Friday, 22 September 2023

केहि अब्डेरा प्रश्नहरु

 

उत्तरदातालाई पनि अप्ठ्यारो पार्ने प्रश्नहरूलाई यक्ष प्रश्न भन्ने गरिन्छ । महाभारतको वन पर्वमा यक्षले युधिष्ठिरलाई सोधेका केही कालजयी प्रश्नहरू नै यक्ष प्रश्न हुन् । वनवासी महाराज युधिष्ठिरको १२ वर्षको वनवास समाप्त हुनै लागेको बेला एक जना ऋषिको यज्ञका लागि आगो बाल्ने अरणी यन्त्रसहितको काठ एउटा बलियो मृगले सिङमा अड्काएर भागेछ । त्यसलाई खोजेरे ल्याइदिन ऋषिले पाण्डव दाजुभाइहरुसँग सहयोग मागेका रहेछन् । त्यो सामग्री फिर्ता लिनका लागि पाँचै भाइ मृगको खोजीमा हिँडे तर मृग कतै फेला परेन । थाकेका पाँचै दाजुभाइ थकाइ र तिर्खाले एक वृक्षमुनि बसेर पानीको खोजी गर्न थाले । युधिष्ठिर ले पहिले नकुललाई पानी लिन पठाए तर उनी फर्केनन्, सहदेव गए, उनी पनि समयमा फर्केनन्, अर्जुन र भीम पनि पानी लिन गए तर कोही पनि फर्केर नआएपछि युधिष्ठिर आफैँ पानी र भाइहरूको खोजीमा हिँडे ।


चारै जना भाइहरू एक पोखरी किनारामा बेहोस ढलेका थिए । युधिष्ठिर चारै  भाइहरूका क्षमता सम्झी सम्झी विलाप गर्न थाले । त्यतिबेलै बकुल्लाको रुपमा यक्ष देखा परे र अनुमति बिनै पानी खान खोजेकाले चार भाइ दण्डित भएको कुरा बुझाए । उपायस्वरुप यक्षले युधिष्ठिरलाई केहि प्रश्न सोध्ने भए र सहि उत्तर आएमा भाइहरुको ज्यान पनि बच्ने भयो र पानी पनि पिउन पाइने भयो । यस्तो चर्को प्रसंगमा त होइन तर पनि हरेक पटकको सोधाइमा अप्ठेरो लाग्ने केहि अब्डेरा प्रश्नहरुको मैले यहाँ चर्चा गरेकी छु ।

तपाईंको परिचय ?

देश गुणाको भेष भनेजस्तै आफ्नो आफ्नो संस्कारमा अपरिचित व्यक्तिसँग कुराकानी शुरु गर्ने बेग्लाबेग्लै परम्परा हुन्छन् । पटक्कै नचिनेको व्यक्ति फेला पर्दा हाम्रोतिर भनें, “यहाँको परिचय ?” भनेर सोध्ने गरिन्छ । बिना सोचविचार प्रचलित नियम अनुसार भन्ने हो भनें त म फलाना थरको फलाना व्यक्ति भनिन्छ । त्यतिले नपुगे अझ आफू भन्दा नाम चलेका व्यक्तिको परिचयसँग आफ्नो परिचय जोडिन्छ । त्यतिले पनि आफ्नो परिचय नखुले छर छिमेकीको सहारा लिएर भएपनि आफू उभिन खोजिन्छ । योचाहिँ अलि पुरानो समयको चिनापर्चीको तरकिव हो । अहिले आएर कतिपय अवस्थामा आफ्ना पद, सामाजिक ओहदाका सहायताले पनि आफूलाई उभ्याउने चलन छ ।

मलाई भर्खरै यस्तै पर्यो । “अनि तपाईंको परिचय ?” तत्क्षणमा त मैले यो प्रश्नको समाधान पुरातन पद्धतिले नै गरें । म फलानी, फलानीकी छोरी, फलाना ठाउँमा जन्मेको यस्तै यस्तै । तर मलाई पछि भनें यस कुरादेखि चित्त बुझेन । वास्तवमा मचाहिं को हुँला त ? नाम त म जन्मेपछि अरुले टाँसिदिएको हो । नामपछिका कुरा त अझ पछि थपिँदै गएका हुन् । पढाई, जागिर, लोग्ने, छोराछोरी, स्थान जस्ता परिचयका अनगिन्ति फूर्काहरू सबै पछि थपिँदै, जोडिँदै आएका हुन् । 

