Saturday 26 November 2022

विद्रोहको आगो जगाउनू, बहिनी !

 

 

दुई / चार दिन अगाडि एकाबिहानै एकजना बहिनी हाम्रो घरमा आइन् र हाइहेलोपछि भनिन्, “अब त बाँच्नै मुश्किल भयो, म्याम !” मैले छक्क पर्दै सोधेँ, “किन के भयो र बैनी ?” “आज रातभरि सुत्न पाएको छैन । मेरो घर छेउको भाइले उसको बूढीलाई काट्छु भन्दै खेदाएछ । डरले थरथर काम्दै बूढीचाहिँ मेरो घरको ढोका ढकढक गर्न आइपुग्यो । अन्त हो मैले उसलाई भित्र आउन दिएँ । मेरो बूढीलाई किन लुकाको ? निकाल्नू । नत्र म त्यहिँ आएर त्यसलाई पनि काट्छु र तिम्लाई पनि बाँकी राख्दिना भन्दै झ्यालबाहिरबाट खुकुरी पो नचाउँछ ! गाह्रो भो हो म्याम !” उनले एक सासमा अघिल्लो रातको घटना सुनाइन् । यस्तो भएको यो पहिलोचोटि पनि होइन रहेछ । रक्सी खाने, श्रीमतीसँग झगडा गर्ने अनि कुटपिट गर्ने गरिरहँदो रहेछ त्यो भाइ ।


           बहिनी त आफ्नो कथा सुनाएर गइहालिन् । ती बहिनी हिँडेपछि मेरो मन भने त्यो लोग्नेको गाली र कुटाइ खाने महिलामा गएर अड्क्यो । किन ऊ त्यो सबै सहेर बसेकी होली ? अहिलेको समय त पहिलेको जस्तो छैन ! लोग्नेको अत्याचार सहन नसकेर त्यसलाई छोडिकन आफैं गरिखाने जोधाहा नारीहरु हाम्रै समाजमा प्रशस्त भेटिन्छन् । अझ भएन हिजोआज त महिलाका हक अधिकारका लागि काम गर्ने संघसंस्था पनि छन् ! किन त्यो बहिनी सबै यातना चूपचाप सहेर बसिरहेकी होली ! मेरो मनमा यस्तै कुराहरु आइरहे । शायद उसलाई कोही आएर उसको उद्धार गरिदेला भन्ने पो लागेको थियो कि ! यस्तो हो भने उसको यो कामना कहिल्यै पूरा हुनेवाला थिएन । आफ्नो लागि आफैं आवाज नउठाएसम्म, आफैं कदम नचालेसम्म कसैले केहि गर्ने छैन । यहि परिप्रेक्ष्यमा मलाई मैले धेरै वर्ष अगाडि पढेको नुजुदको कथाको सम्झना आयो ।

नुजुद अली यमनकी नागरिक हो । ऊ नौ वर्षकी हुँदा आफूभन्दा करिब तेब्बर उमेर भएको पुरुषसँग उसका बाबुआमाले जबरजस्ती उसको बिहे गरिदिए ! सोचिहेर्नोस् त, यो एक्काइसौं शताब्दीमा पनि नौ वर्षकी अबोध बालिकाको विवाह करिब ३० वर्षको मानिससँग गराइदिने कस्तो समाजमा हुर्केकी रहिछ नुजुद अली । आफूले जति विरोध गरेपनि पहिलो दिनदेखि नै नुजुद यौन शोषणको सिकार बनी । यौन शोषण बिस्तारै बिस्तारै घरेलु हिंसामा परिणत भयो । त्यो बिचरी सानी केटी सहायताका लागि हरेक रात चिच्याउँथी तर उसको बचाउका लागि कोही आउँदैनथ्यो । उसको रोइकराइबाट आजित भएर एकदिन लोग्नेचाहिँले नुजुदलाई माइत पुर्याइदिने भयो । तर उसले नुजुदलाई केही दिनपछि फेरि घरै आउनुपर्ने शर्त राख्यो ।


