Monday 30 May 2022

ऐनाको दोष छैन

 

ताउम्र गालिब यही भूल करता रहा

धूल चेहरे पे थी और

आइना साफ करता रहा !

         


गालिबका यी हरफले धेरै गहिरो अर्थ बोक्छन् । मेरा लागि अहिले यी हरफहरु भर्खरै सकिएको चुनावका लागि भनेरै गालिबले लेखेका रहेछन् जस्तो लागिरहेछ । चुनावहरुले ठूलो अर्थ बोक्छन् । यिनकै आधारमा देशको भविष्य र गन्तव्य निर्धारण हुन्छ । तर यो कुरा जनस्तरमा अझै पनि राम्रोसँग पुग्न सकेको छैन । राजनीतिकर्मीहरुले जनतालाई पाँच वर्षमा एक पटक छाप हान्ने प्रयोजनका रुपमा मात्र महत्व दिएका छन् । अझ लोकतान्त्रिक पद्धतिमा चल्न कसम खाएका राजनीतिक दलहरुले त स्पष्ट रुपमा जनसमस्याहरुलाई आधार बनाएर चुनाव जित्ने अस्त्र मात्र बनाएका छन् ।

आत्मसमीक्षा

          हामी रमितेहरुका लागि यसपालिको स्थानीय चुनाव पहिले पहिलेका चुनाव भन्दा रोचक रह्यो । यसमा गठबन्धन पक्ष हुनु र स्वतन्त्र पक्षको उम्मेद्वारी पर्नुले पनि रोचकतामा मसला थपियो । ठूला मानिएका दलले उठाएका धेरै उम्मेद्वारहरुले उनीहरुकै आधार क्षेत्र मानिएका ठाउँमा हारे । ठूला मानिने दलका पुराना पकड क्षेत्र मानिएका ठाउँहरुमा नतिजा उल्टियो । यस परिणामलाई हेर्दा हामी रमितेहरु त छक्क पर्नु स्वभाविक भए पनि ठूला मानिएका दलहरु भने तीन छक्क परेका छन् । उनीहरुले हारलाई सहज रुपमा स्वीकार गर्न सकिरहेका छैनन् । आफ्ना कमी कमजोरीलाई उनीहरुले सहज रुपमा लिन सकिरहेका छैनन् । आफ्नै पुरानो रेटोरिक प्रयोग गरेर अन्तर्घातको आलाप गाइरहेका छन् । उनीहरुले आफ्नो अनुहार धुने र सफा गर्ने प्रयास गरेकै छैनन् । त्यसको सट्टा जनतारुपी ऐनालाई दोष थोपरिरहेका छन् । आत्मसमीक्षा शब्दको दुरुपयोग गरेर अरुलाई लाञ्छना मात्र लगाइरहेका छन् । 

          राजनीतिक दलहरुले प्राप्त गरेका अनपेक्षित चुनावी परिणामका पछाडि ती दलका प्रतिनिधिहरुले गरेका कार्यहरु नै हुन् । जस जसले आफ्नो धरातल नबिर्सी जनतासँग हातेमालो गरेर काम गरे ती दलका प्रतिनिधिहरु पुनः चुनिएका छन् । तर जसले राजनीतिक संस्कारलाई बिर्से, वित्तिय अनुशासनमा बस्न सकेनन् र जनसमस्याबाट परपर भए त्यस्ता व्यक्तिले हारे । यो स्वभाविक तथ्य हो । दल, छाप र सिद्धान्त जस्ता कुरालाई एकछिन बिर्सिएर संयमी, पठीत, निष्कलंक र उर्जावान् युवकहरुको जमातलाई अघि लगाउने हो भनेँ देशले पक्कै पनि नयाँ मार्गचित्र कोर्न सक्छ भन्ने कुराको प्रमाण पनि हो यो । 

 जादूको छडी

         


पूर्वतिर हर्क साम्पाङ्ग र काठमाडौँमा बालेन्द्र शाहको लौरोले यसपटक चमत्कार गरे । मेरो आफ्नो मूल्याङ्कनमा यी दुवै अनुहारहरु राजनीतिक वृतमा पुराना थिएनन् । यिनीहरुका घोषणापत्र पढेर सर्वसाधारण जनता पछि लागेका पनि होइनन् । हामीले त्यस किसिमका घोषणापत्र प्रत्येक चुनावमा देखेका र सुनेका हौँ । ती घोषणापत्रहरुले कुनै तात्विक अर्थ पनि राख्दैनन् । यो कुरा हामी सर्वसाधारण जनताले देखेको, बुझेकै हो । यसपल्टको साम्पाङ्ग र शाहप्रतिको झुकाव दलहरुप्रतिको वितृष्णाको परिणाम हो भन्न पनि सकिन्छ । यो जागरुक र युवा व्यक्तिहरुलाई अगाडि लगाउनु जरुरी छ भन्ने सन्देश हो । अब पनि चिन्तनशक्तिको हद म्याद पार गरिसकेका व्यक्तिहरुले पार्टी र देश हाँक्ने दुस्साहस नगरुन् भन्ने सन्देश पनि हो । चेतनशील वर्गले उठाएका लौराहरुले अब आउने संसदीय चुनावमा पक्कै ठूलो अर्थ राख्छन् । राजनीति भनेको एक अर्काप्रति गरिने गाली–गलौज र दोषारोपण मात्र होइन रहेछ भन्ने कुरा यी लौराका उदाहरणबाट नसिके अझ ठूलो क्षति राजनीतिक दलहरुले बेहोर्नु पर्ने कुरा अकाट्य छ । पञ्चायतकाल पछिको हिसाब किताब हेर्दा दलहरुले तीन दशक देखि शासन गरिआएका छन् । यस अवधिमा मूलतः कांग्रेस, एमाले र माओवादीले देशमा शासन चलाए । यस समयावधिमा जनताको जीवनस्तर र शासकीय मानसिकतामा खासै सुधार आएन । चुनावको समयमा शिक्षा, स्वास्थ्य र रोजगार प्रमुख मुद्दा रहिआए पनि यिनै विषयहरु उपेक्षित रहे । यिनै दलीय असफलताका परिणाम स्वरुप बालेन शाह र हर्क साम्पाङ्गजस्ता पात्रहरु जनताका रोजाइमा परे । मतदाताहरुले आफ्ना विचारहरु बन्दकी राख्दैनन् र दलीय उर्दीका आधारमा जो जस्तो उम्मेद्वार उठाए पनि मत हाल्दैनन् भन्ने कुराको प्रमाण पनि हो यो स्वतन्त्र उम्मेदवारहरुको जीत ।

