Saturday 27 May 2023

मन त फूलैमा…

 

 

म धेरै लामो समयदेखि मेरा एकजना दाजु कृष्ण वस्तीलाई भेट्न खोजिरहेकी थिएँ । यसको पनि एउटा कारण थियो । हुन त उहाँसँग मेरो भौतिक रुपमा भएको भेट सम्झनुपर्दा बाल्यकालमै पुग्नुपर्छ । तैपनि उहाँको चित्र ट्याटु भएर मेरो मनमा गढेको थियो । जब मैले अष्ट्रेलियामा हुँदा आफ्नी आमा गुमाएँ, कृष्ण दाजु नै मेरो पीडामा मल्हम लगाउन मेरो म्यासेन्जरमा आउनुभएको थियो । त्यही समयदेखि अथवा वि.सं. २०७० सालदेखि नै मलाई उहाँसँग भेट गर्न मन लागेकोः एक दशकपछि मात्र बल्ल मेरो इच्छा पूरा भयो ।


बस्न त कृष्ण दाजु विराटनगरमा नै बस्नुहुन्छ । दमकमा पनि आफन्तहरु भेट्न यदाकदा आउने गर्नुहुन्छ । तर खोइ कुन्नी के ले छेकेको थियो हामी दुईको बाटो ।

यस्तै एक महिनाजति अगाडि नै त हो, म सोध्दै खोज्दै उहाँको घर पुगेकी ! टाढा त कहाँ हो रहेछ र ? ठ्याक्कै महेन्द्र मोरङ्ग क्याम्पसको आडबाट तलतिर लागेपछि त आइहाल्ने रहेछ नि ! नदेख्ता मात्र कहाँ हो कहाँ जस्तो लाग्ने । बाटोबाटै दाजुको घरमा फूलेका झिलिमिली फूलहरु देख्दा मेरो मनमा भाउजू चैँ फूलकी साह्रै सौखिन हुनुहुँदो रहेछ भन्ने आएको थियो ।

भाउजूलाई त मैले देखेकी पनि थिइन । आजभन्दा करिब ४०÷४२ वर्षअगाडि अन्तरजातीय विवाह गर्न आँट गर्ने रमिता भाउजू पक्कै पनि एक प्रगतिशील र साहसी नारी नै हुनु हो भन्ने लाग्थ्यो मलाई । उहाँ धेरै वर्षसम्म शिक्षण पेशामा रहेर अहिले सेवानिवृत्त जीवन बिताइरहनुभएको छ भन्ने कुरा मलाई थाहा थियो ।

भाउजू, हजुर त फूलकी साह्रै सौखिन हुनुहुँदो रहेछ, हगि ?” मैले रमिता भाउजूलाई सोधेँ । उहाँले मुसुक्क हाँस्तै भन्नुभयो, “मलाई  फूल असाध्य मनपर्छ । अहिले त के छ र मैयाँ ! पहिले त मैले यो बरण्डाभरि पनि फूल नै फूल राखेकी थिएँ ।” मन त कसलाई पो पर्दैन र फूल ? तर त्यसलाई चाकर पनि त उति नै गर्नुपर्छ । साँच्चै नै फूलप्रति लगाव नभएको मान्छेले त्यति राम्रो फूलबारी बनाउनै सक्तैन।