त्यो नरकबाट निस्किएर माइत पुगेपछि आमाबाउले आफूलाई बचाउलान् कि भन्ने झिनो आशा पनि थियो नुजुदको । तर यस्तो केहि भएन । यमनजस्तो अति–पितृसत्तात्मक देशमा महिलाले कुनै प्रकारको आवाज उठाउनु असम्भव प्रायः थियो । यो सन् २००८ तिरैको कुरा हो । उसबेला यमनी महिलाको अवस्था कस्तो थियो भन्ने कुरा नुजुदको भनाइले प्रष्ट पार्छ, “मेरी आमा कहिल्यै केहि बोल्नुहुन्नथ्यो । उहाँ सधैँ उदास र  परित्यक्त जस्तै देखिनुहुन्थ्यो । आखिरमा उहाँको पनि अरु यमनी महिलाको जस्तै मागी बिहे भएको थियो । त्यसैले उहाँलाई हाम्रो देशमा पुरुषले आदेश दिन्छन् र महिलाले चूपचाप त्यो मान्छन् भन्ने कुरा राम्ररी थाहा थियो । उहाँका लागि मेरो पक्षमा बोल्नु भनेको समयको बरबादी जत्तिकै थियो । सहयोगको आशा गरेकी नुजुदलाई उल्टै उसको बुवाले हुकुम दिएछ, “तैँले तेरो लोग्नेको घर छोडेर अन्त जाने भन्ने प्रश्न नै उठ्दैन ।”

त्यतिबेला नुजुदलाई प्रष्ट भयो कि उसका लागि आवाज उठाइदिने यहाँ कोही रहेनछ । यदि उसले आफ्नो नारकीय जीवनबाट मुक्ति पाउने हो भने आफैँ कुनै ठोस पाइला चाल्नु पर्नेछ । उसले आफूलाई यातना दिने क्रुर लोग्नेकी दासी भएर जीवन बिताउनुभन्दा त्योसङ्ग छुटकारा पाउन आफ्नो लागि आफैँ लड्ने अठोट गरी । आफ्नी सौतेनी आमाको सल्लाह बमोजिम् नुजुदले माइतीबाट भागेर अदालत जाने निर्णय गरी ।

उसले निडर भएर आफ्नो अधिकारका लागि अथक लडाईँ लडिरही । अन्तमा, पुरुष समर्थक यमनी कानूनका अनेक झन्झट र झमेलाका वावजूद पनि उसले पारपाचुके पाई । आफ्नो शिक्षालाई पुनः अगाडि बढाउने उसको सपना पूरा भयो । उसलाई अब आफ्नो पक्षमा लडिदिने सदा नसिर जस्तै वकिल बन्नुथियो । त्यतिबेला नुजुदको यस्तो साहसिक कथाले सम्पूर्ण विश्वको ध्यान खिचेको थियो । नुजुद यमनमा ऊ जस्ता साना केटीहरुका लागि रोल मोडल बनेकी थिई । यति मात्र होइन, नुजुदलाई अमेरीकी महिलाहरुको पत्रिका ‘ग्ल्यामर’ले सन् २००८ की वर्ष महिला भएको घोषणा गर्यो । हिलारी क्लिन्टनले समेत नुजुदका बारेमा भनेकी छन्, "मैले देखेका महान महिलामध्ये एक नुजुदले साहसका साथ एक उदाहरण पेश गरेकी छन् ।"


नुजुदको यो सत्यकथालाई सुप्रसिद्ध फ्रेन्च पत्रकार तथा लेखक डेल्फिन् मिनोइले ‘आइ एम नुजुद, एज १० एण्ड डिभोसर्ड् ’ भन्ने पुस्तकमा लेखेकी छन् । नुजुदको जस्तो साहस हरेक महिलाभित्र हुन्छ जस्तो लाग्छ मलाई । दुर्भाग्यवश त्यस किसिमको साहस समाजका अनेक प्रकारका प्रतिबन्धका परतमुनि छोपिएको हुन्छ । एउटी दश वर्षकी बालिकाले आफ्नो जीवनको लागि त्यति ठूलो निर्णय लिन सक्छे भने वयस्क महिलाहरुले त्यसो गर्न नसक्ने भन्ने त हुँदै हुँदैन । फेरि यस्तो कुरा अरुले भनेर हुने पनि होइन । आफ्नो लागि आफैं नै आवाज नउठाइ यहाँ केहि हुनेवाला छैन । यो कुरालाई ती बहिनीकी साथीले बुझ्नु जरुरी छ । उसले आफ्नो जीवन अगाडि बढाउन कुन बाटो लिने भन्ने छनोट गर्न सक्नुपर्छ । नुजुदले जस्तै लोग्नेले दिएको यातनापूर्ण जीवनबाट छुटकारा पाउने या त्यही नारकीय जीवनलाई आफ्नो नियती सम्झिएर स्वीकार्ने निर्णय त स्वयं उसैले लिने हो; अनि उसको निर्णयलाई साथ दिन अनेकौँ सहयोगी हात उठ्न सक्लान् ।