          तीस वर्ष अगाडिको समयलाई हेर्दा पञ्चायत विरोधी संघर्षमा दलहरुले ठूलो भूमिका खेलेका हुन् । उनीहरुका राजनीतिक सिद्धान्त र विचारलाई आधार बनाएर जनताले पटक पटक दलहरुलाई जिताए । तर यसबीचमा दलहरु समेत आफ्ना सिद्धान्त र विचारबाट डगमगाएका छन् । यस कुरालाई अहिलेको समयको सामाजिक संजालले ल्याएको खुला सम्वाद क्रान्तिले समेत बल पुर्याएको छ । दलहरुले आफ्ना सिद्धान्त र व्यवहारबारे मेल गराउन नसक्दा अहिलेको परिस्थितिमा जनताले दलीय छाप भन्दा उम्मेद्वारको व्यक्तिगत चरित्रलाई ध्यान दिएको देखिन्छ । राजनीतिक दल र त्यसका मूल पात्रहरुले दलीय सिद्धान्तको बहस भन्दा पनि व्यक्तिगत आरोप प्रत्यारोपमा समय खर्चिएको देखिन्छ । यसको मूल्यांकन जनताले गर्न थालेका छन् । दलीय आस्थाप्रति जनता विमूख हुँदै जानु राम्रो संकेत होइन । दलीय आस्थाप्रति जनता विमूख हुँदै जानुको अर्थ अर्को किसिमको संघर्ष र अराजकतालाई निम्तो दिएको हो । यो किसिमको अराजक स्थितिलाई नियन्त्रणमा ल्याउन प्रमुख राजनीतिक दलहरु नै जिम्मेवार छन् । उनीहरु आफ्ना सिद्धान्त र व्यवहारमा अडिग रहनुपर्छ । जनतामुखी हुनैपर्छ र लोकतन्त्रलाई जोगाउनुपर्छ ।

अभिमतरुपी ऐना

         


अहिलेको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले पाएको भोट पक्का जन अभिमत हो । यी जनप्रिय उम्मेद्वारहरु कुनै दलका विरुद्धमा नभई जनताका आड भरोसामा उभिएका उम्मेद्वार हुन् । पुराना कार्यकाल दोहोर्याएर उठेका सबै उम्मेद्वार पनि हारेका होइनन् । ललितपुरका चिरिबाबु महर्जन यसका उदाहरण हुन् । जनताले पत्याएका चिरिबाबु जस्ता व्यक्तिहरु, सुनिल प्रजापतिजस्ता उम्मेद्वारहरु हार्दैनन् किनभनेँ उनीहरु आफूमात्र जितिरहेका छैनन्, जनतालाई पनि जिताइरहेका छन् । दलहरुका गतिविधिका कारण नै अहिलेको दलहरुले चुनेका प्रतिनिधिहरुको हारको प्रमुख कारण हो ।

          अर्कोपट्टि हेर्ने हो भने राजनीतिक दलले आफ्नो गढ ठानेका क्षेत्र र जनताको मत लिन सक्षम ठानिएका उम्मेद्वारहरु हारिरहेका छन् । यस पटकको मतदान परिणामले दलहरुलाई जनताका अभिमतरुपी ऐनामा  पुनः एकपटक आफ्नो धूलोले छोपेको अनुहार हेर्न र धूलो मैलो पखाल्न सन्देश दिएको छ । अझै पनि उनीहरुले ऐनालाई नै दोष दिने हो भने, जनता भेडै हुन् भन्ने हो भने, अब आउने प्रदेश र संघीय चुनावमा उनीहरुले ठूलो क्षति बेहोर्नु पर्नेछ । यस स्थानीय चुनावले सिकाएको पाठलाई अझै पनि उपेक्षा गर्ने हो भने जनताले आफैं विकल्प खोज्ने रहेछन् । झूठ र पैसाको राजनीति जनताले चाहेको होइन रहेछ भन्ने कुराको सन्देश पनि यस पटकको स्थानीय चुनावको परिणामले दिएको छ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 27 May 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Monday 23 May 2022

लाङ्रीले दालै पातलो बनाएछ !

 

 

         


    यात्रालाई जीवनको पर्याय ठान्दा हुन्छ जस्तो लाग्यो मलाई । यात्रा जीवनजस्तै कष्टकर पनि हुनसक्छ, उमंगले भरिएको पनि हुनसक्छ, अल्छिलाग्दो वा विरक्तीलाग्दो पनि हुनसक्छ । जीवनसँग अन्य वाह्य तत्वहरु जस्तै– इच्छा, अपेक्षा जोडिँदा भारि थपिएजस्तै रहेछ यात्रा पनि । अलिकति लुगाफाटा च्यापेर कुनै ठूलो अपेक्षा नलिई हिँड्नुमा यात्राको मजा अर्कै रहने रहेछ । मैले अघिल्ला लेखन अंशमा उल्लेख गरेकै असम यात्राको एक अर्कै पाटो हो यो । मलाई त ‘थ्री मेन इन अ बोट’ उपन्यासमा तीनजना मित्रहरुले गरेको जलविहार र उल्काहरुको याद आइरह्यो । १८८९ मा नै जेरोम के. जेरोमले लेखेको सो उपन्यासमा काम गर्दा गर्दा हल्लुण भएका तीन मित्रहरु यात्रामा निस्केका छन् र उनीहरुले गरेका उल्काले पुस्तक भरिएको छ । हाम्रो यात्रा उद्देश्यपरक भए पनि कम्ति उल्काले भरिएको थिएन ।

