Saturday 25 February 2023

काकातुवाको मलामी

 

     जूली काममा आइन । ऊ बिरामी परिरहने नै मान्छे हो । तर यसपाला भनेँ मलाई थाहा भएन ऊ नआउनुको कारण । सहकर्मीलाई सोधिरहनुभन्दा मैले आफैं उसलाई फोन गर्ने विचार गरेँ ! कामको समय सकिएपछि मैले उसलाई फोन गरेँ । हामीलाई लाग्न सक्छ, गोरा जाती त सबै आधुनिक होलान्, सबै पठीत होलान् अनि तिनलाई पैसाको कमी नहोला । तर जूली भनें मेरो बुझाइको अपबाद थिई । जूली आधुनिक समयकी पूरातन मान्छे । ऊ हाते फोन बोक्दिन । त्यसैले उसको ल्याण्डलाइनमा फोन गरेँ । फोन जूलीकी आमाले उठाइन् । ‘जूलीको वाली विरामी थियो । त्यो अहिले मर्यो । जूली दुःखी छे । त्यसैले नआएकी,’ आमाको उत्तर थियो ।


जूली आमासँग एक्लै बस्थी । साउथ मेलबर्नको एउटा सबर्बमा सानो यूनिटमा आमाछोरी बस्ने । जूलीले विवाह गरिन । पाँचजनासँग पालैपालो माया प्रिती बसे पनि विवाह नै गर्ने साइत कहिल्यै परेनछ । विवाह गर्ने मन नै नभएको त होइन उसलाई । सेतो गाउन लगाएर विवाहोत्सव गर्ने अनि ठूलो भोज लगाउने कल्पनाका कुरा ऊ मसँग गरिरहन्थी । बच्चाबच्ची पनि उसलाई प्यारा लाग्थे । अझ ऊ त धेरै छोराछोरी बनाउने इच्छा राख्थी । उसका गफका विषयहरुमा उसले पालेको काकातुवाको चर्चा भइ रहन्थ्यो । ‘मैले पच्चीस वर्षदेखि यो वाली नामक काकातुवा चरो पालिरहेकी छु । मलाई असाध्यै माया गर्छ यसले । यसको उमेर पुगिसकेको छ । बीस वर्ष आयू भएको चरो पच्चीस वर्ष बाँचिसक्यो भन्नेजस्ता कथन ऊ सुनाइरहन्थी । ‘मैले प्रेम गरेको सिंगो समय अवधिभन्दा बढि यो चरालाई मैले अकण्टक प्रेम गरेकी छु ।’ उसको अर्को दोहोर्याइरहने कथन थियो ।

हो, त्यहि चराले प्राण त्याग गरेकै कारणले जूली काममा नआएकी रहिछ । मैले जुलीकहाँ श्रद्धान्जली प्रकट गर्न जाने विचार गरेँ । अरु साथीहरुलाई सुनाए हाँस्लान् भन्ने पीरले आफैं मनमा गुनेँ र एक झुप्पो फूल लिएर जाने विचार गरेँ । कामबाट फर्किंदा उसको घर बाटोको कुइनेटोमै थियो । म पुग्दा आमा छोरी मरेको काकातुवालाई बाहिरपट्टि राखेर गमला खोस्रिरहेका रहेछन् । जूली सुकसुकाउँदै थिई ।

