Friday 26 November 2021

जीवाको यायावरी पाटो

 

    


    कहिलेकहिले आफ्नो ठाउँको, परिवेशको पूर्ण स्वरुप हेर्न अलि पर उभिनुपर्ने हुन्छ । टाढा गएर अर्कै भूमिमा श्वास फेरेपछि बल्ल आफ्नो भूमिको पूरा तस्वीर आउँछ ।  ऐनाको ज्यादै नजिक उभिँदा पूरै कद देखिँदैन । हामीले अलि पर उभिनुपर्ने हुन्छ । अलिकति दूरीमा गएर, डाँडामा उभिएर हेर्दा अलि परपरसम्म स्पष्ट देख्न सकिन्छ । पहाडमै उभिएर त पहाडको पूरा स्वरुप देखिन्न, अलि परै उभिनु पर्छ । त्यस्तै हो भ्रमण पनि । भौतिक रुपमा जति टाढा पुगिन्छ, भावनात्मक रुपमा आफूले प्यारो मानेको ठाउँ र मानिसहरुका नजिक पुगिन्छ । लेखकका रुपमा जीवा लामिछानेलाई उनका भ्रमण सम्बन्धी दुईवटा पुस्तक सरसर्ती संसारदेश देशावर पढ्दा पनि त्यस्तै लाग्छ ।

          जीवा लामिछानेलाई एक सफल व्यवसायी र उद्यमीका रुपमा म चिन्छु । त्यो भन्दा बढि उनको लेखनीले नै चिन्छु भन्दा पनि अत्युक्ति हुँदैन । उनका दुई पुस्तक एकैपटक चितवनबाट कुरियर मार्फत धनराज दाजुले पठाइदिनुभयो । यी दुवै पुस्तक बिस्तारै बिस्तारै पढ्ने क्रममा जीवाको यायावरी पाटोलाई नजिकबाट देख्न सकियो । लेखनीको प्रथम उपलब्धी त मलाई पाठकहरुलाई अक्षरसँग हिँडाउन सक्नु नै हो जस्तो लाग्छ । त्यस हिसाबले हेर्दा म लेखकसँगै अक्षर माध्यमबाट यात्रा गरि नै रहेँ । नयाँ ठाउँमा जान र त्यो स्थानको भूगोल, इतिहास र संस्कृति बुझ्न उत्सुक भई नै रहेँ । यस सन्दर्भमा म एउटा सानो कथा जोड्न चाहन्छु ।

दुईजना मान्छे मरुभूमिमा बाटो बिराएर हराएछन् । दुवैजना भोक र तिर्खाले लखतरान थिए । हिँड्दा हिँड्दा उनीहरु एउटा अग्लो पर्खाल भए ठाउँमा आइपुगे । यसो भित्तामा कान थापेर सुन्दा पर्खालको पारिपट्टि उनीहरुले पानी कुल्कुलाएको र चराचुरुङ्गी कराएको सुने । यसो मास्तिर हेर्दा पर्खाल पारिपट्टि फलहरु फलेका अग्ला अग्ला रुखहरु पनि देखिए । ती दुई व्याकुल यात्रीहरुमध्ये एकजना आत्तिएर पर्खाल चढ्यो र अर्कापट्टि हाम्फाल्यो । त्यो हरियालीभित्र ऊ गायब भयो । तर अर्को यात्री भनेँ फेरि मरुभूमितिरै फर्कियो । अरु बाटो बिराएका, हराएका यात्रुहरुलाई पर्खालपारिको सुरम्य भूमि देखाउन सकिएला भन्ने आशामा त्यो यात्री पुनः मरुभूमितिरै लागेको थियो ।

लेखक लामिछाने पनि त्यहि कथाको पछिल्लो यात्री जस्तै हुन् । उनले यात्रा त एक्लै गरे तर अरुलाई पनि अक्षर माध्यमवाट डुलाए । लेखकले कथामा वर्णीत मरुभूमिको अर्को पात्र जस्तै एक्लै स्वर्गतिर नलागी अरुलाई पनि साथसाथै लिएर हिँड्ने कोशीस गरेका छन् ।


