Sunday 30 January 2022

के अब कश्मिरा पढ्दिनन् त ?

 


    भर्खरै मात्र कक्षा चारमा पढ्ने कश्मिराकी आमासँग भेट भयो । उनका कुराले मेरो मन चोइट्यायो । एकल नारीले दुःखजीलो गरेर बल्लतल्ल हुर्काएकी छोरी कश्मिराको पढाईप्रति उनी चिन्तित थिइन् । विद्यालयले अलिकति छुट गराइदिएर उनले छोरीलाई बोर्डिङ्ग स्कूलमै राखेकी छन् । “आबो पढाइ छैन । मैले नेट जोड्नु सक्तिन । मोबाइल पनि फुटिगयो । चल्दैन । आबो कश्मिरा पढ्दैन होला । जे त होला । तान बुन्नु सिकाउँछु । मैजस्तै भैजाने भो,उनले मनको बह पोखिन् । कश्मिराकी आमा स्वयं पनि बिरामी छन् तर अस्पतालको भीडमा बीमा कार्ड लिएर दिनभर उभिनु पर्ने कुरा सम्झँदा मात्र पनि शरीरमा काँढा उम्रने कुरा उनी बताउँछिन् । म हेर्छु, कश्मिराका आमाजस्तै बनीबुतो गरेर खानेहरु, तान बुन्नेहरु, अर्काको घरमा काम गर्नेहरु धेरैले प्राइभेट विद्यालयमै बच्चा पढाएका छन् । सरकार सार्वजनिक शिक्षामा लगानी थपेको थपेकै छ । विद्यार्थीहरु र अभिभावकहरुमा सरकारी विद्यालयप्रति उति साह्रो विश्वास देखिँदैन । यो सर्वविदित तथ्य हो । माथिल्लो निकायले नीजि विद्यालयहरुलाई एउटै दृष्टिले हेर्छ र हुने खानेहरु जाने ठाउँ मान्छ । व्यापार ठान्छ । कर ठोक्छ र कोर्रा ठोक्छ । आखिरमा हेर्ने हो भने जो जो नियामक विभागमा छन्, ती सबैका छोराछोरी सरकारी विद्यालय जाँदैनन् । कश्मिराजस्तै असंख्य केटाकेटीका बाबुआमा सुन्दर सपना देखेर प्राइभेट स्कूलमै पढाउँछन् । सरकारी स्कूलप्रतिको वितृष्णाको कारण पनि जगजाहेर छ । सरकारी कर्मचारी र सरकारी विद्यालयका शिक्षकहरुलाई सरकारी विद्यालयमै आफ्ना नानीहरु पठाउनू भनिए पनि त्यसो गर्न आँट गर्ने शाहसीहरु मैले आजसम्म देखेकै छैन । तपाईँहरुले कतै भेट्नुभएको भए चर्चा गरौं

कहिलेकाहिं उच्च निकायहरुले गर्ने सार्वजनिक निर्णयहरु अनौठा प्रकृतिका हुन्छन् । माथिल्लो ओहदामा सुझबुझपूर्ण, पठीत र विवेकी मानिसहरु हुन्छन् र उनीहरुले सार्वजनिक हितकै लागि यी निर्णय गरेका हुन्छन् भन्ने कुराको मेरो बुझाइ केहि वर्ष यता भत्ंकदै आएको छ । आफ्नो पेशा नै पढ्ने, पढाउने भएकाले यसकै कुरा पहिले गरौँ ।

        ओमिक्रोनको विस्तार द्रुत गतिमा हुन थालेपछि सरकारी सूचनाहरु प्रवाहित हुन थाले । यस स्थितिमा सरकारले सबैभन्दा पहिले त विद्यालयहरु बन्द गरायो । विद्यालय मात्र बन्द गर्दा र अन्य सबै क्षेत्र खुला रहँदा कसरी कोरोना संक्रमण विस्तारमा रोकावट ल्याउन सकिन्छ त भनेर कुनै पनि दिग्गजले हामीजस्ता सर्वसाधारण मनुवालाई बुझाउने प्रयास गरेन । यो प्रश्न मेरा लागि जेन कोवान जस्तै जति सोच्यो त्यति उल्झिएको भैदियो । घरका सम्पूर्ण सदस्यहरु आ–आफ्ना दैनिकीमा कोरोना घारीमा काम गरिरहेका हुन्छन् । केटाकेटीहरु पनि विद्यालय बन्द भएपछि यत्रतत्र सर्बत्र पुगेका छन् । कसरी उनीहरु संक्रमणबाट जोगिन सक्छन् होला ? हाट, बजार, मेला, पर्व, सार्वजनिक पार्कहरु र पर्यटन गन्तव्यहरु खचाखच चलेका छन् । यातायात बिना अवरोध चलेको छ । यस स्थितिमा विद्यालय मात्र बन्द गर्नुको तुक कहाँ छ ?

        गत दुई वर्षमा कोरोनाका कारणले तेह्र महिना विद्यालयहरु बन्द भएछन् । हुने खाने र सक्नेले वैकल्पिक व्यवस्था गरेर अनलाइन माध्यमबाट पढाइ गरे । तर बहुसंख्यक विद्यार्थीहरु भनें त्यत्तिकै बस्नु पर्यो । यस्तो अवस्थाबाट मुलुकको शिक्षा गुज्रिरहँदा देश हाँक्नेहरुलाई पक्कै खुशी लागेको हुनुपर्छ । देशमा जति अशिक्षित र अर्ध शिक्षित जमातको संख्या बढि भयो, त्यति नै शासन गर्न सहज हुनुपर्छ ।


प्रतिवन्धित नागरिक

        गत केहि दिन यता सामान्यजनले कोरोना खोप कार्डको त्रास बेहोर्नु परिरहेको छ । सरकारी तथ्यांक आफैं बोल्छ – जम्मा चालिस प्रतिशत मान्छेहरुले मात्र खोपको सुविधा लिन सकेका छन् । अनि नियमनकारीहरु भन्छन् – खबरदार, खोपकार्ड बिना कुनै पनि कामहरु गर्न अड्डा अदालत प्रवेश गर्नु गैरकानुनी हुनेछ । एकातिर खोप छैन अर्कोतिर कार्ड अनिवार्य । यसले गर्दा खोप नलगाए पनि कार्ड भर्ने काम शुरु भइसकेको छ । अविवेकी निर्णयले गर्दा जनता त्रसित छन् । जनताका समस्या सुनेर र बुझेर माथिल्ला निकायसम्म आवाज मुखरित गरिदिने आशामा जिताएका जनप्रतिनिधिहरु आफैं लाचारि प्रकट गर्छन् । खोपको सहज व्यवस्था देखिँदैन । विहानदेखि बेलुकासम्म भीड जम्मा भएको देखिन्छ । त्यहाँ पनि थिचोमिचो, झैझगडा र भनसुन देखिन्छ ।

