Friday 24 September 2021

मात्र शुरुका पाँच पन्ना

 

    


    तपाईंको पनि पुस्तक पढ्ने शोख छ भनें कतिवटा नेपाली साहित्यका पुस्तकलाई तपाईंले आफ्नो मनको नजिक राख्नुभएको छ ? पुराना क्लासिकका कुरा नगर्दा गत दश वर्ष यता संग्रह गर्न लायक पुस्तक कति होलान् ? आ–आफ्ना शोख हामी सबैले पालेका हुन्छौँ । मेरो चाहिँ शोख भनेकै पढ्नु र घुम्नु हो । घुम्ने कुरामा जहाँ पुगिन्छ, त्यहिँ रमाइलो । गएका नयाँ ठाउँका विशेष खानेकुरा चाख्नु पनि मेरो एक शोख नै हो । पढ्ने कुरामा भनेँ म उदार छु तर पुस्तक छान्ने कुरामा भनेँ साह्रै अनुदार ।

            अहिले बजारमा पुस्तकको पहिरो नै छ । हरेक दिन जसो छापामा नयाँ नयाँ पुस्तकको चर्चा देखिन्छ । पुस्तक प्रतिको मोह र उत्साह देख्दा पक्कै पनि पठन संस्कृति बढेको होला जस्तो लाग्छ । तर मेरो बुझाइमा त्यस्तो छैन । छापिएका पुस्तकका संख्याले गुणवत्ता बुझाउँदैनन् । यो अप्रिय कुरा भएपनि भन्नैपर्ने हुन्छ – पढ्न लायकका र गुणस्तरीय पुस्तक अति कम मात्र प्रकाशित हुन्छन् । यसका पछाडि धेरै कारण हुन सक्लान् तर संक्षेपमा भन्नुपर्दा हामी जे लेख्छौं त्यसैलाई अन्तिम सत्य मान्छौं । अनि पुस्तक छापेर जनमानसमा पुर्याउन हतारिन्छौं । आफ्नो लेखन आफूलाई अब्बल लाग्नु स्वभाविक नै हो तर त्यस लेखनलाई सार्वजनिक गर्ने रहर गरेपछि भरिसक्ये त्रुटिरहित बनाउनु जरुरी हुन्छ ।

शुरुका पाँच पन्ना

शुरुका पाँच पन्ना मेरा लागि पुस्तक छनोटका आधार हुन् । पुस्तक पल्टाउँदा शुरुका पाँच पन्नाले मलाई तान्न सकेन भने त्यो किताब छेऊ लाग्छ । यो सूत्र मैले आफैंले प्रतिपादन गरेको भनें होइन । पुस्तक सम्पादनमै वर्षौं समय बिताएका नोअ ल्युकम्यानको किताब ‘द फस्ट फाइभ पेजेज’ पढेपछि नै उनका कुरामा म सहमत भएकी हुँ । यदि शुरुका पाँचवटा पन्नाले मलाई तान्न सकेनन् भने म त्यो पुस्तकलाई प्रेमपूर्वक थन्क्याउँछु । यो मेरो मात्र नभई हरेक पाठकको समस्या हुन सक्छ ।

            यसरी पढ्न नसकेर प्रेमपूर्वक थन्क्याएका पुस्तक राख्ने स्थानाभाव नै भैसकेको छ मेरो घरमा किनभने यी पुस्तकहरु वर्षौंदेखि नपढेर थन्क्याइएका छन् र अब पढ्ने सम्भावना पनि कमै छ । यस किसिमका अग्राह्य पुस्तकको बढ्दो संख्याले म मा एउटा कौतुहलता जगायो —किन यति धेरै मात्रामा अरुचिकर पुस्तकको उत्पादन हुन्छ?  किन पुस्तकहरु एक भन्दा अर्को संस्करणमा विरलै मात्र जान्छन् ?  यी प्रश्नहरुको उत्तर लेखकहरु स्वयंले पनि कहिलेकाहीँ नखोजेको हुनसक्छ । हुन त यो रुची र अरुची भन्ने कुरा व्यक्तिगत हो तर व्यापारिक प्रयोजनका लागि बजारमा राखिएका पुस्तकको अत्यन्त न्यून वा शुण्य बिक्रीले भनें पुस्तक अग्राह्य नै हो कि भन्ने देखाउँछ । 


            अहिलेको समयमा पुस्तकहरु बिक्री नहुनुको प्रमुख दोष विद्युतीय श्रव्य दृष्य सामग्रीको प्रचुरतालाई पनि दिन सकिन्छ । तर विश्व बजारलाई हेर्ने हो भने किताब उत्पादनमा कमी आएको देखिंदैन । छापा सँगसँगै डिजिटल र अडियो बुकहरु चलिरहेकै छन् । डिजिटल बुकहरुको विकासपछि छापा किताबहरुलाई धक्का दिन्छ कि भन्ने अनुमान पनि फेल भएको छ । हुन त टेलिभिजनले पनि रेडियो मार्न सकेन । त्यसैगरी, अनलाइन पत्रिकाले पनि अखबार सुकाउन सकेन । हामी के चाहिं भन्न सक्छौं भनें अहिले हामीसँग प्रशस्त छनौट सुविधा छन् – हामी कि त पुरातन शैलीका छापा विधि छान्न सक्छौं कि नयाँ समयको डिजिटल संसारमा रम्न सक्छौं ।