दालै पातलो

          हामीले रेल त करिब एक बजे दिउँसोको समात्नुपर्ने थियो । तर केहि टोली सदस्य काकरभिट्टामा र केहि दमकमा भएकाले यात्रा छिट्टै शुरु भयो । आखिरमा न्यू जलपाइगुडी पुग्दा बिहानको दश पनि बजेको थिएन । टोली संख्या दश, झोला पोका संख्या करिब चालिस । सबैभन्दा डरलाग्दो त टोली प्रमुखका दुईवटा सुटकेश र एउटा ब्याग । ती सुटकेश र ब्यागभरी अन्य पदार्थ केहि नभई पुस्तकहरु मात्र थिए । उचालिनसक्नुका भारी । धन्न सेवानिवृत ब्रिटिश भर्तिवाला कवि ब्रायन हितान र मेरा पति खगेन्द्र हुनुहुन्थ्यो ती भारी जिम्मा लिने । स्टेशनमा खत्रक्कै तीन घन्टा रुँगाई भयो रेलको ।

          त्यसबीचमा चिया दुई तीन राउण्ड चल्यो । शंकास्पद व्यक्तिहरुलाई कसरी आफ्ना सामान छेउमा पर्न नदिने र स्टेशनमा दलाली गरेर कसरी सामान किन्ने विषयमा बहश, छलफल र डेमो नै भयो । डा. कुमार सरले सातसय भनिएको स्वीस नाइफ रु. सयमै खरिद गरेर देखाइदिनुभयो तर त्यसको टिकाउपन बारे चाहिँ कसैले यसै भन्न सक्ने स्थिति रहेन । त्यतिबेलै त्यो नाइफको एउटा टुप्पो बाङ्गिसकेको थियो । कसोकसो रेल त चढियो तर सिटहरु छरपस्ट थिए । सामान थन्क्याएपछि अलिअलि गर्दै अरुका ठाउँ मिच्दै हामी एकै ठाउँमा आइपुग्यौँ । खाना सहितको रिजर्वेशन भएकोले खाना आई नै हाल्यो । खानाको प्याकेट खोल्ने ढंग नपुगेर केहि सदस्यको दाल पोखिएर बिजोग भयो । अझ टोली नेताको त घुँडामुनिको भाग पहेँलै भयो । ढंग नपुगेको कुरा त कसरी भन्ने ? टोलीले निस्कर्ष निकाल्यो–आज लाङ्रीले दालमा पानी धेरै जखेछ । त्यसै निहुँमा अन्य धेरै कुराहरु निस्के ।


          जाँदा त हामी सबैका टिकट सिलिगुडीका आफन्ती मुक्ति बराल दाजुले गरिदिनुभएकोले हामी ढुक्क थियौँ । आउँदा पनि असमी बन्धूहरुले टिकट गरिदिनुभएको थियो । कसैले पनि गहिरोगरि टिकट हेरिएनछ । हामी गुवाहाटीबाट रेल चढ्नासाथ सबैलाई चिया कफी दियो । हामीलाई त दिएन । निकैबेर सम्म पनि हामीलाई नदिएपछि लाङ्रीलाई सोध्नै पर्ने भयो । अनि पो थाहा पाइयो त त्यो त खाना समावेश नगरिएको टिकट रहेछ । त्यसपछि लाङ्री फकाएर भए पनि हामीले किनेर खायौँ । यो टिकट हेर्न नजानेको कुरा चाहिँ गोप्य हो है । कसैले कसैलाई नभन्ने शर्त छ हाम्रो ।

सित्तैमा बस यात्रा

          म सित्तैको बसमा चढाउने व्यवस्था गर्छु है त!” भनेर डा. खगेन अघि लाग्नुभयो । गुवाहाटी पल्टन बजारको नेपाली मन्दिर अगाडिबाट लाग्ने बसमा उहाँले चढाइदिनुभयो । हो रहेछ, महिलाहरु जतिलाई त असममा सरकारी बसमा फ्रि पो रहेछ । हामी नौ जना बस चढ्दा चार महिलाको त भाडै लिएन । त्यो अचम्म कुराको धङ्धङे नसकिँदै अर्को कुरा सुनियो– १२ कक्षा पास गर्ने केटीहरुले सित्तैमा स्कुटी पाउने रहेछन् । उता दिल्लीमा केजरीवाल सरकारले शुरु गरेका जनप्रिय कुराले अन्य भारतीय राज्यहरुमा जनदबाव बढ्दै गएपछि असममा पनि शुरु भएका रहेछन् यी महिलामैत्री कार्यक्रमहरु ।

          अर्को दिन हामी ब्रम्हपुत्रका बीचमा ठूलो चट्टानी टापूमा उभिएको उमानन्द मन्दिर जाने क्रममा थियौँ । त्यस टापूमा पुग्न जहाज चढ्नुपर्ने । जहाजमा पनि महिलालाई निःशूल्क होला नि त भनेको त होइन पो रहेछ । भू–मार्गमा मात्र निःशूल्क


रहेछ । हवाइ मार्ग र जलमार्गमा त खुत्रुक्क तिर्नुपर्ने रहेछ ।

 मधूर त्रास

          पारीपट्टि उमानन्द मन्दिर जाने जहाज हामी पुग्नुभन्दा एकैछिन् अघि मात्र छुटेको रहेछ । एक घन्टा हामीले त्यहिँ पर्खनुपर्ने भयो । बिस्तारै बिस्तारै भीड बढ्दै थियो । अर्को चहटको जहाजमा जान टिकट काट्ने मान्छेहरु आतुर थिए । साँगुरो यात्रु कक्ष भरियो । अनि टोली सदस्यहरु तिर्खाए । हामीमध्ये एक सदस्य पानी किन्न थोरै टाढा जानुभयो र दुई बोटल पानी लिएर फर्किनुभयो । उहाँसँग छुट्टा नभएपछि पसलेले पानी बाँकी दिएको रहेछ । धार्मिक ठाउँमा पैसा नदिई मान्छे नजाने भएकाले बाँकी पनि नमागी दिने रहेछन् त्यहाँ त । पछि फर्केर आउँदा पैसा तिरेपछि मात्र अघि बढियो ।

