Friday 18 March 2022

रंगोत्सव त मनाउनु पर्छ

 

प्रिय कबीर,

         


    यसपाली आँप बेजोड फुलेको छ । आँपका मुजुरा पलाउन थालेदेखि नै मैले वसन्त ऋतुको छनक पाइसकेकी थिएँ । हरेक वर्ष आउने वसन्त ऋतुले सारा चराचरमा ल्याउने उमंगसँगै मेरो मनमा तिमीलाई छोएर बग्ने शीतल बतास चलेको छ । यता तापमान बढ्न थालेको छ । पानी अन्तिम पटक कहिले परेको थियो भन्ने समेत मैले बिर्सिसकेँ । अब फेरि एकपटक म तिनै झपक्क परेका आँपका फेदमुनि बस्न थालेकी छु । दिनभरिको घामले तातिएको घरभित्र पस्न र बस्न अलि निशास नै हुन्छ ।  फुर्सद भए बिहानैका चराहरु सँगै उठेर हातमा चिया बोकेर ती रुखका फेदमा जानुहुन्थ्यो । चर्केको घाम छल्न सानो सुराहीमा पानी भरेर त्यतै बस्दा हुन्थ्यो । चराहरु पखेटा फिँजारेर गर्मी छल्न बसेको हेर्न हुन्थ्यो । तर ती बिहानी र मध्यान्हका समय मैले बेचेकी छु । जानाजानमै मैले आफ्नो खुशी बेचेर माना चामल जुटाउनमा लागि परेकी छु । म बारम्बार तौलेर हेर्छु – अब कति भए मलाई पुग्ला ? अनि फेरि अलिकति रोकिन्छु, लामो श्वास फेर्छु र विचार गर्छु – यो हरेक पटक ननिदाउन्जेलको यात्रा हो ।

          साँझको एकछिनको समय म तिनै आँपका रुखमुनि निदाउँदी रहिछु । मेरो अवचेतनमा सिर्सिरे हावा चलिरहन्छ, चराहरु कराउँदै नाँच्दै गरिरहन्छन्, टाढा मानिसहरु बोल्छन्, केटाकेटीहरुको कल्याङ मल्याङ पनि सुँनिदै गर्छ । मेरा आँखा उघारै हुन्छन् तर मष्तिस्क निदाएको हुन्छ । यो एक चोइटो साँझ मलाई तिमी जत्तिकै प्यारो लाग्छ ।

          वसन्त ऋतुले नयाँ पाइलासँगै केहि उत्सवहरु बोकेर ल्याउँछ । त्यसै पनि धर्ती उत्सवमय भएको बेला हो यो । अलिकति न्यानो, उज्यालो, फूलहरुले ढकमक्क र हरियालीले छपक्क ढाकेको बेला हो यो । त्यससँगै आउने रंगउत्सवको समय हो यो । प्रकृति उत्सवसँग तादाम्यता मिलाउन मानव सृजित रंग मेलाको बेला पनि हो यो । शास्त्रीय रुपमै हेर्ने हो भने पनि यस वसन्त ऋतुका समयमा पञ्चतत्वले आफ्नो उग्ररुप छाडेर सौम्य भाव प्रकट गरेका हुन्छन् । तिमी मास्तिर फर्केर हेर त कति स्वच्छ र निर्मल देख्छौ यो गगन । हावा, घाम र पानी समेत सुखदायी हुन्छ यसबेला !

          कबीर, यो ऋतु सम्पूर्ण जगत र चराचर प्रेममा बहकिने ऋतु पनि हो । पौराणिक कथाले समेत वसन्तलाई कामदेवको पुत्र मान्दो रहेछ । यिनै प्रेमका देवता कामदेवको पूजा अर्चना गर्ने क्रममा रंगउत्सवको शुरुवात भएको थियो भन्ने एउटा तथ्य रहेछ । आदि कालदेखि चलिआएको रंगोत्सव पछाडिका कथा पनि उत्तिकै चखिला हुने रहेछन् । यी हरेक कथा र तिनका पात्रभन्दा पनि तिनको सान्दर्भिकता चाहिँ मलाई रुचिकर लाग्छ ।

