Tuesday 30 August 2022

तीज तरङ्ग

 

       तपाईंलाई तीज भन्नासाथ कस्तो भाव मनमा आउँछ कुन्नि ? मलाई भने एउटा सामूहिकताको सम्झना आउँछ । सामूहिक रुपमा जम्मा हुने, खानेकुराहरु तयार गर्ने, अनि खाने । तीजका बेला सामूहिक रुपमै व्रत बस्ने र पूजामा सामेल हुने भन्ने एउटा सोचाईले मलाई गाँजेर ल्याउँछ । सानी छउन्जेल तीजको अघिल्लो दिन पुर्लुक्क लडुन्जेल खाने दिन हो भन्ने मलाई लागिरहन्थ्यो ।


म सानी छँदाको तीज फरक थियो । तीजको तिथी, गते, बार हरेक साल फरक होला तर खानाको प्रकार करिब करिब उहि हुन्थ्यो । हरेक वार्षिक चक्रमा तीज एक पटक परिरहेकै छ । तर समयक्रममा तीजको रौनक फेरिएको पनि छ । त्यो समयमा दाउरा नै बल्थे चुलामा । टाढाबाट चेलीबेटीहरु कति दिनको बाटो काटेर माइत आउँथे । गाडीको सुविधा थिएन । बजारमा कोसेलीका प्रकार अति थोरै थिए । नरिवल र मिश्री भन्दा अब्बल कोसेली नै थिएन भन्दा पनि हुन्छ । कुराउनी भनेको आफ्नै घरको दूधबाट बन्ने हो । बजारमा कुराउनी पाइन्थ्यो जस्तो लागेन मलाई । म आजभन्दा चालिस पैतालिस वर्ष अगाडिको धनकुटालाई सम्झेर कुरा गर्दैछु । त्यसबेला धरान झर्न पनि हिँडेरै मात्र सकिन्थ्यो । धारापानीका उकाला ओरालाहरु पार गर्दै साँगुरीको टुप्पाबाट धरानको रौनक हेर्दा मनमा बम्बई, दिल्ली शहर पनि यस्तै हुँदा हुन् नि जस्तो लाग्थ्यो । अहिले तीजको सम्झनासँगै यो मानसपटलमा धनकुटा पनि गाँसिएर आयो । सानो हुँदा मनाइएका तीजहरु पूर्णतः घरेलु थिए । आफू  सानो छँदा मुवाँका पछि लागेर तल आत्मारा मावल झर्नु, मावली गाउँका भुराभूरीसँग खेल्नु, त्यतै व्रत बस्नु, अनि तीज सकेर फर्कनु एउटा नियमित प्रक्रिया नै थियो । तीजमा सामूहिकताको भाव थियो । वरिपरिका महिलाहरु मिलेर पूजामा सामेल हुन्थे र सामूहिक स्नानको कार्य हुन्थ्यो । आमा, माइजू, ठूलीआमा, सानिमा, दिदी, बहिनीहरुको रमाइलो गफ, उन्मुक्त हाँसो ! सारै आत्मियता बोध गराउने पर्व हुने गर्थ्यौ तीज !


पछि विजुली आयो । ग्याँस आयो । मोटरबाटो आयो । यी विकासक्रमले हाम्रा चलनलाई बदले । हाम्रो खानापिनाको बदलावसँगै तीजको स्वरुप पनि बदलिँदै गयो । पहिले पहिले मोटरबाटो नभएको समयमा, कृषिकर्ममै आधारित जीवनशैली भएका बेलामा, टेलिफोन नभएका बेलामा चेलीहरु तीज सम्झेरै विरहका गीत गाउँदा हुन् । अलिकति उमंग च्यापेर कत्रो उत्साहसँग माइतघर जाँदा हुन् । तर हेर्दाहेर्दै समय बदलियो । कोशौँ टाढाको माइतीसँग पनि फोनमा बोल्न पाइएको छ, भिडियो कलमा मजाले अनुहार नै हेर्न पाइएको छ । खुर्र मोटर चढ्न पाइएको छ । अझ भएन हुर्र जहाजै चढ्न पनि पाइएको छ ।

नारीहरुमा बढ्दो चेतनाको प्रभावको परिणामले हुनुपर्छ आजकल तीजले जन–समूदायमा ठूलो ठाउँ ओगटेको छ । करिब एक महिना अघिदेखि तीज कार्यक्रमहरु आयोजना हुन थालेका छन् । यस कुरालाई संस्कृतिमाथि आक्रमण भएको र तीजलाई विकृत बनाइएको आरोप नलागेको पनि होइन । तर मलाई भने त्यस्तो लाग्दैन । यो विस्तृत तीज त बढ्दो नारी सचेतना र नारी सहभागिताको परिणाम हो जस्तो लाग्दछ । अबको तीजलाई खुम्च्याएर पुरानै स्वरुपमा पुर्याउन सम्भव छैन किनभने अबको समयका चेलीहरु सचेत छन्, समाजका निर्णायक ओहदामा पुगेका छन् र आफ्नो लागि आफैंले आवाज उठाउन सक्षम पनि छन् । उनीहरुको बढ्दो सहभागिताका कारणले तीज वृहत्तर हुँदै गएको छ ।

