Monday 27 June 2022

संभावनाको खेल

 

        राजनीति संभावनाको खेल हो । एक झुण्डको राजनीतिले गलत मार्ग समाएपछि अर्को झुण्डले अवसर पाउने खेल पनि हो  यो । हाम्रो आफ्नै नजिकको इतिहासलाई हेर्दा पनि त्यहि नै हुँदै आएको छ । पञ्चायत नीतिले जनतालाई रैती बनाएर कज्याउन थालेपछि सकसमा परेका जनता जागे । परिणामस्वरुप पञ्चायती व्यवस्थाको अवसान भयो । त्यसपछिका दिनहरुदेखि हामी प्रजातन्त्रको अभ्यास गर्दै आइरहेका छौँ । समय त बितिरहेको छ तर जनताको जीवनस्तरमा कुनै तात्विक


परिवर्तन आएको छैन । अझै पनि हामी स्थिरता, शान्ति र समृद्धिको सपनाका पछाडि दौडिरहेका छौँ । लोकतन्त्रको पुनर्स्थापनापछि केहि होला भन्ने आशा अब करिब करिब हराइसकेको छ । एउटा सामान्य मानिसले हेर्दा हाम्रा दुर्दशाहरुको अन्त्य नहुनुका पछाडि हाम्रो अदूरदर्शीता नै हो । पचास वर्ष पहिलेदखि देखिएका राजनीतिक वृत्तका नाइकेहरुको परम्परावादी सोच र अदूरदर्शीताको परिणाम नै हामी निरन्तर भोगिरहेका छौँ ।

वैकल्पिक शक्तिहरु

          मुलुकमा प्रजातन्त्रको पुनर्स्थापनापछि समग्र रुपमा चार कित्तामा मानिसहरु विभाजित भए । बामपन्थी शक्तिहरु, प्रजातन्त्रवादी शक्तिहरु, मधेश केन्द्रित समूहहरु र राजावादी शक्तिहरु । हामी यिनै पुराना खेलाडीहरुका नयाँ नारामा झुक्किदै आइरह्यौ । यसै बिचमा केहि समूहहरुले आफूलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन खोजे । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिलाई जनताले नयाँ मानिदिएनन् । त्यसपछि नयाँ शक्तिले अन्य शक्तिहरुसँग हातेमालो गर्न वाध्य भयो । अर्को अलि भरपर्दो र आशालाग्दो विवेकशील साझा समेत आन्तरिक रुपमै असमझदारी बढ्दै गएपछि आफैं सेलाएर गयो ।

          देखिएका र भरोसा गर्न खोजिएका वैकल्पिक शक्तिहरुको विस्थापनपछि पुराना मानिएका राजनीतिक दलहरुले अन्य शक्तिहरुको दैया नभएको ठानेको हुनुपर्छ । बितेका केहि वर्षहरुमा राजनीतिले अझ विकृत रुप लियो । सिमाहीन भ्रष्टाचार र अनुशासनहिनताका श्रृंखला दोहोरिइरहे । राजनीति एक अर्कालाई गाली गलौजमै सीमित रह्यो । एकले अर्कोलाई दोषारोपण गर्ने र सत्ताप्राप्तीका निमित्त जस्तासुकै कदम उठाउने प्रवृत्तिमा अझ अझ बढोत्तरी हुँदै गयो । जनताका आवश्यकतालाई बारम्बार बेवास्ता गरियो । आपसी समझदारी जुटाउन असमर्थ भएपछि बारम्बार प्रतिनिधिसभा नै भङ्ग गर्ने दुस्साहस पनि भयो । जनता कोभिड महामारीले आक्रान्त भएका बेला अम्बाका पात, बेसार र तातोपानीले रोग पखाल्ने गैह्रजिम्मेवार कुराहरु आए । त्यसमाथि सलह भगाउन ठूलो स्वरमा म्युजिक बजाइदिने जस्ता हाँसो लाग्ने उपायहरु पनि जिम्मेवार व्यक्तिहरुबाट आए । यी र यस्तै हिसाब किताब जनताले राख्ने रहेछन् । बेमौकाको ठट्टाले हाँसो नउठ्ने रहेछ । 

स्थानीय निकाय निर्वाचन

          यसैबिचमा भर्खरै सम्पन्न स्थानीय निकाय निर्वाचनको परिणाम दलहरुका लागि त्यति सुखद रहेन । आफूले जितेर आएका स्थानहरुमा प्रायजसोः फेरबदल भयो । सबैभन्दा ठूलो कुरा सिन्डिकेट तोडियो । थोरै मात्रामा भए पनि दल इतरका जुझारु युवाहरुलाई जनताले जिताए । अँध्यारो भगाउन सानो टुकी भए पुग्ने रहेछ । पूर्वको धरान, पश्चिमको धनगढि र मध्यखण्डको काठमाडौँमा आशाका दियाहरु बले । यी तीन प्रतिनिधि पात्रहरु साँच्चै भित्री मनले जनताले चुनेका मानिसहरु थिए । जनसमस्या बुझेका ती जुझारु युवाहरु जीतको अबीर नपखालिकनै काममा खनिए । जनताले चाहेको त्यहि नै थियो । उनीहरुको मूल्याङ्न गर्ने बेला त भएको छैन तर पनि उनीहरुको जुझारुपन, प्रतिवद्धता र कटिवद्धताले अन्य जनसमूदायका सदस्यहरु समेत त्यस्तै प्रकारका जनप्रतिनिधिहरुको अपेक्षामा रहेका देखिन्छन् । स्वतन्त्ररुपमा चुनिएका यी जनप्रतिनिधिहरुको काममा तगारो, भाँजो र अवरोध सिर्जना गरिए पनि ती व्यवधानहरु प्रत्युत्पादक हुने देखेर हुनुपर्छ दलका पात्रहरु पछि सरे । अति नगण्य मात्रामा जितेका स्वतन्त्र जनप्रतिनिधिहरुको कार्यशैलीले ठूला भनिएका दलहरुको आकांक्षामा पैह्रो गएको स्पष्ट देख्न सकिन्छ । सार्वजनिक रुपमै स्वतन्त्रहरुप्रति गरिएका कटाक्षले दलहरुको एकाधिकार समाप्त हुँदैछ भन्ने कुराको आँकलन उनीहरुले गरिसकेका छन् ।