          जाडो महिनाका शुष्क र कठ्याङ्ग्रिएका दिनहरुको अन्त भएपछि आउने चैत्र र वैशाख महिनामा पर्ने वसन्त ऋतुलाई खुशीयालीको मौसमका रुपमा चर्चा गरिँदै आएको रहेछ । भागवत पुराणका अनुसार हिरण्यकश्यपु राजाले अजर अमर हुने वरदान पाएको रहेछ । उसलाई आफ्नो शक्तिप्रति घमण्ड बढ्दै गएछ र उसको पूजा सबैले गर्नुपर्ने फर्मान जारी गरेछ । तर उसका आफ्नै छोरा प्रल्हादले त्यस कुरालाई नमानेर विष्णुको आराधना गर्न थालेछन् । त्यस कुराले क्रुद्ध हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रल्हादलाई काखमा लिएर आगोमा बस्नु भनेर अह्राएछ । होलिका आगोले नष्ट नहुने बरदान प्राप्त नारी रहिछे । तर परिणाम विपरित आयो । होलिका भष्म भई, प्रल्हाद सग्लै रहे । यसै सम्झनाको निरन्तरताका लागि होलिका दहन गरिने रहेछ । असत्यको दहन गरिने रहेछ ।


          त्यसै प्रसंगमा कामदेवको कथा पनि जोडिने रहेछ । पार्वती शिवसँग विवाह गर्ने चाहना राख्दिरहिछन् । तर महादेव ध्यानमा लिप्त भएका रहेछन् । त्यसै बेला कामदेवले शिवमाथि  प्रेमील तीर वर्षाएर ध्यान भंग गराइदिएछन् । शिवजीलाई त्यस कुराले रिस उठेछ र कामदेवलाई भष्म पारिदिएछन् । उता कामदेवकी पत्नी रतीले अलाप विलाप गरेर शिवलाई विन्ति गरिछन् । फलस्वरुप कामदेवलाई शिवले पुनर्जीवित गराइदिएछन् । त्यो प्रेमको देवता जागृत भएको दिनलाई नै रंगोत्सव भनेर मनाइन्छ भन्ने कहावत समेत रहेछ ।

          महाभारतमा समेत होलीको सन्दर्भ जोडिने रहेछ । कृष्णले युधिष्ठिरलाई सुनाएको कथा अनुसार रामका पूर्वज रघुको पालामा एक असुर महिला रहिछ । उसलाई कसैले मार्न नसक्ने रहेछ । तर सडकमा, चौरमा खेल्ने बालकहरुसँग भने त्यो असुर असाध्यै डराउने रहिछ । त्यो आसुरी महिलाको मृत्यु रहस्य बारेमा गुरु वशिष्ठ जानकार रहेछन् । उनले सिकाएछन् – दाउरा, घाँस बटुल्नू र एक ठाउँमा थुपार्नू । अनि अग्नी दहन गर्नू । केटाकेटी नाचुन्, गाउन्, बाजा बजाउन् । त्यसपछि त्यस महिलाको मृत्यु हुनेछ । हो, त्यस्तै नै भएछ । त्यो समयदेखि नै क्षुद्रभावको अन्त्य भएको सम्झनामा होली उत्सव मनाइने रहेछ ।

         


    यो प्रेमोत्सव कृष्णसँग नजोडिने त कुरै भएन । यस उत्सवलाई राधा कृष्णको प्रेमको प्रतीकका रुपमा पनि लिइने रहेछ । पौराणिक कथाका अनुसार कंशले कृष्ण गोकुलमा रहेको पत्ता पाएछ । त्यसपछि उसले पुतना नाम गरेकी असुरलाई गोकुलमा जन्म लिने सबै बालकहरुलाई मारिदिनू भनेर अह्राएछ । पुतना स्तनपानको बहाना गरेर विषपान गराउने र बालकहरु सिध्याउने योजनामा रहिछ । कृष्णले यो कुटील योजनाको गन्ध पाएपछि पुतनाको विषाक्त दूध पिएर उसको अन्त गरिदिएछन् । त्यहि विषाक्त दूध पिएर नै कृष्ण नीला काला भएका पनि भनिँदो रहेछ । अनि त्यो विजयको उत्सव मनाउनका लागि रंग महोत्सवको शुरुवात भएको हो भन्ने कुरा रहेछ ।

          यसरी, आदिकालदेखि मनाउँदै आएको रंगोत्सवले पूर्वीय हिन्दू संस्कृतिमा जरा गाढेको रहेछ । यो बाहिरी रुपमा रंगोत्सव भए पनि मन मष्तिस्क नै रंगाउने चाड हो नि, होइन त कबीर ?  भित्रका आसुरी प्रवृत्तिहरुलाई दहन गर्ने चाड हो । वसन्तमा फूल्ने रंगीन फूलहरु झैं मनलाई फूलवारीमा परिणत गर्ने चाड हो ।