जूलीकी चौरासी वर्षे आमा आफूलाई बहादुर सावित गर्न खोज्छिन् । उनले आफैं भित्रबाट गमला बाहिर ल्याएको र त्यसमै वालीलाई दफन गर्ने कुरा सुनाइन् । जूली स्याँक स्याँक गरिरहेकी थिई । एउटा चराका लागि त्यस्तो तमासा मेरा लागि अचम्मकै कुरा थियो । तर त्यस्तो दु:खद घडीमा बोल्न नमिल्ने ! सानो पसनीले आमैले गमला खोस्रेर चिहान तयार गरिन् । अनि चरालाई भित्र राखियो । चराका खेलौना र बाँकी रहेको आहारा पनि त्यहिँ गाड्ने कि फालिदिने भन्ने विषयमा आमाछोरी बिचमा एकछिन् छलफल भयो । अन्तमा ती खेलौना नगाड्ने र चारो पनि फाल्ने निक्र्यौल निकालियो । चारो त गाड्ने कि भन्ने कुरा उठेको थियो तर त्यो ढाडिएर उम्रेला कि भन्ने कुरा आयो । अन्त्यमा दफनाइएको वालीलाई मट्टी दिने काम भयो । हामी सबै मिलेर जूलीको प्यारो वालीको परलोक यात्राको कामना गर्यौं।


घटनाको दुई दिनपछि जूलीमार्फत जूलीकी आमाले मलाई चिया खान आउने निम्तो पठाइछन् । विदाको दिन भएकोले म गएँ । यसपाला मैले चराको लागि खुराकी कोशेली लग्नु थिएन । नत्र भने म अलिकति चराका लागि कोशेली लगिदिने गर्थेँ । चराले के खान्छ भन्ने कुरा मलाई लगभग थाहा भैसकेको थियो । आमाछोरी बाहिर लनमा बसिरहेका थिए । गफका सिलसिला शुरु भए । आफूले जानेका, सुनेका, थाहा पाएका विषयमा मात्र गफ हुने रहेछ ।

त्यसमा पनि गफ मान्छेका विषयमा गएर टुंगिने रहेछ । त्यहाँ पनि त्यस्तै नै भयो । उनीहरुसँग किताबका कुरा गर्नु थिएन । नयाँ प्रविधि र टेक्नोलोजीलाई उनीहरु घृणा गर्थे । उनीहरुका घरमा पुराना खालका बिजुलीका चिम थिए । चीनबाट आयात गरिएका वस्तुहरुलाई आमा सख्त रुपमा घृणा गर्थिन् । ‘यी चिनीयाँहरुले हल्का रुपमा विष हाल्छन् । यो संसारै ध्वस्त पार्छन् ।’ उनको टिप्पणी थियो । बच्चाका खेलौनामा प्रयोग गरिएको कमसल कच्चा पदार्थका कारण शरीरमा नानीहरुलाई डाबर निस्केको समाचारको कटिङ देखाउँदै उनले आफ्नो भनाइलाई पुष्टि गरिन् । उनीसँग त्यस्ता धेरै उदाहरणहरु थिए । चाइनिज मान्छेले चलाएको रेस्टूरेन्टमै स्थानीय निकायले ताला लगाइदिएको अर्को खबर थियो ।

मान्छेको जात सस्तो मात्र खोज्छ तर त्यसको दूरगामी असर देख्दैन भन्थिन् उनी । उनको सबैभन्दा ठूलो गुनासो चाइनिजहरुले भकाभक अष्ट्रेलियामा साना व्यवसाय र घर जमीनहरु किनेर बिस्तारै कब्जा जमाएको कुरामा थियो । त्यो कुरा एक किसिमले वास्तविक पनि थियो । उहि अगाडि भनेजस्तै अन्तमा मानवीय स्वभावमा आएर कुरा ठोक्कियो । एउटी होङ भन्ने कामदारले जूलीलाई त्यहि चरासँग बिहे गर्नु नि तैंले त भनेकी रहिछ । अनि एउटी अर्कीले जूलीका दाँत नक्कली होलान् भनेकी रहिछ । वास्तवमा दाँत काण्डले त कार्य स्थलमा ठूलो झगडाको रुप लियो । बिचरी नीङले सामान्य सोचेर जूलीलाई सोधेकी रहिछ – तिम्रा दाँत असली हुन् कि नक्कली भनेर । तर त्यस कुराले जूलीलाई बूढी भन्न खोजेको र व्यक्तिगत रुपमा मानहानी गरेको जस्तो भएकोले अन्य स्थायीबासीहरु नीङमाथि खनिए । दिनको अन्त्यमा नीङलाई कडा वार्निङ दिइयो । आइन्दा कसैको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने चेतावनी दिएपछि मात्र मुद्दा साम्य भयो । विषयवस्तु सकिँदै गएपछि त्यसदिन पनि व्यक्तिगत कुरा नै निस्के ।

