Showing posts with label inspiration. Show all posts
Showing posts with label inspiration. Show all posts

Sunday, 1 October 2023

आध्यात्मिक खडेरी

 

 प्रिय कबीर,

तिमी आफ्नो तपस्यामा लीन हौला । यो जीवन जगतमा के भैरहेछ भन्ने कुराको तिमीलाई कुनै हेक्का नै नहोला । तिमीले उचित समयमा नै आफ्नो मार्ग पक्रियौ । तिमी भन्ने गर्थेउ, “यो संसारमा लट्पटिइरह्यो भने कहिल्यै पार पाईंदैन, त्यसैले म अब पूर्ण  रूपमा परमार्थको बाटो लाग्छु । तिमीले आफ्नो भनाइलाई मूर्त रूप दियौ, ठीक गर्‍यौ । हेर न, अहिले हामी कस्तो संकटपूर्ण  समयमा बाँचिरहेका छौं । जता गयो, उतै मानिस "मन्दी छ", भन्छन् । लाग्छ, मानिस घोर निराशाको समयबाट गुज्रिरहेका छन् । त्यसैले त हिजोआज आत्महत्या एउटा सामान्य प्रकृया जस्तो भैसक्यो । के नाबालिग, के युवा, के वृद्ध सबै वर्गका मानिसले आत्महत्या गरेको समाचार प्रायः प्रत्येक दिन पढ्नुपर्दा मेरो मन नै भरङ्ग भएर आउँछ । के यो निराश जीवनप्रति गरिएको प्रतिक्रिया होइन र कबीर ?


यस्ता अप्रिय समाचार पढिरहँदा मलाई मलयालम भाषाका प्रसिद्ध साहित्यकार बेन्यामिनको ’खबुज उपन्यासको मुख्य पात्र नजिबको झलझली संझना आउँछ । हामीले खाडी मुलुकमा गएर  काम गर्ने श्रमिकहरूका धेरैखाले दुःखका कथा सुनेका छौं, पढेका छौं  । तर त्यहाँको चरम पीडा कस्तो हुँदो रहेछ भन्ने कुराको अनुभूति मलाई नजिबले गरायो । उसको कथाका अगाडि मैले पहिले सुनेका खाडीका सबै कथा फिक्का लागे मलाई । अनकन्टार मरुभूमिमा बाख्रा गोठालो भएर नितान्त एक्लो जीवन बिताउँदा कस्तो हुन्छ ? वर्षौंसम्म पानीको अभावमा नुहाउन नपाउँदा लट्टिएको कपाल, मयलका पाप्राले सर्वाङ्ग ढाकिएको छाला र दुर्गन्धित शरीर लिएर केही नभएजस्तो गरी दैनिक जीवन गुजार्नु पर्दा कस्तो हुन्छ ? खानाको नाममा सिर्फ भुक्के खबुज (एक प्रकारको रोटी) र सीमित रूपमा पाइने घामले तातेको पानी खाँदा कस्तो हुन्छ ? आफ्नो मनका कुरा सुनिदिने कुनै मानव आकृति नहुँदा कस्तो हुन्छ ? यस्ता अनगिन्ती प्रश्नहरूको उत्तर खोज्न तिमीले ‘खबुजपढ्नुपर्छ कबीर ! अब पुनः आफ्नो साधारण जीवनमा फर्किन सक्ने कुनै आशा नहुँदा पनि, आफ्नो मातृभूमिमा छोडिएका आमा, पत्नी र आफू हिँड्दा गर्भमै भएको सन्तानलाई यो जुनीमा सम्भवतः भेट्न नपाइने र त्यो क्रूर अरबी अर्बब (मालिक) को चंगुलबाट कहिल्यै फुत्कन नसकिने तथ्य जान्दाजान्दै पनि नजिबलाई के ले जीवित राख्यो होला ? मैले अघि नै भनिसकें नि - नजिबले भोगेको यातना, कष्ट र पीडाको तुलनामा जुनसुकै पीडा पनि थोरै लाग्छ । यस्तो स्थितिमा कसरी उसले आफूलाई जोगायो होला ? नजिबको साहसको कथा एकदमै रोमाञ्चकारी छ, कबीर ।

