Tuesday 27 December 2022

ढिलो नहुँदो रहेछ

 

        चीज र रक्सी जति पुरानो भयो, उति स्वादिलो हुन्छ भन्छन् । यो लेखन भन्ने कुरा पनि उमेरसँगै खारिने रहेछ । उमेर छउन्जेल हजारौँ झै झमेलाले मान्छेको लेखन कार्य ओझेल पार्ने रहेछ । लेखन शक्ति हुँदाहुँदै पनि सांसारिकताले अठ्याएर त्यता फर्किन नदिँदो रहेछ । हामीले दिनदुनियाँका अदृष्य धापमा हिँड्नुलाई जीवन पर्याय मानिल्याएका छौँ । त्यस अर्थमा एउटा गोडो उचाल्यो अर्को गोडो भासिएर रसातलमा पुग्ने रहेछ । अनि जीवनका अति महत्वपूर्ण मानिएका कर्महरु समाप्त गर्दै लगेपछि अलिकति डाँडाको सिर्सिरे बतासमा बसेर जीवन चिन्तन गरेपछि बेहोशीबाट बौरिएजस्तो मानिसलाई चेत पलाउने रहेछ । आजसम्म मैले के गरेँ त भनेर सोच्दा उहि सबैले गरेको कर्म नै गरिएको हुने रहेछ । जीवन तँछाड, मछाड, ठेलाठेल, घुस्साघुस्सी गर्दै रेलवे स्टेसनमा रेल पर्खिबसेका यात्रु भन्दा पर्तिरको केहि नहुने रहेछ । जहाँ जुन कुनामा बसेपनि, जे जे खाएपनि, जस्तै आलिसान जीवन बिताएपनि आगमन र बहिर्गमन एकै हुने रहेछ । हाम्रा गन्तव्य फरक होलान् तर यात्रा अनुभव उस्तै उस्तै हुन् ।


            दमकमा चिनिएका तीन गुरुहरु नारायण प्रसाद फुँयाल, पदम प्रसाद ओली र कमलराज भट्टराईले सेवानिवृत्त भैसकेपछि भर्खरै एक एक पुस्तक प्रकाशन गरे । फुँयाल सरको समीक्षा सम्बन्धी पुस्तक केही नवीन कृति समीक्षा, ओली सरको संस्मरणात्मक निबन्ध संग्रह स्मृतिका छ थुङ्गा उपहार र भट्टराई सरको सम्झनाका गोरेटोमा छब्बीस पाइलाहरु  नामक संस्मरणात्मक निवन्धहरुको संगालो एकैचोटि प्रकाशन भए । झण्डै चार दशकजति उनीहरुले शिक्षण कार्य गरे । सानो टुहुरे दमक बजारलाई अहिलेको वृहत् शहरको रुपमा फैलिएको देख्ने साक्षी बने । यसबिचमा व्यवस्थाहरु बदलिए । उनीहरुले पढाएका विद्यार्थीहरुले सातै महादेशमा आफ्ना सुकर्म गरिरहेका होलान् । यी समयक्रममा खारिएका गुरुहरु अहिलेमात्र लामो धपेडीपछि खोला तीरमा सुस्ताएका छन् । सेवानिवृत्त भएको निकै समयपछि, उनीहरुकै शब्दमा ‘हाम्रा पनि गुरु महागुरु’ डा. गोविन्दराज भट्टराईले उनीहरुलाई झक्झक्याएछन् । यो आजसम्मको ज्ञान र परिपक्वतालाई लिपीवद्ध गर्न हौस्याएछन् । अनि एकैचोटि कलमहरु उठे — तीनवटा पुस्तक निस्किए । आकारमा साना होलान् । लेखनी उत्रो चहकिलो नहोला तर उनीहरुको आँट, शाहस र उत्साह प्रशंशनीय छ, वन्दनीय छ । गुरुले त भित्रको ज्ञानरुपी दियोमा सलाई पार्दिने त हो । तेल त आफै थप्दै गर्नुपर्छ । पुस्तक प्रकाशित भैसकेपछि तीन गुरुहरु महागुरुका पछि लागेर मणीपुर दौडिए — एक एक अंगालो पुस्तक बोकेर । उताको नेपाली साहित्यवृत्तमा पुस्तक विमोचन गरे । अनि हुर्दुराउँदै दमकमा एउटा लोभलाग्दो समीक्षा गोष्ठी गरे । त्यो थकान नमेटिँदै महागुरुका पछि लागेर च्याङथापु पुगे, इलाम भ्याए अनि फिदिममा समेत आफ्ना अनुभव सुनाएर आए ।

