ठिटौले सरकारले अब जुल्फी राख्न पाइन्छ भनिदिएपछि बहुसंख्यक स्कुल र कलेजका ठिटा मुसुक्क हाँसे होलान् । छोराहरु सानै हुँदा पनि लरक्क कपाल राम्रो देखिन्छ भनेर धेरै आमाहरुलाई मैले सेलुनतिर, पार्लरतिर गएर आफ्नो बच्चाको कपालको स्टायल गराएको देखेकी छु । नानीहरु जब विद्यालय जान थाल्छन्, कपालको छुट्टै नियम उनीहरुले पालना गर्नुपर्छ । छोटो आर्मी कट हेयर बनाउन पर्यो, नत्र केटो कारवाहीमा पर्यो । बिचरा नानीहरुको मनमा कपालमोह कति गाढा हुन्छ भने दशैंको लामो बिदापछि स्कुल आउँदा प्रायः केटाहरुले कपालका नानाभाँती स्टायल गर्न भ्याएका देखिन्छन् । कानमाथि कन्पारामा रेखी हान्नु त साधारण नै हो । याद गर्नुभा होला नि? अझ मौका परे त आँखीभौंमा समेत कैचीले छड्के रेखा हानिदिन्छन् । लामो बिदापछिको स्कुल लाग्ने दिनकालागि भनेर कति गरेर बनाएको आफ्नो इच्छा माफिकको लर्के जुल्फी मन कटक्क पारेर पुलिस कट पार्नु कम्ति ठूलो वाध्यता हो र?
जुल्फीवाला अनुशासनहीन हुन् ?
नेपाली समाज कपाललाई लिएर अहिले सर्लक्क दुई कित्तामा बाँडिएको छ । भर्खरै मात्र दमकको एक नीजि विद्यालयका एक हुल छात्रहरुले स्कुलले कपाल काट्न दवाब दियो भनेर विरोध गरेको भन्ने समाचार आयो । अलि अगाडि इटहरीतिरको कलेजमा एक टिचरले विद्यार्थीलाई कपाल नकाटेको निहुँमा सातो खाँदै गरेको भिडियो पनि आएको थियो । सोसल मिडियामा आएका विषयमा पक्ष विपक्षमा दोहोरी खेल्नु हाम्रो नयाँ नेपालको चरित्र नै हो । कपालवाला भिडियो सतहमा आउनासाथ तर्क वितर्क चल्न थालिहाल्यो । कपाल पाल्न पाउनुपर्छ भन्ने कमै देखें मैले । अब बर्बाद भयो । समाजमा मर्यादाहीन बनमान्छेहरुको जगजगी हुने भयो भनेजस्तै गरेर मान्छेहरु भनिरहेका थिए । यसबाट मैले के अनुमान गरें भनें हामीलाई हाम्रा पुराना मान्यताहरुले छपक्क छोपेका छन् । तिनै आउटडेटेड मान्यताहरुको कालो बर्को ओढेर बाहिर चिहाउँदै हामी नयाँ मूल्य र मान्यताहरुमाथि धावा बौल्छौं र आफ्नो बचाउको लागि 'संस्कृति', 'परम्परा’को आड लिन्छौं ।
हाम्रा मनमा लामो कपाल पाल्ने जति फटाहा, अनुशासनहीन र विद्रोही हुन् भन्ने छाप कताकता नजाँनिदो गरी बसेको छ । जुल्फी विरोधी समूहमा शिक्षकहरु पो अझ अगाडि बढेर आत्तिएका देखें मैंले । छरीकट कपाल काटेका, पुलिस, आर्मी जस्ता आदेश पालना गर्ने, दोहोरो संवाद नगर्ने विद्यार्थीको खोजीमा छौं अझ पनि हामी । एकातिर हामी समाज विकसित र परिस्कृत भएको हेर्न आतुर छौं तर मनमा मर्यादापालक श्रीराम र श्रवणकुमार नै बोकेर हिडिरहेका छौं । लामो कपाल अनुशासनहीनताको पर्याय कसरी बन्यो होला? के यो हाम्रा मनमा बसेको दन्त्यकथाका लामा कपाल भएका राक्षसले अथवा सिनेमाका लामा कपाल भएका खलपात्रहरुको प्रभावले गर्दा यस्तो भयो ? केटाहरुले लामो कपाल पाल्नु अपराध हो भने स्कुल कलेजका केटीहरुले बोइज कट कपाल काट्नु चैं अपराध किन नमान्ने त ? यस कारणले पनि कपालले आचरण र व्यवहार निर्धारण गर्न सक्दैन भन्ने कुरामा म दृढ छु । बरु आफ्ना पालामा नभएको र नयाँ पुस्ताले उपभोग गर्न पाएको अवान्छित व्यक्तिगत स्वतन्त्रता हामीलाई असैह्य भएर लामो कपालको विरोधमा हामी उत्रिएको ठान्छु म त ।
पढ्ने जुल्फीले हो र ?