सर्वप्रथम त उसको इच्छाशक्ति एकदमै प्रबल थियो । ऊ एकदिन जसरी त्यो नारकीय जीवनबाट छुटकारा पाउँछु र आफ्नो प्यारो परिवारलाई भेट्न जान्छु भन्ने कुरामा दृढ थियो । कसरी थाहा थिएन तैपनि उसले आफू स्वतन्त्र हुने विश्वासलाई अनेक तवरले मलजल गरेर जीवित राख्यो । उसको सबभन्दा ठूलो विश्वास आफ्नो  ‘खुदामाथि थियो । जीवनमा उसले जे जति दुःख कष्ट भोग्नुपरेको थियो, त्यो सबै खुदाको इच्छा थियो, उनै खुदाले उसको कल्याण गर्छन् र उसलाई दुष्ट अर्बबबाट मुक्ति दिलाउँछन् भन्ने कुरामा नजिबको अटल विश्वास थियो । नजिबको उसको खुदाप्रतिको अटल विश्वास देखेर मलाई प्रिय कवि उपेन्द्र सुब्बाको विश्वास  कविताको पनि झलझली संझना आइरहेको थियो । उनी लेख्छन्, 

देउरालीमा सिन्दुरले रातै पोतिएर

फूलपातीले छ्याप्पै छोपिएर

एउटा ढुङ्गा देउता भएर बसेको छ ।

देउता ढुङ्गा पनि हुन सक्छ

ढुंगा देउता पनि हुन सक्छ

मात्र विश्वासमा ।

सुब्बाको कविताको यो अंशबाट पनि थाहा हुन्छ मान्छेको विश्वास कति शसक्त हुन सक्ने रहेछ भन्ने कुरा । खुदामाथिको विश्वास बाहेक  नजिबमा जीवनप्रति अथाह प्रेम पनि छ । आफ्नो अमूल्य जीवनलाई जस्तोसुकै प्रतिकूल परिस्थिति आए  पनि ऊ गुमाउने पक्षमा छैन । दुर्भाग्यवश् ऊ साउदी मरुभूमिको एउटा बाख्रा फारममा बँधुवा मजदूर भएर फँस्न पुग्छ । खाडी मुलुकमा जाउँला, पैसा कमाउँला र त्यो पैसाले आफ्नो परिवारका लागि खुशी किनौंला भन्ने नजिबको सपना  क्षणभरमै चकनाचूर हुन्छ । तर उसको आत्मविश्वास डगमगाउँदैन । उसले आफ्नो वर्तमान परिस्थितिलाई स्वीकार गर्छ । त्यहि परिस्थितिमा आफ्नो जीवन सहज बनाउने प्रयास गर्छ । ऊ तिनै बाख्राहरूलाई आफ्ना आफन्त, साथी भाइका विभिन्न नाम दिन्छ र उनीहरूसँगै  गफ  गरेर आफूभित्रको  शून्यतालाई भरपूर गर्न खोज्छ । ऊ बाख्राको दिनचर्याको गहिरो अध्ययन गर्छ । फलस्वरूप नजिब प्रत्येक बाख्राको गतिविधिवाट उनीहरूलाई के भइरहेको छ भन्ने कुरा बुझ्न सक्ने हुन्छ । यसरी नजिब अनेक उपाय लगाएर आफ्नो जीवनलाई जोगाइराख्छ ।  यिनै उपायहरूको सहायताले नभन्दै एकदिन ऊ त्यो बाख्रे जीवनबाट फुत्कन सफल पनि हुन्छ ।


