन उसको घोडा हरायो । घोडा हराएको कुरा सुनेपछि एकजना छिमेकी दौडेर आयो र भन्यो, “कस्तो दुर्दशा ! घोडा हराएछ है ?”

बूढो किसानले उत्तर दियो, “सहि हो ।”

भोलिपल्ट हराएको घोडा अरु तीन वटा जंगली घोडा पछि लगाएर आइपुग्यो । त्यो देखेर पहिलेको छिमेकी फेरि दौडेर आएर भन्यो, “ओहो, कस्तो सौभाग्य । तपाईंको घोडा त कति चलाख रहेछ है ?”

बूढोले भन्यो, “सहि हो । सहि हो ।”

त्यसका भोलिपल्ट बूढाको छोरोले ती जंगली घोडा सधाउने हुँदा लडेर हात भाँच्यो ।


छिमेकीहरु आए र भने, “कस्तो दशा !”

बूढाले उही उत्तर दियो, “सहि हो ।”

भोलिपल्ट राजाका सिपाहीहरु आए र गाउँका सबै युवालाई सेनामा भर्ती गरेर लडाइँमा लैजाने भए । गाउँका सबै जवान ठिटाहरु लडाइँमा जानैपर्ने भयो । तर त्यो बूढो किसानको छोरो भनें हात भाँचिएका कारणले गर्दा जानु परेन । त्यो देख्दा फेरि छिमेकीहरुले भने, “ओहो, कति राम्रो !”

बूढाले भन्यो, “सहि हो । सहि हो ।”

झुठको सहारा

मानिसलाई के ले यति एकोहोरो बनाउँछ र आफूलाई ठाउँ, कुठाउँ सर्वश्रेष्ठ प्रमाणित गर्न उक्साउँछ भन्ने प्रश्नको उत्तर रोचक रहेछ । आफूभित्र रहेको डरले गर्दा व्यक्ति झुठहरुकै भए पनि आड लिएर आफूलाई सर्वश्रेष्ठ प्रमाणित गर्न खोज्ने रहेछ । अरुले आफूलाई कुनै कुरामा खोट देखाएर तल पार्छन् कि भन्ने पीरले मान्छे आफ्ना गुणहरु, शक्तिहरु, विशेषताहरुलाई विशेष जोड दिएर आफूलाई अब्बल साबित गर्न खोजिरहँदो रहेछ । आफूलाई अब्बल प्रमाणित गर्ने क्रममा यदाकदा झुठकै सहारा पनि लिनुपर्ने हुनसक्ला । यो कुरा पठीत र प्रतिष्ठित भनिएकाहरुमा पनि त्यतिकै लागू हुन्छ । यस किसिमका मनोरोगीहरु अर्कोले केहि भन्ला कि भन्ने डरले सकेसम्मकै अग्लो सुरक्षा पर्खाल खडा गर्ने रहेछन् । त्यसैले मनोविज्ञानका अनुसार यो आफूलाई अब्बल प्रमाणित गर्न गरिने शाब्दिक प्रयास त एक प्रकारको मनोरोग नै रहेछ । यसरी आफैंले उत्पादन गरेको रोगलाई हरेक पटकको आत्मबचावले अझ मलजल पुर्याउने रहेछ ।

थोरै शब्द ठूलो अर्थ

प्रायः सम्पूर्ण धर्मग्रन्थहरुले निःशब्द रहनुमा जोड दिन्छन् । बोलिरहे आफ्नै आवाज सुनिन्न । आफ्नो धड्कन सुन्न समेत शान्त रहनु जरुरी छ । सुनेका र जानेका ज्ञानी सन्त महन्तको कुरा गर्ने हो भने तिनीहरुले आफ्ना जीवनको केही अंश निःशब्द रहेरै बिताए । महावीर बाह्र वर्षसम्म चुपचाप बसे । बुद्ध स्वयं लामो समयसम्म चुपचाप रहे । जीजस पनि सार्वजनिक रुपमा ज्ञान बाड्न हिँड्नु पहिले निःशब्द थिए भनिन्छ । मुहम्मद ध्यानावस्थामा रहेका बेला नै कुरानको ज्ञान उनमा आयो भनिन्छ । रमण महर्षी जीवनभर निःशब्द रहे । यी सबै सन्तहरुका निःशब्द अवस्थाहरु भित्री रुपमा शान्त भएपछिका अवस्था हुन् । भित्री रुपमा ज्वालामुखी निभिसकेका अवस्थामा निस्केका वाक्यहरु मात्र अर्थपूर्ण र सुन्न लायक हुन्छन् भन्छन् रजनीश ओशो ।


