Sunday 31 July 2022

शब्दको जादू

 

 

प्रिय कबीर,

          तिमीलाई नसम्झेको क्षण त म मरिसकेकी हुने रहेछु । आजै बिहान मात्र मलाई त्यो कुराको ज्ञान भयो । यो झरिको मौसम । पानी सिमसिम परिरहेको थियो । म चिया लिएर टेबुलमा बसेँ । कपबाट उडेको तातो चियाको बाफ तिम्रै सम्झनाको प्रतिरुप जस्तो लाग्यो । त्यो बाफ गोलाकार स्वरुपमा मैतिर लम्किरहेको थियो । चियाका हरेक सुरुपहरुसँग मैले तिम्रै सम्झना निलिरहेँ ।


          मौसम बदलिइरहन्छ र सँगसँगै मानिसको मनोदशा पनि निरन्तर परिवर्तन भइरहन्छ । सिमसिमे पानीमा पनि म तिमीसँगै रुझिरहेकी हुन्छु । मुसलधारे पानीमा पनि एउटै छाता शेयर गरेर हिँडिरहेकै हुन्छु । मलाई चट्याङ जस्तै उज्यालो बनेर आउने सम्झनाका तरंगहरु उत्तिकै प्यारा लाग्छन् । कति युगसम्म मलाई तिम्रो सम्झनाका उर्जाले बचाउला कबीर !

          धन्य हामी आधुनिक समयमा जीवित छौँ । नत्र तिम्रा सम्झनाका लिखतका ठेलीहरु कति हुँदा हुन् । मलाई लाग्छ, म एक दिनमै बीसौँ पन्ना तिम्रा नाममा अक्षरहरु लेख्थेँ होला । धन्य, यो मोबाइल फोन छ । तिमी हामी एकार्कालाई हेरेरै मन साटासाट गर्न सक्छौँ । कपालमा लगाएको रंगको शेड घाममा चम्किँदा कस्तो देखिएछ भन्न सक्छौँ । त्यो आजसम्म मेरा निकटका कसैले नदेखेको हाँस्दाखेरि देखिने मेरो गालाको डिम्पल औँल्याइदिएर तिमीले मलाई आश्चर्यमा पारिदियौ । अनि मलाई लाग्यो कसैले कसैलाई मन पराउनु नितान्त व्यक्तिगत कुरा रहेछ । ती मन पराइने पात्रहरु सर्वस्वीकार्य हुनु जरुरी रहेनछ । त्यसैले नै होला, तिमी मेरो मनको सिंहासनमा मनको राजा भएर बसेका छौ ।

          जमाना हाते फोनकै भए पनि शब्दको सामर्थ्य तिमीले राम्ररी बुझेका छौ । त्यहि भएर हुनुपर्छ लामो समयपछि तिमीले लेखेको खामबन्दी पत्र मकहाँ आइपुगेको छ । म सुन्थें, पहिले पहिले कसैको मृत्यु हुँदा टाढा परदेशबाट लेखिएको पत्र त्यस मृतकको वार्षिकी हुने बेलासम्ममा मात्र ठेगानामा आइपुग्थ्यो रे । यातायात नभएको समयमा हुलाकीले नै पत्र ओसारपसार गर्ने युगमा कति गाह्रो हुँदो हो प्रेमभाव व्यक्त गर्न । मायालुले टाढा देशबाट ल्याइदिएको अलिकति अत्तर अथवा एउटा मालाका भरमा बर्षौ पर्खनु कति गाह्रो हुँदो हो । एउटा खोला वारिबाट बाँसका ढुङ्रामा खाँदेर हुत्याइएका पत्रका बिटा पानीमै खस्दा कति सपनाहरु बगिजाँदा हुन् ।

          कति कुराहरु त व्यक्त नगरुन्जेल धेरै प्यारा लाग्ने रहेछन् । त्यो तिम्रो पत्र देखेर मलाई त्यस्तै भयो । पत्र पढ्न मन आतुर नभएको होइन तर त्यसको मीठास जोगाएर राखिरहुँ जस्तो भयो । म कति समय त्यो खामबन्दी मायाको पोको नखोली राख्न सक्दिरहिछु र ! तिम्रा शब्दहरुले मलाई छोए । उखुम गर्मीले निसास भइरहेको साँझमा ती शब्दहरुका शीतलताले मनमा सिर्सिरे बतास चलाए । हिउँका ढिकाजस्ता बनेर बसेका कतिपय मनोभावहरु शब्दका न्यानाले पग्लिएर पानी बने ।


