Tuesday, 29 August 2023

खै त भँगेरा ?

 सानो चन्चले भँगेरो चरो तपाईंले नदेख्नुभएको कति भयो ? ओहो मैले त भँगेरो नदेखेको कति भैसकेछ । लगातार  एक हप्तादेखि सम्झेको  बेला  यसो यताउति  हेर्छु, भँगेरो देखिन्छ कि भनेर तर कतै देख्न सकेकी छैन । भँगेरा हराएछन् । भँगेरा कता गए होला नि त ! पहाड मधेस जताततै  पाइने, दुई खुट्टा  एकैपटक उचालेर बुर्लुक बुर्लुक उफ्रिने त्यो सानो जीवात्  कहाँ  हरायो होला त भनेर म केहि दिनदेखि सोचिरहेकी छु ।


मुख्यतयाः भँगेराका लागि  चाहिने बासस्थानकै अभावमा भँगेरा हराएका होलान् । खर फुसले छाएको घर हुँदा, यसो खोस्रेर  उधिनेर  घर बनाउने  र साना गुँडमा दुईवटा अन्डा  पार्ने  खिरिलो चरो भँगेरो  साह्रै फूर्तिलो  जस्तो लाग्थ्यो । अहिले फूसले छाएका घर हराए । काठका घर हराए । सिमेन्टका  पक्की  घरमा त बस्ने ठाउँ नै हुँदैन । जस्तापाताले छाएका मधेसका  घर  जस्ता तातेर वर्षा  याममा  कुनै  जीव  बाँच्नै  नसक्ला जस्तो हुन्छ । त्यसो भन्दा  पनि  परेवा चाहिँ साह्रै ज्याद्रो  हुनेरहेछ । हाम्रो पुरानो घर हुँदा रहरले पालेका परेवा पछि  घर  भत्काएपछि पनि बढो दुःखले नयाँ घरका छानातिर चेप्टिएर बसेका छन् । कत्ति  धपाउने  प्रयास  गरियो । टिन हटाइयो, नाङ्लो ठटाइयो तर अहँ, परेवाहरु थाकेनन् ।

तर बिचरो भँगेरो रुखमा गुँड पनि नलगाउने, अनि  उसका  लागि  उपयुक्त वासस्थान पनि नभएपछि कतै बसाइँ नै सरे होलान् । अर्को  कुरा के  पनि  थियो भने  पहिले  पहिले  भँगेराले खाने आहारा पनि प्रशस्त थियो । खेतीबालीमा अन्न पोखनढोलन  हुन्थ्यो । भँगेरा लगायतका सुगा, परेवा, ढुकुर त्यस्तै आहाराले पेट भर्थे । गहुँ छरेपछि  नउम्रियन्जेल भुराहरु खेतैमा सानो याक्सा बनाएर चरा रुङ्न जान्थे । मकै  पाक्दा  सुगाले  हैरानी  गथ्र्यो । अहिले खेती पनि खुम्चेर गएको छ । अनि त्यस सँगसँगै  सुगा र  भँगेरा पनि लोप भएका छन् ।


अस्ति  भर्खरै  वर्षौं  पछाडि  मैले  सुगाका  हुल  देखेँ । अग्ला रुखका  टोड्कामा  गुँड लाएर  बच्चा  कोरल्ने  सुगाका लागि खै र रुख ? तैपनि  कताबाट  हो  कोलाहल मच्चाउँदै सुगाहरु आएको  मैले  देखें । के खालान् त तिनले भन्ने सोच्दा सोच्दै  ती सुगाहरु  छिप्पिएका र टिप्न  छाडिएका  भिण्डीका बोटमा सोइसोइला गर्दै  भिण्डीका दानाहरु खाँदा रहेछन् । सुकेका भिण्डीका बियाँ पनि तिनको आहारा हुनेरहेछ । दुईचार दिन लगातार बारीमा मैले सुगाहरु देखेकी थिएँ ।

सानै छँदा उपध्रो  गर्नुपर्ने  समयमा मैले आफूभन्दा माथिकी  दिदीसँग  लागेर भँगेराका अण्डा  पकाइखाएकी  छु, बनभात  खाने  निहुँमा । ती अण्डा मेरी दिदीले कहाँबाट खोजेर ल्याउनु भएको थियो भन्ने चाहिँ मैले पत्तो पाउन सकिन । मलाई अझैं  याद छ — त्यो अम्लेट एउटा चम्चा जत्रो मुश्किलले  थियो  होला । तर त्यति गर्न सक्नुको बहादुरी कथाको  मूल्य  ठूलो  थियो । आफ्ना खेल्ने दौंतरी धने, बमे, मीना, रिनाका  कानमा  ती वीरतापूर्ण  गाथा हामीले  सुनाउन पाएका थियौँ । धने, बमे त अझ अघि बढेर भँगेरा र ढुकुर नै मारेर पोलिखाएका  गफ  पनि  सुनाउँथे । त्यसमा हाम्रो रुची थिएन । जन्मजातै निरामिस बाहुनी केटीहरुलाई यसरी अण्डा पकाइ खाने आँट चैं कसरी पलाएको हो त्यतिबेला !