हरेक कुराको अन्त्य हुन्छ भन्ने भनाइलाई पनि ‘खबुजउपन्यासको कथानकले पुष्टि गरेको छ नि, कबीर । होइन र ? म किन तिमीलाई यो उपन्यासको कहानी सुनाइरहेछु ? जतिबेला म यो उपन्यास पढ्दैथिएँ, तिमी नै मेरो मानसपटलमा नाचिरहेका थियौ । तिमीले मलाई वैदेशिक रोजगारमा जाने मानिसका अनगिन्ती कथा सुनाएका थियौ । तर ती सबै कथा भन्दा नजिबको कथा बेग्लै थियो । उसले घोर निराशाको बीचमा सधैँ आशाको सानो किरण खोजिरहेको थियो । अनि संयोग कस्तो बन्यो भने त्यही समयमा हरेक दिनजसो एउटा न एउटा आत्महत्याको  खबर आम सञ्चारका माध्यममा आइरहने । त्यसैले म आफैंसँग प्रश्न गर्थें,  मानिस किन यति हताश छ ? यति निराश छ ? यति अधैर्य छ ? के कुनै पनि समस्याको अन्तिम समाधान आत्महत्या हो र ? अनि नजिब सुस्तरी मेरो कानमा फुस्फुसाउँथ्यो, “होइन, कदापि होइन । तिमीले भर्खर मेरो कथा पढेको होइन ? यो कथाले जीवन जिउने प्रेरणा दिँदैन र ? यो जगतमा कुनै पनि समस्या स्थायी रूपमा रहिरहँदैनन् । ढिलोचाँडो ती हराएर जान्छन् । यस्ता तुच्छ समस्यासँग हामीले डराउँनु हुँदैन ।  हामीले बडो मुश्किलले यो मानव जीवन पाएका छौं । यो पनि अनन्त कालसम्म रहिरहने होइन । समय आएपछि यो स्वतः खरानी हुन्छ । त्यसैले हामी आफैं जान्ने भएर किन यसलाई समाप्त गर्नु ?” शायद ती आत्महत्या गर्ने व्यक्तिले ‘खबुजपढ्न पाएका भए आफ्नो निणर्य परिवर्तन गर्थे कि ? मेरो मनमा आउने एउटा उडन्ते विचार ।

साँच्चै कबीर, वर्तमान समय किन यतिसारो निराशाले भरिएको होला होगि ? के भौतिकवादप्रतिको अत्यधिक मोहले गर्दा मानिस कमजोर हुँदै गएको हो ? कहिले  कहिले त मलाई लाग्छ अध्यात्मवादको खडेरीले गर्दा नै सबैखाले मानवीय समस्याहरू उत्पन्न भएका होलान् । तिमी भन्ने गर्थ्यौ,  "अध्यात्मवादले हामीलाई शक्तिशाली बनाउँछ । जीवन जिउने कला सिकाउँछ । मानव जीवन अमूल्य छ भन्ने कुराको अनुभूति गराउँछ ।" शायद यस्ता मूल्य मान्यता हराउँदै गएको देखेर तिमी पनि विरक्त भयौ । त्यसैले त सत्यको खोजीमा निस्कियौ । तिमीले उचित निणर्य गरेछौ कबीर । आत्मज्ञान प्राप्तिपछि तिमी कुनै दिन त फर्कन्छौ होला । अनि मैले तिमीलाई पठाएका अनगिन्ती चिठीहरूले तिम्रो स्वागत गर्लान् । तिमीलाई मेरो अस्तित्वको अनुभूति गराउलान् । मेरो तिमीप्रतिको यो विश्वास नजिबको खुदाप्रतिको विश्वास जत्तिकै दरिलो छ, कबीर ।


(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  29 September 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



Saturday, 27 May 2023

मन त फूलैमा…

 

 

म धेरै लामो समयदेखि मेरा एकजना दाजु कृष्ण वस्तीलाई भेट्न खोजिरहेकी थिएँ । यसको पनि एउटा कारण थियो । हुन त उहाँसँग मेरो भौतिक रुपमा भएको भेट सम्झनुपर्दा बाल्यकालमै पुग्नुपर्छ । तैपनि उहाँको चित्र ट्याटु भएर मेरो मनमा गढेको थियो । जब मैले अष्ट्रेलियामा हुँदा आफ्नी आमा गुमाएँ, कृष्ण दाजु नै मेरो पीडामा मल्हम लगाउन मेरो म्यासेन्जरमा आउनुभएको थियो । त्यही समयदेखि अथवा वि.सं. २०७० सालदेखि नै मलाई उहाँसँग भेट गर्न मन लागेकोः एक दशकपछि मात्र बल्ल मेरो इच्छा पूरा भयो ।