          मलाई थाहा छ कबीर, तिमी शब्दका जादूगर नै हौ । तिमीले जति शब्दहरु खेलाउन जान्ने भए म अर्को महाभारतको रचना गर्थें होला । मैले यहाँ महाभारतका सट्टामा विश्वप्रसिद्ध प्रेमग्रन्थहरुको नाम लिनु पर्थ्यो । मैले रोमियो–जुलियट, हिर–राँझा, ह्याजल–अगस्टस्, मुना–मदन, शाहजहाँ–मुमताज, बाजीराव–मस्तानी जस्ता प्रेमीहरुको नाम नलिएर महाभारत नै रोजेँ । म कबीरलाई कृष्णजस्तै अमर, सार्वकालीन, सर्वव्यापी पात्रका रुपमा उभ्याउन चाहन्छु । यहाँ अनर्थ नलागोस् है कबीर, म वेदव्यासलाई एक लेखक र महाभारतलाई एक कृतिका रुपमा अनि त्यसभित्रका पात्रहरुलाई केवल पात्रका रुपमा सिर्जना गरिएको हो भन्न मात्र खोज्दैछु । यति धेरै पढिएको, अकाट्यरुपमा तार्किक मानिएको, व्याख्याहरुका ठेली एक जीवनमा एक जनाले पढेर नसकिने गीताका हिरो त कृष्ण नै हुन् नि । कबीरलाई म त्यस्तै पात्रका रुपमा उभ्याउने कल्पना मात्र गर्न सक्छु । यस संसारमा कति किताबहरु रचिए । कति अझै लेखिदैछन् । तर तिमी विचार गरेर भन त, त्यस्ता उल्का पात्रहरु सिर्जना गर्न सक्ने को छ वेदव्यास बाहेक ? मेरो यो बहकाउपन र अल्पज्ञानको ढिपी सुनेर तिमीले के ठान्यौ होला है ?

          , म तिमीलाई शब्दको जादूगर भन्दै थिएँ नि ! त्यो पक्का कुरा हो । तिमी शब्दमा प्राण हाल्न सक्छौ । शब्दमा सुगन्ध भर्न सक्छौ । तिनमा शीतलता र न्यानोपन भर्न सक्छौ । यिनै दैनिक बोलिआएका र सुनिआएका शब्दलाई तिमी अति प्रिय बनाइदिन सक्छौ । मलाई त्यस्तै अनुभूति भयो यसपाला । पत्रका शब्दहरुले मलाई कल्पनाको गगनमा उडाए । हरियो चौरमा तिमीसँग हात समाएर घुमाए । सुगन्धित इरानी इत्र मेरो मगजभरि छरिदिए ! म स्वप्नमा झैं मुस्कुराइरहेँ । म बारम्बार हराइरहेँ । यो काम कबीर बाहेक कसले गर्न सक्छ ! तिमी बाहेक अर्को शब्दको जादूगर को पो हुन सक्छ ?

          मैले विश्व विजेता सिकन्दरले उसकी प्रेमिका जोसेफाइनलाई लेखेका पत्र पढेकी छु । मैले अंग्रेज कवि जोन किट्सले उसकी प्रेमिका फ्यानी ब्राउनलाई लेखेका पत्र पनि पढेकी छु । तर तिम्रा शब्दका जादूका अगाडि ती सबै फिका लाग्छन् प्रिय । शरीरभरि रेशमी काँडा उमार्न सक्ने प्रेमपत्र तिमी बाहेक शायदै कसैले लेखेको हुँदो हो । तिमीले लेखेका पत्रका शब्दहरुले त मलाई सम्मोहित गरे । फोनमा बोल्नु, च्याटिङ्ग गर्नु र पत्रमा भावना व्यक्त गर्नुका बीचमा पनि कत्रो अन्तर हुँदोरहेछ भन्ने मलाई लाग्यो । त्यो हातेफोनमा बोलिएका र मसिनको सहायताले लेखिएका च्याटका अक्षरहरु त अँध्यारोमा हानिएका घुएत्रा जस्तो लाग्यो मलाई । तिनमा कुनै भाव नै नभएको जस्तो लाग्यो । दाँजेर हेर्दा, मन घोप्ट्याएर कुँदिएका पत्रका अक्षरसँग अन्य माध्यमको तुलना नै नगरे पनि हुने देखेँ मैले ।