            पठनपाठन कर्ममा जीवन बिताएका; लेख्नुपर्छ, पढ्नुपर्छ भनेर हजारौँ शिष्यहरुलाई रटाएका गुरुहरुले आफै पुस्तक लेखेर समाजमा ठूलो उर्जा भरेका छन् । जीवन बचाईका क्रममा उनीहरुले देखेका र भोगेका कुराहरुलाई लिपीवद्ध गरिदिएर एक किसिमको गुण लगाएका छन् । त्यो भन्दा पनि ठूलो कुरा एउटा पेशाबाट निवृत्त भएपछि अर्को सुखानुभूति हुने युगान्तकारी मार्ग उनीहरुले समाएका छन् । मेरो दृष्टिकोणमा उनीहरु सच्चा अर्थमा गुरु हुन् र जीवनभर उनीहरु विविध रुपमा मार्गदर्शक नै रहिरहने छन् ।

            हाम्रा आँखा अगाडि तीन गुरुहरुले अहिले यो उदाहरणीय कार्य गरेपनि मानव समूदायमा भनेँ यस्ता जाँगरिला गुरुहरु धेरै पहिले देखिएका हुन् । ठ्याक्कै मैले चर्चा गरेजस्तै एकजना आइरिस लेखक फ्र्यांक म्याकोर्टलाई म सम्झिन्छु । उनले पनि  हाइस्कूल शिक्षणबाट सेवानिवृत्त भएपछि नै लेखेको पुस्तकले पुलिट्जर पुरस्कार पाएको थियो । म्याकोर्टको ‘एन्जेलाज् यासेज्’ मैले दुईपटक पढेकी छु । उनको लेखनी, कथाले तान्ने जादूमय तरिका देखेर मैले एक्लै ओहो ओहो, ओहो भनेकी छु । आफ्नो गरीबीले धसारिएको बाल्यकाल, बसाइ सराइ र आमाको सम्झनाले भरिएको म्याकोर्टको लेखाइले मेरो तन्तु तन्तुमा छोएको छ; त्यसै मोहले तानिएर त्यसको दोश्रो खण्ड इट इज पनि नपढि सकिँन मैले । उनको तेश्रो पुस्तक टिचर म्यान मलाई सबैभन्दा मन पर्नेमध्ये एउटा पुस्तक हो । आयरल्याण्डमा म्याकोर्टले भोगेका दुःख हुन् वा नेपालमा हाम्रा अग्रजहरुले, प्रकारान्तरले उनीहरुले एकै किसिमका दुःख बेहोरेका हुन् । ती पुस्तकमा वर्णित कुरा जस्तै मानिसले  युगौंदेखि अजङ्गका दुःखका पहाडहरु भत्काउँदै आएको छ । ठूला ठूला पीडाका, दुःखका र कष्टका भारी बोक्दै आएको छ ।


            म्याकोर्टले भोगेका आफ्नै समयको कथाले संसारभरका पाठकलाई मन्त्रमुग्ध पारेको छ । हामी सबैका आफ्ना आफ्ना कथा छन् । यी कथाका शब्दहरुलाई उचित रुपमा प्रस्तुत गर्ने र समायोजन गर्न सक्ने हो भनेँ अरुको मन छुन सक्छ । लेखनलाई ढिलो नुहँदो रहेछ । बेलायती लेखक मेरी वेस्लेले सत्तरीका उमेरमा पहिलो उपन्यास ‘जम्पिङ्ग द क्यू’ प्रकाशन गरिन् । प्रकाशनपश्चात् त्यो किताबको तीस लाख प्रति विक्री भैसकेको छ । यी पछिल्ला समयमा जागेका लेखकहरुको लामो सूची देख्दा मलाई थोरोको एउटा भनाइ स्मरण हुन्छ — ‘जीवन नै नजिएकाहरुले कलम समाएर लेख्न बस्नु व्यर्थ छ ।’ त्यस अर्थमा थोरोले अनुभवलाई लेखनको जरो हो भन्न खोजेका होलान् । अनुभवले खारिएर परिपक्व दिमागले जे जति कुरा विवेकपूर्ण तरिकाले प्रस्तुत गर्छ, त्यति आलाकाँचाले पक्कै सक्दैनन् । सेवा निवृत्त भैसकेपछि आफ्नो जीवनी लेख्नेहरुको त यहाँ बाढि नै लागेको छ । स–साना जागिरेहरुदेखि लिएर सूर्यबहादुर थापा, रुक्माङ्गद कटुवाल अनि अरु धेरै राजनीतिज्ञहरुका जीवनी आइसकेका छन् । तर ती ठूला मान्छेहरुका बडा कथा भन्दा भुइँ मान्छेका, औसत मान्छेका कथाहरु नै रोचक हुन्छन् । आउनोस् हामी पनि हाम्रा कथा लिपिवद्ध गरौँ । यो जीवनका सन्तुष्टि र असन्तुष्टिहरुलाई शब्दमा उतारौँ ।