          त्यो विकल्पको खोजी भइरहेकै बेला हालसालै चर्चित टेलिभिजनकर्मी रवि लामिछानेले समेत एउटा पार्टीको घोषणा गरेका छन् । उनले समय, अवस्था र जनचाहनालाई आँकलन गरेर नयाँ ढंगले आफ्ना एजेण्डाहरु अघि सारेका छन् । उनीभन्दा अगाडि नै पत्रकारिता क्षेत्रबाट आएका रविन्द्र मिश्र राजनीतिमा स्थापित हुन नसकेको उदाहरण दिँदै रविका योजना असफल हुने कुरा दल समर्थकहरुले बताइरहे पनि तमाम जनता र युवा पंक्ति पुरानो राजनीतिक दाउपेचबाट वाक्क भइसकेका छन् भन्ने कुरा शायद रविले बुझेका हुन् कि जस्तो लाग्छ । पुरानो पद्धतिबाट राजनीति चल्न सक्दैन भन्ने कुरा अन्य ठूला दलका युवा वर्गले पनि आत्मसात गर्न थालेको देखिएको छ । भर्खरै मात्र युवा नेता गगन थापाले पार्टीमा प्रवेश गर्ने नीतिमा परिमार्जन गरिनुपर्ने कुरामा लामो व्याख्या गरेका छन् । पार्टी राजनीतिका विभिन्न तह पार गरेर नेतृत्वको हैसियतमा पुग्दा समय खस्किसक्ने कुरातर्फ़ उनले इंगित गर्दै भनेका छन्, “क्षमता  भएका युवाहरुलाई पार्टीमा सोझो र सहज प्रवेशको व्यवस्था मिलाउनै पर्छ ।” शायद कार्यकर्ताविहिन पार्टीको अवधारणा रवि लामिछानेले प्रस्तुत गरिसकेपछि थापाले यस्तो विचार व्यक्त गरेका हुन सक्छन् ।

          साँच्चै नै हेर्ने हो भने अहिले भएका दलहरुमा बीसौँ वर्ष प्रशिक्षित भइसकेपछि मात्र माथि उक्लने सिँढी फेला पर्छ । दलहरुका नियन्त्रणमा व्यक्तिको क्षमता, दक्षता र अभिव्यक्ति रहेको हुन्छ । बाहिरी रुपमा झकिझकाउ भए पनि व्यक्तिगत स्वतन्त्रता दलभित्र कुण्ठित नै हुन्छ । यस परिस्थितिमा कसैले कार्यकर्ताबिनाको दलको परिकल्पना


गर्छ भनेँ कुनै पनि स्वतन्त्रता प्रेमी व्यक्तिले पक्कै त्यसैको समर्थन गर्छ ।

किन तर्सिए दलहरु ?

          स्वतन्त्र उम्मेद्वार हुन् वा नयाँ जोश जाँगर लिएर आएका व्यक्तिहरु हुन्, उनीहरुको संभावित उपस्थितिको हल्लाले दलहरुमा तरंग पैदा गरेको छ । बालेन शाहलाई जिताउन सहयोग गर्ने पठीत युवाहरुको समूहले आगामी निर्वाचनका लागि पुकार बम र रञ्जु दर्शनालाई अघि सारिसकेका छन् । यता अभिनेता राजेश हमाल र चर्चित व्यक्तित्व विजय लामाले उम्मेद्वारी दिने हल्लाले पनि दलहरुको मुटु पक्कै हल्लिएको हुनुपर्छ ।

          अबका दिनमा कि भनेँ वृद्ध नेताहरुले त्याग देखाएर विश्राम लिनैपर्छ नत्र दलीय शक्ति र एकाधिकारको विस्तारै अवसान भएको दृश्यको साक्षी बन्नुपर्ने हुन्छ । अबको समयलाई युवाहरुले मात्र बुझ्न सक्छन् । उनीहरुमा उर्जा छ, उत्साह छ र दूरदर्शीता पनि छ । अबको समय युवाहरुकै हो । यस कुरालाई मनन गरेर सच्चिन खोजे दलहरुका लागि समय अझै घर्किएको छैन ।

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 24 June 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Tuesday 21 June 2022

हेल्लो माइ डियर सिस्टर

 

 

          धेरैपछि मेरा अस्ट्रेलियन धर्मदाजु ब्रुसको फोन आयो । मैले फोनमा हेल्लो भन्नासाथ उसले खुशीले पुलकित हुँदा निकाल्ने चुँइकिएको स्वरमा, “हेल्लो माइ डियर सिस्टर, हाऊ आर यू ?” भन्दै बोल्न शुरु गर्यो । उसको फोन संवाद लामै हुने गर्थ्यो तर यसपटक त एक्स्ट्रा एक्स्ट्रा लङ भैदियो । उसले फोन गर्नुको प्रमुख कारणचाहिँ आफ्नी आमाको मृत्यु सन्देश सुनाउन रहेछ ।


