Sunday 27 February 2022

नन्दुका बतासा

 

   


     आफ्ना भोगाइ सबैलाई महत्वपूर्ण नै हुन्छन् । त्यसै भएर होला ती भोगाइहरु स्मृति र वार्तामा बारम्बार दोहोरिइ रहन्छन् । सयभन्दा बढि परिवार बस्ने ससानो बस्ती भूइँचालोले हल्लाइदिँदा मान्छेहरु भुरुरुरु आ–आफ्ना गुँडबाट निस्किए । रोटे कमिलाको गोलालाई कुनै बच्चाले घोच्दा कमिलाहरु छरपस्ट भए झैं मान्छेहरु छताछुल्ल भए । यो पूर्वसंकेतबिनाको आतेस थियो । शनिबारको दिन हामीजस्तै अन्य परिवारहरु पनि बिहानको खानापछि सुस्ताएका थिए होलान् । हाम्रा अघिल्तिर आफ्नो भित्तो चिरियो । हामीले भर्खरै किनेर सरेको अपार्टमेन्ट थियो त्यो । भर्खरै रंगरोगन लगाएर टिलिक्क पारेको । हेर्दाहेर्दै भित्ताका सिमेन्ट प्लाष्टर पक्पकी उक्किए । त्यो उल्का नसेलाउँदै तलबाट साइरन बज्यो । हामी बाहिर निस्कँदा त आधाजसो मान्छे आँगनमा उभिएका थिए । सबैका अनुहार विष्मयकारी थिए । पृथ्वी डगडग काँपिरहेकै थियो । हामी अग्ला अग्ला अपार्टमेन्टतिर  हेर्थेउँ । हरेक पटक जमीन थर्थराउँदा धूलोको मुस्लो छुट्थ्यो । मानव कोलाहल मच्चिरहेको थियो । फोनहरु झ्याप्प भए । पर बल्खुतिर धूलाको मुस्लो मडारिइरहेको थियो । छिमेकी अपार्टमेन्ट बिल्डिङ्को माथिल्ला तलाका भित्ताहरु झरिसकेका रहेछन् । त्यहाँ अस्थिपंजर मात्र देखियो । यो अकल्पनीय भयानक दृष्य थियो । मानिसहरु निहत्था र निसहाय साबित भएका थिए । यो मध्य दिउँसोको घटना थियो तर छिनभरमै साँझ पर्यो । पानी थिएन । बत्ती थिएन । घरभित्र पसेर खाद्य वस्तु बाहिर ल्याउने साहस कसैमा थिएन ।

        हो, त्यतिबेलै नन्दु दाइको उदय भयो । उनले मानिसहरुलाई एकत्रित गरे । निर्बलहरुलाई बस्ने व्यवस्था गर्न र केही खानेकुरा तयार गर्न अगुवाइ गरे । छिनभरमै नन्दुका अगुवाइमा ठूलो झ्याँगा बस्यो । चाउचाउ तयार भयो । हामी सबै लाइनमा उभियौँ । यस समयमा कसले के खान्छ र कसलाई के मन पर्छ भन्ने कुराको कुनै अर्थ रहेन । त्यो लाइनमा फिल्मका डाइरेक्टर थिए, राष्ट्रिय रुपमा पहिचान बनाएका गायक थिए, पत्रकार थिए, व्यापारी थिए, मुक्केवाज थिए, ठेकेदार थिए, लेखक थिए, प्राज्ञ थिए, राजनीतिकर्मी थिए, प्रोफेसर थिए र अरु थुप्रै पहिचानवालाहरु थिए । जो जो जे जे रुपमा चिनिएका भए पनि त्यस विपदका घडीमा ती कोही थिएनन् । त्यो भयंकर प्राकृतिक विपदमा ती सबै निरीह मानव मात्र थिए । जमीन काँपिरहेकै थियो । त्यसमाथि अँध्यारो थपियो । आठ–नौ बजेसम्म त विभिन्न अड्कलबाजी र बहस चले । त्यसपछि बालक र वृद्धहरुको क्लान्त शरीरले आराम खोज्न थाल्यो । त्यतिबेला पनि नन्दु दाइ केही म्याटहरु लिएर अघि बढे । उनले कम्युनको उदाहरण दिदै सबैलाई अटाएर ढल्किने बन्दोबस्त मिलाउन अगुवाइ गरे ।

नन्दु छैठौँ तलामा बस्थे । मलाई लाग्थ्यो नन्दु ठूलै मान्छे हुनुपर्छ । ‘ठूलै’ को अर्थ उनी कुनै जागिरे, व्यापारी वा यस्तै केही हुनुपर्छ । बिहान बेलुकै पालेले उनलाई कसेर सलाम ठोक्थ्यो । हामी गेटबाट भित्र बाहिर गर्दा मन नपरी नपरी गुड मर्निङ मात्र भन्ने पाले दौडेर नन्दुको व्याग बोकेर सिंढीसम्म आइपुग्थ्यो । तर नन्दु एक अवकाश प्राप्त व्यापारी रहेछन् ।