देश देशावर

          आफ्नो व्यवसायको सिलसिलामा होस् वा मनोरन्जनकै हेतु होस् लामिछाने मनभरी आफ्नो देश बोकेर हिँड्दा रहेछन् । देश देशावर पुस्तक यस कुराको ज्वलन्त उदाहरण हो । जातीय विद्वेष बढ्दै गएर हिंसामा परिणत हुँदा १०० दिन भित्रमा दशलाख मानिसहरु मारिएको मुलुक रुवान्डा पुग्दा उनले आफ्नो मुलुक सम्झिए । नेपालभित्र जातीय विद्वेष फैलिन सक्ने संकेतहरु सम्झेर झस्किए । तर अचम्मको कुरा दुई दशक अगाडिको हुतु र तुत्सी समुदायबीच भएको विध्वंशले रुवान्डालाई गतिलो पाठ पढाएछ । रुवान्डाले गाउँ गाउँमा समेत विकासका लागि चाहिने आधारभूत कुराहरु पुर्याएछ । ती कुराले लेखकलाई मात्र होइन, पाठकहरुलाई समेत अचम्भित पार्छ ।

          देश देशावर  का हरेक निवन्धहरुले लेखक पुगेका मुलुकका भूगोल, संस्कृति र इतिहासलाई संक्षिप्तमा उतारेको छ । अझ मुलुकहरु कसरी विकास र सुशासनका गतिमा अगाडि बढेका छन् र हामीले त्यसबाट के सिक्न सक्छौँ भन्ने कुराको सूक्ष्म चित्रण पनि देश देशावर  को खास विशेषता हो । अर्को, दक्षिण अफ्रिकी राष्ट्र मोजाम्बिक भ्रमणका क्रममा भनेँ लेखकले थोरै आश्चर्य बेहोरेछन् । त्यहाँको एयरपोर्टमा अनाहकमा घुस दिन वाध्य भएछन् । अफ्रिकी मुलुकहरुमा लगानी मैत्री वातावरणका कारण कसरी नाइजेरिया, अङ्गोला, केन्या, इथियोपिया, जाम्बिया, युगाण्डा, कङ्गो र क्यामरुन जस्ता देशहरुले कायापलट गरिरहेका रहेछन् भन्ने कुराको उदाहरण हाम्रा लागि पनि त्यत्तिकै मननीय छ । इदी अमिनका क्रुरताले भरिएका आङ्ग सिरिङ्ग पार्ने किस्सादेखि लिएर बर्मुडा ट्रयाङ्गल सम्मका यात्रा वृत्तान्तहरु रोमान्चक, ज्ञानवर्धक र पठनीय छन् ।

          आफ्नो मुलुक र संस्कृति छातीमा बोकेर हिँडेका लेखकले साइप्रसको पाफोस शहरमा पुग्दा त्यहाँको अनौठो चलन देखेर आफ्नो मूलुक सम्झेका छन् । पाफोस शहरको एउटा रुखमा आफूले मन पराएका मानिसको लुगा बाँधिदिए त्यो व्यक्ति मोहनी जालमा परी फर्किआउने कुरामा विश्वास गरिँदो रहेछ । त्यसैबेला, लेखक यता हाम्रो धरान विजयपुरका बूढा सुब्बा मन्दिरको बाँस झ्याङ र त्यहाँ प्रेमीको नाममा बाँधिने धागा, ताना तिर्कुटा सम्झिन्छन् ।

          श्रीलंकाको हात्ती अनाथालय भ्रमण गर्दा त्यहाँका हात्तीको गोबरबाट बनाइएको कागज देखेर उनी चितवनका हात्तीसार सम्झन्छन् । सामान्य दैनिकीमा टिपोट गरिएका कुराहरुलाई गहन अध्ययन गरेर त्यसमा भौगोलिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक पक्षहरुलाई जोडेर पाठकलाई एक सम्पूर्ण कथा दिनसक्ने लेखकको खूबी प्रशंसनीय छ ।

         


यसरी, देश देशावर पुस्तकका २० निवन्धमार्फत लेखकका आँखाले देखेको र मनले खाएको विषयवस्तु पाठकहरुसामू पनि रोचक तरिकाले प्रस्तुत गरेर लेखकले ठूलो गुण लगाएका छन् । उनका शब्दहरुले पाठकका मनमा कल्पनाको धुनी जगाउँछन् । यो नै लेखकको सफलताको एक कसी हो जस्तो लाग्छ मलाई । पुस्तकमा वर्णीत अर्को उल्लेखनीय पक्ष भनेको परदेशमा रहेर नेपालीहरुले गरेका प्रगति र उन्नतिका कथा हुन् । कसरी विभिन्न मुलुकमा छरिएर हाम्रा आफन्तजनहरुले तरक्की गरेका छन् भन्ने कुरालाई नव पुस्ताले प्रेरणाको श्रोतका रुपमा लिन सक्छ । नेपालीहरुले विदेशमा प्राप्त गरेका उपलब्धीहरु हामी सबैका लागि गौरवका विषय पनि हुन् । 