भँगेरा  पोलिखाने  कुरा  गर्दा  मलाई  मेरी  क्याम्बोडियाकी  साथी  निङको याद आउँछ । ऊ विभिन्न  प्रकारका खानेकुरा र त्यसका भित्री विशेषता बताउँथी । जस्तै, बाँदरको मासु र अझ मगज खाए मान्छे चतुरो हुने, कुकुरको मासु खाए बुढ्याइले नछुने, बिरालाको  मासु  खाए  जस्तोसुकै   बाथरोग  पनि  निको  हुने  आदि  आदि । त्यसै  उपक्रममा एकदिन  उसले  अलि उत्ताउली  हुँदै  भँगेराको  मासुको विशेषता सुनाएकी थिई, ‘भँगेरा र खरायोको  मासु  खायो  भने जस्तै बूढो र रोगीले  पनि  जवान जस्तो  महसुस  गर्छ । जवानले खायो भनेँ त बुम बुम बुम ।’ अनि मुखमा हालेको खानेकुरा उछिट्याउँदै  ऊ बेस्मारी  हाँसी र हाँसो मिश्रित स्वरमा सोधी, ‘यू इट राबीट, स्प्यारो ?’ खानेकुराले यौनशक्ति बढाउने  कुरा  त्यति  प्रमाणित  नभए  पनि  सबै  समूदायमा र सँस्कृतिमा  यो  कुराले  विशेष  स्थान ओगटेको हुने रहेछ । अब हाम्रैतिर यार्सागुम्बाले  ठूलो बजार लिएको छ । वैज्ञानिक हिसाबले  हेर्दा  प्रशस्त प्रोटिन पाइने मासु, अण्डा, दूध खाएपछि शरीरमा  स्फूर्ति  आउनु स्वभाविकै  पनि  हो । मान्छेलाई हल्ला भए पुग्छ, प्रमाण को  खोजी उतिसारो गरिँदैन । अहिले  चलेको  डेङ्गुको  महामारीमा  मेवाका पातको  रस र गएको कोरोना महामारीमा अम्बाका पात खाएजस्तै होला निङले सुनाएको भँगेरा र खरायोको मासुको कथा पनि ।

हराएको  भँगेराको   सम्झनाले मलाई  टाढा  पुर्याएछ । वास्तवमा बासस्थान र खानेकुरा सँगै बढ्दो विषादीको प्रयोग पनि भँगेरा लगायतका चराचुरुङ्गी हराउने अर्को कारण होला । बढ्दो शहरीकरणसँग आएको बिजुलीको प्रयोग पनि अर्को कारक तत्व होला । अहिले रातहरु रात जस्ता छैनन् । साँझ परेपछि नजिकको बाँसझ्याङ्गमा हजारौँ बकुल्ला र रुप्पीको कल्याङमल्याङ्ग हुन्थ्यो । साँझ छिप्पिएपछि रातभरीका लागि  ती  शान्त हुन्थे । अहिले न त बाँसका झाँङ्गहरु देखिन्छन् । न त चराको कल्याङमल्याङ्ग । सडक छेउका रुख र बाँसझ्याङ्गमा त निरन्तरको सडकबत्ती अनि सवारी साधनका बत्तीले जीवजन्तुको चैन उडाइदिएका छन् । वर्षाद्को समयमा पहिलेजस्तो भ्यागुता नै खै कराएका ? न त हिउँदमा सारा जग ढाकेर पिलपिल गर्दै उड्ने जुनकिरी नै छन् ।