विदेशीहरु अलि असभ्य हुने । जथाभावी थुक्ने, एउटै घरमा धेरैजना बस्ने, सस्तो मूल्यमा काम गरिदिएर स्थानीयको रोजगारी खोस्ने जस्ता कुराहरु पनि आमैले गर्न भ्याइन् । सानो किचेनमा डाइनिङ टेबल वरिपरि बसेर गफ चलिरहेका थिए । छेउमा भएको फ्रिजमा करिब तीन चार दर्जनजति फ्रिज म्याग्नेटहरु टाँसिएका थिए । वास्तवमा फ्रिजमा अर्को कुनै म्याग्नेट टाँस्ने ठाउँ नै थिएन । ती सबै म्याग्नेटहरु जूलीले विभिन्न ठाउँ घुम्न जाँदा एक एक गर्दै सम्झना स्वरुप जम्मा गरेकी रहिछ ।


    दुईजना आमाछोरी मात्र घरमा भएको र आफू नभएपछि भदाभदैले ती कुरा फालिदेलान् भन्ने पनि सानो पीर थिएन जूलीको । जूलीलाई मैले बिर्सेकै त होइन, तर उसका स्मृतिहरु तल्लो खातमा परेका रहेछन् । उसले मलाई दिन भनेर बनाएको एउटा फोटो एल्वम दिन पाएकै थिइन । फेरि ऊसँग बसेर धेरै कुरा गर्न बाँकी नै थियो तर अर्की एक साथीले जूली बितेको खबर पठाई । म सोच्दैछु ती बूढी आमै एक्लै होलिन् कि कतै वृद्धाश्रमतिर गइन् होला । वर्षौदेखि जूलीले पालेको चराले छाडेर गएजस्तै जूलीले पनि आमालाई छाडेर गइछ । आमा फिलिस एक्लै परिन् होला ।


(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 24 February 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Friday 10 February 2023

खिचा निम्कीको खोजी

 

एक सानो घरेलु टोली भर्खरै मध्य जाडोका बेलामा ताप्लेजुङतिर साहित्य लगाउन गएको थियो । टोली फर्केर आउँदा सिलाम, पहाडे मकै, दालका साथमा नौलो चामल पनि आयो । दुई पाथी अट्टे नामको चामलको पोको बढो जतनसाथ मझेरीमा राखेर अप्राप्य बस्तु हात परेको जस्तो गरेर प्रशंशा शुरु भयो । त्यसलाई यसरी प्रस्तुत गरियो कि त्यो चामल पकाएर खाँदा दाल तरकारी नै चाहिँदैन । अझ एक दुई सदस्यलाई त अट्टे गफ सुन्दा सुन्दै के लागेछ भनें यो चामलमा पानी मात्र हालेर पकाउँदा पनि खिर वा ढकने बन्छ । अट्टे गफले हप्ता दिन जति गफको मसलाको काम गर्यो । पहाडमा बस्नेहरुलाई त यो विषयमा जानकारी थियो तर तराईमा जन्मेका पछिल्ला पुस्तालाई भनें यसबारेमा थाहा थिएन । 


