Friday 31 December 2021

एक रित्तो किताब

 


    सुफी समुदायमा प्रिय मानिने एउटा पुस्तक छ – द बुक अफ द बुक अर्थात किताबको पनि किताब । अत्यन्त सुन्दर सुनौलो आवरण भएको करिब ३०० पृष्ठ मोटो यो किताब इद्रिस शाहले सन् १९६९ मा लेखेका हुन् । सुफी दर्शनमाथि करिब तीसवटा पुस्तक लेखिसकेका भारतीय मूलका शाहले यो नौलो पुस्तक किन लेखे होला भन्ने कुरा सुफीजम जत्तिकै रहस्यको गर्भमा छ । यस पुस्तकका अघिल्लो खण्डका दुईसय शुभ्र पानाहरु रित्ता छन् । नितान्त रुपमा यिनमा कुनै अक्षर छैनन् र पछिल्ला केहि पानामा मात्र अक्षरहरु छन् । ती पछिल्ला खण्डमा भएका अक्षरहरुको मूल सारमा भनिएको छ, “भाँडो हेरेर भाँडाभित्र के राखिएको छ भनेर आँकलन गर्न सकिँदैन ।”

            यस पुस्तकलाई ब्रिटिश संग्रहालयले शुरुमा पुस्तक नै मानेनछ र फिर्ता गरिदिएछ । पछि युनेस्कोले पत्र लेखिकन अनुरोध गरेपछि बल्ल संग्रहालयले यो पुस्तक जिम्मा लिएछ । कतिपय ग्राहकहरुले समेत यसलाई ठगीका रुपमा लिएछन् । शब्दहरु बिनाको ढड्डुलाई कसरी पुस्तक मान्नु ?

शब्दहरु निरर्थक हुन्

            हामी एक जीवनमा करोडौं शब्दहरु बोल्छौं । एक दिनमै करोडौं शब्दहरु लेखिन्छन् । हामीले बोलेका, सुनेका, पढेका र लेखेका शब्दहरु केहि क्षणका लागि अर्थपूर्ण लाग्लान् र ती उत्तिकै निरर्थक पनि लाग्लान् । हामीमा चेत भरिएपछि नै यो अर्थपूर्ण र निरर्थकताको खेलमा निर्लिप्त हुन्छौँ । तर यी शब्दबिनाको समय हामीलाई कस्तो लाग्छ ? इद्रिश शाहको पुस्तक जस्तो रित्तो, शब्द बिनाको समय ? हो, यस्तो रित्तो समयमाथि पनि धेरै शब्द खर्च भएका छन् । हजारौं लाखौं पुस्तक रित्तो समयमाथि लेखिएका छन् । त्यो रित्तोपनालाई त्यत्तिकै रित्तो रहन दिइएको छैन । अझ अहिलेको आधुनिक समयमा त रिक्तताको पाठ पढाउन धेरै तालिम केन्द्र खोलिएका छन् । इन्टरनेटमा रिक्तता सिकाउने कति हो कति पाठहरु छन् ; भिडियोहरु छन् । मूलतः रिक्तता सिकाउने आधुनिक गुरुहरु अति सुन्दर आसनमा बसेर, भड्किला वस्त्र धारण गरेर, शब्दका भरमा रिक्तता सिकाइरहेका छन् । हामी फेरि पनि शब्दजालमा परेर रिक्तताको आशामा भड्किरहेका छौँ । गुरुहरुलाई दक्षिणाको ओइरो छ । गुरुहरुका नाममा भव्य दरवारहरु बनाइएका छन् । हामी उनीहरुसँग शाब्दिक रिक्तताको पाठ पढिरहेका छौँ ।

            हाम्रो धड्कन र श्वास प्रश्वास बाहेकको स्थायी प्रिय कुरा सोचविहिनको अवस्था हो । जतिसुकै रमाइला, अचम्मका, चाखलाग्दा, उदेकलाग्दा कुरा हाम्रा समीपमा आए पनि हामी फेरि दिक्क बन्छौँ । एकछिनलाई हामी निश्चिन्त बन्न चाहन्छौं । एकछिन केही नसोच्न, नहेर्न,  नसुन्न र नबोल्न चाहन्छौं । जसरी हामी सामान्य अवस्थामा हाम्रो धड्कनलाई वेवास्ता गर्छौं,  निरन्तरको श्वास प्रश्वासलाई कुनै महत्व दिदैनौँ, त्यसैगरी यो आकस्मिक शुन्यता, विचारहिन अवस्थालाई पनि वेवास्ता गर्छौं । क्षणीक शुन्यतालाई विचारहरुको बादलले निमेषभरमै ढाकिदिन्छ । विचारहिन हुन बल गर्न पनि  विचारै गर्नुपर्छ । आफू विचारशून्य अवस्थामा छु कि छुइन भनेर पनि फेरि विचारै नगरी हुन्न । चुप लागेर बस्नु विचारहिन अवस्था होइन किनभने हामी भित्रभित्रै बोलिरहेकै हुन्छौं ।

            दुईजना वृद्धहरुका बीचमा लामो समयदेखि प्रगाढ मित्रता थियो । उनीहरु बिहानको खानापछि नजिकैको खुला चौरतिर जान्थे । घण्टौँ सम्म नबोलिकन बस्थे र जुरुक्क उठेर आ–आफ्ना बाटो लाग्थे । यो उनीहरुको दैनिकी नै थियो । यस्तैमा दुईमध्येको एक जनाको मृत्यु भयो । त्यो मृत्यु घटनापछि ती जीवित वृद्धलाई गाउँलेहरुले सोधे, “ती मृत साथीलाई तपार्इं निकै सम्झिनुहुन्छ होला नि ! सधैँ सधैँ तपाईंहरु चौरीमा घण्टौं बस्नुहुन्थ्यो ।” ती वृद्धले उत्तर दिए, “हो । खासगरी म ती मेरा साथीसँग घण्टौं गफ गर्थें ।”


