Friday 13 August 2021

तारा, हामी सबै छापामार

   




    मान्छेका सुखका कथा त छिनमै सकिइजान्छन्  । बाँकी पीडा, आक्रोश, अभाव, असन्तुष्टिले यो मगजमा अड्डा जमाइराखेका हुन्छ
न्। छापिएको एघार वर्षपछि तारा राईको छापामार युवतीको डायरी पढ्ने समय आयो । उनका पीडालाई धेरैले बाँडेछन् यो एघार वर्षको समयावधिमा । बाह्रवटा त संस्करण आइसकेछन् । यस किताबप्रतिको मोहले के हामी पीडा नै मन पराउँछौं भन्ने बुझाउँछ ? कि पीडाहरु पढेर आफूलाई त्यसैमा समाहित गर्न खोजेका हौं ? शायद हामीभित्रका संवेदनाहरु र रचनाकारका संवेदनाहरु मिल्दाजुल्दा भएका होलान् ।

ताराका काँचा सपना
    ६ कक्षामा पढ्दा पढ्दै कच्चा उमेरमै ताराले युद्ध रोजिन् । उनको बाल बुझाइमा यो अन्याय र अत्याचार विरुद्धमा गरिएको स्वतन्त्रताको लडाईं थियो । उनमा त्यसबेला यो युद्धलाई पुरै बुझ्ने परिपक्वता भने थिएन । ग्रामीण अभाव, गरिबी र बाबुआमासँग नहुनुको मनोदशाले पनि उनको किशोर हृदयलाई भड्काएको हुँदो हो । उनले मुक्ति मार्गको पाठ पढिन् र त्यसै अनुरुप आफूलाई ढाल्न खोजिन् । आफ्नो समाजमा भएका विविधतालाई वर्गको हिसाबले बिभाजन गर्न सिकिन् । वर्गीय मुक्तिको लालसामा आफ्नो प्राण आहुतिको चिनाइ र भोगाइ फरक भएको देखाउँछ उनको अनुभवले । पुलिस, प्रशासन र सेनालाई उनले फरक पाएको र उनलाई पढाइए जस्तो अति क्रुर हुन्छन् भन्ने कुरालाई उनी आफैंले नकारेकी छन् यस पुस्तकमा । आफूलाई अत्यन्त कठोर बनाउने प्रयास गर्दागर्दै पनि दशैं, तिहार सम्झेर भक्कानिएकी छन् । आमाको सम्झना र मायाले किशोरी ताराले किताब लच्याप्रै भिजाएकी छन् ।
    

    युद्धमोर्चामा छिरेको तीन महिनामै उनी पक्राउ परेपछि सेनाको ब्यारेक, इलाम जेल, भद्रपुर जेल अनि विराटनगर जेलका अवस्था र उनको भोगाइलाई इमान्दारिताका साथ उनले वर्णन गरेकी छन् । अतिरञ्जना नदेखिने किशोर वयकी ताराको लेखाई निश्छल छ । लेखाइमा आफ्नो स्वभाव झल्किन्छ भन्ने कुराको प्रमाण पनि यो पुस्तक हो जस्तो लाग्यो मलाई । शायद ताराको बोली र व्यवहार पनि मधुर हुँदो हो र त ब्यारेकदेखि जेलसम्मनै सबैकी प्रिय बनिन् । उनले पाएको यातना पक्कै पनि उनका कमरेडहरुले भोगेको तुलनामा नगण्य नै होला । एक कोमल मनले हेर्दा सेना र पुलिसको विवशतालाई पनि उनले आफ्नो लेखनीमा अटाएकी छन् ।

    हाम्री सासूआमाको काममा दमक घरमा आएकिजस्तो लाग्छ तारा, एउटा सानो बालकको साथमा । उमेर गणना गरेर हेर्दा अहिले उनी ३१ वर्ष जतिकी हुँदि हुन् । पक्कै पनि उनी इलाममै होलिन् र पुस्तकमा उल्लेखित अमर पनि साथै होलान् । सानैदेखिकी मुटुकी रोगी उनी कस्ती भइन् ? तारा पक्कै पनि पार्टिगत राजनीतिमा सक्रिय छैनन्  होला किनभने उनले पार्टिगत राजनीतिप्रति पुस्तकमा वितृष्णा जनाएकी छन् ।