सरसर्ती संसार

          जीवा लामिछानेको अघिल्लै पुस्तक रहेछ सरसर्ती संसार । यो पुस्तक पनि वर्णनात्मक शैलीमै लेखिएको छ । लेखक आफैंले भनेका छन्, “मैले गन्तव्यस्थलको परिचयसँग निजात्मक अनुभूतिलाई एकाकार गर्ने प्रयत्न गरेको छु ।”

          हो, त्यस्तै नै गरेर लेखकका आँखाले उल्काहरु, आश्चर्यहरुसँगै सम्भावनाहरु पनि उत्खनन् गरेका छन् । अरुको प्रयास र विकास नियालेर आफ्नो मुलुकका साधन र श्रोत कसरी सदुपयोग गरेर समृद्धितर्फ़ लम्किन सकिन्छ भन्ने लेखकको चासो सह्राहनीय छ । उनन्तीसवटा निवन्धहरु संग्रहित यस पुस्तकले एशियादेखि, अष्ट्रेलिया, अमेरिका, यूरोप र अफ्रिकासम्म भ्याएको छ । ससाना किस्साहरु जोडेर भूगोल र इतिहास समेतको जानकारी दिँदै लेखक पाठकहरुलाई पनि सँगसँगै डुलाउन सफल छन् ।

          लेखकले आफूले अनुभव गरेका र देखेका मनोरम दृष्यावलीलाई नेपालसँग तुलना गर्दा उनले देश बोकेरै यात्रा गरिरहे जस्तो लाग्छ । अघिल्लो पुस्तकमा झैं  विभिन्न देशहरुका आर्थिक, सामाजिक र ऐतिहासिक पक्षसँगै त्यहाँ रहेका नेपालीहरुले गरेका तरक्कीका कथा घत लाग्दा छन् । लामिछानेका दुवै पुस्तकमा उल्लेखित अर्को सुन्दर पक्ष के छ भनेँ उनी प्रायशः आफ्ना परिवारकै साथमा हुन्छन् । परिवार र देशप्रेमको उच्च भावले उनलाई एउटा कर्तव्यपरायण लेखकका रुपमा देख्न सकिन्छ ।

          लामिछानेले जस्तै धेरै अरुले देशाटन गरेका होलान् तर उनमा र अरुमा थोरै फरक के छ भनेँ लामिछानेले अरुलाई पनि आफूले देखेको र बुझेको संसार अक्षरका माध्यमबाट देखाउन सफल भएका छन् । यी दुवै पुस्तकहरुले लेखकका आँखाबाट देखेको संसार हेर्न, बुझ्न र सिक्न पक्कै पनि सघाउ पुर्याउछन् ।

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 26 November, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Friday 19 November 2021

प्यारे, यो सबै भुलभुलैया

 


     मंसिर लागिसक्दा पनि मधेसमा जाडो आउन सकेकै छैन । बिहानीहरु भनें अलिअलि चिसा भएका हुन् कि ! केहि दिन अगाडि एक बिहान मर्निङ् वाकका क्रममा शीतल हावाले एक हल्को मीठो बास्ना लिएर आयो । मैले झिस्मिसेमा कुनै फूलका बोटहरु वरिपरि देखिँन । सहयात्रीलाई सोधें, “यो यति मनमोहक बास्ना कहाँबाट आयो होला र क्षणभरमै बिलाइगयो होला ?” सहमतिपूर्ण भाव देखिए पनि सहयात्रीका आँखाले पनि कुनै बिरुवा ठम्याएनन् अनि नाकले पनि गन्धको जरो पहिल्याउन सकेन । त्यो अद्वितीय बास्ना हाम्रा मन मस्तिष्कमा भने बसिरह्यो ।

