Showing posts with label नेपाली. Show all posts
Showing posts with label नेपाली. Show all posts

Saturday, 10 July 2021

माया त सुस्तरी सुस्तरी


खगेन्द्र भट्टराई

दमक , झापा

मायाको मार्ग तेर्सै तेर्सो

सम्झँदो रहेछु

मनले नापेको कहाँ हुनु

दम्स्याइलो दम्स्याइलो

माया थुम्का थुम्की

माया गैह्री खोल्सी

माया अक्करे भीर

चढिनसक्नु हिमाल

फेरि,

माया शीतल बतास

नाप्छु आँखाले

कल्पन्छु मनले

माया रुवा बतास

कहाँको हुनु माया

हुरि बतास

रापीलो ताप

दर्के झरि

बेतोडको हुन्डरि

फेरि,

माया सुस्तरी सुस्तरी

लठ्ठिएसरि, मात्तिएसरि

माया सुस्तरी सुस्तरी


 



Friday, 18 June 2021

फुटपाथमा भेटिएका जिब्रान


              
 प्रायः
मानिसहरु नयाँ किताबका पछि लाग्छन् आफुलाई मनपर्ने लेखकको कुनै पुस्तक प्रकाशित हुने बित्तिकै तँछाड मछाड गर्दै त्यो पुस्तक किन्न कुद्छन् तर मलाई भनें पुराना कितावहरु प्रिय लाग्छन् कति किताव दोहो¥याई तेहे¥याई पढ्छु अनि कतिपय संगालेर राख्छु ठूला शहरका सडक गल्लीमा फिजाएर राखिएका पुराना पुस्तकका तस्बीर मात्र हेर्दा पनि मलाई आनन्द लाग्छ ती पुस्तकका पानाहरुभित्र कुनै हिराको टुक्रा लुकेर मलाई नै पर्खिरहेको कि जस्तो पनि लाग्छ बेलाबेला हाम्रातिर काठमाडौँको दुई चार ठाउँबाहेक मैले कतै पुराना पुस्तक पसल देखेकै छैन  

                सेकेन्ड ह्यान्ड पुस्तक पसलतिर चहार्नु मेरो शौक नै हो यसै क्रममा मैले न्युरोड गेट छेउको पुरानो गुँदपाक भण्डार नजिकको गल्लीमा भेटेको हो ताता घाममा धुलैसरी भएर लडिरहेका जिब्रानलाई फिजाइएका किताबका एक छेउमा जिब्रानकोब्रोकन विङ्स्मलाई नै पर्खिबसे जस्तोगरि च्यातिएको गातासँग लडिरहेको थियो मैले प्रेमपुर्बक त्यसलाई उठाएँ जम्मा पच्चिस रुपैया तिरेर जतनले झोलामा हालें त्यो किताब नयाँ किन्नुभन्दा कता हो कता सस्तो थियो नै, त्यो मूल्यभन्दा पनि बहुमुल्य कुरा त्यस पुस्तकमा जडित भएको एक झल्को मैले पाएकी थिँए कसैले प्रयोग गरिसकेको पुस्तक आफ्ना हातमा आउँदा मलाई साँच्चै नै कुनै बेसहारालाई सहारा दिएजस्तो लाग्छ त्यस्तो भावना मेरा मनमा मात्र आएको होइन रहेछ पहिले नै बीसौ शताब्दीकी प्रसिद्ध लेखिका भर्जिनिया उल्फले पनि त्यस्तै मनोभाव प्रकट गरेकी रहिछन्सेकेन्ड ह्यान्ड पुस्तक रासका रास आउँछन् घरका पुस्तकालयमा भएका पुस्तकभन्दा अर्कै मिठासका हुन्छन्  