बरण्डामा बसेर रमिता भाउजूले फूलाउनु भएको विभिन्न जातका फूल हेर्दै म आफ्नी सासूआमालाई पनि सम्झिरहेकी थिएँ । उहाँ बित्नुअगाडिका दुई वर्ष सासूआमाले आफ्नो फूलबारी सजाएर नै बिताउनुभएको थियो । उहाँका फूलबारीमा पनि अनेक किसिमका फूल फूलिरहन्थे । उहाँ अरु केही काम गर्न सक्नुहुन्नथ्यो तर फूल रोप्ने, गोड्ने, पानी हाल्ने काम गरिरहनुहुन्थ्यो । ती फूल हेरेर मुस्कुराउनुहुन्थ्यो, तिनै फूलसँग बात मार्नुहुन्थ्यो । “भाउजू, हजुर त दाजुसँग ठाकठुक पर्दा कुदेर आएर यिनै फूल हेर्नुहुन्छ होला, हगि ?” मैले सोधेँ । “हो नि ! यी फूल मसँग कुरा गर्छन्,” रमिता भाउजूले भन्नुभयो । यसका साथै उहाँले फूलसँग सम्बन्धित अरु केही रोचक कुरा सुनाउनुभयो । “तपाईँले विचार गर्नुभएको छ मैयाँ, हामीले एक ठाउँमा फूलिरहेको फूलको गमला त्यो ठाउँबाट अर्को ठाउँमा सा¥यौँ भने फूल खिस्रिक्क पर्छ । त्यसलाई उत्तिकै घाम, पानी, मल पुगेको हुन्छ, तैपनि त्यो रमाउँदैन । अनि २,४ दिनपछि फेरि बिस्तारै आफ्नो सुन्दरतामा फर्कन्छ,” भाउजूले आफूले ढकमक्क फूलाएका फूलहरुतिर हेर्दै भन्नुभयो । यो जानकारी मेरो लागि नौलो थियो । फेरि फूलैका कुरा अगाडि बढे । “यी फूल त मेरालागि छोराछोरीजत्तिकै हुन् । पहिले पहिले म स्कूलबाट थाकेर घर आउँदा यी फूल देखेपछि नै आधा थकाइ त मरेर जान्थ्यो,” रमिता भाउजूले थप्नुभयो । उहाँले अझ अगाडि भन्नुभयो, “कहिले मलाई रातको एघार बजे यी फूलले बोलाएजस्तो लाग्छ । अनि म उठेर यिनमा पानी हाल्छु । अनि मात्र ढुक्कले सुत्न सक्छु ।” रमिता भाउजूको कति सारो लगाव फूलसँग !


के साँच्चै नै फूलले मानिससँग वार्तालाप गर्न सक्लान् त ? विज्ञहरुका लागि यो सोधको विषय हुन सक्छ । यससम्बन्धी विभिन्न अध्ययन भैरहेका पनि छन् । उदाहरणका लागि सन् २०२१ मा सिंगापुरियन वैज्ञानिकहरुको एउटा समूहले गरेको एउटा अनुसन्धानले बोटबिरुवा मानिससँग वार्ता गर्न सम्भव छ भन्ने कुरा देखाएको छ । त्यसैगरि बर्नाडिन राकोमा आफ्नो लेखमा हालसालै गरिएका विभिन्न अध्ययनले खासमा बोटबिरुवा एक अर्कासँग, अरु जनावरसँग र यहाँसम्म कि मानिससँग पनि कुराकानी गर्न सक्छन् भन्ने तथ्य उल्लेख गर्छिन् । क्रिस बारानिउकका अनुसार मालीहरु बोटबिरुवासँग गफ ग¥यो भने यसले उनीहरुलाई हुर्कन र बढ्न प्रोत्साहन गर्छ भन्ने कुरामा विश्वास गर्छन् ।

शायद यो मायाकै खेल होला । सयारिरह्यो, हेरचाह गरिरह्यो, बोलिरह्यो गर्दा के मानिस, के अरु जनावर, के बोटबिरुवा अर्थात् के फूल सबैलाई यसले उर्जाको काम गर्दो हो जीवन्त हुनका लागि । यसै सन्दर्भमा सन् १९२० औँ र १९३० औँ को दशकतिर एक बेलायती डाक्टर एडवार्ड ब्याचले फूलद्वारा गरिने उपचार पद्धतिको विकास गरेका थिए । उनका अनुसार फूलमा र बोटबिरुवामा मानिसका संवेगहरुलाई निको पार्ने एक प्रकारको शक्ति हुन्छ । आधुनिक अनुसन्धानहरुले यो तथ्यको पुष्टि नगरेको भएता पनि ब्याचको फूलद्वारा गरिने उपचार पद्धति व्यवहारमा प्रचलित छ । यो उपचार पद्धतिमा यदि कोही व्यक्ति नकारात्मक संवगेबाट गुज्रिरहेको छ भने त्यो व्यक्तिले विभिन्न बोटबिरुवामाथि हात राख्दा त्यो नकारात्मक संवेग हराएर जान्छ ।