         


   हाम्रा कान्छा काका ससुराबाले चौरासीका उमेरमा एउटा र पचासीमा अर्को पुस्तक आफ्नै जीवन भोगाइका विषयमा लेखेर हामी सबैलाई उर्जा दिनुभयो । मौखिक वार्तामा आधारित ‘हाम्रा पनि कथा छन् प्रकाशनमा आएपछि झण्डै असीकै हाराहारीकी कान्छी काकी सासूका समयका कुरा हामीले पनि पढ्न पायौं ।

            लेखनकर्म धेरै अर्थमा दवाइ नै पनि हो । यो कार्य मुख्यतयाः दिमागी औषधि हो । अझ समय घर्किँदै गएपछि, छेउमा बसेर कुरा सुनिदिने मान्छे नभएपछि मनमा तिक्तता लिएर बसिरहनुपर्ने अवस्थामा एक पाना कागज भर्न सके, मनका कुरा कोर्न सके अर्कै महसूस हुने रहेछ । ती कुरा कसले पढ्ला भन्नु नपर्ने रहेछ । मेरो आफ्नै अनुभवमा पनि जब जब म मेरा दिवंगत माता पितालाई सम्झन्छु — उहाँहरुका लेखनी हेर्छु । बुवाका पुस्तकहरु पढ्छु अनि मुवाँका दैनिकी लेखनीले भरिएका डायरीहरु हेर्छु । तास खेल्नु, जुवा खेल्नु, गफमा समय गाल्नुलाई दुर्व्यसन भनेपनि लेखेर र पढेर सेवानिवृत्त जीवन जिउने उत्तम कार्य गर्न सकिन्छ है भनेर मार्गदर्शन गर्ने तीनै जना गुरुहरुमा मेरो आदर भाव प्रकट गर्दछु । यस अर्थमा तीन गुरुहरुले आफ्ना समकालीन मित्रहरुका बीचमा पनि एउटा उदाहरण पेश गरेका छन् । जीवनको सार्थकताको ज्ञान समाजमा प्रवाहित गरेका छन् । आउने पुस्ताका लागि एउटा दस्तावेज तयार गरिदिएका छन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 25 December 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Monday 19 December 2022

चिया कि कफी ?

 

चिया शब्दले तपाईँलाई कस्तो भाव उत्पन्न गराउँछ कुन्नि ? मलाई त चियामा धेरै स्मृतिहरु घोलिए जस्तो हुन्छ । अनि विविध स्मृतिका क्षणहरु याद गराउँछ । बेलाबेला सोचिल्याउँदा मलाई अचम्म लाग्छ । मानिसहरुले अनेकौँ झारपातहरु मध्येमा चियालाई चिया बनाउन र उमालेर पिउन कसरी सिकेका होलान् ! बयरका दानाजस्ता कफीका दानालाई धूलो पारेर पेय बनाउन कसरी कहिले सिके होलान् ? यसरी हेर्दा त मानव जुनी प्रयोगमै मात्र बितेको जस्तो लाग्ने नि ! एउटा सानो वस्तु भेट्नासाथ त्यसलाई ओल्टाई पल्टाई गरेर त्यसका विविध स्वरुप निर्माण गर्ने खुबी चाहिँ मान्नु पर्छ मान्छेको !


