Friday 27 August 2021

एक चाङ सम्झना


आज करीब एक महिनापछि बल्ल बल्ल हजुर मेरो सपनामा आउनुभयो । अस्ति अस्ति कत्ति ‘मुवाँलाई सपनामा देखूँ,’ भनेर पुकारा गरें तर कहिल्यै देखिनँ । आज अचानक नसोचेको समयमा हजुर आउनुभयो । यहाँ हो कि नेपालमै हो, मलाई प्रष्ट हुन सकेन, हजुर माथि तलामा कुर्सीमा बसेर टेबलमाथि केही राखेर एकचित्त भै पढ्दै हुनुहुँदो रहेछ  । म तलबाट पाउरोटी र टमाटरको सुप लिएर हजुर हुनुभएको ठाउँमा आएँ र अंग्रेजीमा भनें, ‘आइ ह्याभ  कम टु माइ बिलभेड मदर ।’ (म मेरी प्यारी आमाको छेउमा आएँ है !) हजुरले मतिर पुलुक्क हेर्नुभयो र चम्चामा सुप लिएर मलाई खुवाइदिनुभयो । यत्तिकैमा म ब्यूँझिएँ । यसरी अचानक हजुरलाई देख्न पाएर म निकै बेर खुशी भएँ ।

मुवाँ, साइकिक मिडियमहरूले यसरी मृत आफन्तसँग सपनाको माध्यमबाट सम्पर्क हुनुलाई अर्थपूर्ण मानेका छन् । एक त, सशरीर पृथ्वीमा उपस्थित नभए पनि आत्मिक रूपमा उनीहरू यहाँ भएका प्रियजनसँग सधैं सँगै छन् भन्ने संकेत हो, यो । अर्को चाहिं मृत्युपश्चात् पनि उनीहरू कुशलमंगल र खुशी छन् भनेर जीवित आफन्तलाई निश्चिन्त पार्नु हो । कार्ल जङका अनुसार सपनालाई सांकेतिक रूपमा विश्लेषण गर्न सकिन्छ । यी दुवै धारणाका आधारमा मैले देखेको सपनालाई हेर्ने हो भने— हो, हजुर मसँगै हुनुहुन्छ किनभने म हजुरको उपस्थितिको हर क्षण अनुभूति गर्न सक्छु । अनि हजुर यो सांसारिक झन्झटबाट मुक्त भएर खुशी र शान्त हुनुहुन्छ भन्ने कुरामा पनि दुई मत छैन । कार्ल जङको सिद्धान्तलाई पछ्याउँदा हजुर त्यसरी ध्यानमग्न भएर पढ्नुलाई मैले हजुरलाई ‘मैले लेखेका यिनै चिठीहरू पढ्नुभएको हो’ भन्ने ठानेकी छु । यसरी नै हजुरले प्रेमपूर्वक मलाई सुप खुवाइदिनु चाहिं हजुर अझै पनि मलाई आशिर्वाद दिँदै हुनुहुन्छ भन्ने हो । के मेरो सपनाको सही अर्थ लगाउन सकें, मुवाँ मैले ?



यो त भयो सपनाको कुरा । अब एक छिन वास्तविक जीवनको कुरा गरौं है त, मुवाँ ? मैले हजुरलाई प्रश्नहरू सोध्ने क्रममा, ‘मेरो जन्मको उद्देश्य आखिर के हो त ?’ भनेर सोधेकी थिएँ । हजुरले, ‘तँलाई जीवनमा सबभन्दा गर्न मन लागेको कुरा के छ ?’ भनेर प्रतिप्रश्न गर्नुभएको थियो । तब धेरै बेर सोचेपछि मेरो मनमा आएको थियो, ‘म सधैं मेरी आमाको कथा हाम्रो घरपरिवारबाट निस्किएर समाजमा जाओस्, समाजबाट देशभरि जाओस्, र हुन सक्छ भने देशबाट पनि निस्किएर विदेशसम्म जाओस्’ भन्ने चाहन्थें । त्यतिबेला मेरो चेतना झल्याँस्स खुलेको थियो, ‘ओहो ! भगवानले  त मलाई मुवाँको कथा लेख्न पो यो धर्तीमा पठाएका रहेछन् ।’ हो, त्यो क्षणमा मैले हजुरलाई लेखेका यी चिठीहरूलाई पुस्तकाकारमा निकाल्ने निर्णय गरें । त्यतिन्जेल भने यिनले हजुर र म बीचमा एक सशक्त सम्पर्क माध्यमको काम गरेका थिए— मेरो पीडा कम गर्न ।