यात्रा क्रममा खानेकुराका नयाँ प्रकार र स्वादको कुरा पनि आइहाल्छ । अट्टे गफ जस्तै खिचा निम्कीको कुरो दुई÷तीन हप्ता अगाडिको हो । लगातारका ढुस्सिएका दिनपछिको एक शनिवार बिहानको कलिलो घाम घरको बरण्डामा आइपुग्यो । घरमा बस्दा बस्दा दिक्क भएका हामी त्यस्तो घमाइलो दिनमा कतै घुम्न जान पाए नि हुन्थ्यो भनेर पारीवारिक सल्लाह गर्न थाल्यौँ । नजीकका धेरै गन्तव्यहरु विचार गरिए र अन्तमा बाह्रदशी जाने र त्यहाँ रहनुभएका, हाम्रो परिवारलाई असाध्य माया गर्ने आफन्त भेट्ने, त्यहाँबाट राजगढ जाने र तल इन्डियाको बोर्डरसम्म पुगेर आउने निर्णय भयो । यताबाट जाने छजनाको टोली बन्यो र जयपुरदेखि एकजना चारपानेमा आएर हामीलाई पर्खने, अनि त्यहाँबाट जम्मा सात जना भएर यो एकदिने यात्रा तय गर्ने योजना बन्यो ।

गाडीको बन्दोबस्त गरी बिहानको करिब नौ बजेतिर हामी दमकबाट हिड्यौँ । चारपानेमा पुग्दा नपुग्दै हाम्रा टोलीनेतालाई चियाको चस्का लागिहाल्यो । चारपाने पुग्नेबित्तिकै गाडी रोकेर मीठो चिया पाइने दोकान खोज्ने काम शुरु भैहाल्यो । हामी सबै यस्ता यात्रामा हिँड्दाहिँड्दै चियाका पारखी भैसकेका छौँ । दोकान चियाउँदै हिँड्दै गर्ने क्रममा एउटा अलि चल्तिको जस्तो देखिने दोकानअगाडि गएर हामी झुम्मियौँ । टोलीनेताले दोकानेसँग छोटो अन्तरवार्ता लिनुभयो । ऊ मणिपुरे भएको पत्ता लगाउनुभयो । अनि त के थियो र ! चिया गफ शुरु भैहाल्यो ! आसामे र मणिपुरेले मीठो चिया ख्वाउँछन् भन्ने कुरामा हामी ढुक्क थियौँ । नभन्दै त्यहाँको चिया धीत मर्ने नै थियो । घाम ताप्दै, चियाको आनन्द लिँदै गरिरहेका बेला अचानक त्यहाँ उहिले मलाई धनकुटामा ४÷५ कक्षामा पढाउने शिक्षिका बिन्दु श्रेष्ठ आइपुग्नुभयो । त्यसरी उहाँलाई त्यहाँ देख्दा त म छक्कै परेँ । बिन्दु दिदीले बाटोबाट मेरी दिदीलाई देख्नुभएछ र छेउमा आएर ‘तिमी अन्जना होइन ?’ भनेर सोद्धा दिदीलाई मान्छे ठम्याउन अलिबेर लागेछ । छोटो र रमाइलो भेटघाटपछि फेरि भेट्ने वाचा गर्दै अब हामी हाम्रो पहिलो गन्तव्य, यानि बाह्रदशीतिर हुइँकियौँ ।


हामी जाने घर त ठ्याक्कै कसैले देखेको रहेनछ । बाटामा जो भेटिन्छ उसैलाई ‘यहाँ गौतमको घर कहाँ छ ?’ ‘दुईजना बूढाबूढी बा आमा हुनुहुन्छ नि !’ ‘यसो खेततिर घर थियो,’ भनेर सोद्धै खोज्दै हामी अगाडि बढ्दै थियौँ । अन्तमा हामीलाई बाटो देखाइदिने एउटा पक्का मान्छे फेला पर्यो । उसले भन्यो, ‘यहाँबाट सिधा जानू, अलि पर पुगेपछि बाटो तलतिर खस्छ, त्यतै लाग्नू । त्यो बाटोले तपाईँहरुलाई मनकाजी थापाको दोकानमा पुर्याउँछ । त्यहाँ पुगेर गौतमको घर सोध्नुभयो भने ठ्याक्कै बताइदिन्छन् !’ अब के थियो र ? बाटो खस्ने र मनकाजी थापाको दोकानले हामीलाई निकैबेर हाँस्ने खुराक दिए । आखिरमा त्यो भलो मानवले गरेको दिशा निर्देश ठीक रहेछ ।