कफीको लत त पछि मात्र बसेको हो मलाई । चिया कि कफी भनेर कसैले सोधे भने कफी नै मेरा छनोटमा पर्छ । त्यसको वास्नाले नै मलाई त कता कता उडाइ लान्छ । ठूला क्याफेहरुमा पसेर कफीका विविध प्रजातिको मेन्यू दोहोर्याएर पढेपनि अन्तिममा क्यापुचिनो नै माग्ने हो । अनि बजारबाट कफीको जार ल्याएपछि बिर्को खोलेर त्यसको वास्ना लिन मलाई औधि मन पर्छ । कफीको वास्नाले मेरो मनलाई उडाइ लाने कुरा म गर्दै थिएँ नि ! मलाई कफीले सबैभन्दा पहिले त मोनाश युनिभर्सिटीको रिसर्च रुममै पुर्याइदिन्छ । किचेनमा पसेर आफ्नो ठूलो मगमा कफी बनाएर नबसुन्जेल त कम्प्यूटर खोल्न पनि मन नलाग्ने । सित्तैमा पाइने कफी अझ बंगाली र भारतीय साथीहरुले दुधैमा मात्र पकाएर खाने गर्थे । उता एउटी सिङ्गापुरकी साथी भनेँ कफीसँग डोनट नखाई नसक्ने । अनि यता शेयर्ड हाउसमा लीस नामकी साथी दिनमा दश कप सम्म कफी खाने । तर इन्डोनेशियन लीसको कफीमा दूध भने हुँदैनथ्यो है । युनिभर्सिटी र अन्य कार्यस्थलमा सित्तैमा कफी पाए पनि किन चित्त बुझ्थ्यो र ? फेरि छुट्टिको बेला त्यहाँ किचेनमा दूध हुँदैनथ्यो अनि अलि पर्तिर भेन्डिङ मेसिनमा खुत्रुक्क सिक्का छिराइदिएपछि स्टेरोफोमका कपमा आफैं तातो कफी झर्ने । क्या मज्जा ! कसरी नापेर ठिक्क मात्र तुर्क्याउन सकेको होला जस्तो लाग्ने नि । युनिभर्सिटीपछि मात्र कफीले मलाई अन्यत्र डोहोर्याउँछ । कफीको अरोमाले मलाई बैंकक अनि नयाँ दिल्लीका एयरपोर्ट लाउन्जको याद गराउँछ । जापान, थाइलैन्ड, साउथ अफ्रिका र अष्ट्रेलियाका यात्राहरुलाई मनको भित्री तहबाट उधिनेर सजीव तुल्याउँछ । 

कफी कल्चर हाम्रोतिर त भर्खरै पस्दैछ । कफी भनेपछि सबै एकै हो कि भनेजस्तो लाग्ने गर्थ्यो मलाई पनि तर होइन रहेछ । तपाईँ अमेरिकानो छान्ने कि, लाट्टे पो हो कि, क्यापुचिनो  हो कि अर्थात् लङ ब्ल्याकतिर पो लम्किने कि ? इन्सट्यान्ट कफीमा त स्वादै हुन्न भन्छन् मेरा साथीहरु । रोस्टेड बिनहरुलाई ताजै पिसेर बनाइएको कफी पो कफी भन्छन् उनीहरु ! हो पनि रहेछ । फेरि कफीका दानाका प्रजाति कति ! सय भन्दा बढि प्रजाति हुने रहेछन् । अनि गुगलमा कफी बारे यसो पढ्दा अर्को रोचक जानकारी पाएँ मैले । इन्डोनेशियामा उत्पादन हुने कोपि लुवाक कफीलाई सबैभन्दा अनौठो र महंगो कफी मानिँदो रहेछ । कारण के रहेछ भने पाकेका कफीका दानालाई एक किसिमको लोखर्के जस्तो जन्तुलाई खुवाइने रहेछ । अनि त्यो जन्तुको बिस्टामा निस्केका कफीका दाना धोइ पखाली गरेर बनाइएको कफीको स्वाद कहिनसक्नु राम्रो हुने कुरा चाखेकै पारखीले भने । ए उदेक ! मान्छेले बाँकी चाहिँ केही राखेन नि !