मेरी एकजना जेठानी दिदी भूटानमा हुनुहुन्छ । उहाँ पनि फूलबारीमा फूलाएका विभिन्न खाले फूल फेसबुकमा राखिरहनुहुन्छ । धेरै वर्ष विद्यालयमा अध्यापन गरेर अहिले सेवानिवृत्त जीवन बिताइरहनु भएकी उहाँ आफ्नो धेरैजसो समय फूलसँगै बिताउनुहुन्छ रे । यसरी फूलबारीमा रमाउँदा उहाँलाई समय बितेको पनि पत्तो हुँदैन रे । दिदी भन्नुहुन्छ, “कोइ कोइ बेला सुकेको पात अथवा ओइलाएको फूल देख्ता मनमा कस्तो कस्तो हुन्छ । ला, मैँले त यिनीहरुलाई देखिनछु नि भनेर म ती सुकेका पात टिपेर फ्याँक्छु र ओइलाएका फूललाई लु खाओ है भनेर पानी दिन्छु । यी फूल त मेरो बात मार्ने साथी पनि पो हुँदा रहेछन् त बैनी ।” फूलको महिमा गाउँदै उहाँ अझ अगाडि भन्नुहुन्छ, “अन्त मेरो मन भुलाउने एउटा डगी पनि छ हो । त्यसले कोइबेला दिक्क लाउँछ तर फूलहरु सधैँ शान्त र सुन्दर हुन्छन् । एउटा नभए अर्को, अर्को नभए अर्को फूलिरहेका हुन्छन् । यो देख्ता मलाई आनन्द आउँछ । अझ ती फूलमा माहुरी, भमरा अथवा विभिन्न खाले पुतली झुम्मिएको देख्ता कसको मन रमाउँदैन होला र ?”


यी सबै प्रसंगहरुले एउटा कुरा त पक्कै स्पष्ट पार्छ — त्यो के भने मानिस र फूलको नाता गहिरो हुँदो रहेछ । मलाई फूलेका फूल र निर्दोष बालबालिकाका अनुहार उस्तै उस्तै लाग्छन् । मानसिक तनाव भैरहेको बेलामा फूलेका फूल र साना बालबालिका देख्ता त्यो तनाव त्यसै कम भएर जान्छ । यसरी हेर्दा ब्याचले भनेजस्तै फूलमा हाम्रो दुखेका मनलाई निको पार्ने शक्ति त पक्कै हुन्छ । बालबालिकालाई त भगवान्कै अवतार भनिन्छ । त्यसैले तिनलाई देख्ता कसको चित्त नरमाउला ?

रमिता भाउजू छोरा, बुहारी र नातिनीहरु भेट्न २÷४ महिना अमेरीका जाने कुरा गर्दै हुनुहुन्थ्यो । उहाँलाई आफू उताबाट फर्केर घर आउँदा अहिले ढकमक्क फूलेका फूल सबै मर्ने कुराको चिन्ता पनि उत्तिकै थियो । अब मेरो घर फर्कने बेला भैसकेको थियो । रमिता भाउजूले कुराको बिट मार्दै भन्नुभयो, “के गर्नु मैयाँ ! उता अमेरीकामा भएका साना नातिनीहरु सम्झियो उतै जान मन लाग्छ । फेरि आफ्ना यी प्रिय फूल बेस्याहार हुने कुरा सम्झिदाँ दिक्क लागेर आउँछ ।”

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 26 May 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Saturday 20 May 2023

घाम हेर्न जाम् : लभर्स प्याराडाइज

 

 

तलाऊ किनारामा राखिएको एउटा बेञ्चमा प्रेमिल एक जोडी देखिए । अँध्यारो छिप्पिसकेको थियो । वरिपरि नजिकैका डाँडामा भएका रिसोर्ट र कटेजहरुका झिलिमिलि बत्तिले डाँडै हुनसम्मको रमाइलो देखिएको थियो । तलाऊ वरिपरिको वाकिङ ट्रेलमा अनगिन्ति मानिसहरु बिस्तारै टहलिइरहेका थिए । हेर्दैमा थाहा पाइने; उनीहरुका हिँडाइमा केहि पनि हतारो थिएन । उन्मुक्त हाँसो र स्वच्छन्द बोलिले वातावरण नै रौनकिलो । तलतिर तलाऊमा चिसो हावाले पानीका तरंग उठाइरहेको थियो । ती तरङ्गित पानीका छालमा विभिन्न रंगका विजुलीका उज्यालो पर्दा त तलाऊभरि इन्द्रेनी ओछ्याएजस्तो देखिने रहेछ । इन्द्रेनीको तन्ना ओछ्याएजस्तो तलाऊ !