नारीहरु स्वभावतः शारीरिक रुपमा कमजोर हुन्छन् तर त्यसको अर्थ उनीहरु आफ्ना लागि लडाईं लड्न सक्दैनन् भन्ने होइन । आफूजस्ता हजारौं निर्दोष बालिकाहरुलाई कँज्याउने कानूनी जन्जीरहरुलाई नुजुदले सदाका लागि चुँडाइदिई । दश वर्षको कलिलो उमेरमा आफ्नो जीवनको दिशा बदल्न सक्ने नुजुदको अदम्य साहसको जति प्रशंसा गरेपनि सकिँदैन । उसले एकचोटि आफ्नो अत्याचारी लोग्नेको घर फर्केर नजाने निर्णय गरेपछि पछाडि फर्केर हेर्नुपरेन । ऊ जसरी पनि पारपाचुके लिने र पुनः जीवन जिउने कुरामा कटिबद्ध थिई । यसै अनुरुप अगाडि बढेपछि ऊ सफल पनि भई । भलै आज नुजुद अली उसकी रोल मोडल सदा नसिरजस्ती वकिल हुन सकेकी छैन तर उसको कोशीश जारी छ । ऊ जबरजस्ती गरिदिने विवाह र बालविवाह विरुद्ध आवाज उठाउने सामाजिक अभियन्ता बनेकी छ । आफू खुशी आफ्नो जीवन जिउन सक्ने भएकी छ । आफू भित्रको विद्रोहको ज्वाला निभ्न नदिएकैले नुजुद सदियौंदेखिको कुसंस्कारको जरा टक्टक्याउन सफल भई । एकदिन ऊ सफल वकिल पनि बनोस् — नुजुद अलीलाई हार्दिक शुभकामना । यसका साथै ती पीडित बहिनीले पनि आफू भित्रको विद्रोहको आगो जगाउन् । उनमा पनि नुजुद अलीको जस्तै आफ्नो जीवनको निर्णय लिन सक्ने क्षमता र साहस पलाओस् भन्ने कामना छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 25 November 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Friday 18 November 2022

आकाशमा लेखिएका अक्षर

 

 

 

            आज भारतीय कवि अमृता प्रितमको आत्मकथा ‘रसिदी टिकट’ को अन्तिम खण्डमा पुगेकी थिएँ । उनले हिउँमा लेखिएका अक्षरसँग आफ्नो जीवनलाई दाँजेकी रहिछन् । उनको आत्म–वृत्तान्त पढेपछि अमृताका बारेमा केहि कुरा थाहा भयो । सामान्य घर परिवारमा जन्मेकी पंजावी मूलकी अमृता त एक जोधाहा नारी रहिछन् । गर्न खोज्नेलाई समयले बाँध्न नसक्दो रहेछ । साठीकै दशकमा उनले अकल्पनीय ख्याति कमाएकी रहिछन् र देशकै प्रतिनिधित्व गरेकी रहिछन् । हो, उनै अमृताले आफ्नो आत्मकथामा बरफमा कुँदिएका अक्षरहरुको उल्लेख गरेकी छिन् । जीवनको क्षणभंगुरताका बारेमा योभन्दा अर्को अनुपम उदाहरण के हुन सक्छ र ? हाम्रो सारा जीवन बरफमा आफ्ना नाम खोप्नमै बित्छ । त्यो बरफको पग्लिएर जाने गुणको हामी उति वास्ता पनि गर्दैनौँ । हामी ठान्छौँ— हामीले गरेका कामहरु, सुनामहरु बर्षौसम्म रहिरहनेछन्, अनि हामी युगौँ सम्म सम्झिइने छौँ । तर त्यस्तो हुँदैन । पोखरीमा ढुंगा हान्दा सानो पानीको खोपिल्टो पर्छ तर त्यो रिक्तता एकै निमेषमा भरिइहाल्छ । हामीमध्ये कोहि नहुनुको रिक्तता त्यति मात्र हो । बरफमा कुँदिएका अक्षरको स्थायित्व पनि बरफ पग्लेर पानी नहुन्जेल मात्र हो ।