पुरानो समयमा विविध कारणले आफ्नो सेरोफेरोमा खुम्चिएको तीजको जमघट अब फैलिएको छ । अब एउटा तीज घरमा हुन्छ । घरेलु तीजमा नितान्त साइनो भित्रका नजीकका आफन्त चेलीहरु हुन सक्लान् । अनि टोलमा पनि टोलविकास होला, आमा समूह होला, अनि छोरी बुहारी सञ्जाल पनि होला । ती समूहहरुले पनि आ–आफ्ना तीज मनाउने नै भए । अनि आफूले पेशा गर्ने स्थानमा पनि तीज कार्यक्रमको आयोजना होला । त्यता पनि जानुपर्ने हुन्छ । यी समूहहरुले आफ्नो गच्छे र शक्ति अनुसारका तीज कार्यक्रम आयोजना गर्छन् । सानो स्थान अपर्याप्त भएपछि ठूला फराकिला ठाउँ रोज्नु पर्यो । अनि पार्टी प्यालेस वा होटेलमै तीज मनाउने कुरामा पनि म आपत्ती देख्दिन । यी सबैकुरा समयले ल्याएका परिवर्तन हुन् । मेरै वरिपरिका महिला दिदी बहिनीहरु समेत कम्तिमा तीन चारवटा तीज भ्याउनुहुन्छ । तीजैका दिनमा मात्र सबै स्थानमा दौडेर नसकिने भएकैले यो तीजको दर चाहिँ तन्केर महिनादिन सम्म चलेको हुनुपर्छ ।

अझ पुरानो समयमा त एक वर्गमा मात्र सीमित तीज अहिले राष्ट्रिय पर्ब भएको छ । तीजमा खानु, रामरौस गर्नु एउटा पक्ष हो । तीजको अर्को महत्वपूर्ण पक्ष ब्रत बस्नु पनि हो । ब्रत बस्नु र ब्रतको परिणाममा विश्वास हुनु वा नहुनु नितान्त व्यक्तिगत कुरा हो । तर दर खानु, नाच्नु र गाउनुमा त कुनै दोष छैन । नारीहरुले तीज भड्किलो बनाए । तीज खर्चिलो भयो भन्ने सामाजिक चिन्ता पनि अहिले उठ्ने गरेको छ । तर त्यो नाजायज चिन्ता हो । आफ्नो औकात अनुसार त सबैले रमाइलो गर्ने हो । आफ्नो सामर्थ्यभित्र रहेर रामरौस गर्नु नै अहिलेको तीजको पर्याय बनेको छ ।


तीजको धार्मिक महत्वको चर्चा अहिले त्यति हुन्न । कसैले ब्रत बसेरै वर खोज्नु पर्ने समय चाहिँ घर्किसकेजस्तो लाग्छ मलाई । बरु स्वास्थ्यका हिसाबले ब्रत बस्नुका लाभदायी पक्षहरुमा वहस चर्चा भएको पनि सुनिन्छ आजकल । अहिलेको समयमा तीजको व्यापारिकरण भएको चाहिं पक्कै हो । तीजकै लागि भनेर वस्त्र र श्रृङ्गार परिधानका सामग्रीको ठूलो व्यापार हुन्छ । तीज मेलाहरु लाग्छन् । कन्सर्ट र अन्य प्रकारका सामूहिक उत्सवहरु पनि त्यतिकै आयोजना भैरहेका हुन्छन् । यता आजकल तीज लक्षित गीतको बजार पनि बढेको छ । तीजको छेक पारेर तीज लक्षित गीतहरु बजारमा आउँछन् । यिनै गीतहरु समेत कहिलेकाहिँ चर्चा र विवादको घेरामा पर्ने गरेका छन् । यी सबै कुराहरु दीर्घजीवी छैनन् । खहरे जस्तै आउँछन् र बिलाउँछन् । हाम्रो बाल्यकाल बिलाएजस्तै, यौवन बिलाएजस्तै, सम्पूर्ण कुराहरु बिलाउँछन् । त्यसरी हेर्दा क्षणिक जीवनमा वर्षमा एकपटक आउने नारीकै नामको चाडमा एकसर्को नाचौँ, मन खोलेर हाँसौँ । सम्पूर्ण नारीहरुलाई तीजको हार्दिक मंगलमय शुभकामना ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 26 August 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Friday 19 August 2022

म कहाँ खेल्नू ?


    जमीन साँगुरिएको होइन नानी, मान्छेको बुद्धि चाउरिएको हो,” एक बिरामी कुरुवा दिदीले भन्नुभयो । उहाँका श्रीमान् लाई भर्खरै मात्र अपरेशन गरेर हाम्री दिदी नजिकैको बेडमा सारिएको थियो । दुई दिनदेखि हामी त्यहि कोठामा आफ्नै दिदीको हेरचाहमा खटिएका थियौँ । भीडमा कुराहरु प्रशस्त निस्कन्छन् । ती रुँगाली दिदीसँग दुईजना नाति र नातिनी पनि थिए । शायद घरमा छाड्न नमिलेर हुनुपर्छ, ती स-साना तीन र चार वर्षजतिका नानीहरु वरपर दौडिरहेका थिए । नानीकै आमाचाहिँ औषधीका चिर्कटा बोकेर दौडिन्थिन् ।

          एकछिन सम्म ती नानीहरु विरामी हजूरबाका वरिपरि घुमे । अरु बिरामीका बेडका छेउछाउ गए । क्षणभरमै उनीहरुको मन भरिएछ क्यार, कलह गर्न थाले । अलिक ठूली नानीले भन्न थालिन्— “म कहाँ खेल्नू अब आमा ?,” दिदीको कुरालाई नक्कल गर्दै सानो मान्छे बोल्यो— “म पनि कहाँ खेल्नू ?” उनीहरुको प्रश्न जायज थियो— “उनीहरुले कहाँ खेल्ने त ?” अनि पो मेरो मनमा ठोक्कियो— “नानीहरुले कहाँ खेल्ने ?”