दिउँसै उज्यालामा एक फन्को मारिसकेको त्यो तलाऊ राती पो अझ सुरम्य देखियो । साँझमा बरु तलाऊ वरिपरि पर्यटक घुमाउने घोडाहरुसँग तर्किनु पर्ने । सुन्दर र चिल्ला घोडा लिएर घोडे भाइहरु ग्राहक फकाइरहेका । कोहि घोडामा मान्छे राखेर विस्तारै डोहो¥याउँदै गरेका । साँझतिर त त्यहिं नजिकै चियाका बुटाबुटामा तन्नेरी तरुनीहरु फोटो हान्दै गरेका । तल मैदानको उखुम गर्मीबाट उफ्रेर पुगेका युवायुवती  तलाऊ किनारामा बड्किने घोडाभन्दा पनि फुर्तिला भएर उछलकुद गरिरहेका देखिन्थे । मौसम पनि त्यस्तै, वातावरण पनि उस्तै उमंगमय । तल तलाऊ, अनि मास्तिर डिलका छेउमा चियाबारीले ढाकेका हरिया पाखा असाध्य नै मनमोहक लाग्ने ।  हरियाली बीचमा उम्रिएका सुन्दर पाहुना घरहरुबाट कसोकसो आँखा छेउछाउका रुखमा परेछन् । अल्गा अल्गा धूपीका रुखहरु त झन् कति लोभ लाग्ने । ऊ माथि रुखका टुप्पामा शीतल सिर्सिरे हावा बयेली खेलेको झनै राम्रो । हावासँगै जिस्किँदै रुखका टुप्पाहरु लरक लरक हल्लिएको त अझ लजालु मायालुले लाजले मुन्टो लर्काए जस्तो हेरिरहूँ जस्तो लाग्ने

वास्तवमा हामी घामका जरा खोज्दै श्री अन्तुतिर लागेका थियौँ । मधेसको छाला फुट्ने घामबाट केहि राहत पाइएला भनेर चिसो खोज्दै हिँड्दा श्रीअन्तु पुगियो । एउटा सानो झोलामा केहि लुगा बोकेर हिँड्ने, जहाँ पुगिन्छ त्यहिँ बास बस्ने उद्देश्यले गरिएको बन्जारा टाइपको घुमाइ भनौं न । भाग्यवश् विर्तामोडबाट सिधै श्रीअन्तु जाने साना जीपहरु पाइने रहेछन् । खुत्रुक्क जीपमा बसेपछि इलामको बर्ने, जोरकलश अनि कन्याम छिचोल्दै जाँदा फिक्कल नपुग्दै बाटो मोडिने रहेछ । श्रीअन्तुमा घाम नाँच्दै नाँच्दै डाँडाका फेदिबाट निस्केको बखान त कति हो कति सुनेको । गाडिभरि पनि अपरिचितहरुसँग तिनै कुरा भइरहे ।  घाम आफैंमा नौलो कुरा त थिएन । तैपनि सन्दर्भ विशेषले होला घामले नै मनमा ठाउँ ओगट्यो । विर्तामोडबाट अढाई तीन घन्टामा टुङ्गामा पुगिहालिने रहेछ ।

सानो भन्ज्याङ्ग बजारले सधै पाहुना पर्खिबसेजस्तो । ड्राइभर भाइले सोधे — कता जाने ? अब हाम्रो टुङ्गो थिएन । पाहुना बोलाउन र टुङ्गो नभएकालाई आश्रय दिन केहि महिला, पुरुष सोधखोज गर्दै गाडिमै आइपुगे । यो पाहुनाको सिजन होइन रहेछ । तुवाँलो नभएको बेला पारेर असोजदेखि मंसिरसम्म चाहिँ मान्छेको ओइरो खनिँदो रहेछ । तर हामी गएको वैशाखको बेला पनि त्यति निरसिलो चाहिँ होइन ।

झोला थन्क्याएर भन्ज्याङ्ग बजार घुम्ने क्रममा देखियो, अलिअलि गर्दै गाडिहरु आउन थालेका । उता सिमापारीबाट पनि युवा जोडिहरु मोटरसाइकलमा बत्तिकै आएका । बजार त सानो । चिया खाजा पसल भेट्नै गाह्रो भयो । एक सहृदयी होमस्टेवालाले मिठो चिया र फापरका रोटि बनाइदिए । जाने ठाउँ सक्किसकेको थियो । मन चुमुर्किन थालेको थियो । तिनै होमस्टेवाला मित्रले सुझाए — ऊ त्यता अन्तु पोखरी जानू न ।