            प्रितमको लेखनी पढिरहँदा मलाई करिब दुई दशक अघिको समयको सम्झना आयो । समय यस्तै यस्तै हो । क्रिस्मस आउन लागेको थियो । म भित्रपट्टि भान्सामा केहि कुरा र मनमा अर्कै कुरा पकाउँदै थिएँ । छोरो सानो थियो र घर पछाडि ब्याकयार्डमा खेल्दै थियो । उसको बाबा लनमोइङ्मा व्यस्त । छोरोले आकाशमा अचम्म देखेछ । अनि बाबुछोरै त्यो अचम्मलाई उत्सव बनाएर नाच्दै कराए— ‘ए, ए बाहिर यता आऊ ।’ गार्डेनमा कुनै अचम्मकै जीव फेला परेजत्तिकै उफ्रेको मैले भित्रबाटै देखेँ र बाहिर निस्केँ । उनीहरुले त आकाशतिर औंल्याए । म पनि त्यो देखेर अचम्भित बनेँ । नीलो आकाशमा बादलकै रंगका धुवाँका अक्षरहरु तैरिरहेका थिए । नीलो आकाशमा चाँदिका जस्ता देखिने अक्षरमा जीजस् सेभ्स अस् , जीजस् इज राइजिङ् लेखिएको थियो । हामीले अचम्म मान्दै ती अक्षरहरु लत्पतिएर नबुझिने हुन्जेल हेरिरह्यौँ । एकछिन् सम्म त त्यो ईश्वरकै चमत्कार हो जस्तो लाग्यो । केहि बेरमा छिमेकी सज्जनले भने— यो जेट प्लेनबाट धुवाँका सहायताले हावामा लेखिएका अक्षर हुन् ।

            आकाशका अक्षरहरुलाई हेरिरहँदा ती अक्षरहरु बिस्तारै धुमिल हुँदै गए ।   ती अक्षरहरु बिस्तारै लत्पतिए र बिलिन भए । कवि प्रितमले उनको आत्मकथामा उल्लेख गरेका बरफमा लेखिएका अक्षर र मैले देखेका धुवाँका अक्षरहरुमा धेरै समानता थियो । नीलो आकाशका ब्याकग्राउन्डमा लेखिएका बादलु अक्षरहरु एकैछिनमा लत्पतिए अनि अस्तित्वविहिन भए । हाम्रो जीवन जस्तै ।

            अमृता प्रितमले ‘रसिदी टिकट’ लेख्ने मनसुवा गरेको कुरा अर्का लेखक खुशवन्त सिंहलाई सुनाएकी रहिछन् । त्यो सुनेर खुशवन्तले भनेछन्— तिम्रो जीवनमा लेख्न लायक कुरै के छ र ? एउटा हुलाक टिकटको पछिल्तिर लेखेपनि हुन्छ । लेखक खुशवन्तको यो कुरा कुनै कटाक्ष थिएन । यो हुलाक टिकटमा लेख्न मिल्ने जीवनकथाको अर्थ शायद ती दुवै धुरन्धर लेखकले बुझेका हुनुपर्छ । खुशवन्तको त्यस कुरालाई सहर्ष स्वीकार्दै अमृताले पुस्तकको अघिल्लो खण्डमा नै सो कुरा उल्लेख गरेकी छन् र त्यो कुराकै आधारमा पुस्तकको शीर्षक ‘रसिदी टिकट’ राखेकी छन् ।


