Friday 30 June 2023

अब त भुनभुने बोल्छ होला

 

 कहिलेकहिले पढ्ने क्रममा पात्रहरु यति सजीव भएर उठ्छन् कि तिनले छपक्क मगजमा डेरा जमाएर बस्छन् । मलाई डा. नवराज केसीको ‘शून्यको मूल्य’ पुस्तकको एउटा सानो पात्र भुनभुनेले त्यस्तै बिर्सिनसक्नु छाप पा¥यो । पुस्तक एउटा डाक्टरको अनुभवमा आधारित भएकोले सबैजस्तो वर्णनहरु र त्यहाँ उल्लेखित पात्रहरु मर्मस्पर्सी छन् । तैपनि म भनें जबजब आफ्नी हुर्कदै गरेकी नातिनीसँग दुरभाषबाट संवाद गर्छु, त्यहि पुस्तकमा वर्णित भुनभुने सम्झिन्छु । गएको माघ महिनामा म काम विशेषले काठमाडौँ गएकी थिएँ । त्यतिबेला, डा. नवराज केसीको ‘शून्यको मूल्य’ पुस्तक भरखर भरखर बजारमा आएको थियो । त्यो पुस्तकको एक दुईवटा समीक्षा पढेपछि मलाई ‘शून्यको मूल्य’ पढौँ पढौँ लागिरहेको थियो । सौभाग्यवश् मैले उपहारस्वरुप त्यो पुस्तक हात पारेँ । यो पुस्तक गैर आख्यान भएपनि आख्यानकै शैलीमा लेखिएकाले यसभित्र अटाएका शीर्षकहरु कथा नै पढेजस्ता लाग्छन् ।


 शून्य’ को अर्थ पनि लेखकले बडो मार्मिक तरिकाले प्रष्ट पारेका छन् । उनी भन्छन् संयुक्त राष्ट्रसङ्घले मानव जीवनको दिगो विकासका निम्ति सन् २०३० सम्म पुरा गर्नुपर्ने १७ वटा लक्ष्य निर्धारण गरेको छ । तर दुर्भाग्यवश् यी लक्ष्यको सूचीमा गर्भवती आमाहरुको उचित रेखदेखको कुरा त भुसुक्कै छुटेछ । आफू एक बालरोग विशेषज्ञ भएको नाताले डा. केसी बालबालिकाको पूर्ण विकासका लागि सर्वप्रथम उनीहरुका आमाको विकास हुनु जरुरी ठान्छन् । तसर्थ आफ्नो कर्मभूमि कर्णाली क्षेत्रमा भेटिएका आमाहरुको स्थितिबोधले उनलाई ती सत्रवटा लक्ष्यभन्दा अगाडि ‘शून्य’ नम्बरमा मातृत्वविकासको लक्ष्य थपिनुपर्ने कुराको अनुभूति भयो । उनका अनुसार “शून्य भनेको एकमा पुग्नुअगाडिको तयारी हो नि । फूल फुल्ने र फल फल्ने वृक्ष उम्रिने माटोमा हो । शून्य पनि अरु अंकका मान बढाउने त्यही माटो हो...एक, दुई, तीनदेखि १७ सम्मका सबै लक्ष्यहरु शुरु गर्ने सुभारम्भ धर्को यही शून्य बनोस् ।” यो अर्थमा शून्य मूल्यवान् छ ।

 शून्यको मूल्य’ पुस्तकको पहिलो आलेख ‘बुधेकी फुपूआमा’ भित्रको एउटा पात्र हो भुनभुने । चार वर्षको भैसक्ता पनि केही नबोल्ने भुनभुनेलाई लिएर उसकी आमा टाढाको गाउँदेखि डाक्टरलाई देखाउन शहरको अस्पतालमा आएकी हुन्छिन् । सबै हिसाबले स्वस्थ भुनभुनेले किन बोल्न सकेन त भनेर डाक्टर पनि चकित हुन्छन् । जब म भुनभुनेलाई पढ्दै थिएँ, हाम्री करिब डेढ वर्षकी नातिनी कैरवीको भाषिक विकासलाई पनि नजीकबाट नियालिरहेकी थिएँ । ऊ तीव्र गतिमा भाषा  सिक्ने क्रममा थिई । उसकी आमाले अनेक किसिमका खेलौनाका साथै विभिन्न बालपुस्तकहरु कैरवीलाई उपलब्ध गराएकी थिई । यसका अतिरिक्त हामी छ÷सात जना सधैँ ऊसँग तिनै खेलौनाका बारेमा, पुस्तकका बारेमा र अरु दैनिक जीवनका बारेमा गफ गरिरहेका हुन्थ्यौँ ।