समाचार स्रोतलाई नै मान्ने हो भनेँ जिल्ला प्रशासन कार्यालय महोत्तरीले भनेँ उदाहरणीय काम गरेको मान्न सकिन्छ । नो खोप कार्ड; नो इन्ट्रि सिस्टम लागू गरिए पनि उसले प्रवेश द्वारमै खोप हान्ने व्यवस्था मिलाएको छ । यस्ता व्यवस्था भए त नो खोप नो इन्ट्रि भन्न पनि सुहाउला ।

        तेश्रोपटक कोरोनाले आक्रमण गर्दा समेत हाम्रा पूर्वतयारीहरु उत्तिकै फितला छन् । सभा, जुलुस र अधिवेशन प्रतिवन्धित छैनन् तर निरिह जनतालाई प्रतिवन्ध लगाइएको छ । कोरोनाका नाममा दुई वर्षदेखि उकालो लागेको बजार भाउ खपिनसक्नु भएको छ । सामान्य उपभोग्य वस्तुहरु किन्न दुईपटक सोच्नुपर्ने स्थिति छ । अरु त अरु सामान्य सिटामोलसम्म बजारमा नभएको हल्ला अहिले व्याप्त छ । यस्ता परिस्थितिमा सामान्य जनले सरकारको उपस्थिति कसरी महसुस गर्नु ? सरकार जनताको अभिभावक हो भन्ने कसरी ठान्नु ? सामान्य सिटामोल पाउन खुशामद गर्नुपर्ने र गुहार माग्नुपर्ने स्थितिमा समृद्धीको सपना कसरी देख्नु ?

भर्खरै मात्र एक पूर्व राज्य मन्त्रीले आफ्नो फेसबुक पेजमा एघार किलोमिटर हिडेर सिटामोल खोज्दा पनि कतै नपाइएको गुनासो गरेका थिए । हाम्रै दमकका मेयरले समेत फेसबुकमा सिटामोल नपाइएको गुनासो गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गरेको देखिएको थियो । तर ती सबै कुरा झुठ र अफवाह हुन् भन्दै औषधी उत्पादक संघले भर्खरै एक विज्ञप्ती जारी गरेको छ । औषधी नपाइएला भन्ने डरले चाहिनेभन्दा बढि जम्मा गर्ने होडवाजीले यस्तो अवस्था आएको कुरा उत्पादकहरुका विज्ञप्तीले भन्छ । उता सोहि दिन सर्वोच्च अदालतले सरकारका नाममा एक आदेश जारी गर्दै हालको अवस्थामा स्वास्थ्योपचारका लागि आवश्यक पर्ने सिटामोल र पारासिटामोल लगायतका औषधिहरुको तत्काल सहज वितरणको विशेष व्यवस्था मिलाउनू भनेको छ । यी सबै कुराहरुसँग एक सामान्य नागरिकले कुनै सरोकार राख्दैन । एक सामान्यजनले पैसा तिरेर भए पनि शिक्षा र स्वास्थ्यको उचित व्यवस्थापन होस् भन्ने चाहन्छ ।

स्वास्थ्य बीमा

        देशका अरु ठाउँमा के कस्तो हालत छ थाहा नभए पनि दमक क्षेत्रमा भनें स्वास्थ्य बीमाग्राहिहरुको बेहाल भएको मैले देखेकी छु । बीमा कार्डको प्रथम बिन्दू दमक अस्पताल बनाइएपछि सामान्यजनले भोग्नुपरेको पीडाका बारेमा स्थानीय निकाय अनभिज्ञ छ अथवा बुझ पचाएर बसेको छ भन्न गाह्रो छ । घन्टौं भीड गरेर रसिद काट्न र जचाउन मानिस वाध्य छन् । सहजै अर्को अस्पताल जाने सिफारीस पाइँदैन । बिरामी भएर गएका मानिसले सहज र सुलभ सेवा नपाउने हो भनें बीमाको अर्थ पनि रहँदैन । कमसेकम म आफू  भने अबका दिनमा बीमा सुविधाको अवस्थामा सुधार नहुन्जेल नवीकरण नगर्ने निधोमा पुगेकी छु । दमक अस्पताललाई प्रथम बिन्दू बनाएर भीड जम्मा गर्दा कहिँ कसैलाई फाइदा पुगेको  भए पनि  सर्वसाधारणका हितमा भनेँ यो पटक्कै छैन ।

       

    यस किसिमका अविवेकी निर्णय र अव्यवस्थापनको सास्ती हामीले अनन्त कालसम्म भोगिरहनुपर्ने देखिन्छ । कुशासन, चाकरी, चाप्लुसी र भ्रष्टाचारले मुलुकमा जरा गाडिसकेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । अब आउँदा चुनावमा समेत हामीले यिनै पुराना अनुहारहरु दोहोर्याउने पक्का छ । कहिल्यै सेवानिवृत्त नहुने, रोगले जीर्ण, दिमागी रुपले शिथिल र अपठीत जनप्रतिनिधिहरुलाई हामीले बोकेर हिडुन्जेल कश्मिराले निर्वाध रुपमा पढ्न पाउने र उनकी आमाले उचित औषधिपचारको सुविधा प्राप्त गर्ने अवस्थाको कल्पना गर्न सकिँदैन । त्यसै त शिक्षाको गुणस्तर खस्किरहेका अवस्थामा कोरोनाका निहुँमा अँध्यारो फैलाइँदैछ । यस अध्याँरो युगमा हुर्किने पुस्ताले पक्कै पनि निर्विवेकी शासकहरुलाई सराप्नेछ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 28 January 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Friday 21 January 2022

खसम बर्तन टल्काउँदैछन्

 