पहिले पहिले हटियाबाट बोरा बोरामा राखिएका चियापत्ती ल्याइन्थ्यो । उमालेर खाइन्थ्यो । उतिसारो चियाहरुको भेद थाहा थिएन । एउटा ठूलो डिपार्टमेन्ट स्टोरभित्र छिरेर चिया खण्डमा हेर्दा पो रिङ्गटा चल्ने रहेछ । कति थरी चिया । जति स्वाद र प्रजाति भए पनि दूधमा हाल्दा गाढा रंग आउने चिया खोज्दै लाँदा ‘इन्डियन चाय टी’ भेटेपछि मात्र ढुक्क भएको थियो मलाई एकपटक । अहिले त आसाम चियाको पारखी बनेकी छु । गत एक वर्षदेखि निरन्तर आसामे चियाको कोशेलीले थेगेको छ । माथि च्याङथापुको लेखबाट हिउँले खाएको चिया र सिल्भर टी भन्दै कहिलेकाहिँ लोकल नेपाली चिया पनि कोशेली स्वरुप फेला पर्छ ।

सडक किनारामा पाइने चिया जत्तिको गाढा र चखिलो चिया त रेस्टुरेन्टतिर पाएकी छैन मैले । अझ भन्ने हो त तराई भेगको चिया मीठो । लोकल भैंसीको दूधमा बनाइएको बाक्लो चिया पिउनुको आनन्दै अर्को । अझ माटोको कपमा हालेर दिएको चियाको त कुरै नगरौँ । हल्का माटोको सुगन्ध आउने चिया ! अहिले त त्यहि चियालाई कहिले बाँसको ढुङ्रामा पकाएर त कहिले तातो बालुवामा उमालेर पनि बनाउने चलन आएको छ । चियालाई हामी नेपाली, बंगलादेशी, भारतीय र पाकिस्तानीले जस्तो गाढा बनाएर त अरुले पिउँदैनन् होला जस्तो लाग्छ । एकताका अष्ट्रेलियामै रहेका बेला बर्मीज शरणार्थीहरुलाई पढाउन जाने गर्थें म । पहिलो दिनमै ती बर्मेली महिलाले दिएको चिया खानू कि फाल्नू जस्तो भयो मलाई । यति गुलियो र कडा थियो कि, के भन्नु र ! त्यस दिनदेखि उनीहरुकोमा चिया खान बन्द गरेँ मैले । त्यसै गरी भियतनामी साथीहरुले खुवाएको कालो कफीले पनि मलाई काबू पारेको छ । हुरुक्कै पार्ने तीतो !

आतिथ्यको सजिलो उपाय भएर होला चिया प्रचलित भएको । अल्छि लागे पनि चिया, फूर्सदमा पनि चिया, थकानमा पनि चिया । चियै चिया । एक पटक एकजना विदेशी साथीले भन्थ्यो, “मैले त नेपाल घुम्दा एक दिनमा पन्ध्र कप सम्म पनि चिया पिएँछु । दूध हालेको लटक्क परेको चिया धेर भएर मेरो त भोक निन्द्रै हरायो । टि टि टि टु मच टि” भन्दै हाँस्थ्यो त्यो । उनीहरु आफैंले चिया बनाउँदा भने दूध, चिनी, चियापत्ती र चिया मसला हालेर भकभकी पकाएको देखिँन मैले । उनीहरु तातो पानी छुट्टै, चिनी छुट्टै र चियाका पोका छुट्टै राखेर आफ्ना खुशीले मिलाएर खान्छन् । यस्तो बाक्लो चिया खाने हाम्रो जीब्रालाई त्यस्तो किर्तने चियाको त स्वादै नहुने । बरु चिया कमानतिर एउटा ठूलो कित्लीमा पाकिरहने पातलो रातो चियाको स्वाद मीठो । बगानमा काम गर्ने कमानेहरु आफ्ना आफ्ना मग भर्छन् र चियालाई पानीका रुपमा सिरिप सिरिप पार्छन् । अनि फेरि कित्लीमा पानी थपिन्छ । एक छुस्को चियापत्ति पनि थपिन्छ । भूटानतिर पनि ठूला डबकामा भरी पातलो फिका चिया खाने चलन थियो क्यार । हाम्रो घरतिर बा आमा त्यसै गर्नुहुन्थ्यो । थोरैले उहाँहरुको धितै नमर्ने । 