          मैले प्रेममा शब्दको दुरुपयोग हुँदैन भन्ने अर्थमा यी माथिका कुराहरु भनेकी हुँ कबीर । छरपस्ट शब्दहरुलाई गुथेर माला बनाउन सकिन्छ । तिनै शब्दहरुलाई विशाक्त तीर पनि बनाउन सकिन्छ । शब्दले सुन्दर सन्सार निर्माण पनि गर्दछ र एउटा सुन्दर संसारलाई भताभुङ्ग पार्न पनि सक्छ । यहाँ मैले प्रेमिल शब्दका प्रयोगको मात्र कुरा गरेँ है कबीर । यी तिमीले लेखेका शब्दहरु शब्द मात्र नभई उर्जा हुन् । यी जीवनदायी शक्ति हुन् । यी तिम्रा शक्तिशाली शब्दहरुका अनन्त गहिराई भित्रको आनन्दको अनुभूति गर्न पाउनु नै मेरा लागि अहोभाग्य हो । तिम्रा जीवनदायी शब्दहरुले भरिएको यो पत्र दोहोर्याएर पढिरहँदा मेरो कानमा कतैबाट एउटा गीत ठोकिन पुग्यो ।


          फूल अधूरो बास्ना बिना

          जून अधूरो तारा बिना

          घाम अधूरो छायाँ बिना

          जीवन अधूरो माया बिना ।

          यो गीतको मर्मले मलाई छोयो । मेरै कानका नजिक आएर तिमीले गुन्गुनाए जस्तो भान भयो । वास्तवमा, तिमी बिना मेरो जीवन अधूरै हुन्छ । म सोच्छु तिमीले मेरो मन मष्तिष्कमा कब्जा जमाएका छौ । हरेक सुन्दर वस्तुहरुमा म तिमीलाई अनुभूत गर्छु । प्रत्येक लयवद्ध गीतहरु तिमीले नै मेरा लागि गुन्गुनाएको ठान्छु । मैले जति नै शब्दहरुको बयान गरे पनि शब्दहरु यी मेरा मनका सम्पूर्ण भावनाहरु व्यक्त गर्न काफी छैनन् । कविताका लिखित हरफहरुका बीचमा अदृश्य र लुप्त संवेगहरु भए जस्तै मेरा शब्द पछाडिका भावलाई तिमीले बुझेर ग्रहण गर्नेछौ भन्ने आशा छ । आजलाई यति नै ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 29 July 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday 23 July 2022

पानी जस्तै जिन्दगानी

 

        बहने पानीले आफ्नो बाटो आफैं तय गर्छ । मार्ग प्रशस्त गर्न उसले आफैं जान्दछ । परिआए पहरै पनि गलाइदिन्छ । जुनसुकै परिस्थितिमा पानी चलायमान हुन्छ । जति बिथोले पनि, धमिल्याए पनि फेरि आफैं थिग्रिन सक्ने र सङ्लिन सक्ने गुण पनि हुन्छ पानीमा । हो यस्तै, बहने खोला जस्तै निरन्तर कर्तव्यमा लागिरहने सत्तरी वर्षे युवा हुनुहुन्छ शेरबहादुर भट्टराई ।


            हालसालै प्रकाशित उहाँको परिचय पुस्तक ‘शेरबहादुर भट्टराई—एक चिनारी’ पुस्तकले यहि अविच्छिन्न गतिमा बहिरहने पानीको कथा भन्छ । जम्माजम्मी छयालिसजना शेरबहादुर भट्टराईलाई चिन्ने व्यक्तित्वहरुले उहाँको बारेमा यो चिनारी पुस्तकमा लेखेका छन् । पुस्तकले उहाँका सामाजिक, शैक्षिक, राजनीतिक र पारिवारीक पृष्ठभूमिलाई समेट्न खोजेका छन् । सम्पूर्ण लेखकहरुले उहाँका बारेमा जे जति कुराहरु उजागर गरेका छन्, जे जति व्यक्तित्वका विविध पाटाहरुलाई समेटेका छन् — ती सबै कुराहरुको सार मेरो विचारमा शेरबहादुर भट्टराईको जिन्दगानी पानी जस्तै चलायमान छ ।