          यहि खेल्ने कुराले जमीनको प्रश्न उठाएको थियो । हो नि, ती कुरुवा दिदीले भनेजस्तो जमीन साँगुरो भएको होइन । हाम्रै नीति निर्माणकर्ताहरुको बुद्धि चाउरिएको हो । जमीन साँगुरो हुँदै जानुमा बसाई सराई नै प्रमुख कारण हो । मानिसहरु सुविधा खोज्दै गाउँ, बस्ती खाली गर्दै शहरतिर, बजारतिर छिर्न थाले । यसो गर्नु पनि उनीहरुको रहर भन्दा बढि बाध्यता हो । गुणस्तरीय शिक्षा, रोजगार, स्वास्थ्य सुविधा जस्ता आधारभूत कुराको खोजिमा मानिस बसाईँ सर्ने हुन् ।

          यस्ता आधारभूत कुराहरुबाट वञ्चित भएकै कारणले मानिसहरु बिस्तारै बिस्तारै सुविधा खोज्दै बसाईँ सर्ने क्रम बढेको हुनुपर्छ । आजकल कृषिमा आधारित कृषि कर्म गर्न मानिसहरु उत्साहित देखिदैनन् । कृषिमा उत्पादन लागत बढेको बढेकै छ । त्यस अनुसारको प्रतिफल छैन । कृषि कामदार पाइदैनन् । युवाहरुको पहिलो प्राथमिकतामा वैदेशिक रोजगार गर्छ । अलिकति कमाएको पैसाले बजार पायक ठाउँमा मान्छेले सानो घडेरी जोड्छ । घर बनाउँछ । अनि कृषिकर्म चटक्कै छाड्छ । यसरि नै हरेक साना ठूला बजार र वरिवरिका क्षेत्रहरु टुक्रे घडेरीमा परिणत भैसकेका छन् । अव्यवस्थित बसोबासका क्षेत्रहरु बढिरहेका छन् । यस्ता कुराहरुको नियन्त्रण गर्न तत्कालिन नीति नियम भन्दा पनि दीर्घकालिन योजनाहरुको जरुरत पर्ने हुन्छ । हो, यस्तै अदूरदर्शिताका शिकार हामी र आउने पुस्ता बनिरहेका छौँ ।

          यसकारणले पनि मलाई ती अबोध शिशुहरुका प्रश्न अर्थपूर्ण लागे ! हामीले हरेक टोलमा केहि जग्गा पार्कको लागि छुट्याउनु पर्थ्यो । त्यस्ता साना वा ठूला पार्कमा नानीहरुदेखि सबै उमेरका मानिस गएर खेल्न, टहलिन सक्थे । तर त्यो सोचभन्दा हामी धेरै टाढा छौँ । धन्न काठमाडौँमा पुरानो रत्नपार्क छ । चोकहरु छन् । डबलीहरु छन् । केहि नयाँ पार्कका अवधारणाहरु पनि विकसित भैरहेका छन् ।

          अस्पतालका भीडमा ती नानीहरुले अलिकति खेल्ने ठाउँ खोजे । भीडभाड हुने अन्य स्थानहरुको हालत पनि त्यस्तै छ । त्यत्रा त्यत्रा संरचनाहरु तयार गर्दा साना नानीहरु बहलिने अलिकति जमीन होस् । थोरैतिना खेल्ने कुरा हउन् । नानीहरु रमाउन सकुन् । यस्ता दिन हाम्रा देशमा कहिले आउला त ? यस्तै खाँचो परिपूर्ति गर्ने उद्देश्यले व्यापारिक प्रयोजनका लागि केहि क्रिडास्थलहरु खुलिरहेका म देख्छु । यो राम्रो कुरा हो । तर यस्ता व्यापारिक प्रयोजनका स्थानहरुले सार्वजनिक खाँचो परिपूर्ति गर्न सक्तैनन् । केटाकटी र युवाहरु आफ्ना मनलाग्दि खेल खेल्न र रौसिन पाउँदैनन् । त्यहाँ त तोकिएको परिधिभित्र बसेर सबैकुरा गर्नुपर्ने हुन्छ ।

