Friday 28 May 2021

दाउराको जोहो

 


यो जीवन दाउराको जोहोमा बित्यो,” एकदिन कुरै कुरामा मेरी सासुआमाले भन्नु भएको थियो। उहाँको त्यो वाक्य  धेरैबेरसम्म मेरो मानसपटलमा गुन्जिरह्यो ।  ख्यालख्यालमै बोलेको कति सत्य कुरा थियो त्यो।  हामी सबै त्यसै गरिरहेका छैनौ ? पूर्वीय चिन्तन परम्पराअनुसार हामीले गर्ने सबै क्रियाकलाप मृत्युकै तयारी हुन्।  भव्यतापूर्वक, सभ्यतापूर्वक वा कनिकुथी नै भएपनि गरिएका सम्पूर्ण तयारी अन्तिम यात्रातिरै लक्षित भएका हुन्छन। ठुला ठुला ज्ञानीहरू, दानीहरु, खुंखार अपराधीहरु बेनाम बाँचिरहेका सम्पूर्ण जीवनहरुको समाप्तिको प्रक्रिया एउटइ - कि उनीहरु गाडिन्छन् , कि जलाइञ्छन्   यस्तो थाहा पाउँदा पाउँदै पनि जन्मनु मर्नुका बीचको  कालखण्डलाई हामी कति महत्व दिन्छौं भन्ने कुराको चर्चा गरि साध्य छैन।  यहाँ उत्साह छन् , निराशा छन् , ज्ञानका कुरा छन् , अज्ञानका छन् , समानताका छन् अनि असमानताका पनि छन्।  हाम्रो सम्पूर्ण जीवन यिनै परिवृत्तमा घुमिरहनछ।


अदृश्य पर्दा

हामीभित्र त्यस्तो के जसले परम चेतना वा अन्तिम सत्यलाई सधै  बिर्साउँछ अहिलेको सोसल मेडियाको युगमा ज्ञान सर्बत्र सर्वसुलभ छ। के एउटा पढ्न जान्ने मान्छेलाई जुनसुकै पुस्तक पढ्न दिए पनि त्यसमा भएका सबै कुरा उसले ग्रहण गर्न सक्छ ? शायद  सक्दैन। त्यसका लागि ऊभित्र अलिकति अंतर्चेतनाको खाँचो पर्छ।  तर आफूसँग भएको सतही ज्ञानलाई नै हामी अन्तिम सत्य मान्छौं, अनि त्यहिंबाट तर्कको उत्पत्ति हुन्छ।  यिनै बाह्य तर्क बितर्क नै हामीलाई परम चेतनासम्म पुग्न नदिने अदृश्य पर्दा हुन्।  यी पर्दा नउघ्रियेसम्म हामी सिर्फ धराबासी मानवका रुपमा जीवन जिउँछौं।  एउटा बृहत नाटकका पात्र बन्छौं र बढो तन्मयतापूर्वक आफ्नो सांसारिक भूमिका निर्वाह गर्छौं।  दृश्य रुपमा देखिने सम्पूर्ण मानव  स्वरुप यही बृहत नाटकका पात्र हुन्।  तपाईं हामी पनि यसका अपवाद होइनौं। 


कोरोना संदेश

होस् सम्हाल्न सक्ने भएदेखि नै मानिस असाध्य दौडधुपमा हुन्छ। निरन्तर राम्रो, गतिलो ठुलो हुने प्रयासमा हुन्छ।  यी प्रयासहरुका प्रकार गणना गरिसाध्य छैन।  मानिसलाई यही धपेडीबाट केही समय रोकिन सोच्न कोरोनाले संदेश दिइरहेको जस्तो लाग्छ मलाई। 