            हाम्रा सन्दर्भमा भनें पुस्तकहरु पठनीय नुहुनुको कारण सम्पादनको कमी र लेखक स्वयंको अध्ययनको कमी हो जस्तो लाग्छ । पुनर्लेखन गर्ने धैर्य त अझ हामी धेरैमा छँदैछैन । प्रथम चरणमा लेखिएका, कुन वर्गका पाठकलाई कुन उद्देश्यले लेखिएको हो भन्ने स्पष्ट नभएका पुस्तकका डंगुरले कहिलेकाहिँ उत्कृष्ट लेखनीलाई समेत ओझेलमा पारेको हुन्छ ।

            आफूले लेखेको पाण्डुलिपी बोकेर सोझै प्रेसबाट पुस्तकाकारमा ल्याउन सक्ने शाहसीपनले पनि अग्राह्य पुस्तकको संख्या बढेको हुन सक्छ । पुस्तकले लेखकलाई अमर बनाउँछ भन्ने कथन चलेको भएपनि जुन पुस्तकको एकै प्रति पनि विक्री हुँदैन त्यो पुस्तकले लेखकलाई चिरस्मरणीय र अमर बनाउन सक्तैन ।

आलोचनात्मक चेत

            मेरो विचारमा पुस्तक छापेर सार्वजनिक गरिसकेपछि त्यो पाठकको सम्पत्ति हो । त्यसलाई ग्रहण गर्नु वा नगर्नु पाठककै विवेकमा भर पर्छ । यदि पाठकले त्यसमा आलोचनात्मक दृष्टिकोण राख्छन् भनें पनि लेखकले त्यसका लागि तयार रहनुपर्छ । तर हामी सधैं प्रशंसा मात्र रोज्छौं । त्यसका उदाहरण हामी आजकल देखिने पुस्तक समीक्षामा देख्न सक्छौँ । पुस्तक समीक्षा पढेकै आधारमा पुस्तक किन्न सकिने स्थिति हामीकहाँ मैले देखेकी छैन । कि त समीक्षकमा आलोचनात्मक चेत नै हुँदैन, कि त जानीजानी लेखकलाई खुशी पार्न समीक्षकले सकारात्मक पक्ष मात्र उजागर गर्न चाहन्छ । यस प्रवृतिको मारमा पाठक, लेखक र समीक्षक सबै पर्न सक्छन् । समीक्षकले औंल्याइदिएका त्रुटीलाई लेखकले स्वीकार गर्न नसके ऊ अगाडि बढ्न सक्तैन । समीक्षक आफैं नै पूर्वाग्रही बनेको हो भनें त अझ उसले आफ्नो अस्तित्व नै धरापमा पार्छ ।

पाँच पन्ने पुस्तक

           


यदि एउटा पुस्तक पाँच पन्ना भन्दा पर्तिर जान मान्दैन भनें त्यस पुस्तकमा भएको लगानी व्यर्थ हुन्छ । हाम्रा प्रकाशन संस्थाले लेखकसँग रकम नलिई छाप्ने जोखिम उठाउन चाहँदैनन् । किताब बिक्ने पक्कापक्की नहुन्जेल र त्यस पुस्तकलाई बिक्री योग्य नबनाउन्जेल उनीहरु निरन्तर सुधार गरि नै रहन्छन् । तर, त्यस्ता अगुवा प्रकाशक नेपालमा बिरलै मात्र छन् । कुनै क्षेत्र र पेशा विशेषमा नाम कमाएका सेलिब्रिटीका पुस्तक मात्र उनीहरुका छनौटमा पर्छन् । बाँकी सम्पूर्ण प्रकाशकहरु पैसा असूल गरेर लेखकका पुस्तक छाप्ने मात्र हुन् । त्यसरी छापिएका पुस्तकमा उनीहरुको लगानी शून्य रहने हुँदा पुस्तक चलिहाले जस र नाफा प्रकाशकको हुने र नचलेपछि अपजस र नोक्सान लेखकको हुने गर्छ । अर्काथरी आफैं प्रकाशन गर्ने लेखकहरु पनि छन् । उनीहरुका पुस्तक व्यापारिक दृष्टिकोणले हेर्दा अझ दयनीय अवस्था छ । यस्ता स्वप्रकाशकहरुले पुस्तकको बजारीकरण सहज रुपमा गर्न नसकेर सकस भोगिरहेका हुन्छन् । 

            यो पाँचपन्ने दुरावस्थाबाट बच्नका लागि हामीले आफ्ना पाण्डुलिपी आफैंले इमान्दारीपूर्वक दुई चार पटक पढ्नै पर्छ । त्यसपछि आफ्ना नजिकका साथीभाइलाई आलोचनात्मक ढंगले पढ्न लगाउनुपर्छ । आलोचना स्वीकार नगर्ने र आफ्नो लेखनका बारेमा झुठो दम्भ पालेर अघि बढिरहने मात्र हो भनें आफैंसँग आफ्नो लेखनी पनि शेष हुने कुरा अकाट्य सत्य हो ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 24 September, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Friday 17 September 2021

कालेम्पोङ्ग कथा

       


 एउटा हठात् निर्णयमा गरिएको यात्रा सबैभन्दा सुन्दर हुन पनि सक्ने रहेछ । यो कोरोना व्याधि अगाडिकै समय थियो । यो बन्दाबन्दी भन्दा अगाडि त यस्ता उल्का यात्रा कमसेकम वर्षमा एकपटक त भइनै रहेका हुन्थे । यस्ता उल्का यात्राका परिकल्पनाकार र प्रायोजक उता काठमाण्डू निवासी भिनाजु डा. गोविन्द हुनुहुन्छ ।