    झण्डै दुई दशक भइसकेछ मैले पोष्टग्राड् कोर्ष गरेको । नयाँ शताब्दीमा म अष्ट्रेलियामै रहेंछु – पुरानो डायरीले मलाई अतीत सम्झायो । यता हाम्रातिर उति मोबाइल फोनको प्रयोग जनस्तरमा आइसकेकै थिएन । शुरुशुरुमा एक्लै भएकोले म एक डेढ महिना क्याम्पस होस्टेलमै बसें । त्यसपछि इन्डोनेसियाका टामी, रत्ना, इवानजस्ता साथीहरुले क्याम्पस बाहिरै बसे छात्रवृत्तिको रकम जोगाउन सकिने उपाय सिकाए । मलाई नेपालबाट आफ्ना जहान पनि बोलाउनु पर्ने थियो । अनि साथीहरुकै सहयोगमा म क्याम्पस नजिकैको एउटा शेयर्ड हाउसमा सरें । क्याम्पसकै एकजना प्रोफेसरले भाडामा दिएको घरमा म बाहेक अरु दुई इन्डोनेशियन परिवारहरु थिए । लोग्ने मान्छेहरु युनिभर्सिटीमा पीएचडी गर्थे र महिलाहरु ससाना घरेलु काम गर्थे । ती दुई महिलाहरु मध्ये लीस नामकी एक महिला त दिव्याङ्ग थिईन् । उनले हिडडुल गर्न ह्विलचेयरकै सहारा लिनुपर्थ्यो । त्यस्तो अप्ठ्यारो शारीरिक अवस्था भए पनि उनी घरको काम प्रायः आफैं गर्थिन् र किनमेलमा आफ्नो तीन पाङ्रे इलेक्ट्रिक स्कूटर लिएर हुँइकिरहन्थिन् । ती दुई महिलाहरुले मलाई अष्ट्रेलियन जीवन जगतका बारेमा धेरै कुरा बुझाए । भिन्न देश, संस्कृति र धर्मका मानिसहरुसँग एउटै भान्सा शेयर गरेर पकाउनु र खानु सहज थिएन । त्यसमाथि म भेजिटेरियन अनि उनीहरु गौमांश सेवन गर्ने मुश्लिम धर्मावलम्बी । एक अर्कालाई सम्झिनु र सम्झाउनु पनि कहिलेकहिँ त सकस पर्ने । मैले शाकाहारी भएर पनि बटर खाएको देखेर लीसले एकदिन मलाई सोधिन्, “तिमी मासु त खान्नौ तर बटर त एनिमल फ्याट हो नि । त्यो त गाईको दूधबाट निस्केको एक किसिमको बोसो जस्तै होइन र ?” यो उदेकको प्रश्न थियो । हो कि जस्तो पनि लाग्ने; तर हैट युगौँदेखि हाम्रा देउतालाई चढाउँदै आएको गाईको घ्यूलाई यस्तो लान्छना लगाउने यसले जस्तो पनि लाग्ने । मैले हाँसेरै टारेँ त्यस कुरालाई । सकेसम्म म उनीहरुले पकाएको बेला पारेर भान्सामा जान्नथेँ । आफ्ना भाँडाकुँडा चलाएर बिटुल्याइदेलान् भन्ने सानो संसय मनमा लिएर कोठामै बस्थें ।

मेरा बर्तन खोई ?

         


    मेरो कहिलेकाहिँ दिउँसो र कहिले साँझमा कक्षा लिन जानुपर्ने थियो । ठूलो भान्सामा कोहि न कोहि भइ नै रहन्थ्यो । कहिलेकाहिँ त दुईवटै सिङ्कभरि भाँडा देखेर म पनि त्यहिँ एक छेउमा भाँडा थुपारेर हिँड्न थालें । पछि फर्केर आउँदा भाँडा बर्तन धोइवरी राखेका हुन्थे । दुई तीन पटक नै त्यस्तो भएपछि मैले अरुलाई कस्ले मेरा भाँडा माझिदिएछ भनेर सोधेँ । ती त लीसका श्रीमान पो रहेछन् । उभिएर धेरैबेर भाँडा सफा गर्न नसक्ने भएकाले लीस भाँडा थुपार्दी रहिछन् अनि भ्याएका बेला श्रीमान देखेजति र भेटेजति सबै भाँडा माँझेर हिँड्दा रहेछन् । जस्का भए पनि यी घरभित्रका सबै हाम्रा हुन् । जस्ले माँझे पनि केहि हुन्न भन्दै उनीहरु हाँसे । अनि बिस्तारै मैले बुझेंविद्यावारिधि गरिरहेका यी मान्छेहरु घर बढार्ने, पोछा लगाउने, लन मोइङ्ग गर्ने, भान्साका सबै काम गर्ने रहेछन् । यता आफ्ना मुलुकमा भनेँ मैले अझैसम्म पनि कतिपय पुरुषहरु यस्ता काम अरुकै अर्थात घरका महिलाका भागमा पर्छन् भन्ने मानसिकतामा हुर्किएको पाएकी छु । आफूले लगाएका भित्री वस्त्र समेत अर्कैले धोइदिनुपर्ने पुरुषहरु पनि देखेकी छु । यस प्रकृतिका ‘मर्द’हरु महिलालाई घरेलु ठान्छन् । यसो हुनुमा उनीहरुको मात्र दोष नभई समाज र परिवारको पनि दोष हुन्छ । एउटै भान्सामा खाना खाने हो भने खाना जुटाउने, बनाउने र सफाइ गर्ने समेत सबै वयस्कहरुको उत्तिकै दायित्व हुन्छ । त्यो व्यक्ति घरमा बास मात्र बस्छ भनेँ पनि त्यस घरका अरु सदस्यहरुले भोगेको घरेलु पीडा बाँडफाँड गर्न ऊ
उत्तिकै उत्तरदायी हुन्छ । पुराना दिनमा पुरुषहरु काममा जान्थे र कमाइ ल्याउँथे । महिलाहरु घर सम्हाल्थे । तर अहिलेको समयमा प्रायः महिलाहरु कुनै न कुनै आय आर्जनका काम गरिरहेकै हुन्छन् तैपनि उनीहरुले घरधन्दा र बाहिरी संसार धान्नुपर्ने वाध्यता अझै
छ ।