एकछिन पर्खिए पनि, सुस्ताए पनि बितिजाने केही  रहेनछ।  यो धर्तीको डेरा छाड्नु नै एकदिन, तैपनि हामीलाई बितिबिताउ छ।  यही प्रसङ्गमा मलाई एउटा सन्दर्भको स्मरण हुन्छ।  मुम्बईमा धेरै जिज्ञासुहरुका बीचमा स्वामी राधानाथ यिनै जीवन चिन्तनका बारेमा चर्चा गर्दै हुन्छन्।  त्यतिखेरै एउटी महिला आफ्नो आसनबाट उठ्छिन भन्छिन् , “ स्वामीजी मैले मेरो छोराको पढाइ सिध्याउनु , एउटा घर बनाउनु , मेरी बुढी आमा पनि बिरामी छन् , लोग्नेको जागिर टाढा अर्कै शहरमा छ।  यिनै कारणले गर्दा भगवानको चिन्तन गर्न सक्दिन।  प्रभुले मेरा यति समस्या समाधान गरिदिए पनि ढुक्कले ईश्वरको ध्यान गरेर बस्थें होला। " हो, हाम्रा यस्तै अनगिन्ति समस्या छन्।  प्रकारान्तरले फरक भए पनि हामी सबैका समस्या खोला झैँ बगिरहन्छन्। खोलाको पानी बरु बगेर सकिएला तर समस्या कहिल्यै पार लाग्दैनन्।  त्यसैले यो लकडाउनको समय - 'टाइम अफ कन्टेम्प्लेशन ' हो।  भुट्भुटिने, छट्पटिने, डिप्रेशनमा गइहाल्ने समय होइन किनभने यो वैश्विक समस्या हो, व्यक्तिगत होइन।

अर्को एउटा प्रसङ्ग जोड्नु पनि यहाँ सान्दर्भिक देखिन्छ।  बुद्धमार्गी एउटा शिष्य  १२ बर्ष  तप गरेर पनि पार नलागेपछि जेन बुद्धमार्गी गुरुकहाँ गएछ भनेछ-"मैले १२ बर्ष तप गर्दा पनि यो दिमाग शान्त गराउन सकिन गुरुदेव।  कसो गरौँ , मलाई उपाय सुझाउनुपर्यो। " गुरु चिया पकाउदै रहेछन्।  उनले केही नबोली चियाको एउटा रित्तो कप चेलाको अगाडि राखिदिएछन् अनि चियाको कित्ली ल्याएर खन्याइदिएछन्।  चियाको कप भरिएर पोखिन थालेछ ।  " भयो गुरु, यो भरियो," चेलोले भनेछ तर पनि गुरुले चिया खन्याइनै राखेछन्। हेर्दा हेर्दै कित्ली रित्तियो। अनि गुरुले सोधेछन् ,"एउटा कपमा कति चिया अँट्छ ? कप रित्तो पारेर आउनू। " हाम्रा दिमागी कपहरु भरिएका छन् त्यही चेलाको जस्तै।  यी कपहरुलाई हामीले बढो जतनपूर्वक  जोगाएका छौ।  हाम्रो वश् चलेसम्म तिनमा भएका कुरा हामी रित्याउँदैनौं।  अनि नयाँ कुरा कसरि भरिन्छन् ?

 

अन्तिम तयारी

मृत्यु सधैं 'असामयिक' नै हुन्छन्।  उमेर ११० पुगिसक्दा पनि हामी अन्तिम तयारीमा त्यति जुट्दैनौ।  हाम्रा अधुरा कार्यहरु प्रसस्त हुन्छन्।  मेरो अनुभवमा पश्चिमा संसारमा भने अलिक फरक हुने रहेछ।  मेरो एउटा अस्ट्रेलियन साथीकी ८५ बर्षे आमाले एकदिन बढो गौरवान्वित हुदै सुनाई, " अब मलाई ढुक्क भो।  मेरो अन्तिम संस्कारका लागि मैले पुरै किस्ता बुझाइसकें। " यो भनाइ मेरालागि नितान्त नौलो थियो।  उनीहरु सकेसम्म छोराछोरीलाई बोझ नपरोस भनेर आफ्नो मृत्युपश्चात् गाडिने ठाउं हेरेर, आफ्नो गच्छे अनुसारको ठाउँ छानेर, त्यस जमीनका लागि कति तिर्न पर्ने हो, त्यो अन्तिम संस्कार गर्ने कम्पनीलाई किस्ताबन्दी रुपमा पैसा बुझाउँदा रहेछन्।  त्यो साथीकी आमाले मलाई  एकदिन उसले छानेको भव्य चिहानघारीमा लगेर बिलिन हुने ठाउँ पनि देखाएकी थिई। 

 