एक हल्को बास्ना

          हो, त्यसै साँझ एउटा अनपेक्षित सन्देश सात समुद्रपारबाट आइपुग्यो । दूरभाषबाट प्राप्त समाचारमा मेरा श्रीमानका सात दाजुभाइ मध्येमा भाइ नम्बर पाँच रहनुभएन । शारीरिक र मानसिक रुपमा अत्यन्त बलिया दाजु भर्खरै मात्र करिब दुइ महिना दमक बसेर अमेरिका फर्कनुभएको थियो । उहाँलाई हृदयघात भएको अपत्यारिलो समाचारले एउटा ठूलो परिवारलाई भावविह्वल बनायो । उहाँ पुनः नेपाल आउने र पुरानै थातथलोमा बाँकी अवकाशको जीवन बिताउने कुरामा प्रतिबद्ध हुनुहुन्थ्यो । आफ्ना जीवनमा आइलागेका अनेकन समस्यारुपी पहाडहरुलाई भत्काउँदै भर्खरै मात्र नियमित कामबाट अवकाश लिनुभएका हाम्रा आदरणीय र प्रिय नारायण दाजुको अप्रत्याशित निधनको समाचारसँगै उहाँका परिवारका सदस्य जेठानी दिदी गुड्डी र भतिज आशीषको अत्यास सम्झेर हामी अवाक् बन्यौं । यो दूरदेशको मृत्यु कति असहजपूर्ण र पीडादायी हुन्छ भन्ने कुरा मैले अष्ट्रेलियामा नै भोगिसकेकी थिएँ । त्यहिँ रहँदा रहँदै मैले मुँवा र बुवाको अप्रत्याशित देहावसानको पीडा सहन गर्नु र त्यसबाट उठ्नु परेको थियो ।

    त्यो मर्निङ् वाकमा हाम्रा वरिपरि छरिएको एक हल्को फूलको बास्नाले हाम्रो जीवनको क्षणभंगुरतालाई इङ्गित गरेको थियो होला । आफ्नो समयको परिधिभित्र एक स्थानमा आफूले पार्ने छाप नै शायद एक हल्को बास्ना होला ।


          अझ त्यहिं बसौं, त्यो सुगन्धमा रमौं भन्ने विचार गर्दागर्दै हराइजाने यो जीवन नारायण दाजुकै शब्दमा भूलभुलैया होला । सानो खोलारुपी यो जीवन बहँदै  बहँदै महासागरमा बिलाइजाने होला ।

          यो कुरा बुझ्दाबुझ्दै, अवश्यम्भावी मृत्युको चरित्रबारे जान्दा जान्दै पनि यसले हरेक पटक हल्लाएर जान्छ । यसका पराकम्पनहरु लामो समयसम्म आइ नै रहन्छन् । हो, यसैबेला नजिकका साथीभाइ र आफन्तहरु मनले खोज्ने रहेछ । मृत्युकम्पले छियाछिया भएको मनले मल्हम खोज्ने रहेछ । साथीभाइहरुको आवतजावत प्रशस्तै भएको कुरा उता अमेरिकाबाट गुड्डी दिदीले सुनाउनुभयो रे । तर त्यसमा पनि अझ नजिक बनेर मनको छेउमै बस्ने मनीषा भतिजी क्यानाडाबाट दौडेर काकी भेट्न पुगिन् । घर भित्रको सदस्य हुनु र परिवारकी ठूली छोरी हुनुको कर्तव्यबोधले उनलाई दौडायो । उनले ठूलो परिवारको एकताको डोरीको त्यान्द्रो नयाँ पुस्तामा पनि कसिलो राख्नुपर्छ भन्ने सन्देश दिइन् ।

अतीततिर हेर्दा

          जब म नारायण दाजुलाई सम्झन्छु, उहाँका अनगिन्ती योजना मेरा आँखासामु रङ्गीबिरङ्गी भएर नाच्न थाल्छन् । उहाँ भन्नुहुन्थ्यो, “म नेपाल आउँछु, नेपालमा पनि आफ्नै ठाउँ दमक आउँछु र यहिँबाट आफ्नो व्यापार बिजनेस चलाउँछु । घरको छेउमै एउटा पार्क खोल्छु, जहाँ मानिसहरु निस्फिक्री घुम्न सकून् । आफ्ना मनका पीडा एकछिन भए पनि बिर्सन सकून् ।” जीवनको उत्तरार्धतिर शायद मानिस आफ्नै ठाउँतिर फर्कन चाहन्छ होला । म विदेशमा बसेका मेरा साथीभाइसँग कुरा गर्दा यस्तै छनक पाउँछु । उनीहरु स्वदेशमै फर्किएर केही गर्ने इच्छा  व्यक्त गर्छन् । नारायण दाजु पनि यसको अपवाद हुनुभएन ।

          त्यसैले त यसपालि दमक आउँदा उहाँले फेरि फेरि आउँदा आफूलाई सजिलो होस् भनेर एकसरो घरायसी सामान जोड्नुभएको थियो । उहाँको योजना यही फागुन महिनामा यता आउने र घर बनाउने थियो । यो कुराले हामी सबै उत्साही बनेका थियौँ । गुड्डी दिदी पनि फोनमा हामीलाई घण्टौं कस्तो घर बनाउने र के के गर्ने भन्ने कुरा सुनाइरहनुहुन्थ्यो । के यो योजनाले मूर्त रुप लेला अब ?