बस्न त कृष्ण दाजु विराटनगरमा नै बस्नुहुन्छ । दमकमा पनि आफन्तहरु भेट्न यदाकदा आउने गर्नुहुन्छ । तर खोइ कुन्नी के ले छेकेको थियो हामी दुईको बाटो ।

यस्तै एक महिनाजति अगाडि नै त हो, म सोध्दै खोज्दै उहाँको घर पुगेकी ! टाढा त कहाँ हो रहेछ र ? ठ्याक्कै महेन्द्र मोरङ्ग क्याम्पसको आडबाट तलतिर लागेपछि त आइहाल्ने रहेछ नि ! नदेख्ता मात्र कहाँ हो कहाँ जस्तो लाग्ने । बाटोबाटै दाजुको घरमा फूलेका झिलिमिली फूलहरु देख्दा मेरो मनमा भाउजू चैँ फूलकी साह्रै सौखिन हुनुहुँदो रहेछ भन्ने आएको थियो ।

भाउजूलाई त मैले देखेकी पनि थिइन । आजभन्दा करिब ४०÷४२ वर्षअगाडि अन्तरजातीय विवाह गर्न आँट गर्ने रमिता भाउजू पक्कै पनि एक प्रगतिशील र साहसी नारी नै हुनु हो भन्ने लाग्थ्यो मलाई । उहाँ धेरै वर्षसम्म शिक्षण पेशामा रहेर अहिले सेवानिवृत्त जीवन बिताइरहनुभएको छ भन्ने कुरा मलाई थाहा थियो ।

भाउजू, हजुर त फूलकी साह्रै सौखिन हुनुहुँदो रहेछ, हगि ?” मैले रमिता भाउजूलाई सोधेँ । उहाँले मुसुक्क हाँस्तै भन्नुभयो, “मलाई  फूल असाध्य मनपर्छ । अहिले त के छ र मैयाँ ! पहिले त मैले यो बरण्डाभरि पनि फूल नै फूल राखेकी थिएँ ।” मन त कसलाई पो पर्दैन र फूल ? तर त्यसलाई चाकर पनि त उति नै गर्नुपर्छ । साँच्चै नै फूलप्रति लगाव नभएको मान्छेले त्यति राम्रो फूलबारी बनाउनै सक्तैन।

बरण्डामा बसेर रमिता भाउजूले फूलाउनु भएको विभिन्न जातका फूल हेर्दै म आफ्नी सासूआमालाई पनि सम्झिरहेकी थिएँ । उहाँ बित्नुअगाडिका दुई वर्ष सासूआमाले आफ्नो फूलबारी सजाएर नै बिताउनुभएको थियो । उहाँका फूलबारीमा पनि अनेक किसिमका फूल फूलिरहन्थे । उहाँ अरु केही काम गर्न सक्नुहुन्नथ्यो तर फूल रोप्ने, गोड्ने, पानी हाल्ने काम गरिरहनुहुन्थ्यो । ती फूल हेरेर मुस्कुराउनुहुन्थ्यो, तिनै फूलसँग बात मार्नुहुन्थ्यो । “भाउजू, हजुर त दाजुसँग ठाकठुक पर्दा कुदेर आएर यिनै फूल हेर्नुहुन्छ होला, हगि ?” मैले सोधेँ । “हो नि ! यी फूल मसँग कुरा गर्छन्,” रमिता भाउजूले भन्नुभयो । यसका साथै उहाँले फूलसँग सम्बन्धित अरु केही रोचक कुरा सुनाउनुभयो । “तपाईँले विचार गर्नुभएको छ मैयाँ, हामीले एक ठाउँमा फूलिरहेको फूलको गमला त्यो ठाउँबाट अर्को ठाउँमा सा¥यौँ भने फूल खिस्रिक्क पर्छ । त्यसलाई उत्तिकै घाम, पानी, मल पुगेको हुन्छ, तैपनि त्यो रमाउँदैन । अनि २,४ दिनपछि फेरि बिस्तारै आफ्नो सुन्दरतामा फर्कन्छ,” भाउजूले आफूले ढकमक्क फूलाएका फूलहरुतिर हेर्दै भन्नुभयो । यो जानकारी मेरो लागि नौलो थियो । फेरि फूलैका कुरा अगाडि बढे । “यी फूल त मेरालागि छोराछोरीजत्तिकै हुन् । पहिले पहिले म स्कूलबाट थाकेर घर आउँदा यी फूल देखेपछि नै आधा थकाइ त मरेर जान्थ्यो,” रमिता भाउजूले थप्नुभयो । उहाँले अझ अगाडि भन्नुभयो, “कहिले मलाई रातको एघार बजे यी फूलले बोलाएजस्तो लाग्छ । अनि म उठेर यिनमा पानी हाल्छु । अनि मात्र ढुक्कले सुत्न सक्छु ।” रमिता भाउजूको कति सारो लगाव फूलसँग !