          एउटा घरमा बिहान उठेदेखि बेलुकासम्म एउटी महिलाले गर्ने कामको मूल्य कति होला ? के हामीले कहिल्यै त्यसको गणना गरेका छौँ ? अहिलेको बजार मूल्यकै आधारमा हेर्ने हो भनेँ पनि दिनको कम्तीमा एक हजार बराबरको काम एउटी सामान्य गृहिणीले गरिरहेकी हुन्छिन् । त्यस हिसाबले उनले महिनामा ३० हजार बराबरको काम गरिरहेकी हुन्छिन् । तर ती कामलाई हामी श्रमका रुपमा गणना गर्दैनौं । घरमा बसेर निरन्तर काम गर्नेलाई हामी बेरोजगारकै रुपमा लिन्छौँ । त्यति कुरा मात्र पनि घरका पुरुषहरुले सम्झिदिने हो भनेँ बहुसंख्यक महिलाहरुको दैनिकी निकै उत्साहप्रद हुँदो हो । घरका आमा, दिदी, बहिनीहरुले गर्ने कार्य आफूले गरेको बाहिरिया काम जत्तिकै महत्वपूर्ण हुन्छ है भन्ने भावना मात्र पुरुष सदस्यले राखिदिने हो भनेँ हरेक घर स्वर्ग बन्छ ।

तिम्रो मेरो माया बराबर

          चर्चित हाँस्य अभिनेता हरिवंश आचार्य र गायक सुकमित गुरुङ्गले गाएको एउटा युगल गीत छ – तिम्रो मेरो माया बराबर । यस गीतमा दुई जोईपोइ कसरी कामको बाँडफाँड गर्छन्, श्रीमतीले फूर्सद निकालेर कसरी आयआर्जनका बाटोमा लाग्छु भन्ने इच्छा व्यक्त गर्छिन् भन्ने कुरा मीठो भाकामा प्रस्तुत गरिएको छ । पुरुषहरुले गरेका काम ठूला र गतिला अनि महिलाका काम क्षुद्र हुन् भन्ने मनोविज्ञानले पनि पुरुषहरु अप्ठेरामा परेका हुन सक्छन् । घरमा आफूहरु उदाहरण बनिदिने हो भनेँ पछिल्ला पुस्ताका नानीहरुलाई पनि सहज हुन्छ । आफ्नै घरको कुरा गर्नुपर्दा हाम्रा ससूरा बा सेल पकाउनुहुन्थ्यो तर सासूलाई त्यो कला आउँदैनथ्यो । परिआएका बेला बसेर उहाँ खाना पकाउनेदेखि भाँडा सफा गर्नेसम्म पनि गर्नुहुन्थ्यो । त्यो सामाजिक लज्जा उहिल्यै भत्किएकोले गर्दा अहिले सातै भाइ छोरा र नातीहरु समेत ती घरेलु कार्यमा नहिचकिचाई अघि बढ्छन् । मेरो आफ्नो दुई सदस्यीय परिवार त अझ बराबर काम नगरे चल्दै चल्दैन । हाम्रो उहाँलाई त सामान्य खाना बनाउन आउँदैन; आफू नहुँदा उहाँ बाहिरै खाएर काम चलाउनुहुन्छ भन्ने गफ सुन्दा पनि मलाई त हाँसो उठ्छ । मेरा लागि शौचालय जानु, स्नान गर्नु र खानु जस्तै खाना बनाउनु र खाएका भाँडा सफा गर्नु अत्यन्त आवश्यक ज्ञान हो जस्तो लाग्छ । यी कुराहरुलाई साना मसिना कुरा ठानिए पनि साना कुरा होइनन् । खानु र सरसफाइ गर्नु आधारभूत मानवीय कुरा हुन् ।

जाऊ भाँडा माँझ

         


एउटा सिकारु विद्यार्थी शिक्षार्जन गर्ने विचारले गुम्बामा गएछ । उसले त्यहाँ पुगेर गुरुलाई भनेछ, “म भर्खर यहाँ आएको । मलाई शिक्षा दिनुहोस् ।” गुरुले उसलाई खाना खाएको नखाएको सोधेछन् । उसले खाना खाइसकेको कुरा बताएछ । “ल, उसोभए गएर आफूले खाएका भाँडा माँझ,” गुरुले दिने त्यस दिनको शिक्षा त्यति नै रहेछ ।

          सुन्दा सामान्य लागे पनि ‘जाऊ आफ्नो थाल माँझ’ भन्ने वाक्यले ठूलो अर्थ बोक्छ । खाना खाने काम सकिएपछि गर्नुपर्ने अर्को काम थाल, बटुका माँझ्नु नै हो । यसले हाम्रो दिमागी सचेतनालाई इंङ्गित गर्दछ । हतारहतार गाँस च्यापेर उफ्रेर दौडिहाल्नुको तात्पर्य त्यो व्यक्ति वर्तमानमा बाँचेको छैन । न त हतारमा उसले स्वाद लिएर खाना खान्छ, न त त्यसपछिको काम के हो थाहा पाउँछ । त्यो हतासिएको मनुवा मनभरी आतेस बोकेर अनाहकमा दौडिरहेको हुन्छ । त्यसरी गुरुले जाऊ भाँडा माझ भन्नुको अर्थ त्यस बर्तनलाई सफासँग धोऊ , त्यस क्रममा पानीको तापक्रम थाहा पाऊ, मस्कोको खस्रोपन थाहा पाऊ भन्नु पनि हो । यी सबै कुरा गर्नुको अर्थ वर्तमानमा बाँच्न सिक भन्नु पनि हो । अझ बुद्धमार्गी सन्त थी नाट् हान् त आफूले खाएको कचौरो माँझ्दा हरेक पटक नवजात बुद्धलाई स्नान गराइदिएको जस्तो मान्छन् अरे । एउटा नवजात शिशुलाई कति जतनपूर्वक स्नान गराउनुपर्ला, जतनसँग पुछेर थपक्क सुताउनुपर्ला ? म आफैंलाई पनि त्यस्तै लाग्छ । ध्यानपूर्वक काम गरौँ । भाँडा माँझ्दा जूठो, सितो, चिल्लो नरहोस् । भूइं बढार्दा पनि फोहोर नरहोस् । हतार केलाई पो गर्नु छ र, होइन ? यिनै बानीहरुको छाप नै हामीले अरु कर्ममा पनि छाड्ने रहेछौँ । घरमा फोहोर मन नपराउनेले आफ्नो कार्यस्थल पनि सफा राख्न प्रयत्न गर्छ । एउटा काम गर्दा त्यसमा लागिरहने हो र अर्कोतिर चित्त नउफार्ने हो भनें त हाम्रा बर्तन सफा भैहाल्छन् नि । यसरी भाँडा सफा हुन पनि चित्त सफा हुन पर्ने जस्तो देखेँ मैले । आज घरेलु सहायक कमलाले बिदा लिएकी छिन् । सिंकमा श्रीमानजी बिस्तारै एक एक गर्दै भाँडा माँझ्दैछन्, म घर बढारकुँडार गर्दैछु ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 21 January 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Sunday 16 January 2022