            ती वृद्ध मित्रहरु आपसमा बोलेर होइन कि नवोलिकनै वार्ता गर्थे । यो आवाजविहिन वार्ताका लागि शून्यता पढ्न सक्ने क्षमताचाहिं विकास गर्नुपर्ने हुन्छ । त्यसैले शान्ति भनेको आवाजहीन अवस्था मात्र नभई अर्थपूर्ण अवस्था पनि हो । ती बूढाहरुको जस्तो शून्य अवस्थामा पुग्न कुनै जंगल पस्नुपर्ने वा हिमालतिर जानुपर्ने पनि होइन । यो त भीडमा, जन्जालमा, कोलाहलमा समेत शान्तिपूर्वक रहन सक्ने अवस्था हो ।

            यस्तै प्रसंगमा एउटा चेलाले गुरुलाई सांसारिक जंजालबाट कसरी मुक्ति पाउने भनेर सोधेछ । गुरु चुप लागेर बसिराखेछन् । उत्तर पर्खिंदा पर्खिंदा ऊ थाकेर हिंडेछ । भोलिपल्ट, पर्सिपल्ट गर्दै निकै दिनसम्म त्यो प्रश्न सोध्ने क्रम चलेछ । तर गुरुले मुख खोलेनछन् । अन्त्यमा साह्रै नै विरक्तिएर चेलाले सोधेछ, “मैले एउटै प्रश्न निरन्तर सोधिरहँदा पनि उत्तर पाइँन । किन होला ?”

            गुरुले अन्त्यमा भनेछन्, “म सधैँभरी उत्तर दिइरहेको थिएँ । मेरो निःशब्द उत्तरलाई तिमीले सुन्नै सकेनौ । तिमी निरन्तर बोली नै रह्यौ ।” अनिमात्र चेलाले बुझेछ गुरुले दिएको उत्तर नै त्यो शान्ति थियो ; निःशब्द उत्तर थियो ।

समय कति भयो ?

            यो मनमा भय पैदा हुन र अशान्तिको बादल फैलिन कति पनि बेर लाग्दैन । हामी जलपाइगुडीको रेलवे स्टेशनमा एक कुनामा कुक्रुक्क बसिरहेका थियौं । टोलीका सहयात्रीहरु अर्धनिद्रा अवस्थामा थिए । रेल आइपुग्न ढिला भएकाले दिक्क भएका मानिसहरु विरक्तिपूर्ण अनुहार लिएर लर्खराइरहेका थिए । हामी बसेकै छेउमा एक जोगी आएर बस्यो । उसको पोको छेउमा राख्यो । चियावालाले डुलाउँदै ल्याएको एक कप चिया किन्यो । म उसका कृयाकलाप नजानिंदो गरी हेरिरहेकी थिएँ । शायद उसले मेरो मनको भय पनि पढिरहेको हुनुपर्छ । मैले अप्ठेरोपन चिर्न, छेवैमा बसिरहेका आफ्ना श्रीमानलाई कति बज्यो भनेर अंग्रेजीमै सोधें । त्यो मेरो झूठो प्रश्न थियो । किनभने हाम्रै नाकका सोझीमा राता ठूला अक्षरमा डिजिटल वाचमा समय देखिइरहेको थियो । मेरो सामान्य बुझाइमा त्यो छेउको जोगी अंग्रेजी नबुझ्ला र त्यसका बारेमा कुरा गरौंला भन्ने ठानेर मैले समय सोधेकी थिएँ ।

            मेरो अनुमानको विपरित जोगी बोल्यो, त्यो पनि पक्का ब्रिटिश एक्सेन्टमा । हामीतिर हेरेर उसले भन्यो, “कहाँ छ समय ! समय तिमी अगाडि पनि थियो । तिमी पछाडि पनि रहिरहन्छ । मान्छेले समय टुक्र्याउने कोशीस मात्र गरिहेरेको हो तर यो अनन्तदेखि अनन्तसम्म रहिरहन्छ ।”

            त्यसोभए त्यो भित्ते घडी के हो त ?”, मेरो मनमा आयो । तर सोधिँन । भित्ते डिजिटल घडीतर्फ औल्याएर ऊ आफैंले भन्यो, “यो त मान्छेको सजिलाको लागि हो । संसार घडीबिना चल्दैन तर वृहत रुपमा हेर्दा समय बदलिंदैन । समय स्थिर छ । रेल चढेपछि एउटा कुरा विचार गर्नू — झ्याल बाहिर हेर्दा रुख, घर, सडक लगायतका सबै कुरा दौडेको देखिन्छ । ती साँच्चै दौडेका हुन् त ?”

           


फेरि समयको चर्चा गर्नैपर्ने भयो । एनाउन्समेन्ट सुनियो । रेल आयो । मानिसहरु घडीसँगै कुदाकुद गर्नुपर्ने भयो । त्यस जोगीका कुराहरुले मलाई कोतरिरहेका थिए । आइन्सटाइन्ले समेत दिक्कालको ब्याख्या गर्दा समयलाई पनि ब्रम्हाण्डको एक आयाम मानेका रहेछन् । ब्रम्हाण्डका हरेक वस्तु परिवर्तनीय छन् तर अन्तरिक्ष आफैंमा स्थिर छ । समय स्थिर छ । हाम्रो दिमाग चलिरहन्छ । दार्शनिक कृष्णमूर्तीले भनेका छन्, “हाम्रो दिमाग नै समय हो ।” सुन्दा अचम्म लागे पनि दिमाग चले समय चल्छ नत्र समय स्थिर हुन्छ । अल्छि लागे, दिक्क लागे समय लामो हुन्छ, अनि खुशीका समयमा त्यहि समय छोटो हुन्छ । तर वास्तविक अर्थमा समय वर्तमान अवस्थामा मात्र अडिएको हुन्छ – न त भूत हुन्छ, न त भविष्य हुन्छ । वस्तुहरु, घटनाहरु देखापर्छन, बिलाउँछन्