सानो थुम्किले भन्ज्याङ्ग बजारलाई पर्दाले छेकेजस्तो अन्तु पोखरी खुत्रुक्क त्यहिँ भएपनि यताबाट केहि नै नदेखिने रहेछ । दुईसय पाइला जति कच्चि बाटो हिँडेपछि त  अर्कै दुनियाँमा पुगेजस्तो । धन्न आइएछ जस्तो । आँखा भरिको रमिता नि । कुदेर मास्तिरका चियावारीमा गएर नाचौँ कि, पोखरी डिलका युवाहरुसँग नारिएर हासौं कि ! हैन, ती चिल्ला घोडामा चढेर बड्किऊँ कि ! त्यसो नगरेर ती सुन्दर रिसोर्टहरुमा रमाइलो मानेर झुमिरहेका जमातमा पो मिसिउँ कि ! मन बढो उद्वेलित भयो । भोकाएको जनावरलाई अचानक घाँसे मैदानमा छाडिदिँदा हतासिए जस्तो भयो । अब त्यता पोखरी डिलमा बसौँ र मन थिग्रिन दिउँ । अब सिङ्गो साँझ बाँकी छ । रात बाँकी नै छ । हो नि त ! साँझ त्यसै मादक बन्दै गयो पोखरीका वरिपरि । युवा युवतीहरु थपिँदै गए । घोडावाला भाइहरु घोड सवार गराउन पाहुना फकाउँदै थिए । एउटा भाइ छेउमा आयो, र सोध्यो, “राइड ? हर्स राइड ? बहुत मजा आएगा ।” “अहिले हैन, पछि गरौँला ।,” भनेपछि केटो हाँस्दै फर्कियो । अब सुस्तरी पोखरी वरिपरि घुम्नु थियो । अलिअलि फोटो उठाउनुथियो । त्यता वरिपरिको बिजुलीका उज्यालामा बिजुलीकै गतिमा नाच्ने युवाहरुका लर्कने ज्यान, मर्कने कम्मर र संगीतका लयमा झुमेका पाइलाहरुसँग एकाकार हुनुथियो ।


खाना त आठ बजे भनेको थियो बास बसेको ठाउँमा । तर रात छिप्पिदै जाँदा, पोखरी सुनसान हुँदै गयो । रौसेहरु आफ्ना आफ्ना बासतिर पसेछन् क्यारे । माथि बगानमा एक हुल तन्नेरीहरु गीतारको तालमा गीत गाउँदै थिए । पोखरीका डिलभरि पनि बत्ती भैदिएको भए ! तर निर्माणको  काम धमाधम भैरहेको रहेछ । घोडाहरु हिँड्ने अर्कै ट्रेल भैदिएको भए त्यसको पनि योजना भैरहेको रहेछ । घोडाको मलमुत्र साह्रै कडा ! त्यो गन्धले अलिक पिरोल्दो नै रहेछ । ती घोडावाला भाइहरु मान्छे हिँड्ने गोरेटोमा भएका लिदि त तुरुन्तै सफा गर्दा रहेछन् । तर के गर्नु मुत्र गन्ध अति कडा । उनीहरुको पनि गरिखाने मेलो हो । मान्छेलाई मनोरञ्जन पनि चाहिएकै छ । तर घोडा कुदाउने र मान्छे टहलिने अर्कै छुट्टाछुट्टै मार्ग भैदिए हुने नि जस्तो लाग्यो ।