संसार एक असार

 


    ताराबारीको मील कुनै समयमा एउटा माइलस्टोन थियो । समयक्रममा अहिले त्यो जीर्ण र खण्डहरमा परिणत भएको छ । दमकबाट पश्चिम लागेपछि मावाखोला पुग्न झण्डै एक फर्लाङ बाँकी रहँदै उत्तरतिर हेर्दा ती भीमकाय मीलका पुराना स्वरुपहरु महेन्द्र राजमार्गतिर ढाड फर्काएर उभिएका छन् । आजकल शायद ती मील चल्दैनन् होला । यी मीलहरुका आडैबाट एउटा मार्ग उत्तर लाग्छ । त्यहि बाटैबाटो गएर अलिमाथि भित्रपट्टी एक पुरानो आश्रम रहेछ । जोगीहरुको अखडा । कुनै दाताले आठ दश कट्ठा जग्गा दिएपछि योगीहरुले धूनी जगाउने एक शान्ति भूमि रहेछ त्यो ।

हरेक जमिनका टुक्रा इतिहास हुन् । यी जमिनका टुक्राहरुले मानव सृष्टिदेखिका कथा बोकेका छन् । यिनले युद्ध देखेका छन्, महामारी देखेका छन्, प्रलय देखेका छन् र सम्वृद्धिका पराकाष्ठा पनि देखेका छन् ।  त्यहि भएर हामी आदिकाल देखि अहिलेसम्म माटो खोदल्दैछौं । माटोसँग संवाद गर्ने व्यर्थको एकोहोरो प्रयास गरिहेछौं । यसैसँग सम्बन्धित माटोभित्र लुकेको रहस्य खोज्ने पुरातत्वशास्त्र छ । अनि पुरातत्वविद्हरु जीवनभर ससाना औजार बोकेर माटो खोस्रिन्छन् । पुराना वस्तुहरु जतनपूर्वक माटोबाट निकाल्छन् र ठूलो गर्वका साथ एउटा कथा बनाउँछन् । माटोभित्र करोडौं कथाहरु छन् । माटो अनन्त कथा श्रृङ्खलाको श्रोत हो ।

          माटोको एक सानो खण्डमा क्षणीक अस्तित्व स्वीकार गरेर फिरन्ता जोगीहरुले बनाएको अखडाले मलाई पछिल्लो समयमा मानसिक रुपमा बढि र भौतिक रुपमा कम तानिरहेको छ । भारतको उडिसाबाट आएका योगी महात्माहरुले बर्षौं अगाडिदेखि रोजेर बसेको त्यस जमिनको टुक्रामा हाम्रा बुवा बारम्बार गइरहनुहुन्थ्यो र यदाकदा रात पनि बिताउनुहुन्थ्यो भन्ने सुनेर म आश्चर्यचकित भएँ । एक समयमा प्रशस्त जोगी महात्माहरुले त्यहाँ धुनी जगाउने रहेछन् । कतिले त त्यहिं परमार्थ प्राप्त गरेपछि तिनका समाधिहरु जमिनमुनि सुरक्षापूर्वक राखिएका पनि रहेछन् । ती सबै उतारचढाव र परिवर्तन देखिआएका एक योगीमात्र अहिले त्यो स्थानमा आफ्ना दुई माउ गाईसँग बसेका रहेछन् । “बुवा त्यतै पल्टिनुहुन्थ्यो । रुखासुखा खानुहुन्थ्यो । यहाँ त धेरै मच्छड लाग्छन् तर पनि उहाँ मस्त निदाउनुहुन्थ्यो एउटा बालकजस्तै । हामीलाई सत्सङका कथा सुनाउनुहुन्थ्यो,” ती योगीले मलाई सुनाए । बुवा त्यतातिर जाने कुरा मैले सुनेकी थिइन । आफ्नो अध्यापन कार्यबाट सेवा निवृत भइसकेपछि उहाँले केहि समय महेश आश्रम देवघाटतिर गएर अध्यापन कार्य गर्नुभएको कुरा थाहा थियो । त्यसपछि उहाँको धेरैजसो समय विश्रान्ती मन्दिर, मूलघाटकै चिन्तनमा बित्यो ।


          कुप्रि परिसकेको शरीर लिएर गौसेवामा लागिपरेका योगीले परपर भएका समाधिस्थल र मन्दिर देखाए । एउटा अचम्मको अति अमिलो उडिसा फल पनि चाख्न दिए । योगी भए पनि उनको धेरैजसो समय ताराबारीमा बितेको रहेछ । सानो उमेरमै जोगीहरुका साथ लागेर नेपाल छिरेका उनी अब फर्किने ठाउँ नै देख्दैनन् । दन्त्यकथाजस्तो जीवन बाँचेका ती योगीलाई उनकै बा आमाले जोगीहरुको जिम्मा लगाइदिएका रहेछन् । “मेरो धेरै दाजु, दिदीहरु हुर्किन नपाई मृत्यु भएकाले मलाइचाहिं भगवानका नाममा चढाएको रहेछ । म सानैदेखि जोगीहरुकै संगतमा बसिरहें,” उनले भने । उनी पछिका अरु सन्तानचाहिँ उडिसामै घरजम गरेर बसेका छन् भन्ने कुरा पनि उनले सुनाए ।

          जोगी बालवत, सरल र नग्न हुन्छ,” भनेर बुवाले भनेको कुरा सम्झिँए । हो ! ती जोगी बालसुलभ नै थिए । एउटा सामान्य धोतीबाहेक, उनका शरीरमा अन्य वस्त्र थिएनन् । उनीसँग कुनै अहम् थिएन ।

          यहि गाईको दाम्लोमा म बाँधिएको छु । म हिँडे यी गाई भोकै पर्छन् । यी गाईलाई होइन, दाम्लाले मलाई बाँधेको छ,” अनि उनी अलिकति हाँसे । त्यो हाँसो एउटा बालकको हाँसो थियो । निर्बिघ्न, निश्छल र कुनै चिन्तारहित ।