            इद्रिस शाहको रित्तो किताब मलाई अर्थपूर्ण लाग्यो किनभने यसले स्थिर चित्तको प्रतिनिधित्व गर्दछ । यस पुस्तकले अपरिवर्तनीय समयको विम्व बोकेको छ । पुस्तकले समय वृत्तमा गरिने हरेक मान्छेका जीवनकथा बोकेको छ । ती जीवनकथालाई जसले जसरी पढे पनि हुन्छ । अक्षरहिन पुस्तकलाई जताबाट शुरु गरेर जता अन्त्य गरे पनि हुन्छ ।

 (Published in a Nepali national daily Purbasandesh, Damak, Jhapa on 31 December 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Monday 27 December 2021

सेती गर्भिणी छे

   


     केहि प्रजातिका चराचुरुङ्गी र जनावर मानिसका अभिन्न मित्र हुँदा रहेछन् । रुप्पीपरेवाभँगेरा जस्ता चरा र कुकुरबिराला जस्ता जनावर मानिसबाट टाढा जान नसक्ने रहेछन् । पुराना ढपका खरका छाना भएका घर त अझ रुप्पी र भँगेराका लागि स्वर्गीय स्थान हुने रहेछन् । जस्ता पाताका छाना भएका घरमा समेत रुप्पीपरेवा र भँगेराले कतै न कतै बासस्थान पहिल्याएर छोड्छन् । हेर्दा सफा देखिए पनि असाध्यै फोहोर पारेर हैरान पार्ने परेवाले हामीलाई पुरानो घरबाट विस्तापित नै गरे भन्दा पनि हुन्छ । जताततै गुँड लगाउनेबाझाबाझ गरेर घर हेरिनसक्नु पार्नेजताततै बिस्टा गरेर घर फोहोर र दुर्र्गिन्धत पार्ने अनि बच्चा कोरल्दा निस्कने निरन्तरको आवाजले परेवाले हामीलाई बसाईँ नै सर्न बाध्य पारे । बुवाकै पालामा बनेको टिनको छाना भएको काठ मिश्रीत घर बीसौँ जोर परेवा र रुप्पीको आश्रय स्थल भएर गयो । पिता माता रहुन्जेल घरमा बस्ने प्रशस्त सदस्यहरु हुँदा त्यति ख्याल नभए पनि पछिल्लो समयमा भनेँ हामी दुई जोइपोइलाई ठूलो घर परेवाको खोर जस्तो हुँदै गएको थियो । परेवाहरु धपाउने हाम्रा धेरै प्रयासहरु निरर्थक साबित भएर अन्त्यमा पुरानो घर भत्काउने निर्णयमा हामी पुग्यौँ ।

मानव जनावर मित्रता
    मानिस र जनावर बीचमा धेरै पुरानो सम्बन्ध छ । हुन त यो सम्बन्ध मानव स्वार्थमा आधारित छ । मान्छेले आफ्नो स्वार्थ र फाइदाको लागि नै जनावरसँग मित्रता बढाएको हुनुपर्छ । कुकुर र मानव बीचको मित्रता हेर्ने हो भनें यी दुईको सम्बन्ध असाध्यै पुरानो रहेछ । करिब १५,००० वर्षभन्दा पहिलेदेखि मानव र कुकुर प्रजातिबीच मित्रता हुन थालेको रहेछ । कुकुरका बराजुहरु त ब्वाँसा नै रहेछन् र ती बिस्तारै बिस्तारै मान्छेहरुसँग नजिकिँदै गर्दा अहिलेका घरेलु प्राणी बनेका रहेछन् ।
          हाम्रातिर उति कुकुर र मान्छेका बीचमा गहन मित्रताका बारेमा नसुनिए पनि आफू अष्ट्रेलियामा रहँदा भने कुकुर र मानव बीचको अत्यन्त प्रगाढ सम्बन्ध बारेमा मैले देखेकी र सुनेकी छु । एकजना मेरी साथी अमेलाकहाँ पाँचवटा विभिन्न जात र साइजका कुकुर थिए । ती कुकुर डुलाउनकै लागि भनेर उसले नयाँ ठूलो कार किनेकी थिई । उनीहरु दुई दम्पत्तिका चर्चा र गफका प्रमूख विषय नै कुकुुर थिए । अनि अर्की साथी केलीले भनेँ आफ्नो प्रिय कुकुरको मृत्युको शोकमा रन्थनाएर गोडामा त्यस कुकुरको नाम ट्याटु गराएकी थिई । अझ अर्की सहकर्मी साथी श्यारोनले त आफ्नो हार्ली डेभिडसन मोटरसाइकल बेचिकन उसको कुकुरको खुट्टाको अपरेशन गराएकी थिई । जति मेरा पश्चिमा साथीहरुले आफ्ना घरेलु प्राणीप्रति आसक्ति देखाएका छन्त्यति साह्रो आसक्ति देखाउने मानिसहरु यता आफ्ना मुलुकमा पाएकी छुइन ।
    यी जीवजन्तु प्रेमको उत्कट नमूना चाहिँ मैले साथी जुलीको प्रेमी चरो काकातुवाको मृत्यु हुँदा देखेकी थिएँ । औसत आयू भन्दा धेरै बाँचेको वाली नामको उसको काकातुवाको कथा मैले धेरै सुनिरहेकी थिएँ । तर एकदिन रुँदै जुलीले फोन गरेर उसको वालीले मृत्युवरण गरेको कुरा सुनाई । ऊ तीन दिन काममा आइन । तेश्रो दिन फूल गुच्छा बोकेर उसलाई सान्त्वना दिन म उसको घर जाँदा उसले कसरी वालीलाई एउटा ठूलो गमलामा दफन गरी भन्ने विवरण सुनाई । बितेका पच्चीस वर्षमा उसका पाँच प्रेमी फेरिएछन् । तिनीहरु कसैले वफादारिता देखाएनछन् । तर वाली सधैँ ऊ सँगै रह्यो र हरेक दिनहरेक क्षण उसलाई निष्कपट प्रेम गरिरह्यो । त्यसै कारणले पनि ऊ निकै दुःखी भई ।