        यो यात्रा तिथिमिति बिनाको उद्देश्य बिनाको र अत्यन्त उन्मुक्त पाराको थियो । भित्रभित्रै लुगाफाटाको तयारी गर्ने, के खाने, कताकता जाने भन्ने कुरै यसमा थिएन । यो त अघिल्ला दिन निर्णय गरेर भोलिपल्ट गरिने यात्रा थियो । यात्रा गरेको दुईवर्ष पछाडि कोरोना र बन्दाबन्दीका कारणले घरभित्रै रहनुपरेका अवस्थामा यात्राका तिर्सनाले कालेम्पोङ्ग यात्रा कथाजस्तो बनेर आयो । यस मस्तिष्कले एउटा फिल्टरले जस्तै छानेर उम्दा उम्दा कुरा मात्र संगालेको रहेछ । साना, झिना, मसिना र अल्छिलाग्दा कुरा त बिर्साइदिएछ ।
        यता दमकबाट बिहान सखारै नौ सिटे फोर ह्वील गाडि घरकै ६ जना सदस्य टिपेर पूर्वतिर हुँइकियो । त्यसपछि केही प्राथमिकतामा पर्ने र कुराको भेउ पाउने अन्य केहि बाटाबाटै टिपिंदै गए । परिवारका अत्यन्त प्रिय झण्डै ८० वर्षे रौसे पात्र धुलाबारीमा सडक किनारमा पर्खिरहेका थिए । अनि पुराना कुराहरु बिस्तारै निस्किन थाले । पहाड, ताप्लेजुङ्गदेखि भुटान हुँदै आसाम र भारतका अन्य शहरका कथा आए । पुराना समयका ती ८० वर्षे पात्रका साथीहरु धन्दे, मुस्ले, ओख्ले र टोड्केका बेग्लाबेग्लै कथाहरु आए । अनि उता ढाकर बोकेर फालेलुङ्ग डाँडो काटेर दार्जिलिङ्ग पुग्दा उल्केको मनले पहिलो पल्ट कैंयाँका दोकानमा चाखेको जिलेबीका कथा आए ।
        यी गफका मिठासमा भुल्दै हामी सिमाना काटेर एशियन हाइवे पुगिसकेका थियौँ । “अब एक अच्छा चिया जाओस्,” यो एकजनाको प्रकटीत र अरुको अप्रकटीत आशय थियो । “ल भाइ, यो एरियाको सबभन्दा अच्छा चिया दोकानमा रोक्नू । चियाको दोकान एकदमै राम्रो होस् है ।” ड्राइभरले कुरा बुझ्यो, “हुन्छ, हजूर, म गनपाउडर टी पाइने ठाउँमा रोक्छु ।”
        अनि यो गनपाउडर टी चाहिं कस्तो हो नि ?, आश्चर्यमिश्रित एक नारी आवाज थियो त्यो । “यो बारुदे चिया हो । यसले मानिसका पेटमा भएका सम्पूर्ण दृष्य अदृष्य कीरा मार्छ ,” यो काल्पनिक स्पष्टिकरण थियो र नयाँ गफको बीजारोपण पनि थियो । गनपाउडर चियाको कुराले पहाडमा कसरी बन्दुकमा बारुद भरिन्थ्यो र पड्काइन्थ्यो भन्ने तथ्यसम्म पुर्यायो । चिया चमेनाले हामीलाई धेरै अल्मल्याएन । फेरि यात्रा टिस्टाका किनार हुँदै बाघे पुल हेर्दै अगाडि बढिरह्यो ।
        हाम्रा अग्रजहरुले बाँचेको उदेकको समय विमर्शले बाटाका सुन्दर दृश्यावलोकन सम्म पनि बेलाबेलै ओझेल पार्थ्यो । उहाँहरुका दुःखद र कष्टकर समय आज सुन्दा हाँसो लाग्ने भएपनि त्यसबेला भयावहपूर्ण हुँदा हुन् । त्यो गरिबीको पराकाष्ठाका समयमा उहाँहरु विद्यार्थी छँदा बनारसमा घटेका दुईवटा घटनाले भने मेरो ध्यान आकृष्ट गर्यो ।
        उपकथा १: हामी मुश्किलका दिन टारेर पढेका नि । एकदिन कोठामा पकाउने वस्तु थोरै दाल मात्र थियो । मैले दाजुलाई भने– "दाजु अलिकति दाल मात्र छ ।" उहाँ दाल पकाउँदै गर् भनेर बाहिर निस्कनुभयो । दाल पाकिसक्दा उहाँ दौडेर आउनुभयो र "छिटो धोती लगाएर हिँडिहाल्," भन्नुभयो । म पनि धोती कसेर बाटो लागेँ । खासमा उहाँ एउटा भण्डारामा जानुभएको रहेछ । त्यहाँ एकजना ब्राह्मणको कमी भएछ । अनि त्यतिबेला फोन नभएकाले दौडेर त्यो आफ्नो सिट साथीलाई रोक्न लगाएर डेरामा आएर मलाई लानुभयो । त्यहाँ मजाले खाना पनि खाइयो र पाँच पाँच रुपैँया दक्षिणा पनि पाइयो । त्यो दक्षिणाले महिनाभर पुग्ने रासन ल्याइयो ।
        उपकथा २: बनारसमा हामी उल्का उल्का गर्थ्यौं । एकजना भोजपुरे साथी थिए । उनलाई मिठाइ साह्रै मन पर्ने तर पैसा नहुने । त्यस्तै एकदिन गफैगफमा एउटा शर्त लगाइयो । ल लंगौटी मात्र लगाएर भीड बजारमा एक फन्को लगाइस् भने अघाइन्जेल जे जे खान्छस् खुवाउने । भोजपुरे ठिटो लंगौटी मात्र लगाएर बजार घुम्न तयार भयो । हामी उसका पछिपछि हिंड्यौं । ऊ त साँच्चै लंगौटीका भरमा बजार घुमेर हलुवाइको दोकान अगाडि आयो र टक्क अडियो । अनि हामीले उसलाई जे जे खान्छ, भरपेट खुवाइदियौँ ।
        यी कथाक्रम चल्दाचल्दै हामी कालेम्पोङ्गका साँगुरा गल्लीमा छिरिसकेका थियौँ । साँगुरा बाटा भएको, काठमिश्रित पहाडे घरहरु भएको बजारको एकाछेउबाट हिँडेको हाम्रो बाहन अलि पर्तिर करालो बाटोमा भएको सानो चिटिक्क परेको भोजनालयमा छिर्यो । टोलीनेताबाट इच्छा भोजनको आदेश आएता पनि त्यहाँ हामीले चाहेका खर्चिला र भड्किला खाद्यवस्तु नै रहेनछन् । ताता फुल्के रोटी र फ्राइड दाल प्रमुख उपलब्ध वस्तु रहेछन् । तिनै खानेकुरा खाएर हामीले आफ्नो यात्रा जारी राख्यौं । आँखाले हेर्ने कुरा आँखैले मात्र हेर्ने हो भनेजस्तै आँखा भरिभरि क्याक्टस् गार्डेनदेखि शुरु भएको दृष्य यात्रा दुर्पिन डाँडा, डेलो पार्क हुँदै म्युजियम पुग्दा आधा दिन ओरालो लागिसकेको थियो ।