          मेरो घरकै छेउमा विद्यालय छ । त्यहाँ खेल सामग्री त त्यति विधि छैनन् । वरिपरि तारजालीले घेरिएको छ । अस्ति भर्खरै मात्र मैले घरको छतबाट केहि केटाकेटी चौरमा उफ्रिरहेको देखेँ । मलाई हठात् एउटा कथाको सम्झना आयो । कथामा एउटा दुष्ट बूढाको बगैँचामा भुराहरु स्याउ चोर्न जान्छन् । बूढाले धपाउँछ । यहि क्रममा एकदिन भुराहरुलाई बूढाले फेला पार्छ । तर ऊ रिसाउँदैन । बरु भुराहरुसँगै खेल्छ, नाच्छ, उफ्रन्छ । मलाई पनि ती भुरा देख्दा त्यस्तै भयो । म दोधारमा परेँ । तिनीहरुलाई उछलकुद गर्न दिऊँ कि धपाऊँ जस्तो भयो । फेरि मनमा आयो ती त साना भुरा हुन् । लड्लान, अभर पर्लान्, बन्द गेटभित्रको कुरा हो । कहाँबाट दर्फ़रिंदै, लछारिंदै ती बालकहरु स्कुल कम्पाउण्डभित्र छिरेका होलान् ? अनि तिनीहरुलाई मैले गेट खोलेर बाहिर पठाउने उद्देश्यले विद्यालयतर्फ़ गएँ । मलाई देखेर केहि ठूलाहरु त पर्खाल नाघेर उफ्रे । तर निकै साना उमेरका दुई बालिकाहरु पर तारजालीका आडमा थर्थर काँम्दै बर्बर आँशु झारिरहेका थिए । म छेउमा गएँ । नानीहरु त्रासले भक्कानिए । बिस्तारै उनीहरुलाई गेटसम्म ल्याएर बाहिर पठाएँ । अहिले म विचार गर्छु उनीहरु त्यहाँ उपध्रो गर्न गएका होइन रहेछन् । उनीहरु त खेल्ने, रमाउने ठाउँको अभावमा पो त्यहाँ छिरेका रहेछन् । हाम्रा पनि हरेक टोलमा त्यस्ता खेल मैदान हुँदा हुन् त उनीहरु त्यतै लाग्थे होलान् ।

          अनि म हेर्छु । नजिकैको भृकुटी माध्यमिक विद्यालयको खेल मैदानले त्यो खाँचो टारेको छ । मानिसहरु बिहान त्यहाँ कसरत गरिरहेका हुन्छन् । बेलुकातिर तल बजारदेखिका युवाहरु फुटबल खेल्न आउँछन् । भर्तिमा लाग्ने युवाहरु पाँसुला दह्रा पार्दै हुन्छन् । यसरी हेर्दा सार्वजनिक पार्कहरुको अत्यन्तै खाँचो मैले देखेँ । कसले सोचिदेला, कसले बुझिदेला ?

          अहिलेको समयमा विदेश नजाने, त्यहाँको चालामालाको झल्को नपाउने मानिस कमै छन् । कसरी त्यहाँ हरेक समूदायमा सार्वजनिक पार्कहरु बनाइएका छन् ! कसरी नजानिदो गरी सामूहिक भावनाको विकास भएको छ ! हुन त टाढाको कुरा के गर्नु, हाम्रैमा पनि त्यो चलन नभएको होइन । पाटि, पौवा, चौतारी, चोक, डवली हाम्रै मोडेलका सार्वजनिक स्थल हुन् । तर ती पहिले बनाइएका सार्वजनिक स्थलहरु समेत अतिक्रमणमा परेका छन् । संरक्षणमा जति चासो हुनुपर्ने हो, त्यति देखाइएको छैन ।



          भर्खरै मात्र हो एउटी भद्र महिलाले आफ्नो सानो तीनवर्षे छोरा देखाउँदै भन्नुभयो— “हामी दुवै जागिरे । अनि कोठाको कोठै राख्दा राख्दा नानी ठूलो भयो । दह्रा खुट्टा टेक्दैन ।” हो पनि, धूलोमाटो नखेलेको, घाँस चौरिमा लडिबडि नगरेको बच्चा खुल्ला रुपमा हुर्केको बच्चा भन्दा सबै हिसाबले कमजोर नै हुन्छ । शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि बाहिरी वातावरणमा खेल्न कुद्न पाएका बच्चाहरु बलिया हुन्छन् । उनीहरु प्रकृतिका नजिक हुन्छन् । सार्वजनिक स्थलमा सामूहिक रुपमा खेलिने हुँदा नानीहरुमा सामूहिकताको विकास हुन्छ । उनीहरुमा समस्याका समाधान खोज्ने उपायको विकास हुन्छ । सुरक्षित रहने र चोटपटकबाट पनि बचाउन सकिने भएकाले हिजोआजका धेरैजसो केटाकेटी घरमै हुन्छन् । अझ घरको पनि एउटै कोठामा उनीहरु डिजिटल गेममा मस्त रहने हुँदा उनीहरु साँच्चिकै बालक हुन पाएकै हुँदैनन् । तर बाहिर खेल्न पाएका केटाकेटीमा आत्मविश्वासको वृद्धि हुन्छ । बाहिर खेल्दा केटाकेटीको रचनात्मकतामा वृद्धि हुन्छ । उनीहरु आफैंले नयाँ नयाँ उपाय पत्ता लगाउँछन् । यसले उनीहरुका आफ्ना कृयाकलापमाथि नियन्त्रण गर्न पनि सघाउँछ । उनीहरु सबै इन्द्रियहरु उत्तिकै सक्रिय पारेर खेल्छन् र घरमा भिडियो गेम खेल्ने बच्चाहरुभन्दा बढि नै सक्रिय हुन्छन् । उनीहरुको थकान र तनाव पनि खेलले कम गराउँछ । यसरी हेर्दा केटाकेटीको