यी पगाहाहरु

          ती जोगीले भनेजस्तै म आफूले आफैंलाई अनेकौं पगाहाहरुमा टाँगेकी रहेछु । अनगिन्ती दाम्लाहरु मैले मेरा घाँटीमा भएको अनुभूति गरें । कर्तव्यका, वाध्यताका, विवशताका अनि उत्साहले समेत सिर्जना गरेका दाम्लाहरु फुस्काएर आफूलाई स्वतन्त्र गर्न सहज हुँदैन रहेछ । हुन त साङ्लोमा बाँधिएको हात्तीले समेत म जस्तै ठान्दो हो । उसमा त्यो साङ्लो चुँडाएर हिँड्न सक्ने सामर्थ्य हुँदाहुँदै पनि चुपचाप एउटा त्यान्द्राको परिधिभरी मात्र घुमिरहनुको अर्थ त्यहि नै होला । आफैंले सिर्जना गरेका अदृश्य साङ्ला चुँडाउन सके म पनि ती जोगी झैं खुलेर हाँस्न सक्थें कि भन्ने लाग्छ ।

          एकपटक शैतानहरुको बैठक बसेछ । बैठकको प्रमुख मुद्दा चाहिँ मानिसहरुको सबैभन्दा प्रिय कुरा पत्ता लगाउने र त्यसलाई गायब पारिदिने भन्ने रहेछ । एउटाले भनेछ – हामी मानिसहरुको सम्पत्ति गायव पारिदिउँ । तर नेताले भनेछ – होइन, होइन त्यसो गर्न हुँदैन । बरु सम्पत्ति थपिदिनुपर्छ । त्यसो गरियो भने उनीहरुमा चिन्ता पनि थपिन्छ । अर्काले भनेछ – उसोभए तिनीहरुको मगज गायब पारिदिउँ । फेरि नेताले भनेछ – त्यसो गर्दा त कसरी पीडा र चिन्ता हुन्छ र उनीहरुलाई ? त्यसो गर्न हुन्न । त्यसरी आफ्ना आफ्ना विचार प्रकट गर्ने क्रममा सबैभन्दा छट्टु शैतानले भनेछ – मान्छेहरुले सबैभन्दा प्रिय ठान्ने कुरा ‘खुशी’ हो । यसैलाई गायब पारिदिनुपर्छ । निकै छलफलपछि मान्छेको सबैभन्दा प्रिय कुरा खुशी नै हो भन्ने  टुङ्गो लाग्यो र उनीहरुले त्यसलाई खोसे । तर त्यो खोसिएको खुशी कता लुकाउने भन्ने आपत आइपरेछ शैतानहरुलाई । कसैले पृथ्वीको पुच्छारमा भने, कसैले गहिराईमा भने, कसैले समुद्रका पींधमा लुकाउनुपर्छ भने तर ती सबै विकल्पहरु कमजोर देखिए । अन्त्यमा त्यहि छट्टु शैतानले उपाय निकाल्यो र भन्यो – हामी यसलाई अकल्पनीय ठाउँमा लुकाउनुपर्छ । मान्छेका मनका भित्री तहमा राखेपछि मान्छेले भेट्दैन । मान्छेले त्यो खुशी बाहिर बाहिर खोज्छ । धनमा खोज्छ, रुपमा खोज्छ, प्रतिष्ठामा खोज्छ, शक्तिमा खोज्छ,

अनि अरु सबै ठाउँमा खोज्छ । त्यहि कुरा पारित भयो । शैतानहरुले खुशीलाई मनको भित्री तहमा हालिदिए । त्यस दिनदेखि मानिस खुशी खोज्न भौंतारिरहेको छ । भट्किएको मान्छे अनेक उपायबाट खुशी खोज्ने प्रयत्नमा छ । यी प्रयत्नका हजारौँ लाखौँ स्वरुप
छन् ।

संसार एक असार

          अनि तपाईंलाई आफ्नै बाबुआमाले जोगीलाई दिइपठाएको कुरा थाहा पाएपछि दुख लागेन?,” ती जोगीलाई मेरो प्रश्न थियो । शुरु शुरुमा उनलाई दुःख लागेछ । त्यो उनको चाहना नभएकोले उनी बेखुशी पनि भएछन् । तर समयक्रममा यो संसार र यसका वास्तविकताका बारेमा सिक्दै, पढ्दै र बुझ्दै जाँदा उनमा विरक्ती भाव पलाएछ र मनले भनेछ – तैँले ठीक गरिस् । उनी बोल्दै गए, “डाँडाको टुप्पामा उभिएर तलतिर हेर्दा संसार एउटा मेला जस्तो देखिन्छ । मान्छेहरु जन्मिन्छन्, केहि लीला गर्छन् र मर्छन् । यहि लीलाले मान्छेलाई अल्झाएको छ । त्यसैभित्र अमरत्व खोज्नेहरुको भीड छ । तर यो चक्र सबैले पूरा गर्नैपर्छ । लीलामा सामेल हुनै पर्छ । डाँडाको टुप्पामा उभिँदा पनि एउटै दृष्य सबैले देख्दैनन् । आफ्ना मनले निर्देशित दृष्य मात्र देखिन्छ । त्यो पहाड चढ्दा मनमा जे लिएर गएको हुन्छ, त्यहि देखिन्छ । यो लीलामा, यो सांसारिक असारमा धेरै गाडिनु पर्ने जरुरत छैन । यस कुरालाई बुझेर जीवनलाई सहज रुपमा लिन सक्नुपर्ने हो तर लीलाको स्वरुप नै यस्तो हुन्छ । लीलारुपी महमा मान्छे झींगा जस्तो । उसले गुलियो त चाट्छ तर फुत्किन सक्दैन ।”

          जोगीका कुरा मेरा मनमा लामो समयसम्म तरंगित भइरहे । के यो संसार असार नै हो त ? अब आफ्ना बुवालाई बुझ्न फेरि एकपटक उहाँका पुस्तकहरु अझ गहिरिएर पढ्नु छ, उहाँका लेखोटहरु छिचोल्नु छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 14 January 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  

 



Saturday 8 January 2022

तिमीहरु नामर्द रहेछौ

 


    हाम्रा ससुरा बुवा छोराहरुलाई अर्ती दिँदा भन्ने गर्नुहुन्थ्यो रे– हेर फलानाको छोरा घर छोडेर परदेश लाग्यो । तिमीहरु चाहिँ घरमै बसिरहन्छौ ? घर छोड्न नसक्ने तिमीहरु नामर्द रहेछौ । उहाँको विचारमा मानिसले उन्नती प्रगति गर्ने हो भने घरमा बसेर हुँदैन, घर छोड्नुपर्छ भन्ने थियो रे !