वास्तवमै हामी कसैका कुरा बिरलै मात्र सुन्छौँ । हामी सुनिरहे जस्तो मात्र गर्छौं र आफ्नो बोल्ने पालो पर्खिरहेका हुन्छौँ । चुप लागेरै बसिरहे पनि मनमनै बोलिरहेकै हुन्छौँ । आफैं  प्रश्न गर्छौँ र आफैं उत्तर दिन्छौँ । यसरी आफैं भित्रभित्रै बोल्ने कुरालाई हामी चिन्तन भनिदिन्छौँ तर यिनै मनमनै गरिने प्रश्नोत्तरलाई बाहिर अरुले सुन्नेगरी एक्लै बोलियो भनें त हामीले पागल विशेषण ग्रहण गर्न तयार हुनैपर्छ । यसरी हेर्दा के देखिन्छ भनें हाम्रा शब्दमा मात्र होइन सोचमा समेत नियन्त्रणको आवश्यकता छ ।

रोकिन्छ त दिमागी चिरबिर ?

हाम्रो मुटु हामीले नजान्दाको समयदेखि अर्थात् आमाको गर्भदेखि नै नधड्किए हामी आपत्ती मान्छौँ । त्यसैगरी हामी श्वास फेर्छौँ । स्वचालित रुपमा श्वास प्रश्वास चलिरहेकै हुन्छ । हाम्रा धमनीहरुमा निरन्तर रगत बहिरहेको हुन्छ । यसरी मुटु धड्किरहोस् , रगत धमनीमा बहिरहोस् , श्वास प्रश्वास चलिरहोस् भने कामना हामी गरिरहन्छौं । तर मुटु जस्तै, रगत जस्तै, श्वास जस्तै दिमागलाई भने हामी स्वतन्त्र छाड्न चाहन्नौं । यसलाई हामी ऐंचेर राख्न खोज्छौं । यसलाई जंगली हात्ती दाएजस्तो, जंगली घोडा सधाएजस्तो सधाउन खोज्छौं हामी । दिमाग पनि मुटुजस्तै स्वचालित कुरा हो ।

हामीमा विवेक छिप्पिनु भन्दा पहिलेबाटै यसले आफ्नो काम शुरु गरिसकेको हुन्छ । यसले पनि एक हदसम्मको स्वतन्त्रता खोज्छ । हामी जति जति नसोचौं भन्छौं, जे जे नसोचौं भन्छौं, त्यहि त्यहि कुरा दिमागमा अझ उर्लेर आउँछन् । त्यसोभए, ध्यानले यसलाई रोकेर तह लगाउला त ? अहँ, ध्यानावस्थामा पनि यो मगजमा ज्वारभाटा चल्न छाड्दैनन् । उचित तरिकाले ध्यानमा बस्ने हो भने केही समय विचारमा बाँध लाग्ला तर आँखा उघार्नासाथ त्यो बाँध फुट्छ । विचारहरु छताछुल्ल हुन्छन् ।

यस विषयमा मनोविज्ञान र धर्म एकै बिन्दुमा पुगेर के भन्छन् भनें दिमागलाई हेर्नू । यसले के सोच्दैछ बारम्बार विचार गर्नुभयो भनें यो चुप्प लाग्छ । हो, गरिहेर्नोस् त, यो चुप लाग्छ । यसलाई जति थुन्न र रोक्न खोज्यो उति नै अनियन्त्रित हुन्छ ।

एउटा मानिस घुम्दै घुम्दै गुम्बामा पुगेछ शान्ति खोज्दै । निकैबेर शान्त बसेपछि उसले आफूलाई  अलिक फरक र शान्त पाए पनि उसलाई केही केही नपुगेको जस्तो लागेछ । एकजना लामा गुरुले उसलाई हेर्दै भनेछन्— एकजना लामासँग कुरा गर्नू ।

त्यस व्यक्तिले एकछिनसम्म सोचेर भनेछ, “शान्ति कसरी प्राप्त हुन्छ ?”