    उमेर ढल्किसकेका र दुर्बल नन्दुको धपेडि देखेर उनकी श्रीमतीले धेरै कुदाकुद नगर्न अलि कडै स्वरमा भनिन् । तर नन्दुले नरम स्वरमा नजिकै आएर भने, “गर्ने नै परेका बेला हो । हामी संसारै बदल्न त सक्दैनौँ नि । तर केही आफूले सकेको प्रयास गर्न सक्छौँ ।” त्यसपछि उनी टुक्रुक्क बसे र नीति कथा सुनाए । एउटा मानिस सधैँ सधैँ मर्निङ वाक गर्न समुद्र किनारातिर जाँदो रहेछ । एकदिन त्यसरी नै हिँड्ने क्रममा उसले धेरै स्टारफिसहरु किनारातिर आएर थुप्रेका देखेछ । अलि पर पुग्दा एउटी सानी नानी ती फिसहरुलाई एक एक गर्दै पानीतिर हुत्याउँदी रहिछ । त्यो देखेर बूढाले सोधेछ – “के गरेको नानी ?”

        केटीले उत्तर दिई –“यी स्टारफिसहरु पानीमा फर्केर जान सक्तैनन् । यिनलाई पानीतिर हाल्दैछु ।”

        अनि त्यो बूढो मान्छेले भनेछ – “त्यस्ता स्टारफिस समूद्री किनारभरी छन् । कसरी सम्भव हुन्छ त ?”

        सबै फाल्न त सम्भव नहोला । तर मैले जति सक्छु, तिनीहरुले त फेरि नवजीवन पाउँछन् नि ।”

         अनि बूढालाई लागेछ, हो नि कुरा । त्यसपछि ऊ पनि सानी केटीलाई सघाउन थालेछ । त्यति सुनाएर उनी फेरि भीडमा अलप भए ।

 

    ती अजङ्गका अपार्टमेन्ट हाउसहरु अँध्यारा गुफा जस्ता, सुरुङ जस्ता देखिन थालेका थिए । त्यो शनिबार राती कसैले फर्केर फेरि गुफामा छिर्ने आँट गरेन । भोलिपल्टको उज्यालोले विध्वंशका सन्देशहरु बटुलेर ल्यायो । मानव निरीहताको उदांगो तस्वीर हामी सबैसामु पेश गर्यो।

        केहि दिन तितरबितर भए पनि हामी सबैले धूलो टकटक्याउनु नै थियो । मानिसहरु जागे । संरचनाहरु भत्काइए, टालिए, छोपछाप पारिए । हाम्रा भरंग भएका मनहरु पनि कसोकसो थुम्थुम्याइए । मानिस आफ्नै लयमा फर्कियो । आ–आफ्नो पहिचानको कोट धारण गर्यो र पुनः पुरानै स्वरुपमा फर्कियो । आफ्नै कुरा गर्दा हाम्रो अपार्टमेन्ट मर्मत गरेर बस्न लायक ठहरियो । मर्मत क्रममा दिनहरु फूर्सदिला बने । अनि नन्दु दाइका गफमा सामेल हुन मौका पाइयो । जमीन काप्ने क्रम आक्कल झुक्कल चलिरहेकाले मान्छेहरु उज्यालामा बाहिरैतिर हुन्थे । अझ तलका वृद्ध प्रोफेसर ‘झा सर’ र नन्दु त बिहानैदेखि बगैंचामा मै हुन्थे । गफ सुन्न बसेका ससानो झुण्डमा म पनि मिसिएँ । उनी उता उनको जन्मस्थल धनगढीदेखि नेपालगञ्ज हुँदै पूर्व सिक्किम सम्मका अपडेटहरु ल्याउँदै थिए । गफ कुनै सिलसिलामा चलिरहेको थिएन । भूइँचालोको विषयमा उनले भनेको कुरा मलाई घत लाग्यो, “हाम्रो नियन्त्रणमा के छ ? आफ्नै दिसा पिसाब पनि छैन । आएपछि आयो, आयो । रोक्ने तागत कसैमा हुँदैन । यो श्वास आफैं फेरिन्छ, यो मुटु आफैं चल्छ । हाम्रो शरीरका धमनीहरुमा आफैं  रगतका खोलाहरु बग्छन् । हाम्रो नियन्त्रणमा सबै भएजस्तो लागेको मात्र हो । तर यो महाभ्रम हो । हाम्रो नियन्त्रणमा न त हाम्रो जन्म छ, न त मृत्यु ।” त्यति भनिसकेर उनले वरिपरि हेरे । ठूलो महत्वको कुरा गरेझैं लागेछ क्यारे, उनी प्रफूल्ल देखिए र भने, “नन्दुका बतासा । तर गफ बतासे नभएर सत्यमा आधारित थियो ।