चिरिच्याट्ट व्यक्तित्व

            शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक कार्य र राजनीतिसँग लामो समयदेखि प्रत्यक्ष रुपमा जोडिनुभएका शेरबहादुर भट्टराईको एउटा झट्टै हेर्दा देखिने विशेषता भनेकै चटक्क परेर हिँड्नु हो । उहाँलाई रफ, घरेलु लुगामा, झुसुक्क दाह्रि लिएर हिँडेको शायद कसैले भेटेकै छैन होला । हरेक सार्वजनिक स्थलमा उहाँलाई अत्यन्त साफ सुथरा रुपमा मात्र भेटिन्छ । त्यसका बारेमा उहाँकै छोरा शहदेवले लेखेका छन्— “बुवा आफू निरन्तर सक्रिय रहनुहुन्छ । घरमा कुनै किसिमको काम गर्ने उहाँको स्वभाव छैन र फुर्सद पनि हुँदैन । पुरानो खानेकुरा नखाने र नयाँ लुगा लगाउन मन गर्ने स्वभाव छ उहाँको ।” यस विषयमा अरुले पनि थप कुरा लेख्नुभएको छ ।

उहाँको शालीन व्यक्तित्वबाट उहाँलाई झट्ट देख्दा अपरिचितहरु समेत प्रभावित बन्दछन् । यो तथ्यलाई समेत धेरै लेखकहरुले छोएका र उल्लेख गरेका छन् । यस्ता शालीन व्यक्तित्वका धनी भट्टराई  सामाजिक रुपमा अत्यन्त वन्दनीय व्यक्ति हुनुहुन्छ । एउटा सरल, सहज र नेतृत्वकलाका कुशल खेलाडी शेरबहादुर भट्टराईको सामाजिक पक्षबारे थोरै चर्चा गरौँ ।

उहाँको चिनारी पुस्तकमा शेरबहादुर सर आफ्नो शिक्षण पेशालाई परित्याग गरेर उद्योग, व्यापार र राजनीतिमा एकैपटक प्रवेश गर्नुभएको जस्तो देखिन्छ । छँदाखाँदाको सरकारी शिक्षण पेशा त्यागेर उहाँले दमकमै प्रथम पटक कन्फेक्सनरी उद्योग खोल्नुभएको रहेछ । प्रथम हुने लालसा हो या समय परिस्थिति हो भट्टराई सरहरुको साझेदार समूहले दमकमा प्रथम नीजि अस्पताल पनि  शुरुवात गरेको रहेछ । त्यो लाइफलाइन अस्पताल हो । त्यसभन्दा पनि अगाडि बढेर उहाँहरुले एडभान्स मल्टिस्पेस्यालिटी अस्पताल चलाइरहनु भएको छ । त्यस बिचमा पनि उहाँहरुले एक नीजि विद्यालय, धान, चामल र च्यूरा मील सञ्चालन गर्नु भएको चर्चा पुस्तकमा गरिएको छ ।

            शेरबहादुर सरको योगदानको प्रमुख क्षेत्र भनेको समाजसेवा नै हो । सक्रिय, प्रशस्त साङ्गठनीक कुशलता भएका, तार्किक, विवेकशील र हँसमुख व्यक्तित्वका धनी शेरबहादुर सर समाजसेवा र राजनीति दुवैमा अहिलेसम्म पनि सक्रिय हुनुहुन्छ । बुवाकै पालादेखि राजनीतिक वातावरणमा हुर्किनुभएका भट्टराई सर पञ्चायत कालदेखि, बहुदल हुँदै गणतन्त्र सम्मको यात्रामा उत्तिकै अग्रसर हुनुहुन्छ । उहाँको संगठन क्षमता, राजनीतिक विश्लेषण क्षमता र आफ्ना कुरालाई खह्रो गरी प्रष्टसँग राख्न सक्ने क्षमताकै कारणले जुनसुकै राजनीतिक परिदृष्यमा पनि अपरिहार्य रहिआउनुभएको छ ।