लामाले भन्यो, “म जे भए पनि हुन्छ भनिदिन्छु । जे हुन्छ जस्तो हुन्छ, त्यसलाई स्वीकार्छु ।”

त्यति सुनेपछि उसको मन हल्का भएछ । ज्ञान प्राप्त भएछ । जे आउँछ, जे हुन्छ त्यसैलाई स्वीकार गरेपछि सबै तनाव, कष्ट, अनिद्रा दूर भइहाल्छ भन्ने कुरा उसले बुझेछ ।

यसरी, हाम्रा सोचहरुलाई आफैंले हेर्न मात्र सके आफ्ना शब्दमा नियन्त्रण गर्न सकिन्छ र झुठको सहारामा अपत्यारिलो नाटकीय जीवन पनि बाँच्नु पर्दैन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 22 October, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Friday 8 October 2021

धनराज—बेगवान आँधी तुफान

 

         


    कहिलेकाहीँ जीवनमा ससाना संयोगहरुले पनि ठूलो छाप छोड्छन् । यस्तै भयो यसपाली । यात्रा इलामको थियो । हाम्रो काम एक सरकारी अड्डामा थियो । बिहानको नौ बज्दा नबज्दा त हामी इलामको पहारिलो भदौरे घामबाट छलिने प्रयत्नमा लागिसकेका थियौँ । सीमित प्रविधि अपनाइएको मालपोत अड्डामा इन्टरनेट सर्भिसमा गड्बडी भएर कम्प्यूटरहरु अर्ध मुच्र्छित थिए । कम्प्यूटर अपरेटरहरु हाइ काड्दै थिए । हामी पनि त्यसै त्यसै अल्छी मानिरहेका बेला एउटा अल्गो, चुस्स जुँगा भएको, काउव्वाइ ह्याट लगाएको मनुवा हाम्रा छेउमा आयो । उसले घर, वतन, थर सोधेन । त्यो हाम्रो संस्कारमा अलि अनौठै कुरा थियो । अनि बिस्तारै इलामको मौसम, चियाका प्रकारका बारेमा गफ गर्दै हामी ठट्टामा जम्यौँ । उसको घतलाग्दो कुरा के थियो भनें ऊ बेजोड खिल्खिलाएर हाँस्थ्यो । त्यस्तो उन्मुक्त हाँसो मैले देखेकै थिएन भन्दा हुन्छ । ‘यो त अकबरे हाँसो पो हो त,’ भन्दै ऊ कुनै तनाव, पीडा र संकोच बिना बेजोडसँग हाँस्यो । मोहम्मद रफीको गीत गायो । काम नभएका समयमा हाम्रा मन बहलाइदियो ।

          हो, त्यो अमुक इलामे मनुवा जस्तै काल्पनिक चितवनभित्रको कुनै सुरम्य बस्तीभित्रको एक उन्मुक्त मनुवा मसँग प्रविधि मार्फत भर्खरै जोडिन आइपुगेको छ । चितवन शब्द मात्रले पनि मलाई ‘गुड फिलिङ’ दिन्छ । त्यसै त्यसै मनमा ठूलो नदी र बरबगैँचाको चित्र बिम्वित भएर आउँछ । पूर्व पश्चिम राजमार्गमा यात्रा गर्दा देखिने चितवनको एक टुक्रा मात्र त चितवन होइन । सौराहाको जंगल, नारायणी नदीको विशालता र विस्तिर्ण फाँटका चित्रहरुले मात्र पनि मन ‘चन्चल चितवन’ बन्छ । त्यो भर्चुअल मित्र बातबातमा तुक्का जोड्छ, गफैलाई गजलमा परिणत गरिदिन्छ अनि डायलगलाई नेपाली, अंग्रेजी र हिन्दीमा स्वीच गरिरहन्छ र मनमनै नाचिरहन्छ । यो भिडियो प्रविधि नहुँदो हो त मेरा मनमा यो तिलस्मी मनुष्य धनराज गिरीको चित्र कस्तो आउँथ्यो कुन्नी ? तर भिडियो कलले गर्दा यो जिन्दादिल आँखै सामुन्नेमा चौसठ्ठी वर्षको रौस लिएर गजल, शायरी र सिमलका भुवाजस्ता गफ फर्माउँछ ।