        आउनूहोस न बसौँ, एकछिन् नन्दुका बतासे गफ सुनौँ । हेर्नोस्, मेरा गफ हानीरहित छन् । म कसैलाई घोचपेच गर्दिन । सानो पार्दिन । नन्दुले मलाई देखेर भने । नन्दुका वरिपरि महिला, पुरुष बराबर थिए । म एकजना पाकी भनिन मन नपराउने तर पाकै उमेरकी भद्र महिला छेउमा बसेँ । ती महिलाले थपिन्, “हो, यो नन्दुका गफ कटन क्यान्डी जस्तै हुन्छन् । हेर्नमा राम्रो । खानमा मिठो । फुस्स बिलाइजाने किसिमको । त्यो राम्रो उपमा थियो । उता नन्दु आफ्ना सुरमा गफ मारिरहेकै थिए ।

       


    त्यहाँ भुकम्पले थपेका समस्यामा कुरा उठे । अनन्त चिन्ताका पहाड पन्छाउँदै फेरि नन्दु दादा बोले । यी चिन्ता टेन्सन लेनेका नही देनेका है । नन्दु भन्दै थिए, “एउटा तपाईँ हामीजस्तै सामान्य मानिस रहेछ । उसलाई सामान्य खान लाउनको दुःख रहेनछ । तैपनि ऊ एकपछि अर्को चिन्ताले गर्दा त्यसै छट्पटाउँदो रहेछ । उसले गाउँमा एउटा फकिर घुम्दै आएर खोला किनारामा बसेको छ भन्ने सुनेछ । त्यो फकिरसँग जस्तो पनि समस्याको समाधान हुने रहेछ । त्यति भएपछि त के चाहियो! मानिसहरुको लर्को त्यतै लागेछ । अनि त्यो दुःखी मानव पनि भीडमा छिरेछ र लाइनमा उभिएछ । साँझपख उसको पालो आएछ । अनि फकिरले सोधेछन्, “तिम्रो के समस्या छ ?”

        हजुर, यी समस्याले मलाई छाडेनन् । एउटा समस्या सामाधान गरिसक्दा, अर्को आइलाग्छ । यिनबाट पार पाउन पाए, जीवन कस्तो धन्य हुन्थ्यो होला ।

        ल तिम्रो समस्या जटिल रहेछ । त्यसको समाधान भोलि बिहान म गरौँला । अहिलेलाई एउटा काम गर । ऊ त्यहाँ पचासवटा ऊँट छन् । ती ऊँटका हौदा हेर्ने मान्छे आज विमारी छ । अब तिमीले तिनीहरुलाई दानापानी गर र सबै ऊँटलाई बसाएर तिमी पनि सुत्नू । त्यति काम गरेर भोलि भेटुम् है त । फकिरले अह्राएछन् ।

        त्यो मान्छेले पनि आफ्नो समस्याको समाधान हुने आशामा “हुन्छ” भन्ने उत्तर दिएछ । त्यसपछि उसले ऊँटलाई दाना पानी दियो र बसाउने प्रयत्न गर्न थाल्यो । केहि ऊँट सजिलै बसे । केहि आफैं बसे । केहि चाहिँ मरिगए बसेनन् । फेरि केहि बसेका ऊँट पनि उठेर उग्राउन थाले । उसले रातभर प्रयास गर्यो तर सबै ऊँट एकैचोटि बस्दै बसेनन् र उसले पनि सुत्न पाएन ।

        भोलिपल्ट राता गोल्भेडाजस्ता अनिँदा आँखा लिएर ऊ फकिरकहाँ गयो । फकिरले सोधे –“निद्रा राम्रो पर्यो होला नि ?” अनि उसले बेलिबिस्तार लगायो – “कहाँ लाग्नु र निन्द्रा ? ऊँट हरु एकैचोटि नबस्दा रहेछन् ।” फकिरल भने, “हाम्रो जीवनमा आउने समस्या पनि यिनै पचास ऊँटका हौदा जस्तै हुन् । एउटा सुते अर्को उठ्छ । कुनै समस्या सहजै सुल्झिन्छ, कुनैलाई कति प्रयत्न गर्दा पनि सुल्झिदैन । लौ भयो त भनेर माया मार्यो  फेरि सुल्झिन्छ । सबै ऊँट सुताएर सुत्छु भन्नु र समस्याजति सबै सुल्झाएर ढुक्क हुन्छु भन्नु उस्तै हो । अब त कुरा बुझ्यौ होला ।”

        यो नन्दुको बतासे गफ मात्र थिएन । भूइँचालाले उत्पन्न गराएका हजार समस्याहरुको एउटा समाधान पनि थियो । यसरी भूइँचालाको सम्झना मात्रले पनि नन्दु दादाका चित्र अगाडि आउँछन् । हँसी ठट्टामा पाका दादा आफ्नो कलप लगाएको जुल्फी फर्काएर घोप्टे जुँगा हल्लाउँदै सुसुप्त रुपमा कतै आत्मज्ञान बाँडिरहेका होलान् जस्तो लाग्छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 25 February 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday 12 February 2022