          हुन पनि हो, हामी जीवनका अनेक पाठ बाहिरी संसारमा पसेपछि मात्र सिक्न सक्छौँ । हालसालै हाम्रो छोरो करिब साढे तीन वर्ष अमेरीकामा बसेर एक महिनाको छुट्टी मनाउन घर आएको थियो । परदेशिएको छोरामा आएको परिवर्तन देखेर म प्रभावित नभइ रहन सकिन । ऊ नेपालमा हुँदा घरको काममा चासो राख्दैनथ्यो । बिहान कलेज जानलाई सधैँ मैले नै उठाइदिनुपर्थ्यो । समग्रमा ऊ आफ्नो पढाइ, आफ्ना साथीभाइ र डिजीटल गेममै व्यस्त थियो । ए लेभलको पढाइ सकेर उच्चशिक्षाका लागि उसले घर होइन, देश नै छोडेको थियो । केही वर्षपछि घर फर्कदा उसको स्वभाव अलि अर्कै भएको रहेछ । ऊ हरेक दिन हामीलाई काम सघाउन तत्पर देखियो । उमेरसँगै उसमा परिपक्वता त आयो नै तर ऊ धेरै नै उत्तरदायी, आत्मनिर्भर, आत्मअनुशासित, आत्मनिर्णय लिन सक्ने र संकट व्यवस्थापन गर्न सक्ने भएछ ।

          यसले के देखाउँछ भने हामीले केटाकेटीलाई उनीहरुको उमेर बढेसँगै अलिअलि बाहिरी संसार पत्ता लगाउने उत्तरदायित्व दिँदै गयौं भने उनीहरु होशियार बन्दै जाने रहेछन् । हामी अष्ट्रेलियामा हुँदा मैले विद्यावारिधिको अनुसन्धान गरेको विद्यालयमा कक्षा पाँचका विद्यार्थीलाई नै क्याम्पिङ् गर्ने भन्दै विद्यालयले हरेक वर्ष एक हप्ताको लागि बाहिर कतै लैजाने  गर्थ्यो । कतिपय एशियन आमाबाबुले आफ्ना छोराछोरीलाई एक्लै त्यसरी पठाउन मानेनन् । मैले स्कूलकी प्रिन्सिपललाई सानै उमेरमा केटाकेटीलाई यतिका दिन घरबाट टाढा लैजाँदा समस्या हुँदैन भनेर सोधेकी थिएँ । उनको उत्तर पनि चाखलाग्दो नै थियो । उनले भनेकी थिइन् – हामी सधैँ यी नानीहरुलाई “कम्फोर्ट जोन” बाट निस्किएर बाहिर जान प्रोत्साहित गर्छौं  । सधैंभरि आमाबाबुले सुरक्षा प्रदान गरिरहने हो भनें उनीहरुले आफ्नो जीवनमा आइपरेका समस्या समाधान गर्न सक्तैनन् । सामाजिक सीप सिक्न सक्तैनन् । यो क्याम्पिङ्  केटाकेटीका लागि जीवनोपयोगी सीपहरु सिक्ने राम्रो अवसर पनि हो ।

चरा उडेकै राम्रो

          समयको कुनै न कुनै कालखण्डमा गएर त हामी सबैले आ–आफ्नो जीवनको जिम्मा आफैं  लिनुपर्छ । केटाकेटी ठूला हुन्जेलसम्म पनि आमाबाबुले च्यापिरहने गर्नाले उनीहरु सानो सानो कुरामा पनि आफ्नो निर्णय लिन सक्तैनन् । शायद यस्तै कुरालाई मध्यनजर गरेर होला पश्चिमा मुलुकमा छोराछोरी १८ वर्ष भएपछि घर छोडेर हिंड्ने चलन भएको । यस्तो चलनले उनीहरुलाई आफ्नो खुट्टामा उभिन निकै सहयोग गर्दो हो ।

          म विशेषगरी आमाहरुले भन्ने गरेको सुन्छु, “मेरो छोरालाई त भात पकाउन पनि आउँदैन ।” यस्तो कुरा सुनेर म छक्क पर्छु । लाग्छ, यो गर्व गर्ने विषय होइन । सामान्य खाना बनाउन त सबैले जान्नुपर्छ । नत्र एक्लै परेको बेला भोकै बस्नु ? या सधैँ बाहिरबाट मगाउनु ?

          एकचोटि इन्डियाबाट एउटा केटो स्नातक तह पढ्न अष्ट्रेलिया गएछ । त्यो बेलासम्म ऊ घर छोडेर कतै गएको रहेनछ । अष्ट्रेलिया त गयो तर त्यहाँको रहनसहन केही नबुझेपछि आत्तिएर ऊ पढाइ शुरु नै नगरी इण्डिया नै फर्किएछ ।

कुरैकुरामा मैंले छोरासँग अमेरिकामा तेरा कस्ता कस्ता साथी छन् भनेर सोध्दा उसले मलाई निकै घतलाग्दा कुरा सुनायो । उसले चाहिँ बाबु आमाको कडा निगरानीमा हुर्केका युवाको अर्कै खालको कमजोरी देखेको कुरा गर्यो । कहिल्यै पनि आमाबाबुको नजरबाट पर जान नपाउँदा, विदेशमा अचानक पाएको स्वतन्त्रतालाई उनीहरुले उत्तरदायीपूर्ण तरिकाले सम्हाल्न नसक्ने रहेछन् ।

          मेरो छोराले चिनेकै एउटा केटो यतिसम्म सुरक्षा घेराभित्र रहेछ कि उसले विदेश जानु अगाडि एक रात पनि आमाबुबाबिना बिताएको रहेनछ । जब उसले अमेरिकन कलेजले दिने स्वतन्त्रता चाख्यो, उसले त्यसलाई व्यवस्थापन गर्न सकेन । हरेक रात रमाइलो गर्ने क्रममा चाँडै नै यसको असर उसको पढाइमा पर्यो र उसले वर्षौंको मेहनतले कमाएको छात्रवृत्ति पनि गुमायो । त्यहि स्वतन्त्रता र रमाईलोको लतले गर्दा उसले चाहेको विषय पनि पढ्न पाएन । सायद उसले बिस्तारै आमाबुबासँग नहुँदा कसरी जोखिम ब्यवस्थापन गर्ने र जिम्मेवार तरिकाले आफ्नो पढाइ र मोजमस्ती गर्ने भन्ने कुरा सिक्न पाएको भए त्यस्तो दुर्दशा बेहार्नु पर्दैन थियो होला ।