मैले जेलाई म भनिरहेकी थिएँ, वास्तवमा म ती नाम, पद, ओहदा, सम्बन्ध केहि पनि होइन रहेछु । म त हाड, मासु, छालाको पिण्ड सम्म पनि रहेनछु । गहिरिएर मनन गर्दा ‘म’ आफूले मलाई परिचयहीन पायो । हामीलाई समाजले सम्मानपूर्वक भिराइदिएका परिचय फुकालिदिएर हेर्दा त सबैजना बराबर पो देखिने रहेछ । यहाँ घटुवा सिद्दान्त लगाएर सम्पूर्ण पगरीहरु फाल्दै गएपछि शरीर बाँकि रह्यो । बाहिरको गर्व गर्न लायकको छाला र मासु समेत घटुवा गरेपछि त सवै उस्तै । पक्का समाजवादी सिद्धान्त त यो पो रहेछ जस्तो लागेर आयो मलाई ।  आजसम्म म जे जे कुरामा आफूलाई गौरवान्वित महसूस गर्थे, त्यहि मेरो परिचय हो भन्दी रहेछु म । अरुले पनि त्यहि नै नियम पालना गर्ने रहेछन् । तर ती पद, ओहोदा, प्रतिष्ठा समयको जाँतोमा धुलिने रहेछन् । समय आफैं एउटा रहस्यमय गुफा जस्तो हुने रहेछ । स्वाट्ट समयचेत भित्र पसेपछि विचित्रतामा रम्दै भुलिदै गर्दा फुत्त बाहिरिनुपर्ने घन्टी बजिहाल्ने ।


अनि तपाईंको पहाड चैं ?

पुराना पातहरुका बात नै छुट्टै । तपार्इंको परिचय मागिसकेपछि उनीहरुले सोध्ने भनेकै तपाईंको पहाड हो । हाम्रोभन्दा अघिल्लो पुस्ता प्रायः पहाडबाटै झरेको पुस्ता हो । उहिले मधेसमा औलोका भयले गर्दा पहाडेहरू त्यति नझर्ने ।  वि.सं. २०१५ वरिपरिवाट मात्र पहाडबाट मधेस झर्नेको बाढि लाग्न शुरु भयो र वन फडानी शुरु भयो । औलोका भुमरीमा कुइनाइनका गोलीका भरमा मान्छे जंगल फाड्न जीउ ज्यान छोडेर लागि परे । यहाँका आदिवासीहरू छेउ लागे । पहाडे टाठाबाठाले मधेसमा आधिपत्य जमाए । हो तिनै पुराना पुस्ताले खोजि गर्ने हो, उत्पत्ति थलो, “तपाईंको पहाड चैं कता ?” भनेर । पुरानो पुस्ता जो पहाडबाट तराई झर्यो, त्यसको पुरानो थातथलो, बाजे बराजु भएको ठाउँ पहाड हुनसक्ला तर अहिलेका मधेसमा हुने नवपुस्ताहरुले पहाड सुनेका मात्र हुन सक्छन् । म आफैँ र मेरो श्रीमानले समेत आफ्नो पहाडको दर्शन भर्खरै पायौं । अझ हाम्रा छोरा छोरी, भतिजा, भतिजीहरुले त कसरी पहाड खुट्याउन् ? हामी गतवर्ष असमतिर घुम्दा समेत त्यहाँका नेपालीहरूले पहाड सोधे । उनीहरू आफैं त्यहिँ जन्मेर हुर्केका भएपनि बाबु बाजेहरु कुन स्थानबाट असम छिरे भन्ने कुरा उनीहरूले नबिर्संदा रहेछन् । मूलजरो सधैँ प्यारो हुने रहेछ ।

तपाईं चैं के थरि ?