          ‘म त आफूलाई डिप्रेसनबाट जोगाउन यो सब नाटक गरिरहेछु,’ त्यो मनुवा भन्छ । आफूलाई बेगवान आँधी तुफान मान्ने धनराजका फोन तुफान जस्तै बेला, कुबेला, ठाउँ, ठहर केहि नहेरी आउँछन् । भ्याए उठाउने हो कल, नभ्याए भ्वाइस मेसेज आइहाल्छ । यो ‘धनराजियन स्टाइल’ भन्दै हाँस्ने र बेफिक्र बाँच्ने शैली नै गजव ।


बूढा घोडाको बिजोक

          मान्छे होस् वा जनावर एक हदपछि उसको शक्ति र सामर्थ्यमा कमी आउँछ । जवान घोडाहरुसँग बूढा घोडाहरुले बाजीको दौड दौडन सक्दैनन् । एक मित्रले भन्थ्यो, ‘अब रिटायर भइयो । अलिकति खान्छु, मन लाग्दो काम गर्छु । उसैको भनाइमा सरकारले उसलाई आधा बेतन दिएर घर बस्नु, आराम गर्नु भनेको हो रे । आधा बेतन चाहिं स्वास्थ्य राखेर आधा मात्र खानु अनि काममा पनि हत्ते नहाली आधा मात्र गर्नु भनेको रे । त्यसैले ऊ नयाँ धन्दा सोच्दैन । आफूलाई रहर लागेका कुरा गर्छ । मनमौजी धनराजको जीवन बँचाइ र मेरो रिटायर्ड मित्रको जीवन दर्शनको मिलन यहिं भयो ।

          धनराजकै भाषामा चाहिं रिटायरमेन्ट अर्को उत्सव हो । दशैंपछि आउने तिहार हो । अवकाश पछि काम त गर्नुपर्छ तर रहरका, तिर्सना बेगरका । त्यसैले म गीत गाउँछु, महफिल जमाउँछु, कसो गर्दा यो मन रमाउँछ, त्यसैगरी रमाउँछु । गिरी शायरी मिसाउँदै हिन्दी फिल्मका डायलग दुरुस्त उतार्दै बोल्छन् ।

अर्काका लागि बत्ती

          एक समयमा एउटा दृष्टिविहिन व्यक्ति सानो टहरामा एक्लै बस्थ्यो । साँझ छिप्पिएपछि ऊ एउटा लालटिन बोकेर टहल्न निस्कन्थ्यो । यस्तै एक साँझ ऊ घर फिर्दै गर्दा एक हुल ठिटाहरुले उसलाई अन्धोले लालटिन बोकेर के काम भनेर गिज्याए । तँ अन्धाले लालटिन बोके पनि नबोके पनि के फरक पर्छ ? आखिरमा तँ अन्धै होस्,’ भनेर ठिटाहरुले बचन लगाउँदा त्यस दृष्टिविहिनले उत्तर दिएछ,  ‘मैले यो बत्ती मेरा लागि होइन । तिमीहरुका लागि बोकेको हो । तिमीहरुले मलाई नदेखेर  ठोक्किन्छौ कि भनेर मैंले लाल्टिन बोकेको हो । यो उत्तर सुनेर केटाहरु लज्जित हुँदै हिँडेछन् । हो, त्यस्तै लाग्छन् धनराज गिरी । उनले संसार पहिचान गरेका छन्, सांसारिकताको तिकडम बुझेका छन् र नपत्याउदो गरी हलुका भाकामा अरुलाई भनेर ज्ञानको लाल्टिन बोकेर हिंडेका छन् । उनकै माताका मायालु शब्दमा उनी घन्टाउके थिए रे । पढाइ लेखाइमा अब्बल भएर घन्टाउके हुनुको लाज पनि जोगाएछन् उनले तर सोचेजस्तो नहुनाले एक समयमा निराशाको अघोर बादलले घेरेर उनलाई निकै सकस पनि पारेछ । हो, त्यसपछि नै उनमा ब्रम्हज्ञान पलाएछ – हुट्टिट्याउँ बनेर यो संसार च्याप्न र थाम्न सकिन्न । त्यसपछि नै उनी फुक्काफाल बेमिसाल बनेका रहेछन् । यी पुस्तकका पारखी गिरी कसरी बाँच्न