बाह्रदशीको छोटो भेटघाटपछि हामी राजगढतिर झर्यौं। हाम्रो समूहमा राजगढसँग परिचित दुईजना सदस्य हुनुहुन्थ्यो । एकजना दमकदेखि नै हामीसँग हुनुभएको र अर्कोजना जयपुरबाट थपिनुभएको । जयपुरे आफन्तीको मूलघर नै राजगढ ! त्यसैले उहाँले आफ्ना एकजना देवरका घरमा हाम्रो जलपानको व्यवस्था गरिसक्नुभएको रहेछ । यो भन्दा चाखलाग्दो कुरा हाम्रा दमकका सहयात्रीले बताउनुभयो । उहाँ धेरै वर्षअगाडि राजगढको एउटा विद्यालयमा पढाउनुहुँदो रहेछ । उहाँका अनुसार अन्त कतै नपाइने लामा लामा एकहाते निम्की त्यहाँ पाइँदा रहेछन् । बाटाभरि उहाँले तिनै लामा निम्कीको कथा सुनाउनुभयो । ‘आज म सबैलाई लामा निम्की खुवाउँछु,’ उहाँले निकै उत्साहित हुँदै भन्नुभयो । होला त नि भनेर हामी पनि उत्सुकताका साथ कहिले राजगढ आइपुग्छ र लामा निम्की खानु भन्दै प्रतिक्षारत भयौँ ।

राजगढमा हाम्रो गाडी रोकिनासाथ हाम्रा सहयात्री उफ्रेर सबभन्दा पहिले ओर्लनुभयो । त्यहाँ देखिएको पहिलो चिया दोकानमा फुत्त पस्नुभयो र ‘यहाँ त रहेनछ’ भन्दै अर्को दोकानतिर लाग्नुभयो । करिब पाँच सातवटा दोकान चाहरिसक्ता पनि कसैले लामा निम्की देखेको र बेचेको कुरा गरेनन् । अब भने हामी सबै एकमुख लागेर उहाँलाई ‘हजुरले त्यसै भन्नुभएको होला,’ भनेर जिस्काउन थाल्यौँ । आफू गलत पो भइने हो कि भनेर उहाँले अलि चिन्तित अनुहार लगाउनुभयो तर आफ्नो खोजीकार्य रोक्नुभएन । अन्तमा हामी एकजना स्थानीयको दोकानमा पस्यौँ । त्यहाँ लामा निम्कीबारे सोधीखोजी गर्दा केही सत्य तथ्य फेला पर्यो । उनीहरु त्यस्ता लामा निम्कीलाई ‘खिचा निम्की’ भन्दा रहेछन् । राजगढमा पहिले पहिलेजस्तो त्यस्ता निम्की छ्यापछ्याप्ती पाइन छोडेछ । हटियाको दिन चैँ कसैकसैले पकाउने रहेछन् । यति कुरा सुनेपछि हाम्रा सहयात्री हँसिला हुनुभयो र हामीतिर फर्केर विजयी भावमा भन्नुभयो, ‘देख्यौ त ! हुन त हो नि लामा निम्की पाइने कुरा ! तिमीहरु मैले ढाँटेको भन्दैथियौ नि ! तर पहिलेजस्तो खाजाको रुपमा प्रयोग हुन भने छोडेछ । हामीलाई एक लाँक्रो निम्कीले टन्नै खाजा पुग्थ्यो ।’ ‘खिचा निम्की’ को कथाको यसरी ह्यापी इन्डिङ भयो ।