अनि अर्को अप्ठेरो प्रश्न पनि छ हाम्रो समुदायमा । त्यो हो, “तपाईं चैं के थरि ?” मलाई यो प्रश्न जति वाहियात लाग्छ, त्यति नै समाजले यसलाई महत्व दिएको हुन्छ । अझ गहिरेर हेर्दा त महिलाको थरि नै पो नहुँदो रहेछ । बिहा नगरुन्जेल माइतीको थर । अनि बिहा भएपछि बाहुन क्षेत्रीको चाहिँ गोत्र नै परिवर्तन भएर थर पनि परिवर्तन हुने रहेछ । अनि माइतीको थरमाथि अर्को थर जोडिने । धन्न अहिले आएर बिहेवारी बीस वर्ष पारी भने सूत्रले गर्दा धेरैजसो दिदी बहिनीहरुले विवाहपूर्व नै नागरिकता बनाइसक्छन् र कमसेकम कागजी रूपमा माइतीको थर रहन्छ । उहिले उहिले त यो थरको चलन पनि रहेनछ । यसो पुराण शास्त्रतिर हेर्दा कुनै पनि थर उल्लेख भएको पात्र नपाइँदो रहेछ । नत्र सीता, सावित्री, गान्धारी, रावण, राम, कृष्ण, दुर्योधनका थर हनुपर्ने हैन र ? ती पौराणिक कथामा उल्लेखित पराक्रमी राजाहरुका वंश चाहिँ उल्लेखित छ है । जस्तै,  सूर्यवंशी, सेनवंशी, यदुवंशी आदि आदि । अनि ऋषिमुनिहरुका थर खोई ? परासर, वशिष्ठ, अत्री, पर्शुराम जस्ता ऋषिहरुको पनि थर भएजस्तो लागेन मलाई ।

पहिलेको समयमा जनघनत्व पनि कमै हुँदो हो, त्यहि भएर नाम र वंशले काम चल्थ्यो होला । पछि पछि गएर थरहरू थपिए होलान् । थरका सहयोगले गण, समूह छुट्याउन सजिलो भयो होला । यी थरहरू कसरी रहन गए र यसको अर्थ के हो भन्ने खोज अनुसन्धानको बाटो अर्कै छ । मलाई चाहिँ के लाग्छ भने मान्छेको परिचय, थर र वंशमा भन्दा उसका काम, क्षमता र योग्यताबाट निर्धारण गरिनुपर्ने हो । उहिले कसैले एकै दिनमा चालिस अध्याय वेद पाठ गर्यो  र चालिसे थर भयो भन्ने गरिन्छ । अब त्यहि अर्थमा हेर्ने हो भनें थरको बिँडो थाम्ने मुश्किलले मात्र भेटिन्छन् ।


कस्तो मोटाको ?

अर्को मलाई खट्किने प्रश्न चाहिँ, “कस्तो मोटाएको ?”  भन्ने हो ।  भेट्न, बोल्न, हालचाल बताउन नपाई सोधिने प्रश्न हो, “किन यस्तो मोटाएको ?” त्यो प्रश्नकर्ता आफैं पनि अपवाद बाहेक उस्तै कुरुप स्वरुपकै हुन्छ । मोटाइनु वा दुब्लाइनुसँग खासमा त्यो प्रश्नकर्तालाई त्यति धेरै सरोकार पनि हुँदैन । तैपनि अलिकति मानमर्दन गरिदिइहालौँ भनेजस्तो कति मोटाएको भन्ने प्रश्नको सामना जोकोहिले गर्नुपर्छ । यहि प्रश्न सुन्दा सुन्दा आजित भएर अनेकौं उपाय लगाएर ज्यान झिनो बनायो फेरि पनि उस्तै । “आम्मै, कस्तो सन्याक्सुनुक भको । सुगर छ कि क्या हो ?”  ल अब के गर्दा चाहिँ भलो होला भनेर सोच्दा एउटै उपायरुपी अस्त्र फेला पर्यो -  “सहि हो, तपाईंले ठ्याक्कै मिलाउनुभयो ।”

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  22 September 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 




Saturday, 16 September 2023

तन्किएको तीज

 

यसपालीको तीज असोजमा परेको छ । तीजकै बेलामा मात्र दर खाएर अहिले भ्याउन सकिँदैन । त्यसैले मेरी निर्मला दिदीलाई तीजको चटारो शुरु भएको भदौ महिना लागेदेखि नै हो । स्थानीय एक विद्यालयमा प्राध्यापन गर्ने निर्मला दिदी अनेकौं संघ संस्थामा समेत सक्रिय रुपमा संलग्न हुनुहुन्छ । उहाँले आफूले बोलाउनु पर्ने र तीज खुवाउनु पर्ने चेलीहरु पनि छन् । यस्तै उहाँको तीज धपेडी देखेर मैले  उहाँलाई सोधें, "दिदी, यसपाली कतिवटा तीज कार्यक्रम छन् हौ ?” उहाँले गन्न समेत भ्याउनु भएको रहेनछ । एकछिन कुराको विश्राम लिएर उहाँले औंला भाँच्न थाल्नुभयो र भन्नुभयो, "घरकोसँग आठ । अरु पनि छन् जानुपर्ने त तर कतै जुधेको छ, कतै टाढा छ ।” राधे, एक नारीले झन्डै दर्जन तीज भ्याउनु त चर्कै कुरा हो नि । तैपनि निर्मला दिदी भ्याउनुहुन्छ । शायद हामी सबै भ्याउँछौ कसो  कसो  मिलाएर ।