          ब्रुस शारीरिक रुपमा विकलाङ्ग भए पनि आफ्नो अशक्तता छोप्ने प्रयासमा निरन्तर लागिरहन्थ्यो । बीसकै उमेरमा उसले बास्केटबल खेल्ने क्रममा ढाडको हड्डी भाँचिएको कुरा ऊ बारम्बार सुनाउँथ्यो । त्यसपछि उसले पाँचपटक अप्रेसन गरे पनि ढाड कहिल्यै सोझो हुन सकेनछ । त्यसकारणले उसको शरीर एकातर्फ़ कोल्टे परिरहन्थ्यो । त्यतिमात्र होइन उसका आँखा अत्यन्त कमजोर थिए । कमजोर आँखा हुनुको प्रमाण उसको कारमा लागेका अनगिन्ति साना ठूला खतहरुमा देख्न सकिन्थ्यो । उसको दुई वर्ष मात्र पुरानो कारमा घाउ चोट नलागेको त कतै थिएन । तर ती कुरा बिर्साउन ऊ सधैँ चिटिक्क परेर हिड्थ्यो । आफ्ना फुलेका घोप्टे जुँगामा कालो कलप लगाउँथ्यो र आइरन गरेका चिटिक्क परेका ब्राण्डेड लुगामा ठाँटिन्थ्यो

          अविवाहित ब्रुस गफ गर्दा आफू राजकुमार नै भएजस्तो गरी कुरा गर्थ्यो । उसका घरमा भाडामा बस्ने केटीहरुलाई ऊ उसका प्रेमिका नै हुन् भनिठान्थ्यो र उनीहरुलाई हर प्रकारको सहयोग गर्न तत्पर थियो । साँच्चै भन्ने हो भनेँ उसले आफ्नो घरपछाडि एउटा फ्ल्याट नै तयार गरेको थियो र त्यस फ्ल्याटमा विशेषगरी दुःख पाएका, अप्ठ्यारो परेका केटीहरुलाई ल्याएर राख्थ्यो । यस्तै क्रममा एउटी अमाण्डा नामकी चाइनिज केटी त्यहाँ बस्न आइपुगी । उसलाई कसैले काममा लगाइदिने भनेर दुर्व्यवहार गरिरहेको रहेछ । ब्रुस उसका लागि गडफादर भएर निस्किदियो । काम खोजेर लगाइ पनि दियो ।

          एकदिन ब्रुसले मेरा श्रीमान् लाई घरमा बोलाएर सहयोग माग्यो । परेको के रहेछ भने एउटी बंगलादेशी केटीले दुईदिन बस्नको लागि ऊसँग सहयोग मागेकी रहिछे । त्यो रोहिणी नामकी केटीको भिजा एक्सपायर भएर ओभर स्टे गरेपछि तुरुन्त देश छोड्नुपर्ने आतेस परेको रहेछ । रोहिणीले राती फलानो स्ट्रिटमा छु भनेर फोन मारिछे । अनि ब्रुससँग सहयोग मागेकी रहिछे । रातको बेला एक्लै निस्किन आँट नआएर मेरा श्रीमान् को साथ लिएर त्यो बताइएको स्ट्रिटमा ब्रुस र मेरा श्रीमान् पुग्नुभएछ । “रोहिणी, रोहिणी” भन्दै ब्रुस गाडीबाट कराउँदो रहेछ । आखिरमा दुई फन्का मारेपछि मात्र त्यो केटी फेला परिछे ।

          त्यस्तै एकदिन राती एक बजे कुनै उसकै चिनाजानाकी केटीले फोन गरेर पेट्रोल सकिएको र गाडी बाटो छेऊ लगाएर पर्खिबसेको कुरा सुन्नासाथ पेट्रोल बोकेर ब्रुस त्यहिँ पुगेछ । त्यो गाडी पार्क गरिएको ठाउँ त मेन हाइवे पारि रहेछ । मान्छेले त्यसरी बाटो काटेर हिँड्न झण्डै असम्भव अवस्थामा पनि ब्रुस बाटो पारि पुगेर पेट्रोल दिइकन आफ्नो बहादुरी प्रदर्शन गरेको साहसिक गाथा ऊ बारम्बार सुनाउन रहर गर्थ्यो । तर यो घटना सुनाउँदा ब्रुस सधैँ तर्सिएजस्तो गर्थ्यो । मेन हाइवे, जहाँ गाडी १०० कि.मी. माथिको गतिमा स्वाई स्वाई गर्दै हुइँकिन्छन्, त्यस्तो हाइवेको बीचबाट पेट्रोलको जर्किन बोकेर घल्चक् घल्चक् बाटो काट्दा जे पनि हुन सक्थ्यो भन्ने सम्झेर पछि ऊ शायद त्रसित हुन्थ्यो होला ।

    यस्तैमा एउटीले चाहिँ एकचोटि आफ्नो गाडी कतै लगेर ठोकिछ । फोनमा उसको रुन्चे आवाज सन्नासाथ रेस्क्यूका लागि ब्रुस दौडिहाल्यो । समग्रमा भन्नुपर्दा ब्रुस केटीहरुलाई जस्तो सुकै समस्या पर्दा पनि सहयोग गर्न तत्पर हुन्थ्यो । अनि उसको यो कमजोरीका बारेमा उसको सम्पर्कमा आउने सबै केटीहरुले बुझेका थिए र जे भए पनि उनीहरु उसलाई फोन गरिहाल्थे । अनि ब्रुस पनि आफूलाई महिलाहरुको प्रिय छु भन्ने प्रमाणित गर्न कुनै कसर बाँकी राख्दैनथ्यो । 