        सबैभन्दा पाका रौसे पात्रतिर हेरेर टोलीनेताको प्रश्न भयो, “के हामी त्यो लेप्चा म्यूजियमतिर जान्छौं त दाइ ?” “होस् होस् । लेप्चाको बारेमा थाहै छ नि ।” “त्यसो भा डिओलो हिलतिर जौं की ?” “पर्दैन हो । ती डाँडामा नाचेरै यो जुनी बितेको छ । कत्ति फेरि त्यतै जानु ।” “लु उसो भा कालेम्पोङ्गको फेमस चीज दोकानतिर जाउँ न त ।” त्यसपछि टोली लार्कमा छिरेर चीजका भेराइटी हेर्दैै, चीज चाख्दै, अलिअलि चीज अनि कालेम्पोङ्गका चिनो खरिद गरेर आर्ट क्याफेको चियाले बिट मार्दै वाहन चढ्दा तीन बजिसकेको थियो । “आँखाले हेर्ने आँखैले हेर्नू । शब्द खेर नफाल्नू ,” रौसे पात्रले अर्ति दिए । मलाई पनि हो जस्तो लागेर आयो ।
      

 
“अनि त्यो थ्री डी सिनेमा कस्तो लाग्यो त दाजु ?,” म्यूजियममा देखाइएको छोटो थ्री डी सिनेमा रोचक थियो । पहिलो पटक थ्री डी हेर्नेलाई त उल्कै भएको र सिनेमाका पर्दाबाट पात्र निस्केर आफ्ना आँखै घोच्न खोजेको दृष्यले चाहिँ सबैलाई रोमाञ्चित तुल्याएछ । कालेम्पोङ्ग चिर्लिप्पै घुमिसकिएको कुरा गाडीमा निस्कियो । अनि तल टिस्टा बजारमा झरेर चिया पिउने र हुँइकिने टोलीनेताको अन्तिम निर्णय आयो । टिस्टा तीरको चिया र अलेली उपलब्ध खाजा खाँदै गर्दा हो, एकजना सज्जन जस्तो देखिने गफाडी भेट भएको । एकैछिनमा उसले पश्चिम बंगालको राजनीतिदेखि सुन्न लायकका ठाउँहरुको बढो मीठो ढंगले विवरण दियो । “तपाईँहरु मोर्गेन हाउस जानुभएनछ, होगि ? आर्कोपल्ट आउनू, म लगिदिन्छु । त्यहाँ त टप टप मन्छे बस्छ नि । नाइन्टिन थर्टीमा ब्रिटिस मोर्गेन दम्पतीले बनाको । आइले गोर्मेन्टले लज बनाको छ । तपाईहरुको साथ लागेर जान पाए एक्टरहरु बस्ने मोर्गेन हाउसमा एक घण्टा मात्र बस्दा पनि मज्जा आउँथ्यो होला । ल मेरो बारेमा सोध्नू , अर्कोपल्ट आउँदा म गाइड पक्का ल,” भनेर उसले बिदा लियो । दिनभरी थाकेर लथचूर्ण यात्रुहरु एकैचोटी पानीटंकी छेउको जाममा मात्र ब्युँझिए । त्यसको झण्डै एक घण्टापछि मात्र मुश्किलले जाम छिचोलेर काँकडभिट्टा टेकियो होला । चौधघण्टा पछि एक भारी कालेम्पोङ्गका सम्झना बोकेर हामी दमकमै बास बस्न आइपुग्यौं ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 17 September, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]       




Friday 10 September 2021

कार्डबोर्ड चपाइरह्यौं

 