समयसँगै रितीरिवाज र चालामाला पनि फेरिने रहेछन् । हामीले मनाउने सामाजिक पर्वहरुमा यस्ता परिवर्तन कति हो कति देख्न पाइन्छ आजभोलि । समाज, संस्कृति र चालचलन समयानुकूल परिर्वतन हुनु नराम्रो होइन । तर कतिसम्म परिवर्तन हुने भन्ने कुराको सीमारेखा चाहिं हामी आफैंले कोर्ने  रहेछौँ  । कसैलाई यत्तिसम्मको ठिकै हो भन्ने लागेका कुरा अन्यलाई ‘हैट, के रमिता देखाएको होला?’ भन्ने पर्न सक्छ ।


चेलीहरुको नामको एकमात्र चाड तीज पनि त्यस्तै परिवर्तनको चपेटामा परेको छ । एक पुस्ता अगाडिका आमा, दिदीहरुले मानिआएको तीजको कायापलट नै भएको छ । उस जमानामा न त हातमा मोबाइल थिए, न त यातायातको सुविधा नै थियो । कृषिमा आधारित जीवन—चर्या थियो । हातमा दाम कम थियो तर काम नै काम थियो । घरधन्दा, केटाकेटी, बस्तुभाउ, घाँसपात, मेला, पर्म जस्ता सैयौं कुरा महिलाहरुकै जिम्मामा हुन्थ्यो । घाम, पानी, आगो र बुहार्तनको भट्टिमा आठ दशको उमेरदेखि पसेका बहुसंख्यक नारीहरु चालिसको उमेरको हाराहारीमा पुग्दा रौनकहीन थकौटा गाई जस्ता भैजान्थे । अहिले समय फेरियो । घरघरबाट जवान र काम गर्ने उमेरका तन्नेरीहरु जहाज चढेर टाढाको अज्ञात भूमिमा मजदुरी गर्न लर्को लागेको लागेई छन् । उनीहरुका दुःख त कति हो कति होलान् त्यो परदेशमा । मुगलान उपन्यासमा सुतार कान्छो र ठुलेजस्ता पात्रहरुले पाएको दुःख उपन्यासकार गोविन्द राज भट्टराईले वर्णन गरेजस्तो उनीहरु अनन्त पीर सहँदै अर्काको भूमिमा गैंती बजार्दा हुन् । यता दैनिक रुपमा करिब २००० युवाहरु एयरपोर्टमा विदेश जान लामबद्द देख्ता खबुज उपन्यासमा वर्णित पात्रहरुजस्तै हाम्रा दाजुभाइहरु पनि ‘थुइक्क मेरो बाख्रे जुनी’ भन्दै निधारका पसिना पुस्दा हुन् । घरबार, बाउ, आमा, छोरा, छोरी सम्झेर पसिना बगाँउदा हुन् । त्यो पसिनाको मूल्यले यता मुलुकमा भनें परिवर्तन ल्याएको छ । अहिले काम कम छ, हातमा दाम धेरै छ पहिले पहिले भन्दा । मोवाइलले पनि रितिरिवाजमा परिवर्तन ल्याएको छ । क्यामेरा सहितको मोवाइल आएदेखि र सामाजिक सञ्जालको प्रयोग बढेदेखि अझ अझ तीज रौनकिलो बन्दै गइरहेको छ ।


अझ रमाइलो पक्ष त के छ भने एक / दुई महिनाभरका तीज अगाडिका सप्ताहान्तहरु तीज पार्टिले खान्छन् । खास दर खाने दिनभन्दा अगाडि नै परिपरिका दरहरु चल्छन् । अझ कार्यस्थलका, आमा समूहका, टोल विकासका, सहकारीका र आफन्ती साथीभाइ हुँदै सम्धिनी घरका दर पनि भ्याउनु पर्ने हुन्छ । पुरातन समयलाई सम्झिने हो भने तीजको ब्रत बस्ने अघिल्ला दिन राती दुधबाट बनेका परिकार टन्न खाने चलन थियो । तोकिएका दिन बाहेकका दिनमा दर भनेर खाइँदैनथ्यो । अघिल्ला दिन राती दुध र घ्युका गरिष्ट भोजन गरे भोलिपल्ट ब्रत बस्न सहज होला भनेर पनि त्यस्तो चलन चलेको होला ।