          धर्मकर्म गर्न मन्दिर आउनेले तलमाथि गर्दैनन् भन्ने कुरा तिरुपति वालाजी मन्दिरमा पनि देखियो । त्यहाँ त अझ मन्दिर प्रवेश अगाडि जुत्ता राख्ने ठाउँ रहेछ । त्यस ठाउँमा जुत्ता राखेर आफैं पैसा बाक्सामा हालिदिएर हिड्नुपर्ने रहेछ ।

          बाहिरफेर ससाना ठगी, बदमासी त मान्छेले कुनै न कुनै रुपमा गरिरहेकै हुन्छन् तर धार्मिक क्षेत्रमा पसेपछि भनेँ मनमा एक प्रकारको सतर्कता वा त्रास आउने रहेछ क्यारे । आफूले गरेका कु–कर्मले कतै न कतै पिरोल्छ कि भन्ने परिरहँदो रहेछ । एक प्रकारको ‘मधूर त्रास’ मनमा बसिरहँदो रहेछ । यो ‘मधूर त्रास’ भन्ने वाक्यांशको उत्पत्ती अति फारो गरेर बोल्ने डा. विष्णु सिंह राई सरले न्यू जलपाईगुडीमै गर्नुभएको थियो । पुरुष जातिहरु आफ्ना जोईको अव्यक्त त्रास मनमा कसरी बोकेर हिँड्छन् भन्ने कुराको सन्दर्भमा उहाँले, “यसलाई त्रास नै त नभनौँ । त्रास भन्ने शब्द अलि कडा भयो । ‘मधूर त्रास’ भन्दा राम्रो होला भन्नुभयो ।” यो युनिभर्सल ट्रुथ उहाँले शब्दहरुको मीठो गठजोड गरेर उत्पादन गर्नुभएको थियो । यस शब्दावलीले हाम्रो असम यात्राभर प्रमूख स्थान पाई नै रह्यो । त्यसको लगत्तै पछि ब्रायन हितानज्यूले राई सरकै कविता ‘उनको मेरो साथ’ सुनाउनुभएको थियो । कविताको एक अंशः

          उनको मेरो साथ

          जस्तो दाल र भात

          सहज, सरल तर

          एकबिना अर्को अधुरो, अपुरो

          एकको लागि अर्को अपरिहार्य ।

          यो सुस्वादु कविता अलि लामै छ । तर यसमा प्रयुक्त ‘दाल’, ‘भात’ शब्द हामीले यात्राभर प्रयोग गर्यौं।

माल्दाइको झोला चैट

          उमानन्द मन्दिर भ्रमण गरेकै दिन हामी गुवाहाटीको अर्को खण्डमा रहेको वशिष्ठ आश्रम पुग्यौँ । पहिले पनि एकपटक गइसकेको हुँदा म र मेरा श्रीमान बाहिरै बस्यौँ । अरु सदस्यहरु मार्गदर्शक अनुपा बहिनीका पछि लाग्नुभयो । माल्दाइले यात्राभरि अत्यन्त जतनसँग च्यापेको छड्के झोला जुत्ता खोल्ने ठाउँमा छाडेर जानुभएछ । पछि टोली नेताले भेटेर ल्याइदिउन्जेलसम्म पनि माल्दाइलाई आफूसँग झोला नभएको जानकारी भएनछ । सबैजना घुमफिर सकेर फर्केपछि झोलाको कुरा सुनेर उहाँ झस्कनुभयो । झोला छामछुम पारेर हेर्नुभयो र भन्नुभयो, “ला हौ । डाकाले लगेछन् ।” हामी सबै दुखित भयौँ । अनि माल्दिदीले फेरी धैर्यपूर्वक झोला खानतलास गर्नुभयो । धन्य माल त्यहिँ रहेछ । माल्दाइले बेहोशीको दण्डरुवरुप सबैलाई चिया खुवाउनुपर्यो ।

          अगुल्टाले हानेको कुकुर.... जस्तै फेरि फर्केर आउँदा त्यहि झोला छैन भनेर माल्दाइले गाडिबाट ओर्लने बेलामा भन्नुभयो । एकछिन खोजी गर्दा पत्ता लाग्यो । उहाँ त त्यो झोला सिटमाथि ओछ्याएर बस्नु भएको रहेछ ।

          यस्तै यस्तै रमाइलोसँग यसपालीको यात्रा टुङ्गियो । असम यात्राले दुई वर्ष देखि कोरोनाले थलिएको मन मष्तिस्कको ठूलो उपचार भयो ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 20 May 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Saturday 14 May 2022

हजुरहरु कहाँ नाम्नुहुन्छ?

         


    गुवाहाटीदेखि विश्वनाथ चाराली पुग्नु थियो हामीले । बाटो त त्यस्तै चार पाँच घन्टाको मात्र रहेछ भू–यानमा तर हामीलाई झण्डै सात घन्टा लाग्यो । ढिलाइको प्रमुख कारण त ट्राफिक जाम नै थियो । नौलो ठाउँमा एक्लै हुँइदो हो त मनमा अलिकति सन्देह हुन्थ्यो होला । तर हाम्रो त दशजनाको जत्था थियो । बसमा चढ्ने बित्तिकै आफ्नै भाका र भाषामा गफका पर्रा छुटे । सोणितपुर जिल्ला त्यतै पर्ने रहेछ । कमल दाजुले आफ्नो शास्त्रीय ज्ञान जोडेर सोणितपुरको कथा लगाउनुभयो । आदिकालमा भगवान शिवका सेना र कृष्णका सेना बीचमा यसै स्थानमा भयानक युद्ध भएको रहेछ । युद्धको कारणचाहिँ शिवभक्त वाणासुर नामक राक्षसकी छोरी उषाले श्रीकृष्णका नाती अनिरुद्धलाई मन पराएर अपहरण नै गरिछे । उनीहरुबीच गन्धर्व विवाह पनि भएछ । त्यो विवाह पनि अचम्मसँग जुरेको रहेछ । वाणासुर राजाकी छोरी उषाले सपनामा श्रीकृष्णका नाती अनिरुद्धलाई देखेकी रहिछ । अनि त्यो सपनाका वर्णनका आधारमा उषाकी साथी चित्रलेखाले चित्र उतार गरिछ । अनि मात्र त्यस दिव्य पुरुषको खोजी गर्दा अनिरुद्ध फेला परेछन् । यसरी नातीको रक्षामा उत्रिएका हरि (कृष्ण) र भक्त वाणासुरका पक्षमा उभिएका हर (शिव) का सेनाबीचको भयानक रक्तपातपूर्ण (सोणित) युद्ध भएको स्थान नै सोणितपुर रहेछ । कथाको अन्त्यचाहिँ सुखद रहेछ । ती दुई प्रेमीको मिलन भएछ ।