के साँच्चै नै फूलले मानिससँग वार्तालाप गर्न सक्लान् त ? विज्ञहरुका लागि यो सोधको विषय हुन सक्छ । यससम्बन्धी विभिन्न अध्ययन भैरहेका पनि छन् । उदाहरणका लागि सन् २०२१ मा सिंगापुरियन वैज्ञानिकहरुको एउटा समूहले गरेको एउटा अनुसन्धानले बोटबिरुवा मानिससँग वार्ता गर्न सम्भव छ भन्ने कुरा देखाएको छ । त्यसैगरि बर्नाडिन राकोमा आफ्नो लेखमा हालसालै गरिएका विभिन्न अध्ययनले खासमा बोटबिरुवा एक अर्कासँग, अरु जनावरसँग र यहाँसम्म कि मानिससँग पनि कुराकानी गर्न सक्छन् भन्ने तथ्य उल्लेख गर्छिन् । क्रिस बारानिउकका अनुसार मालीहरु बोटबिरुवासँग गफ ग¥यो भने यसले उनीहरुलाई हुर्कन र बढ्न प्रोत्साहन गर्छ भन्ने कुरामा विश्वास गर्छन् ।

शायद यो मायाकै खेल होला । सयारिरह्यो, हेरचाह गरिरह्यो, बोलिरह्यो गर्दा के मानिस, के अरु जनावर, के बोटबिरुवा अर्थात् के फूल सबैलाई यसले उर्जाको काम गर्दो हो जीवन्त हुनका लागि । यसै सन्दर्भमा सन् १९२० औँ र १९३० औँ को दशकतिर एक बेलायती डाक्टर एडवार्ड ब्याचले फूलद्वारा गरिने उपचार पद्धतिको विकास गरेका थिए । उनका अनुसार फूलमा र बोटबिरुवामा मानिसका संवेगहरुलाई निको पार्ने एक प्रकारको शक्ति हुन्छ । आधुनिक अनुसन्धानहरुले यो तथ्यको पुष्टि नगरेको भएता पनि ब्याचको फूलद्वारा गरिने उपचार पद्धति व्यवहारमा प्रचलित छ । यो उपचार पद्धतिमा यदि कोही व्यक्ति नकारात्मक संवगेबाट गुज्रिरहेको छ भने त्यो व्यक्तिले विभिन्न बोटबिरुवामाथि हात राख्दा त्यो नकारात्मक संवेग हराएर जान्छ ।

मेरी एकजना जेठानी दिदी भूटानमा हुनुहुन्छ । उहाँ पनि फूलबारीमा फूलाएका विभिन्न खाले फूल फेसबुकमा राखिरहनुहुन्छ । धेरै वर्ष विद्यालयमा अध्यापन गरेर अहिले सेवानिवृत्त जीवन बिताइरहनु भएकी उहाँ आफ्नो धेरैजसो समय फूलसँगै बिताउनुहुन्छ रे । यसरी फूलबारीमा रमाउँदा उहाँलाई समय बितेको पनि पत्तो हुँदैन रे । दिदी भन्नुहुन्छ, “कोइ कोइ बेला सुकेको पात अथवा ओइलाएको फूल देख्ता मनमा कस्तो कस्तो हुन्छ । ला, मैँले त यिनीहरुलाई देखिनछु नि भनेर म ती सुकेका पात टिपेर फ्याँक्छु र ओइलाएका फूललाई लु खाओ है भनेर पानी दिन्छु । यी फूल त मेरो बात मार्ने साथी पनि पो हुँदा रहेछन् त बैनी ।” फूलको महिमा गाउँदै उहाँ अझ अगाडि भन्नुहुन्छ, “अन्त मेरो मन भुलाउने एउटा डगी पनि छ हो । त्यसले कोइबेला दिक्क लाउँछ तर फूलहरु सधैँ शान्त र सुन्दर हुन्छन् । एउटा नभए अर्को, अर्को नभए अर्को फूलिरहेका हुन्छन् । यो देख्ता मलाई आनन्द आउँछ । अझ ती फूलमा माहुरी, भमरा अथवा विभिन्न खाले पुतली झुम्मिएको देख्ता कसको मन रमाउँदैन होला र ?”