          नारायण दाजुको मान्छेलाई आकर्षित गर्न सक्ने गजबको खूबी थियो । उहाँलाई जति आकाशपातालका कुरा गरेर मान्छेलाई पेट मिची मिची हँसाउन सक्ने कला हाम्रो परिवारमा शायदै अरु व्यक्तिमा होला ।

एकदिन कुरैकुरामा उहाँले भन्नुभएको थियो, “हाम्री सासूआमाले आफ्नो मृत्युपर्यन्त गर्नुपर्ने सबै कर्म आफ्नो जीवनकालमै गर्नुभयो । अब उहाँको  मृत्युपछि, कसैले मृत्युसंस्कार गर्नुपर्दैन ।” उहाँको कुरा सुनेर मलाई ताज्जुब लागेको थियो र एउटा प्रस्ताव राखेकी थिएँ, “दाजु ! यसो गर्न मिल्छ भने हामी पनि सबै भेला भएर सामूहिक रुपमा आफ्नो मृत्युसंस्कार गरौं न है । यसो गर्दा हामी जहाँ र जुन परिस्थितिमा परलोक भए पनि कुनै समस्या हुने छैन ।” उहाँले मेरा कुरा सहर्ष स्वीकार गर्नुभएको थियो ।

          मान्छेका उल्का उल्का नाम राख्न नारायण दाजुलाई कसैले भेट्न सक्तैनथ्यो । उहाँले अन्तिमपटक नामाकरण गरेको व्यक्ति “च्याप्रे” थियो । यो पात्रको कथा पनि गजबकै थियो । हुन चैं ऊ आफूलाई निष्काम जोगी हूँ भन्थ्यो रे तर कुरैकुरामा बेलुका जसरी पनि घर पुग्नुपर्छ भन्थ्यो रे ! “जोगी” अनि “घर”को तालमेल उति मिलेको नसुनिंदा दाजुले किन जोगीले घर जानुपर्यो भनेर सोद्धा उसले गजबको उत्तर दिएछ, “बेलुका त म जहाँ भए पनि घर पुग्नैपर्छ, नत्र बुढिया रिसाइहाल्छे नि ।” “ल च्याप्रे कस्तो जोगी हो तिमीहरु आफैं पत्ता लगाओ” भन्दै उहाँ गफको शीर्षक हामीतिर फ्याँकिदिनुहुन्थ्यो । एक दिनभरि हामीलाई उहाँले च्याप्रेसँग भेट गराइदिन्छु भनेर पर्खाउनुभयो तर अहँ त्यो पात्र देखा परेन । हामीले नारायण दाजुलाई हजुरले त्यतिकै यो च्याप्रेको कथा बनाउनुभयो, त्यस्तो मान्छे नै छैन भनेर खेरेउँ । यसरी च्याप्रेको अस्तित्वमाथि लागेको प्रश्नचिन्ह अब प्रश्नचिन्है बनेर रह्यो ।

          नारायण दाजुका यस्ता अनगिन्ती सम्झनाले मलाई पछ्याइरहेछन् । फेरि पनि म लियो टोल्स्टोयको कथा “वट् मेन लिभ बाइ” सम्झिरहेछु । आफ्नो छेउमै आइसकेको मृत्युबाट अनभिज्ञ हामी कसरी पूरा नहुने भविष्यका योजना बनाइरहन्छौं ! गुड्डी दिदी र आशीष भतिजका अनुहार मेरासामू आउँछन् तर फोन उठाएर उहाँहरुलाई बोलाउने साहस मैंले जुटाइसकेकी छुइन ! धन्न मनीषा पुगिछन् ! मृत्युसँग यस्तो नजिकबाट साक्षात्कार भएका बेला सबैथोक छोडछाड गरेर एकान्तबास बस्नुजस्तो लाग्छ । तर बिस्तारै बिस्तारै सांसारिकताले छोप्दै ल्याउँछ । मनमा अनेक इच्छा उब्जिन्छन् । अनेक योजना बन्छन् । ती मध्ये कति त पूरा होलान् तर कति हराइजालान् ! आखिरमा यो जीवनको के छ र भर ?