सकेका होलान् यति हलुकोसँग भनेर मेरो मनले आफैंलाई सोधिरहन्छ ।

जिन्दगी नामिलेगी दुबारा

          चिनाजानाका हप्तादिनमै गिरीका गफले मलाई प्रभावित पारेको छ । उनका गफरुपी चामलबाट अलेलि सामा, पत्कर, ढुंगा र भुस छानेर मिल्काउन सके सग्ला अन्न प्रशस्त निस्कन्छन् । उनी आफैं जीवनलाई हेर्ने दृष्टिकोण र हेराइका बारेमा कवि दुर्गालाल श्रेष्ठको आनी छोयाङले गाएको गीत, ‘फूलको आँखामा फूलै संसार’ जस्तै कुरा गर्छन् । यो बारबार नपाइने जीवनका बारेमा भारतीय फिल्मी मन्त्र जिन्दगी नामिलेगी दुबारा भन्दै हाँस्न र भाररहित बाँच्न गिरीले मलाई प्रोत्साहित गरेका छन् ।

          जीवन हेर्ने दृष्टिकोणका सम्बन्धमा गिरी दर्शनसँग मिल्दोजुल्दो एउटा चोटिलो कथा छ । कथामा एकजना शिक्षक कक्षाकोठामा जान्छन् र प्रश्न पत्र बाँड्छन् । प्रश्न पत्रलाई उल्टा पारेर राखिएको हुन्छ । शिक्षकले अनुमति दिएपछि सबै विद्यार्थीले प्रश्नपत्र उठाएर हेर्छन् । त्यस रित्तो कागजको पानाका बीचमा एउटा थोप्लो मात्र हुन्छ । शिक्षकले विद्यार्थीहरुलाई उनीहरुले जे त्यस प्रश्न पत्रमा देखे त्यही लेख्न अह्राउँछन् । सबै विद्यार्थीको एउटै उत्तर हुन्छ – खाली कागजको पानामा कालो थोप्लो छ ।

          ती शिक्षक धनराज गिरी नै पनि हुन सक्छन् । गिरी आफैं उज्यालो भरिएका उज्याला पात्र हुन् । उनी उज्यालो बोकेर हिँड्छन् र उज्यालोतिर हेर्न सिकाउँछन् । अनि प्रश्न पत्रमा कालो थोप्लो मात्र देख्नेहरुलाई ती शिक्षक प्रतिप्रश्न गर्छन् – त्यो थोप्लो बाहेकको सिङ्गो सेतो पाना, त्यो उज्यालोको हामी किन कुरा गर्दैनौं ? राम्ररी हेर्दा, विचार गर्दा त्यो थोप्लो त सारै सानो छ । कागजको ठूलो भाग त सेतो र उज्यालो छ । धनराजियन दर्शनले पनि शायद त्यहि भन्छ । यो जीवनमा काला दाग र धब्बा त छन् तर त्यसभन्दा धेरै त उज्याला नै हुन्छन् । उज्यालो हेर्ने पनि यिनै नयनले हो र अँध्यारो हेर्ने पनि यिनै नयन हुन् । उज्यालो हेर्न सिकाउने, हाँसेर बाँच्न सिकाउने गुरु गिरी बन्दनीय छन् ।