        

    एक्लै स्वाद जाने र फेरि बेग्लै समयमा छुट्टै व्यथाले गर्दा गन्ध उड्ने कुराको अनुभव म जस्तै अरुले पनि जीवनका कुनै समयमा संगालेको हुनुपर्छ । ज्वरोले अलि समय सताउँदा स्वाद उडेको अनुभव थियो । रुघाले ग्रस्त पार्दा गन्ध उड्नु पनि सामान्य नै हो । तर यसपाली सारा संसारले भोगेको अनौठो नयाँ व्याधिले दुईवटै इन्द्रियलाई निस्तेज पारेर स्वाद र गन्ध उडाइदियो ।

        कोरोना व्याधिलाई म नजिकबाटै सुन्दै र पढ्दै थिएँ । कसैलाई यसले उठ्नै दिएन, कसैलाई थिलथिलो पार्यो  र कसैलाई भने कोतरेर मात्र गयो । हामी तेश्रो श्रेणीमा पर्यौं । हामीलाई भने सामान्य रुपमै छोएर बिदा लियो यस पटकलाई कोरोनाले ।
कार्डबोर्डको आहारा
        यो हाँस्न हुने विषय त होइनथ्यो । कोरोनाले आफ्ना नजिकका चिनेजानेका धेरैलाई कष्ट दियो र कतिलाई त चुँडाएर हामी माझबाट लग्यो । तर यो अदृष्य शक्तिले गन्ध र स्वाद अचानक उडा
दिएपछि भने मलाई हाँस्न मन लाग्यो । “पीडाका समयमा हाँस्न सकियो भने आफू अजेय हुइँन्छ,” भन्ने एउटा भनाइ पढेपछि त मलाई अझ हाँस उठेर आयो । मैले अघिल्लो दिनसम्म चपाएर स्वाद लिएका सबै कुरा कार्टुनका गत्ता चपाए जस्ता स्वादहीन भएर गए । बिमारले छोएपछि नै हो मैले आँगनमा  भएको आँपको रुखबाट  आँपका  पात चुँडेर माड्दै गन्ध परीक्षण गर्न थालेकी । तर अचानक एकदिन गन्ध गायब भयो । स्वाद त अलि पहिले नै हराइसकेको थियो । मैले  आँखा चिम्लेर बिचार गरें– म आफू के चपाइरहेकी छु भनेर । त्यो खाद्यवस्तुको स्वरुप बारेमा पनि ज्ञान नहुने हो भने त केहि भेद नपाइने रहेछ । अर्थात् भनौँ मेरा आँखा छोपेर मलाई माटाको एक डल्लोलाई कुराउनीजस्तै पारेर दिने हो भने मैले खाने रहेछु । खानाका स्वाद र बास्ना नहुँदा एउटा अनौठो स्थिति पैदा हुने रहेछ । मैले ‘कार्डबोर्ड एक्सप्रेसन’ भन्ने शब्दावली प्रयोग गरिरहने एउटी मेरी साथीको कुरा सम्झें। त्यो फलानो कुनै भावविहीन छ । त्यस्तो व्यक्ति खुशी हो कि दुःखी हो भनेर थाहा नै नपाइने स्थितिलाई उसले कार्डबोर्ड एक्सप्रेसन भनेकी थिई । त्यस्तै स्थिति थियो यो स्वाद र गन्ध विहीनको स्थिति । चामल राम्रा हुनु वा नहुनु, खाना मीठो होस् वा नहोस्, तरकारीहरु स्वादिला र मसलेदार छन् छैनन् को भेदभन्दा पर थिएँ म ।
        हामी भोकभन्दा पनि स्वाद र गन्धका लागि आफ्नो जीवनको कत्रो हिस्सा त्याग गर्नेरहेछौं । “यो खाएर पेल्ने बिमार हो । स्वाद होस् या नहोस्, खाइरहनु पर्छ,” भन्ने सुझाव शुभ चिन्तकहरुबाट आइरह्यो, हामीले कार्डबोर्ड चपाइरह्यौं । यो कोरोनाले मलाई हाम्रा शास्त्रले पढाएजस्तै स्वाद र गन्धमा नभुल्नू , प्राप्त भएका खाद्यवस्तु जीवनरक्षाका लागि हुन् भन्ने ठानेर खानू भनेर सिकाए जस्तो पो लाग्यो । यसैले कोराना त सन्त जीवन शैलीको झल्को दिंदै हिंडेजस्तो पो लाग्यो । आफ्नो चेत आएदेखिका मीठो र नमीठोका छनोटहरुले मेरो मगजमा कत्रो ठाउँ ओगटेको रहेछ भन्ने मलाइ ज्ञान भयो ।
स्वाद र गन्धविहिन समय
        मलाई राजनीतिक चटक उत्पातै रमाइलो लाग्छ । यो कोरोना सहने आफ्नो पालो परेको हप्ता राजनीतिले अझ सुन्दर स्वरुप लियो । अति रसिला सपनाहरुका पोका फुकाएर कहिल्यै नसकिने आश्वासनका भीमकाय बाकस बोकेको एमाले पार्टी तीन टुक्रा भयो । यी विभाजित मानवहरुका रसिक गफले पनि मलाई कोरोना पीडा भुलाउन सहयोग नै गर्यो । त्यस सँगसँगै जनता समाजवादी पार्टी पनि चोइटियो । चार दशकदेखि प्रजातन्त्र प्राप्तिका लागि लागिपरे जस्तो गर्ने राजनीतिक अगुवाहरुका आश्वासन र गफहरु हिजोसम्म रमाइला थिए । हामी नपत्याइकन ती कुराहरु पत्याउँथ्यौं । तिनका कुराका विरुद्धमा जानु गैरप्रजातान्त्रिक हुनु हो भने झैं गरेर चुपचाप उनीहरुका कुरामा लाहाछाप मार्थ्यौं । गत एक वर्षदेखि प्रजातन्त्र धर्मराएको छ । व्यक्तिगत रुपमा जनताको दुहाई दिंदै प्रजातन्त्रप्रति वितृष्णा जगाउने काम भएको छ । यी कुराहरु मलाई कोरोनाले उडाएको स्वाद र गन्ध जस्तै लागेको छ । स्वाद र गन्ध बिनाको राजनीति र कार्डबोर्ड चपाएको जस्तो खानाको स्वाद उस्तै लागेको छ । यो बेस्वादको राजनीतिले ओगटेको समयमा हामीमध्ये केही त पश्चमार्गी पनि बन्न भ्याएका छौँ । यो पश्चमार्गी शब्दले मलाई एउटा पुरानो भ्यागुताका राजाको कथाको सम्झना आउँछ ।
        यस बालकथामा भ्यागुताहरु पोखरीमा आनन्दपूर्वक खाने, खेल्ने, रमाउने गरिरहेका हुन्छन् । एकै प्रकारको दिनचर्याले उनीहरुमा बिरक्ती छाउँछ । अनि एकदिन बैठक बसेर उनीहरुले एउटा राजाको माग गर्ने निर्णय गर्छन् । उनीहरु रातभर मिलेर प्रार्थना गर्छन् । यस्तैमा भोलिपल्ट बिहान उनीहरुले एउटा सुकेको मुढो पानीमाथि तैरिरहेको देख्छन् । उनीहरुलाई आफ्नो प्रार्थनाको फल प्राप्त भएको जस्तो लाग्छ र खुशी हुन्छन् । केहि समयपछि त्यो हावाको लयमा यताउता सर्ने मुढो देखेर फेरि भ्यागुता बिरक्तिन्छन् र राजा फेर्नुपर्ने निर्णय गर्छन् । अनि फेरि उनीहरु प्रार्थनामा जुट्छन् । भोलिपल्ट एउटा सुन्दर बकुल्लो उडेर त्यस पोखरीमा आइपुग्छ । भ्यागुताहरुले ठान्छन् ओहो कति सुन्दर राजा । बकुल्लाले एकएक गर्दै भ्यागुता निल्न थालेपछि अलेली बाँकी रहेका भ्यागुता फेरि प्रार्थना गर्न थाल्छन्, “हे प्रभु, यो देख्नमा सुन्दर राजा भन्दा पहिलेको मुढो राजा नै 
ठीक थियो ।” म आफू पनि त्यही एक भ्यागुतो भए जस्तो लाग्छ । यो ठीक कि ऊ ठीक भन्दा भन्दै समयले आफूलाई निलिरहे जस्तो लाग्छ ।