खाजा खान जानुभन्दा पहिले हामी इण्डियाको बोर्डर टाँगनडुब्बा हेर्न जाने भयौँ । इण्डिया ‘क्याशलेस सोसाइटी’ तिर उन्मुख भइरहेको परिप्रेक्ष्यमा अब इण्डियन पैसा पहिलेका रु ५०० का नोटजस्तै काम नलाग्ने हुन सक्छन् भन्ने आँकलन भैरहेको वर्तमान समयमा हामीले आफूसँग भएका सबै इण्डियन पैसा पनि बोर्डरमा सक्ने हिसाबले बोकेका थियौँ । तर टाँगनडुब्बा बोर्डर त नाम मात्रको रहेछ । त्यहाँ न कुनै चहलपहल, न कुनै दोकान नै देखिए । मैले देखेका इण्डियन बोर्डरमध्ये यहि सबभन्दा परित्यक्त रहेछ । थोरै भए पनि इण्डियाको रौनक र भीड देख्न नपाएर हामी सब निराश भयौँ ।

जे होस् यो यात्राले हामीलाई सधैँभरि ‘खिचा निम्की’ सम्झाइरहने कुरामा चाहिँ दुई मत छैन । ए साँचि तपाईंले खिचा निम्कीको अर्थ त वुझ्नुभयो होला नि, होइन? हामीले पनि प्रयोग गराइबाट यसको अर्थ लगायौं ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 10 February 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday 4 February 2023

हाँडीका मकै

 

 

 एउटासँग अर्कोलाई दाँज्ने कामले अनन्त दुःखको सिर्जना गर्दोरहेछ । तर यो दँजाइको भूमरीमा सबैजना कुनै न कुनै समयमा परिहालिने । आदिकालदेखि चलिआएको ‘अर्को घोडा चढ्यो भनेर आफू धूरीमा चढेर हट् हट् गर्न भएन’ भन्ने उखान सबैका मुखमा भएपनि मनभित्र भनेँ विरलै हुनेरहेछ । हामी हरेक कुरा दाँज्छौँ— हरेक कुरा । अनि कि त अरुभन्दा माथि नै छौँ भनेर ढुक्क पर्छौं, कि त अरुभन्दा खस्ता भइयो भनेर मन चुम्रुक्क पार्छौं । वास्तवमा मानव दुःखका मुख्य कारकहरुमध्ये यो दँजाई पनि पर्छ । दाँज्ने कुराले मन स्थिर रहन दिँदैन । अर्को दुःखको मूल कारण भनेर अरुबाट गरिने आशालाई मानिएको छ । कसैसँग केहि आशा गर्नु र त्यो प्राप्त नहुनु हो भनेँ अलिकति चित्त कटक्क भइ नै हाल्छ ।


यो दँजाइको प्रभाव म विद्यालयमा पनि देख्छु । स–साना बोली नफुटेका नानीहरु लिएर अभिभावकहरु आउनुहुन्छ । ‘अलिक हुर्किन दिनुपर्छ । भोक लाग्यो, सू सू आयो भन्न सक्ने हुनुपर्छ,’ भनेर सल्लाह दियो भनेँ उहाँहरु त्यस कुरालाई सहज रुपमा ग्रहण गर्नुहुन्न । यो सँगैको नानी स्कुल जान थालिसक्यो । बितिसक्यो । अब ढिलो हुन्छ भन्ने चिन्ता उहाँहरु प्रकट गर्नुहुन्छ । अर्थात् उसको दाजु वा दिदी त यस उमेरमा स्कूल गैसकेको कुरा उहाँहरु सुनाउनु हुन्छ । स्कूल जान बानी परिसकेपछि, पढन् लेख्न शुरु भएपछि पनि यो दँजाइको अन्त्य हुँदैन । फलानाले त यति जानिसक्यो, यसले किन गरेन ? सँगै एकैदिन स्कुल आउन थालेको किन यो चाहिँ पछाडि पर्यो त ? आफ्नो नानीलाई अझ खिपेर पढाइदिन उहाँहरु अनुरोध गर्नुहुन्छ ।

