Friday 22 September 2023

केहि अब्डेरा प्रश्नहरु

 

उत्तरदातालाई पनि अप्ठ्यारो पार्ने प्रश्नहरूलाई यक्ष प्रश्न भन्ने गरिन्छ । महाभारतको वन पर्वमा यक्षले युधिष्ठिरलाई सोधेका केही कालजयी प्रश्नहरू नै यक्ष प्रश्न हुन् । वनवासी महाराज युधिष्ठिरको १२ वर्षको वनवास समाप्त हुनै लागेको बेला एक जना ऋषिको यज्ञका लागि आगो बाल्ने अरणी यन्त्रसहितको काठ एउटा बलियो मृगले सिङमा अड्काएर भागेछ । त्यसलाई खोजेरे ल्याइदिन ऋषिले पाण्डव दाजुभाइहरुसँग सहयोग मागेका रहेछन् । त्यो सामग्री फिर्ता लिनका लागि पाँचै भाइ मृगको खोजीमा हिँडे तर मृग कतै फेला परेन । थाकेका पाँचै दाजुभाइ थकाइ र तिर्खाले एक वृक्षमुनि बसेर पानीको खोजी गर्न थाले । युधिष्ठिर ले पहिले नकुललाई पानी लिन पठाए तर उनी फर्केनन्, सहदेव गए, उनी पनि समयमा फर्केनन्, अर्जुन र भीम पनि पानी लिन गए तर कोही पनि फर्केर नआएपछि युधिष्ठिर आफैँ पानी र भाइहरूको खोजीमा हिँडे ।


चारै जना भाइहरू एक पोखरी किनारामा बेहोस ढलेका थिए । युधिष्ठिर चारै  भाइहरूका क्षमता सम्झी सम्झी विलाप गर्न थाले । त्यतिबेलै बकुल्लाको रुपमा यक्ष देखा परे र अनुमति बिनै पानी खान खोजेकाले चार भाइ दण्डित भएको कुरा बुझाए । उपायस्वरुप यक्षले युधिष्ठिरलाई केहि प्रश्न सोध्ने भए र सहि उत्तर आएमा भाइहरुको ज्यान पनि बच्ने भयो र पानी पनि पिउन पाइने भयो । यस्तो चर्को प्रसंगमा त होइन तर पनि हरेक पटकको सोधाइमा अप्ठेरो लाग्ने केहि अब्डेरा प्रश्नहरुको मैले यहाँ चर्चा गरेकी छु ।

तपाईंको परिचय ?

देश गुणाको भेष भनेजस्तै आफ्नो आफ्नो संस्कारमा अपरिचित व्यक्तिसँग कुराकानी शुरु गर्ने बेग्लाबेग्लै परम्परा हुन्छन् । पटक्कै नचिनेको व्यक्ति फेला पर्दा हाम्रोतिर भनें, “यहाँको परिचय ?” भनेर सोध्ने गरिन्छ । बिना सोचविचार प्रचलित नियम अनुसार भन्ने हो भनें त म फलाना थरको फलाना व्यक्ति भनिन्छ । त्यतिले नपुगे अझ आफू भन्दा नाम चलेका व्यक्तिको परिचयसँग आफ्नो परिचय जोडिन्छ । त्यतिले पनि आफ्नो परिचय नखुले छर छिमेकीको सहारा लिएर भएपनि आफू उभिन खोजिन्छ । योचाहिँ अलि पुरानो समयको चिनापर्चीको तरकिव हो । अहिले आएर कतिपय अवस्थामा आफ्ना पद, सामाजिक ओहदाका सहायताले पनि आफूलाई उभ्याउने चलन छ ।

मलाई भर्खरै यस्तै पर्यो । “अनि तपाईंको परिचय ?” तत्क्षणमा त मैले यो प्रश्नको समाधान पुरातन पद्धतिले नै गरें । म फलानी, फलानीकी छोरी, फलाना ठाउँमा जन्मेको यस्तै यस्तै । तर मलाई पछि भनें यस कुरादेखि चित्त बुझेन । वास्तवमा मचाहिं को हुँला त ? नाम त म जन्मेपछि अरुले टाँसिदिएको हो । नामपछिका कुरा त अझ पछि थपिँदै गएका हुन् । पढाई, जागिर, लोग्ने, छोराछोरी, स्थान जस्ता परिचयका अनगिन्ति फूर्काहरू सबै पछि थपिँदै, जोडिँदै आएका हुन् । 