 असम घुम्ने क्रममा ती चित्रलेखाले चित्र कोरेको ठाउँ र यसै मिथकसँग जोडिएको अग्निगढ़ पर्वत समेत देख्न पाउँदा कमल दाजुजति हर्षित को भयो होला र ?

          यो कथा चल्दै थियो । यसै बिचमा अलिकति तलतल र अलिकति भोक पनि मेट्न मुस्ताङबाट आएका स्याउका सुकुटी निस्के, निर्मला दिदीको ब्यागबाट । त्यसपछि सुबना दिदीले भुजिया, सोनपापडी लगायतका वस्तु झोलाबाट फुतुफुतु निकालेर बाँड्नुभयो । उहाँले रेलमा बाँडिएका ती वस्तु जोगाएर राखेर बसको यात्रामा बाड्नुभएको थियो तर ठट्टामा हितान सरले, “मैले पनि त्यहाँ बढारेको बेला टिपेको भए अहिले कति काम लाग्ने रहेछ,” भन्दा हाँसोको फोहरा नै छुट्यो । समय कटनी गर्नु थियो । परपरका पहाड, सडक छेउका धापिला जमिन, सुपारीका रुखहरु, ब्रम्हपुत्रका विशाल र उर्वर फाँटका बीचबाट बस बेतोड दौडिरहेको थियो । अब गफले अर्को मोड लियो– “असममा के छ ?” असममा हामीले नदेखेको कुरा केहि नभएको निस्कर्ष निस्कियो । यो केवल ठट्टामिश्रित हाँसोको खुराकी मात्र थियो । हामी यति जोडले बोलेछौँ र हाँसेछौँ कि छेउका एकजना भाइले हल्ला कम गरिदिन अनुरोध गरे । अलिकति लाज माने जस्तो गरेर टोली एकछिन चुप लाग्यो तर कसरी चुप लागेर बस्न सकिन्थ्यो र ? फेरि गफहरु शुरु भए । बस ससाना बजार र गाउँ पार गर्दै अघि बढिरहेको थियो । एक ठाउँमा चिया खाजा खान बस एकछिन रोकियो । हाम्रा बिचमा के खाने, कसो खाने विषयमा चर्चा परिचर्चा चल्यो । अन्तिममा हामीले असमको मिठो चिया मात्र किनी खाने टुङ्गो लगायौं । अञ्जना दिदीले काठमाण्डौ देखि जतनसाथ ल्याउनुभएको फुरन्दाना, खजुरी र विराटनगरमा सुमन र महिमा छोरीले बाटोमा खान किनिदिएको भुजिया र मिठाई यतिबेला बहुत काम लागे।

          हाम्रा अघिल्तिर बस्ने एकजना व्यक्ति बेलाबेला हामीतिर हेर्थ्यो अनि फेरि बाहिर हेर्थ्यो । ऊ एक्लो यात्री थियो । यसैबीचमा उसलाई कतैबाट फोन आयो । फोनको स्क्रिनमा होम–१ लेखेको देखियो । उसले केहि बेर शायद असमी भाषामै कुरा गर्यो । त्यसको लगत्तैपछि उसको अर्को फोन आयो र स्क्रिनमा होम–२ देखियो । त्यसै कुरालाई लिएर डा. कुमार र मेरा श्रीमानले गफ शुरु गर्नुभयो– “यसका दुई घरबार रहेछन् ।” कुरामा कुराहरु जोडिए । हाँसो त कति हो कति । त्यस व्यक्तिका शारीरिक स्वरुपका बारेमा पनि कुरा भए । त्यसको आधा घन्टाजति पछि साँझ पर्न थालिसकेको थियो । हामी कता उत्रने भन्ने टुङ्गो थिएन । अब कण्डक्टरलाई सोध्नुपर्ला भन्ने सल्लाह हुँदाहुँदै

त्यसै व्यक्तिले सोध्यो, “हजुरहरु कहाँ नाम्नुहुन्छ?”

          ला, त्यो व्यक्तिको हामीले त्यत्रो खिल्ली उडायौं । बिचरा उसले पनि सुन्यो होला । ऊ हामीलाई सोध्दै थियो कहाँ झर्नुहुन्छ भनेर । उनी त्यतै बस्ने हरि ओली रहेछन् । हामीले साहित्य सम्मेलनमा आएका र फलानालाई भेट्नु पर्नेछ भन्नासाथ उनले फोन लगाए । पाहुनाहरु आउँदैछन् भन्ने खबर गरिदिए र अन्त्यमा हामीसँगै ओर्लेर प्रतिक्षार्थीहरुसँग मिलन पनि गराइदिए ।