                अहिले डिजिटल किताबको युग चाहेका खोजेका पुस्तक निमेषभरमै उपलब्ध हुन्छन् तैपनि पुस्तक समाएर, त्यसका पाना पल्टाएर पढ्नुको जुन मजा , त्यो मजा कम से कम मलाईचाहिं विद्युतीय उपकरणमा पढ्दा आउँदैन शायद आफू डिजिटल युग शुरु हुनुभन्दा अगाडि नै जन्मिएर यस्तो लागेको हो कि ? ‘फरेनहाइट ४५१का लेखक रे ब्र्याडबरी पनि भन्छन्, “बुकको कुनै भविष्य छैन किनभने ती किताब होइनन् बुकहरुले डढेको इन्धन जस्तो गन्ध छाड्छन् हुन पनि हो, किताबहरु भौतिक स्वरुपमा नै बढी सजीव लाग्छन् आफुले विभिन्न कालखण्डमा पढेका पुस्तक पल्टाउँदा विविध सम्झनाले  डोहो¥याएर पुरानै समयमा फर्काईदिन्छन्   फेरि त्यो समय त्यतिबेलाका घटना परिघटनासँग मितेरी लाउन पाइन्छ  

                सडक किनारमा लडेका जिब्रानलाई उठाएर लैजाँदा मलाई सर्वथा अनौठो अनुभूति भयो त्यो पुस्तक एउटा उत्कट प्रेमीले जन्मेकै सालतिर पढेको रहेछ पहिलो पाना पल्टाउने बित्तिकै मैले उसको नाम ठेगाना देखें आजसम्ममा परमधाम गइसकेको हुँदो हो बाँचेकै भए पनि त्यसबेला त्रिभुवन बिश्वबिद्यालयमा एम. कम. पाँचौ सेमेस्टरमा पढ्ने ठिटो अहिले लगभग ७५ / ८० को हाराहारीको हुँदो हो त्यो समयको उसको खयाली प्रेमलाई उसले नीलो मसीले पुस्तकभरि छरपस्ट लेखेको जिब्रानको ब्रोकन विङ्समा पनि पात्रहरु गहिरो प्रेममा हुन्छन् तर त्यो सेल्मा कारेमी नामकी युवती कथावाचक पात्र युवकबीचमा वियोगान्त प्रेम हुन्छ यता त्यो पुस्तक धनी त्रि.वि.को ठिटो पनि आफुलाई ठ्याक्कै त्यहि परिस्थितिमा उभ्याउँछ मलाई खुल्दुली , यो पुस्तक धनीसँग एकपटक भेट्न पाए, उसको प्रेम गाथा सुन्न पाए, आज कसरि प्रस्तुत गर्दो हो ? सेकेन्ड ह्यान्ड किताबले एकै पटकमा धेरै कथा पनि भन्न सक्दो रहेछ यो मेरालागि नौलो रोमान्चक अनुभूति थियो एकातिर जिब्रानलाई पढ्दै थिएँ भने अर्कोतिर जिब्रानले नलेखेको कथा जिब्रानकै किताबमा पढ्दै थिएँ

                त्यो किताव पढ्ने ठिटाको डढेलोले खाएको मनमा फेरी केहि उम्रियो होला कि बन्जरै रह्यो होला ? एकतर्फी प्रेम टुटेपछि उसको जीवन कता मोडियो होला ? जिब्रानले उभ्याइदिएका पात्रका सट्टामा यो अमूक पुस्तक धनीले मेरो अन्तर आत्मालाई छोयो यसको कारण के थियो भने जिब्रानका पात्र काल्पनिक थिए तर यो पात्र वास्तविक थियो उसले पुस्तकभरि गरेका बिलौना सत्य थिए जिब्रानकै कथा पढ्दै थिएँ तर कल्पनामा ती अरबी पात्र नभई त्रि.वि.का झाडी जंगलमा यसो छड्के परेर, छलिएजस्तो गरेर बसेका युवा युवतीको प्रेमकथा जस्तो हुन गयो त्यो अमूक पुस्तक धनीले जन्मेकै सालमा स्नातकोत्तर पढदा त्रि.वि.को स्वरुप कस्तो हुँदो हो ? शायद एक दुई बिल्डिंङ मात्र हुँदा हुन् थोरै बिद्यार्थी हुँदा हुन् आफुले बाइस पच्चीस वर्ष अगाडी त्रि.वि. धाएको सम्झें त्यो भन्दा पाँच सात वर्ष अगाडि नै त्रि.वि. कै नजिक नयाँबजारमा बसेर कीर्तिपुर माध्यमिक बिद्यालयमा पढ्न गएको सम्झें मैले त्यो समयमा देखेको त्रि.वि.को सेरोफेरो पनि कहाँ अहिलेको जस्तो थियो ? त्यस बेलाको जीवन शैली नै अर्कै थियो अहिलेको जस्तो भिडभाड थिएन बिद्यार्थीहरुका हात हातमा मोबाइल फोन थिएनन्     