मैले जेलाई म भनिरहेकी थिएँ, वास्तवमा म ती नाम, पद, ओहदा, सम्बन्ध केहि पनि होइन रहेछु । म त हाड, मासु, छालाको पिण्ड सम्म पनि रहेनछु । गहिरिएर मनन गर्दा ‘म आफूले मलाई परिचयहीन पायो । हामीलाई समाजले सम्मानपूर्वक भिराइदिएका परिचय फुकालिदिएर हेर्दा त सबैजना बराबर पो देखिने रहेछ । यहाँ घटुवा सिद्दान्त लगाएर सम्पूर्ण पगरीहरु फाल्दै गएपछि शरीर बाँकि रह्यो । बाहिरको गर्व गर्न लायकको छाला र मासु समेत घटुवा गरेपछि त सवै उस्तै । पक्का समाजवादी सिद्धान्त त यो पो रहेछ जस्तो लागेर आयो मलाई ।  आजसम्म म जे जे कुरामा आफूलाई गौरवान्वित महसूस गर्थे, त्यहि मेरो परिचय हो भन्दी रहेछु म । अरुले पनि त्यहि नै नियम पालना गर्ने रहेछन् । तर ती पद, ओहोदा, प्रतिष्ठा समयको जाँतोमा धुलिने रहेछन् । समय आफैं एउटा रहस्यमय गुफा जस्तो हुने रहेछ । स्वाट्ट समयचेत भित्र पसेपछि विचित्रतामा रम्दै भुलिदै गर्दा फुत्त बाहिरिनुपर्ने घन्टी बजिहाल्ने ।


अनि तपाईंको पहाड चैं ?

पुराना पातहरुका बात नै छुट्टै । तपार्इंको परिचय मागिसकेपछि उनीहरुले सोध्ने भनेकै तपाईंको पहाड हो । हाम्रोभन्दा अघिल्लो पुस्ता प्रायः पहाडबाटै झरेको पुस्ता हो । उहिले मधेसमा औलोका भयले गर्दा पहाडेहरू त्यति नझर्ने ।  वि.सं. २०१५ वरिपरिवाट मात्र पहाडबाट मधेस झर्नेको बाढि लाग्न शुरु भयो र वन फडानी शुरु भयो । औलोका भुमरीमा कुइनाइनका गोलीका भरमा मान्छे जंगल फाड्न जीउ ज्यान छोडेर लागि परे । यहाँका आदिवासीहरू छेउ लागे । पहाडे टाठाबाठाले मधेसमा आधिपत्य जमाए । हो तिनै पुराना पुस्ताले खोजि गर्ने हो, उत्पत्ति थलो, “तपाईंको पहाड चैं कता ?” भनेर । पुरानो पुस्ता जो पहाडबाट तराई झर्यो, त्यसको पुरानो थातथलो, बाजे बराजु भएको ठाउँ पहाड हुनसक्ला तर अहिलेका मधेसमा हुने नवपुस्ताहरुले पहाड सुनेका मात्र हुन सक्छन् । म आफैँ र मेरो श्रीमानले समेत आफ्नो पहाडको दर्शन भर्खरै पायौं । अझ हाम्रा छोरा छोरी, भतिजा, भतिजीहरुले त कसरी पहाड खुट्याउन् ? हामी गतवर्ष असमतिर घुम्दा समेत त्यहाँका नेपालीहरूले पहाड सोधे । उनीहरू आफैं त्यहिँ जन्मेर हुर्केका भएपनि बाबु बाजेहरु कुन स्थानबाट असम छिरे भन्ने कुरा उनीहरूले नबिर्संदा रहेछन् । मूलजरो सधैँ प्यारो हुने रहेछ ।

तपाईं चैं के थरि ?