पहिले पहिले हाते पत्ती भनेर खस्रो चिया पाइन्थ्यो । त्यसलाई फिका चिया खानमा प्रयोग हुन्थ्यो । अहिले ग्रीन टी प्रचलनमा छ । चियाको गुणवत्ताको कुरा गर्ने क्रममा एकजना सज्जनले नौलो कुरा सुनाएका छन् मलाई । उनी चाहिँ ग्रीन टी उमालेर बाँकी भएका छोक्रा जम्मा गर्ने रहेछन् । अनि ती ढाडिएका छोक्रालाई मसिना किचिरे आलुसँग मिसाएर भुटेर तरकारी पो खाने रहेछन् । त्यस्तो गर्न चाहिँ मलाई अहिलेसम्म जाँगर चलिहालेको छैन । तर चियाका छोक्रा भने हल्का चपाउन थालेकी छु म ।

अनि चिया कफी नै नखाने साथीहरु पनि भेटेकी छु मैले । कुनै हानी नोक्सानी गरिनहाल्ने चिया कफी किन नखाएका होलान् जस्तो लाग्छ मलाई । चियाकै कुरा गर्दा मलाई एकजना छट्टु साथीको याद आउँछ । क्याम्पस पढ्दा साथीहरुका समूहहरु हुन्थे । आफ्ना समूहका सदस्यहरुले एक एक दिन सबैलाई चिया खुवाउने पालो हुन्थ्यो । त्यो छट्टु साथी पनि समूहमा छिरेर दुई चार दिन चिया खान्थ्यो र उसको पालो आउने बेलामा अर्कै समूहतिर पसेर गफमा व्यस्त भएजस्तो गर्थ्यो । म आउँछु है भन्न पनि नछाड्ने तर पालो आएपछि अर्कातिर लाग्ने । क्याम्पस सकिएसँगै हराएको त्यो साथी फेला परेको छैन । कहिँ कतै चिया दाउ गरिरहेको होला त्यो मित्र ।

चिया कफीसँग गाँसिएका हजारौँ याद छन् । हरेक दिनका चियासँग नयाँ कुराहरु गाँसिइरहेका हुन्छन् । त्यसैले चियासँग हजारौँ यादहरु घोलेर पिइरहेकी हुन्छु म । तपाईं चाहिँ के रोज्नुहुन्छ — चिया कि कफी ?

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 16 December 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Sunday 11 December 2022

त्यो रात

 

मानिसको जन्म र मृत्युमा साइत हेरिंदैन । हुन त आजकल जन्माउने समयको शुभ साइत पनि हेरेर अप्रेसन गरिकन बच्चा जन्माउने पनि निस्केका छन् । तर ती कुराहरु प्राकृतिक चाहिं होइनन् । अन्य सबै कार्यका लागि हामी साइत हेर्छौं । साइतले पनि सधैं काम चाहिं गरेजस्तो लाग्दैन मलाई । कतिपय साइतमै शुरु गरिएका कामहरु बिथोलिएका छन्, भाँडिएका छन् । 


  

          केहि दशक अगाडिकै घटनाका बारेमा म चर्चा गर्दैछु । हरेक दिनको दैनिकी भित्र पर्ने भएरै पनि यो साइत र कुसाइतको सीमारेखा बाहिरकै घटना हो । यो घटना आजभन्दा धेरै अगाडिको भएपनि मलाई हिजो अस्ति घटेजस्तो लाग्छ । त्यतिबेला हाम्रो बसाई कीर्तिपुरको ट्याङ्गलाफाँटमा थियो । त्यस समयको ट्याङ्गलाफाँटको बाटोको कुरा के गर्नु र ! हिउँदमा त ठिकै हो, तर वर्षामा अति बिजोग हुने ! सधैं हिलो ग्याजग्याज ! हिलो बाटो नाघेर सुख्खा ठाउँमा पुग्नका लागि मानिसहरु जुत्ता हिलोले नपुरियोस् भनेर जुत्ता लगाएको ठाउँदेखि घुँडा सम्म टनटनी प्लास्टिक बाँध्थे ।