          कबीर, तिमी सम्झिन्छौ कि बिर्सिसक्यौ – हातमा लोला लिएर पीचकारी बोकेर हिँडेका केटाकेटीले मलाई रंग छ्याप्न खोज्दा म रिसाएकी ? अहिले म फेरि तिनै पुराना घटना आँपका फेदमा बसेर सम्ँझदैछु । ती बच्चाहरुलाई मैले झम्टेकी थिएँ । तर तिमीले रोक्यौ । यी अबोध बालकहरुलाई हाँस्न दिऊँ, नाच्न दिऊँ भनेर मलाई सम्झायौ । अहिले म सोच्छु, त्यो कुरा ठिकै रहेछ । साना नानीहरुलाई आफ्ना दैनिक पढाइ लगायतका बोझलाई बिर्सेर एकछिन रंगीन बनेर खेल्न दिनुपर्छ । अलिकति क्षुद्र्याईँ गर्न दिनुपर्छ तिनलाई । हाँस्न, रमाउन दिनुपर्छ तिनलाई । हामीले तोकिदिएका सीमाहरु भत्काउन दिनुपर्छ तिनीहरुलाई ।


          अनि ठूलाहरुका हकमा नि त ? उनीहरुका हकमा पनि त्यहि हो । आफूले आफैंलाई बाँधेका हजारौँ अदृष्य साङ्ला चुँडाएर, आफैंले सिर्जना गरेका जेलहरु भत्काएर एकदिन भए पनि उन्मुक्त हाँस्नुपर्छ, उन्मुक्त नाच्नुपर्छ । रंगोत्सव त मनाउनुपर्छ । मनको कालो मैलो धुनुपर्छ । अब तिम्रो नाममा शुशील शर्माका दुई टुक्रा दोहा है त । यसैबाट अन्दाज लगाउनु कबीर मैले तिमीलाई कति मिस गरिरहेकी छु ।

          गालोँ पर साजन मले प्यारे प्यारे रंग ।

          गोरी इठलाती चले, चढे प्रेमकी भंग ।

          होली मे प्रियतम नहीँ, छूटा मनका धीर

          अभी नही आये बलम, मलने मुझे अबीर

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 18 March 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Monday 14 March 2022

दमकको उज्यालो

 

उज्यालो हेर्ने ठाउँ

            नानी यता कता उज्यालो हेर्ने ठाउँ छ अरे, त्यो कति टाढा छ ?,” तीनजना वृद्ध माताहरुले


मलाई सोधे । उनीहरु उज्यालो हेर्ने ठाउँबाट उति टाढा थिएनन् । म पनि वास्तवमा त्यतै जाँदै थिएँ । उनीहरुको आशय बुझ्न मलाई बेर लागेन । उनीहरु दमक फन पार्कतिर लम्किरहेका थिए । गौरादहबाट पाहुना लाग्न दमक आएका माताहरु फन पार्कको रमिता हेर्न हिँडेका रहेछन् । घर नजिकै हिँडेरै पुगिने दूरीमा भए पनि म आफैं त्यस ठाउँमा पुगेकी थिइँन ।

            पूर्व नेपालको दमक एक पुरानो बजार हो । पूर्व प्रधानमन्त्रीको गृहनगर समेत भएकोले यो शहर अझ चर्चित छ । तैपनि दमक ताकेर घुम्न आउने मानिसलाई झ्वाट्ट घुमाउने स्थान कुन होला त भनेर निकैबेर सोच्नै पर्ने हुन्छ । केहि वर्षदेखि विकसित दमकको पुरानो बजारको एक लेन सडक नमूना बजारले यो इज्जत टालिआएको थियो । तर हालसालै आएर केहि व्यवसायीहरुको उत्साहि जमातले दमकको पहिचानका रुपमा दमक फन पार्कलाई अगाडि सारेका छन् । बेलडाँगीमा रहेको यस फन पार्कले स्थानीय तवरमा रोजगार र व्यवसायका अवसरसँगै सबै वर्ग र उमेरका मानिसहरुका लागि घुम्ने र टहल्ने ठाउँको सिर्जना गरिदिएको छ । दिनको उज्यालोमा त छदैँछ, रातको अँध्यारोमा समेत यस पार्कमा बिजुलीका कौतुकमय दृष्यले मनोरम वातावरणको सिर्जना गरेको छ । साना केटाकेटीले खेल्नेदेखि ठूलाहरुको स्काइ एलिभेटरजस्ता शाहसिक खेलहरु भएको फन पार्क दमकको नयाँ पहिचान बनेको छ । रात्रीकालीन भीड हेर्दा फनपार्क उदेकलाग्दो देखिन्छ । पुरानो पार्किङ स्थल सानो भएर नयाँ पार्किङ स्थल बनाउन थालिएको कुरा यसका एक व्यवस्थापक तथा प्रवक्ता विप्लव दंगाल बताउँछन् । “अब कता लैजानु त घुमाउन नयाँ पाहुनालाई भन्नु पर्दैन । फन पार्कले दमकको यो खाँचो पूरा गरिदिएको छ ,” उनी भन्छन् ।