हामी भन्छौँ— हेर्नोस्, हामी कसैको पनि अनुहार ठ्याक्कै एक अर्कासँग मिल्दैन । करिब करिब मिल्ला । तर जुम्ल्याहा नानीहरुमा समेत केहि न केहि फरक हुन्छ । त्यस्तै हो दिमागी क्षमता पनि । हाम्रा एक अर्काका अनुहार फरक भएजस्तै हाम्रो दिमागी क्षमता पनि भिन्न भिन्न हुन्छ । त्यस कुरालाई हामीले स्वीकार्नुपर्छ र आफ्नो नानीलाई अरुसँग दाँज्न छाड्नुपर्छ । एकछिन् उहाँहरु बुझेर टाउको हल्लाउनुहुन्छ तर फेरि उहाँहरुको चित्त मान्दैन । अनि भन्नुहुन्छ— ‘तर फलानो र मेरो बच्चा एकैदिन स्कूल लगाएको हो । म झन् काजू, ओखर, च्यवनप्रास पनि खुवाउँछु तर यसको दिमाग नै मोटो त होइन होला त ? एउटै कक्षामा एउटै शिक्षकले पढाएका विद्यार्थीमा फरक किन आयो त ?’ सबैको फरक क्षमता हुन्छ भन्ने कुरा प्राकृतिक गुण नै हो । उहाँहरुले गरेको तर्कमा उहाँहरुको दृष्टिकोणले हेर्दा कतै गलत छैन तर पनि सामान्य रुपमा के भन्न सकिन्छ भनेँ समान तापमानमा एउटै घानमा हाँडीमा भुटिएका मकैका दाना पनि एकैपटक पड्किँदैनन् । नानीहरु पनि त्यस्तै हुन्, सँगै पढाइै शुरु गरेका नानीहरु एउटै गतिमा प्रस्फुटित हुँदैनन् । कुनै अगाडि हुन्छन् र कुनै विस्तारै आउँछन् ।


हाम्रो मनले दाँज्नु हुन्न भन्ने जान्दाजान्दै पनि अलिकति त्यस्तो चस्को परिहाल्छ । हाम्रो सामाजिक बनोट नै त्यस्तै छ । को अगाडि, को पछाडि, को माथि, को तल, को जीतको माला लगाउने, को हारेर शीर निहुराउने भन्ने कुराहरु त हाम्रो चेतसँगै विकसित भएर गएको हुन्छ । हामी जित्न मात्र सिकाउँछौँ, हार्न सिकाउँदैनौँ । सधैँ हाम्रो भागमा जीत मात्र पर्छ भन्ने कुनै निश्चित छैन । जीतलाई र हारलाई उसैगरि सम्हाल्न हामी हाम्रा नानीहरुलाई विरलै मात्र सिकाउँछौँ होला ।

फलानो त यस्तो छ, तँ चाहिँ यस्तो भनेर हामी नानीहरुलाई सम्झाउन खोज्छौँ तर त्यस कुराले उनीहरुभित्र कस्तो असर पार्ला भन्ने कुरामा त्यति ध्यान दिइरहेका हुँदैनौ । यस किसिमको दँजाइले वास्तवमा साना नानीहरुमा आफू कमजोर रहेछु भन्ने भाव उत्पन्न हुन्छ । त्यो हिनताभावबाट उत्पन्न हुने दूरगामी असरको हामी आँकलन गर्न सक्दैनौँ । यस सम्बन्धमा एउटा कथा छ ।