एक रातो गुलाफ तिमीलाई

 प्रिय कबीर,

                धेरै दिनपछि दिन उघ्रिएको छ । त्यसै त जाडोको मौसम, त्यसमाथि धुम्मिएका दिनहरु, सिमसिमे पानी अनि यो अदृश्य कोरोना भयले मलाई घरभित्रै थुनिदियो । चिया पकाएर पिउन समेत झिँजो लाग्छ आजकल त । सिरकभित्र पसेर पढिरहनु र मन उडाइरहनु मात्र मेरो दिनचर्या भएको छ केहि दिनदेखि । म केहि दिनदेखि तिमीलाई इमेल लेखौँ भनेर सोच्दै थिएँ । त्यो विचार पनि चिसोसँगै कठ्याङ्ग्रिएर बसिरह्यो । आज मात्र मनै उज्यालो हुनेगरि झलमल्ल घाम लागे ।


        मैले सोचेँ, एउटा गुलाफ तिमीलाई दिनुपर्ला फेब्रुवरी १४ पारेर । हुन त वैंशलाई दफन गरिसकेका उमेरका मानिस हामी । तैपनि त्यसले अर्थ राख्ला नि त । एउटा टिनएजरले दिने गुलाफ र अधवैँशेले दिने गुलाफमा भावात्मक फरक हुन्छ नि । आलाकाँचाहरु काँढारहित गुलाफ खोज्दछन् । भरिसक्ये रातै रंगको होस् त्यो गुलाफ भन्ने ठान्छन् । मलाई पनि रातै गुलाफ दिन मन छ तर काँढा सहितकै । त्यो प्राकृतिक नै होस्, आफ्ना भागको काँढा बोकेको । फेरि मैले तिमीलाई सर्प्राईज दिने विचार गरिन । एउटा गुलाफ लिएर म आउनेछु र हामी कफीसँगै पुराना गफ गर्नेछौँ । यो पुनर्मिलनको समय हुनेछ । हामी काँढाहरु सहितको गुलाफलाई साक्षी राखेर एक एक कप कफी पिउनेछौँ ।

        यो गुलाफ सम्झिँदा मैले सोचेँ– किन मानिसहरुले गुलाफलाई नै प्रेमको प्रतीकका रुपमा लिए होलान् । मखमली फूललाई छानेको भए पनि त हुन्थ्यो । रातै चाहिने भए लालुपाते थियो या घन्टी फूल पनि सुन्दर नै हुन्छ । फेरि आफ्नै मनले भन्यो– यो गुलाफको सर्वव्यापकताको र उपलब्धताको कारणले होला । यो फूल शायद संसारभर उपलब्ध हुँदो हो । अनि अरु फूलले भन्दा गुलाफले बढि स्याहार पनि खोज्छ । अनि प्रेमको प्रतीकको अर्थ म आफैंभित्र खुलेर आयो । यसको कोमलता, यसको माधुर्य र सौन्दर्यले गर्दा नै यो फूल अब्बल बनेको हुनुपर्छ । यी तीखा काँढा नहुँदा हुन् त कति सजिलै निमोठिन्थे होलान् गुलाफहरु । अनि यसका पत्रहरु मानव मनका पत्रहरु जस्तै । बडो जतनले मात्र चलाउन मिल्ने ।

        कबीर, मैले तिमीलाई धेरैपटक ब्रुसका बारेमा भनिसकेकी छु । बीस वर्षकै उमेरमा बास्केटबल खेल्ने क्रममा लडेर ढाडमा चोट लागेर असहाय जस्तो बनेको ब्रुस बढो दयालु मानिस हो । मैले भेट्दा नै ऊ झण्डै साठी वर्षको थियो । आफ्नी नब्बेमाथिकी आमासँग अष्ट्रेलियाको मेलवर्न सबर्बमा बसिरहेको इरानी मूलको ब्रुस र उसकी आमा गुलाफकै पर्याय थिए मेरालागि । आफ्ना घर अगाडिको फूलबारीमा उसले गुलाफ मात्र लगाएको थियो । बिहान बेलुकै आमा छोरा ती फूलमा पानी हाल्थे अनि झार उखाल्थे । ब्रुस बढो जतनसँग कैंचीले गुलाफका फूलसँगैका हाँगाहरु काट्थ्यो र उसका बैठककोठाका फूलदानहरुमा सजाउँथ्यो । प्रशस्त फूल फूलेको समयमा एकदिन आफ्नो बक्र काया लिएर ऊ मेरो ढोकामा आयो र आवाज दियो । ढोका खोल्दा ब्रुस एउटा फूल लिएर ढोकामा उभिएको थियो । “दिस इज फर माइ सिस्टर । ह्याप्पी भ्यालेन्टाइन डे,” उसले भन्यो । यो दिन त प्रेमीहरुलाई छुट्याइएको दिन हैन र ब्रुस ? भन्दा उसले बहाउल्लाहको भनाइ उद्धृत गर्दै हामी सबैले एक अर्कालाई प्रेम गर्ने भएकाले सबैलाई उत्तिकै महत्व राख्ने दिन हो भनेर मलाई बुझायो। ब्रुसको गुलाफले विशुद्ध प्रेमको प्रतिनिधित्व गर्थ्यो । त्यो उत्कट प्रेमीहरुले दिने जस्तो विषय, बासना र आसक्तिविहीन गुलाफ थियो ।