केवल भुलभुलैया

भन्न त भन्छन् मृत्यु सधैँ आकस्मिक नै हुन्छ । तैपनि चित्त बुझाउन किन गाह्रो हुन्छ ? यस्तो नभैदिएको भए हुने जस्तो लाग्छ । काम गर्दा गर्दा थाकेको नारायण दाजुको शरीर बल्ल अवकाशप्राप्त भएर आराम गर्न खोज्दैथियो । उहाँ आफ्ना मनमा लागेका कुरा गर्न जोसिँदै हुनुहुन्थ्यो तर त्यो मौका नै आएन । पूर्वीय दर्शन शास्त्र पढ्न रुचाउने र अनेकन श्लोकहरु गफका बीचमा घुसाएर ज्ञानका कुरा गर्ने उहाँको बानी थियो । उहाँको फिरङ्गी स्वभावबारे अहिले सोच्दा मलाई लाग्छ शायद उहाँलाई थाहा थियो यो संसार केवल भूलभूलैया हो र हामी रमिते मात्र । अन्तमा दाजुप्रति श्रद्दान्जली ब्यक्त गर्दै उहाँले नै बारम्बार सुनाइरहने सन्त कबीरको एक दोहा :

सब जग सूता नींद भरि,

संत न आवै नींद

काल खडा सिर उपरै,

ज्यौं तौरणि आया बींद

अर्थात, सारा संसार निन्द्रामा हुँदा पनि सन्तहरु जागै हुन्छन् । आफ्नो शिरमाथि काल उभिएको जान्दा जान्दै पनि उनीहरु यो मानव कायालाई असली टुङ्गोमा पुर्याइदिने मृत्युदेखि खुशी हुन्छन् ।

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 19 November, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Tuesday 16 November 2021

च्याब्रुङले नचायो

     


    तल मधेसतिरबाट ढोलक बजाउँदै आउने दाजुभाइहरुले पूर्वी तराइतिर दशैं तिहारको सन्देश दिने रहेछन् । दशैंदेखि शुरु भएको ढोलकको धुन यसपाली तिहारमा त अझ बढेर आयो । घाम पानीको पर्वाह नगर्ने तल्लो भेगतिरका श्याम वर्णका दाजुभाइहरु दुईजना वा सो भन्दा ठूलो समूहमा ढोलक बजाउँदै गाउँ छिर्दा एक प्रकारको उमंग भरिने रहेछ । मनले चाडबाड सम्झँदो रहेछ ; नजिकका आफन्तहरु सम्झँदोरहेछ । यी ढोलके समूहलाई देखेर मैँले आफ्नी सासूआमालाई सम्झिँए । त्यतिबेला म दमकमा दशैंको बेला पाहुना बनेर आउने गर्थें ; मेरो कर्मक्षेत्र अन्तै थियो । यस्तै एक दशैँमा मलाई छेउमा राखेर उहाँ भन्दै हुनुहुन्थ्यो, “तैंले ढप्परेको नाच देखेकी छैनस् होला ! दशैंमा यता ढप्परे ख्याल मजाले नाच्दैनन् ! देख्लिस् न भोलि ।” त्यो भोलिको प्रतीक्षा मैले अधीर  भएर गरें । तर आमाले भनेजस्तो त्यो ‘ढप्परे नाच’ त्यतिबेला मलाई खासै रमाइलो भने लागेको थिएन । अहिले यसले मेरो मन तानेको देखेर म छक्क परें ।