लेखनमा जनावर
          साहित्यतिर हेर्ने हो भनेँ पनि विभिन्न जनावरहरुलाई लेखनमा प्रयोग गरिएको पाइन्छ । हालसालैको समयमा चर्चित रहेको ह्यारी पोटरमा हेडविग नामको उल्लु

क्रुकस्यांङ्स नामको बिरालो र स्क्याबर्स नामको मुसा र ट्रेभर नामको भ्यागुत्ताको प्रयोग भएको छ । विश्व साहित्यमा सबैभन्दा बढि प्रयोगमा आएका जनावरहरु घोडा र कुकुुरमध्ये कुकुरकै बढि प्रयोग भएको पाइन्छ । विभिन्न दृष्टिकोणबाट लेखिएका कुकुर साहित्यमा पुराना लेखकहरु होमर देखि काफ्कासम्मले कुकुरलाई जीवन्त बनाएका छन् । पश्चिमा साहित्यमा ज्याक लण्डनगोगोलचेखवकाफ्काका लेखनमा अमरत्व पाएका कुकुरहरु मान्छेका युगौँदेखिका दुःख सुखका मित्र रहिआएको कुराका प्रमाण पनि हुन् । शिकारी युगदेखि आधुनिक समयसम्म मानिसको साथसाथै रहेका कुकुरका बराजुहरुले मानिससँगै खाएका छन्दुःख र सुखका समय देखेका छन्एकै अगेनामा आगो तापेका छन् र लेखकहरुका कल्पनामा छिरेर उल्का मच्चाएका पनि छन् । मानव भाषामा कल्पना गर्ने र बोल्ने कुकुरहरुका कथाहरु मान्छेका लागि युगौँदेखि सर्वप्रिय पनि रहिआएका छन् । बीसौँ शताब्दीको शुरुतिर छापिएको मार्क ट्वाइनको कथा ‘अ डग्स टेल’ कुकुरकै मुखबाट सुनाइएको छ । पल अस्टरको ‘टिम्बक्टु’ कथाले एउटा एकल वृद्ध मानिसको अन्तिम दिनहरुको साक्षी बनेको कुकुरले सुनाएको कथा हृदयविदारक छ । विश्वप्रसिद्ध लेखकहरु ओ हेनरीभर्जिनिया उल्फरुडयार्ड किप्लिङज्याक लण्डनमार्क हेडन हफको कल्पनामा छिरेर कुकुरहरुले लेखाएका कथाहरु साहित्यका अभिन्न पाटो बनेका छन् ।

सेतीका बिलौंना

          नेपाली साहित्यमा भनें जनावरको दृष्टिकोणबाट लेखिएका लेखनीहरु मैले आजसम्म पढ्न पाएकी छैन । त्यसो भएता पनि हाम्रो घरमा आगन्तुक बनेर आउने कुकुर सेतीले मलाई समय समयमा यो बोल्ने भए के के सुनाउँदी हो जस्तो लागिरहन्छ । सेती हाम्रो घरको पिंढीमा बसिरहन्छेएकटकले हामीलाई हेरिरहन्छे र खाना पर्खिरहन्छे । खान पाएपछि ऊ कतै जान्छे र बिलाउँछे । मेरो दृष्टिकोणमा सेतीका शत्रु मान्छे त हुन् नैतर त्यो भन्दा पनि उसका वर्गीय शत्रुहरु धेरै होलान् । ऊ अनिच्छित भए पनि वर्षमा दुईपटक गर्भवती हुन वाध्य छे । जन्मिएका बच्चाहरु हुर्किन नपाउँदै स्याहार


चाकरको अभावमा मरेको हेर्न सेती वाध्य छे ।
          सडककै कुकुर भए पनि मेरो मनको कुनामा सेतीका लागि अलिकति माया छ । छिमेकी रुपा बहिनीले असाध्यै माया गरेर पालेको कुकुरलाई मोटरसाइकलले हानेर सडकमा मारेको सुन्दा मलाई सेतीको यस्तै दुर्गती हुने हो कि जस्तो पनि लाग्छ । सेती केहि माग्दिन । ऊ केहि संग्रह पनि गर्दिन । अहिले खान पाए ऊ ढुक्क छे । साढे तीन वर्षपछि विदेशबाट घर फर्केको हाम्रो छोरो कुकुर कुट्नेहरु मान्छे होइनन् भन्छ । सेतीका लागि अलिकति खानेकुरा जुगाड गरेर राखिदिन्छ र सेती आइपुगेका बेला त्यसलाई खुवाउनुमा गर्व गर्छ । शुरु शुरुमा मेरो मनमा भएको सेतीप्रतिको अलिकति घृणा पनि आजभोलि हराउँदै गएको छ । सेतीलाई खान नदिनूढुंगाले हान्नू भनेर सिकाउनेहरुप्रति दया भाव जाग्न थालेको छ । फेरि पीर लाग्छ – सेतीे गर्भवती भएकी छे । ऊ फेरि कष्टपूर्वक छाउरा जन्माउँछेती छाउरा हेरचाह र खानपानका अभावमा मरेको टुलुटुलु हेर्न विवश हुन्छे । यो पीडा भुल्न नपाउँदै ऊ पुनः गर्भिणी हुन्छे । मलाई थाहा छैन यो सेतीको जीवन चक्र यसरी नै कहिलेसम्म चल्ने हो । 
 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 24 December 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  