तर यस्ता किसिमका नकचरा कुरामा उसकी नब्बे वर्षीय आमालाई कुनै रुची थिएन । त्यही भएर आमा छोरा कहिलेकाहिँ बाझाबाझ गर्ने गर्थे । एकातिर ब्रुस आमाका नियन्त्रणमा बस्नुपरेको पीडा व्यक्त गर्थ्यो । अर्कातिर उसकी आमा उनको छोरो ६० नाघ्दा पनि नहुर्केको गुनासो गर्थिन् ।

          एकदिन के भएछ भनेँ ब्रुसकी आमा सोफामा बसेर उँघ्दा उँघ्दै लडिछन् । आमैलाई उठाउन ब्रुस नसक्ने । अनि ऊ गुहार माग्दै हाम्रोतिर आयो । हामीले गएर आमैलाई बोकेर खाटमा राखिदियौँ । चोटपटक केहि थिएन । भोलिपल्ट ब्रुसले आफू असक्त भएकोमा ठूलो खेद प्रकट गर्यो । अनि हाम्रो सहयोगका लागि बारम्बार धन्यवाद ज्ञापन पनि गरिरह्यो ।

         


ब्रुसले चलाएको गाडीमा उसकी आमा मरियम समेत बस्न नरुचाउने । ऊ यति भङ्ज्याहा तरिकाले गाडी चलाउँथ्यो कि, भनिसाध्य छैन । रेड लाइटमै गाडी हुइँक्याइदिने,  रङ टर्न लिने, आँखा नदेखेपछि पछाडि नहेरी लेन चेन्ज गर्ने अनि अरुले हर्न बजाएर गाली गरेपछि हाँस्दै, “सरि माइट, माइ माइन्ड इज स्लिपीङ बट आइज आर ओपन” भन्थ्यो ।

          बहाई धर्मशास्त्रका अनुच्छेदहरु कण्ठस्थ थिए ब्रुसलाई । मौका मिल्नासाथ ऊ बहाउल्लाहका उद्धरणहरु सुनाउन थाल्थ्यो । कर गरेर मलाई केहि धार्मिक पुस्तकहरु पनि पढ्न दिन्थ्यो । अनि समय समयमा हुने धार्मिक जमघटमा हामी जहानैलाई लगेर सबैसँग घुलमिल समेत गराउँथ्यो ।

          सिस्टर, माइ मदर इज नो मोर” भन्ने ब्रुसको फोन आएको धेरै भएको छैन ! त्यति बुढी मान्छे आफ्ना अगाडि अंग्रेजी सिकाउने फारसी भाषाको पुस्तक राखेर पढिरहेकी हुन्थिन् । फूलहरुमा पानी हालिरहेकी हुन्थिन् । हामीलाई देख्नासाथ बोलाएर चिया, ड्राइफुट र कुकिज नखाई जानै दिन्नथिन् । आफूले अंग्रेजी जाने म कति तिमीहरुसँग बोल्दि हुँ भन्थिन् । छेउमा बसेको ब्रुस बाङ्गिदै भान्सामा गएर फिक्का चिया बनाएर ल्याउँथ्यो । आमाले अह्राए बमोजिमका खाद्य वस्तु ल्याएर खान कर गर्थ्यो । ती नब्बे वर्षकी आमैलाई आफैँ इरानी खाना पकाएर भोज लगाउने शौक थियो । उनी कति दिनदेखि तयारी गरेर कुनै सप्ताहान्तमा उनकोमा आउन निम्ता गर्थिन् । खाद्य पदार्थको प्रशंसा सुनेर मख्ख पनि पर्थिन् ।


          ब्रुस हाम्रो घरवेटी कम र साथी ज्यादा थियो । ऊ अहिले हरेक पटक फेसबुकमा भएका मेरा आर्टिकल, पोस्ट र फोटोहरुमा कमेन्ट गर्न चुक्दैन तर पठाएका म्यासेजको रिप्लाइ गर्न जान्दैन । उसले फोन गर्दा उठाइदिन भ्याइयो भने कसरी उसका घरको छेउमा ठूलो सपिङ मल बन्यो, अनि अरु के के परिवर्तन भए भन्न छुटाउँदैन । अब कहिले भेट होला भन्दै हाम्रा लागि एउटा कोठा अझै खाली राखेको ऊ सुनाउँछ । अनि अन्तमा मेरा बूढालाई ठट्यौलो पारामा सोध्छ, “तिमीले मलाई नेपाली केटी खोजिदियौ त ?”