           


        "हुने खानेहरु त टाढा कतै जालान्, रमाइलो गर्लान् तर मध्यम तथा न्यून आय हुनेहरुले कहाँ जाने त? हो, यहि सोच राखेर सबैका लागि भनेरै हामीले यो अभियान चलाएको हो,” उनले थपे । फन पार्कले २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको रहेछ । “अब बैशाखबाट शुरु हुने बोटिङ्गले अरु थप मनोरञ्जन र रोजगारी समेत थपिने कुरामा हामी विश्वस्त छौं,” दंगालले थपे ।

            नव पुस्ताका युवाहरुको आवश्यकता र इच्छालाई ध्यानमा राखेर नीजि क्षेत्रले शुरु गरेको यो फन पार्क दमकको एक नयाँ पहिचान हो । यस कुरालाई एउटा सानो शहरको ठूलो उपलब्धी मान्न सकिन्छ । 

घामभन्दा पहिले

            बिहान झिसमिसेमै बजार निद्राबाट उठिसकेकै हुँदैन । गाडीहरु भर्खरै दिनको यात्रा शुरु गर्न तयार भएका हुन्छन् । बिहानको कलेज र स्कूलका विद्यार्थीहरु पढ्न जान हतारिइरहेका हुन्छन् । त्यति बिहानै दमक बजार आसपासमा हरिया लुगा लगाएका केहि मानिसहरु सर्याक सर्याक सर्याक सडक किनारामा बढारिरहेका भेटिन्छन् ।

            पहिलेको तुलनामा दमक विस्तृत भएको छ । जनघनत्व बढेको छ । जग्गाहरु टुक्रिएका छन् । बढेको जनघनत्व र साँगुरिएका जमीनहरुले दमकबाट उत्सर्जित फोहोर थेग्न हम्मे हम्मे परेका बेला यी बिहानी सुगा चरीहरुले चमत्कार नै गरिदिएका छन् भन्दा फरक पर्दैन । सफा र सुन्दर दमकका सडकहरुमा घुम्न पाउँदा हाम्रा शीर ठडिएका छन् । अन्य पूर्वेली शहरहरु भन्दा दमक निकै सफा र सुन्दर छ भनेको सुन्दा हामीले आफ्नो बासस्थानप्रति गौरव गर्न सक्छौँ । यस गौरवपूर्ण कार्यका लागि बिहानी चराहरु त धन्यबादका पात्र छन् नै त्यो भन्दा पनि यसको व्यवस्थापन गर्ने नेक्स्ट एराको कार्यशैली प्रशंसनीय छ ।

            तपाईँहरु यति बिहानैदेखि काम शुरु गर्नुहुन्छ । कति पाउनुहुन्छ?”

            घरबार चल्छ,” चोकमा भेटिएकी सुगा रंग वस्त्रधारी सफाइकर्मीले भनिन् ।

            ओभरटायमसँग त अठार बीस पनि हुन्छ ।” उनले थपिन् ।

            अनि बिहानमात्र देखिनुहुन्छ । दिउँसो कता बिलाउनुहुन्छ?”