एकजना सेनापति एकपटक गुम्बामा गएर मूल लामालाई सोधेछ, ‘मैले यति धेरै लडार्ईंहरुमा भाग लिएँ । कति वीरतापूर्वक म लडेँ । सिंगो देशको नाम राखेँ । शत्रुहरुलाई परास्त गरेँ । तर म जहिले जहिले गुम्बामा आउँछु, म आफूलाई निरिह र बेकामे ठान्छु । तपाईंहरु यहाँ ध्यान गरेर बस्नुहुन्छ, कुनै काम पनि गर्नुहुन्न तैपनि तपाईंहरुलाई देख्दा म आफू कमजोर र नालायक भएजस्तो लाग्छ ।’

लामाले उनका कुरा सुनेपछि सेनापतिलाई पर्खिनू भने । धेरै मानिसहरु पंक्तिवद्ध भएर लामालाई पर्खिरहेका थिए । उनीहरुका समस्या एकएक गर्दै सुनेर समाधान सुझाइसक्दा दिन नै ढल्कियो । अन्त्यमा लामाले सेनापतिलाई नजिकै बोलाएर बसाए । चियापान गराए र भने, ‘म अब तपाईंको प्रश्नको उत्तर दिन्छु ।’ त्यसपछि उनले शुरु गरे— ‘आज दिनभरि घाम लाग्यो । यो घमाइलो दिनमा टाढा टाढासम्मको दृष्य स्पष्ट देखियो । मानिसहरुले आफ्ना आफ्ना काम गरे । बिस्तारै दिन ढल्दैछ । साँझ पर्छ । रात पर्छ । आकाशमा टहटह तारा देखिन्छन् । चन्द्रमा उदाउँछ र शीतल प्रकाश छर्छ । यो नित्य निरन्तर भैरहेको छ । अब भन्नुहोस् त सेनापतिज्यू— यो घाम राम्रो कि जून राम्रो ?’

प्रश्न जटिल नभएपनि सेनापतिले एकछिन् सोचे अनि भने, ‘घाम देखे घामै राम्रो जून देखे जूनै राम्रो ।’

अनि लामाले थपे, ‘हो तपाईंले भनेको कुरा सहि हो । घाम र जूनका छुट्टाछुट्टै विशेषता छन् । घाम देख्दा घामै राम्रो लाग्छ अनि जून देख्दा जूनै । हामीहरु पनि त्यस्तै हौँ । घाम र जूनका आफ्ना आफ्नै विशेषता भए झै हामी सबैका पनि आफ्ना आफ्नै विशेषता छन् । यिनै विशेषताले गर्दा नै हाम्रो महत्व छ र संसार सुन्दर छ । ल मैले तपाईंलाई दिन सक्ने उत्तर यहि हो ।’ यति सुनेपछि सेनापति ढुक्क भएर फर्किए ।


हो पनि । हामी सबैका आफ्ना आफ्नै विशेषता छन् । त्यसैले त जगत सुन्दर छ । हामी सबैका एकै स्वभाव र क्षमता भइदिएको भए संसार अल्छिलाग्दो हुन्थ्यो होला । दुनियाँमा फलफूलका नाममा केरामात्र, फूलका नाममा सयपत्री मात्र, अन्नका नाममा मकैमात्र फल्दो हो त कति पट्यारलाग्दो दुनियाँ हुँदो हो । विभिन्न प्रजातिका र रंगका फूलबारी जस्तै नै हो हाम्रो आफ्नोपन पनि । हामीले हाम्रा नानीहरुलाई आफ्नै क्षमता अनुसार अघि बढ्न हौसला दिनुपर्छ । सबैजना डाक्टर मात्र भएर वा इन्जिनियर मात्र भएर पनि समाज चल्दैन । समाज चल्न त हरेक पेशाका लागि जनशक्ति चाहिन्छ । आफ्ना नानीहरुलाई हजारौँ, लाखौँ पेशाहरुमध्ये एकमा अब्बल बन्न प्रोत्साहित गर्न सके र हरेक पेशालाई समान रुपमा सम्मान गर्नुपर्छ भनेर सिकाउन सके जीवन सुन्दर बन्ने कुरामा दुईमत नै छैन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 3 February 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]