दाउराकै कुरा

दोश्रो लहरको कोरोनाले आक्रान्त पारेको बेला हामी केही पीडितहरु ज्यान जोगाउने दौडमा छौ। केही पर्दाभित्र लुकेर अझ बढी कमाइरहेका छौं।  अधुरा सपनाहरुसँगै  ज्यान भुकुभुकु ढलिरहेछन्।  एक प्रकारको खोपको आधा मात्रा लगाएकाहरु अर्को मात्राको लागि पुकारा गरिरहेका छन्। कोही दुई मात्रा नै भेटेर ढुक्क भएका छन्।  अस्पतालहरु भरिएका छन्।  अनिंदा  आँखा लिएर डाक्टर नर्सहरु डा तुलसी प्रसाद भट्टराईले नामाकरण गरेझैं ' “गिद्धबाहिनी कोरोना का विरुद्धमा निरन्तर लडदैछन् सरकार आफु सुरक्षित रहेर हाम्रालागि अक्सिजनको व्यवस्था गर्दैछ ।  तर अक्सिजनको व्यवस्थापन भइनसकुन्जेलका लागि एक मन्त्रीले केहि दिन अगाडि ,”आर्यघाटमा दाउराको कमी हुन नदिनू," भन्ने आदेश सम्बद्ध पक्षहरुलाई दिएका छन्।  आशा गरौँ  हामीले केही नभए पनि अन्त्यष्टि कार्यका लागि पर्याप्त दाउरा पाउनेछौं।  सम्पूर्ण मृतक तथा उनिहरुका आफन्तजनले दिएको आशिषको प्रतापले मन्त्रीज्यूको उत्तरोतर प्रगति हुने नै छ। 

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 28 May, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]



Friday 21 May 2021

यात्राका कुरा


 


निर्बाहका लागि गरिने दैनिक तालिकाले कहिलेकाही जीवनमा उच्चाट  लाग्छ ।  ’यात्रा’ शायद यस्तो उच्चाटदेखि मुक्ति पाउने एउटा तरिका हुन सक्छ । हाम्रो संस्कृतिमा पनि परापूर्ब समयदेखि तीर्थाटनको प्रचलन थियो । केहि नभए पनि एक जीवनमा एकपटक महिनौं हिडेर भए पनि तीर्थाटन गर्ने चलन थियो ।  तीर्थ संगसंगै घुमाइ फिराइ र फरक संस्कृति अनि संस्कारसँग मानिसहरु परिचित हुने मौका पाउँथे ।  

अहिले आधुनिक युगमा आएर तीर्थाटन बाहेक पनि घुम्न जाने प्रचलन बढेको छ ।  स्वदेशदेखि विदेशसम्मै नेपालीहरु घुमफिरमा जाने चलनले आन्तरिक पर्यटनले पनि बढावा पाएको छ । मनोरन्जनका लागि स्थानीय स्तरमै बिभिन्न फन पार्क र क्रिडा स्थलहरु बिकसित हुदै गइरहेका छन् । यो हामी सबैको लागि अति नै गौरबको कुरा हो ।  यस्ता पर्यटकीय स्थानहरुको बिज्ञापन गरेर बिदेशी पर्यटकहरु समेत तान्न सक्दा अझ राम्रो हुने थियो ।  

यात्राको चाहना मानब मनको अन्तर्निहित कुरा हो । अहिलेको बेफुर्सदी र एकोहोरो जीवन पद्धतिले केहि समयको अन्तरालमा एक प्रकारको चिन्ता र तनाबको सिर्जना गर्दछ ।  निजी कार्यमा निर्लिप्त भइरहँदा घर परिवारलाई पर्याप्त समय दिन पाइरहेकै हुदैन । तर यस्ता छोटा वा लामा यात्रा योजनाहरुले मानिसलाई एक किसिमको उर्जा र ताजगी प्रदान गर्दछ । नयाँ ठाँउ, नयाँ परिवेश, नयाँ खानाका स्वाद र नयाँ प्रकारको बोलिचालिले रौनकता ल्याउँछ ।