सर्वपक्षीय विकासका लागि प्रकृतिका नजिक बसेर खेलिने खेल अत्यन्त आवश्यक छन् ।

          यस अर्थमा ती अस्पतालमा भेटिएका अबोध बालकहरुले अस्पतालमा खेल्ने ठाउँ खोज्नु स्वभाविक कुरा हो । त्यस्तो ठाउँ खोज्नु उनीहरुको नैसर्गिक अधिकार पनि हो ।          

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 19 August 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  





Tuesday 16 August 2022

खुट्टि हेरेरै चाल पाएँ

 

    कसैले चाहिने भन्दा बढी गफ दियो भने नेपालीहरुले एउटा व्यङ्यात्मक उखान प्रयोग गर्छन्— खुट्टि हेरेरै चाल पाएँ । यो हप्ताभरिका समाचार हेर्दा मलाई त्यहि उखान दोहोर्याउन मन लागेको छ— खुट्टि हेरेरै चाल पाएँ ।


          अति सर्वत्र वर्जयत्

          राजनीतिले अहिले अतिवाद्को रुप धारण गरेको छ । गफहरु खातका खात लागेका छन् । पचास वर्ष अगाडि जसरि राजनीतिक भाषण हुन्थे, तिनमा तात्विक अन्तर आएको छैन । नेपाललार्ई पाँच वर्षमा कायापलट गराउने प्रतिवद्धता व्यक्त गर्नेहरु फेरि पनि पाँच वर्षको राग अलाप्दै छन् । जनता यी झुटा आश्वासनदेखि अघाएको संकेत त अघिल्लो स्थानीय निकायको मत परिणामले देखाइसकेको छ । तैपनि पुरानो मानसिकता भएका बयोवृद्धहरु बेहोसीमै समृद्धीको सपनामा भोट साट्ने प्रयासमा लागिरहेका छन् ।

          मंसिर चार गतेको संसदीय चुनाव घोषणा भइसकेपछि आ–आफ्नो प्रकारले परिणाम आफ्नो पक्षमा पार्न दलहरु कम्मर कसेर लागेका छन् । जब केहि युवाहरु गएको स्थानीय तहको मत परिणामबाट उत्साहित बनेर अब आउने चुनावको लागि तरखर गर्न थाले, पुराना दलहरु र नेताहरु यसबाट त्रसित भएको स्पष्ट देख्न सकिन्छ । केहि समय अगाडि मात्र नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एक सार्वजनिक कार्यक्रममै अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको तर मुलुकको दिर्घकालीन विकासका लागि यो प्रवृत्ति घातक साबित हुने कुरा बताए । त्यसै मौकामा उनले काठमाडौँका मेयर बालेन शाह फोहोर पन्छाउन नसकेर असफल भएको उदाहरण पनि दिए । स्वतन्त्र रुपमा राजनीतिमा हाम फाल्न खोज्ने युवाहरुको अठोट देखेर हतोत्साहित गर्न खोज्ने माथिल्लो ओहोदाका नेताहरुमा डा. महत एक्ला होइनन् । पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले समेत स्वतन्त्रका नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भडुँवाको विशेषण दिएका छन् । उनले अझ स्पष्टसँग रवि लामिछानेमाथि खनिदै भनेका छन्, “अब एउटा पत्रकार, नचाहिने नचाहिने काम गर्यो, अनि एउटा जमातले साथ दियो भनेर पत्रकार नेता भएर कुदेको छ । अनि लोकतन्त्र ल्याउनका लागि लडेका नेताहरुलाई अपमान गरेको छ । शरम लाग्नुपर्ने हो । यो देश बिगार्ने भडुँवाहरुको तरिका हो । यसबाट सतर्क हुनुपर्छ ।”

          यसै लहरमा अर्का पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि अभिव्यक्ति दिएका छन् । उनले एक कार्यक्रममा बोल्दै स्वतन्त्र भनेर राजनीतिमा आएका केही व्यक्तिहरु स्वतन्त्र नभई देशलाई पछि लैजाने तत्व भएको कुरा बताए ।

          यहाँ माथि उल्लेख गरिएका केहि प्रतिनिधिमूलक समाचारका अंश मात्र हुन् । तर प्रमुख मानिएका तीन दलका उच्च पदस्थ व्यक्तिहरु किन स्वतन्त्र पक्षसँग तर्सिएका छन् ? देशको कुनै पनि नागरिकले चुनावमा उठ्न वा दल दर्ता गर्न पाउने अधिकार त संविधानले सुनिश्चित गरेको छ । हरदम, हरक्षण समृद्धिको शिखरमा पुर्याउने रटान लगाउने ठूला दलहरुले नयाँ दल र स्वतन्त्र व्यक्तिहरुसँग तर्सिनु पर्ने कुनै कारण नहुनुपर्ने हो । तर दलहरुले विगतमा के के गरे भन्ने कुरा त उनीहरुलाई स्पष्ट थाहा छ । जब युवाहरु देशमा जुर्मुराए, पुरानाहरुको एकछत्त राजनीतिले स्वरुप बदल्छ अब भन्ने कुराको आभाष उनीहरुले पाइसकेका छन् । अहिलेसम्मको भ्रष्टाचार र कुशासनलाई जनताले चुपचाप सहिरहे । दलहरुले बेफ्वाँकका समृद्धिका डिङ्ग हाँकिरहे । अबको समय त्यति सहज नहुने देखेपछि उनीहरु जनतालाई युवा वर्गसँग सचेत रहन आव्हान गरिरहेका छन् ।