                साहित्यका अथवा अन्य विषयका पुराना पुस्तक किनेर पढ्ने चलन हाम्रातिर नयाँ नै होला सानी छँदा पुराना पुस्तक बिक्रीको चलन नै थिएन हो, त्यतिवेला हामी आफुले पढिसकेका पाठ्यपुस्तक भने किनबेच गर्थ्यौं राम्रा जतन गरेर पढिएका पुस्तक आधा मूल्यमा तल्ला कक्षाका बिद्यार्थीहरुलाई बेच्न सकिन्थ्यो  

पठन संस्कृतिको विकासले नै किताबको बजार खडा गर्ने हो हाम्रो छिमेकी मुलुक भारततिर हेर्ने हो भनें कहाली लाग्नेगरिका ठूला ठूला सेकेन्ड ह्यान्ड बुकका बजार देख्न पाइन्छ दिल्लीका दरियागंज कलकत्ताका सडकमा नपाइने किताब शायदै अरुतिर पाइएला जस्तो भान हुन्छ सडक किनारमा किताबहरुको डंगुर देख्दा बोरामै उठाएर ल्याउँ जस्तो लाग्ने  

                सेकेन्ड ह्यान्ड पुस्तकको सुन्दरता भनेकै यसमा सबैको पहुँच हुनु हो मूल्यको हिसाबले कुनै पुस्तक नयाँमा किन्नुभन्दा ८०/९० प्रतिशत नै सस्तो पर्न जान्छ बजारमा ,००० रुपैया पर्ने पुस्तक सेकेन्ड ह्यान्ड बजारमा १०० रुपैयामैं पाउँदा चिठ्ठा परेको होइन ? फेरि सेकेन्ड ह्यान्ड भन्नेवित्तिकै सबै पुस्तक पुरानै हुन्छन् भन्ने छैन कहिले कहिले हालसालै प्रकाशित पुस्तक पनि नसोचेको मूल्यमा हात लाग्न सक्छन्

                 यस्ता किताब किनेर पढ्न पल्किएकी छु तपाईले पनि कतै सेकेन्ड ह्यान्ड किताब बेचेको देख्नुभयो भने ती किताबका थुप्रा खोस्रिन नबिर्सनू होला के थाहातपाईंले पढ्न खोजिरहनुभएको तर नभेट्नु भएको पुस्तक त्यही थुप्रोमा तपाईंलाई नै पर्खेर बसिरहेको हुनेछ कि

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 18 June, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]

 



Friday, 28 May 2021

दाउराको जोहो

 


यो जीवन दाउराको जोहोमा बित्यो,” एकदिन कुरै कुरामा मेरी सासुआमाले भन्नु भएको थियो। उहाँको त्यो वाक्य  धेरैबेरसम्म मेरो मानसपटलमा गुन्जिरह्यो ।  ख्यालख्यालमै बोलेको कति सत्य कुरा थियो त्यो।  हामी सबै त्यसै गरिरहेका छैनौ ? पूर्वीय चिन्तन परम्पराअनुसार हामीले गर्ने सबै क्रियाकलाप मृत्युकै तयारी हुन्।  भव्यतापूर्वक, सभ्यतापूर्वक वा कनिकुथी नै भएपनि गरिएका सम्पूर्ण तयारी अन्तिम यात्रातिरै लक्षित भएका हुन्छन। ठुला ठुला ज्ञानीहरू, दानीहरु, खुंखार अपराधीहरु बेनाम बाँचिरहेका सम्पूर्ण जीवनहरुको समाप्तिको प्रक्रिया एउटइ - कि उनीहरु गाडिन्छन् , कि जलाइञ्छन्   यस्तो थाहा पाउँदा पाउँदै पनि जन्मनु मर्नुका बीचको  कालखण्डलाई हामी कति महत्व दिन्छौं भन्ने कुराको चर्चा गरि साध्य छैन।  यहाँ उत्साह छन् , निराशा छन् , ज्ञानका कुरा छन् , अज्ञानका छन् , समानताका छन् अनि असमानताका पनि छन्।  हाम्रो सम्पूर्ण जीवन यिनै परिवृत्तमा घुमिरहनछ।