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 17 June 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Thursday 16 June 2022

अर्को जुनी खै कुन्नी


प्रिय कबीर,

          तिमीलाई याद छ — यस जुनीमा नभए अर्को जुनीमा हाम्रो भेट होस् भनेको कुरा ? ती लहड्का कुरा थिए । नदी किनारामा रुखका फेदमा बसेर भावुक हुँदै तिमी भन्दै थियौ । म सुन्दै थिएँ । त्यो समय नै त्यस्तै थियो । हाम्रो उमेर नै त्यस्तै थियो । एक अर्कामा पिरतीको प्वाँख पलाउन खोज्दै थियो । मायाका मुनाहरु टुसाउँदै थिए र मनमा पिरतीका पालुवा लाग्दै थिए । त्यसबेलामा हाम्रा बोल्ने कुरै धेरै थिएनन् । जब हामी एकार्काका समीपमा थिएनौं, मन उद्वेलित  थियो । मनले हुइया हुरेली खेलिरहन्थ्यो । एउटा बहानामा नजिक त हुँइन्थ्यो तर बोल्ने कुरै केहि थिएन । नभेटुन्जेल यो मन बोलि नै रहन्थ्यो, भेटेपछि शब्दहरु लज्जावती झार झै लुकिजान्थे ।


          हो, त्यस्तै समय अडिएको बेलामा एक पटक तिमी बोल्यौ - यस जुनीमा त खै अर्को जुनीमा हाम्रो साथ जीवनभरलाई है त । तिमीलाई यस जुनीमा विश्वास रहेनछ, अनि मलाई अर्को जुनीको भरोसै थिएन । तिमीले यसो भन्नु पछाडिका कारणहरु मलाई थाहा थिए । तिमी त्रसित हुनु पछाडिका कारणहरु पनि मलाई थाहा थिए । तर पनि हामीले यस बारेमा कहिल्यै चर्चा गरेनौं । शायद यो चर्चाको आवश्यकता नै थिएन कि ? अझै पनि यो जुनी सकिएपछि, खरानीको थुप्रो भइसकेपछि, माटोमा मिलिसकेपछि कताबाट पुनर्जीवन पाइएला र जस्तो ठान्छु म । त्यसैले त मैले तिमीलाई भनेकी थिएँ — अर्को जुनी खै कुन्नि ?

          कुनै वैज्ञानिक आधार नभएको कुरा हो यो अर्को जुनीको कुरा । अतृप्त चाहनाहरुको भार कम गर्ने परापूर्व कालदेखि चलिआएको मनोबैज्ञानिक पद्धति हो यो अर्कै जुनी भन्ने कुरा । आशावादीहरुको मन थुम्थुम्याउने उपाय मात्र हो यो अर्को जुनीको कुरा । मलाई ऊ बेला पनि त्यस्तै लागिरहन्थ्यो तर मसँग तर्क गर्ने शाहस थिएन; शायद ज्ञान पनि थिएन । म अहिले सम्झिन्छु — त्यसैबेला हामीले तर्क वितर्क गरेका भए दोधारेपन निस्तेज हुन्थ्यो होला । हामीले एक नयाँ मार्ग पहिल्याउँथ्यौँ होला । त्यसबेलाका शब्दविहीन तर्कहरुले गर्दा नै हाम्रो त्यो प्रेमको दियो सधैं जगमग छ । हामी एकाकार भएका भए शायद प्रेमको अवशेष नरहँदो हो । सांसारिकताले थिचेर ती प्रेमका मुना ओइलाइ जाँदाहुन् । 

          समयको अन्तरालको धूलाले छोपिएको पुरानो मित्रताको किताब टक्टक्याएर म पढ्ने कोशीश गरिरहेकी छु । शायद मैले जोन डनलाई पढेकी हुँदी हुँ त म त्यति बेलै भन्दिने थिएँ हुँला — हेर, यो एकबारको जुनीलाई पन्छाएर अर्को जुनी पर्खिनु ठूलो मूर्खता हो । जब प्राण वायुले छाड्छ, शरीर मकाएर जान्छ, अनि के बाँकी रहला र ?  हुन त प्रायःजसो धार्मिक आस्था भएका मानिसहरुमा पुनर्जन्म प्रति विश्वास छ । मानिसहरु अहिले सत्कर्म गरे र असल मनले भाके पुनर्जन्म हुन्छ भन्ने ठान्छन् । तिमी पनि त्यस्तै कुरामा विश्वास गर्थेउ होइन र कबीर ? यस जुनीमा जे जस्तो भएपनि अर्को जुनीमा भेटौँला, पिरती साटौँला भनेर तिमीले मलाई आश्वस्त पार्न खोजेको होइन त ?

         


अर्को जुनीसम्म पर्खिनु मुर्ख्याईं हो भन्ने मलाई उहि बेलामा लागेको थियो । शायद तिमी पनि कच्चै थियौ म जस्तै । अहिले पुरानो कुरा सम्झेर म विज्ञान सम्मत कुराहरु खोज्छु र बुझ्न कोशीश गर्छु — यो पुनर्जन्म विषयमा कतै तथ्यपरक कुरा भेट्दिन । अहिले हेर्दा यो अर्को जुनी भन्ने कुरा धार्मिक विश्वास र अन्धविश्वासको उपज रहेछ जस्तो लाग्छ । विज्ञानले कहिल्यै पुष्टि गर्न नसकेको उडन्ते कुरा रहेछ जस्तो तिमीलाई लाग्दैन त अहिले ?