          अन्त्यहिन लालच

          यो चुनावी सरगर्मी बढिरहेको बेला फेरि पुरानै आकांक्षीहरुले प्रधानमन्त्री बन्ने इच्छा सार्वजनिक गरिरहेका छन् । नेकपा एमालेका अध्यक्ष ओली फेरि मुलढोकाबाटै बालुवाटार छिर्ने कुरा दोहोर्याएर तेहेर्याएर सुनाउँदैछन् । उता माओवादीका प्रचण्ड फेरि मौका पाए मुलुकको कायापलट नै गरिदिने प्रतिवद्धता सार्वजनिक गरिरहेका छन् । यस दौडमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा त अझ अहिलेकै समयलाई डेराडन्डा नसारी निरन्तरता दिने पक्षमा छन् । यस प्रधानमन्त्रीय दौडमा पुराना पारखीहरु त छँदैछन्, त्यसमाथि प्रकाशमान सिंह र गगन थापा समेतले आकांक्षा जाहेर गरेका छन् ।

          इच्छा त असीमित हुन्छन् । गठबन्धनको पुच्छर नसमाई बैतर्नी तर्न नसक्ने अवस्थामा पुगेको नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत प्रधानमन्त्री बनेर देशलाई समृद्धिको शीखरमा पुर्याउने सपना देख्न छाडेका छैनन् । तर यी सबै सपनाका आधारशीला जनता नै हुन् । अबको जनमत पक्कै पनि पहिलेको जस्तो पार्टीमुखी हुने छैन । यस कुराको आँकलन मेरो व्यक्तिगत होइन । यो आँकलन त उनै पुराना राजनीतिका खेलाडीहरुको हो । नत्र भने किन उनीहरुले सार्वजनिक रुपमा स्वतन्त्र र युवाहरुको विरोधमा शब्दहरु खर्च गर्नुपर्थ्यो ?

          लोकतन्त्र ल्याउनका लागि लडेका भनेर  दावी गर्ने नेताहरुले जनतालाई के के अवसर दिए भन्ने कुरा महत्वपूर्ण हुनेरहेछ । गत तीस वर्ष यता देशमा जे जति भ्रष्टाचारजन्य कार्यहरु भए ती सबै कार्यका साक्षी उनीहरु नै होइनन् र ? देशले कोल्टे फेर्छ भन्दा भन्दै उत्तानो पर्यो  भनेजस्तो स्थिति ल्याउनमा जिम्मेवार को हो ? जनताले धेरै आशा गरेका थिए लोकतान्त्रिक पद्धतिबाट । यो पद्दति आफैमा दोषी छैन तर यसको सञ्चालन विधिमा समस्या देखिएको हो । हजारौंको बलिदान पछि प्राप्त लोकतन्त्रले वास्तवमा के कुरामा सहजता दियो ? देशमा दण्डहीनताको स्थितिको अन्त्य गर्यो ? सुशासन कायम भयो ? देशका युवा पलायन रोक्ने कुनै नीति बन्यो ? देशबाट लार्खौ विद्यार्थी किन विदेश अध्ययनमा गएर फर्कदैनन्, कसैले चिन्ता गरेको छ ? शिक्षा र स्वास्थ्यमा कुनै सुधार आएको छ ? भ्रष्टाचारको सूचकांकमा हामी कहाँबाट कहाँ पुग्यौँ, कसैले लाज मानेको छ ?

          हाम्रा नेताहरुका निर्लज्ज गफको परिणाम हामी भोगिरहेका छौँ । हालैमात्र जापान भ्रमणमा रहेका माओवादीका अध्यक्ष प्रचण्डको हावादारी गफ त तपाईहरुले सुन्नुभएकै थियो होला । नेपाल नै नआएका जापानका पूर्व प्रधानमन्त्री आवेलाई पटक पटक नेपालमा भेटेको गफ उनले जापानमै दिए । यस्ता गफ दिन बानी परेका हाम्रा नेताहरुलाई त लज्जाबोध नहोला तर विदेशीहरुले त पक्कै पनि नेपाली नेताहरुको स्तर मापन गर्दा हुन् ।


          आरामकै खाँचो

          एउटा ठिटोले प्रधानमन्त्री देउवालाई ललकार्दै देउवाकै क्षेत्रमा उम्मेद्वारी दिने तयारी गर्दैछ । ऊ हजूरबा पुस्ताले अब आराम गर्नुपर्ने कुरा बताउँछ । वास्तवमा उसले भनेको सहि हो । अब हजुरबा र काकाहरुले आराम गर्ने बेला बितिसकेकै हो । तपाईहरुले जे जति जान्नुभयो र गर्नुभयो, त्यसका लागि तपाईहरु सधैँ धन्यवादका पात्र हुनुहुन्छ । अब देशले समग्र परिवर्तन खोजेको छ । नयाँ समयका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई नै मार्ग प्रशस्त गर्नुपर्छ । तपाईहरुले आफ्नो हठ नत्याग्ने हो भने समयले तपाईहरुलाई लज्जाबोध गराउने संकेत देखिदैछ । आगे जो इच्छा ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 12 August 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Friday 5 August 2022

म एउटा वृद्धाश्रम खोजिरहेछु

 

 