'मेरो यात्राका कथा’ पुस्तकमा भारत यात्राको क्रममा लेखक बिनोद दीक्षित लेख्छन्, “हाम्रा गाडी लगायत अन्य गाडीहरुका  ठूला काफिला मसुरीबाट ओरालो लाग्यो । के यी सबै चारधाम निम्ति ओइरिएका हुन् ? तर, होइन रहेछ ।  केहि समयपछि केम्प्टी फल्स आइपुग्यौं । त्यहाँ पनि लाइनमा बसेका हजार भन्दा बढी गाडी । केम्प्टी फल्स हेर्न आएका रहेछन् भारतीय क्रेजी पर्यटकहरु । फेरि फल्स (छाँगो) पनि कस्तो सानो । नेपालमा त्यस्ता फल्स अनगिन्ति छन् तर हाम्रो सरकार कमजोर, हाम्रो सोच कमजोर ।  पर्यटन उद्योगको विकासतर्फ जति लाग्नु पर्ने हो, हामी त्यता लागेनौं ।" उनको यो अभिव्यक्तिले मलाई आफू अस्ट्रेलिया छँदा पेन्गुइन् परेड हेर्न फिलिप आइल्याण्ड  गएको स्मरण गरायो । मैले पनि त्यतिखेर दीक्षितले ’केम्प्टी फल्स’ मा पर्यटकको भीड देखेर जे सोचे त्यस्तै नै सोचेकी थिएँ ।

हामीलाई विश्वविद्यालयले नियमित भ्रमणको सिलसिलामा त्यसपटक फिलिप आइल्याण्ड लाने भएको थियो । यो ठाउँको चर्चा प्रख्यात पर्यटकीय स्थलको रुपमा मैले निकै सुनेकी थिएँ । अनि त्यहाँको मुख्य आकर्षण भनेको पेन्गुइन् परेड थियो । फिलिप आइल्याण्ड मेलबर्न शहरबाट करिब १४२ कि मि को दूरीमा पर्दछ । 

त्यस बिहान करिब २०–२५ जनाको टोली बसमा चढेर आफ्नो गन्तब्यतिर लाग्यो ।  पेन्गुइन्को परेड हेर्नलाई बेलुकासम्म पर्खिनुपर्ने भएकोले दिनभरी हामीले त्यहाँ वरिपरिका ठाउँतिर घुमेर बितायौं ।  साँझ पर्ने बेलामा हामी परेड हेर्ने ठाउँतिर लाग्यौं । त्यहाँ बिभिन्न देशका पर्यटकको भीड थियो ।  सबै टिकेट काटेर लामबद्ध भई समुद्रतिर लाग्दैथिए । हामी पनि त्यहि  झुण्डमा हेलियौ । समुद्रबाट अलि टाढै मानिसहरु बस्ने प्याराफिट बनाईएको थियो । मान्छेहरु आफूलाई उपयुक्त हुने ठाउँ हेर्दै,  बस्दै गर्न थाले । अँध्यारो नभैकन समुद्रबाट पेन्गुइन् ननिस्कने रहेछन् ।          

 

मानिसहरु धैर्यपूर्बक अँध्यारो हुने प्रतिक्षा गर्न थाले । ठुलो साँझ परेपछि तल समुद्रबाट ढलक ढलक गर्दै पाँच–सात वटा पेन्गुइन् किनारमा निस्किए र आफ्नो बासस्थानतिर लागे । ती भुँइ चराहरुका ससाना झुण्ड अति सुस्त गतिमा हिड्दै थिए ।  त्यति हेरेपछि मानिसहरु कल्यांग्कुलुंग गर्दै फर्कने तरखर गर्न लागे । म भने छक्क परें ।  मैले आफ्नो मस्तिस्कमा बनाएको पेन्गुइन् परेडको चित्र  त्यहाँ देखिएको दृष्यसँग मेल खान पाएन । ’परेड’ भन्ने बित्तिकै मैले सैनिक परेड जस्तै थुप्रै पेन्गुइन् एकैसाथ देखापर्नेछन् र समुद्री किनारमा आएर रमिता देखाउनेछन् भन्ने सोचेको त ! किन त्यस्तो हुन्थ्यो ! मलाई चित्तै बुझेन । आफ्नो आशा पूरा नभएकोमा म निकै खिन्न थिएँ ।  