        कबीर, म यसपाली तिमीलाई यस्तै विशुद्ध प्रेमले भरिएको एउटा रातो गुलाफ दिन चाहन्छु । त्यसको बदलामा एउटा कविता तिमीले पक्कै सुनाउने नै छौ । एक कप कफी र एउटा कविताले कसरी समय रोक्न सकिएला र ? मलाई जस्तै तिमीलाई पनि सिनेमामा रस हुँदो हो त हामी त्यस विषयमा पनि कुरा गर्न सक्थ्यौँ । शायद हामी पुराना दिनमा फर्किन सक्छौँ । तिमी मलाई सोध्न सक्छौ किन हामी पुराना दिनहरुको सम्झना गर्दै त्यहि समयका कुरा दोहोर्याउनमा मज्जा मान्छौँ ? तिमीले र मैले एउटै कुरा नसोच्न सक्छौँ । मलाई त बारम्बार त्यो कुरा मनमा आइरहन्छ– हामी किन पुराना दिनमा फर्किन चाहन्छौँ ? पुरानो सौर्य, कान्ति र प्रतिष्ठा फेरि फेरि पनि खोजिरहन्छौँ ? तिमी शायद भन्छौ होला– अरु केहि उपाय नै छैन । भविष्य त कसरी बताउन सकिन्छ र ? हो, भविष्यका कुरा सबै काल्पनिक नै हुन्छन् । अनि वर्तमान त क्षणीक हुन्छ । वर्तमानमै टेकिरहन त ठूलो साधना चाहिन्छ । मन फुत्तै चिम्लेर विगततिर पुगी नै हाल्छ । तर सबै विगत कहाँ उत्साहप्रद हुन्छ र ? सामाजिक कसीमा अव्यवहारिक लाग्ने सम्पूर्ण विगतलाई हामी आफ्नै मनभित्र खाल्डो खनेर गाडिदिन्छौँ । ती नमीठा विगतका यादहरु नदोहोरिउन् भन्छौँ तर पानीभित्र डुबाउन खोजिएका बेलुनजस्तै ती माथिमाथि उत्रिरहन्छन् । तिमीलाई त्यस्तो लाग्दैन कबीर ? मलाई त एउटा गुलाफको फूलले हाम्रो सिङ्गो मनलाई प्रतिविम्वित गरेको जस्तो पनि लाग्छ । एउटा सुन्दर गुलाफको फूल अनि काँढाहरु । काँढा बिनाको गुलाफको फूलको परिकल्पना गर्न सकिँदैन । त्यस्तै त होला हाम्रो मन पनि । सुन्दर र असुन्दर विचारहरुको फूलबारी । यसले हाम्रो जीवनकै पनि प्रतिनिधित्व गरेजस्तो लाग्छ बेला बेला – सुख अनि दुःख, फूल र काँढाको संमिश्रण जस्तो ।


        सिनेमाको कुरा गर्दा मैले भर्खरै मात्र एउटा सुन्दर सिनेमा हेरेकी थिएँ । त्यसमा एउटा प्रेमीले प्रेमिकालाई दिन भनेर सोह्र वर्षको उमेरदेखि प्रत्येक वर्ष भ्यालेन्टाइन डे का दिन सुन्दर गुलाफको फूल किन्छ । तर के के व्यवधान आइपर्छन् र ऊ फूल दिन असमर्थ हुन्छ । ती फूलहरुलाई ऊ सुकाउँछ र जतनसँग राख्छ । दर्जनभन्दा बढि सुकाएका फूलहरु कुनै दिन त मौका पर्ला अनि दिउँला भनेर पर्खिरहेको हुन्छ । ती प्रेमीहरुका बीचमा भेटघाट र बोलचाल नभएको अवस्था भने होइन । ऊ केवल भ्यालेन्टाइन डे कै दिन गुलाफको फूल उपहार दिन चाहन्छ । तर दुर्भाग्यवश् त्यो दिन कहिल्यै आउँदैन । उसकी प्रेमिकाको एकदिन कार दुर्घटनामा मृत्यु हुन्छ । अन्त्यमा, त्यो प्रेमी ती फूलहरुलाई लगेर भ्यालेन्टाइन डे कै दिन पारेर चुपचाप आफ्नी प्रेमिकाको चिहानमाथि चढाइदिन्छ र भन्छ, “पश्चाताप छैन । यी तिम्रा लागि भनेर छुट्याइएका फूलहरु मैले तिमीसम्म पुर्याएको छु है ।” यी मर्मस्पर्शी हरफहरुले मेरो मन हुँडलेर ल्यायो । तिमीलाई सम्झेर केहि क्षण नयननीर (यो शब्द मैले गोपी दाजुबाट सापटी लिएको है कबीर) झारेँ । जीवनको क्षणभंगुरताको पराकाष्ठा देखाइएको यो सिनेमा मेरो मथिंगलमा अझै  आलै भएर घुमिरहेको छ ।