घोडाको चमत्कार त अझ बिहान पो देखिने रहेछ । श्रीअन्तुमा घाम झुल्किने समय ५:१३ रहेछ । गुगलले भनिदियो । घाम डाँडो निकै पर रहेको कुरा सुनिसकेको हुँदा बिहानै हामी सडकमा निस्कियौँ । एउटा भ्यानवाला भाइले भने — पचास पचास लिन्छु । उनले माथि चौरसम्म लगिदिए । त्यहाँदेखि माथि गाडी प्रतिबन्धित रहेछ । अँध्यारैमा मानिसहरु घामडाँडातिर हतासिएर कुदिरहेका थिए । वालक, वृद्ध, युवा कति हो कति । धुपीको पट्टेर जंगलका बिचबाट बाटो रहेछ । सबैजना उत्तिकै हिँड्न नसकिने उकालो बाटो । अलिकति हिँडेपछि सास फुलेर आयो । घोडावाला भाइहरु हतासिएर घोडामा मान्छे दौडाइरहेका थिए । माथि पु¥याइराखेर फेरि हुर्रिदै तल आउँथे अनि फ्याँफ्याँ गरिरहेका मान्छे टिपेर टुप्पातिर घोडा लान्थे । बिहान घाम निस्कनु अघि त रमितै हुनेरहेछ । नभन्दै घामभन्दा पहिले नै हामी टावर चढ्यौँ । सैयौँ मान्छे हातमा मोबाइल लिएर अघि तयार परेका रहेछन् । टावर त भरिइसकेछ । मान्छेका टाउका बिचबाट उदाउँदो घाम नदेखिएला भन्ने शंका लागेर माथि टावरमा चढिसकेका हामी फेरि तल ग्राउन्डमा निस्कियौँ । दिन राम्रो परेछ । घामले मुन्टो देखायो । मान्छे हर्ष र उल्लासले चिच्याए । टावरका गेटमा दर्जनौं  दिदी बहिनीहरु सेलरोटी घुमाउँदै थिए, चना भुट्दै थिए । पुडी तार्दै थिए । पकौडा, जेरी के के हो, के के । चिया भाँडाहरुमा भुल्किदै थियो । अब त्यो उकालो चढेको भीड भोकाएर गेटबाट बाहिरिन्छ र ती पकवानहरु रोजी रोजी धुल्याउँछ भन्दै हामी ओह्रालो लाग्यौं । घाम हेर्ने हतास सकिएको रहेनछ । मान्छे अझै घाम छोप्न दौडदै थिए । हामी ओरालो लागेको देखेर उनीहरु अलि खुम्चिए । एक घाम उम्के पनि अर्को घाम भेटिएला भनेजस्तो गरेर उनीहरु उकालोतिर लम्किरहे ।


तल चौरमा आइपुग्दा बल्ल तीनजना महिला जाँदै रहेछन् । “देख्नु भो तपाईँहरुले ?,” एक जनाले सोधिन् । “देखिँदैन आजकल भनिदिए अरुले अनि हामी त ढिलो भयौँ,” उनले दुःख मनाउ गरिन् । “हैन, ठिकै छ । धेरै ठूलो कुरा मिस गर्नुभएको छैन तपाईँहरुले । बरु बिस्तारै जानोस् । धुपीको जंगलको चिसो हावा खानोस् । अनि मास्तिरै खाजा खाएर विस्तारै आउनोस् न । घाम त आफ्नै घरको वार्दलीबाटै पनि देखिन्छ नि ।” उनीहरुलाई घत परेछ क्यारे “हो त नि !” भन्दै ती महिला ठाडै उकालो लागे । हामी भनें मनभरि अन्तुको मादक सौन्दर्य बोकेर घर फर्किने तरखरका लागि भन्ज्याङ्ग बजारतिर झ¥यौं ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 19 May 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday 6 May 2023

नानीहरु नाप्ने सिजन

 

 

हरिश विद्यालयले नवप्रवेशिहरुलाई लिइने परीक्षामा फेल भएछ । हरिशकी आमा रिसले धुवाँ भइछन् । हरिश पढिरहेको स्कूलमा उसको प्रगतिदेखि असन्तुष्ट भएर उनले अर्को स्कूलको प्रवेश परीक्षामा छोरालाई सामेल गर्न लगेकी रहिछन् । तर दशा के भइदियो भनेँ हरिश प्रवेश परीक्षामा नै फेल भयो । अब उनले आफ्नो मुढे तर्क लगाइन् र भनिन्, “ट्यालेन्ट टिचर भए पो, विद्यार्थी ट्यालेन्ट हुन्छन् । मेरो हरिशलाई पढाउने टिचरै काम नलाग्ने ।” अझ अघि बढेर उनले विरह गाइन्, “त्यो हरिश पढ्ने स्कुलका सबै विद्यार्थी हरिश जस्तै हुन् र उनीहरुले कतै नाम निकाल्नै सक्दैनन् ।” हरिशकी आमा आफैँ निरक्षर हुन् । छोरोको प्रगति नभएकोमा भनें उनलाई औडाहा छ । उनी छोराले भने अनुसारका लुगा जुत्ता, साइकल किनिदिन्छिन् । तर पनि घरको कान्छो छोरो हरिश कि फ्रि फायर गेममा छ, कि पब्जीमा छ, कि गाउँ छिमेकका दौंतरीहरुसँग पोकेमोन कार्ड ट्रेडिङमा छ । उसलाई घरमा नटेर्न छुट छ । हरिशलाई कल गरेर, रोड्याइँ गरेर आफूलाई मनलागि गर्न छुट छ । आमा भनेकी आमा हुन् । उनले आफू सक्दो गरेकी छन् । बाबुले विदेशबाट दुःख गरेर पठाएका पैसा छोराको स्कूल र ट्यूसनमा खर्च गरेकै हुन् । अन्त्यमा हरिशकी आमाको निस्कर्ष के रहेछ भने  शिक्षकको क्षमता नपुगेकै हो । यस अर्थमा उनी सहि हुन् किनभनें हरेक विद्यार्थीको क्षमताको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्न सहयोग गर्नु प्रत्येक विद्यालय र शिक्षकहरुको दायित्व हो । तर सिकाइमा घर र विद्यालयको दायित्व बराबरी हुन्छ । विद्यार्थीको पढाइ र प्रगतिमा घरको पनि उत्तिकै दायित्व हुन्छ भन्ने कुरा उनले बुझ्न चाहिनन् वा सकिनन् ।