            हामी एउटा जीवनमा विभिन्न चरणहरु पार गर्दछौँ । जन्मिनु, हुर्किनु, जवान हुनु र बुढो हुँदै गएर मर्नु एक प्राकृतिक नियम हो । हाम्रो वाल्यकाल समाप्त हुन्छ र किशोरावस्थामा प्रवेश गरिन्छ । त्यो बितेको वाल्यकाल फेरि कहिल्यै फर्केर आउँदैन । हामीले बिताएका अन्य चरणहरु पनि त्यसैगरी बित्छन् । सम्पूर्ण चराचरले यो प्राकृतिक चक्रबाट गुज्रिनै पर्दछ । ससाना किट पतंगदेखि बडेमानका हात्ती, गैँडा, ह्वेलले समेत यो प्राकृतिक चक्रको पालना गर्नु नै पर्छ । मानिस प्रजाति पनि यस नियमलाई पालना गर्न बाध्य छ । लगभग पचासको हाराहारीमा नपुगुन्जेल बुढेसकालको हेक्का त्यति रहँदैन । मानिसहरु सान्सारिक दुष्चक्रमा पर्ने र स्वास्थ्य अवस्था पनि सामान्यतयाः राम्रै रहने भएकाले पछिल्ला कालखण्डको बारेमा सोचिरहने फूर्सद पनि मानिसलाई हुँदैन ।


            बुढ्याईँ क्रमशः आउने कुरा हो । शरीरका अवयवहरु क्षीण हुँदै जाने क्रमलाई नै बुढौलीका लक्षण मान्न सकिन्छ । लगभग साठी वर्षको हाराहारीमा सक्रिय जनशक्तिले पूर्ण सेवा दिन सक्दैन भन्ने अवधारणा रहेकोले प्रायःजसो त्यस उमेर समूहका मानिसहरु सेवानिवृत्त हुन्छन् । मानिसहरु सेवानिवृत्त भैसकेपछि पनि आ–आफ्नै किसिमले कुनै न कुनै आफ्नो रुचीको पेशा व्यवसायमा संलग्न भइरहेकै हुन्छन् । तर जीवनमा कस्तो पनि अवस्था आउँछ भने विभिन्न कारणले गर्दा ब्यक्ति आफू  पूर्ण रुपमा आफ्नै हेरचाह गर्न नसक्ने अवस्थामा पुग्दछ । हो, यहि अशक्तताको स्थितिमा के गर्ने त भन्ने सोचाइले पनि मानिसहरुलाई कुटुकुटु खाइरहेको हुन्छ ।

            हाम्रो पूर्वीय परम्पराअनुसार वृद्धावस्थामा छोराछोरीहरुले बाबुआमाको हेरचाह गर्नुपर्ने कर्तव्य हुन्छ । त्यस कर्तव्यलाई अहिलेको समयमा कति छोराछोरीले पालना गर्न सक्लान् त ? अहिलेको समयमा खेतीपाती गर्ने र एकै स्थानमा बसेर गुजारा गर्ने प्रचलन हराइसकेको छ । त्यस अवस्थामा आमाबाबु र छोराछोरी एकै ठाउँमा रहन पनि असम्भव छ । कतिपय छोरीछोरीहरु विदेशमा रहन्छन् र बाबुआमा मात्र नेपालमा रहेका छन् । वृद्ध भइसकेका बाबुआमालाई छोराछोरीहरुले सँगै लैजान सक्ने अवस्था पनि सधैँभरी नहुन सक्छ । बाबुआमाहरु यता आफू जन्मे, हुर्केको, आफूले सिर्जना गरेको ठाउँ र इष्टमित्र, नातागोता, आफन्त त्याग गरेर परदेशको भूमिमा गएर बस्न पनि मन पराउँदैनन् । यस अवस्थामा वृद्धहरुलाई एक्लै रहन र मर्न भन्दा पनि अशक्त अवस्था आउला र कसैको भरमा बाँच्नु पर्ला भन्ने कुराको पीर बढि हुनेरहेछ । शारीरिक र मानसिक अवस्थामा ह्रास आएपछि हुने चिन्ताले पनि वृद्धजनहरुलाई खाइरहने रहेछ ।