अदृष्य उपहार
        हाम्रो चेत प्रायः पाँचवटा इन्द्रियका वरिपरि नै घुमिरहन्छ । यी मध्ये स्वाद र गन्ध ग्रहण गर्ने इन्द्रियहरुले मात्र काम नगर्दा पनि हामी मानसिक रुपमा अपाङ्ग नै हुनेरहेछौं । यस कुराले मलाई अर्को एउटा कुराको आत्मबोध गरायो । हामी हाम्रा अत्यन्त मूल्यवान कुराहरुलाई बेवास्ता गर्दारहेछौं र जे कुरालाई बेवास्ता गर्नुपर्ने हो त्यसका पछाडि अन्धा भएर दौडिदा रहेछौं । हामीले फेर्ने श्वासको महत्व कोरोनाकालपछि जति हामीले भित्रबाट अनुभूत गर्यौं, शायद पहिले कहिल्यै गरेका थिएनौं होला । अक्सिजनका हजारौं सिलिण्डरहरु त्यस बीचमा रित्तिए र भरिए । अनि अक्सिजनका अभावमा हाम्रा प्रियजनहरुले ज्यान गुमाए । हामीले साँच्चै नै हावाको महत्व बुझेका रहेनछौं । यो घाम नहुँदो हो त, पानी नहुँदो हो त, यो मेसिनरुपी मुटु एकनाशले नधड्किंदो हो त, हाम्रो अस्तित्व कतिबेर टिक्छ ? हाम्रा सारा आडम्बर, दम्भ, अहंकार, उत्साह, खुशी, उमंग, पीडा, सन्ताप त्यहि एक मुठी अक्सिजनमा अडिएको रहेछ । एकछिन त्यो अक्सिजन नहुँदो हो त यी मानवरुपी जुनकिरीका बत्ती झ्याप्प निभ्न कति बेरै नलाग्ने रहेछ । स्वाद र गन्धविहीन समयले मलाई यति चिन्तन गर्ने मौका पनि दियो । मैले कार्डबोर्ड चपाइरहँदा आफूलाई एउटा जुकाभन्दा फरक ठानिन । अर्को प्राणीको रक्त चुसेर बाँचेको प्राणी जुको जस्तै सित्तैमा प्रकृति प्रदत्त घाम, पानी र हावाका भरमा म बाँचिरहेकी रहेछु । मैले ती अमूल्य उपहार प्रदान गर्ने प्रकृतिलाई धन्यवाद भन्न समेत बिर्सेकी रहेछु ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 10 September, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]       