अदृश्य पर्दा

हामीभित्र त्यस्तो के जसले परम चेतना वा अन्तिम सत्यलाई सधै  बिर्साउँछ अहिलेको सोसल मेडियाको युगमा ज्ञान सर्बत्र सर्वसुलभ छ। के एउटा पढ्न जान्ने मान्छेलाई जुनसुकै पुस्तक पढ्न दिए पनि त्यसमा भएका सबै कुरा उसले ग्रहण गर्न सक्छ ? शायद  सक्दैन। त्यसका लागि ऊभित्र अलिकति अंतर्चेतनाको खाँचो पर्छ।  तर आफूसँग भएको सतही ज्ञानलाई नै हामी अन्तिम सत्य मान्छौं, अनि त्यहिंबाट तर्कको उत्पत्ति हुन्छ।  यिनै बाह्य तर्क बितर्क नै हामीलाई परम चेतनासम्म पुग्न नदिने अदृश्य पर्दा हुन्।  यी पर्दा नउघ्रियेसम्म हामी सिर्फ धराबासी मानवका रुपमा जीवन जिउँछौं।  एउटा बृहत नाटकका पात्र बन्छौं र बढो तन्मयतापूर्वक आफ्नो सांसारिक भूमिका निर्वाह गर्छौं।  दृश्य रुपमा देखिने सम्पूर्ण मानव  स्वरुप यही बृहत नाटकका पात्र हुन्।  तपाईं हामी पनि यसका अपवाद होइनौं। 


कोरोना संदेश

होस् सम्हाल्न सक्ने भएदेखि नै मानिस असाध्य दौडधुपमा हुन्छ। निरन्तर राम्रो, गतिलो ठुलो हुने प्रयासमा हुन्छ।  यी प्रयासहरुका प्रकार गणना गरिसाध्य छैन।  मानिसलाई यही धपेडीबाट केही समय रोकिन सोच्न कोरोनाले संदेश दिइरहेको जस्तो लाग्छ मलाई। 

एकछिन पर्खिए पनि, सुस्ताए पनि बितिजाने केही  रहेनछ।  यो धर्तीको डेरा छाड्नु नै एकदिन, तैपनि हामीलाई बितिबिताउ छ।  यही प्रसङ्गमा मलाई एउटा सन्दर्भको स्मरण हुन्छ।  मुम्बईमा धेरै जिज्ञासुहरुका बीचमा स्वामी राधानाथ यिनै जीवन चिन्तनका बारेमा चर्चा गर्दै हुन्छन्।  त्यतिखेरै एउटी महिला आफ्नो आसनबाट उठ्छिन भन्छिन् , “ स्वामीजी मैले मेरो छोराको पढाइ सिध्याउनु , एउटा घर बनाउनु , मेरी बुढी आमा पनि बिरामी छन् , लोग्नेको जागिर टाढा अर्कै शहरमा छ।  यिनै कारणले गर्दा भगवानको चिन्तन गर्न सक्दिन।  प्रभुले मेरा यति समस्या समाधान गरिदिए पनि ढुक्कले ईश्वरको ध्यान गरेर बस्थें होला। " हो, हाम्रा यस्तै अनगिन्ति समस्या छन्।  प्रकारान्तरले फरक भए पनि हामी सबैका समस्या खोला झैँ बगिरहन्छन्। खोलाको पानी बरु बगेर सकिएला तर समस्या कहिल्यै पार लाग्दैनन्।  त्यसैले यो लकडाउनको समय - 'टाइम अफ कन्टेम्प्लेशन ' हो।  भुट्भुटिने, छट्पटिने, डिप्रेशनमा गइहाल्ने समय होइन किनभने यो वैश्विक समस्या हो, व्यक्तिगत होइन।