        कबीर, त्यही फिल्मको प्रभावमा परेर मैले तिमीलाई फूल दिने निर्णय गरेको भन्ने तिमीले ठानेका छौ भनेँ तिमी गलत । एउटा गुलाफ मैले त्यो सिनेमाको पात्रले झैं मनमनमा तिमीलाई दिने इच्छा गरेकै हो । तर मनमा राखेको फूल नओइलाउँदो रहेछ । हरेक भ्यालेन्टाइन डे मा दिउँला भनेर मनमै साँची राखेका फूलहरु मनमा मगमगाउँछन् । तर यसपाली भनेँ (सिनेमाकै प्रभाव होला) तिमीलाई एउटा फूल दिइछाड्ने बाचा गरेकी छु । यो क्षणभंगुर चोला, एउटा फूल दिन नपाई ओइलाइजाला कि भनेर नि ।

       


    अँ कबीर, यो सिनेमा स्क्रिनको कुरा गर्दा फेरि तिमीलाई सम्झिन पुगेँ । तिमी भन्थ्यौ नि हामी स्क्रिनभित्रका दृश्यावलीसँग बग्दै जान्छौँ; तिनै दृश्यहरुसँग बहकिन्छौ तर स्क्रिन देख्दैनौँ । संसारलाई पनि एउटा त्यस्तै ठूलो सिनेमाको स्क्रिन मानेर हेरिहेर त भनेर तिमीले भनेको म कहिल्यै बिर्सन्न । साँच्चै नै एक्लै बसेर यो विशालकाय संसारको आँखाभरिको दृश्य हेर्दा त मलाई ठूलो पर्दामा सिनेमा हेरेकै भान हुन्छ । तर त्यो एकाग्रता कहाँ टिकिरहन्छ र !

        म फेरि पनि त्यहि सिनेमाको पात्रका हरफ सम्झिरहेछु । अस्तिसम्म आफ्नो फूलबारीमा पानी हाल्ने ब्रुसकी आमा मरियम बितेको खबर सम्झिन्छु । अब एउटा गाढा रातो रंगको गुलाफ लिएर म भ्यालेन्टाइन डे कै दिनमा तिमीलाई भेट्नेछु । त्यो एउटा नओइलाउने फूल हुनेछ । त्यो फूल हाम्रो जीवनको क्षणभंगुरता सम्झाउने एक प्रतीक हुनेछ । म फूल लिएर अवश्य आउनेछु, पर्खिराख है कबीर ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 11 February 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Friday 4 February 2022

पैसाको बिस्कुन

 



        दन्त्यकथा जस्तो लाग्ने बाल्यकालको एक घटना म सम्झिन्छु । एउटी वृद्ध हजुरआमा हुनुहुन्थ्यो । उहाँ मेरी साथीकी बुढीफुपू हुनुहुन्थ्यो । सानैमा बैधब्य बेहोर्नुभएकी बूढी मान्छेको यस्तै दुई तीन वर्ष अगाडि मृत्यु भयो । सात वर्षमा विवाह भएकी ती हजुरआमाले एघार वर्षको उमेरमा नै पति गुमाउनुभयो । त्यत्रो लामो पट्यारलाग्दो जीवनमा कति निराशाको भारी लिएर बाँच्नुभयो होला उहाँ । हो
, तिनै बुढीफुपू एकदिन हिउँदका समयमा कौशीमा घाम ताप्न बसिराख्नु भएको थियो । हामी खेल्दै खेल्दै त्यहीं पुग्यौँ । उहाँले सानो सुकुलमा नोटहरु सुकाउन राख्नुभएको रहेछ । ती नोटहरु हावाले उडाउला भनेर ससाना गिट्टीहरुले एकएक गरी थिच्नुभएको रहेछ । हामी पैसा चिन्ने भइसकेका थियौँ । फुपूसँग भएको नोटहरु देखेर अलिकति त लोभ पनि पलायो तर क्षणभरमै हराइगयो । किन यसरी पैसा सुकाउनु परेको नि भनेर सोध्दा उहाँले भन्नुभयो– “यी कागज हुन् । ओसिन्छन् र नासिन्छन् । यिनको जतन गरे, आफूलाई आड हुन्छ नि ।” हामीलाई उहाँका कुराको भावार्थ बुझ्ने समय कहाँ थियो र ? हामी गट्टा खेल्नमा लाग्यौं । शायद निसन्तान फुपूको आड भरोसा ती निस्प्राण नोटहरु थिए होलान् ।

          साथीको परिवारले फुपूलाई ससम्मान राख्यो । उहाँले जोगाएका पैसा उहाँले खर्च गर्नुपरेन । तर उहाँ बितेपछि ती वर्षौंदेखि जतन गरेका रुपैँयाका मुठा भनेँ उहाँसँगै रहेछन् । मसिनो सूती कपडामा बाँधेर राखेका ती रुपैँया उहाँले आफ्ना कन्तुरमै छाडेर जानुभएको कुरा साथीले मलाई सुनाइन् । शायद यसरी गरेको जुगाड छाडिजानुपर्ने ज्ञान उहाँलाई थाहा थियो होला र त उहाँले एउटा सानो कथा सुनाएको मलाई अझसम्म सम्झना छ ।

