Tuesday 31 March 2020

सुच्चु दिदी


असोज २८, २०७६

प्यारी सुच्चु दिदी,

आज १० /१२ दिनको अन्तरालपछि जब म आफ्नु फेसबुक पेज हेर्दैथें, एउटा हेडलाइनमा गएर मेरा आँखा टक्क अडिए - "सुचिता खनाल जिवीत हुँदाको स्मरण - 'अनि म फुच्ची पनि ब्रोकर भएँ '"; के हो यो भनेर मैंले दोहोर्याएर पढें। विश्वास लागेन र त्यसमा गरिएका कमेन्टमा गएँ। मेरो मन एकदमै भारी भएर आयो। मलाई पत्याउनै मन लागेन ती कमेन्टमा लेखिएका कुरा ! 


सुच्चु दिदी, हजुरका अनेक चित्र मभित्र गाढा भएर आए र म तिनलाई तह नलगाई नसक्ने भएँ। केहि समयदेखि सुतेको मेरो कलम हजुरको सम्झनामा उठेको छ।  


सुच्चु दिदी भन्नेबित्तिकै मलाई लामु कपाल दुई चुल्ठा बाटेर बिहान बिहान युनिफर्म साडी लगाएर क्याम्पस जाने केटीको सम्झना आउँछ। हजुरको हँसिलो मुहार र हँसाउने बानीलाई म कसरि बिर्सन सक्छु र ? एक दिन कुरै कुरामा बिना माइजुले सुच्चु भान्जी र सुमिता भान्जीमा सुमिता भान्जी राम्री हुनुहुन्छ भन्दा मैंले "मलाई त सुच्चु दिदी नै राम्री लाग्छ," भनेकी थिएँ। त्यतिबेला हजुर मलाई हेरेर नपत्याए जसरी हाँस्नुभएको थियो। तर मैंले त साँचो कुरा भनेकी थिएँ, सुच्चु दिदी! बिना माइजु मात्र होइन अरु मान्छे पनि हजुरहरु दुई दिदी बहिनीलाई तुलना गरेर सुमिता दिदीलाई नै राम्री भन्थे। तर मलाई त हजुर नै राम्री लाग्थ्यो ! सुमिता दिदीसँग म धेरै नबसेकी र हजुरसँग नजिक भएर मलाई त्यस्तो लागेको हुन सक्छ !  
  

जब अञ्जना दिदी मास्टर्स गर्न काठमाण्डौ जानुभयो तब म हजुरसँग अझ नजिकिएँ। हजुरले मलाई आफ्नै बैनीजस्तै ठानी आफ्नु कोठामा राख्नुभयो। मलाई विराटनगरको सम्झना आउँदा आफ्नु घरकोभन्दा बढी हजुरहरुकै घरको आउँछ। मैंले हजुरहरुसँग त्यो घरमा धेरै आत्मिय पलहरु बिताएकी छु। मम्मीको सेतो कपाल टिपीदिन होस् वा पूजाभाँडा माझ्न ; साँझबत्ती  बाल्न होस् वा डईडीलाई कुरा सुनाउन, बेनुको उपस्थिति बाक्लै हुने गर्थ्यो। एक दुई दिन मलाई देख्नु भएन भने डईडी "बेनु कहाँ गैछन्?" भनेर मेरो खोजी गर्न थाल्नुहुन्थ्यो। आफ्ना तीन छोराछोरीलाई दिइकन पनि मम्मीसँग हामीलाई दिने माया प्रशस्तै हुन्थ्यो। त्यसैले त मुवाँबुवालाई धनकुटामै छोडेर आए पनि मलाई उहाँहरुको न्यास्रो धेरै लाग्दैनथियो। 


करिब २ /३ महिना मैंले हजुरसँग कोठा शेयर गरेँ होला। हामी कसरि मिलेर काम गर्थ्यौं, होगि ? कैले कैले डल्ली बिरामी पर्दा म भाँडा माझ्थें, हजुर पखाल्नुहुन्थ्यो  , अनि हजुर माझ्नुहुन्थ्यो, म पखाल्थे।  


विराटनगरपछि हाम्रो भेट फेरि काठमाण्डौमा भयो। हामी त्यतिबेला कीर्तिपुरमा बस्थ्यौं र हजुरहरु जावलाखेलमा बस्नुहुन्थ्यो। हजुरहरुलाई भेट्न म आइरहन्थे। अनि मम्मी पनि चाडपर्वमा बोलाइरहनुहुन्थ्यो। हजुरहरु जावलाखेलमै हुँदा एकपटक हजुर र मैंले रातको १२/१ बजेसम्म गफ गरेका थियौं। त्यतिबेला हजुरले आफ्ना धेरै अन्तरंग कुरा मलाई सुनाउनु भएको थियो।  