त्यतिबेला अनायासै मैले हाम्रो देशमा भएका रमणीय ठाउँहरु सम्झिएँ र तिनको पर्यटकीय मूल्य जति हुनुपर्ने हो त्यति नभएकोमा अलि दुःखी भएँ ।  कुरो खालि बजारीकरणको त रहेछ ! नेपालीमा एउटा उखान नै छ नि, “बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्तैन" भन्ने । सानै कुरालाई ठुलो पारेर प्रस्तुत गर्दा त्यो कुरामा धेरै मानिसको ध्यान जान्छ ।  मैले पढेकी छु – दैनिक रुपमा ३००० देखि ४००० मानिसहरु पेन्गुइन् परेड हेर्न फिलिप आइल्याण्ड जान्छन् ।

पर्यटन व्यवसाय देशको आर्थिक बिकासका लागि एउटा बलियो टेवा हुने कुरा सर्बबिदितै छ । अहिलेको महामारीले अत्याधिक असर पारेको क्षेत्रमध्ये होटेल तथा पर्यटन व्यवसाय पनि एक हो ।  तुलनात्मक रुपमा पर्यटन व्यवसाय अलिकति अगाडी बढेको र सक्षमतातर्फ लम्केको अवस्थामा कोरोना कहरले अपूरणीय क्षति गरेको छ । तथापि अर्को विकल्प केहि नभएको अवस्थामा हामीले हालको महामारीको अन्त चाडै हुन्छ र सहज दिन आउँछ भन्ने विश्वास राख्नुपर्छ । फेरि छिटै सहज भएर हिडडुल गर्ने दिन आउन् र विश्व समुदायलाई आफ्ना प्रकारका यात्रा गर्नमा कुनै प्रकारको अवरोध नआओस् भन्ने कामना  हामी सबै मिलेर गरौं ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 21 May, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




Friday 14 May 2021

घरको फ्लेबर

 


हामी जहाँसुकै जाउँ, जस्तासुकै आलिसान ठाउँमा बसौं, जतिसुकै मीठा खानेकुरा खाउँ, ती कुनै कुराले हाम्रो घरको तिर्सना मेट्न सक्दैनन् । यहाँ ‘घर’ भन्नाले आफूले जीवनको महत्वपूर्ण समय बिताएको बासस्थान र यसको सेरोफेरो भन्ने बुझ्नुपर्छ । हाम्रो बोलिचालिको भाषामा यो मूलघर हो । 

नयाँ शताब्दीको नयाँ महामारीले अचम्मको पाठ पढाउँदैछ मानव जगतलाई । महामारीले परपर बस, नजिक नआऊ भन्छ । तर जति पर पर भन्छ, यो मन उति नजिक  हुन खोज्छ । भारतका दिल्ली, मुम्बई र नेपालको काठमाण्डौ जस्ता ठूल्ठूला शहरबाट आफ्नो पुरानो बासस्थान सम्झेर, लर्को लागेर आउने जनसमूहको भीड त्यहि ‘नजिकिने क्रम’ हो जस्तो लाग्छ । शहरमै स्थायी घरबास सिर्जना गरेर बसिरहेकाहरुलाई पनि मनमा शान्ति भएजस्तो देखिन्न । 

पक्कै पनि शहरमा जे उपलब्ध छ, त्यो सुखसुबिधा गाउँघरतिर छैन । शहरमा खोजेको र रोजेको नपाउने केही हुन्न । तैपनि घरकै मुन्टा मीठो, घरकै चामल मीठो, घरकै तरुल मीठो, घरकै पानी मीठो, खुला धारामा चिसो पानीले नुहाउनु नै मजा । 

यसपाली भन्दा हामीले अघिल्लो महामारीको समयमा घर फर्किनेहरुले भोगेका कारुणिक र मार्मिक दृष्यहरु देख्यौं । घर आउने क्रममा सैयौं बाटैमा थला परे र घरको सपना मनैमा राखेर ढले । ती मानिसहरु किन हुत्तिएका थिए होला ? उनीहरु जहाँ थिए, त्यहीं पक्कै सुरक्षित थिएनन् र आफू जहाँ सुरक्षित हुइन्छ भनेर फर्कदै थिए त्यहाँ पनि अर्को प्रकारको असुरक्षाले सताएरै उनीहरु परदेश हिड्नुपरेको थियो होला । यो त भौतिक रुपमा असुरक्षा महसुस गरेर भागदौड गर्ने मानवहरुको एक पक्षिय चरित्र हो । तर भौतिक रुपमा सुरक्षित मानिसहरु पनि मानसिक रुपमा सुरक्षित देखिदैनन् । 