 



Friday 17 December 2021

पुस्तक नै अब्बल

 


    हालसालै एउटा लोकगीत संग्रहको पुस्तकको पाण्डुलिपी मेरो हातमा आइपुगेको थियो । यो पाण्डुलिपी पढ्दै गर्दा म आफ्नो स्कूले जीवनतिर फर्किएकी थिएँ । यो समय यस्तै ४०
-४२ वर्ष पहिलेको हुँदो हो । त्यतिबेला गीत संगीत सुन्न हामी रेडियो नेपालको मात्र भर पर्नुपर्थ्यो । त्यो समयमा टेलिभिजन हाम्रो कल्पनामै थिएन र कुनै एफ्.एम.का रेडियो स्टेशन पनि खुलेका थिएनन् । आफू  घरमा हुँदा वा स्कूल जाँदै गर्दा बाटामा आफूलाई मन पर्ने गीत बज्थ्यो, अनि सुन्दा सुन्दै सकिन्थ्यो । त्यसलाई फेरि आफ्नो इच्छा बमोजिम रिवाइन्ड गरेर सुन्न सकिंदैनथ्यो र फेरि कहिले त्यो गीत रेडियो नेपालमा बज्ने हो भनेर धैयर्तापूर्वक प्रतीक्षा गर्नुबाहेक अरु उपाय थिएन । त्यतिबेला एउटा राम्रो कुरा चाहिं के हुन्थ्यो भने नाम चलेका गायक गायिकाहरु जस्तै नारायण गोपाल, तारादेवी, मधु क्षेत्री, दीपक खरेल, अरुणा लामा, अरुण थापा, कुमार बस्नेत, मीरा राणा लगायत प्रायः सबैका गीतका पुस्तक किन्न पाइन्थे । तिनै पुस्तक किनेर हामी गीत कण्ठस्त हुनेगरी पढ्थ्यौं र गीत गाउन सिक्थ्यौं । यतिमात्र होइन, हामी ती पुस्तक साथी साथीमा सट्टापट्टा पनि गर्थ्यौं। यसो गर्दा बजारमा निस्केका प्रायः सबै पुस्तक हाम्रा हात पर्न सक्ने सम्भावना प्रबल थियो ।

        हिजोआज यस्ता किताब बजारमा पाइँदैनन् । यस्ता कुरा सुन्दा नवपुस्तालाई एकादेशका कथा सुनेजस्तो लाग्दो हो । खासमा, गीत संगीत प्रेमीले यस्ता पुस्तकको आवश्यकता पनि महसूस गरेका छैनन् होला । आजभोलि मन परेका प्रायः सबै गीत यूट्युव लगायतका विविध डिजीटल प्लेटफर्ममा भेटिन्छन्, शब्दसहितै ।

        आजको यस्तो नयाँनयाँ सूचना प्रविधिको युगमा जहाँ गीतहरु अनेक किसिमले रेकर्ड गरेर सुरक्षित राख्न सकिन्छ, किन त्यो लोकगीत संग्रहको आवश्यकता पर्यो होला भनेर म सोच्न बाध्य भएँ । त्यहिंमाथि लोकगीत त झन् मौखिक साहित्यमा नै पर्छ ।

        नब्बेको दशकतिर जब पश्चिमी मुलुकमा यो नयाँ सूचना र प्रविधिको क्रान्ति नै आयो, मानिसहरु अब यो प्रविधिले सारा पुस्तकलाई विस्थापन पो गर्ने हो कि भनेर निकै डराएका थिए अरे । तर विज्ञानले जतिसुकै ठूलो फड्को मारे पनि, सबै पठन सामग्री अनलाइनमै उपलब्ध गराइदिए पनि यो प्रविधिले पुस्तकको महत्वलाई लेस मात्र पनि घटाउन सकेन । यसको उदाहरणका रुपमा हामी संसारभर उपलब्ध पुस्तकालयलाई लिन सक्छौँ । त्यहाँ जति डिजिटल सामग्री पाइन्छन् तीभन्दा बढी विभिन्न विषयमा लेखिएका पुस्तकहरु सजाएर राखिएको देख्न सकिन्छ ।


        यसबाट के प्रमाणित हुन्छ भने लिखित सामग्रीको महत्वलाई प्रविधिले घटाउन सक्तो रहेनछ किनभने यस्ता सामग्री पनि मानव समाजका लागि अपरिहार्य हुने रहेछन् । जबजब विज्ञानले गरेका अनौठा अनौठा चमत्कारका विषयमा कुरा हुन्छन्, म हाम्रा बुवाको कथन सम्झिन्छु ।

        त्यो समय भर्खर भर्खर बिजुली बत्तीले हाम्रा परम्परागत रुपमा बालिने टुकी, कुपी, लालटिन अथवा लम्फालाई विस्थापन गरेको समय थियो । एक दिन हामी परिवारका सबै सदस्य बेलुकाको खाना खान बसेका थियौं । त्यतिबेला हाम्रा बुवा, मुवाँ हामी छोराछोरीले पकाएको भात खानुहुन्नथ्यो । त्यसैले मुवाँ आफैं भान्से लाग्नुभएको थियो । उहाँले बुवालगायत हामी पाँचजना छोराछोरीलाई खाना पस्किसक्नु भएको थियो । हामी बुवाले कतिबेला खाना चढाइसक्नुहुन्छ र हामी खानु भन्ने प्रतीक्षामा थियौँ । बुवाले खाना चढाउनुभयो, अप्सानी हाल्नुभयो र हामीले गाँस हाल्न मात्र के थालेका थियौं, झ्याप्प बत्ती गयो । बिजुली बत्तीमा बानी पर्न थालेका हामी, पहिलेपहिले चलाउने गरेका कुपी र लालटिन टुङ्गा टुङ्गामा राख्न छोडिसकेका थियौं। एकछिनपछि जब बत्ती आयो, बुवाले हामीतिर हेरेर भन्नुभएको थियो, “हेर केटाकेटी हो ! यो विज्ञान भनेको यस्तै हो । हामी यसको पूर्ण भरोसा गर्न सक्तैनौँ । यसले हामीलाई जुनसुकै बेला पनि धोका दिन