मुवाँ, हजुरले शायद कहिल्यै सोच्नुभएको थिएन होला, हजुरको जीवन कतिसम्म उपलब्धिमूलक थियो भन्ने, होगि  ? मलाई सधैं लाग्छ— हजुर एक साधारण घरपरिवारकी असाधारण नारी हुनु हो । हजुरले एउटा युगको प्रतिनिधित्व गर्नुहुन्छ । म भन्दिनँ, ‘हजुरको जमानामा हजुर जस्ता नारी नेपालमै थिएनन्,’ भनेर । थिए होला, थुप्रै थिए होला । तर म के चाहिं ठोकेर भन्न सक्छु भने हाम्रो जस्तो मध्यमवर्गीय सामाजिक–आर्थिक अवस्था भएको घरपरिवारमा, अझ भनौं धनकुटा जस्तो पहाडी ठाउँको परिप्रेक्ष्यमा त्यतिबेला हजुर बाहेक त्यति साहसिक, उत्साही, संघर्षशील र शिक्षा क्षेत्रमा मरिमेटेर लाग्ने महिला व्यक्तित्व अर्को थिएन ।

आजको समाज अत्याधिक प्रचारमुखी छ । कसैले एउटा कविता लेख्यो कि उसको नाम ‘साहित्यकार’, कहीं यसो शिक्षाको कुरा गर्यो  कि ‘शिक्षाविद्’, कसैलाई (देखाउन नै किन नहोस्) सहयोग गर्यो  कि ‘समाजसेवी’ भनेर बिराला–टाउके अक्षरमा छापामा आइहाल्छ । तर हजुरले प्रचार प्रसारको चमकदमकपूर्ण दुनियाँदेखि टाढा रहेर जीवनभर यी क्षेत्रमा आफ्नो तहबाट जति सक्दो योगदान पुर्याउनु भएको छ । मेलबर्नको स्थानीय दैनिक पत्रिका ‘लीडर’ मा सधैं एउटा विज्ञापन हुन्छ— ‘मेक अ डिफरेन्स एभ्रीडे एण्ड वर्क लोकल्ली ।’ यो वाक्यले मलाई हजुरको सम्झना दिलाउँछ । हजुरले सधैंभरि यसै गर्नुभएको होइन र ? हजुर एक जना एभ्रीडे हिरो हो, मुवाँ । सबै मान्छेलाई संसारमा परिवर्तन ल्याउन मन लाग्छ तर आफू  भने बदलिन मन लाग्दैन । यसको विपरीत हजुरले चाहे शिक्षाको क्षेत्रमा होस् वा समाजसेवाको क्षेत्रमा होस् आफैं  अघि सरेर र काम गरेर देखाइदिनुभएको छ । परिवर्तनको शुरूआत एक व्यक्तिबाट हुन्छ । माइकल ज्याक्सनले ‘आइ एम स्टार्टिङ विथ द म्यान इन द मिरर । आइ एम आस्किङ हिम टु चेन्ज हिज वे…’ भनेर गीत गाएजस्तै । दलाई लामा, मदर टेरेसा र दीपक चोपडा जस्ता व्यक्तिहरूले पनि यदि हामी संसार बदल्न चाहन्छौं भने, यो कार्यको शुरूआत आफूलाई बदल्न थालेपछि मात्र हुन्छ भन्ने कुराको जोडदार समर्थन गरेका छन् ।