अनि अर्को अप्ठेरो प्रश्न पनि छ हाम्रो समुदायमा । त्यो हो, “तपाईं चैं के थरि ?” मलाई यो प्रश्न जति वाहियात लाग्छ, त्यति नै समाजले यसलाई महत्व दिएको हुन्छ । अझ गहिरेर हेर्दा त महिलाको थरि नै पो नहुँदो रहेछ । बिहा नगरुन्जेल माइतीको थर । अनि बिहा भएपछि बाहुन क्षेत्रीको चाहिँ गोत्र नै परिवर्तन भएर थर पनि परिवर्तन हुने रहेछ । अनि माइतीको थरमाथि अर्को थर जोडिने । धन्न अहिले आएर बिहेवारी बीस वर्ष पारी भने सूत्रले गर्दा धेरैजसो दिदी बहिनीहरुले विवाहपूर्व नै नागरिकता बनाइसक्छन् र कमसेकम कागजी रूपमा माइतीको थर रहन्छ । उहिले उहिले त यो थरको चलन पनि रहेनछ । यसो पुराण शास्त्रतिर हेर्दा कुनै पनि थर उल्लेख भएको पात्र नपाइँदो रहेछ । नत्र सीता, सावित्री, गान्धारी, रावण, राम, कृष्ण, दुर्योधनका थर हनुपर्ने हैन र ? ती पौराणिक कथामा उल्लेखित पराक्रमी राजाहरुका वंश चाहिँ उल्लेखित छ है । जस्तै,  सूर्यवंशी, सेनवंशी, यदुवंशी आदि आदि । अनि ऋषिमुनिहरुका थर खोई ? परासर, वशिष्ठ, अत्री, पर्शुराम जस्ता ऋषिहरुको पनि थर भएजस्तो लागेन मलाई ।

पहिलेको समयमा जनघनत्व पनि कमै हुँदो हो, त्यहि भएर नाम र वंशले काम चल्थ्यो होला । पछि पछि गएर थरहरू थपिए होलान् । थरका सहयोगले गण, समूह छुट्याउन सजिलो भयो होला । यी थरहरू कसरी रहन गए र यसको अर्थ के हो भन्ने खोज अनुसन्धानको बाटो अर्कै छ । मलाई चाहिँ के लाग्छ भने मान्छेको परिचय, थर र वंशमा भन्दा उसका काम, क्षमता र योग्यताबाट निर्धारण गरिनुपर्ने हो । उहिले कसैले एकै दिनमा चालिस अध्याय वेद पाठ गर्यो  र चालिसे थर भयो भन्ने गरिन्छ । अब त्यहि अर्थमा हेर्ने हो भनें थरको बिँडो थाम्ने मुश्किलले मात्र भेटिन्छन् ।


कस्तो मोटाको ?

अर्को मलाई खट्किने प्रश्न चाहिँ, “कस्तो मोटाएको ?”  भन्ने हो ।  भेट्न, बोल्न, हालचाल बताउन नपाई सोधिने प्रश्न हो, “किन यस्तो मोटाएको ?” त्यो प्रश्नकर्ता आफैं पनि अपवाद बाहेक उस्तै कुरुप स्वरुपकै हुन्छ । मोटाइनु वा दुब्लाइनुसँग खासमा त्यो प्रश्नकर्तालाई त्यति धेरै सरोकार पनि हुँदैन । तैपनि अलिकति मानमर्दन गरिदिइहालौँ भनेजस्तो कति मोटाएको भन्ने प्रश्नको सामना जोकोहिले गर्नुपर्छ । यहि प्रश्न सुन्दा सुन्दा आजित भएर अनेकौं उपाय लगाएर ज्यान झिनो बनायो फेरि पनि उस्तै । “आम्मै, कस्तो सन्याक्सुनुक भको । सुगर छ कि क्या हो ?”  ल अब के गर्दा चाहिँ भलो होला भनेर सोच्दा एउटै उपायरुपी अस्त्र फेला पर्यो -  “सहि हो, तपाईंले ठ्याक्कै मिलाउनुभयो ।

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  22 September 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 




Saturday 16 September 2023

तन्किएको तीज

 

यसपालीको तीज असोजमा परेको तीजकै बेलामा मात्र दर खाएर अहिले भ्याउन सकिँदैन त्यसैले मेरी निर्मला दिदीलाई तीजको चटारो शुरु भएको भदौ महिना लागेदेखि नै हो स्थानीय एक विद्यालयमा प्राध्यापन गर्ने निर्मला दिदी अनेकौं संघ संस्थामा समेत सक्रिय रुपमा संलग्न हुनुहुन्छ उहाँले आफूले बोलाउनु पर्ने तीज खुवाउनु पर्ने चेलीहरु पनि छन् यस्तै उहाँको तीज धपेडी देखेर मैले  उहाँलाई सोधें, "दिदी, यसपाली कतिवटा तीज कार्यक्रम छन् हौ ?” उहाँले गन्न समेत भ्याउनु भएको रहेनछ एकछिन कुराको विश्राम लिएर उहाँले औंला भाँच्न थाल्नुभयो भन्नुभयो, "घरकोसँग आठ अरु पनि छन् जानुपर्ने तर कतै जुधेको , कतै टाढा राधे, एक नारीले झन्डै दर्जन तीज भ्याउनु चर्कै कुरा हो नि तैपनि निर्मला दिदी भ्याउनुहुन्छ शायद हामी सबै भ्याउँछौ कसो  कसो  मिलाएर