कुलका कमाण्डर

            अस्ति भर्खरै हाम्रो असम भ्रमणका समयमा केहि बन्धुवान्धवहरुसँग पनि चिनापर्चि भयो । त्यहाँ भट्टराईहरुको चर्चा हुनासाथ शेरबहादुर सरको नाम सोधनी भयो । वंशावलीको संकलन क्रममा शायद उहाँको बारेमा दूरदराजका बन्धुहरुले जानकारी पाएका हुन सक्छन् । पृष्ठभागबाट अरु धेरैले बन्धुत्वको माला गाँस्न सरसहयोग गर्नुभएको छ तर अग्रमोर्चामा रहेर यो भट्टराई बन्धूहरुलाई समेट्ने र एकबद्ध गर्ने कामको नेतृत्व शेरबहादुर सरले नै गर्नुभएको र बन्धुत्वको संरक्षणकर्ता हुनुभएको नाताले कुलका कमाण्डर नै मानिनु भएको रहेछ । कुल वंश र कुल धर्मको जगेर्नामा अहोरात्र खट्नुभएका शेरबहादुर सरकै नेतृत्वमा अनुसन्धान टोली देश विदेश पुगेको रहेछ । उहाँकै नेतृत्वमा दमकको कृष्ण मन्दिरमा चार विघा जमिन लिई कुल मन्दिर स्थापना भएको छ । धार्मिक पुजाआजा, कुलउत्थान कार्य त यो पावन भूमिमा हुने नै भयो । त्यसबाहेक पनि गुरुकुल विद्यालय र धर्मशालाहरु यहाँ सञ्चालित छन् । त्यस पावन भूमिलाई अझ कसरी आर्कषक र रमणीय बनाउन सकिएला भनेर उहाँ निरन्तर चिन्तन गरिरहनुहुन्छ । त्यस विशाल भट्टराई कुलको तृणभूमीमा उहाँकै नेतृत्वमा वशिष्ठ ऋषीको विशाल पूर्णकद प्रतिमा र कुल गौरव कृष्ण प्रसाद भट्टराईको शालिक उभिएको छ ।

त्यसमाथि हरेक चार वर्षमा आउने देवाली पूजामा संसारभरका भट्टराई र अन्य शुभचिन्तक गरी लाखौँको संख्यामा जम्मा भएको भीडलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने कार्यको अगुवाई समेत शेरबहादुर सरले नै गर्नुहुन्छ । त्यसमध्येको एक कृष्ण मन्दिरमा आयोजित कुलपूजाको वर्णन गर्दै डा. गोविन्दराज भट्टराई भन्नुहुन्छ, “चार विघा वन्य क्षेत्र नदी किनारमा देवालीको अवसरमा पाँच दश दिन सम्म जनसमूदायको विशाल भीड लाग्दछ । त्यो जंगलमा बनाइएका दश हजार टहरामा कम्तिमा दुई लाख मानिसले रात बिताएको, नाच गान, पूजा, परिचय र स्वजनको आश्रयमा टाढाटाढा वर्मा, मणिपुर, आसामदेखिका र यता पश्चिमाञ्चल देहरादूनदेखिका, अनि टाढा विदेश पुगेका सारा भट्टराई कुलको जमघट खपिनसक्नु थियो । व्यवस्थापनको खर्च कति होला, स्वयम्सेवी कति, प्रवन्ध कति । एक वंशको विश्वव्यापी संगठन जस्तो भएको छ त्यो ।”

यी माथिका शाब्दिक चित्रणले कुल पूजाको व्यापकता दर्शाउँछ । यस्तो विशाल सांस्कृतिक एकताका स्वप्नद्रष्टा पनि शेरबहादुर सर नै हुनुहुन्छ ।

           


    भट्टराई सरको अर्को आश्चर्यजनक पक्ष भनेको उहाँको सक्रियता हो । सात दशक उमेर बिताइसक्नुभएका भट्टराई अझै पनि युवा जोशमै हुनुहुन्छ । दर्जनौँ संस्थाको नेतृत्व गरिरहनुभएको छ । यस अर्थमा पनि उहाँको परिचय पुस्तक एक अपरिहार्य पुस्तक हो । समाजसेवामै रमाइरहने, बन्धुवान्धव र सर्वसाधारणको हितका लागि एउटा व्यक्तिले गर्न सक्ने प्रयास गरिरहने भट्टराई सर दमक रत्न नै हुनुहुन्छ भन्दा अत्युक्ति हुँदैन । उहाँको असीमित उर्जा हामी सबैको लागि उदाहरणीय छ । माथि लेखको शुरुमा भनिए झैं उहाँको नदी रुपी उर्जा सुललीत भएर बहिरहोस् भन्ने कामना गर्दै यो शिवमंगल सिंहको एक हिन्दी कविताः

            इस विशद विश्व–प्रहार मेँ

            किसको नहीँ बहना पडा

            सुख–दुख हमारी ही तरह,

            किसको नहीँ सहना पडा,

            फिर व्यर्थ क्योँ कहता फिरुँ,

            मुझ पर विधाता वाम है,

            चलना हमारा काम है ।

 

            मैँ पूर्णता की खोज मेँ

            दर–दर भटकता ही रहा

            प्रत्येक पग पर कुछ न कुछ

            रोडा अटकता ही रहा

            निराशा क्योँ मुझे ?