            मैले नजिकबाट चिनेको एक मित्र हुनुहुन्छ । उहाँका दुई दाजुभाइ विदेशमा छन् । उहाँ आफैं पनि अमेरिकामा हुनुहुन्छ । यता वृद्ध आमा नेपालमा । त्यस अवस्थामा उहाँले आमालाई के गर्ने भन्ने मनस्थितिमा केहि वर्ष गुजार्नुभयो । एकजना घरेलु सहायक बन्दोवस्त गरेर नेपालमा आमालाई छाड्नुभयो । यसो गर्दा पनि अवस्था सहज नभएपछि उहाँले आमालाई अमेरिका नै लिएर जानुभयो । तर मेरा मित्रजस्तै सबैले वृद्ध आमा बालाई आफू बसेकै ठाउँमा लिएर जाने अवस्था हुँदैन । बाबुआमा मात्र एक्लै स्वदेशमै छाडिराख्ने अवस्था पनि हुँदैन । यस्तै समस्या र द्विविधाका बीचमा पनि मेरी  एकजना साथीले आफ्नी आमालाई काठमाडौँको सुविधासम्पन्न नीजि वृद्धाश्रममा छाडिराखेर बेलायत गएकी छन् । अशक्त आमालाई उता लिएर जान पनि नसकिने र उताको बसाई माया मारेर यतै वस्न पनि नसकिने । यस्तै भुर्महत्तेबीच उनले आमासँगै सल्लाह गरेर उत्कृष्ट सेवा सुविधा सहितको वृद्धाश्रममा आमालाई राखेकी छन् । अहिले नीजि स्तरमा भनेजस्तो सुविधा सहितका वृद्धाश्रमहरु खुल्न थालेका छन् । चित्त बुझ्दो र भनेजस्तो ठाउँमा राख्दा बाबुआमाको लागि मासिक पचास हजारमाथि तिर्नुपर्ने हुँदोरहेछ । मेरी साथी विदेशमा बस्ने भएकोले उनले त्यो खर्च गर्ने क्षमता राख्छिन् तर सबैको अवस्था यो नरहन सक्छ । एउटा न्यून आय भएको व्यक्तिले आफ्ना बाबुआमालाई खर्च गर्न सक्ने वार्षिक बजेट नै पचास हजार नहुन पनि सक्छ । यस अवस्थामा सरकारी तवरबाटै एक स्थानीय निकायमा एक वृद्धाश्रमको व्यवस्था गर्नु जरुरी देखिन्छ ।


            यसरी हेर्दा, बुढेसकालका निम्ति वृद्धाश्रम मात्र एक सहज विकल्प हो भन्ने लाग्दछ । पश्चिमा देशहरुमा यो प्रचलन नौलो होइन । छोराछोरी आफूसँग नरहने सामाजिक व्यवस्था भएकोले आफू अशक्त भएपछि वृद्धाश्रममै जानुपर्छ भन्ने धारणा पश्चिमाहरुमा छ । तर हाम्रो पूर्वीय संस्कृतिले त्यसलाई मान्दैन । छोराछोरी हुँदाहुँदै बाबुआमालाई वुद्धाश्रम पठाउने कार्यलाई अत्यन्त निन्दनीय र गैरजिम्मेवार कार्य मानिन्छ । त्यसरी बाबुआमा वृद्धाश्रममा बस्ने अवस्था आयो भने ती छोराछोरीलाई समाजले अत्यन्त निकृष्ट दर्जामा राखिदिन्छ । तर अहिलेको बदलिँदो समाजमा त्यस कार्यलाई अबका पुस्ताले सहज रुपमा लिन जरुरी छ । बाबुआमा आफैंले पनि छोराछोरीहरुको खुशी र स्वतन्त्रतामा हामीले वाधक बन्नुहुँदैन भन्ने कुरा बुझिदिनु पर्छ ।

            मेरो आफ्नो विचारमा वृद्धाश्रममा वस्नुमा कुनै खराबी छैन । आफ्ना उमेर समूहका मानिसहरुसँग गफगाफ गरेर, रमाइलो गर्दै बाँकी जीवन बिताउनु पटक्कै नराम्रो होइन । यसमा मेरो आफ्नो के शर्त हुन्छ भनेँ — आश्रमले आफैंले खोजेको जस्तो सुविधा उपलब्ध गराइदेओस् । अहिले हामी वृद्धाश्रम भन्नाले परित्यक्त मानिसहरुलाई आश्रय दिने स्थल भन्ने बुझ्छौँ । एउटै कोठामा सात आठ जना असहाय मानिसहरु ढलेको देख्छौँ । कसैले दानमा दिएका खानेकुरा लहरमा बसेर खाएको देख्छौँ । मैले भन्न खोजेको वृद्धाश्रम त्यो होइन । त्यो त एक शेल्टर मात्र हो । आधारभूत सुविधाहरु पनि मुश्किलले प्राप्त हुने त्यस्ता स्थानहरुलाई मेरो मनले छानेको होइन ।


            आफूले वृद्धाश्रम खोज्ने बेला सम्ममा हरेक समूदायमा एक एक वृद्धाश्रम होस् । आफ्नो गच्छेले भ्याउने सम्मको सुविधायुक्त वृद्धाश्रम पनि होस् । त्यहाँ कुनै किसिमको कठिनाई महसूस गर्न नपरोस् । बुढ्याईँसँगै हाम्रा आफ्नै शारीरिक र मानसिक समस्याहरु प्रशस्तै हुन्छन् । जीवनको त्यस अवस्थामा थप वाह्य कठिनाई नहुने हो भनेँ र आफूले सन्तोष लिन सक्ने हो भनेँ कसैको लागि बोझ हुनुभन्दा मलाई त वृद्धाश्रमको बसाइ नै उचित लाग्छ ।

            मैले आफूले देखेजस्ता, विदेशमा भएजस्ता, आफ्ना आफ्ना युनिट भएका, सम्पूर्ण कुराहरुले भरिपूर्ण वृद्धाश्रम त यहाँ नहोलान् । तैपनि आधारभूत सुविधा भएका, शान्तसँग आफ्नो कोठामा बस्न पाइने, लेखापढी गर्न सकिने स्थान भए मलाई पुग्छ । एकदिन आउने वृद्दावस्थालाई ध्यानमा राख्दै मैले आफ्नै लागि एउटा वृद्धाश्रम खोज्नु छ । यस्ता वृद्धाश्रमका बारेमा तपाइँहरुलाई थाहा छ भने कृपया मलाई जानकारी दिनुहोला।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 5 August 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]