Saturday 4 September 2021

छैनन् चरी जेलैमा

 


यसपाली गायिका विष्णु माझीको ‘चरी जेलैमा’ गीतले तीजको मर्म समाएर बजार लिएको छ । तीज गीतले महिलाहरुका पीडाका भारी बोकेको हुन्छ । खासगरी यस्ता गीतले विवाहित महिलाका आन्तरिक ब्यथाका मर्मलाई समाएको हुन्छ । यी शताब्दिऔं देखि तीज विषेश भनेर गाइएका महिलाका पेवा गीतहरु किन यति धेरै पीडामिश्रीत होलान् ? महिलालाई पिंजडाको चराको बिम्ब प्रयोग गरिएको ‘चरी जेलैमा’ गीत पनि हप्ता दिनमा झण्डै करोड पटक यूट्यूबमा हेरिएछ ।

एक समय थियो – महिलाहरु साँच्चै नै पिंजडाभित्र थिए । मानसिक र भौतिक दुवै रुपमा उनीहरु बन्धनमा थिए । समाज कृषि केन्द्रित थियो । यस परिस्थितिमा महिलाका लागि शिक्षा र रोजगारका अवसरका ढोका प्रायः बन्द थिए । त्यसबेलाका योगमाया जस्ता क्रान्तिकारी महिलाहरुका वीर गाथा आज हामी मिथकका रुपमा सुनिरहेछौं, पढिरहेछौं । पछिल्ला सय वर्ष यता नेपाली नारीहरु बिरलै मात्र सामाजिक बन्धन खुस्काएर बाहिरी दुनियाँमा निस्किए होलान् । नेपाली प्रजातन्त्रका लागि अघिल्ला चरणमा संघर्षमा होमिएका महिलाहरु पनि केहि औंलामा भाँच्न सकिने मात्र छन् ।

कृषिमा आधारित पुरातन समाजमा कामदारकै रुपमा बढि हेरिएका नाबालक चेलीहरु विवाह गरेर ल्याइन्थे र पठाइन्थे । हाम्रा आमा, हजुरआमाहरु नै यस कुराका प्रत्यक्ष उदाहरणहरु हुन् । पुराना तीज गीतले ती आमाहरुका दुःख, पीडा, संघर्ष, बिरह र वेदना बोकेका थिए ।  तिनै आमा, हजुरआमाहरुले तीज उत्सवमा गाउने बिरही भाका आजसम्म चलिरहेको छ । बाटोघाटो, सञ्चारका साधन र यातायात नभएको समयका तीज गीतले जति आँसु झार्थ्यो र पीडा समेटथ्यो आज त्यो स्थिति छैन । कानूनी रुपमा बाल विवाह वर्जित छ, साक्षरताको प्रतिशत बढेको छ, यातायात र सञ्चारले माइती र घरको दुरी छोट्याएको छ ।


बदलिएको समय

गएका तीन दशक यता समय बदलिएको छ । अन्य विकसित मुलुकसँग दाँजेर हेर्ने हो भनें त हामी पछाडि नै छौं तथापि हाम्रा आमाहरुको समयभन्दा अहिलेको समय खुकुलो भएको छ । शिक्षाको पहुँच सबैतिर समान रुपमा नपुगे पनि आर्थिक आय उपार्जनका अवसरहरु खुलेका छन् । अब महिलाकै नाममा हुने थिचोमिचोका विरुद्ध व्यक्ति र समाज दुबैले आवाज उठाउन थालेका छन् । महिलाहरु आफ्ना लागि र अर्काका लागि बोल्न थालेका छन् । उनीहरुमा हक र अधिकारको चेत पलाएको छ । यी सबै परिवर्तनका पछाडि सामाजिक र राजनैतिक चेतनाले त काम गरेको छ नै, त्यो भन्दा पनि ठूलो कुरा त महिला आय आर्जनका उपलब्ध अवसरहरु नै महिला सशक्तिकरणका आधारहरु हुन् जस्तो लाग्छ मलाई ।

पहाडबाट केटाकेटीको उज्वल भविष्य खोज्दै मधेश झरेका बहुसंख्यक महिलाहरुले व्यवहार थामेर श्रीमानलाई विदेश पठाएका हुन्छन् । उनीहरु अलिकति कृषिजन्य आय आर्जन, अलिकति साना व्यापार वा घरेलु तान बुन्नमा ब्यस्त देख्छु म । महिलाहरुले आय आर्जनकै कारणले व्यक्तिगत स्वतन्त्रता र सम्पन्नता उपभोग गर्न पाएका हुन्छन् । भर्खरै मात्र एक मुश्लिम समुदायकी अपठित महिलाले आँट र साहसको भरमा  करोडौंको गार्मेन्ट व्यवसाय चलाइरहेको कथा पढिरहेकी थिएँ म । हसिना खातुनले शूण्यबाट शुरु गरेको व्यवसायका पछाडि उनको आफ्नो आँट, सामाजिक हौसला र पुँजीको सहज उपलब्धताले ठूलो भूमिका खेलेको रहेछ ।