            अमृताका हिउँमा कोरिएका अक्षर, म आफैं साक्षी बनेकी धुँवाका अक्षर र आफ्नो अखबारी लेखनलाई उस्तै ठान्छु बेलाबेला म । हामी सबै कुनै प्रकार र माध्यमबाट आफ्ना कुरा सुनाउन प्रयत्नरत छौँ । माध्यमहरु फरक होलान् तर हाम्रो प्रयास अरुलाई सुनाउनु नै हो । म आफूलाई त्यहि भीडमा पाउँछु । ठूला ठूला लाइब्रेरीमा पस्दा पनि मलाई त्यस्तै उकुसमुकुसले छोप्छ । हजारौँ किताबहरु पाठकलाई पर्खिरहेका हुन्छन् । हेरेर र गनेर नसक्नु शब्दका ठेलीहरु अटेसमटेस गरेर बसेका हुन्छन् । यी भीडहरुमा म कहाँ सुनिइन्छु होला ? मेरो विचारबाट फुत्किएका अक्षरहरुले शब्दका भीडमा कहाँनेर कति महत्व राख्लान् ? यी लुला, लंगडा र कमजोर शब्दहरुले मेरा भावको भारी कहिल्यै बोल्न सकेका छैनन् ।  एउटा कलमजीविले जे सोच्छ, त्यो कुरा बिटल्सका गीतहरुले धेरै पहिले गाइसकेका रहेछन् ।

            हे महाशय, तपाईँ मेरो लेखनी पढिदिनुहुन्छ कि ?

            मैले वर्षौ लगाएर लेखेको लेखनी

            यसो हेरिदिनुहुन्छ कि ?’

            एउटा सर्जकले यस्तै सोच्छ । तर लेखनीको थुप्रो पर्गेलिनसक्नु हुन्छ पाठकलाई । लाखौँ पुस्तक भएको लाइब्रेरीमा पस्दा पनि मैले मनले खोजेका पुस्तक नभेटेका अनुभव छन् । अनि यस्तै अनुभव नोबेल पुरस्कार विजेता लेखिका माया एन्जेलोलाई पनि भएको कुरा मैले पढेकी थिएँ । किताब सम्पादन गर्ने क्रममा आफूले खोजेजस्ता चखिला कथा नभेटेपछि उनले आफैं कलम उठाइन् र साहित्यतर्फ को नोबेल पुरस्कार पनि जितिन् ।

            मलाई थाहा छ, म बादलमा धुँवामा अक्षर कोरिरहेकी छु । मलाई थाहा छ, म बरफका ढिकामा मेरो नाम कुँदिरहेकी छु । तर म निराश छैन । लेख्नुलाई धर्म मानेपछि, मैले लेख्नुपर्छ । म पढिनु वा नपढिनु भन्दा पनि, मैले अक्षर खेलाउनै पर्छ । एउटा लेखकको धर्म नै त्यहि हो । एउटा वाचकको धर्म नै वाचन गर्नु हो । व्यासमा बसेर पण्डितजी पुराण भनिरहेका हुन्छन् तर श्रोताहरु सबैले त्यसमा ध्यान दिएका हुँदैनन् । तर पंडितजीले आफ्नो धर्म निर्वाह गरिरहन्छन् । यस अर्थमा हाम्रो मन र केटाकेटीको मन उस्तै छ । केटाकटीहरु ठूलाले भनेको कुरामा त्यति ध्यान दिइरहेका हुँदैनन् । उनीहरुको मन अर्थोकै केहिले तानिरहेको हुन्छ । ठूला मान्छेहरु पनि त्यस अर्थमा उस्तै हुन् । उनीहरु कुनै सभा, समारोह वा पूराणमा बसिरहेका हुन्छन् तर उनीहरुको ध्यान अन्यत्रै हुन्छ । उनीहरु आफ्नै संवादमा व्यस्त हुन्छन् ।

            किन्डरगार्टेन कक्षामा केटाकेटीहरु देख्ता मलाई त्यस्तै लाग्छ । टिचरले कथा भनिरहेकी हुन्छिन् । उनीहरु एकछिन चाख मानेर सुनेजस्तो गर्छन् । फेरि बुर्कुसि मार्छन् । केटाकेटीहरु केहि खेल्छन् वा केहि खान्छन् । त्यसमध्ये कोहि आफ्नै धूनमा केहि कोर्ने प्रयास गरिरहेका हुन्छन् । हो, यहि मानसिकता नै ठूलाहरुमा पनि हुन्छ । एउटा सिंगो समूह एकै प्रकारले ध्यानमग्न हुँदैन ।