सक्छ ।”

        हुन पनि हो, जब हामी कक्षा कोठामा पसेर परम्परागत सामग्री प्रयोग गरी पढाउने गर्थ्यौं, हाम्रा पठनपाठन प्रकृया निर्विघ्न रुपमा चल्ने गर्थे । तर जब कोरोनाले संसारलाई नै आक्रान्त पार्यो, अनलाइन टिचिङको विकल्प नै रहेन, त्यतिबेला हामीले निकै नै सास्ती बेहोर्नु परेको थियो । कहिले पढाइरहेको बेलामा झ्याप्प बत्ती जाने, कहिले इन्टरनेट स्लो हुने, कहिले इन्टरनेट नै उड्ने र कहिले भने आफू भर परेको कम्प्यूटर एप्लिकेसनले काम नै नगर्ने ।

        नकारात्मक पक्ष जति नै भए पनि आजको युगमा यो सूचना र प्रविधि नभैकन हाम्रो जीवन चल्न असम्भवप्रायः छ । यसरी नयाँ संस्कृतिले थिचेर ल्याएको समयमा त्यो लोकगीतको पाण्डुलिपीले मेरो मनमा केही तरङ्गहरु उठाएको थियो । मेरो पुस्तक प्रेमलाई अझ सुदृढ बनाएको थियो ।

        अहिलेको पुस्तालाई म “गुगल जेनेरेसन” भन्न रुचाउँछु । यो पुस्ता पठन कर्म र पुस्तकदेखि विरक्तिएको जस्तो देखिन्छ । कुनै विषयको बारेमा जानकारी चाहियो भने गुगल गर्यो, सम्पूर्ण जानकारी ल्यापटपको वा मोबाइलको पर्दामा उपलब्ध भैहाल्छ । अनि के दुःख गरेर पुस्तक खोज्नु र पढ्नु ? सबभन्दा पछिल्लो समयमा अधिकांश मानिसहरु “टिकटक” तिर आकर्षित भएको मैले अनुभूति गरेकी छु । के बुढाबुढी, के तरुना तन्नेरी, के केटाकेटी सबै टिकटकमा लागेका छन् । कोही गीत गाउने, कोही नाच्ने, कोही फिल्मका सम्वाद बोल्ने, कोही भन्दा कोही कम देखिँदैनन् । यसै प्रसङ्गमा एकपटक नेपाली चलचित्रका नायक राजेश हमालले ठट्टा गर्दै अब कुनै दिन यी टिकटक बनाउनेहरुले चलचित्र नै बनाए भने पनि आश्चर्य मान्नुपर्ने छैन भनेका थिए । हालसालै अति भएर एउटा क्याम्पसले त औपचारिक सूचना नै प्रसारित गरी कुनै पनि विद्यार्थीले क्याम्पसको परिसरभित्र र क्याम्पसको पोशाकमा कुनै पनि टिकटक भिडियो नबनाउन चेतावनी समेत दिएको थियो ।

        यसरी नयाँ प्रविधिमा सबै उमेर समूहका मान्छे लिप्त हुने तत्कालिन समयको मूल्याङ्कन गर्दै केही विज्ञहरु यसले गर्दा “पठन संस्कृति” मा ह्रास आएको चिन्ता व्यक्त गर्छन् । अहिले विद्यालयतिर पनि कसरी विद्यार्थीमा “पठन संस्कृति” विकास गर्ने भन्ने विषयमा बहस चलेको सुन्न सकिन्छ । अविभावकहरु समेत केटाकेटी मोबाइल फोनमा नै झुण्डिरहने हुनाले उनीहरु पुस्तक समाएर पढ्न मन नगर्ने कुरा व्यक्त गर्छन् ।

        हाम्रा केटाकेटीमा अक्षरप्रति माया मोह जगाउन उनीहरुका रुचिअनुसार विभिन्न विषयमा पुस्तक प्रकाशित हुनुपर्छ । कतिपय स्थानहरुमा अझै पनि पढ्नु भनेको “पाठ्यपुस्तक” मात्र पढ्नु भन्ने बुझाइ छ । त्यसैले बाबुआमा आफ्ना छोराछोरीलाई अन्य पुस्तक पढ्न त्यति प्रोत्साहन गर्दैनन् । पुस्तक हाम्रा सबभन्दा नजिकका साथी बन्न सक्छन् । पुस्तकले हामीलाई संसार देखाउन सक्छन् । पाठ्यपुस्तक बाहेकका आफ्ना उमेर समूहसँग मिल्दा अरु पुस्तकहरु पनि पढ्न किन जरुरी छ त भन्ने कुरामा लामो बहस र छलफल हुन सक्छ । छोटकरीमा भन्नु पर्दा बेलायती लेखक रोल्ड ड्यालले भने झैं जीवनमा केहि गर्नु छ भनें प्रसस्त किताबहरु पढ्नु जरुरी छ । यसले निर्विकल्प रुपमा ज्ञानको दायरा त बढाउँछ नै, त्यसबाहेक पनि हामीलाई मानसिक सन्तुलन कायम राख्न मद्दत गर्दछ । अहिलेका समयका चर्चित व्यवसायी एलन मस्कलाई सोधिएको एक प्रश्न — तपाईंलाई के कुराले रकेट बनाउन प्रेरित गर्यो भन्ने कुराको उत्तरमा उनले छोटकरीमा भनेका छन्, “पुस्तकले ।”