          त्यो गोब्रे कीराको कथा थियो । गोबर भनेपछि हिरिक्क हुने र गोबर खेल्न मन पराउने कालो अह्ररो गोब्रे कीरा देखाउँदै उहाँले त्यो कथा सुनाउनुभएको थियो । उहाँ भन्नुहुन्थ्यो – “ल हेर, त्यो गोब्रे कीरा । यसले गोबर भेटेपछि त्यसैमा रुमलिन्छ । दिनभर लगाएर एउटा गोबरको कसार बनाउँछ र साँझ परेपछि ठेल्दै ठेल्दै आफ्नो बासस्थानतर्फ़ लैजान्छ । तर त्यो गोब्रे कसार त्यस प्वालबाट छिर्दैन भन्ने कुरा उसले त्यहाँ पुगेपछि मात्र थाहा पाउँछ । अनि त्यो कसार त्यहिँ छाडेर प्वालमा अलप हुन्छ ।” त्यो कुरा त कथा भन्दा पनि यथार्थ नै थियो । तर त्यस यथार्थको पछिल्लो खण्डमा उहाँ मानिसलाई जोड्नुहुन्थ्यो । मान्छे पनि गोब्रेकीरा जस्तै हो । कति हो कति भारी जम्मा गर्नु पर्ने तर रित्तै बाटो लाग्नु पर्ने । त्यो नीति कथा सुनाउने फुपू पनि अपवाद चाहिँ हुनुभएन क्यारे । उहाँले बाटेका कसार त यतै
छाडिजानुभयो ।

एउटा नयाँ पाठ

          फुपूको देहावसानपछि एकपटक तिनै पुराना कुराहरुका सन्दर्भमा उहाँको बुढेसकाल सुखद नै रहेको चर्चा चल्यो । यसै कुराका क्रममा उहाँलाई ‘राम्रोसँग पालिएको’ भन्ने वाक्यांशमा साथीको बुबाले आपत्ती प्रकट गर्नुभयो र भन्नुभयो – “गाई वस्तु, भेडाबाख्रा, कुकुर, बिराला पो पालिन्छ त । मान्छेले मान्छेलाई पाल्ने भन्ने कुरा त सुहाउँदैन । असक्त अवस्थामा हेरचाह गरिएला, त्यो बेग्लै कुरा हो ।” हो, त्यो कुरा मेरा लागि गतिलो पाठ थियो । हो पनि, कसरी आफ्ना जन्मदातालाई ‘म बाबुआमा पाल्दैछु’ भन्नु ? छोराछोरीहरु त बाबुआमाका कमाई हुन् । जसरी जुन तवरले भए पनि बाबुआमाले छोराछोरी हुर्काएका हुन्छन् र औपचारिक वा अनौपचारिक शिक्षा दिएका हुन्छन् । अनि बाबुआमा अशक्त भएका अवस्थामा छोराछोरीले पालिरहेका हुँदैनन् । तिनले त केवल आफ्नो कर्तव्य निर्वाह मात्र गरिरहेका हुन्छन् । बाबुआमाकै सम्पत्तिका भरमा बसेका छोराछोरीले पनि त्यो ‘बाबुआमा पालेको छु’ भन्ने वाक्यांश प्रयोग गरेको सुन्दा मलाई आजकल बाबुआमाको अनादर गरिएजस्तो लाग्छ ।

          हुन त यी अनादरका श्रृंखला शब्दमा मात्र नभएर व्यवहारमा पनि छ्यापछ्याप्ती पाइन्छन् । आफैंले हुर्काएका र शिक्षित भनिएका छोराछोरीहरुले समेत बाबुआमाका चित्त कुँड्याएका कुरा कथा, उपन्यास र फिल्मदेखि सामान्य जनजीवनमा प्रशस्त भेटिन्छन् । मेरी साथीकी बुढीफुपूले जस्तै बुढेसकालमा नोटका बिस्कुन लगाउँदै गरे अलि माया, प्रेम पाएका घटना पनि छन् ।

          एक व्यक्तिले बाँचेको समय, परिस्थिति र घटनाक्रम उसको पछिल्लो पिँढीले बाँचेको समयभन्दा फरक हुन्छ । यो कुरा दुवै पुस्ताले राम्रोसँग नबुझेको अवस्थामा गृहकलहको जन्म हुन थाल्दछ । हामीभित्र लुकेर रहेका शैतानहरु जाग्दछन् र हामीलाई निहुँ खोज्न हौस्याउँछन् । लियो टाल्सटायको ‘इभान द फुल’ भन्ने पुस्तकमा भएको एउटा शैतानको कथाले कसरी मान्छेको शान्त मनलाई  आफैंभित्र भएको शैतानले उद्वेलित पार्छ भन्ने कुरा प्रष्ट पार्दछ ।