यी सबै प्रसंगहरुले एउटा कुरा त पक्कै स्पष्ट पार्छ — त्यो के भने मानिस र फूलको नाता गहिरो हुँदो रहेछ । मलाई फूलेका फूल र निर्दोष बालबालिकाका अनुहार उस्तै उस्तै लाग्छन् । मानसिक तनाव भैरहेको बेलामा फूलेका फूल र साना बालबालिका देख्ता त्यो तनाव त्यसै कम भएर जान्छ । यसरी हेर्दा ब्याचले भनेजस्तै फूलमा हाम्रो दुखेका मनलाई निको पार्ने शक्ति त पक्कै हुन्छ । बालबालिकालाई त भगवान्कै अवतार भनिन्छ । त्यसैले तिनलाई देख्ता कसको चित्त नरमाउला ?

रमिता भाउजू छोरा, बुहारी र नातिनीहरु भेट्न २÷४ महिना अमेरीका जाने कुरा गर्दै हुनुहुन्थ्यो । उहाँलाई आफू उताबाट फर्केर घर आउँदा अहिले ढकमक्क फूलेका फूल सबै मर्ने कुराको चिन्ता पनि उत्तिकै थियो । अब मेरो घर फर्कने बेला भैसकेको थियो । रमिता भाउजूले कुराको बिट मार्दै भन्नुभयो, “के गर्नु मैयाँ ! उता अमेरीकामा भएका साना नातिनीहरु सम्झियो उतै जान मन लाग्छ । फेरि आफ्ना यी प्रिय फूल बेस्याहार हुने कुरा सम्झिदाँ दिक्क लागेर आउँछ ।”

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 26 May 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Saturday, 28 January 2023

खाने मुखलाई जुँगाले छेक्दैन

 

 सिक्कीमको एउटा साहित्यिक कार्यक्रममा भाग लिएर आउने हाम्रा परिवारका सदस्यहरुबाट मैले त्यहाँका वरिष्ठ साहित्यकार पद्मश्री सानु लामाको बारेमा धेरै सुनेकी थिएँ । ‘८४ वर्षको उमेरमा पनि कति सकृय ! ’, ‘सबै पाहुनाको ख्याल राख्ने’, ‘कति व्यवस्थित पारामा काम गर्न सक्ने’ यस्तै यस्तै । आफूले नदेखेको मान्छे । त्यसैले मैले खासै ध्यान दिइन । सौभाग्यवश् तिनै सानु लामा दमक आउने खबर सुनें । गत पौष ३० गते हाम्रै विद्यालय विद्याशिल्प एकेडेमीको प्राङ्गणमा उनको सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।


उनलाई देख्नेबित्तिकै म तीन छक्क परेँ । सुटेड बुटेड— कुनै दृष्टिकोणबाट उनी ८४ वर्षका जस्ता देखिएका थिएनन् । अनुहारमा एक किसिमको तेज । अझै केही गर्ने जोश र आँट भएजस्ता देखिन्थे उनी । तोकिएको समयमा जब म कार्यक्रम स्थलमा पुगेँ;  एकजना सेतो सुट लगाएका नौला व्यक्ति देखिए । मेरो छेउमै हुनुभएको आफ्नी दिदीलाई कुइनाले ठेल्दै मैले आश्चर्यचकित स्वरमा भनें, ‘ए दिदी ! अघि सानु लामाहरुको टीममा त ती व्यक्ति थिएनन् नि । उनी को हुन्, हजुर चिन्नुहुन्छ ?’ दिदीले पनि अलि आँखा गाडेर हेर्नुभयो र हाँस्दै भन्नुभयो, ‘ती सानु लामा नै हुन्, हेर् त ।’ एकैछिनमा कसरी लुगा फेर्न भ्याएका ! कति सचेत । लामाको यस्तो सजगता देखेर म प्रभावित भएँ ।