          दिनभरी बसमा वरपर गर्ने, ढोकामा उभिएर यात्रुलाई बोलाउने एकजना बलिष्ठ कदका भाइ थिए । तिनले हामी नेपाली हौँ भन्ने कुरा त डा. खगेनबाट गुवाहाटीमा बस चढ्ने क्रममै चाल पाएका हुनुपर्छ । तर ती भाइ पनि बढो छुपेरुस्तम निस्किए । दिनभर बाटोमा मुसुक्क हाँस्थे, “चा के लिए बाहर जाइये,” जस्ता कुरा हिन्दीमै गर्थे । यात्राको अन्तमा भनेँ उनले छेउमा आएर सोधे– “कति दिन बस्ने हो यता? तपाईँहरु नाम्ने ठाम् आउन आट्यो ।” पछि पो थाहा भयो ती त त्यहिँ विश्वनाथ चाराली गोलियाका नेपाली भाइ रहेछन् । एकजना बंगाली युवतीसँग प्रेम विवाह गरेपछि चटक्कै नेपाली बोल्न छाडेका रहेछन् । नेपाली बोल्न छाड्नुको पछाडिको कथा व्यथा अर्कै होला तर जे होस् हामीसँग त अलिकति बोले ।

          बासबाट नाम्ने बेलामा त झमक्क साँझ परिसकेको थियो । बसको ढोकैमा वर्षौदेखिको चिनाजाना जस्तो ज्ञानबहादुर दाजुले सबैको नामले एक एक गर्दै पुकार्नुभयो । यता पुराना मित्रहरु झैं, वर्षौपछि देखादेख भएका दाजुभाइ झैं  चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा, पूर्णकुमार शर्मा, अञ्जन बाँस्कोटा, चिन्तामणि शर्मा, प्रकाश लिम्बू लगायतका सहृदयीहरु गाडी लिएर हामीलाई दुई घन्टादेखि पर्खिरहनुभएको रहेछ । गाडीमा सामान थन्क्याएपछि फोटो उठाउने काम भयो । त्यस भेगमा फोटो खिच्ने नभनेर फोटो उठाउने भनिँदो रहेछ । त्यसैगरि बसलाई बास भनेको र सरलाई सार भनेको पनि स्थानीय जनजिब्रोमा राम्रो सुनिंदो रहेछ ।

          कारहरुका लस्करलाई धेरै बेर लागेन गन्तब्यमा पुग्न । छिनभरमै हामी सरकारी पाहुनाघर सर्किट हाउसमा छिरेउं। तल बन्दूकसँग गार्डहरु पहरामा थिए । अबका दुई रात हामीले सर्किट हाउसमै बिताउनुपर्ने थियो । सिम्सिमे पानी पर्दापर्दै, हामीले प्रकाश सुब्बा र विष्णुदेवी बहिनीले आयोजना गर्नुभएको रात्री भोजनको आतिथ्य स्वीकार गर्न पुग्नुपर्ने थियो । हामी नेपालको भौगोलिक सीमाबाट कोशौँ टाढा थियौँ । आफ्नो बासस्थानबाट हजारौँ किलोमिटर टाढाको बाजे बराजुहरुले खोजेको र बिराएको नयाँ धर्तीमा थियौँ । तर यति टाढासम्म ब्रह्मपुत्रको विस्तिर्ण फाँट झैं फैलिएको नेपालीत्व मान र सत्कारले भावविव्हल भएका थियौँ । खानापछि छुट्टिने बेलामा फेरि एउटा फोटो नउठाइकन त किन पो मन मान्थ्यो र !

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 13 May 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Sunday 8 May 2022

अतिथि देवो भवः

 


धेरै समयको अन्तरालपछि यसपाली फेरि असम यात्रा जुर्यो मलाई । कस्तो अचम्म ! कोरोना कालअगाडि पनि मैले अन्तिममा असम यात्रा नै गरेकी थिएँ । त्यतिबेलाको यात्रा गुवाहाटीसम्मको मात्र थियो । यो पटक भने त्यहाँभन्दा पर तेजपूर र विश्वनाथ चाराली सम्मको यात्रा तय हुने भएकोले म त्यो यात्रामा सम्मिलित हुन लोभिएकी थिएँ ।

        हुन त यो साहित्यिक यात्रा थियो तर म भनेँ नयाँ ठाउँ हेर्न र त्यहाँका मानिसहरुको रहनसहन बुझ्न बढी उत्सुक थिएँ । हाम्रो टीम पनि यसपाली त जम्बो नै थियो– दश जनाको । डा. गोविन्दराज भट्टराईको नेतृत्वमा हामी सबैजना पछि लागेका थियौं । आफूभन्दा अग्रजहरुसँग जाने भएकाले यो पटक कहाँ बस्ने, कहाँ जाने, के के गर्ने भन्ने कुराको जिम्मा उहाँहरुले नै लिनुभएको थियो । मैले मान्नुपर्ने शर्त खालि टीममा मिल्न सक्नु थियो ।

        बिहानको मिरमिरे उज्यालोमा दमकबाट हाम्रो यात्रा शुरु भयो । जंग भाइको ट्याक्सीमा चढेपछि हामीले कुनै कुराको चिन्ता लिनै पर्दैन । बाटोमा आइपर्ने सबै समस्या भाइले सुल्झाउनुहुन्छ । आफू मात्र गएको भए काँकडभिट्टाबाट बोर्डर क्रस गरी पानीटङ्की पुग्न सास्ती नै हुन्थ्यो होला । तर जंग भाइलाई नागरिकताको प्रमाणपत्र र कोभीड–१९ को खोपकार्ड बुझाएपछि हामीले केहि गर्नै परेन; ट्याक्सीबाट समेत उत्रनु परेन । सबै कुरा उहाँले टाकटुक मिलाउनुभयो ।

        दशजना मान्छे कसरी एउटै ट्याक्सीमा अटाए होला भन्ने प्रश्न यहाँ उठ्न सक्ला ! हाम्रो टीममा चारजना महिला थियौँ र महिला जति जंग भाइको ट्याक्सीमा चढेका थियौँ । बाँकी छ जना पुरुष जीपमा हुनुहुन्थ्यो । पछि थाहा भयो– जीपमा चढ्नेहरुसँग बोर्डरमा निकै सोधपूछ भएछ । जंग भाइका अनुसार सानो गाडीमा चढेकालाई भन्दा ठूलो गाडीमा चढेकालाई बढी शंकाको दृष्टिले हेरिन्छ रे बोर्डरमा ।