            दिम्सो हामी बाटाका छेऊछाऊ सफा गर्छम् । फोहोर ग्रेडिङ गर्छम् । माथि हम्से दुम्सेमा ठूलो कार्खाना बन्दैछ नि, तपाईँलाई था छैन ? त्याँ मल, ग्याँस बनाम्ने अरे,” उनले भनिन् । उनले आफ्नो सञ्चयकोश पनि जम्मा हुने कुरा बताइन् । उनलाई उनी जस्ता कति सफाइकर्मी दमकमा खटिएका छन् भन्ने कुरा यकिन चाहिँ थाह रहेनछ, “खै साठी सत्तरी होलान् कि,” उनले थपिन् ।


            त्यसपछि उनका कुरा घर परिवारतिर मोडिए । उनका श्रीमान् ट्रक चालक रहेछन् । घरमा नाति नातिना समेत रहेछन् । “श्रीर्मान्ले कमार ख्वाकै थे । छोराहरु पनि काम गर्छन् तर आफ्नो कमाइ भयो भनेँ आफ्नो मन बलियो हुन्छ नि । इज्जत पनि हुन्छ घरमा, आफन्तीमा, समाजमा । नपढे पनि बाटै बढार्ने भएनी जागिर छ । जागिर भन्या जागिरै हो । होइन त ?”

            हो नि, अलिकति भएपनि कमाई हुनु भनेको आत्मसम्मान नै हो । त्यसमा पनि महिलाहरु आत्मनिर्भर बन्नु त ठूलो कुरा हो ।

            घामभन्दा पहिल्यै उठेर शहरलाई कोरिबाटि गरिदिने यी पात्रहरुलाई जहिले जहिले म देख्छु मेरो शीर श्रद्दाले निहुरिन्छ ।

 असल कदम

            दमकको शीरमा विशुद्ध मनोरञ्जनले भरिपूर्ण फन पार्क भए जस्तै दमकका पुछारतिर भने कदम थिएटर रहेछ । केहि उत्साहि युवाहरु लागि परेर सानो नपत्याउँदो टहरामा नित्य कलाकर्म गर्ने रहेछन् । सानो सिमेन्टब्लकले बारेको र खरको छानामाथि प्लास्टिक ओढाएर तयार गरेको थिएटर देखेर ती युवा जमातप्रति मेरो अगाध श्रद्धा पलाएर आयो । थिएटरको भित्रपट्टि सबैतिर कालो कपडाको पर्दा टाँगेर उज्यालो निषेध गरिएको थियो । भूइँमा चकटी र केहि कुर्सी गरी १५० सीट क्षमताको कदमले.केहि वर्षदेखि निरन्तर नाटक गरिआएको रहेछ । यस अभियानका लागि नगरपालिकाले पाँच कट्ठा जमिन समेत प्रदान गरेको रहेछ । त्यस जमिनमा एउटा ठूलो र सुविधाजनक थिएटरको परिकल्पना गरेर ढाँचा समेत तयार भइसके तापनि काम भनेँ अधकल्चो भएको रहेछ ।

            यहाँ बजेटको चाँजोपाँजो मिलिसकेको छैन । आधारहशीला भनें तयार भएको छ,” व्यवस्थापक दधि ढकालले भने ।

            नाट्यकर्म बाहेक पनि कदम थिएटरले कवि गोष्ठि, साहित्यिक छलफल जस्ता सिर्जनात्मक कार्यहरु आयोजना गरिरहने रहेछ ।

           


    भर्खरै क्याम्पस पढ्न शुरु गरेका केहि युवायुवतीहरुका झुण्ड कदम थिएटरमा चल्दै गरेको येल्लो कमेडी हेरेर बाहिरिए । तीमध्ये केहि केटीहरु कदमको निर्माणाधिन घरको सयलमा मेरै छेउमा आएर भित्तामा अढेस लागे । उनीहरु भर्खरै हेरेको नाटक हुदै नेपाली साहित्यका पुस्तकबारे छलफल गर्न थाले । स्वभावतः मेरो चासो बढ्यो । उनीहरु बुद्धिसागरको कर्णाली ब्लुजबाट धरावासीको राधा, नयनराज पाण्डेको लू र जियरासम्म पुगे । मैले उनीहरुलाई नसोधिरहन सकिँन , “ कहाँ पढ्नुहुन्छ नानीहरु ? ”

 यहि दमक मल्टिपलमा ।”

कुन लेबलमा ?” 

हामी प्लस टु ।”

अनि किताब कसरी पाउनुहुन्छ त ?”