यस्तै दुई तीन हप्ता अगाडि हाम्रो घरकै एक सदस्यले अमेरिकाबाट फोन गरेर घर आउने कुरा गर्नुभयो । यो उत्साहजनक कुरा थियो । आगन्तुकका लागि दुईवटा छनौट उपलब्ध थिए — आधुनिक सुबिधा सम्पन्न घरमा बस्ने कि आधारभूत सुबिधा भएको मूलघर रोज्ने ? वहाँले मूलघर नै रोज्नुभयो । वहाँलाई शायद घरको फ्लेबरले तान्यो । हरेक प्रकारका सुबिधाहरु त उहाँले भोग गर्नुभएकै थियो परदेशमा । वहाँका लागि एउटा कोठा तयार भयो तर त्यहाँ अझै माकुराका जालाहरु भित्तामा लिपिएका थिए । लामो समयदेखि प्रयोगमा नआएको रित्तो कोठाको दुर्बास रुमल्लिरहेकै थियो । काठको घरको भुँइतला  भएकोले मुसा, साङला, कीरा, भित्ती र भ्यागुता दौडिनु स्वभाविक नै थियो । त्यसमाथि अलिअलि प्वाल परेको झुल र डोरीले मुख बाँधिएको सिरानी हतारमा जुगाड गर्न सकियो । "हेर्नू त यो सिरानी र झुल । यो त भएन नि ! पाहुनाले के भन्नुहुन्छ ?" भनेर मैले सोध्दा श्रीमानले सहज भावमा भन्नुभयो, " केही हुन्न । घरको फ्लेबर भनेको यस्तै हो । सबैथोक अपटुडेट त होटलमा मात्र हुन्छ ।"

घरको फ्लेबरसगै उडेर म धनकुटाको माइतीघर पुगें । त्यहाँ बुवाले अध्ययन गर्ने धार्मिक तथा अन्य पुस्तक मुवाँले सधैं मिलाएर राखिदिनुभएको हुन्थ्यो । सधै प्रयोगमा नआउने लुगा, पोका, पोका बनाएर खाटमाथि अथवा खाट बाकसमाथि राखिएको हुन्थ्यो ।  त्यहाँ बिटुलो लुगा लगाएर खाना पकाउन पाइदैनथ्यो ।  बेलुका साँझ बत्ती नबाली खाना खान हुदैनथ्यो ।  बिहान भान्सा कोठा नबढारी भान्साको काम सुरु गर्न मिल्दैनथ्यो ।  बुवाका अगाडी फर्सीका मुन्टा भन्न हुदैनथ्यो, फर्सीका टुप्पा भन्नुपर्थ्यो  । त्यसैगरी, रामभेडा नभनेर गोलभेडा वा टमाटर भन्नुपर्थ्यो  ।  पिस्ट पायस हाम्रो घरमा बन्ने चर्चित खाद्य पदार्थ थियो । यो नाम पनि बुवाले नै जुराउनु भएको थियो । मुवाँले पकाउने आलुको कवाफ अझैसम्म मेरो जिब्रोमा झुन्डिएकै छ । यी र यस्तै खाले अनगिन्ति फ्लेबर घरबाहेक अन्त भेटिदैनन् । मलाई विश्वास छ, तपाईहरुका पनि आफ्ना आफ्ना घरका रोचक ‘फ्लेबर’ पक्कै होलान् । 

  (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 14 May, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




Sunday 9 May 2021

खुल्ला पुस्तक परीक्षाले ल्याएको तरंग

 