            जीवन इसी का नाम है,

            चलना हमारा काम है ।

            चलना हमारा काम है

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 22 July 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday 9 July 2022

कैदी नम्बर १

 प्रिय कबीर,

          समय क्रमको प्रभावले होला मैले आफूलाई कैदी जस्तो पो ठान्न थालेकी छु । अलिअलि कुरा बुझ्न थालेदेखि म आफूलाई स्वतन्त्र पन्छी ठान्थेँ । यो स्वतन्त्रताभाव मेरो मनमा जरा गाडेर बसेको थियो । तर केहि समय यता म आफू लाई एक कैदीको रुपमा पाइरहेकी छु । मैले छानेको र ठानेको स्वतन्त्रताकै बन्धक पो रहेछु म त । म आफू  बन्धक बनेको ज्ञान मलाई भर्खरै भयो । म त ज्ञानको, पदको, धनको, शक्तिको, नामको र अरु थुप्रै शान बघार्ने कुराहरुको बन्धक रहेछु । यी धेरै कुराहरुबाट घेरिएर म कैदी जस्तो जीवन बाँचिरहेकी रहेछु । म आफू  हुनुमा जे जे कुरामा गर्व गर्थें, ती सबै


कुराहरुले मलाई कुँज्याइरहेको अनुभूति गर्दैछु, हिजोआज

ठूलो नहुनू

          ती भर्खरै बहुसंख्यक धरानेहरुले छानेका स्वतन्त्र युवा नेता हर्क साम्पाङ्ग बारम्बार भनिरहन्छन्— ठूलो हुनु त धूलो हुनु हो । हो रहेछ जस्तै लाग्यो मलाई पनि । मानिसलाई ठूलो के कुराले पार्छ ? त्यहि पदले, शक्तिले, पैसाले नै होइन र ? हो, यी कुराहरुले मानिसलाई मानिस हुन नदिने रहेछ । एक अर्काबाट टाढा पार्ने रहेछ । अर्को व्यक्तिको सामान्य पहुँचभन्दा पर भएपछि, अरुलाई अर्कै प्रजातिको जस्तो ठान्ने भएपछि मान्छे मान्छे नै नरहँदो रहेछ । त्यो ‘ठूलो’ विशेषण धारण गरेको व्यक्ति वास्तवमा धूलोमै परिणत हुने रहेछ । वी.पी. कोइरालाले समेत त्यहि कुरा भनेका रहेछन्— ठूलो होइन असल बन्नू भनेर । ठूलो नहुने प्रयासमा लागेका धराने साम्पाङ्गलाई देख्दा एक प्रकारको उत्साह जागेर आउँछ । सानै रहन, मान्छेकै तहमा रहन प्रयासरत साम्पाङ गिट्टी कुटिरहेका हुन्छन्, खनिरहेका हुन्छन्, दौडिरहेका हुन्छन् । यी मान्छे मात्र भइरहेका हुन्छन् । मान्छे हुने यिनको प्रयासले पनि मलाई छोयो, कबीर । म त सधैँ मान्छे बन्ने प्रयासमा अमान्छे पो हुँदै गइरहेकी रहेछु ।