पब्लीक लाइब्रेरी, दमक लाइब्रेरी अनि मन पर्दा साथी साथी मिलेर पैसा उठाएर किन्ने र पालैपालो पढ्ने ।”

            युवा पुस्ताका केटाकेटीहरुको साहित्य कला तर्फ़  यस्तो स्वस्फूर्त झुकाव कति राम्रो कुरा ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 11 March 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  

 



Friday 4 March 2022

महाभाराका कुइनेटाहरु

 

    


     बसन्त बस्नेतको ‘महाभारा’ उपन्यास केहि महिनादेखि साहित्य चर्चाको अग्रपंक्तिमा उभिएको छ । फाइनप्रिन्टको नयाँ नयाँ प्रचारशैलीले मात्र नभई पुस्तकको समग्र स्वरुपले पनि यसलाई अग्रपंक्तिमा रहिरहन संघाएको अनुमान गर्न सकिन्छ । नेपाली प्रकाशन जगतमा विरलै चल्ने सम्पादन निखारले  महाभारालाई अझ तिखारेको मान्न सकिन्छ । दमकको कदम थिएटरले आयोजना गरेको पुस्तक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा लेखक बस्नेतले पुस्तक सम्पादनको तेह्रौँ चरणमा मात्र पढ्न लायकको ठहरिएको कुरा भनिरहँदा सम्पादन प्रमुख अजित बराल मुसुमुसु हाँसिरहेका थिए । आज लेख्यो, भोलि छाप्यो र बाँकि समय पछुतायो गर्न बानी परेका हामीलाई तेह्र पटक सम्पादन गरिएको पुस्तक भन्ने सुन्दा अलि अनौठो लाग्नु स्वभाविक नै हो । यसको मूल शीर्षक समेत परिवर्तन भएको कुरा सुन्दा कतिपयले पुस्तकको मर्म ज्यूँदो रह्यो कि रहेन भन्ने तर्क पनि गरेका छन् । तर मेरो आफ्नो बुझाइमा पुस्तक लेखेर प्रकाशन गर्नु भनेको पाठकको जिम्मा लगाउनु हो । पाठकले खोजेको स्वाद अनुसारको बनाउन कसरत गर्दा निफन्ने र खोष्टा उडाउने काम त गर्नै पर्छ ।

            पुस्तक अन्तरक्रिया कार्यक्रमको एक टिप्पणीकार भएका नाताले आफूले गरेका टिप्पणी र थप केहि कुरा मैले यहाँ राख्न आवश्यक ठानेँ । पुस्तकको मुख्य पात्र डुक्पा र उसको जीवनसँग जोडिन आएका पात्रको सहयोग लिएर उपन्यासकार पूर्वी नेपालको पहाडी भूभागको एउटा सजीव तस्वीर उतार्न सफल भएका छन् भन्ने मैले ठानेकी छु । एउटा सिंगो समुदायको निम्न वर्गीय सदस्यहरुको जीवन शैली, जीवनका आरोह अवरोह, सामाजिक व्यवस्था र तत्क्षणमा सिर्जित समस्याहरुको प्रस्तुती उपन्यासभित्र रहेको छ । हामीले जे जे देख्छौँ, सुन्छौँ र भोग्छौँ, तिनै कुराहरुलाई घोलेर नयाँ ढंगले प्रस्तुत गर्न खोज्नु नै साहित्य लेखन हो । लेखकले पनि यो उपन्यासमा त्यहि गरेका छन् । महाभारा श्रृंखला वरिपरिका पात्रहरुलाई लिएर, जनयुद्धकालको समयक्रम पक्रिएरतत्कालिन समयमा जनताले भोगेका पीडा, सन्त्रास, विश्मयलाई बसन्त बस्नेतले उपन्यासमा उतारेका छन् । अरु अरु आख्यान झैं यसमा पनि कल्पना र यथार्थताको सम्मिश्रण छ । त्यति हुँदाहुँदै पनि यी महाभाराभित्रका उपकथाहरुमा लेखकले पूर्वी पहाडी लवज टपक्क टिपेर राखिदिएका छन् । त्यसले पुस्तकलाई आदिदेखि अन्त्यसम्म जीवन्त राखेको छ । यसको कथा हाम्रै सेरोफेरोमा बुनिएको छ । इलाम, फिदीम, राँके, माङसेबुङ, लारुम्बा, विर्तामोड, चारपाने, झिलझिले, दमक, पाडाजुँगी जस्ता ठाउँ यहाँ भेटिन्छन् ।

            समग्रमा भन्नुपर्दा महाभारा एक ऐतिहासिक उपन्यास हो । यसको समय जनवादी युद्धकाल भए पनि यहाँ पन्चायतकालदेखि माओवादी आन्दोलन भएसम्मका मुख्य मुख्य राजनीतिक घटनालाई छोइएको छ । यहाँ सत्तापक्ष, माओवादी र किराँत धर्म बीचको त्रीपक्षीय द्वन्द भेटिन्छ । यसले के देखाउँछ भनें संकटकालमा सबै आफ्नो शक्ति प्रदर्शन गरेर सोझा साझा जनतामाथि आधिपत्य जमाउन खोज्ने रहेछन् ।