गतवर्ष
झैं  यसपाली पनि कोभिड १९महामारीका कारणले सबै क्षेत्रहरु खल्बलिए शिक्षा क्षेत्र पनि यो महामारीको ठूलो चपेटामा पर्यो । गतवर्ष बरु विद्यालयहरुले चैत्रमा अन्तिम परीक्षा हतारोमा भए पनि गर्ने मौका पाए त्यसपछि बन्द भएका बहुसंख्यक विद्यालयहरु २०७७ पौषबाट मात्र भौतिक रुपमा खोलिए सरकारी निर्देशन आफ्ना प्रयासबाट बैकल्पिक विधिबाट कक्षाहरु सञ्चालन गरिए पनि ती साना नानीहरुका लागि त्यति प्रभावकारी हुन सकेनन्

 यो वर्ष सरकारी निकायले असारबाट नयाँ शैक्षिक शत्र शुरु गर्ने तयारी गरेको थियो जेठभित्रमा सबै विद्यालय तहका परीक्षाहरु सक्नुपर्ने थियो तर फेरि दोश्रो चरणको कोरोना महामारीका कारणले हठात् सबै परीक्षाहरु रोकिए यस विषम परिस्थितिमा जसोतसो सिकाइको  एक तह पूरा गरेका साना नानीबाबुहरुलाई यो महामारी अन्त्य हुन्जेल पर्खिनु परीक्षा लिनु सम्भव हुँदैनथ्यो उनीहरुलाई स्वतः स्तरोन्नति गर्नुपर्ने राय पनि एक पक्षको थियो यस्तै दोधारका बिचमा दमक नगरपालिकाले सम्पूर्ण विद्यालय बन्द गर्नुपर्ने सूचना जारी गर्यो । यस परिस्थितिमा, विद्याशिल्प एकेडेमी, दमक ले आफ्नो परिवेशमा सर्वथा नौलो विधिबाट परीक्षा सञ्चालन गर्यो । यो खुल्ला पुस्तक परीक्षा विधि थियो वैशाख १५ बाट परीक्षा हुने सूचना तालिका दिइसकिएको अवस्थामा अभिभावकहरुलाई स्वयं विद्यालयमा उपस्थित भई प्रश्नपत्र लैजाने विद्यार्थीहरुलाई गराएर फेरी फिर्ता ल्याउने विधि अपनाएर परीक्षा सम्पन्न भयो यसमा सतप्रतिशत विद्यार्थी सामेल पनि भए

मिश्रित प्रतिक्रिया

 परीक्षा स्थगित नगरी सुरक्षित तवरले परीक्षा लिने क्रममा विद्यालयमा  मिश्रित प्रतिक्रियाहरु आए  "यस्तो पनि परीक्षा हुन्छ र? यसरी सबै फर्स्ट भइहाल्छन् नि !” भन्ने आशयका केहि प्रतिक्रिया थिए यो परीक्षा विधिमा शिक्षकहरुको जति नै अभिभावकको जिम्मेदारी रहन्छ विद्यार्थीहरुले पुस्तक वा नोट कपीमा भएका उत्तरलाई खोलेर, पहिचान गरेर आफैं लेख्न सक्छन् भने त्यसमा कुनै खराबी हुदैन नपढेको वा पढ्ने बानी नभएको विद्यार्थीले सही उत्तर पहिचान नै गर्न सक्दैन, अनि त्यस्तो विद्यार्थी कसरि फर्स्ट हुन सक्छ ?      

 त्यसैगरी, अभिभावकहरुले विद्यार्थीलाई विभिन्न क्लस्टरमा विभाजन गरी, गाउँमा शिक्षक पठाई परीक्षा लिइदिन पनि सल्लाह दिए त्यसो गर्दा विद्यार्थीहरु जम्मा हुनुपर्ने संक्रमणको भय रही नै रहने भएकोले त्यसो गर्नु पनि सहज थिएन अनुकूल परिस्थिति भएमा अर्को  परीक्षा लिने सूचना प्रवाह गरौँ भन्ने सल्लाह पनि केही दिग्गज मित्रहरुले दिए त्यो राम्रो सल्लाह थियो तर हालको संक्रमणदरको आंकलन गरेर त्यो कुरालाई पनि पन्छाइयो

एक थरी अविभावकले भने यस्तो अप्ठ्यारो परिस्थितिमा विद्याशिल्प एकेडेमीले  चालेको यो कदम  निकै सराहनीय  भएको यसले उनीहरुका  छोरा छोरी पनि उत्साही खुशी भएको  धारणा ब्यक्त गरे।