हाम्रो छिमेकमा पहाडबाट झरेकी मनिता सम्बाहाम्फे बस्छिन् । उनी सानो जमीनको टुक्रामा आफूलाई पुग्दो तरकारी उब्जाउ गर्छिन्, सुँगुर, कुखुरा र भैंसी पाल्छिन्, अलिकति अधियाँ खेती गर्छिन् ; अनि फूर्सद निकालेर घरेलु सहायकको काम पनि गर्छिन् । वैदेशिक रोजगारमा भएका उनका श्रीमान् समेतको प्रयत्नले उनीहरुले सात कठ्ठा जग्गा समेत जोडेका छन् । यस्ता उदाहरणीय जोधाहा नारीहरु समाजमा प्रशस्त छन् । उनीहरु एक्लै व्यवहार थाम्नुपर्दा स्वनिर्णयकर्ता बनेका छन्, स्वाभिमानको रक्षा गर्न सक्ने भएका छन् र परिवार रक्षाको जिम्मेवारी उठाउन सक्ने भएका छन् ।

उज्यालो संकेत


हाम्रो समाजमा महिलाहरुको श्रमको गणना हुन थालेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा महिला उत्पीडनका कथासँगै उनीहरुका प्रगतिका कथा पनि आउन थालेका छन् । एउटी महिलामाथि भएको हिंसा अब सहज रुपमा दबाउन सक्ने अवस्था छैन । यी सबै कुराका पछाडि महिला आत्मनिर्भरताले प्रमुख भूमिका  खेलेको हुन्छ ।

महिला शिक्षाको अपरिहार्यता त कसैले नकार्न सक्दैन । आँट र साहस भएका महिलाहरुलाई पनि अवसरहरु उपलब्ध छन् । हाम्रो टोलका घरमध्ये प्रायः प्रत्येक घरमा कम्तिमा एकजना कामकाजी महिला हुनु शुभ संकेत हो । सहज पुँजीको उपलब्धताले पनि महिलाहरुलाई आत्मनिर्भर हुन सहयोग गरेको छ । महिलाहरु आत्मनिर्भर हुने बित्तिकै उनीहरुमाथि हुने विभेद र अत्याचार आधा भएर जान्छ जस्तो लाग्छ मलाई । परनिर्भरताको स्थिति समाप्त हुनासाथ एउटी महिला आफ्ना लागि बोल्न सक्छे । उसले आफूमाथि हुने अन्याय विरुद्ध आवाज उठाउन सक्छे । त्यसैले आत्मनिर्भरता भनेको स्वनिर्णयर्ता हुनु हो, आत्मविश्वास हो र आत्मसम्मान पनि हो ।

पचास वर्ष अघिको आमा पुस्ता र अहिलेको छोरी पुस्तामा ठूलो भेद छ । छोरी पुस्ताले यसबिचमा लामो फड्को मारिसकेका छन् । लैङ्गिक समानताको कुरा गर्नुपर्दाचाहिँ सामाजिक विभेदको खाडल फराकिलो छ । अवसरका उपलब्धता बराबर छैनन् । तैपनि शैक्षिक, प्रशासनिक, राजनैतिक र सामाजिक क्षेत्रमा जेजति महिलाहरु अगाडि आएका छन्, तिनीहरुले आउँदा पुस्तालाई अगुवाई गर्नेछन् ।

जेल ब्रेकर जे. बी. दाइ

केहि दिनअगाडि मात्र जे. बी. टुहुरे दाइको निधन भयो । उनलाई म जेलब्रेकर जे. बी. दाइ भन्छु । प्रतिबन्धित समयमा ज्यानको बाजी थापेर सिङ्गो देशलाई नै गीतको माध्यमबाट जुरुकजुरुक पार्ने खुबी भएका जनवादी गायक टुहुरे जनताका मनमुटुमा युगौंसम्म रहिरहन्छन् । कुनै पनि राजनीतिकर्मीले भन्दा उनले जनमानसमा गहिरो छाप छोडेका छन् । उनी हरेक उत्पीडित वर्गमा सहज लय भएका गीतहरुमार्फत पुगे । उनको जनजागरण अभियान बन्दनीय छ । हाम्रा विचारको संकुचनबाट बाहिर निकाल्ने, झक्झकाउने र अन्याय विरुद्धका गीत जनजनमा पुर्याउने मानिस जेलब्रेकर हो । हाम्रो संकुचित मनस्थितिको जेल ब्रेक गराइदिने जे. बी. टुहुरेमा श्रद्धान्जली ।

छैनन् चरी जेलैमा

घरेलु चौघेरा, चुला चौका, पारिवारीक बाध्यता भन्ने तर्कहरु अहिलेको समयमा फितला साबित हुन सक्छन् । केहि अपवाद बाहेक यी पुरातन जेलबाट आजका महिलाहरु मुक्त हुन सक्छन् । अब नेपाली नारीहरु चरी होइन नारी भएर उभिन सक्छन् । परिवर्तनका क्रममा रहेको मुलुकमा कसैको बाटो नहेरी अगाडि बढ्न सक्ने अवसरहरु अब उपलब्ध छन् । तीजका गीतमा वर्णीत बाध्यताको स्थितिमा परेकालाई एकअर्काले होस्टे हैंसे गर्ने हो भनें नारीले चरी हुनु पर्दैन र बाध्यताको जेलमा बसिरहनु पर्दैन । अब तीजमा हर्षका, उल्लासका, नारी शक्तिका र आत्मविश्वासले भरिएका गीतहरुमा हामी नाच्न सकौं । अन्त्यमा, सम्पूर्ण महिला दिदी बहिनीहरुलाई महिला वाक् स्वतन्त्रताको प्रतिनिधित्व गर्ने पर्व तीजको शुभकामना ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 3 September, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]