          युवा उमेरमा जति पनि काम गर्न सकिने समय थियो त्यो । दिउँसोको जागिर भ्याइसकेर काठमाण्डौ शिक्षा क्याम्पसमा रात्रीकालिन कक्षामा पनि म पढाउथें । श्रीमान् को पत्रकारीता पेशाको समय बेटुङ्गाको थियो । तैपनि धेरैजसो उहाँको काम सकिने समय र मेरो क्लास सकिने समय करिब करिब उस्तै भएकाले हामी बाइकमा संगै घर फर्कने गर्थ्यौं । वर्षा मौसमको एक रातको घटना थियो त्यो । कीर्तिपुर रिंगरोडसम्म त समस्या थिएन तर मूलबाटो छाडेर तलतिर झर्नासाथ अनन्त भाष जस्तो बाटो । एक साल त माथि बाटैको घरको एउटा कोठा भाडा लिएर बाइक राख्ने गरेको थियो तर पछि त त्यहि कोठामा पनि भट्टि खुल्यो । जाँडका पारखी भक्मिले साहुले कोठा दिएनन् ।

          श्रीमान् लाई हिले बाटो कटाएर घरसम्म बाइक पुर्याउनु, त्यसमाथि मलाई सुरक्षित पछाडि बसाएर, अति नै चुनौतीपूर्ण काम थियो । एकदमै होशियार भएर उँहा सबभन्दा कम गतिमा बाटाको छेउ छेउबाट बाइक लाँदै हुनुहुन्थ्यो । म कहिले यो हिलो कट्छ र बाइक बाट ओर्लिनु भन्ने सोच्दै डराएर पछाडि दुब्केर बसेकी थिएँ ।

          अलि अगाडि बढेपछि, होस् गर्दा गर्दै, बाइकको सन्तुलन बिग्रियो । मैले          श्रीमान् ले  “ला... !” भन्नुभएको सुनें र अनायास मेरो मुखबाट, “गइयो ?” भन्ने शब्द निस्कियो । उँहाले पनि, “गइयो...,” भन्नुभयो । त्यसपछि मेरो सबै होस् हरायो, म चेतनाशून्य भएँ । जब होस् आयो, तब मैले आफूलाई बाटोभन्दा करिब २० फीट तलको धान खेतमा पसारिएको अवस्थामा पाएँ । चारैतिर अँध्यारो थियो । सबै घटनाक्रम सम्झिनलाई मलाई केहीबेर लाग्यो । आफ्नो चेतना पूर्ण रुपमा फर्केपछि म बिस्तारै उठेर बसें र आँखा च्यातेर वरिपरि हेरें । म भन्दा अलि पर्तिर गोडा पसारेर बसिरहनुभएका श्रीमान् जीको छायाँ देखें । उहाँले बिस्तारै हात लम्काएर मलाई छाम्छुम पार्न थाल्नुभयो । त्यस्तो संकटको घडीमा नि मलाई हाँस उठ्यो र मैले हाँस्दै सोधें, “मरी कि ज्यूँदै छ, भनेर छाम्नु भएको हो ? ” उहाँले मलीन स्वरमा, “अँ,” भन्नुभयो ।


           केहिबेर त्यत्तिकै बसेपछि श्रीमान् लाई बाइकको सम्झना आएछ । “बाइक खोइ त?“ भन्दै उहाँले यताउता हेर्नुभयो । त्यतिन्जेलमा हाम्रा आँखा अँध्यारोमा  अभ्यस्त भैसकेका थिए । हाम्रो बाइक त बाटोको भित्तामा पलाएको तितेपातीको सानो र कमजोर झ्यांङ्गमा पो अड्किएको रहेछ ! बाफ रे ! त्यो बाइक तितेपातीको झ्यांङ्गमा नथामिई हामी सँगसँगै खसेको भए त किचेर ठहरै मार्ने रहेछ नि ! त्यो धान खेतमा कुनै चुच्चो ढुंगा, सीसा अथवा किल्ला भएको भए, र मेरो हेल्मेट नलगाएको टाउको त्यहिँ जोतिएको भए ! यस्ता कल्पनाले मेरो मन सिरिङ्ग सिरिङ्ग हुनथाल्यो ! धन्न त्यहाँ हिलो मात्र थियो !