साझा चिन्ता

उज्यालोको साझा खेतीगर्न शुद्ध मनशायले खोलिएको विद्याशिल्पसंग प्रत्यक्ष रुपले जोडिएका करिब ३०० परिवारका साझा चिन्ताहरु धेरै थिए यस्ता परीक्षा मान्य हुन्छन् कि हुन्नन् भने कुरा पनि उठ्यो ती सबै विषयका तरंगहरु उठ्नु स्वभाविक थियो यस्तो अभ्यास हाम्रातिर  थिएन उनीहरुले परीक्षा भनेका विधार्थीले शिक्षकका अगाडि बसेर गरिने अभ्यासका रुपमा सुनेका बुझेका छन् यो सर्वथा नौलो परीक्षा विधिले समुदायमा एउटा तरंग उत्पन्न गरायो

सर्वमान्य विधि

खुल्ला पुस्तक परीक्षा विधि एक सर्वमान्य विधि हो यो संसारभर प्रयोगमा आइसकेको यो विधिमा तल्लो तहदेखि माथिल्लो तहसम्म नै परीक्षा लिइन्छ यो विधिले घोकन्ते पद्धतिलाई दुरुत्साहित गर्छ विद्यार्थीहरुलाई रचनात्मक हुनमा सहयोग पुर्याउँछ। अझ यस्ता महामारी तथा प्राकृतिक विपदका समयमा यो विधि वरदान नै सावित हुन्छ परीक्षा भनेपछि डराउने बालकहरुलाई यो विधि अति राम्रो मानिन्छ कोभिड महामारीको चपेटामा सन् २०२० मा दिल्ली युनिभर्सिटि, कर्नाटका युनिभर्सिटि पोन्डेचरी युनिभर्सिटिले पनि यसै विधिबाट परीक्षा सम्पन्न गराएका थिए अनलाईनको पहुँच भएकाले प्रश्नपत्र डाउनलोड गरेर घरमै परीक्षा लेखेको पहुँच नहुनेले प्रश्नपत्र घरमै लगेर पछि उत्तर पुस्तिका बुझाएको कुरा इन्डियन एक्सप्रेसको समाचारले बताउँछ

मूल्यांकन विधि

खुल्ला पुस्तक परीक्षा विधिमा मूल्यांकनका विविध स्वरुप रहेका छन् एउटा स्वरुपमा समय सीमा हुन्छ अर्कोमा समय सीमा हुँदैन अझ अर्कोमा प्रश्न घरमै लगेर उत्तरपुस्तिका पछि बुझाउन सकिन्छ कक्षाकोठामै पनि यो विधिबाट परीक्षा दिन सकिन्छ यो विधिमा विशेषगरी विद्यार्थीको रचनात्मक क्षमताका आधारमा मूल्यांकन गरिन्छ साना कक्षाहरुमा भने विद्यार्थीको क्षमता मूल्यांकन निरन्तर भइरहने हुँदा घरमै लेखेर ल्याएका उत्तरपुस्तिकाहरुको मूल्यांकन कक्षामा विद्यार्थीको प्रस्तुतिको आधारमा गर्न सकिन्छ

एउटा पाठ


खुल्ला पुस्तक परीक्षा विधिलाई शिक्षा क्षेत्रसँग सम्बद्ध व्यक्तिहरुले राम्रोसँग अध्ययन गरी, मूल्यांकनका सर्वमान्य आधार बनाई हाम्रोजस्तो मुलुकमा पनि प्रयोगमा ल्याउन सकिन्छ पश्चिमी मुलुकहरुमा पहिले नै प्रयोगमा आइसकेको छिमेकी मुलुक भारतले समेत प्रयोग गरिसकेको यो विधिसम्बन्धी अध्ययन गरिएको भए गत सालको एस.. लगायतका परीक्षाहरु स्थगित गरेर स्वत: स्तरोन्नति गर्नु  पर्ने थिएन यसपालीको महामारीमा समेत कमसेकम दमक .पा.ले एउटा अध्ययन समिति बनाई विभिन्न स्थानीय निकायका विद्यालयमा परीक्षाहरु सञ्चालन गराउन अनुमति दिन सक्छ यो बिषयमा तत्काल बहसको खाँचो देखिन्छ  

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]