        यसरी हेर्दा पुस्तकको महत्व जति पहिले थियो, अहिले पनि उत्तिकै छ र पछिसम्म पनि रहिरहन्छ । त्यसैले त्यो लोकगीत संग्रहको पाण्डुलिपी पुस्तकका रुपमा निस्कनुले पुस्तकको संग्रहालयमा एक आयाम थप्नेछ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 17 December 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Saturday 11 December 2021

भक्कावालीका पक्का गफ

 


    जति ठन्डी बढ्छ, त्यति व्यापार हुन्छ,” मध्य बजारको एउटा ठूलो वृक्षको मुन्तिर सानो काठको स्टल बनाएर चिया र भक्का बेच्ने बहिनीले भनी । चामलको पीठोलाई वाफमा पकाइएका, अन्य कुनै कुरा मिश्रण नगरिएका भक्का सबैका लागि रुचिकर भएको मैले देखेकी छु । सानो दाउरे स्टोभमा सडक किनारा, ससाना चोकहरुमा आजकल बिहान सबेरै भक्कावालीहरुले आगो जोर्छन् । अलिकति नुन, खोर्सानी, धनियाँ र टमाटर सहितको अचार र ताता हर्हरी वाफ उडिरहेका भक्काले शहरको बिहानी भोक मार्ने प्रयास गर्छन् । यी भक्का उद्योगीहरु नियमित आकस्मिकता जस्तो, असंगठीत रुपमै संगठीत भएजस्तो झण्डै झण्डै बिहान एकै समयमा बजारका विभिन्न कुनामा आगो जोर्छन् । ओछ्यान छाडेर बिस्तारै तङ्रिएका, विविध उमेर समूहका मानिसहरु भक्कावालीहरुका वरिपरि आउँछन् । स–साना मुडाहरुमा बसेर सोहि स्थानमा फू-फू  गर्दै भक्का खाने र पोको पारेर घरैतिर लैजाने क्रम बिहानको नौ–दश बजेसम्म चलिरहन्छ ।

            हाम्रा तराईका आदिवासी दिदी बहिनीहरुको पहिचान बनेको यो खास प्रकारको खाद्य बस्तुको हानीरहित परिकारले बिस्तारै बिस्तारै बजार लिएको देख्दा मलाई खुशी लाग्छ । मैले रोजेकी भक्कावाली त्यतै रुखका फेदमा सानो स्टोभमा समिधाहरु झोसेर भक्का बनाउँथी । मैले देख्दा देख्दै उसले अर्को सानो चुल्होमा चियालाई पनि समावेश गरी । अहिले आएर उसले सडक छेउमा सानो पोर्टेवल स्टल खडा गरेकी छ् । दाउरे चुल्हा हटाएर ग्यास चुल्हो जडान गरेकी छ । एउटा सानो फोहोरदानी, केही मुडाहरु, एउटा सानो काठे बेन्चले घेरिएर ऊ तन्मयतापूर्वक वाफमा भक्का सेकाइरहन्छे । हुर्र एक झुण्ड मान्छे आउने, फेरि बिलाउने, फेरि अर्को जत्था टक्र्याक टुक्रुक  वरिपरि बस्ने, ताता भक्का खाने, किर्लिक किर्लिक बोतलमा राखिएको चिसो पानी पिउने र अझ अलि फूर्सदिलाहरु बसेर सुरुप सुरुप चिया पिउने क्रम उसको मिनी स्टलमा चलिरहन्छ ।

            आजसम्म आठ वर्ष भयो यो दोकान थापेको । छोरा चार वर्षको थियो, भक्का व्यापार शुरु गर्दा । मेरो बाउ आमा पनि चिया व्यापार नै गर्थे । मलाई व्यापार कसैले सिकाउनु परेन,” उसले गाढा चिया स्टेरोफोमका कपमा खन्याउँदै भनी । “एउटा छोरा छ । स्कूल पढ्छ । त्यसका बाबुले त बेहोरा बिगार्यो । भएको सम्पत्ति स्वाहा पार्यो । अब छोराले पढिदिए हुन्थ्यो भन्ने लाग्छ ,” ऊ हातहरु चलाउँदै, आँखाहरु आफ्ना कामतिर लगाउँदै बोल्छे ।

            भक्का कति हो,” एउटा किशोरले सोध्छ ।

            एउटा पन्ध्र । जोडीको पच्चीस ।”

            सबैतिर दश छ त । यहाँ किन धेरै ?”

            सबैतिर नून खोर्सानी छ । यहाँ टमाटर पोलेर धनियाँ हालेको अचार छ । अब टमाटर कति महंगो छ, तपाई नै भन्नुहोस् । डेडसय रुपैँया किलो । ग्यास फेरि बढाइदियो । सिडिन्डरमा पचहत्तर रुपियाँ बढायो ।”



            एकहुल क्याम्पसे केटाकेटीहरु बसे । उनीहरुलाई पनि महंगी वार्ताले छोयो । खानेतेल देखि चिनी, दाल, चामल, गाडिभाडा, पेट्रोल, तरकारीसम्मका कुरा चले । सम्वृद्धिका खोक्रा नाराका कुरा चले । विद्यार्थी न हुन् – चलिरहेको महाधिवेशनदेखि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सम्मका कुरामा निकैबेर बहस मच्चाए ।