           


    जुनसुकै अवस्था वा परिस्थितिमा पनि मानिस देखिइन र सुनिइन चाहन्छ । यसका लागि नै ऊ सधैँ प्रयासरत रहन्छ । तर यी सम्पूर्ण प्रयासहरु धुवाँका अक्षरहरु अथवा बरफमा कोरिएका चित्रहरु सरह नै हुन् । कुनै अक्षरहरु अलि समय टिक्लान्, कुनै त त्यसै धूमिल भएर जान्छन् । पहिले पहिले रत्नपार्कमा सडक पेटिमा चकले चित्र बनाउने कलाकार देख्थेँ म । ऊ विभिन्न रंगका चकहरु प्रयोग गरेर देवताका प्रतिविम्व भुर्इंमा उतार्थ्यो । सडक पेटीमा हिँड्ने मान्छेहरु तर्केर हिँड्थे । केहि पैसा त्यो चित्रकारतर्फ़ फाल्थे । साँझ परेपछि दोबाटे कलाकार आफ्नो झोला टिपेर हिँड्थ्यो । दिनभरि श्रद्धाले तर्केर हिँडेका मान्छे अध्याँरामा तिनै चित्रमाथि कुल्चँदै हिँड्थे । दिनभरी जोगाएर राखिएका देउता साँझ छिप्पिएसँगै बिलाउँथे । बिर्सिइन्थे । यी चकले कोरेका देवता, धुँवाका अक्षर र बरफमा कोरिएका नामहरुमा आज म समानता देख्दैछु ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 18 November 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Saturday 12 November 2022

बुवाको गाउँमा मोटर पुगेछ

 

        मानिसका बाल्यकालका सम्झनाहरु जीवनका अरु कालखण्डका भन्दा प्यारा हुँदा रहेछन् कि के हो ! त्यसै भएर होला शायद जीवनपर्यन्त तिनले पछ्याइरहन्छन् । बाल्यकालका यस्तै मीठा सम्झनामध्ये एउटा सम्झना — केटाकेटी बेलामा हाम्रा बुवाको जन्म गाउँ जाने गरेकोले मेरो मानसपटलको एक खण्ड ढाकिएको हुन्छ ।


            मैले यसो सम्झी हेरेँ— म अन्तिमपटक कहिले त्यहाँ पुगेकी रहेछु भनेर । मनमनै हिसाब गरिहेर्दा झण्डै साढे चार दशक अगाडि रहेछ । पूर्वी पहाड धनकुटाको एउटा गाउँ–फलाँटे । त्यो समयमा धनकुटा बजारबाट बिहान झिसमिसेमा हिँड्दा दिउँसो २३ बजेतिर पुगिन्थ्यो । शायद बुवालाई फलाँटे अतिप्रिय थियो । त्यहाँका अनेक किस्सा उहाँ हामीलाई सुनाइरहनुहुन्थ्यो । कहिले गाउँबाट तल बेसीमा खेती गर्न गएको, घाँसदाउरा गरेको, पिरो नखाने हजुरबुवाको खानामा अन्जानमा केही पिरो वस्तु परेको र हजुरबुवा खाना खाइसकेपछि हँसिया बोकेर खोर्सानीको बोट काट्न बारीमा जानुभएको । बुवाका यस्तै दन्त्यकथाजस्ता लाग्ने सम्झनाका बीचमा मुवाँले सुनाएको कथा पनि कम रोमाञ्चकारी लाग्दैनथ्यो ।

            मुवाँलाई विवाह गरेर बुवाले बेहुलीका रुपमा फलाँटे नै लानुभएको थियो रे । धनकुटा बजारकै सेरोफेरोमा हुर्किनुभएकी मुवाँलाई गाउँका विकट बाटाहरुको त्यतिसारो अनुभव रहेनछ । जे भए पनि अब विवाह गरेर दिएको घर त जानैपर्यो । तेर्सो बाटो र ओरालो बाटोमा त ठीकै हो तर ठाडा ठाडा उकाला चढ्दा चैँ मुवाँ गलेर बिस्तारो हिँड्नुहुन्थ्यो रे । यस्तो बेलामा मुवाँलाई मनोरञ्जन गराउन बुवा बाँसुरी बजाउनुहुन्थ्यो रे । धनकुटाबाट फलाँटे जाँदा आउने सबभन्दा प्रख्यात राम्चेको उकालो थियो । त्यहि राम्चेको उकालामा बुवाले बाँसुरी बजाउँदै बेहुली मुवाँलाई फकाएको कुरा माहिला काका अझै पनि गर्नुहुन्छ । 