अहिलेका तीजहरु अलिक रौनकिला बनेका छन् । नारी स्वतन्त्रताका पर्याय पनि बनेका छन् । जति दर कार्यक्रम उती नयाँ साडीले पनि बजार पाएको छ । साडीमा पनि रमाइलो के छ भनें दर पार्टीमा सहभागी हुने सबैले उस्तै लगाउनु पर्ने ! त्यस्ता एकनासे साडीको नाम नै ‘भाइरल साडी’ । भाइरल साडी देखाउनू त साहुजी भनेपछि पसलेले नि बुझ्ने र थानका थान यस्ता साडी देखाउने । अनि तपाईं जतिवटा तीज कार्यक्रममा जानुहुन्छ, उति नै भाइरल साडी चाहिने । भएन त रमाइलो ? अनि यस्ता एकनासे भाइरल साडी लगाएर समूहमा निर्धक्कसँग नाचगान गरेर, इच्छा भोजन गरेर, दुई चार फोटा, दुई चार भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न पाइएको छ । युगानुकूल परिवर्तन केहिलाई अपाच्य लागेपनि धेरजसो नारीहरुका हकमा तीज सुन्दर चाड बनेको छ । उहिले पनि त गीत गाइन्थे विरहका, चेली माइत जान्थे र दर खान्थे । मौका पाए यसो नाच्थे पनि होलान् दौंतरीसँग । अहिलेको तीज त्यहि पुरातन तीजको विस्तृत रुप त हो नि । पहिला यातायात र संचारका माध्यम नभएर महिला कुँजिएका भएपनि तीज मनाउने प्रक्रिया त करिब उस्तै नै थियो । ठ्याक्कै पहिलेकै स्वरुपमा त के नै पो थामिएको छ र ? त्यसैले तीज बिग्रियो भन्नु गलत हो । महिलाहरुको खुशी देख्न नसकेर अंकुश लगाउन खोजिएको मात्र हो । अझ अहिले आएको सकारात्मक परिवर्तन के हो भने तीजलाई उमंगको चाडका रुपमा लिन थालिएको छ । पहिले जस्ता रुन्चे पिन्चे गीतहरुले तीज पार्टीमा त्यति स्थान पाँउदैनन् । आधुनिक तीजका सकारात्मक पक्षसँग गाँसिएर नकारात्मकता पनि नआएका भने होइनन् । तीजको अहिलेको नकारात्मक पक्ष भनेको यसको भड्किलोपन हो । देखावटी रुपमा प्रत्येक पार्टीमा फेरिने वस्त्र र आभूषणले तीजलाई पक्कै पनि खर्चिलो बनाएको  छ ।


उहिले जस्तो वर्षदिन कुरेर एक तीज दर खाने चलन सबैतिर परिवर्तन भयो होला जस्तो लाग्छ मलाई । उहिले पो कसो कसो मुस्किलले कति दिन हिँडेर माइत पुगिन्थ्यो र दर खाइन्थ्यो । अहिले त बिहान दमकमा, दिउँसो काठमाडौमा, अनि साँझमा विराटनगरमा तीज पार्टी भ्याउने साहसी महिला पनि भेटेकी छु मैले ।



गुनासा र नकारात्मक कुराहरु खोज्दै जाने हो भने एउटा पहाड नै बन्न सक्ला । तर तीजले ल्याउने उमङ्ग र समय अनुसारको तौर तरिकामा आफ्नो गच्छे हेरेर चल्दै गर्नुपर्छ । छिमेकी घोडामा चढ्यो भनेर आफू  धुरीमा चढ्नुपर्ने जरुरी छैन । जे भए पनि वर्ष दिनमा एक पटक विशेषगरि महिलाका लागि छुट्याइएको यो पर्वमा महिलाहरु नरमाए को रमाउने? त्यसैले गुनासोका लागि अब समय छैन । तीज सँघारमै आइसकेको छ । देश तथा विदेशमा रहनुहुने सबै नेपाली दिदीबहिनीहरुलाई तीजको हार्दिक शुभकामना ।


तीजको रहर आयो बरि लै ।

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  15 September 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]