समयसँगै रितीरिवाज चालामाला पनि फेरिने रहेछन् हामीले मनाउने सामाजिक पर्वहरुमा यस्ता परिवर्तन कति हो कति देख्न पाइन्छ आजभोलि समाज, संस्कृति चालचलन समयानुकूल परिर्वतन हुनु नराम्रो होइन तर कतिसम्म परिवर्तन हुने भन्ने कुराको सीमारेखा चाहिं हामी आफैंले कोर्ने  रहेछौँ   कसैलाई यत्तिसम्मको ठिकै हो भन्ने लागेका कुरा अन्यलाईहैट, के रमिता देखाएको होला?’ भन्ने पर्न सक्छ


चेलीहरुको नामको एकमात्र चाड तीज पनि त्यस्तै परिवर्तनको चपेटामा परेको एक पुस्ता अगाडिका आमा, दिदीहरुले मानिआएको तीजको कायापलट नै भएको उस जमानामा हातमा मोबाइल थिए, यातायातको सुविधा नै थियो कृषिमा आधारित जीवनचर्या थियो हातमा दाम कम थियो तर काम नै काम थियो घरधन्दा, केटाकेटी, बस्तुभाउ, घाँसपात, मेला, पर्म जस्ता सैयौं कुरा महिलाहरुकै जिम्मामा हुन्थ्यो घाम, पानी, आगो बुहार्तनको भट्टिमा आठ दशको उमेरदेखि पसेका बहुसंख्यक नारीहरु चालिसको उमेरको हाराहारीमा पुग्दा रौनकहीन थकौटा गाई जस्ता भैजान्थे अहिले समय फेरियो घरघरबाट जवान काम गर्ने उमेरका तन्नेरीहरु जहाज चढेर टाढाको अज्ञात भूमिमा मजदुरी गर्न लर्को लागेको लागेई छन् उनीहरुका दुःख कति हो कति होलान् त्यो परदेशमा मुगलान उपन्यासमा सुतार कान्छो ठुलेजस्ता पात्रहरुले पाएको दुःख उपन्यासकार गोविन्द राज भट्टराईले वर्णन गरेजस्तो उनीहरु अनन्त पीर सहँदै अर्काको भूमिमा गैंती बजार्दा हुन् यता दैनिक रुपमा करिब २००० युवाहरु एयरपोर्टमा विदेश जान लामबद्द देख्ता खबुज उपन्यासमा वर्णित पात्रहरुजस्तै हाम्रा दाजुभाइहरु पनिथुइक्क मेरो बाख्रे जुनीभन्दै निधारका पसिना पुस्दा हुन् घरबार, बाउ, आमा, छोरा, छोरी सम्झेर पसिना बगाँउदा हुन् त्यो पसिनाको मूल्यले यता मुलुकमा भनें परिवर्तन ल्याएको अहिले काम कम , हातमा दाम धेरै पहिले पहिले भन्दा मोवाइलले पनि रितिरिवाजमा परिवर्तन ल्याएको क्यामेरा सहितको मोवाइल आएदेखि सामाजिक सञ्जालको प्रयोग बढेदेखि अझ अझ तीज रौनकिलो बन्दै गइरहेको


अझ रमाइलो पक्ष के भने एक / दुई महिनाभरका तीज अगाडिका सप्ताहान्तहरु तीज पार्टिले खान्छन् खास दर खाने दिनभन्दा अगाडि नै परिपरिका दरहरु चल्छन् अझ कार्यस्थलका, आमा समूहका, टोल विकासका, सहकारीका आफन्ती साथीभाइ हुँदै सम्धिनी घरका दर पनि भ्याउनु पर्ने हुन्छ पुरातन समयलाई सम्झिने हो भने तीजको ब्रत बस्ने अघिल्ला दिन राती दुधबाट बनेका परिकार टन्न खाने चलन थियो तोकिएका दिन बाहेकका दिनमा दर भनेर खाइँदैनथ्यो अघिल्ला दिन राती दुध घ्युका गरिष्ट भोजन गरे भोलिपल्ट ब्रत बस्न सहज होला भनेर पनि त्यस्तो चलन चलेको होला