            माहिला काकाकै पछि लागेर म फलाँटे गएकी थिएँ । पहाडको बाटो केटाकेटी मान्छे म रमाउँदै रमाउँदै बुवाको गाउँ हेर्न हिँडेकी थिएँ । देब्रेबास, कागते, निगाले, हिले, पाख्रीबास मानवबस्ती भएकै ठाउँ थिए । तैपनि एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेल सिर्फ उकाला ओराला बाटा, फाट्टफुट्ट बटुवा, हरीयाली, रमाइलो मौसम । हिले पुग्नेबेलाको चिसो हावा र फुसफुस उड्ने कुहिरोले आज पनि मेरो मनमा शितलता ल्याउँछ । मलाई सबभन्दा रमाइलो हिले छोडेर तलतिर लागेपछि लाग्ने गर्थ्यो ।

            हिलेदेखि उताको हावापानी नै अर्कै । ओसिलो जमीन, बाटोको दायाँ बायाँ हरियाली, निकैबेर हिँडेपछि भेटिने १२ वटा घर, अनि फेरि सुनसान बाटो, ठाउँ ठाउँमा जरुवा पानीको भाटे धाराको कुलुलु । अँजुलीमा त्यो पानी थापेर खानुको मजै अर्को । मुगाखोलाको सुनसान र डरलाग्दो ओरालो । अनि पाख्रीबास कृषि केन्द्रको झिलिमिलि रमाइलो । त्यतिबेला ब्रिटिशहरुकै हातमा भएकाले त्यो कृषिकेन्द्र गुलजार थियो । पाख्रीबासभन्दा उताको बाटो म सम्झिन्न तर राम्चेको उकालो र फलाँटे पुग्ने बेलाको तिनदोभानेको जंगलचाहिँ बिर्सिएकी छुइनँ ।

            फलाँटेमा हाम्रा थुप्रै आफन्त हुनुहुन्थ्यो— माहिला काकाको परिवार, कान्छा काकाको परिवार, साहिली ठूलीआमा विशेष हुनुहुन्थ्यो । अरु घरहरु भएका ठाउँलाई बाटापारि, माझाघर, तिखेढुङ्गा जस्ता नामले पुकारिन्थ्यो । बुवाको नाम जोडिएर होला यो ठाउँ मलाई रमाइलो लाग्थ्यो ।

            मेरो मनमा भएका फलाँटेका सम्झना यस्तै यस्तै थिए । बिचमा जान मन नलागेको त होइन तर कहिल्यै मौका नै परेन । बि.एड. पढिसकेर करिब एक वर्ष मैले पाख्रीबास कृषि केन्द्रद्वारा सञ्चालित शीतलादेवी प्राथमिक विद्यालयमा पढाएकी थिएँ । त्यतिबेला पनि फलाँटे जाने साइत जुरेन ।


            यसपालीको दशैँको छुट्टीमा भने अचानक हाम्रो फलाँटे जाने योजना बन्यो । धनकुटाबाट सान्दाजु, भाउजु, म र मेरा श्रीमान् मिलेर बिहान गएर बेलुका फर्कने भयौँ । यस्तो सम्भव होला कि नहोला भन्ने शंका पनि थियो मनमा । पहिले पहिले ८१० घण्टा हिँडेर बल्ल पुगिने ठाउँमा एकै दिनमा पुगेर फर्कन सकिन्छ भन्ने कुरा मलाई अलि रोमाञ्चकारी पनि लाग्यो । मान्छे भन्न त भन्थे — “ए ! आजकल त फलाँटेसम्मै गाडी जान्छ ।” तर कहाँबाट जान्छ, कसरी जान्छ देखेको थिएन । आफ्ना आँखामा त हिँडेर गएको मात्र झलझली थियो ।