यस्तो समस्या हरिशको मात्र हैन । अर्को एकजना अभिभावकले मलाई असन्तुष्टि प्रकट गर्दै आफ्नी छोरीको होमवर्क चेक नभएको गुनासो व्यक्त गरिन् । तर गर्दै नगरेको होमवर्क के कसरि चेक गर्ने त भन्ने प्रश्नमा उनले भनिन् — “स्कूलमा थर्काइदिएको भए घरमा गएर गर्ने थिई नि नानीले होमवर्क ।” यस्तो समस्या प्रायः सबै विद्यालयले भोग्दा हुन् । अझ अर्को रोचक पक्ष त अभिभावकहरुको इच्छा आफ्नो छोरो अथवा छोरी जोरिपारीका भन्दा अब्बल होस् । सोधेका कुराहरु फ़र्फ़री भनिदिओस् । मोवाइल र टेलिभिजनबाट परै बसोस् । बोल्दा अत्यन्त अदवसँग बोलोस् । तर कुनै पनि विद्यालयले मात्र यी सम्पूर्ण गुणहरु एउटा विद्यार्थीमा भरिदिन सक्दैन । त्यसो हुँदो हो त सबै विद्यार्थीहरु एउटै दर्जामा आउने थिए । परीक्षा प्रणालीको जरुरत हुने नै थिएन । बाबुआमाले सोचेजस्तै विषय पढेर उनीहरु नाम, दाम र प्रतिष्ठा सोहोर्ने थिए ।

वैशाख महिना लागेसँगै स्कुले नानीहरु नाप्ने सिजन चल्छ । सबैभन्दा पहिले त अब्बल ठानिएका स्कूलहरुले हाम्रा नानीहरु जाँच्छन् । ठूला शहर केन्द्रीत विद्यालयहरुमा, नामी विद्यालयहरुमा आफ्ना नानी जाँचिमागेर हामी पनि त्यसको मूल्य तिर्न राजी हुन्छौँ । यो जाँच्ने रोग पनि लोकतन्त्र जस्तै भएको छ । गाउँ गाउँमा सिंहदरवार भने झैं गाउँ गाउँमा प्रवेश परीक्षाको रोग सल्केको छ । संस्थागत विद्यालयले त यो गर्ने नै भए, सामुदायिक विद्यालयमा समेत यो रोग फैलिएको छ । प्रश्न यहाँ के उठ्छ भनेँ मापदण्डमा नपर्ने विद्यार्थी कहाँ जाने ? विद्यालय र शिक्षकको काम सिकाइमा प्रोत्साहन गर्ने हैन र ? कुनै पनि विद्यार्थीलाई प्रवेश परीक्षामा अनुत्तिर्ण गराएर त्यस विद्यार्थीको मानसिकतामा आउने हिन भावना र त्यसबाट उत्पन्न नकारात्मकताको जवाफदेहि को हुने ? अनि राम्रा मात्र विद्यार्थी छानेर लिएर आफूलाई उत्कृष्ट दावी गर्ने विद्यालय संस्कारलाई कसले रोक्ने ?