यसैगरि, जब उनी बोल्न थाले, उनको विनम्रता स्पष्ट रुपमा झल्कन्थ्यो । उनी भारत सरकारले आफ्ना नागरिकलाई विविध विधामा दिने प्रतिष्ठित पद्मश्री सम्मान साहित्यिक विधामा पाउने पहिलो भारतीय नेपाली रहेछन् । उनले साहित्य क्षेत्रमा गरेको समग्र योगदानको कदरस्वरुप २००५ मा सो सम्मान पाएका रहेछन् । उनीपछि लिलबहादुर क्षेत्रीले सन् २०२० मा सोहि विधामा यो प्रतिष्ठित सम्मान पाए । यस्ता विशिष्ट व्यक्ति भैकन पनि उनमा कुनै दभ्भ, कुनै अहंकार झल्किएको थिएन । उनको लवज, अनि चालढाल तपाईँ हामीजस्तै साधारण व्यक्तिको जस्तो थियो । सानु लामासँगको यो भेटले मलाई उनको बारेमा जान्न अझ उत्सुक बनायो र उनको बारेमा त्यही सम्मान कार्यक्रममा सुनेका र मैले आफैँ पनि पढेका कुराले मलाई सानु लामाका बारेमा धेरै जानकारी प्राप्त भयो ।


खासमा सानु लामा इन्जिनियर हुन् । उनी नितान्त आफ्नो रुचिले साहित्यमा लागेका हुन् । आफ्नो साहित्य सिर्जनालाई उनी माता सरस्वतीको वरदान भन्छन् । उनले साहित्यका विविध विधामा कलम चलाए पनि उनको प्रिय विधाचाहिँ कथा नै हो । उनले सन् १९९३ मा साहित्य अकादमी पुरस्कार पनि कथा विधाकै लागि पाएका हुन् । एउटा पेशामा लागेका र त्यही पेशामा आइपर्ने विभिन्न कामले गर्दा सिर्जनात्मक काममा लाग्न नसकेको गुनासो गर्नेहरुलाई लामा गलत साबित गरिदिन्छन् । उनका पेशा र साहित्य सिर्जना सन्तुलित रुपमा सँगसँगै अघि बढेका छन् । आफ्नै कामको सिलसिलामा सिक्कीमका विभिन्न ठाउँमा डुलेका लामा तिनै ठाउँलाई आफ्नो लेखनको परिवेश बनाउँछन् र आफ्नो यात्राक्रममा भेटिएका मानिसहरु उनका कथाका पात्रहरु बन्छन् । त्यसैले त उनका कथा सजीव र यथार्थ लाग्छन् । यतिमात्र होइन, सानु लामा मैले कामको धपेडीले गर्दा साहित्यमा जति समय दिनुपर्थ्यो त्यति दिइँन अथवा साहित्यमा धेरै डुबेर आफ्नो पेशाप्रति वफादार भइँन पनि भन्दैनन् । एउटा अन्तरवार्तामा उनी भन्छन्, ‘...केहीले पनि मलाई साहित्यपथमा हिँड्न वाधा पुर्याएन । साहित्य गरिरहेँ, कसैले वाधा उत्पन्न गरेनन् । अर्कोतिर इन्जिनियरिङ्गको डिप्लोमा लिएर आएँ, सरकारी जागिर खान पाएँ । आमाबाबुको खुशीको सीमा थिएन । मैले ठूलो आँट र आशीर्वाद पाएँ । वास्तवमा त्यही जागिरले मेरो घरसंसार चल्यो, सेवाबाट अवकाश लिएँ । यो उमेरमा आइपुग्दा मलाई कुनै प्रकारको गुनासो गर्नु छैन । मैले जानेजति र सकेजति साहित्यको सेवा गरेँ— त्यो भन्दा बेसी गर्न सकिनँ भनेर पश्चाताप पनि छैन ।’