तारा, तिमी पढ्नू
    एउटी सम्पूर्ण रुपमा सांसारिक चेत पसिनसकेकी, सानो काया भएकी तारालाई पक्राउ परिसकेपछि जसजसले पढ्नू, अघि बढ्नू भन्ने सल्लाह दिएका छन्, ती सबैको आग्रहलाई स्वीकार्दै ताराले फेरि औपचारिक अध्ययनलाई अघि बढाइन् कि बढाइनन् तर उनले भनें सबैलाई पढाइन् । उनले गरिबी र अभावले मान्छेलाई कसरी सही निर्णय लिनबाट बञ्चित गराउँछ भन्ने कुरा अनुभवबाट सिकिन् र सोहि कुरा उनको पुस्तकमार्फत अरुलाई पढाइन् । उनी अदम्य आँट, शाहस र आत्मविश्वासले भरिपूर्ण छन् । आफ्नो लेखनीलाई ठूलो प्रयत्नले पुस्तक रुप दिन सकेको कुरा पनि उल्लेख गरेकिछन् उनले । उनको निश्छल लेखाइले जनयुद्दको एकपाटो झल्काउला तर युद्दका डरलाग्दा पाटा र विभिषिका भने यस पुस्तकमा छैनन् । लेखकले देखेको र भोगेको सानो पाटोमात्र पुस्तकले चित्रण गरेको छ । ताराले मलाई उनको डायरी पढाइन् र यसका माध्यमबाट मैले तारालाई पढ्न पाएँ । तारा एक प्रतिनिधि पात्र मात्र हुन् जनयुद्दकालकी । कति ताराहरु त नामेट पनि भए होलान् । कति ताराहरु लाचार भएर आफ्नो तेज गुमाएर बसेका होलान् । तर आफ्नो लेखनीका कारण यी तारा ‘अनमोल’ तारा बनेकी छन् ।
    तारा, तिमी उन्नति, सुशान्ति, राजनीतिक स्थिरता र विभेदरहित समतामूलक समाजको उद्देश्य लिएर मार्ने र मर्ने कसम खाएर युद्धाग्नीमा होमियौ । तर त्यो बलिदानको अभिष्ट यही सत्ता प्राप्ति मात्र थियो त ? शान्तिपूर्ण अवतरणपछि, अझ सहज अवस्थामा जो जसले जे जे सपनाहरु बाँडेर ताराहरुलाई हतियार बनाएर प्रयोग गरेका थिए, ती अगुवाहरु कता के मा अल्झिए ? हाम्रो समतामूलक समाज निर्माण गर्ने सपना तिरोहित भएको हो त ?

हामी सबै छापामार
    तिम्रो छापामार कथा पढ्दा मैले आफूलाई पनि एक निहत्था छापामार पाएँ, तारा । म आफूमात्र होइन, हामी सबै छापामार नै हौं । हामी हाम्रा सपनाहरु बोकेर निरन्तर आफ्नो स्वतन्त्रता, समृद्धि र स्वउन्नतिको लडाईंमा छौं । त्यो तिम्रो पुस्तकमा उल्लेखित भौतिक लडाईं थियो, यो मैले भन्न खोजेको आत्मिक लडाईं हो । यो कुराले मलाई एन्तोन चेखबको बाजी कथाको याद आउँछ । कथामा एउटा जवान वकिल र बैंकर बीचमा जीवनभर जेल बस्नु राम्रो कि मृत्युदण्ड राम्रो भन्ने विषयमा विवाद हुन्छ । बैंकर मृत्युदण्डका पक्षमा हुन्छ तर वकिलले भनें जेल नै ठीक भन्छ । यस कुरामा बाजी पर्छ । वकिल पन्ध्र बर्षसम्म बाहिरी दुनियाँको सम्पर्कमा नआई जेलमा बस्नुपर्ने र अन्तमा दुई लाख रुबल पाउने शर्तबन्दि हुन्छ । पन्ध्र वर्ष पुग्न लाग्दा यता बैंकर व्यापार बिग्रेर टाट पल्टिन लागेको हुन्छ । उसका मनमा कुबुद्दि पलाउँछ र वकिललाई मार्न जान्छ । वकिल भनें त्यस बीचमा पढ्दा पढ्दा यो रुपियाँ पैसा केहि होइन रहेछ भन्नेमा

पुग्छ र मिति पुग्नु अगावै जेलबाट भाग्छ ।

    हाम्रा मनमा पनि ती वकिल र बैंकरको मनमा जस्तै भयानक युद्द चलिरहन्छ । यहाँ शान्ति सम्झौता पनि हुन्छ । यो मनका युद्दमा हजारौं सपनाहरु शहीद हुन्छन् । बाहिरी युद्द कसैको आदेश र उक्साहटमा चल्छ तर यो आन्तरिक युद्धको निर्देशक पनि आफैं र लडाकु पनि आफैं हो । यस आन्तरिक लडाईंको उचित व्यवस्थापन गर्न नसके यसले पनि संसार ध्वस्त पार्छ । यहाँ संसार भन्नाले स्व अर्थात् आफू भन्ने बुझ्नुपर्छ, तारा । किनभने हाम्रो संसार हाम्रो आँखाले देखेभरि र चेतनाले छामेजति मात्र हो । यसरी हामी सबैले आ–आफ्ना टाउकामा आफ्ना आफ्ना संसारको भारी बोकेरै हिड्छौं र आफू नासिंदा आफ्नो संसारलाई पनि नामेट पारेर जान्छौं । तिम्रो मनको संसार तिमी नै बोक्छ्यौ, मेरो मैं बोक्छु । हामी आफ्नै मनदेखि तर्किन्छौं, उतर्सिन्छौं, मनसँगै हाँस्छौं, नाच्छौं, खुशी र उल्लास पनि मनाउँछौं । त्यो तिमीले युद्दभूमिमा गरेका कुरा यो मनमा पनि हुनेगर्छ । तिमीले भोगेको भौतिक जेल र जेलभित्र हुनुको आभाष पनि मैले मनैभित्र महशुस गरेकी छु । अनेकौं विचार र आकांक्षाहरुभित्र अहिले पनि तिमी जेलिएकै हौली । तिमी पक्कै पनि वादका, विचारका बिकारबाट म जस्तै जेलिएकी हौली । यही आफूले सिर्जना गरेको विवेकभरिको संसारमा आफैंले निर्माण गरेको वैचारिक जेलमा हामी मुुस्कुराएको जस्तो मात्र गर्छाैं तारा । तिमी जेलबाट छुट्दाको क्षणीक उल्लास भन्दा फरक वैचारिक जेल तोडेर आफूलाई निर्विचार बनाउन सके हामीलाई सच्चितानन्द प्राप्त हुँदो हो ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 13 August, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).