यता च्याब्रुङ्ले नचायो
    संस्कृति समयसँगै नजानिँदोगरि परिवर्तन हुँदै जाने रहेछ । तिहारको समयमा गाना बजाना, देउसी भैलो दशैंभन्दा बढि नै हुनेगर्छ । दशैं मनाइन्छ, तिहार मनाइन्छ तर पहिले पहिले भन्दा धेरै नै फरक तरिकाबाट । मूलतः दशैंमा टीका थाप्ने र तिहारमा भाइतिहार मनाउने कुरा उस्तै छन् तर ती मनाउने तरिकामा परिवर्तन आएको छ । तिहारमा बालिने माटाका पाला क्रमशः विस्थापित हुँदै गएर बिजुलीले ढाक्तैछ । एक दशक अघिसम्म नदेखिने रंगोलीले अहिले घरघरमा ठाउँ पाएको छ ।
    यसपालीको तिहारमा च्याब्रुङ बजाउँदै स्थानीय जातीय भेषभूषा लगाएर लिम्बू दाजुभाइ, दिदी बहिनीहरुले देउसी खेल्न आउँदा मेरो मन खुशीले भरिएर आयो । छिमेकी राम लिङ्देन भाइले प्राप्त गर्नुभएको चिट्ठीका आधारमा छिनभरमै हाम्रो टोलबाट केही रकमको जोगाड भयो । शिरबन्दी, नौगेडी, ढाकाका सारी, ढाकाकै जुत्ता लगाएका चेलीहरु र दौरा सुरुवाल लगाएका दाजुभाइहरु च्याब्रुङ् का तालमा नाचे । सारा टोलबासीका लागि यो नौलो थालनी हुनुपर्छ । “दिउँसो भए देउसीरे भनेजस्तै हामी नाम्लिङ्गेक भन्छौँ । नाम भनेको घाम हो । राति भए जून सम्झेर लारिङ्गेक भन्छौँ । यो देउसी हो ; यसलाई हामी केलाङ भन्छौ,” टोलीनेताले कुरा बुझाउँदै भने । उनीहरु च्याब्रुङ्सँगै हाम्रो साझा परम्परा, संस्कृति र संस्कार बोकेर बिस्तारै बिस्तारै नाँच्दै थिए । मलाई त्यो नबुझिने लिम्बू भाषाप्रति लगाव थियो । ओहो ! यो केलाङ द्यौसी भाकाले कति कथा बोकेको होला !  च्याब्रुङका तालमा गाइने केलाङ अहिलेको चिरा पर्दै आएको सामाजिक सद्भावका बीचमा नेपाली मनहरुलाई जोड्ने एउटा कडी जस्तो लाग्यो मलाई । जब टोली नेताले यो नाच, जसले नाच्दा पनि हुन्छ, तपाईंले  नाच्दा पनि हुन्छ भने मेरो मन थामिएन, मेरा गोडा स्थिर भएनन् । म पनि त्यही हुलमा मिसिएँ र एकदुई फन्का नाचिहेरें ।

    यी किराँत संस्कृतिसँग जोडिएका च्याब्रुङ नाच, साकेला नाच, थारुसँग जोडिएको मारुनी, तल्लो मधेशको ढप्परे नाच, पुराना संगिनी, बालन जस्तै कति कति संस्कृतिसँग जोडिएका नाच होलान् । विविध जातियताको फूलबारीभित्र यस्ता कति नौरंगी बास्नादार फूल होलान् । तिनको सौन्दर्य पान गर्न नपाई हामी पर–संस्कृतिसँग हातेमालो गर्दैछौं । आफ्ना बारीका फलहरुतर्फ नहेरी विदेशी फलको स्वादमा रमाउँदैछौं । च्याब्रुङ नाचसँग जोडिएको मुन्धुमको गहनताका बारेमा हामी अनभिज्ञ छौं । जातीय रुपमा अहिले केहि प्रयास भएपनि राष्ट्रिय रुपमा संस्कार, संस्कृति र लिपी जोगाउने काम नगण्य नै भएको छ ।

परदेशमा नौगेडी
    लामो समयदेखि कोरोनाले कुँज्याएका गोडाहरु दशैं र तिहारका बीचमा केहि तन्काउने मौका मिल्यो । सिलिगुडीमा एक कार्यक्रम गरी अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार र सम्मान दिने कार्यक्रममा निम्तारु बनेर पुरस्कार प्राप्त गर्ने व्यक्तित्वका साथ लागेर सिलिगुडीको मतिगाडा जाने मौका प्राप्त भयो । त्यस भीडको सबैभन्दा ठूला रौनक भनेका मैंले दुई कुरा पाएँ । पहिलो त त्यहाँ कार्यक्रम शुरु गर्दा गणेश वन्दनाबाट गरियो । हुन त त्यत्रो भीडमा सबैजना हिन्दू नहुन सक्थे तर पनि एउटा सुमधुर र शान्तिदायक वन्दनालाई सबैले ग्रहण गरेको देखियो । उता अमेरिकी राष्ट्रपतिले सम्पूर्ण संस्कृतिलाई अमेरिकाले उत्तिकै आदर गर्छ है भन्ने सन्देश दिन भर्खरै दीपावलीका उपलक्ष्यमा दीप प्रज्वलन गरेजस्तै, यता मतिगाडाको कार्यक्रममा गणेश वन्दना सर्वस्वीकार्य देखियो ।
    सो कार्यक्रममा एकहुल महिलाहरु थिए । उनीहरु सबैले साडी चोलो लगाएका थिए र घाँटीमा एकनासका आभूषण पहिरिएका थिए । यो एकरुपता देख्दा हामीलाई उनीहरु पक्कै कुनै संस्थासँग आबद्ध होलान् जस्तो लाग्यो । यत्तिकैमा एकजना महिलाले हाम्रासामू परिचयको हात बढाइन् र भनिन्, “हामीले यहाँ सिनियर महिलाहरुको समूह खडा गरेका छौं । हामी आफ्नो संस्कृति जोगाउने काममा लागेका छौं ।” उनले आफ्नो गहना देखाउँदै भनिन्, “यो देख्तै हुनुहुन्छ नि, यो नौगेडी हो । अचेलका नानीहरुलाई नौगेडी भनेको के हो थाहा नै छैन ! यो दुःखको कुरा हो । हामी हाम्रो परम्परालाई ब्युँझाउन खोज्दैछौं ।” त्यो मोटो रातो धागोमा उनिएका दानाहरु नौगेडीभन्दा निकै ठूला र पोतेमा नउनिएकाले हामीले झट्ट त्यसलाई ठम्याउन सकेनौं । ती महिलाका कुरा सुनेर म निकै प्रभावित भएँ । त्यो नौगेडी नेपाली हुनुको पहिचान थियो । अलिकति मात्र भएपनि नेपालीपन जोगाउने परदेशीहरुकोप्रयास थियो । यस्तै ससाना प्रयासहरुले पनि ठूलो अर्थ राख्छन् । आउँदो पुस्तालाई थोरै भएपनि आफ्नो संस्कृति सिक्न प्रेरित गर्छन् ।
    