मनोविज्ञान

            उपन्यासमा खासगरी पुरुषले महिलाको कल्पना गरेरै यौन सन्तुष्टि लिने गरेको कुरा देखाइएको छ । विषेशगरि बाबुछिरी भन्ने पात्र आफ्ना काल्पनिक प्रेमिकाका बारेमा अनेक किसिमका मनगढन्ते कुरा गरिरहन्छ । आफ्नी श्रीमतीको मृत्युपश्चात दुई नाबालक छोराहरु हुर्काउने जिम्मा लिएको बाबुछिरीको पट्यारलाग्दो एक्लो जीवनलाई यी काल्पनिक प्रेमिकाले केहि रसिलो बनाएका छन् ।

            डुक्पाले आमा नहुनुको पीडाबोध गर्नु, आफू गरीब भएर स्कूलमा हिनताबोधले भरिनु, उसमा आफूलाई हेप्ने शिक्षकका विरुद्धमा इख भरिनु, उसले उसलाई जिस्काउनेहरुलाई एकदिन जितेर छाड्छु भन्ने प्रण गर्नु, ऊ सधैं रंगीन सपनामा डुब्नु जस्ता पक्षले डुक्पाको बाल मनोविज्ञानलाई दर्शाएका छन् ।

            गोलमटोल शिक्षा नीतिको दुष्परिणामले कसरी केटाकेटीको सिर्जनात्मकतालाई कुच्याएको छ भन्ने कुरा पनि उपन्यासको मुख्य पात्र डुक्पाको माध्यमबाट देखाइएको छ । डुक्पा नाच्ने, गाउने, चित्र बनाउने जस्ता क्षमता भैकन पनि सधैँ नजान्ने र पढिखान नसक्ने विद्यार्थीमा दरिनु यसको उदाहरण हो । एउटा प्रसंग :

            “डुक्पाले यस्ता कुरा कहाँ सिक्यो, कताबाट सा/\यो, सरहरुले चासो राखेनन् । उसका साथीहरुले पनि सोधेनन् । स्कूलले डुक्पा के जान्दछ भन्ने कुरा जान्दैनथ्यो, उसले के जान्नुपर्छ भन्ने मात्रै जान्दथ्यो ।” (२२)

जीवन दर्शन

हामीले बाँच्ने जीवन सिर्फ एउटा नाटक हो भन्ने कुरा डुक्पालाई दिएका विभिन्न नाम र ती नाम अनुसारका कामहरुले चरितार्थ गर्छन् । ऊ डुक्पाको चरित्रमा पस्दा एक गाउँले बिन्दास ठिटो बनिदिन्छ । सोहि पात्र डेनीमा रुपान्तरित हुँदा आफ्नो ड्राइभर हुने सपना पछ्याउँदै शहर पसेको र त्यहिंको जीवन शैलीमा भिजेको देखिन्छ भने थेबाको खोल ओढेर ऊ माओवादी कार्यकर्ताको भूमिका निभाउँछ । डुक्पाले जीवनलाई एक संघर्षको मैदान हो भनेर अर्थ्याउँछ । उसको जीवनप्रतिको यहि दृष्टिकोणले गर्दा नै ऊ जीवनमा परिआएका जुनसुकै चुनौतिको सामना नडराई गरिरहन्छ । महाभाराकी अर्की महत्वपूर्ण पात्र सुक्मतीका अनुसार विगतलाई सम्झेर बाँच्नु आपैंm दुःखी हुनु मात्र हो । दुःखको कारण मानिस स्वयम् हो । अधिक सोचले मानिसलाई द्विग्भ्रमित पार्ने हुनाले नसोच्नु नै वेश हो भन्ने सुक्मतीको ठम्याई छ । यसो हेर्दा  नियमित आकस्मिकता पनि जीवनको अपरिहार्य पाटो बनेर देखा परेको छ यो उपन्यासमा । नत्र के सोचेर मधेस झरेको डुक्पा, समयले उसलाई उडाउँदै किन यता र उता पार्दो हो !