Friday 1 October 2021

पारपाचुकेभित्रका अन्तरकथा

 


    हाम्रो दिमाग असाध्यै चलायमान छ । निन्द्रावस्थामा समेत यो आफ्नो काम गरि नै रहन्छ । ब्यूँझिएका अवस्थामा त यसको कुरै नगरौंयो कुन वेगमा दौडन्छकुन गतिमा उड्छ र बतासिइरहन्छ भन्ने कुराको कुनै लेखाजोखा नै छैन । यो दिमागका मूलबाट विचारहरु कसरी भुलभुल उम्रिरहन्छन् भन्ने कुरा वास्तवमा आश्चर्य लाग्दो छ । त्यसैले नै बुद्धले हाम्रो दिमागलाई मातेको जंगली बाँदरसँग तुलना गरेका होलान् । बाँदर त्यसमाथि मद मस्त – जतिबेलै बुरुकबुरुक उफ्रिनेकतै स्थिर नहुँनेचिच्याउने र कराउने ।

बाँदरे मनस्थिति

            बुद्धले आफ्नै खोज र तथ्यबाट प्रतिपादन गरेको बाँदरे स्वभावको दिमागलाई अहिलेका आधुनिक चिन्तकहरुले पनि पुष्टि गरेका छन् । यो पुष्टिको आधारचाहिं हाम्रा विचारहरुको गणना हो । भारतीय मूलका लेखक दिपक चोपडाको भनाइमा हामी प्रतिघण्टा झन्डै तीन हजार कुरा मनमा खेलाउँछौं । त्यसको अर्थ हाम्रा मनमा प्रतिमिनेट ५०/६० वटा विचार उत्पन्न हुन्छन् । यसरी सुसुप्त रुपमा बर्बराइरहने हाम्रो मगज नियन्त्रण गर्ने एउटै उपाय ध्यान हो भनेर बुद्धले सुझाएका थिए । यो कुरा आज पनि अकाट्य साबित भएको छ ।

            राम कुमार उपाध्याय कृत ‘प्लीज डन्ट डिभोर्स’ भन्ने सल्लाहमूलक पुस्तक पढिरहँदा मलाई बाँदरे स्वभावको दिमागले झण्डै एकदशक अघिको समयको सम्झना गरायो । मेरी एक मित्र जुलीकी आमा डिभोर्सी थिइन् । उनले एकदिन कुराकानीका क्रममा बढो घतलाग्दो कुरा गर्दै भनिन्, “बीस बीस वर्षसम्म सँगै रासोबासो गरेको मान्छेलाई एकदिन बिहान उठ्दा त चिन्दै चिनिँन । खासमा मैले त्यो मेरो लोग्ने ठानेको मान्छेलाई कहिल्यै चिनेकै रहिनछु । बीस बीस वर्षसम्म सँगै बस्दा पनि चिनिनछु । त्यसले त खाली वीर्यदान मात्र पो गरेछ ।” वास्तवमाउनको लोग्नेसँग मिलेर उनले चार सन्तानलाई जन्म दिएपछि त्यो बूढो अर्की आइमाईसँग लागेछ र उनीहरुको सम्बन्ध विच्छेद भएको रहेछ । ती बूढी मान्छेले उनको लोग्नेलाई बीस वर्षसम्म नचिन्नु वास्तवमा गहिरो कुरा थियो ।