          हामीमा त्यहाँबाट उठेर हिंड्ने शक्ति आइसकेको थिएन । कहाँ गएर हो हाम्री भतिजी रिचा पनि अलि ढिलै घर फर्कंदै रहिछ । तितेपातीको झाङ्गमा काकाको बाइक देखेर उसलाई उदेक लागेछ र ऊ निहुरी निहुरी, “काका... काका...,” भन्दै बोलाउँदी रहिछ । बीस फीट तलबाट मैले “रिचा...!” भनेर बोलाएको सुन्दा एकछिन् त उसको हंसले पनि ठाउँ छोडेछ र मेरो आवाज पछयाउँदै केहि बेरपछि ऊ  बाटो घुमेर हामी भएको ठाउँमा आइपुगी र हामीलाई लिएर घर गई ।

          घरको उज्यालोमा पो देखियो, म त शिरदेखि पैतालासम्म पुरै हिलै हिलो पोतिएर हिले माछो जस्ती भएकी रहेछु । त्यसैले त अर्की भतिजी सेवा मलाई देख्नेबित्तिकै, “आमा...! सानिमा, के भयो?” भन्दै अत्ताल्लिई र कराई । त्यो कोलाहलले घरका अरु सदस्य र टोल छिमेकका मानिसहरुको पनि शान्ति भङ्ग गरेछ क्यारे । एक एक गर्दै सबैजना हातमा टर्च लिएर आए । माथि झाडीबाट कसैको सहयोग लिएर छिमेकी बनमाली दाइले बाइक घिस्याउँदै ल्याइदिनुभयो ।


          मलाई लाग्छ, त्यो रात मान्छेको कल्पनाभन्दा धेरै बाहिरको कुनै अदृश्य शक्ति आएर हामीलाई बँचाएको थियो । नत्र साधारण अवस्थामा २–३ किलोको तितेपातीको झ्यांङ्गले ८०–९० किलोको मोटरसाइकल थाम्न सक्छ र ? अनि त्यत्रो भीरबाट सिधै तल पछारिंदा कतै, केहीमा नठोकिइ, कुनै ठुलो चोट पटक नलागी सर्लक्क उम्किने सम्भावना कत्तिको हुन्छ ? भोलिपल्ट उज्यालामा आफू लडेको ठाउँ हेर्दा त आङ्ग नै सिरिङ्ग भयो । धन्न बाँचिएछ जस्तो लाग्यो । त्यहाँ त बडेमानका चुच्चे ढुङ्गा पनि रहेछन् । त्यहाँ टाउको बजारिएको भए आजको कथा लेखिने थिएन होला ।

          एकचोटी मेरी माइली दिदीको सानु छोरो ऋषभ खेल्दाखेल्दै  कता हो कारमुनि पसेको थियो अरे । धन्न उसलाई केहि भएनछ ! पछि त्यस्तो कुरो सुन्दा मुवाँले रिसाउँदै माइली दिदीलाई हकार्नु भएको थियो, “ए रंजी ! त्यो छोरोलाई राम्ररी हेर्नु पर्दैन ? त्यो बालखलाई कारले किचेको भए तँ के गर्थिस्?” दिदीले चाहिँ  केहि नभए जस्तो गरेर आरामले जवाफदिनुभएको थियो, “आ... के हुन्छ र ? काल नआई केहि हुँदैन ! भगवानले हात थापिहाल्नु हुन्छ नि !” मेरी माहिली दिदीको जस्तो सजिलो तर्कसंग म  पूर्णतः सहमत नभएपनि हाम्रो त्यो दुर्घनाग्रस्त रातमा भनें भगवानले पक्कै हात थापिदिएको कुरामा म विश्वस्त छु ।

          मथि उल्लेखित दुवै घटना समय र परिस्थितिका उपज थिए । यसमा साइत वा कुसाइतको कुनै कुरा थिएन । जस्तोसुकै साइतमा बनाइएका घरहरु पनि समय क्रममा धुलिएका छन् । जस्तो साइतमा जन्मे पनि मृत्यु अवश्यभावी छ । समयका अगाडि केहि पनि अमर छैन । जीवनका बचाई क्रममा आइपर्ने उतार चढाव जीवन रहुन्जेल रही नै रहन्छन् । साइतमा चलेपनि नचलेपनि ठक्कर त लाग्दै गर्छ । लड्दै गरिन्छ । लडिगए उठ्नु र धुलो टक्टक्याउदै अघि बढ्नुचाहिँ छाड्न नहुने रहेछ ।  

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 9 December 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]