धनकुटालाई हजुरको बारेमा राम्ररी थाहा छ, मुवाँ । अहिले आएर अरूले पनि हजुरमा चासो लिन थालेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको हजुरको अन्तर्वार्ता यसको उदाहरण हो । म अझै सम्झिन्छु, जतिबेला झमक कुमारी भनेको को हो कसैलाई थाहा थिएन, हजुर र बुवा झमक कुमारी घिमिरेलाई भेट्न जानुहुन्थ्यो । उनको शारीरिक कमजोरी र मानसिक तीक्ष्णताका कुरा हामीलाई सुनाउनुहुन्थ्यो । त्यो सानी केटीभित्रको प्रतिभालाई हजुरले देख्नुभएको थियो । त्यसैले त हजुर उनलाई पढ्न प्रोत्साहित गर्नुहुन्थ्यो । मलाई विश्वास छ— ती मदन पुरस्कार विजेता झमक कुमारी घिमिरेले आज पनि ‘गुरुआमा’ लाई आफ्नी एक प्रेरणास्रोत मान्दिहुन् । हामीले इतिहासमा एक जना व्यक्ति, पृथ्वीनारायण शाहलाई शिक्षा दिने बूढीआमालाई त ‘गुरुआमा नेपालकी’ भनेर पढ्नुपर्छ । यसको तुलनामा हजुरले अनगिन्ती केटाकेटीको मनमा शिक्षाको ज्योति बालिदिनुभएको छ । उनीहरूलाई सत्कर्ममा लाग्ने प्रेरणा दिनुभएको छ । कमसेकम ‘गुरुआमा नेपालकी’ नभए पनि ‘गुरुआमा धनकुटाकी’ भनेर त मान्छेले हजुरलाई चिन्नुपर्छ । मुवाँ, हजुरको कथा धनकुटाकी एउटी सामान्य महिलाको जस्तो घरपरिवारमै सीमित हुने र कालान्तरमा बिर्सिइने खालको होइन । हरेक नेपाली महिलाले हजुरको सक्रिय जीवनबाट केही न केही सिक्न सक्छन् । मान्छेमा साँचो लगन भयो भने उमेरले अथवा रोगले केही गर्न पनि छेक्दैन भन्ने कुरा बुझ्न सक्छन् । त्यसैले हजुरको कथा नेपालीको घर घरमा पुग्न सक्नुपर्छ ।

म त भन्छु— 
आफूलाई नारीवादी भन्ने र ‘छोरीलाई पनि आमाबाबुको सम्पत्तिमाथि छोराको जत्तिकै अधिकार हुनुपर्छ’ भनेर हुंकार गर्ने व्यक्तिहरूले त हजुरको कथा झनै पढेर मनन् गर्न सक्नुपर्छ । एउटी छोरीलाई बाबुआमाको सम्पत्तिको झूटो लोभ देखाउनु भन्दा उसलाई शिक्षित बनाएर स्वावलम्बी हुन सिकायो भने परिवार, समाज अथवा राष्ट्र नै कतिसम्म लाभान्वित हुन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ हजुर । जब मान्छे आफैं  सम्पत्ति कमाउन सक्षम हुन्छ, उसलाई बाबुआमाको सम्पत्तिमा कुदृष्टि लगाउनुपर्ने जरूरत पर्दैन नि, होइन मुवाँ ? विदेशीहरू, जो नेपालका नारीलाई सामान्यीकरण गरेर ‘अशिक्षित र पिछडिएका’ का रूपमा चित्रण गर्छन्, उनीहरूले पनि हजुर जस्ता स्वनिर्मित र सशक्त नारी पनि नेपालमै छन् भन्ने बुझ्न जरूरी छ ।

मलाई लाग्छ, म नेपालमै भएकी भए हजुरलाई दुई चार पटक भेट्न त सक्थें । अन्तिम समयमा पनि हजुरको दर्शन पाउँथें होला । तर मसँग हजुरको कथा लेख्न चाहिं पर्याप्त ज्ञान नहुन सक्थ्यो । मेरो कलम नतिखारिन सक्थ्यो । म डगमगाउन सक्थें । हजुरलाई गुमाउनुको पीडामा रुमल्लिएर 
आफूलाई हराउन सक्थें । अनि सबैभन्दा अहम् कुरा, मलाई आफ्नो जन्मको उद्देश्य पनि थाहा नहुन सक्थ्यो र शायद म जीवनपर्यन्त यसकै खोजीमा भौंतारिइरहन सक्थें । अर्कातिर, यसरी सम्पूर्ण आफन्त र आफ्नो देशबाट टाढा हुनुपरेर मैले एक्लै शोक–चिन्तन गर्ने मौका पाएँ र आफ्नो पीडाको चरम बिन्दुसम्म पुग्न सकें । यसले मलाई सहज स्थितिमा पुग्न ठूलो सहायता गर्नेछ भन्ने मलाई विश्वास छ । मनभित्रै कतै यो पीडा रहिरह्यो भने फेरि फेरि यो बल्झिरहन सक्छ नि, होइन त मुवाँ ? अनि यस्तो हुनु राम्रो होइन ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 27 August, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).