            पश्चिमी दुनियाँमा हाम्रोतिर भन्दा सम्बन्ध विच्छेदको दर उच्च छ । मैले अष्ट्रेलियामा रहँदा मेरै सहकर्मीहरु पनि प्रशस्त मात्रामा पारपाचुके गरेर बसेका भेटेकी छु । हाम्रा लागि त्यस्ता कुरा अलि अनौठै हुन् । एकदिन हजुरबा भैसकेको पिटरले पारपाचुकेका विषयमा कुरा उठ्दा भनेको थियो, “घिस्रिएरमन नमिली नमिली जिन्दगी बिताउनु भन्दा आ–आफ्नो बाटो लाग्नु राम्रो हो । त्यसो गरे छोराछोरीले पनि घरेलु गुम्सागुम्सीको मार खपिरहनु पर्दैन ।” म पिटरका कुरामा पूर्ण सहमत थिएँ र अहिलेसम्म पनि छु । एकबारको जुनीलाई मन नमिल्दा नमिल्दै पनि घिस्रिएर अगाडि बढाउनुको कुनै औचित्य हुँदैन । आफन्तसमाज र लोकको इज्जत जोगाउनका लागि आफू हारिरहनु र निरन्तर गिरिरहनुको अर्थ पटक्कै छैन ।


राम कुमारका सुविचार

           


     हाम्रातिर पनि पारचुकेका घटनामा बृद्धि भएको छ । यसका पछाडि विभिन्न कारणहरु होलान् तर मेरो विचारमा महिला स्वतन्त्रताको चेतले नै सबैभन्दा ठूलो भूमिका खेलेको हुनुपर्छ । महिलाहरु आफ्ना रुचीका बारेमा खुलेर बोल्न सक्ने भएकैले उनीहरु पारपाचुके गर्न आँट गर्छन् । त्यसैलेमेरो बुझाइमा सम्बन्ध विच्छेद स्वतन्त्रता र शाहसको प्रतीक हो ।

            एक समय थियोविवाह बन्धनमा प्रवेश गर्नु भनेको मादल भिर्नु सरह हुन्थ्यो । मादल भिराभिर गरेपछि जुन तालमा जसरी सकिन्छ बजाइरहनु भन्ने भनाइ थियो । सप्तरीमा बस्नुहुने हाम्री माहिली जेठानीकी स्वर्गबासी माताले भन्नुहुन्थ्यो, “नभिर्नु मादल भिरेपछिजसरी सकिन्छ त्यसरी नै बजाउनुपर्छ ।” अर्थात् विवाह बन्धनमा बाँधिएपछि मरणोपरान्त छुट्ने टुट्ने काम नगर्नू । हाम्रो संस्कृति र धार्मिक विश्वासका बीचबाट खोलो जस्तो बनेर बगेको छ यो मादल भिर्ने भनाइ ।

            राम कुमार उपाध्यायले पनि आफ्नो लामो खोज र अध्ययनबाट पारपाचुके सम्बन्धमा ३७८ पृष्ठको ‘प्लीज डन्ट डिभोर्स’ पुस्तक तयार गरेका छन् । उनको अध्ययन र चिन्तनको आधार पनि पूर्वीय संस्कृति र दर्शन नै हो । उनले कुनै पनि हालतमा पारपाचुके गर्नु उचित नहुने कुरालाई विभिन्न उदाहरण दिएर पुष्टी गरेका छन् । पुस्तकमा पारपाचुके हुनुका कारणनिदान र पारपाचुके किन गर्नु उचित छैन भन्ने विषयमा लेखकले बढो सूक्ष्म र मिहिन तरिकाले ‘प्लीज डन्ट डिभोर्स’ मार्फत  जनचेतनामूलक सन्देश दिन खोजेका छन् ।

            निरन्तर चलायमान दिमागका नियन्त्रणमा रहने हाम्रा विचारहरु परिवर्तन भैरहन्छन् । हाम्रा सोचाइरोजाइ र रुचीहरु बदलिइरहन्छन् । यही बदलिएका विचारहरुको परिणाम नै पारपाचुके हुनसक्छ । हिजोसम्म भएका श्रद्धाविश्वासचाहना र प्रतिबद्धता डगमगाएपछि सम्बन्धरुपी घरचर्मराउँछ र ढल्छ पनि ।