        न्यू जलपाइगुडीबाट हाम्रो ट्रेन दिउँसो १२:५५ बजे थियो तर नौ बजेतिरै हामी ट्रेन स्टेशन पुगिहाल्यौँ । तीन चार घण्टा प्रतीक्षामा बिताउनु पनि कष्टकर नै हुन्छ । पर्खिने काम त्यसै पनि मलाई पटक्क मन पर्दैन । १५–२० मिनेट पर्खिनु त सजायजस्तो लाग्ने मान्छेलाई करीब चार घण्टा पर्खिनु कम चुनौतीपूर्ण थियो र ! तैपनि मान्छे धेरै भएको हुनाले यताउता गर्दै, गफ गर्दै, कविता सुन्दै त्यो समय कटनी भयो ।

        रेल सेवामा पनि “राजधानी एक्सप्रेस” चैँ एकदमै ठीक समयमा चल्ने गर्छ भन्ने कुरा सुनिएको थियो । हो रहेछ ! हाम्रो १२:५५ को रेल ठीक त्यतिबेलै न्यू जलपाइगुडीबाट छुट्यो । करीब सात बजेतिर हामी गुवाहाटी ट्रेन स्टेशनमा उत्रियौँ । अब यहाँबाट कता लाग्ने, के गर्ने भन्ने कुराको चिन्ता हामीले गर्नै परेन । गुवाहाटी विश्वविद्यालयको नेपाली विभागका प्रोफेसर डा. खगेन शर्मा हाम्रो स्वागतका लागि  हामी स्टेशनबाहिर निस्कने बित्तिकै भेटिनुभयो । उहाँले नै हाम्रो होटल अग्रिम रुपमा नै बुक गरिदिनुभएकोले त्यतैतिर लिएर जानुभयो । भोलिपल्ट हामी गुवाहाटीमै घुम्ने भयौँ । यसका लागि पनि खगेन सरले नै गाडीको बन्दोबस्त गरिदिनुभयो । यति मात्र होइन, खगेन सरकी श्रीमती अनुपाले त्यो दिनभरि हाम्रो गाइड हुन सहर्ष स्वीकार गर्नुभयो । त्यो दिन बेलुका प्रसिद्ध साहित्यकार लीलबहादुर क्षत्रीलाई भेट्न उहाँको बासस्थानमा पुगेका हामी एउटा सानो सानो भोज नखाई बिदा हुनै पाएनौं ।


        पर्सीपल्ट बिहान हामीले विश्वनाथसम्मको यात्रा तय गर्नु थियो । होटलमै अलि ढिलो गरी ब्रेकफास्ट खाएर हामी निस्कियौँ । त्यतिबेला पनि कहाँ गएर बस चढ्ने होला भनी चिन्ता गर्नु परेन । उनै खगेन सरले हामीलाई बसको टिकट काटिदिनेदेखि बस चढाएर पठाउने सम्मको जिम्मा लिनुभयो ।

        बाटोमा हामी निकै जाममा पर्यौं। त्यसैले गर्दा विश्वनाथ पुग्दा झमक्क साँझ पर्यो । तर बस स्टपमा उत्रदां हामीलाई कुनै अपरिचित ठाउँमा पुगेजस्तो लागेन । हाम्रो स्वागतका लागि त्यहाँ करीब ६-७ जना व्यक्तिको उपस्थिति थियो । विश्वनाथमा हामी दुई दिन बस्यौँ, त्यहाँ हाम्रो खाने बस्ने व्यवस्था भव्य रुपमा गरिएको थियो । त्यहाँका मानिसहरुको सद्भाव देखेर हामी धेरै प्रभावित भयौँ ।

        त्यहाँ नाम चलेको भवन, “सर्किट हाउस” रहेछ । त्यो सरकारी भवनमा बाहिरबाट आउने विशिष्ट व्यक्तिहरु मात्र बस्ने रहेछन् । आम जनताको पहुँचभन्दा बाहिरको त्यहि भवनमा त्यहाँका व्यवस्थापक साथीहरुले हाम्रो बस्ने व्यवस्था मिलाउनुभएको थियो । हाम्रा टोली नेतालाई त मन्त्री बस्ने भव्य कक्ष मिलेको थियो । हामी पुगेको साँझ हाम्रो खाने व्यवस्था व्यवस्थापक साथीमध्येकै एकजनाको घरमा गरिएको रहेछ । यसरी अन्जान शहरमा समेत हामीले घरको न्यानोपनको अनुभूति गर्न सक्यौँ ।

        यति मात्र होइन, हाम्रो टोलीका पाँच जनाले विश्वनाथ कलेजमा हुन गैरहेको कार्यशाला गोष्ठीमा आ–आफ्नो कार्यपत्र प्रस्तुत् गर्नुपर्ने थियो । बाँकी रहेका अरु पाँचजना सिर्फ स्रोता मात्र थियौँ । तर पनि हामीलाई त्यहाँ कुनै विभेदकारी व्यवहार गरिएन । दशैजनालाई दिइएको आतिथ्य सत्कार र सम्मान उस्तै थियो ।

        विश्वनाथबाट हामी तेजपूर आयौँ । तेजपूरमा पनि एउटा कार्यक्रममा भाग लिनुपर्ने थियो । खासमा त्यहाँ लामो समयदेखि चलिआएको नेपाली पत्रिका ‘देशवार्ता’ को ३२ औँ वार्षिकोत्सव रहेछ । त्यहि उपलक्ष्यमा नेपाली भाषा र साहित्यमा योगदान पुर्याउने व्यक्तिहरुको सम्मान गर्ने कार्यक्रम रहेछ । त्यो विशेष कार्यक्रममा हामी ‘पाहुना’लाई उत्तिकै स्तरमा सम्मान गरियो । हामीलाई विश्वनाथ देखि तेजपूरसम्म नै साथ दिने व्यक्तिहरुमा असमका नेपाली साहित्यकारहरु ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा र अन्जन बाँस्कोटा हुनुहुन्थ्यो ।