            यी सबै घटना परिघटनाका बीचमा उनिएको डुक्पा र सुक्मतीको प्रेमकथा हो महाभारा जसले पाठकलाई अन्तिमसम्म तानिरहन्छ ।

नारीपात्र

            यहाँ मुख्य रुपमा तीनजना नारीपात्रको उल्लेख गरिएको छसुक्मती, गुराँस र मेरिना । गुराँस र मेरिना उपन्यासको  बीचतिर उदाउँछन् र बीचमै बिलाउँछन् । सुक्मती एकमात्र महिला पात्र हो जो अन्तिमसम्म पाठकसँग रहन्छे । यसरी हेर्दा तुलनात्मक रुपमा लेखकले यो उपन्यासका पुरुष पात्रलाई संख्यात्मक र चरित्र निर्वाहका आधारमा जति ठाउँ दिएका छन्, उति महिलालाई दिएको देखिँदैन । यो पक्षले लैंङ्गिक समानतामाथि प्रश्न उठेको छ ।

            अर्को कुरा, नारीलाई पुरुषले विशेष गरी सौन्दर्यपान र वासनाका लागि बुझ्ने गरेको देखाइएको छ । यसका केही उदाहरणका रुपमा पुस्तकमा प्रयोग गरिएका निम्नलिखित प्रसङ्गलाई लिन सकिन्छ ।

            क) ...उसले मेरिनालाई छाँटले नियाल्न थाल्यो र तत्कालै स्वादिलो निष्कर्ष निकाल्यो केटी राम्री छे । ...मेरिनाको फतरफतरलाई उसको सौन्दर्य हेर्न पाएको मूल्यमा सुनिदिने पक्षमा थियो ऊ...। (१४६–१४७)

            ख) इन्स्पेक्टर चिच्यायो, “कति जना छाउरा ल्याएर सुताइसकिस् है, रण्डी ।” (३३६)

            ग) ...कैलेकाईं दिउँसो केटी लेर आको बेला चैँ छोड्देऊ दुईतीन घण्टालाई ।  (३५४)

घ) यस्तो बेला प्रेम भावनाभन्दा बढी वासना भइदिन्थ्यो उसका लागि । शरीर छुन नपाई गरिने प्रेम, के प्रेम मुखले गर्छु नभनेर पनि भएन । भन्दिएकै भरमा भइबस्छ र प्रेम ?  (१४९)

ङ) डुक्पा मेरिनाको सौन्दर्य र यौवनमा झुमिरहेको कर्मीमौरी थियो । उसका लागि त धर्म एउटा गफको बहाना थियो, मेरिनासँग झुम्मिरहने ।  (१५३)

जनयुद्w नेपालको इतिहासमा एउटा त्यस्तो कालखण्ड थियो, जतिबेला महिला शसक्तिकरणलाई पनि एउटा ठूलो मुद्bf बनाइएको थियो । त्यो समयको परिप्रेक्ष्यमा  लेखिएर पनि महाभाराले महिलालाई परम्परागत छवीमै किन उतारेको होला ?


    नारी पात्रले आपूmले आपैँmलाई सबल बनाएको उदाहरणका रुपमा भनें सुक्मती प्रस्तुत भएकी छ । डुक्पाले उसलाई प्रेमको बाटोको बीचमै छोडेर मधेसतिर झर्दा पनि उसले आपूmलाई सम्हालेकी छ । उसले युद्ध र धर्मको बीचको भेद छुट्याएर धर्मतिर लागेकी छ । उसले आफूलाई बुझ्ने क्रममा आफ्ना कुराहरु डायरीमा लेखेकी छ । उसमा आफ्नो जीवनको बारे निर्णय गर्न सक्ने क्षमता पनि छ । लारुम्बाबाट आफ्नो गाउँ सार्ताप फर्केपछि उसले आफ्नो शिक्षालाई अगाडि बढाएकी छ र स्कूलकी शिक्षिकासमेत भएकी छ । यस अर्थमा उसले आफ्नो जीवन आपैm सुधारेकी छ ।

            यसरी सुक्मतीको चरित्रले हाम्रो समाजमा नारीले आफ्नो स्थान आपैm अगाडि सरेर मात्र बनाउन सक्छन् भन्ने कुरा दर्शाएको छ ।

            जे होस्, करिब ४०० पृष्ठको पुस्तकले आजसम्म नलेखिएको र अनदेखा गरिएको पाटोलाई मीठो गरी प्रस्तुत गरेको छ । डुक्पाकै लवजमा भन्नुपर्दा उपन्यास ‘ओक्के छ त !’

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 4 March 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]