            उपाध्यायले आफ्नो पुस्तकमा पारपाचुके दुर्घटनाबाट बच्नका लागि पनि आपसी सदभाव र विश्वास जीवनपर्यन्त कायम राख्नुपर्ने कुरामा जोड दिएका छन् । लेखकले भनेझैं एउटा उद्देश्य लिएर शुरु गरेको यात्रा बीचैमा तितरबितर हुनु सुखद कुरा होइन । तर कतिपय अवस्थामा पारपाचुके अपरिहार्य पनि हुनसक्छ । एक प्रकारको लयमा चलिरहेको जीवनपद्धति विश्रृंखलित हुनासाथ समस्याहरु उत्पन्न हुन्छन् । यी समस्याहरुसँग पारपाचुके पछाडि नर र नारीले बेग्लाबेग्लै किसिमले जुध्नुपर्ने हुन्छ । यी लडाइँ पुरुषलाई भन्दा महिलालाई बढी पीडादायक हुनसक्छन् ।

यस सम्बन्धमानारीहरुको मनोबल उच्च राख्नका लागि एक मनोविदले प्रस्तुत गरेको उदाहरण घत लाग्दो छ । डिभोर्सी महिलाहरुको भेलामा उनले एउटा उच्च मूल्यको कागजी नोट देखाएरत्यो नोटलाई महिलाहरुले आफू त्यो मूल्यवान नोट भएको कल्पना गर्न भन्छिन् । त्यसपछिउनी त्यो नोटलाई कुच्याउँछिन्बटार्छिन् र भुईँमा फालेर खुट्टाले पनि कुल्चिन्छिन् । अनि त्यो नोट उठाएरटक्टक्याएर सबैलाई सोध्छिन्– त्यस नोटको महत्वमा कुनै परिवर्तन आयो कि आएन ?

            त्यसैगरीपारपाचुकेमा संलग्न दुवै पक्षले त्यो नोट जस्तै अपमानहिंसापीडा खपेर त्यसबाट बाहिर निस्कन खोज्दा उनीहरुको महत्वमा पनि ह्रास आउन दिनु हुँदैन । सामान्य र साधारण अवस्थामा कसैले पारपाचुकेको कदम उठाउँदैन । तर विविध अवस्था र परिस्थितिबाट गुज्रिएर पारपाचुके गर्नुपर्ने अवस्थामा आइपुग्ने स्थितिलाई त्यही कुच्चिएको नोटसँग तुलना गर्न सकिन्छ । कुच्चिएको नोटले आफ्नो मूल्य र महत्व नगुमाएजस्तै सम्बन्ध विच्छेद पछिका समयमा पनि सम्बन्धित व्यक्तिहरुले आफ्नो  स्वाभिमान ढल्न दिनुहुँदैन ।


आत्म मूल्यांङ्कन

           


     कुराको उठानमा भनेजस्तै चन्चल र अस्थिर मनस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सके मात्र पनि धेरै हदसम्म पारपाचुकेका घटना हुनबाट जोगिन सकिन्छ । ‘प्लीज डन्ट डिभोर्स’ को सारतत्व पनि एक पक्षले अर्को पक्षलाई दोष दिनुअगाडि निरन्तर आत्म मूल्याङ्गन गरिरहनु र आफूमा भएका कमी कमजोरीलाई सुधार गरी सम्बन्ध टुटाउनुभन्दा जोड्नु नै कल्याणकारी हुन्छ भन्ने हो । यसका लागि पति पत्नी नै समझदार हुनु जरुरी हुन्छ । यो क्षणभंगुर जीवनमा वैवाहिक सम्बन्ध टिकीरहनु त अत्यन्त राम्रो कुरा हो । तर हामीले सोचेजस्तै गरी सधैँ जीवन सलल सिधा बाटोमा नबग्न सक्छत्यहाँ  अनेक उतार चढाव आउन सक्छन् । यसै भएर एउटै बाटोमा हिँडीरहेका दुई यात्री फरकफरक बाटो पक्रिन बाध्य हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो बाटो छान्ने छुट र अधिकार भनें पक्कै प्राप्त हुनुपर्छ । यसलाई हामीले सहज रुपमा लिन सक्नुपर्छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 1 October, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]