        हामी विश्वनाथबाट तेजपूर हिँड्नुपर्ने बिहान यसो वरिपरि हावा खान लोकल बजारतिर निस्किएका थियौँ । एकैछिनमा निकै ठूलो पानी पर्यो । ओत लाग्नलाई हामी कुदेर एउटा चिया दोकानभित्र छिर्यौँ। पसलमा भएका २/३ जना भाइहरु उत्सुक भएर हामीसँग गफ गर्न थाले । हामीले चिया खाइसकेको भए पनि पसले भाइले फेरि सबैलाई चिया र बिस्कुट खुवाए । हामीले पैसा तिर्न खोज्दा उनले अस्वीकार गर्दै भने, “आमै, म कहाँ तपाईहरुसँग पैसा लिन्छु ! तपाईहरु त हाम्रा पाहुना ! हाम्रो ठाउँमा आउनुभयो, कार्यक्रम गर्नुभयो, हामीलाई धेरै खुशी लागेको छ ।”

        विश्वनाथ चारालीबाट तेजपूर जाँदा बाटोमा अन्जन बाँस्कोटा भाइको घर पर्दोरहेछ । भाइले हामीलाई बिहानको खाना खाने निम्तो दिनुभएको थियो । त्यहाँ पुग्दा हामीलाई उस्तै अपनत्वको अनुभूति भयो । म पहिलोचोटि गुवाहाटी जाँदा माघे संक्रान्तिको बेला परेको थियो । त्यतिबेला त्यहाँ “बिहू पर्व” भनेर उत्सव गरिरहेको देखिन्थ्यो । फेरि यसपाली पनि “बिहू” नै चलिरहेको थियो । पछि थाहा भयो असममा “बिहू” वर्षमा तीन पटक पो मनाइँदो रहेछ । तीमध्ये यो बैशाख महिनामा पर्ने चाहिं सबैभन्दा धुमधामले मनाइने रहेछ । बिहूमा विभिन्न खाले नाचगान हुने रहेछ । डा. खगेन शर्माका अनुसार त्यहाँ करीब १५८ वटा औपचारिक नृत्य समूह छन् रे । ती सबैका बीचमा प्रतिस्पर्धा समेत गराइँदो रहेछ । ती नृत्य समूह विभिन्न ठाउँमा आफ्ना कार्यक्रम लिएर हिँड्ने रहेछन् । बिहूको नाचगान हेर्न पाए  हुन्थ्यो भन्ने हाम्रो आशय बुझेर अन्जन भाइले


आफ्नो घर आँगनमै यस्तो नाचको आयोजना गरिदिनुभएको रहेछ ।

        ज्ञानबहादुर क्षेत्री दाइको घर तेजपूरमै रहेछ । उहाँको घरमा पनि हाम्रो भव्य खातिरदारी भयो । फर्केर आउँदा  गुवाहाटीमा साहित्यकार इन्दुप्रभा देवीको घरमा र डा. खगेन शर्माको घरमा हामी पाहुना बनेर पुग्यौँ । हामी गुवाहाटीमा आएर होटलमा खाना खाने कुरा सुनेर इन्दुप्रभा देवीले, “यहाँ हाम्रो घर हुँदाहुँदै कहाँ उहाँहरुलाई होटलमा खुवाउन पठाउनु ?” भनेर आफ्नै घरमा हाम्रालागि खानपानको व्यवस्था गर्नुभएको रहेछ । डा. खगेन शर्माको घरमा बिहानको चिया खाजा खान निम्त्याइएका हामी अनुपा बैनीले दिउँसोको खाजासमेत खानु नपर्ने गरिकन विभिन्न परिकार पस्कनु भएको थियो । यति मात्र होइन, साहित्यकार नव सापकोटा र मुन्नी सापकोटाको विवाहको ५० औँ विवाहोत्सवमा पनि हामी आमन्त्रित थियौँ ।

        हुन त हाम्रो संस्कारमा “अतिथि देवो भवः” भन्ने कुरा चलेकै हो । तर यसको खास अर्थ मैले असममा यसपाली हामीलाई गरिएको व्यवहारबाट बुझेँ । हामी सबैतिर खुला हृदयले स्वीकृत भयौँ । विशेषगरि डा. खगेन शर्मा, अनुपा शर्मा, ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, छत्रमान सुब्बा र अन्जन बाँस्कोटाले उहाँहरुको अमूल्य समय पनि हामीलाई दिनुभयो । पाहुनालाई त्यस्तो अपनत्वको भाव देखाउने, त्यस्तो आतिथ्य गर्ने, त्यस्तो आदर गर्ने, हामी शायदै गर्न सक्छौं । हामी यान्त्रिक युगका यन्त्रजस्तै व्यस्त मानिस भइसक्यौं ।

        असममा हामीप्रति गरिएको व्यवहारका बारेमा मैले पहिले असममै बसोबास गर्ने र अहिले दमकमा रहनुभएका मेरा सहकर्मी सरसँग चर्चा गर्दा उहाँले गुह्य कुरा खोल्नुभयो । खासमा असममा बस्ने नेपालीमा भएको त्यो हार्दिकता र अपनत्वको भाव आसामीहरुसँगको संगतको प्रभावले आएको रहेछ । आसामीहरु आफ्ना पाहुनाको मात्र होइन आफ्ना छिमेकीका पाहुनाको सत्कार पनि उत्तिकै गर्छन् रे । छिमेकमा कोही आयो भने चिनजान गर्न जान्छन् रे । छिमेकीहरु घरमा छैनन् भनेँ उनीहरु आउन्जेल छिमेकका पाहुनालाई आफ्नै घरमा ससम्मान राख्छन् रे । मेरा सहकर्मी मित्रका अनुसार यस्ता उदार आसामीहरुसँगको उठ्बसले त्यहाँका नेपालीमा पनि यस्तो राम्रो संस्कार सरेको रहेछ ।

        जे होस् , “अतिथि देवो भवः” को साँचो अर्थ थाहा पाउनचाहिँ असमको जनजीवनलाई नजीकबाट हेर्नुपर्ने रहेछ भन्ने अनुभव रह्यो मेरो यसपालीको असम भ्रमण ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 6 May 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]