          हुन त प्रेम भनेको त्याग हो । प्रेम भनेको निरन्तर प्रतिक्षा पनि हो । प्रेम भनेको आफूसँग भएको बाँड्नु पनि हो । प्रेम निर्वाध हुन्छ र शर्तविहीन पनि हुन्छ । हो, यस अर्थमा हाम्रो प्रेम निश्छल, निश्चल र स्निग्ध थियो र छ । हामीले एकता रोजेको भए त्यस एकताको आधार शरीर हुन्थ्यो । त्यो भौतिक प्रेम हुन्थ्यो । भौतिक अर्थमा पृथ्वी तलमा कहिँ कतै एकता हुन सक्दैन । हामी भौतिक रुपमा निकट हुन सक्थ्यौँ होला तर एक हुन त सक्दैन थियौँ । हामी एकाकार नभएपछि भौतिक रुपमा एउटा दूरी त रहिरहने नै थियो । हो, त्यो दूरी नजिक हुन्थ्यो होला तर अहिले हामी भौतिक रुपमा टाढा छौँ ।

          प्रेम त एक हृदय अर्को हृदयमा समाहित हुने कुरा हो । हृदय त एक नै छ नि हाम्रो आखिरमा । हामी भौतिक रुपमा पो नजिक छैनौं त । तर हाम्रा मनहरु त जोडिएकै छन् । प्रेममा एक अर्कोमा हराउन राजी हुनुपर्छ । कबीर, प्रेम त एउटा गहिरो महासागर जस्तो रहेछ । अनि हामी ठूलो महासागर बीचका टापू । त्यो प्रेममय सागरका छालले निरन्तर ओसिलो भइरहने । त्यसैले त प्रेमको दुर्लभताका बारेमा सन्त कबीरले भनेका होलान्ः

          प्रेम ना बारी उपजै

          प्रेम न हाट विकाय

          राजा प्रजा जेहि रुचै,

          शीश देहि ले जाय ।।

          प्रेम न त बारीमा फल्छ, न त बजारमा बिक्छ । राजा प्रजा जसलाई प्रेमको इच्छा हुन्छ त्यसले आफ्नो शीर नै सुम्पिनु पर्छ । यहाँ शीर भन्नाले अहम् भन्ने बुझ्नुपर्छ । अर्थात्, प्रेम प्राप्त गर्न मान्छेले निरावृत रुपमा अगाडि आउनुपर्छ ।

         


    हामी एक हुन सकेनौं भनेर निराशा प्रकट गरेको होइन मैले कबीर । हामी आत्मिक रुपमा एक नै छौं भन्न मात्र खोजेको । कुनै पूर्वाग्रह र आग्रह बिनाको हामी बिचको प्रेम नै अपूर्व प्रेम रहेछ । हुन त हरेक प्रेमिल जोडीले यस्तै निश्छल र निष्कपट प्रेमको कामना गर्छन् । तर धेरै कम मानिसहरुले मात्र अन्त्यकालसम्म यो पवित्रता जोगाएर राख्न सक्छन् । साँचो प्रेमले त स्वतन्त्रता प्रदान गर्नु पर्ने हो तर यसले अनन्त बन्धन पैदा गर्छ र प्रेमको असामयिक अवसान हुन्छ । सच्चा प्रेममा कुनै प्रकारको बन्धन नहुनुपर्ने हो, कुनै दवाव नहुनुपर्ने हो । एकले अर्कामाथि कुनै पनि इच्छा पूर्ति गर्नका लागि गरिने कृयाकलाप त प्रेम नभएर दासत्व रहेछ । हो त्यहि दासत्व तिमीलाई स्विकार्य रहेनछ शायद । अहिले म बुझ्दैछु, हामीले अनन्त प्रेम सागरमा डुबुल्की लगाएछौं । अर्को जुनी किन पर्खनु पर्यो र कबीर हामी यहि जुनीमै प्रेम बाँचिरहेका छौं ।

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 10 June 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  



Saturday 4 June 2022

अब कहिल्यै सान्दिदीको फोन आउँदैन

 

          हेलो !”

          “को ? बेनू बोलेकी ?”

          “हजुर । के छ हालखबर ?”

          “यता सबै राम्रो छ । त्यता कस्तो छ नि ?”

          “यहाँ पनि सब ठिक छ ।”          

        


    मेरी माहिली दिदी अर्थात् सान्दिदीले फोन गरेपछिको वार्तालापको शुरुको अंश सधैँ यस्तै हुने गर्थ्यो । धेरै कुरा पनि केहि नहुने, फोन पनि गरिरहनुपर्ने सान्दिदीको बानी थियो । कति पटक त मैँले कुरा केहि त हुँदैन भनेर फोन नउठाउने पनि गरेकी थिएँ ।

          तर अहिले ? म सान्दिदीकै फोनको प्रतिक्षामा हुन्छु । फोनको घण्टी बज्ने बित्तिकै सान्दिदीकै फोन आयो भनेर झस्किन्छु । हजुर किन यति चाँडै हामीलाई छोडेर जानुभएको सान्दिदी ? काठमाडौं बस्ने ठूल्दिदीले गएको जेठ तीन गते म्यासेज पठाउनुभएको थियो, “तैँले थाहा पाइस् ? रञ्जना त बिरामी भएर अस्पताल लगेको छ अरे ।” यसले मलाई अलि झस्कायो । वैशाख ३० गते त हो, म सान्दिदीसँग बोलेकी । त्यो दिन उहाँको विवाहोत्सव परेको हुँदा म र मेरा श्रीमान् दुवैले उहाँलाई शुभकामना दिएका थियौँ । हाँसी हाँसी कुरा गर्नुभएको थियो । अचानक के भयो ? मैँले तुरुन्त माहिला भिनाजुलाई फोन गरेँ । उहाँले अघिल्लै दिन बेलुका सान्दिदीलाई धरान घोपा अस्पताल पुर्याएको र अझै होस् नखुलेको कुरा गर्नुभयो । मेरो मनमा अनेक शंका मडारिन थाले । त्यसको एकछिनपछि सान्दिदीकी देउरानी निरु बैनीले फोन गरिन् र फेरि उही कुरा दोहोर्याइन् ।