हाम्रो समाजमा त्यसै पनि नपढ्नेहरुलाई त्यति गन्तिमा ल्याइँदैन । नपढेका मानिसमा त छोराछोरी पढाउनुपर्छ भन्ने मात्र चेत हुन्छ । तथाकथित पठितहरुमा भने मैले ठूलो समस्या देखेकी छु । उनीहरु आफूलाई सर्वज्ञ ठान्छन् र मेरो नानी यत्तिको हुनु पर्ने किन भएन भन्ने प्रश्न गर्छन् । उनीहरुमा के समस्या हुन्छ भनें बच्चालाई स्कूल पठाएर विहान वेलुकै ट्यूसन पढाएपछि बच्चा अब्बल भएर निस्कन्छ । तर यो भ्रम हो । सबैको क्षमता उत्तिकै हुँदैन । मानसिक क्षमता र रुची आ–आफ्नै हुन्छन् । केहि अभिभावकहरु वच्चालाई दायाँ वायाँ गर्न समय नै नपुग्ने गरी होमवर्क चाहन्छन् । 

नानी बाबुहरुले आ–आफ्ना क्षमता लिएर आएका हुन्छन् । विद्यालयले पनि सकेसम्म फरक क्षमता भएका र पढ्नमा उति अभिरुची नभएका विद्यार्थीहरुलाई पनि उत्तिकै प्रोत्साहित गर्न पर्ने हो । तर हामीकहाँ त्यो कुराको साधारणतयाः प्रचलन छैन । त्यसको परिणामस्वरुप भर्खरै मात्र कवि तथा फिल्म निर्देशक उपेन्द्र सुब्बाकी छोरीलाई राजधानीकै एक विद्यालयले हतोत्साहित गरेको समाचार आएको थियो । हामी अभिभावकहरु पनि विद्यालयले नै सबै काम गरिदेओस् भन्ने सोच राख्छौँ । घरमा पनि हेरिदिनुपर्छ है भन्ने हो भने थोरै अभिभावकहरु मात्र त्यस कुरामा सहमत हुन्छन् । उनीहरु कि त नभ्याउने, कि त नानीले नटेर्ने कुरा सुनाउँछन् । घरमा हामीले वातावरण सिर्जना नगरिदिने हो भनेँ, नानीहरुलाई समय नदिने हो भने पक्कै पनि पढाइले अपेक्षित प्रतिफल दिन सक्दैन ।


केटाकेटीहरु सबैले बाबु आमाले चाहेकै जस्तो नगर्न सक्छन् । वाल मष्तिस्कलाई तौलिने हाम्रो प्रक्रिया पनि गलत हुन सक्छ । हाम्रो ज्ञानको दायरा अनुसार हामी उनीहरुलाई प्रश्न सोध्छौँ । अनि उत्तर नआएमा त्यसको कारण खोज्ने प्रयास गर्दैनौँ र सोझै विद्यालयमा झम्टिन पुग्छौँ । तर जब बच्चा आफूले सोचे मुताविक वा त्यो भन्दा अब्बल लाग्छ, त्यसबेला हाम्रो सोचाइले फड्को मार्छ । यो बच्चालाई एक कक्षा फड्काउन पाए, अलिक चाँडो हुनेथियो । कक्षा फड्काउन पर्ने कारण सोधियो भने अभिभावकको उत्तर हुन्छ, यसको उमेर वितिगयो । स्कूल हाल्न ढिलो भयो । बच्चाले सक्छ वा सक्दैन हेरिदैन । उसको उमेर वितिगएको मात्र देखिन्छ । अनि अभिभावकहरु भन्छन्— “म यसलाई पेल्छु नि ।” अनि उनीहरुलाई उनीहरुले बुझ्ने भाषामा सोध्नुपर्ने हुन्छ, “नानीले सधैँ पाँच गाँस भात खान्छ । उसको पेट नै त्यत्रै छ । तपाईँले दश गाँस भात कोच्याउँदा पेट दुख्ला, उल्टि गरिदेला नि त !” “हैन म पेल्छु, उमेर वितिगयो नि त !” यहि एक उत्तर हुन्छ ।

साना नानीहरुले ठूला र गह्रौं झोला बोकेर हिँडेको हामी देख्छौं । ती विषयहरुमा अनन्त वहस गर्छौ तर ती नानीहरुलाई हामी आफैं हाम्रा अधुरा सपनाहरुको मरिकुच्चको भारि बोकाइरहेका हुन्छौं । त्यो हामी देख्दैनौं । अढाइ तीनका अबोध नानीहरुलाई हाम्रा सपनाको भारि बोक्न गाह्रो भएको हामी देख्दैनौं । त्यसैले आउनुहोस्, हामी विद्यालय र घर परिवार मिलेर हाम्रा केटाकेटीको आन्तरिक क्षमताको पहिचान गरौं र त्यो क्षमताको विकासका लागि उनीहरुलाई सहयोग गरौं । यो नैं हामीले उनीहरुलाई दिने सुन्दर उपहार हुनेछ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 5 May 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]