आफ्ना सन्तानलाई बिस्तारै पखेटा फैलाउन नदिएर आमाबुबाले अन्जानमा तिनीहरुलाई एउटा थुनिएको चरा जसरी राख्छन् । यसले बढ्दो उमेरका केटाकेटीलाई दुई तरिकाले असर पर्छ । एक त थुनिएको चरालाई राम्ररी उड्न आउँदैन । अर्को, उनीहरु आमाबाबुविरुद्ध विद्रोह नै गर्छन् । केहि चरा धेरै जोडले पखेटा फड्फडाउँछन् र थाहा नपाई भित्तामा ठोक्किएर भूर्इंमा पछारिन्छन् । केहि चरा त पखेटा नखोली आफू थुनिएको स्थानमै बसिरहलान् । तर यसरी थुनिएका चराले बिस्तारै आफ्नो पिँजडाप्रति नकारात्मकताको अनुभूति गर्न थाल्छन् । जब  एक युवालाई आफ्ना आमाबुबाले उसको स्वतन्त्रता हनन् गरे जस्तो लाग्छ, ऊ स्वतन्त्रताको खोजी गर्न थाल्छ र स्वतन्त्रता पाएपछि बाबुआमाबाट टाढिदै जान्छ । आफ्नो पिँजडाका नमीठा सम्झनाहरुले गर्दा कहिल्यै घर नफर्की ऊ आफ्नै बाटाको बारेमा मात्रै सोच्छ । उसका आमाबुबाले उसलाई कैदी बनाएजस्तो लाग्न सक्छ र ऊ आमाबुबाप्रति नकारात्मक हुन्छ । तर जानीजानी कुनै पनि आमाबाबु आफ्नै सन्तानलाई कैदी भएको अनुभुति गराउन चाहँदैनन् । मायाले गर्दा आफ्ना छोराछोरीलाई सान्सारिक घनचक्करबाट जोगाएर राखेको भन्ने उनीहरु सोच्लान् तर समझदार आमाबाबुले आफ्ना छोराछोरीलाई परिपक्व बनाउन बिस्तारै उनीहरुलाई आफ्नै खुट्टामा उभिन दिनु पर्छ ।

 आफ्नो महत्व

          घरको सुरक्षा नछाडिकन बाहिरी दुनियाँको असली चरित्र थाहा पाउन गाह्रो हुन्छ । त्यसैले पनि घरको मायालु वातावरणबाट अलि पर जानु र आफ्ना खुट्टामा उभिनु नितान्त जरुरी हुन्छ । आफ्नो बारेमा आफूले थाहा नपाउँदा कस्तो दूर्दशा हुन सक्छ भन्ने कुरा यो छोटो कथाले अझ स्पष्ट पार्ला । एउटा हरिण झन्डै ९० कि.मी. प्रति घण्टाको रफ्तारमा दौडिन सक्छ । अनि सिंह कस्सिएर दौडिदा ५८ कि.मी. प्रतिघण्टा मात्र दौडिन्छ तैपनि सिंहले हरिणलाई खेदेर मारेर खान्छ । किन होला ?


          किनभने हरिणलाई आफ्नो दौडने क्षमताको बारेमा थाहा हुँदैन । उसले केवल सिंह हिंस्रक जीव हो र यसले मलाई मार्छ भन्ने मात्र संझन्छ । त्यस भयले गर्दा हरिण बारम्बार सिंहलाई पछाडि फर्केर हेर्छ र एक प्रकारले बिस्तारै आत्मसमर्पण नै गर्छ । यदि हरिणले आफ्नो दौडने शक्ति थाहा पाउने हो भने पक्कै पनि सिंहले समात्न सक्ने थिएन । त्यस्तै गरी मान्छेले पनि एकपटक घर छाड्ने आँट नगर्ने हो भने आफ्ना बारेमा थाहै नपाई जुनी बित्न सक्छ ।

          घर छाड्नु भनेको आत्मनिर्भरताको पाठ पढ्नु पनि हो । आफैंले दुःखजिलो गरेर खाने र बस्ने परिस्थितिमा धेरै कुरा सिक्न सकिन्छ । बाबुआमामा निर्भर गर्ने भन्दा आफ्ना खुट्टामा टेक्ने युवाहरु नै पछि गएर जीवनमा केही गर्न सफल हुन्छन् । अर्काको मात्र भर पर्दा के सम्मको परिस्थिति आउँछ भन्ने बारेमा एउटा रोचक कथा छ ।

          एउटा बूढो मानिस बाटोको छेउमा बसेर गुजारा चलाउँदो रहेछ । ऊ वास्तवमा कसैसँग केही माग्दो रहेनछ र आशा पनि गर्दो रहेनछ । यस्तै हिउँ परेको एक रात एउटा धनाढ्यले त्यस बूढाप्रति दया देखाउँदै भनेछ– “ओहो यस्तो जाडो छ । तिमीसँग सिरक, कोट केहि छैन ?” बूढाले भनेछ, “छैन । म यस्तैमा बानी परेको छु ।” अनि त्यस करोडपतिले एकैछिनमा न्याना लुगा र सिरक ल्याइदिन्छु पर्ख है भनेर आश्वासन दिएछ ।

         


यता बूढो चिसोमा पर्खी बसेछ । अब आउला, तब आउला भन्दा भन्दै रातै कटेछ । धनी मान्छेले घरमा पुगेपछि त्यो कुरै बिर्सेछ । भोलिपल्ट आफैंले गरेको प्रतिज्ञा झल्याँस्स संझेर दौडेर जाँदा पो बूढो त अघि नै मरिसकेछ । त्यहाँ त्यस बूढाले एउटा चिट्ठी लेखेर छाडेको रहेछ । त्यस चिट्ठीमा के लेखिएको रहेछ भने, “मसँग वर्षौंदेखि न्याना लुगा थिएनन् । तर म जस्तै चिसो पनि झेल्न सक्छु भन्ने मलाई लाग्थ्यो र मैले झेलिआएको पनि थिएँ । तर तिमीले न्याना लुगा र सिरकको आशा देखायौ । म त्यसका भर परेँ । मेरो त्यो चिसो झेल्ने शक्तिलाई आज तिमीमाथिको परनिर्भरताले जित्दैछ । शायद अब म तिम्रा कुराका भर परेकाले उज्यालो पार्दिन होला ।”

          वर्षौंदेखि हिउँ र तुसारो खपिआएको बुढोलाई आशक्तिले ढालेछ ।  ए्क्लै बाँच्न र अरुको भर नपर्न पनि घर छाडेपछि मात्र सिकिने हो । यस अर्थमा समर्थवान् बन्नु छ भने हाम्रा ससुराबाले भने जस्तै घर छाड्नै पर्ने हो ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 7 January 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]