          यस्तो सुनेपछि हामी तुरुन्त जंग भाइको गाडी मगाएर धरान गयौँ । अस्पतालको इमर्जेन्सी वार्डमा सान्दिदीलाई राखेको जानकारी प्राप्त भएको थियो । धरानमा आइसियू उपलब्ध नभएकोले विराटनगर लैजानुपर्ने कुरा पनि चलिरहेको रहेछ । धरानमा नभेटिए विराटनगर नै पुग्ने सल्लाहले हामी हिँडेका थियौँ ।

          गाडीबाट उत्रिएर हतार हतार हामी इमरजेन्सी वार्डतिर छिर्यौँ । आफ्नो बिरामी नियाल्ने क्रममा हामीलाई सान्दिदीको बेड भेट्न केहिबेर लाग्यो । अचेत अवस्थामा सुताइएकी सान्दिदीलाई मैँले नियालेर हेरेँ । बेडमा के के तानातिर्कुटा झुण्ड्याइएका थिए । अनुहारमा अक्सिजन मास्क थियो । उहाँलाई सास फेर्न गाह्रो भएजसरी शरीर जुरुक जुरुक हल्लिरहेको थियो । हजुरलाई के भयो भनेर मैँले सोध्न पाइँन । जति मान्छे उति नै कुरा गर्थे । मलाई कसैको कुरा पत्याउन मन लागेन । एकछिनपछि डक्टर आएर मुख्य समस्या भनेको दिमागमा तीन ठाउँमा रगत जमेको छ, त्यसको उपचार आइसियूमा राखेर मात्र गर्न सकिन्छ भने । यसको मतलव सान्दिदीलाई विराटनगर नै लानुपर्ने थियो । त्यहाँबाट छिटो लगिदिए हुन्थ्यो भन्ने सोचेर म “खै त कतिबेला लाने ?” भनेर त्यहाँ उपस्थितहरुलाई सोध्थेँ । कोही पेपर बन्दैछ भन्थे, कोही एम्बुलेन्स खोज्दै गरेको भन्थे । मेरो मनको हतारले मात्र के हुन्थ्यो र ! सबैथोक प्रकृयामा चल्नुपर्ने होला !

          बल्ल बल्ल चार बजेतिर सान्दिदीलाई एम्बुलेन्समा हालेर विराटनगर लगे । हामी जंग भाइसँग दमकतिर लाग्यौँ । जंग भाइका एकजना आफन्त पनि त्यस्तै बिरामी भएको तर औषधिले ठीक भएको कुरा उनी सुनाउँदै थिए । उनका कुराले केही आश्वस्त भए पनि म सान्दिदीको अवस्था देखेर ढुक्क हुन सकिरहेकी थिइन । अब के होला; कसो होला भनेर मन आन्दोलित भइरहेको थियो ।

          भोलिपल्ट दिउँसो करीब एक बजेतिर सान्दिदीको छोरो ऋषभले फोन गरेर “आमा इज् नो मोर्,” भन्यो । मेरो शंका वास्तविकतामा बदलियो । दुई तीन दिनको बीचमा सान्दिदी हामीलाई छोडेर अनन्तमा बिलाउनुभयो ।

         


सान्दिदी र मेरो बीचमा दुई वर्षको मात्र फरक थियो । धनकुटामा हाम्रो बाल्यकाल दिदी बहिनीको जस्तो कम र साथी साथीको जस्तो भएर ज्यादा बितेको थियो । हामी सँगै स्कूल जान्थ्यौँ, सँगै खेल्थ्यौँ, सँगै गाउँथ्यौँ, सँगै नाच्थ्यौँ । हामी जति मिल्थ्यौँ, झगडा पनि उति नै गर्थ्यौ । हाम्रो सम्बन्ध पछिसम्म पनि यस्तै यस्तै नै थियो । भेट भएका बेला हामी रातीसम्म गफ गर्ने र हाँस्ने गर्थ्यौं । यस्तो बेलामा मुवाँले हामीलाई धेरैपल्ट गाली पनि गर्ने गर्नुभएको थियो । गाली खाएर एकछिन चूप लाग्थ्यौँ, फेरि गफ गर्न थालिहाल्थ्यौँ ।

          सान्दिदीको विवाह धरान घरबाट भएको थियो । उहाँको कर्मघर पनि धरान नै परेको थियो । यो ठाउँ उहाँलाई असाध्य मन पर्थ्यो। “जहाँ गए पनि मलाई त धरान नै मन पर्छ,” उहाँ भन्ने गर्नुहुन्थ्यो । सान्दिदीलाई कुनै किसिमको गम्भीर शारीरिक रोग लागेको हामीलाई थाहा थिएन । उहाँलाई स्किजोफ्रेनिया भएको रहेछ । त्यो पनि शुरु शुरुमा थाहा हुन सकेन । रोग निकै छिप्पिएपछि मात्र हामीले पत्तो पाएको हुनाले उहाँलाई सुधार केन्द्रमै राखेर उपचार गर्नुपरेको थियो । करीब एक, डेढ वर्ष उहाँले त्यहाँ बिताउनुपरेको थियो । उहाँले दैनिक औषधि त खानु पर्थ्यो  तर उहाँ आफ्नो सामान्य जीवनमा फर्किसक्नु भएको थियो । खानकी शौकिन सान्दिदीलाई गेडागुडीको तरकारी, दही र कफि असाध्य मन पर्थ्यो । धरान जाने बेलामा मैंले, “सान्दिदी, हजुरलाई के ल्याइदिऊँ ?” भनेर सोद्धा सधैँ “कफि ले न,” भन्नुहुन्थ्यो ।