बहसमा रहेको केटाहरुको लामो कपालको मुद्दा मैले खासगरी अनुशासनसित जोडिएको देखें । अनुशासन र कपालबीच त्यत्रो सम्बन्ध चाहिँ छैन । अझ पुरातन संस्कृति र सभ्यतातिर हेर्ने हो भने त राम, कृष्ण र शिवजीको समेत लरक्क जुल्फी देखिन्छ । तर कपालको सफाइ र सौम्यता चाहिँ कायम राख है बाबु हो भन्ने हो भने त्यति बिघ्न घातक कुरा नै हो लामो कपाल भन्ने मलाई लागेन । यदि विद्यार्थीका बाबु आमालाई आफ्ना छोराछोरीको हेयर स्टायलमा आपत्ति छैन भने अरुले त्यसमा टाउको दुखाइरहनु पर्दैन । अनि छोटो कपालवाला पढ्नमा बिजुली हुने र जुल्फेचाहिँ भूस हुने भन्ने पनि होइन । अबका विद्यालयहरु पहिले पहिलेका जस्ता सिर्कनाले चल्ने पनि हैनन् । अब त वालमनोबिज्ञानका कुरा छन्, उनीहरुका रुचीका कुरा छन् , सिकाइ उपलब्धी मापनका फरक तौर तरिका छन् । अघिल्लो दशकमा भएका प्राय: सबै शिक्षण र सिकाइका स्वरुपमा परिवर्तन आएको छ । यी सबै कुराहरु बिर्सेर हामी जुल्फी आफ्नै पालाको जस्तो खोजिरहेछौं । मलाईपनि लाग्छ, पढ्ने जुल्फीले हो र ?
पश्चिमी लोकतान्त्रिक मुलुकहरु अमेरिका, अष्ट्रेलिया, क्यानडा, ब्रिटेन जस्ता देशमा स्कुले केटाहरुले कपाल राख्नु नराख्नु उनीहरुकै व्यक्तिगत स्वतन्त्रता हो । बरु त्यतातिर स्कुल परिसरमा अनुहारै छोप्ने हेयर स्टायल गर्न पाइँदैन, साइन्स ल्याबतिर जाँदा कपाल अनिवार्य रुपमा बाँध्नैपर्ने वाध्यता हुन्छ अनि कपालको सफाइ र सौम्यताका शर्तहरु भने पालना गर्नुपर्ने हुन्छ ।
स्कुलका आफ्नै नियम र कानूनहरु हुन्छन् भन्ने तर्क पनि हामी गर्न सक्छौं तर ती नियमभन्दा माथि कपालका विषयमा स्वेच्छालाई प्राथमिकता दिनू भनेर राज्य भन्छ । अनि ती नियमहरु समयसापेक्ष हुनुपर्छ र समय समयमा परिमार्जन पनि गर्नुपर्छ । तर्क र गफका सीमा हुँदैनन् । गफहरु अविरल रुपमा आइरहन्छन् । तटस्थ र अन्तिम भन्ने कुरै यहाँ केही छैन । हरेक कुराहरु परिवर्तनीय छन् । पुराना नियम, मूल्य र मान्यता त्याग गर्न र नयाँमा बानी पर्न केही समय गाह्रै पर्छ । मलाई भने जुल्फीले सामाजिक व्यवस्थामा कुनै जुलुम गर्दैन भन्ने लाग्छ ।
(Published in a Nepali Daily Purbasandes on Wednesday, October 7, 2026 )