नाङ्गो भएर हेरेँ

          मैले आफूलाई नाङ्गो भएर हेरेकी रहिनछु । अहिले भर्खरै मात्र मैले आफूलाई कति धेरै आवरणले ढाकेको रहेछ भन्ने कुरा थाहा पाएँ । उहि मैले अगाडि भनेजस्तो नाम, सम्मान, पद, हैसियत जस्ता परिधानले म हलचल गर्न नसक्ने गरी पुरिएकी रहेछु । म तिनलाई बढो जतनपूर्वक बच्चाले खेलौना च्यापेजस्तो गरी च्याप्दी रहिछु । ती हराउलान् भनिकन डराउँदी रहिछु । अनि अर्कोतिर फर्केर अरुसँग ती आफूसँग भएका कुरा छन् कि छैनन् भनेर हेर्दिरहिछु । हो, यो अर्कातिर हेर्ने भाव अति विषाक्त रहेछ । यसले द्वेष, राग, भय, क्रोध, ग्लानी जस्ता घातक भाव पो उब्जाउने रहेछ । यति जाबो कुरा मेरो मगजमा किन उहिल्यै नपसेको होला भनेर अहिले मलाई हाँसो उठ्छ । अहिले यो प्रकारको चेत आएपछि पो मैले आफूलाई नांगो पारेर हेरेँ । मैले मेरो नाम नै बिर्सेर हेरेँ । सम्पूर्ण सम्बन्धहरु हुत्याएर हेरेँ । आफूसँग जोडिएका सम्पूर्ण अलंकार र विशेषणहरु बिर्सिएर हेरेँ । ओहो, म त सर्लक्क मान्छे मात्र पो रहेछु ।

          त्यति मात्र होइन, कबीर । मसँग अझै पनि मेरो पहिचान बाँकी नै रहेछ । मलाई चिन्नेहरुले कसरी चिन्लान् त भन्ने सोचेर हेरेँ । ओहो ! मेरो शरीर, नाक नक्सा, रंग पनि त मेरा पहिचान रहेछन् नि । त्यसपछि त मैले मेरो छाला काढेर एकातर्फ़ थुपारिदिएँ । त्यति त थियो मेरो दृश्य रुपको परिचय । छाला काढिएको मान्छे कस्तो होला ? दश बीसजना मान्छेलाई छाला काढेर लहरै उभ्याइदिँदा कस्तो देखिएला त ! कसैले हेर्नासाथ त्यसलाई चिन्ला र ? त्यो छाला काढिएको जीव मान्छे नै हो भन्ने सम्म थाहा हुन्छ तर कसको छाला काढियो भनेर खुट्ट्याउन त ठूलै अनुसन्धान गर्नुपर्छ होला । हो, मैले पनि आफूलाई छाला काढेर मूढो बनाएर लडाएर हेरेँ । अनि मात्र मैले देखेँ— म केवल मान्छे नै मात्र त रहेछु । म अहिलेसम्म आफूले बोकेका आवरण वा अदृश्य भारिहरुबाट नमीठो गरेर किचिएकी रहेछु । त्यसैले पो त म निस्फिक्री हाँस्न सक्तिन रहेछु । बोल्न नसक्दी रहेछु । मलाई म हुनबाट म आफैंले अज्ञानतावश रोकेकी रहेछु । यसरी म आफैंले सिर्जना गरेको झ्यालखानाको कैदी बनेकी रहेछु ।


          कबीर, तिमी सोच्दा हौ — यति कुरा बुझिसकेपछि त म एक निस्फिक्री जीवन बाँचिरहेकी हुँला । तर होइन । यो जीवन त एउटा पखेटा काटिएको पिंजडाको चरा जस्तै हुने रहेछ । पिंजडाबाट मुक्त गरिदिए पनि उडेर भाग्न नसक्दो रहेछ । त्यो त्यहिँ पिंजडाकै वरपर डुलिहिड्दो रहेछ । मेरो मन अहिले त्यहि पिंजडाबाट मुक्त चरा जस्तै बन्न पुगेको छ । मैले आफूलाई निर्मुक्त ठाने पनि त्यहि सांसारिक कुरा  वरिपरि नै गाँजिएको, अल्झिएको पाउँछु । बिहान उठेका आँखा खोल्ने बित्तिकै म फेरि पनि त्यहि संसारको भारि ग्रहण गर्दी रहेछु, अनि अनगिन्ति समस्याको जालो पन्छाउन खोज्दी रहेछु । हरेक समस्यालाई म आफ्नै पहिचानसँग जोडेर हेर्दी रहेछु । समस्या सुल्झिए एकछिनलाई आफू सिकन्दर महान बनेको ठान्दी रहेछु र समस्या नसुल्झिए एक प्रकारको हरुवा भावले मन कोतरेर बस्दी पनि रहेछु । म त यिनै दैनिकीहरुका गुत्थीभित्र अल्झिएकी अनन्त समयदेखिकी कैदी रहेछु ।