          सान्दिदीका धेरै ठूला सपना थिएनन् — राम्रो लाउनु, मीठो खानु, गफ गर्नु, हाँस्नु, आफन्तहरुकहाँ भेट गर्न जानु र आफूसँग भएको पैसा खर्च गरिहाल्नु उहाँका दिनचर्यामा पर्थे । “सान्दिदी, म बैंकमा खाता खोल्दिन्छु । भएको पैसा त्यहाँ जम्मा गर्नू र चाहिएको बेला अलि अलि झिक्नू नि,” म बेला बेला भन्ने गर्थे । उहाँ हाँस्तै, “आ...के बैंकमा राख्नु पैसा,” भन्दै टारिदिनुहुन्थ्यो ।

          सान्दिदी बितेको करिब दुई हप्ता भैसक्यो । यो समयमा हरेक क्षण उहाँ मेरो मनमस्तिष्कमा छाइरहनुभएको छ । उहाँ दमकमा त बस्नुहुन्न थियो । तर किन मलाई यहाँको आफ्नो घर सुन्ने लाग्छ ? म जता जान्छु, सान्दिदी मलाई पछ्याइरहनु हुन्छ । मेरो मनको शून्यता शायद घरको शून्यतामा प्रतिबिम्बित भएको होला । सान्दिदीको फोन आए पनि हुन्थ्यो नि, म कल्पना गर्छु । फेरि आफैंलाई सम्झाउँछु — अब सान्दिदीले कहिले पनि फोन गर्नु हुने छैन ।

          जुनसुकै उमेरमा आफ्ना प्रियजनको मृत्यु भए पनि त्यो असामयिक नै लाग्छ । तर सान्दिदीको मृत्यु साँच्चै नै असामयिक भयो । यसरी हठात् उहाँ हामीलाई छोडेर जानुहोला भन्ने कल्पनासम्म थिएन । उहाँले आफ्नी छोरी दुलही भएको हेर्नु थियो । घरमा बुहारी भित्र्याउनु थियो । केहि त गर्न भ्याउनुभएन ! आफ्नो नयाँ घर सान्दिदीलाई देखाउने मेरो पनि त धोको थियो । अलि लामो छुट्टी होस्, आफूलाई फूर्सद होस् अनि २/४ दिन सँगै बस्नेगरि बोलाउँछु भन्दै म मनमनै योजना बनाउँदै थिएँ, सब भताभुङ्ग भयो । एकचोटि पाँचैजना दाजुभाइ र दिदी बहिनी भएर तिहारको टिका लगाउने मेरो इच्छा पनि अपूरै भयो । हाम्रो ठूलो परिवार — २/३ वर्षदेखि कहिले को, कहिले को बित्ने भएर दशैँ, तिहार मनाउन पाइएको थिएन । यो वर्ष पनि हाम्रो दशैँ, तिहार थिएन । अर्को वर्षका लागि त सान्दिदी नै रहनुभएन ।


          सान्दिदीका शौख भनेका सिनेमा हेर्नु र गीत सुन्नु थिए । उहाँको स्वर राम्रो थियो । विशेषगरि नेपाली आधुनिक गीत र पुराना हिन्दी गीत उहाँ कण्ठस्थ गाउनुहुन्थ्यो । सबभन्दा पहिले क्यासेट प्लेयरमा मलाई पुराना हिन्दी गीत सान्दिदीले नै सुनाउनुभएको थियो । अहिले पनि जब म यस्ता गीत सुन्छु, उहाँलाई नै सम्झिन्छु । दीपक खरेलको “तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा...” उहाँलाई सबभन्दा मन पर्ने गीत थियो ।

    उहाँ भौतिक रुपमा नभएर के भो त ! मभित्र उहाँ सधैँ बसिरहनुहुन्छ, गफ गरिरहनुहुन्छ, हाँसिरहनुहुन्छ । सान्दिदी, हजुरको मुवाँ, बुवासँग भेट भइसक्यो होला, होइन ? छोराछोरीमध्ये सबभन्दा पहिले त हजुरले नै उहाँहरुलाई भेट्नुभयो ! यो संसार यस्तै हो, बाँचुन्जेल अनेक किसिमका चुनौतिको सामना गरिरहनुपर्छ । अलि छिट्टै मृत्युवरण गरे पनि यस्तो मृत्यु भाग्यमानीले मात्र पाउने गर्छन् । बुवा, मुवाँजस्तै अन्तिम दिनसम्म हजुर पनि सकृय नै रहनुभयो । हजुरले रोगले थलिएर ओछ्यान पर्नु परेन, कसैले हजुरको सेवा चाकर गर्नुपरेन । सबै आफन्त भेला भएर हजुरको अन्तिम बिदाइ गरे । केही समयको अघिपछि हो, हामी सबैको गन्तव्य त आखिर एउटै हो । हजुर मलाई उतै पर्खिरहनू है । म यहाँ हजुरको फोनको आश नगर्ने निरन्तर कोशीश गर्दैछु... । सान्दिदीका नाममा भारतीय कवी केशव प्रसाद मौर्यको एक टुक्रा कविताः

मृत्यु अटल है जाना होगा ।

यह भी तुमने हमें सिखाया ।।

 

अंगारो पर चलकर तुमने ।

शांतिपाठ भी खूब सुनाया ।।

 

कविता की तो बातें छोडो ।

शब्द शब्द पर खूब हँसाया ।।

 

वंदन तुम्हैं नमन तुमको है ।

जाते जाते खूब रुलाया ।।

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 3 June 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]