    आफ्नो मौलिक संस्कृति कति प्यारो हुन्छ भन्ने कुरा परदेशमा रहँदा अझ खट्किने रहेछ । आफू अष्ट्रेलियामा रहेका बेला सेप्टेम्बरदेखि अक्टोबरसम्म लाग्ने ट्यूलिप फेस्टिबल हेर्न जाँदा त्यहाँ विभिन्न संस्कृतिका नाच र भेषभूषा आँखाले देखेसम्म फुलेका ट्यूलिप फूलका  खेतीभन्दा कम मनमोहक लाग्दैनथे । स्थानीय स्कटिस लयमा ट्याप ट्याप ट्याप जुत्ताका तलुवा बजाएर, फिरिरि हावामा फ्रक उडाउँदै नाच्ने आइमाईहरुका नाच कति हो कति रमाइलो लाग्थ्यो । वर्षौं देखि आफ्नो मुलुक छाडिआएका विभिन्न समुदायका मानिसहरुले समेत आफ्ना भाका र लय पक्रेर रमाउन सकेको देख्ता आफ्नो मुलुकको संस्कृतिको बिछट्ट  सम्झना आउने रहेछ ।



परिवर्तनको बाढी
    परिवर्तनको बाढीमा कति कुरा जोगिन्छन् र कति कुरा नासिन्छन् भन्न सकिँदैन । कतिपय कुराहरु हामीले चाहेर पनि जोगाउन सकिंँदैन । नवपुस्तालाई पुराना संस्कृति र यसको महत्व बारेमा बुझाइदिनु पनि पुरानो पुस्ताको कर्तव्य हो । बढ्दो भूमण्डलीकरण, बसाईं सराइको तीब्र दर र औद्योगीकिकरणले गर्दा पुराना संस्कृतिको क्षयिकरण भइरहेको कुरा यस क्षेत्रका विज्ञहरु बताउँछन् । हाम्रै राउटे समुदायको बदलिँदो जीवनशैली पनि यसको उदाहरण हो । संस्कृति र भाषाको अनन्य सम्बन्ध हुन्छ । यिनै माथिका तीन कारणहरुले गर्दा पनि स्थानीय भाषा र संस्कृति लोप भइरहेका छन् । हाम्रै देशका कुसुण्डा भाषा बोल्नेहरु समाप्त हुँदै गइरहेका छन् । बाहिरतिर हेर्ने हो भने कुनै समयमा ब्यापक रुपमा प्रयोग गरिने ल्याटिन, संस्कृत, कोप्टिक र अकादिन जस्ता भाषा अहिले बोलचालमा प्रयोगमा छैनन् । नयाँ पुस्ताका अधिकांश हाम्रा नानीहरु आफ्नो स्थानीय भाषामा दोहोरो वार्ता गर्न सक्दैनन् । यस्तो परिवेशमा च्याब्रुङ टोलीले र नौगेडी टोलीले उत्साहवर्धक कार्य शुरु गर्नु ठूलो खुशीको कुरा हो । हाम्रो पहिचान र आत्मसम्मान नै जोडिएको विषय भएकोले हामी सबैले यस विषयमा गम्भीर हुनु जरुरी छ ।  

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 12 November, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]