म सम्झिन्छु, हजुरको विवाह भएपछि अञ्जना दिदी र म हजुरलाई भेट्न गएका थियौं। भिनाजुको अफिसको क्वाटर पनि शायद जावलाखेलमै थियो (कुन ठाउँ ठ्याक्कै मेरो सम्झनामा आएन अहिले)। मैंले "भिनाजुको नाम चैं के हो नि सुच्चु दिदी ?" भनेर सोद्धा हजुरले , "रामेश्वर," भन्नुभयो। अनि फेरि, "रामेश्वर, परमेश्वर," भन्दै खित्का छोडेर हाँस्नुभयो। हामीले पनि हजुरको हाँसोमा हाँसो मिलाएका थियौं। 
     

हजुरलाई याद छ, हजुर शेयर बजारमा ब्रोकर भएपछि हजुरको बारेमा पहिलो आर्टिकल लेख्ने मैं त थिएँ नि ! "महिला दलाल " भनेर कान्तिपुर दैनिकको अन्तिम पेजमा हजुरको ठूलो, राम्रो फोटोसहित त्यो आर्टिकल छापिएको थियो। समयसँग बग्दै बग्दै हाम्रा बाटाहरु बदलिए। हाम्रो भेटघाटको क्रम पातलिंदै पातलिंदै शुन्य भयो। 
     

धेरैपछि एकपटक अकस्मात् हाम्रो भेट पुतलीसडकमा भएको थियो। हजुरका र मेरा आँखा जुधे। त्यसपछि हामीले एकअर्कालाई अँगालो हालेका थियौं। त्यतिबेला पनि हजुर उत्तिकै आत्मिय हुनुहुन्थ्यो। ज्वाईं पनि मसंगै हुनुहुन्थ्यो। तर हजुरर्संगको अनायासको भेटमा खुशी भएर मैंले हजुरको र ज्वाईंको परिचय गराउन नै बिर्सेंछु। मलाई पछि पो थक्क थक्क लाग्यो। 

हजुरसँग मेरो अन्तिम भेट सुमन दाजु बित्नु भएको बेला भएको थियो। हजुरलाई देख्नेबित्तिकै म भक्कानिएर रोएकी थिएँ। हजुरले धेरैबेर मेरो हात समाउनुभयो। त्यो समय नै  दु:खको थियो , हजुरले आफ्नु एक मात्र दाजुलाई असमयमै गुमाउनु परेको थियो। त्यसैले हामीले धेरै कुरा गर्न सकेनौं।  

एकचोटि अञ्जना दिदीसँग भेट हुँदा हजुरले, "अञ्जना दिदी हामी भेट्नुपर्छ। बेनुलाई नि लिएर आउनु ल," भन्नुभएको थियो रे ! खोई त त्यो दिन आएको ? दुई /तीन महिनाअगाडि मात्र  अञ्जना दिदीले ,"सुच्चुलाई नि ब्रेस्ट क्यान्सर भएछ , " भनेर सुनाउंदा मैंले त्यसलाई सामान्य रुपमै लिएकी थिएँ, सुच्चु दिदी ! मलाई लाग्यो, आजकल क्यान्सरको उपचार छ। मनिषा कोइरालाको फोर्थ स्टेजको क्यान्सर त निको भयो, हजुरको त फस्ट वा सेकेन्ड स्टेजको होला, निको भैहाल्छ।

अनि आज अचानक सुच्चु दिदी अब हुनुहुन्न भन्ने पढ्दा म कति विचलित भएँ, थाहा छ हजुरलाई? राती धेरै बेरसम्म सजीव भएर हजुर मेरोसामु आइरहनुभयो। 





हजुरको छोटो जीवन अर्थपूर्ण रह्यो, सुच्चु दिदी ! नेपाली महिलाका लागि हजुर प्रेरणाको स्रोत बन्नुभयो। शेयरबजार भनेको पुरुषहरुको मात्र हो भन्ने मान्यतालाई हजुरले तोडिदिनुभयो। नेपाली शेयरबजारकी पहिलो महिला दलाल "सुचिता खनाल" को नाम कहिले  मेटिने छैन। हजुरपछि पक्कै अरु महिला पनि त्यो क्षेत्रमा आए होलान् !  
  

हजुर भौतिक रुपमा नरहनुभए पनि मेरो हृदयमा सधैं मीठो संझना बनेर रहिरहनुहुनेछ। हजुर जहाँ भए पनि खुशी हुनु र हजुरको आत्माले सधैं शान्ति पाओस्।          

बेनु।