भँगेरा हराउनुको तात्पर्य के होला त ? यसरी एउटा जीव बिलुप्त  हुँदा  मानव जगतमा यसको असर के होला भन्ने जिज्ञासा मेरो मनमा उत्पन्न भयो । मौरीको  विनाशसँग  मान्छेको  विनाश  जोडिएको छ भन्ने मैले सुनेकी थिएँ । वास्तवमा  यो  जगतका हरेक जीवजन्तुको अस्तित्वसँग मान्छेको अस्तित्व जोडिएको हुने रहेछ । बरु मान्छे भन्ने भङ्ज्याहा  प्रजाति नहुने  हो  भने वास्तवमा प्रकृति सकल रुपमा रहने रहेछ । मान्छे विध्वंशकारी जीव रहेछ । जतापनि आफ्नो वर्चस्व कायम गर्न खोज्ने । जे पनि खाइदिने, ढुट्याउने र संहार नै गरिहाल्ने । कतिले पनि भो अब पुग्यो नभन्ने । हम्पासुर प्रजाति रहेछ — मानव प्रजाति । हुन पनि हो । मान्छेले ध्वंश गर्न बाँकी कतै केही नै छैन । अब हामीले सूची बनाउँदै जाने हो भने तपाईं  हामीले देखेका कति जीवजन्तु, पन्छी र वनस्पति हराए होला । कतिपय  प्रजातिको  त नाम निशान नै भेटिँदैन आजकल ।

अहिले सम्झेर ल्याउँदा भँगेरो मात्र कहाँ हो रहेछ र ? यहाँ गिद्ध, बनकुखुरा, स्याल, न्याउरी, जङ्गली खराया, सुगा, जुरेली, बाममाछा, भ्यात्लुङ त मैले एक निमेषमा सम्झिन  सकेँ । आँखा  चिम्लेर  यसो  सम्झौँ  त हामी प्रकृतिबाट कसरी टाढिदै  गएका  रहेछौं ? हामीले के के प्रजातिका जीव र वनस्पति  गुमाएछौँ  र के के प्राप्त गरेछौँ त्यसको बदलामा ?

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  25 August 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



Sunday, 13 August 2023

ब्लू फिबर

 

चितवनमा चलेको निशुल्क र महिला मैत्री ब्लू बसको चर्चा  म सुनिरहेरकी थिएँ । हाम्री घरेलु सहायक महिला मित्रको कुरा सुनेपछि मलाई यो बस सेवाका बारेमा बुझ्न झन् उत्साह जागेर आयो । ती महिला हाम्रो लगायत अरु दुई घरमा घरेलु सहायकको काम गर्छिन् । एउटा सानो छोरोलाई प्राइभेट स्कुल पढाँउछिन् । तर तीन घरमा काम गरेको कमाईले उनको घर चल्न सक्दैन । कारण के हो  भनें  उनको डेरामा उनी बाहेक पाँचजना पुरुष सदस्य छन् । निर्माण क्षेत्रमा आर्थिक मन्दीका कारण काम छैन । ती सबैलाई उनले पाल्नु परेको छ । ती महिलाले पनि चितवनमा चल्ने निशुल्क बसको कुरा सुनेपछि भनिन् — ‘त्यस्तै फिरी बस यता चले, म पनि बजार गएर अरु दुई ठाम् काम भ्याउँदी हुँ । आबो सिटी चढौँ — काम गरेर कमाको पैसा त्यतै जान्छ । हिँडेर भ्याउँदैन । हैन दमकमा चैं आउँदैन फिरिको बस ?’ ल, अब त्यस्तो सुनौलो परिकल्पना सम्म  त गर्न सक्ने भएछौं  हामी भनेर मलाई खुशी लाग्यो । चितवनको क्षेत्र नंबर २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो विजयको सय दिन पुग्दा पूर्वनिर्धारित वाचा अनुसार एउटा नीलो बस महिलाहरुको लागि मात्र भनेर चलाउन शुरु गर्यो । एउटा पुरानो बसलाई आकर्षक नीलो र सेतो रंगमा रंगाएर पूर्ण निशुल्क रुपमा महिलाहरुले प्रयोग गर्न पाउने कुरा प्रायः सम्पूर्ण सञ्चारका श्रव्य, दृष्य र छापा सामग्रीहरुले उच्च प्राथमिकतामा राखेर प्रसारण / प्रकाशन गरे । यो कुरा नेपालका लागि नयाँ प्रयोग थियो । महिलाहरुप्रतिको एक उच्च सम्मान थियो । यस कुराले बस चढ्नु र ओर्लनु  मात्र  भन्ने सामान्य अर्थ बोकेको थिएन ।