          कबीर, धेरैपल्ट सुनिएको एउटा कथा छ नि चोर आयो, चोर आयो भन्ने सुगाको कथा । कथामा एउटा मानिसले सुगा पालेको हुन्छ । हरेक पटक घरमा कोहि अपरिचित व्यक्ति प्रवेश गर्दा ऊ ‘चोर आयो, चोर आयो’ भनेर कराउँदो रहेछ । हो, हाम्रो जीवन पनि यहि सुगाको जस्तै रहेछ । जन्मेपछिको यात्रा एकदिन सपना जस्तै टुङ्गिने कुरा त हामी सुगाले चोर आयो भनेजस्तै रटिरहँदा रहेछौँ । तैपनि एउटा अनन्त मोहभावमा लडिबडी खेलेर कहिल्यै नअघाउने रहेछौँ । असंख्य कृत्यहरुमा हामी सम्मिलित भइरहने रहेछौँ । आँखै अगाडिको चोरलाई पहिचान गर्न नसक्ने रहेछौँ ।

          अहिले म बेलाबेला आफूलाई मान्छे मात्र भएर हेर्न कोशीश गर्न थालेकी छु । कुनै उल्लास, हतास, खुशी, विरक्तिबाट आफूलार्ई अलग राखेर हेर्न सिक्दै छु । मैले अघि तिमीलाई भनेजस्तो आफ्नो छाला काढेर पहिचानबिनाकी भएर संसार हेरे बढो आनन्द पो आउने रहेछ । यो आफूले देखेको संसारमा मान्छेजति हतासिएको, आत्तिएको, बौलाएको, छट्पटाएको कोहि नै नहुने रहेछ । संसारका अरु जीवात् त आफ्नै सुरमा चल्ने रहेछन् । मानिस जातिको यो अनन्त छट्पटिले हाँसो उठ्ने रहेछ । मानिसहरुमा नीहित अमरत्व खोज्ने भावले मानिस आफैं बौलाएको चाल नपाउँदो रहेछ । ऊ एकछिनमा रमाउँदो रहेछ, एकैछिनमा दुःखी बन्दो रहेछ । अझ त्यतिले नपुगेर घात, प्रतिघात पनि गर्दो रहेछ । अनन्तदेखि चलिआएको यो मानवीय प्रवृत्ति बढो रमाइलो किसिमको रहेछ ।

अष्टवक्र उवाचः

         


    यो मानव प्रवृत्तिको प्रथम अध्येता मैं हुँ भनेर मैले भन्न खोजेको होइन नि कबीर । यस्तो कुराको खोज आदिकालदेखि सन्त ऋषिमुनिहरुले गर्दै आएका रहेछन् । म केहि समयदेखि अष्टवक्र गीतालाई बुझ्ने कोशीशमा छु । जीवन जगतलाई राजा जनकका दृष्टिमा र सन्त अष्टवक्रका दृष्टिमा हुने भिन्नता बारेमा हेर्न खोज्दैछु । शान, वैभव र शक्तिमा निर्लिप्त राजा जनकले बुझेको संसारलाई कसरि अष्टवक्रले झूठो हो भनेर प्रमाणित गरिदिए भनेर बुझ्न खोज्दैछु । साँच्चै भन्नुपर्दा मलाई घत लागेको छ । हामीले निदाएका बेला देख्ने सपना र आँखा उघारेका बेला देख्ने बिपना बिचमा कुनै अन्तर छैन भनेर अष्टवक्रले जनकलाई नाङ्गो पारेर मान्छे मात्र बनाएर देखाइदिँदा जुन अहोभाव जनकमा आयो, त्यसले मलाई समेत छोएको छ । अन्त्यमा म एक श्लोक तिमीलाई सुनाएर यो पत्रको अन्त्य गर्छु है त कबीर !

          नाहं देहो न मे देहो जीवो नाहमहं हि चित् ।

          अयमेव हि मे बन्ध आसीद्या जीविते स्पृहा ।।

          अर्थात्, म शरीर पनि होइन, नत शरीर नै मेरो हो । म त चेतना मात्र हुँ । यो जीवन जगतप्रतिको आसक्तिले नै मलाई कैदी बनाएको हो । 

          अनि अर्को कुनै पत्रमा अष्टवक्र गीताको बारेमा मैले बुझेका कुरा पनि तिमीलाई सुनाउन मन छ । अहिलेलाई यति है त !

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 8 July 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]