            अब कांग्रेसको महाधिवेशन सकिएपछि सरकारले कोरोनाको निहुँमा लकडाउन गरेन भनेँ म हाम्रो टोलीले खाएको पन्ध्रदिनको भक्का चियाको पैसा तिर्छु,” एकजना केटाले ठोकुवा दियो । विद्यार्थीका हुल हिंडेपछि भीड ओछायो ।

            मैले पनि यहि क्याम्पस धाएको हो तर त्यस्तै वाध्यताले छाडिहालियो,” उसले मान्छे नभएको मौका पारेर मन भित्रको कुरा खोली । उसकै शब्दमा उसलाई बैंसको बेलाको रागले छोएछ । भागी बिहे गरिछ तर आफैंले रोजेको मान्छे कुलती परेपछि आँटले परित्याग गरिछ । “सानोमै बाबुआमासँग लागेर व्यापारमा नलागेको भए, आफ्नो सानो बच्चासँग मैले त्यसका लात्ती खाएर बस्नुपर्थ्यो । तर मैले आँट गरेँ । बरु मैले नै त्यसलाई लात मारेँ । छोरा अब बाह्र वर्षको भयो । ज्ञानी छ ।” उसका कुरा सुनेर आर्थिक  रुपमा महिलाहरु सबल हुने हो भनेँ उनीहरुमा आत्मनिर्णयको अधिकार पनि हुने रहेछ भन्ने कुरामा म आफैं पनि विश्वस्त भएँ ।

            तपाईको भक्का नै स्वादिलो, दोडा भक्का दिनु त !” एउटा बसको सहचालक हुनुपर्छ, हतारिँदै आएर भन्यो ।

            अँ, तिमेरु गाडीका मान्छे स्टेशन, स्टेशनमा भक्का चाखिहिँड्छौ नि,” उसले पनि उस्तै उत्तर दिई र भक्का पोको पारिदिई ।

            भक्कावाली जस्ता मान्छे आए, त्यस्तै गरी बोल्थी । उसलाई आरिमा भएको पीठो बेचिसक्नु थियो । चिया माग्ने मान्छे कमकम हुँदै गएका थिए । कुरा फेरि उसले महिला सशक्तिकरणमा जोडी । सबैले यो मनन नगर्ने र अर्काका भर परेर दुःख पाउने कुरा गरी । “आ–आफैं कमाउने भए, अलेली जोगाउने भए, लोग्नेको नोकर बन्नु पर्दैन नि हैन त दिदी ? मैले पढेलेखेका र धनी मान्छेका घरमा हेपिएका बुहारी र स्वास्नी पनि देखेकी छु । परिवार भनेर आफैं मर्नुपर्ने हो भनेँ, यो जुनी पिसिएरै बिताउनु पर्ने हो भनेँ, भो बरु चाहिएन मलाई त्यस्तो ! मैले पनि त्यहि भएर लात मारेँ ।” फेरि उसले आफ्नै कथा जोडी ।

            भक्कावालीले गफका क्रममा महिला अधिकार भनेर हिँड्नेहरुमाथि पनि नजानिँदो गरी असन्तुष्टि प्रकट गरी । “आफैं बलियो भए मात्र काम हुन्छ । नत्र यी अनेकका कार्यक्रम गर्ने र अधिकार अधिकार भन्नेहरु गफै मात्र हान्छन् । मैले त आफैं भोगेकी छु । यिनले त हामीलाई लुँडोको गोटी खेलाएजस्तो पो गर्दा रैछन् ।”

            होइन, कतिलाई त सहारा दिएका छन् । सीपहरु सिकाएका पनि छन् । तपाईँले भनेजति साह्रो पनि होइन कि ?,” भन्ने मेरो कुरामा उसले भनी, “यी हल्लाबाज हुन् । यिनका नाटक नदेखेका र नजानेका हुन् र ?”

           


    अब ऊसँग धेरै पीठो रहेन । भाँडाबाट हर्हरी वाफ उडिरहेकै थियो । ऊ निरन्तर बोलिरहेकै थिई र उसैगरी हात चलाइरहेकै थिई । अबको उसको विषय मायाको थियो । गर्दागर्दै उसले त सोचनीय कुरा पो गर्न थाली ।  “यो माया भन्ने अचम्मको चीज हुँदो रहेछ । सानोमा बाबु आमाको औधि माया लाग्ने । भाइ बहिनीको पनि लाग्थ्यो । पछि उमेरमा बूढाको माया लाग्यो । त्यो माया पनि सकिइगयो । अब छोराको लाग्छ । एउटा भाँडो रित्तिएपछि अर्को भाँडाको चामल झिकेर पकाएजस्तो । अनि त्यो बालककाल मर्दो रहेछ । अनि आँखै नदेख्ने जवानी आयो । के के न लछारपाटो लगाउँला भनेको त्यो पनि ओइलाइगयो । यो भालेहरुले गर्ने माया त अर्कै खालको हुँदो रहेछ । भक्का खाएजस्तो । भक्का तातो हुन्जेल कपाकप खाएजस्तो । भक्का चिसिएपछि तातो भक्का खोज्न कुदिहाल्दारछन् । यी आइमाई जाति चाहिँ बिचरा माया गर्ने भनेर ज्यानै छोड्दा रहेछन् । सप्पै त त्यस्तो नहोला तर धेरैजसो । तर लोग्नेमान्छेको माया भक्कासरी । बुझिराख्नु यो कुरा दिदी । भक्कासरी !”

            बिहानी सत्रका कक्षाहरु कुनै कारणवश् नभएकाले भक्का खान हिँडेकी म भक्कावालीका गफमा भुलिएँ । बिस्तारै घाम माथि चढ्दै थियो । निश्चित समयमा आफूलाई टिप्न आइपुग्ने सिटी पर्खेर बसुन्जेलका गफ थिए ती । भक्कावालीका पक्का गफ ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 10 December 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]