 गत वर्ष मात्र असम भ्रमणमा रहेका बेला महिलाहरुलाई दिइने ‘फ्रि बस’ को सुविधाका बारेमा मलाई थाहा भएको थियो । गुवाहाटी शहरमा चल्ने केहि बसहरुमा हामी महिलाहरुले पैसा तिर्नु परेन । भर्खरै मात्र मैले भारतका अन्य राज्यमा पनि यस्तो सुविधा छ कि भनेर गुगलको सहायता लिएँ । ओहो ! भारतमा त कर्नाटका, तमिलनाडु राज्य र दिल्लीमा समेत यो महिलालाई सित्तैमा प्राप्त हुने बस सेवा प्रचलनमा आइसकेको रहेछ । दिल्लीमा त अझ सन्  २०१९ देखि नै केजरिवालको आम आदमी पार्टीले यस्तो चलन शुरु गरिसकेको रहेछ । तमिलनाडु राज्यमा छोटो दूरिका लागि यस्तो छुट दिइने रहेछ । राज्य स्तरबाट नै महिलाहरुप्रति प्रकट गरिएको सम्मान मलाई गजब अर्थपूर्ण लाग्यो ।

यता चितवनमा भनें ब्लू बस सँगै रास्वपाले ब्लू एम्बुलेन्स पनि चितवन क्षेत्र नंवर २ का जनतालाई उपहार दिएको खबर छ्याप्छ्याप्ती आयो । चिकित्सक टोली सहितको प्राथमिक उपचार सामग्रीले सुसज्जित एम्बुलेन्सको कुरा सुन्दै ‘आहा’ लाग्ने नि । आफैंले देखेको र भोगेको प्यारामेडिक्स सहितको एम्बुलेन्स कति प्रभावकारी होला त भन्ने सम्झेरै खुशी लाग्यो । तर यो चितवनको एम्बुलेन्स विवादित बन्यो । सरकारी अस्पतालको प्रयोगमा नआएको एम्बुलेन्स पुनः रंगरोगन र मर्मत गरिकन चलाउन थालिएको भएपनि भारतीय सरकारबाट प्राप्त अनुदानको एम्बुलेन्सलाई यातायात कार्यालयको अनुमति बेगरै रंग परिवर्तन गर्नु अवैधानिक देखिएकाले रास्वपाले तुरुन्तै यो कार्य स्थगित गर्यो । सुनाइमा के आयो भने उसले अर्को साधनको बन्दोबस्ती पछि फेरि प्यारामेडिक्स टोली सहितको निशुल्क एम्बुलेन्स सेवा शुरु गर्नेछ ।

 ब्लू बस र एम्बुलेन्सका कुराहरुले एक पटक नेपाली समाजमा नौलो तरङ्ग  ल्याए । यसका पक्ष र विपक्षमा बहस शुरु भए । नागरिक तहबाट यस्ता बहस हुनु त स्वभाविक थियो तर ठूला भनिएका राजनैतिक दल र नेताहरु समेत विचलित भएको कुरा छापामा आयो । एक ठूलै दलका उच्च तहका नेताले त अझ ‘रास्वपाले महिलाहरुलाई मात्र निशुल्क बस चलाएर नेपाली समाजलाई कता लग्न खोजेको हो ?,’ भन्ने टिप्पणी गरे । यो निश्चय पनि अतालिएर र तिल्मिलाएर निस्केको बोली हुनुपर्छ । अब हामीले गर्नुपर्ने प्रश्न ती नेताहरुलाई के छ भने — ‘तपाईंहरुले हामीलाई कहाँ पुर्याइदिनुभयो ?’ विगत तीस वर्षदेखि सत्तामा पालैपालो हालिमुहाली गर्ने दलका नेताहरुले नेपालीलाई कहाँ पुर्याउनु भयो ? खाडी मुलुक, भारत, युरोप, अष्ट्रेलिया, मलेशियाले मात्र नपुगेर नक्कली शरणार्थी बनाएर अमेरिकै पनि पुर्याइदिनुभयो । नेपाली समाजलाई धार्मिक, जातीय र दलीय द्वन्दमा फँसाएर आफूहरु भ्रष्टाचारका आहालमा उपरखुट्टी लाएर पल्टिनुभयो । यस अर्थमा आफूले कुनै काम नगरी समय व्यतित गरेको कुरा ढाकछोप गर्न अरुले गर्न खोजेका जनमुखी काममा औंलो ठड्याउनु भनेको तपार्इंहरुभित्र लुकेको डर र हिनताबोध नै हुनुपर्छ ।