            बिहान सात बजे हामी धनकुटाबाट एउटा मारुती भ्यान रिजर्भ गरेर पाख्रीबाससम्म जाने भयौँ । मेरो मनभरि फुसफुसी भूर्इं कुइरो उडिरहेको हिले बजारको चित्र गाडिएको थियो । हिले उक्लिएपछि त्यो चित्र भत्कियो । पुरानो हिले बजारको स्वरुप नै बदलिएछ । धरान, धनकुटाभन्दा हिले खासै फरक देखिएन । कुइरोको सट्टा टनटलापुर घामले हाम्रो स्वागत गर्यो । मैले पाख्रीबासको पहिलेको मौलिक स्वरुप पनि भेटिँन । पाख्रीबास कृषि केन्द्रलाई तलै छोडेर डाँडा माथिमाथिबाट मोटरबाटो कुद्ने भएकोले आफूलाई प्रिय लाग्ने त्यो कृषि केन्द्रको एक झलकसम्म मैले पाइनँ । पाख्रीबासबाट फलाँटेसम्म पुग्नका लागि भाइ चन्द्रले एउटा अटोको बन्दोबस्त गरिदिएको थियो । अटोवाला खड्का कान्छा भाइ अलि गफाडि नै रहेछ । उसले हामीलाई कसरी पाख्रीबासबाट सिधै भोजपुर जाने बाटो नबनुन्जेल फलाँटे चम्किएको थियो भन्ने कुरा सुनायो । पाख्रीबासबाट फलाँटेसम्म बस कुद्न थालेपछि मान्छेहरु व्यापारको अवसर खोज्दै फलाँटेतिर आएका थिए रे । त्यतिबेला भोजपुरदेखिका  मान्छे किनमेल गर्न फलाँटे आउँथे रे । यो वि.सं. २०५८५९ तिरको कुरा रहेछ । त्यतिबेला फलाँटेमा जग्गाको किनबेच पनि निकै भएछ । त्यो गाउँ सानु सानु पहाडी बजारमा परिणत भएछ । तर हिजोआज फलाँटे शून्य छ । कुनै बस त्यहाँ पुग्दैनन् । बस पाख्रीबासबाट सिधै भोजपुर जान्छन् । व्यापार व्यवसाय केहि छैन । त्यसैले यो बाटोमा खाली यहि तीन पांग्रे अटो मात्र कुद्छ लोकल मान्छे बोकेर, खड्का कान्छो कथा सुनाउँदै थियो । मेरा आँखा भने उहिले भेटिएका जरुवा पानीका धारा खोज्दैथिए र निराश हुँदै थिए । पहिले हिँड्ने बाटोमा भेटिने रोमाञ्चक अनुभूतिहरु अटोको द्रुत गति र हिँड्नु नपर्ने सहुलियतसँग साटिँदै थिए । मैँले नत राम्चेको उकालो भेटेँ, न त तिनदोभानेका घना जंगल नै ।


            अहिलेको फलाँटेले मेरो मनको तिर्सना मेट्न सकेन । मैँले चिनेजानेका आफन्तमा कान्छा काका काकीबाहेक कोहि पनि त्यहाँ बाँकी रहेनछ । कतिजना त अर्कै लोकमा पुगिसकेका । बाँकी भएकाहरु पनि बसार्इं सरेर अन्तै गएका । गाउँको स्वरुप भत्किएर अर्कै भएको । पहिले बोल्ने गरेका ठाउँका नाम मेटिएका । बाटामा देखिने अनुहार सबै नयाँ । त्यो टुक्रिएको चित्रका चोइटा उठाएर मैले जोड्न सकिन । मेरो मनको फलाँटे हराएछ । अहिले त यो ठाउँ पाख्रीबास नगरपालिकाभित्र पो पर्दो रहेछ ।

            त्यहीँका स्थानीयलाई त यातायातको सुविधाले पक्कै पनि फाइदा पुर्याएको होला । उनीहरुलाई त्यो सबै परिवर्तन शायद अनौठो नलाग्दो हो । तर म भनें अब कहिल्यै फलाँटे जाने रहर गर्दिन होला ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 11 November 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]