उनको यो भनाइबाट के स्पष्ट हुन्छ भनें उनी एक सत्कर्ममा लागेका व्यक्ति हुन् । उनी सांसारिकताको व्यर्थको चक्रमा फँसेर हाँप र झाँप गर्दै यो पुगेन र त्यो पुगेन भन्दै रोइकराई गर्दै हिँड्ने खालका पनि होइनन् । उनको यस्तो सन्तोषी प्रवृत्तिलाई केलाउँदा उनले आध्यात्मिक जीवन जिउने अभ्यास गरिरहे झैं लाग्छ । यसको पुष्टि अन्तरवार्ताकारहरुले उनलाई सधैँ खुशी देखिने र कहिल्यै नरिसाउने भनेबाट पनि हुन्छ ।

सानु लामा एक प्रसिद्ध गीतकार पनि रहेछन् । हामीलाई कति गीत मन पर्छन् । ती गीत हामी गुनगुनाउँछौँ । हामीलाई ती गीत गाउने गायक गायिकाको नाम थाहा हुन्छ तर ती गीत कसले लेखे भन्ने कुरा थाहा नहुन सक्छ । आफूलाई असाध्य मन पर्ने र गुनगुनाउने स्व. अरुणा लामाले गाएको गीत ‘बालपनको आँगन त्यागेर...’ सानु लामाले लेखेको कुरा थाहा पाउँदा म तीन छक्क परेकी थिएँ । यसैगरी हामी साना हुँदा रेडियो नेपालमा प्रायः घन्कने गीत, ‘मितेरी साइनो लाएँ हजुर बैरागी हुन नसक्दा...’ पनि उनैले लेखेका रहेछन् ।


सानु लामालाई पढ्ने क्रममा उनका कृतिमा भेटेको अर्को विशेष पक्ष भनेको यिनको नारीप्रतिको धारणा हो । उनका कथाका कुनै पनि नारी पात्रलाई पुरुषको तुलनामा कमजोर देखाइएको छैन । यस सम्बन्धमा एउटा अन्तरर्वातामा उनी आफैंले भनेका छन्, ‘नारीलाई म जहिले पनि पुरुषको हाराहारीमा राखेर हेर्ने गर्छु । कुनै कुरोमा पनि म नारीलाई हेय ठान्दिनँ । नारीले आफ्नो चोखो उच्छृखलता व्यक्त गर्नु उसको स्वाभाविक अधिकार अथवा स्वतन्त्रता हो ।’

हेर्दै सन्तजस्ता देखिने लामा धेरैका लागि प्रेरणाका स्रोत बन्न सक्छन् । जीवनमा कति मान्छे भेटिन्छन्, कतिलाई बिर्सिइन्छ, तर कति भने मीठो संझना बनेर मस्तिष्कमा टाँसिइरहन्छन् । मेरा लागि सानु लामा यस्तै भैदिए । उनीबाट मैले सिक्ने कुरा धेरै रहेछन् । जीवनको उत्तरार्धमा आइपुगेका उनी अब त पक्कै सुस्ताउलान् भन्ने मेरो सोचाइले पनि फेल खायो । युवककै जोशमा उनी अझै धेरै कृति प्रकाशनमा ल्याउने तयारीमा रहेछन् । उनको सम्मान कार्यक्रममा भाग लिन भारतको सिलगढीबाट आएका अर्का विद्वान् तुलसी भट्टराईले भनेअनुसार सबै भारतीय नेपाली सानु लामालाई ‘भारत रत्न’ सम्मान दिलाउन लागिपरेका छन् रे । भारत रत्न भारतीय सरकारले उसका नागरिकलाई दिने सबभन्दा माथिल्लो दर्जाको पुरस्कार हो । भारत रत्नपछि पद्म विभूषण, त्यसपछि पद्म भूषण र अन्तमा पद्मश्री गरी यी चार पुरस्कार सबभन्दा उच्चकोटीका पुरस्कार मानिन्छन् भारतमा । मनमा अठोट लिएर शुद्ध मनले जुन कर्म गरे पनि त्यसमा सफल हुन सकिन्छ भन्ने कुराको जीवन्त उदाहरण पेश गरेका सानु लामालाई भारत रत्न प्राप्तीका लागि मेरो पनि हार्दिक शुभकामना ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 27 January 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]