एउटा गरिब किसान अति मेहनत गर्दो रहेछ । जति मेहनत गर्दा पनि प्रतिफल अति थोरै हुँदो रहेछ । तैपनि ऊ जे जति छ त्यसैमा आनन्द मानेर खुशीसँग रहँदो रहेछ । त्यो किसानको खुशी देखेर शैतानलाई सहिनसक्नु भएछ र एउटा दूतलाई दुःख दिन पठाएछ । त्यस शैतानका दूतले जमीनलाई कडा पारेछ । तैपनि किसानले काम गर्न छाडेनछ । अनि त्यसले किसानको खाजा पानी नै लुकाइदिएछ । तैपनि किसान कुनै मभन्दा दुःखी र भोको प्राणीले खायो होला भनेर ढुक्क परेछ । त्यति गर्दा पनि हल्लाउन नसकेपछि शैतानले किसानसँग मित्रता गर्ने र भुल्स्याँउने अठोट गरेछ । अनि शैतानले किसानलाई अर्को वर्ष खडेरी लाग्ने भएकोले धान नरोप, मकै रोप भनेछ । त्यस्तै नै भएछ । अनि शैतानको सल्लाह मानेर उसले रक्सी व्यापार थालेछ । मेहनत गर्न छाडेछ । अझ बढी कमाउने लोभ र रक्सीको लतले गर्दा ऊ व्यभिचारमा समेत लागेर रसातलमा पुगेछ ।

समय समयका कुरा

अघिल्लो पुस्ता एक समयमा परिवारमा पूर्ण निर्णायकको भूमिकामा रहेको हुन्छ । ऊ आफू सेवा निवृत्त भैसकेपछि परिवारको पछिल्लो पुस्ता निर्णायक स्थानमा आइपुग्छ तर अघिल्लो पुस्ताले नै निर्णायक हुन खोजिरहने हो भनेँ कलह शुरु हुन्छ । प्रायशः परिवारका अघिल्ला र पछिल्ला पुस्ताका बीचमा आउने समस्याका कारक तत्व यिनै हुन् । अघिल्लो पुस्ताले हरेक निर्णयमा हस्तक्षेप गर्न खोज्नु र पुरानो समयकै किसिमले चल्न खोज्नु अनि नयाँ पुस्ताले त्यस कुरालाई नस्वीकार्ने स्थितिले गर्दा असमझदारीको विकास हुँदै जान्छ र शैतानले खेल्ने मौका पाउँछ ।

          आमाबाबुले गरेको त्यागलाई एउटा स्याउको रुखको चीनियाँ कथाले


यसरी बुझाउँछ । एक समयमा एउटा ठूलो स्याउको रुख थियो । एउटा सानो बालक त्यस रुखका फेदमा खेल्थ्यो र रुखले पनि केटालाई असाध्यै माया गर्थ्यो । केटो रुखमा चढ्थ्यो अनि स्याउ टिपेर खान्थ्यो र त्यहिँ हाँगामा सुतेर आराम पनि गर्थ्यो । बिस्तारै केटो ठूलो भयो । रुखका वरिपरि आउन छाड्यो । एकदिन रुखका छेउबाट हिंडिरहेको केटालाई रुखले आएर खेल्न निम्तो दियो । तर केटाले भन्यो, “मलाई तिमीसँग खेल्ने मन छैन । म अब ठूलो भएँ । मलाई खेलौना किन्न मन छ तर पैसा छैन ।” रुखले उदारतापूर्वक स्याउ टिपेर लाने र बेचेर खेलौना किन्ने उपाय सुझायो । केटाले पनि त्यसै गर्यो। केटो फेरि धेरै वर्ष हरायो अनि एकदिन केटालाई देखेर रुखले बोलायो । तर केटाले आफूलाई फूर्सद नभएको कुरा सुनायो । “मलाई काममा जानु छ । एउटा घर बनाउनु छ । पैसा छैन,” भन्यो । रुखले उसलाई आफ्ना हाँगा काटेर लगेर घर बनाउन उपाय सिकायो । केटो फेरि वर्षौँ हरायो । अनि एकदिन फेरि रुखले खेल्न आग्रह गर्दा भन्यो, “म अब बूढो भएँ । मलाई एउटा नाउ भए यसो समुद्र विहारमा जान्थेँ,”। रुखले उसलाई काटेर नाउ बनाउने सल्लाह दियो । अलि समयपछि त्यो मान्छे फर्केर आउँदा रुखले भन्यो, “अब मसँग तिमीलाई दिन केहि रहेन । केवल जरा बाँकी छन् । ती पनि मक्काइसके । यिनलाई सिरान हालेर सुत ।” त्यो मान्छेले पनि रुखले भनेजस्तै गर्यो ।

          यो रुखको कथा हामी सबैको कथा हो । त्यो रुख हाम्रा बाबुआमाको विम्व हो । साना हुँदा हामी खुशीसँग बाबुआमाका वरिपरि खेल्छौँ । हामी हुर्किएपछि आफूलाई केही चाहियो भनेँ वा केही समस्यामा परेपछि मात्र बाबुआमा सम्झिन्छौँ । जुनसुकै परिस्थितिमा पनि बाबुआमा हामीलाई हामीले खोजेको कुरा दिन तयार नै हुन्छन् । उनीहरु रुखजस्तै सधैं रित्तिन तयार हुन्छन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 4 February 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]