अर्को एउटा प्रसङ्ग जोड्नु पनि यहाँ सान्दर्भिक देखिन्छ।  बुद्धमार्गी एउटा शिष्य  १२ बर्ष  तप गरेर पनि पार नलागेपछि जेन बुद्धमार्गी गुरुकहाँ गएछ भनेछ-"मैले १२ बर्ष तप गर्दा पनि यो दिमाग शान्त गराउन सकिन गुरुदेव।  कसो गरौँ , मलाई उपाय सुझाउनुपर्यो। " गुरु चिया पकाउदै रहेछन्।  उनले केही नबोली चियाको एउटा रित्तो कप चेलाको अगाडि राखिदिएछन् अनि चियाको कित्ली ल्याएर खन्याइदिएछन्।  चियाको कप भरिएर पोखिन थालेछ ।  " भयो गुरु, यो भरियो," चेलोले भनेछ तर पनि गुरुले चिया खन्याइनै राखेछन्। हेर्दा हेर्दै कित्ली रित्तियो। अनि गुरुले सोधेछन् ,"एउटा कपमा कति चिया अँट्छ ? कप रित्तो पारेर आउनू। " हाम्रा दिमागी कपहरु भरिएका छन् त्यही चेलाको जस्तै।  यी कपहरुलाई हामीले बढो जतनपूर्वक  जोगाएका छौ।  हाम्रो वश् चलेसम्म तिनमा भएका कुरा हामी रित्याउँदैनौं।  अनि नयाँ कुरा कसरि भरिन्छन् ?

 

अन्तिम तयारी

मृत्यु सधैं 'असामयिक' नै हुन्छन्।  उमेर ११० पुगिसक्दा पनि हामी अन्तिम तयारीमा त्यति जुट्दैनौ।  हाम्रा अधुरा कार्यहरु प्रसस्त हुन्छन्।  मेरो अनुभवमा पश्चिमा संसारमा भने अलिक फरक हुने रहेछ।  मेरो एउटा अस्ट्रेलियन साथीकी ८५ बर्षे आमाले एकदिन बढो गौरवान्वित हुदै सुनाई, " अब मलाई ढुक्क भो।  मेरो अन्तिम संस्कारका लागि मैले पुरै किस्ता बुझाइसकें। " यो भनाइ मेरालागि नितान्त नौलो थियो।  उनीहरु सकेसम्म छोराछोरीलाई बोझ नपरोस भनेर आफ्नो मृत्युपश्चात् गाडिने ठाउं हेरेर, आफ्नो गच्छे अनुसारको ठाउँ छानेर, त्यस जमीनका लागि कति तिर्न पर्ने हो, त्यो अन्तिम संस्कार गर्ने कम्पनीलाई किस्ताबन्दी रुपमा पैसा बुझाउँदा रहेछन्।  त्यो साथीकी आमाले मलाई  एकदिन उसले छानेको भव्य चिहानघारीमा लगेर बिलिन हुने ठाउँ पनि देखाएकी थिई। 

 

दाउराकै कुरा

दोश्रो लहरको कोरोनाले आक्रान्त पारेको बेला हामी केही पीडितहरु ज्यान जोगाउने दौडमा छौ। केही पर्दाभित्र लुकेर अझ बढी कमाइरहेका छौं।  अधुरा सपनाहरुसँगै  ज्यान भुकुभुकु ढलिरहेछन्।  एक प्रकारको खोपको आधा मात्रा लगाएकाहरु अर्को मात्राको लागि पुकारा गरिरहेका छन्। कोही दुई मात्रा नै भेटेर ढुक्क भएका छन्।  अस्पतालहरु भरिएका छन्।  अनिंदा  आँखा लिएर डाक्टर नर्सहरु डा तुलसी प्रसाद भट्टराईले नामाकरण गरेझैं ' “गिद्धबाहिनी कोरोना का विरुद्धमा निरन्तर लडदैछन् सरकार आफु सुरक्षित रहेर हाम्रालागि अक्सिजनको व्यवस्था गर्दैछ ।  तर अक्सिजनको व्यवस्थापन भइनसकुन्जेलका लागि एक मन्त्रीले केहि दिन अगाडि ,”आर्यघाटमा दाउराको कमी हुन नदिनू," भन्ने आदेश सम्बद्ध पक्षहरुलाई दिएका छन्।  आशा गरौँ  हामीले केही नभए पनि अन्त्यष्टि कार्यका लागि पर्याप्त दाउरा पाउनेछौं।  सम्पूर्ण मृतक तथा उनिहरुका आफन्तजनले दिएको आशिषको प्रतापले मन्त्रीज्यूको उत्तरोतर प्रगति हुने नै छ। 

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 28 May, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]