 एउटा सलाईको काँटी कत्रो नै हुन्छ  र ? तर त्यसले एउटा जंगल ध्वस्त पार्ने सामर्थ्य  राख्छ । एउटा वरको रुखको बीज कत्रो हुन्छ र ? तर समय क्रममा त्यसले विशाल अजङ्ग रुप लिन सक्छ । एउटा थोत्रो नै सहि तर रास्वपाले गुडाएको निशुल्क बसले धेरै ठूलो अर्थ बोकेको छ । यसले समाज रुपान्तरणका पक्षमा पहिलो  पाइला चालेको छ । महिलाहरुका लागि मात्र चलाइएको बसको विरोधमा उत्रनु महिला विरोधी कार्य हो । नेपाली समाजमा अझै पनि महिलाहरु आफ्नो प्रकारले स्वतन्त्रता उपयोग गर्न पाउने स्थितिमा छैनन् । घरबाट निस्कँदा चाहिने भाडाखर्चको अभावमा उनीहरुको दैनिकी एक किलोमीटरको परिधिमा सिमित हुन्छ । तर दैनिक रुपमा निशुल्क  बस  सेवाले गर्दा उनीहरु अलिक टाढा गएर काम गर्न सक्लान् । स्कुल कलेज जाने नानीहरुले समय र पैसाको बचत गर्न सक्लान् । उमेरदार महिलाहरुले काम खोज्न र काम गर्न अलि टाढै जाने आँट गर्लान् । स्वास्थ्यको पहुँच पक्कै सहज होला । आमा, दिदी, बहिनीहरुले पक्कै पनि अलिकति स्वतन्त्रताको श्वास फेर्लान् । ब्लू बसले ल्याउने दूरगामी असरको आँकलन गरेर नै ती नेताहरुलाई ब्लू फिबर आएको हुनुपर्छ । तर जुनसुकै दलको होस् अग्रगामी कदम चाल्नेहरुलाई अब पनि समर्थन नगर्ने हो भने पुराना पार्टीका थारा मगजहरुले कुनै नयाँ कुरा गर्न सक्दैनन् । नेपालको ब्लू बस चढ्नेहरुको तथ्यांक थाहा नभएपनि भारतको कर्नाटका राज्यमा निशुल्क बस शुरु भएको तीन दिनमा नै पचास लाख महिलाहरुले यात्रा गरेको तथ्याङ्कले देखाउँछ । महिला मैत्री बस चढ्न किन यस्तो उत्साह होला त भन्ने कुराको उत्तर खोज्न टाढा जानै पर्दैन । सबैभन्दा ठूलो कुरा त सामाजिक रुपमा महिलाहरुले भोगिरहेको असुरक्षा नै हो । हामी सानातिना ठेलठाल, धक्कामुक्की आँखा तरेरै साम्य पार्न खोज्छौं । यस्ता कुराका विरुद्वमा आवाज उठाउनु भनेको आफ्नै आङको छारो उडाउनु हो भन्ने हामी महिलालाई थाहा छ । सामाजिक रुपमा यो हाम्रो आफ्नो यातायात हो र कसैको पिरलो हामीले खप्न पर्दैन है भन्न पाउनु ठूलो कुरा हो । यसका अलावा शिक्षा, स्वास्थ्य र रोजगारीमा पनि प्रत्यक्ष रुपमा पिछाडिएका वर्गलाई निशुल्क यातायात सेवाले पक्कै सहयोग गर्छ नै ।


चितवनमा शुरु गरेको महिला मैत्री बस सेवा जस्तै भक्तपुरमा स्थानीय स्तरबाट ज्येष्ठ नागरिकहरुका लागि वडा कार्यालयसम्म जान आउन निशुल्क यातायात उपलव्ध गराउन शुरु भएको रहेछ । यो पनि सामाजिक रुपान्तरणमा एक सह्राहनीय कदम हो ।

महिलाहरुलाई दिइने सुविधा कुनै व्यक्ति वा दल विषेशले शुरु गरे पनि सरकारी स्तरबाटै गर्न जरुरी हुन्छ । अनि मात्र यस्ता योजनाहरुले स्थायित्व पाउँछन् । तर जुन तंरग ब्लू बसले उत्पन गराएको छ , अन्य राजनैतिक दलहरुले सकारात्मक रुपमा नलिने हो भने र ब्लू फिबर नै मान्ने हो भने यसको परिणाम ०८४ को चुनावले देखाउने छ । खराबलाई खराब र असललाई असल भन्न नसक्नु नेपाली राजनीतिको पुरानो रोग हो । यसै कुराको पुनरावृतिको नाटक हेरेर हामीले दशकौं बिताएका छौँ । अब पनि हामी सुधारको दिशातर्फ नलाग्ने हो भने हामी कुन रसातलमा पुग्छौं  भन्न सकिँदैन । समाजले अब थारा मगजहरुबाट ठूलो आशा राखेको छ जस्तो लाग्दैन । सोत्तर हुनबाट बचौं, ब्लू फिबर पालेर नबसौं ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  11 August 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]