अहिलेका तीजहरु अलिक रौनकिला बनेका छन् नारी स्वतन्त्रताका पर्याय पनि बनेका छन् जति दर कार्यक्रम उती नयाँ साडीले पनि बजार पाएको साडीमा पनि रमाइलो के भनें दर पार्टीमा सहभागी हुने सबैले उस्तै लगाउनु पर्ने ! त्यस्ता एकनासे साडीको नाम नैभाइरल साडी भाइरल साडी देखाउनू साहुजी भनेपछि पसलेले नि बुझ्ने थानका थान यस्ता साडी देखाउने अनि तपाईं जतिवटा तीज कार्यक्रममा जानुहुन्छ, उति नै भाइरल साडी चाहिने भएन रमाइलो ? अनि यस्ता एकनासे भाइरल साडी लगाएर समूहमा निर्धक्कसँग नाचगान गरेर, इच्छा भोजन गरेर, दुई चार फोटा, दुई चार भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न पाइएको युगानुकूल परिवर्तन केहिलाई अपाच्य लागेपनि धेरजसो नारीहरुका हकमा तीज सुन्दर चाड बनेको उहिले पनि गीत गाइन्थे विरहका, चेली माइत जान्थे दर खान्थे मौका पाए यसो नाच्थे पनि होलान् दौंतरीसँग अहिलेको तीज त्यहि पुरातन तीजको विस्तृत रुप हो नि पहिला यातायात संचारका माध्यम नभएर महिला कुँजिएका भएपनि तीज मनाउने प्रक्रिया करिब उस्तै नै थियो ठ्याक्कै पहिलेकै स्वरुपमा के नै पो थामिएको ? त्यसैले तीज बिग्रियो भन्नु गलत हो महिलाहरुको खुशी देख्न नसकेर अंकुश लगाउन खोजिएको मात्र हो अझ अहिले आएको सकारात्मक परिवर्तन के हो भने तीजलाई उमंगको चाडका रुपमा लिन थालिएको पहिले जस्ता रुन्चे पिन्चे गीतहरुले तीज पार्टीमा त्यति स्थान पाँउदैनन् आधुनिक तीजका सकारात्मक पक्षसँग गाँसिएर नकारात्मकता पनि नआएका भने होइनन् तीजको अहिलेको नकारात्मक पक्ष भनेको यसको भड्किलोपन हो देखावटी रुपमा प्रत्येक पार्टीमा फेरिने वस्त्र आभूषणले तीजलाई पक्कै पनि खर्चिलो बनाएको  


उहिले जस्तो वर्षदिन कुरेर एक तीज दर खाने चलन सबैतिर परिवर्तन भयो होला जस्तो लाग्छ मलाई उहिले पो कसो कसो मुस्किलले कति दिन हिँडेर माइत पुगिन्थ्यो दर खाइन्थ्यो अहिले बिहान दमकमा, दिउँसो काठमाडौमा, अनि साँझमा विराटनगरमा तीज पार्टी भ्याउने साहसी महिला पनि भेटेकी छु मैले



गुनासा नकारात्मक कुराहरु खोज्दै जाने हो भने एउटा पहाड नै बन्न सक्ला तर तीजले ल्याउने उमङ्ग समय अनुसारको तौर तरिकामा आफ्नो गच्छे हेरेर चल्दै गर्नुपर्छ छिमेकी घोडामा चढ्यो भनेर आफू  धुरीमा चढ्नुपर्ने जरुरी छैन जे भए पनि वर्ष दिनमा एक पटक विशेषगरि महिलाका लागि छुट्याइएको यो पर्वमा महिलाहरु नरमाए को रमाउने? त्यसैले गुनासोका लागि अब समय छैन तीज सँघारमै आइसकेको देश तथा विदेशमा रहनुहुने सबै नेपाली दिदीबहिनीहरुलाई तीजको हार्दिक शुभकामना


तीजको रहर आयो बरि लै

(Published in a Nepali local daily Purwasandesh, Damak, Jhapa on  15 September 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]