डाक्टरले दिएको चकलेट खाने क्रममा जब भुनभुने बिरालोको जस्तो विचित्रको आवाज निकाल्छ, तब उनी झस्किन्छन् । कुरा बुझ्दा भुनभुनेको बाबु इन्डिया भास्सिएको, उसकी आधा अनुहार डढेकी आमालाई गाउँलेले बोक्सीको आरोप लगाएर अनेक प्रकारले सताउने गर्दा उनी आजित भएर गाउँभन्दा टाढाको जंगलमा गएर एक्लै बस्ने गरेकी तथ्य पत्ता लाग्छ । दिउँसो आफू   घाँस दाउरा गर्न जंगल जानुपर्ने हुनाले सानो भुनभुनेलाई उनी जंगली जनावरबाट जोगाउन डोकोले छोपेर हिँड्दिरहिछन् । उनका घरभरि बिराला रहेछन् । कुनै पनि मानव आकृतिको सम्पर्कमा नआएको भुनभुने यिनै बिरालाको क्रियाकलाप हेर्दै हुर्केको रहेछ । यसैले गर्दा उसको व्यवहार र बोली बिरालोको जस्तो भएको कुरा बुझ्न डाक्टरलाई कुनै बेर लागेन ।

म भुनभुने र कैरवीको भाषिक विकासको तुलना गर्न थालेँ । हामी मूलतः सिकाइका दुई सिद्धान्तहरु — ‘बिहेबियरिजम्’ र ‘मेन्टलिजम्’ का बारेमा खूबै पढ्छौँ र पढाउँछौँ । भाषिक सिकाइमा पनि यी सिद्धान्त लागू हुन्छन् । पहिलो सिद्धान्तअनुसार केटाकेटीहरु अरुले बोलेको सुनेर उनीहरुकै नक्कल गरेर बोल्छन् । यदि उनीहरुले बोलेको ठीक छ भने अरुहरुले स्याबासी दिन्छन् र उनीहरुलाई त्यहि कुरा पटक पटक भन्न हौस्याउँछन् । यसरी केटाकेटीको भाषिक विकासमा वाह्य वातावरणको ठूलो हात हुन्छ । उनीहरुले अरुको सम्पर्कमा आएर जति जति नयाँ कुरा सिके, उति उति नै उनीहरुको भाषा विकसित हुँदै जाने हो । यसको विपरित दोस्रो सिद्धान्तअनुसार केटाकेटीको भाषिक विकास हुन वाह्य वातावरणले मात्र पुग्दैन ।

प्रख्यात भाषाविद् नोम चोम्स्कीका अनुसार सबै सामान्य व्यक्तिभित्र कुनै पनि भाषा सिक्न सक्ने सामर्थ्य हुन्छ । त्यसलाई उनले ‘ल्याड’ अर्थात् ‘ल्याङ्ग्वेज याक्युजिसन डिभाइस’ को संज्ञा दिएका छन् । जब साना केटाकेटीहरु भाषाको सम्पर्कमा आउँछन् उनीहरुको ल्याड सकृय हुन्छ र उनीहरु त्यो भाषा सिक्न सक्छन् । यसबाट के बुझिन्छ भने बिहेबियरिजम् र मेन्टलिजम्को अन्तरक्रियाबाट नै केटाकेटीको भाषिक विकास सम्भव छ । यहाँ एउटा मात्र सिद्धान्तले काम गर्दैन ।

यसैको परिणाम हो — भुनभुनेले चार वर्षको उमेरसम्म पनि केही बोल्न नसक्नु । ऊ भित्र भाषा सिक्न सक्ने क्षमता ‘ल्याड’ भएर पनि उसले मान्छेले बोलेका कुनै पनि शब्द सिक्नै पाएन । यसको बदलामा उसले बिरालाको क्रियाकलाप मात्र देख्यो र उनीहरुकै आवाज सुन्यो; त्यसैले त उसको व्यवहार र भाषा पनि बिरालाकै जस्तै भयो । यसको विपरित कैरवीले आफ्नो परिवारमा भएका विभिन्न सदस्यका कुरा सुन्न पाई र जे जे सुनी त्यो बोल्ने अभ्यास पनि गर्न थाली । यति मात्र नभई ऊ अरुले उसका पुस्तक पढिदिएको सुन्थी, खेलौनाका बारेमा बोलिएको सुन्थी र त्यस्तै नक्कल गर्न खोज्थी । यसको परिणामस्वरुप डेढ वर्षकै उमेरमा ऊ हामीले भनेका धेरैजसो कुरा बुझ्ने र प्रतिक्रिया दिन सक्ने पनि भैसकेकी थिईँ । यो उसको सिकाइको उर्वर समय थियो । उसले बुझे पनि नबुझे पनि घरका सबै सदस्य ऊसँग अनवरत रुपमा बोली नै रहन्थ्यौँ । ऊ पनि ध्यान दिएर सुन्थी र उसलाई मन लागेको बेलामा तिनै कुरा बोल्थी । भाषा सिकाइको सिद्धान्तअनुसार केटाकेटी पाँच वर्षको उमेरसम्ममा आफ्नो मातृभाषा बोल्न सक्षम हुन्छन् । तर उचित वातावरणको अभावमा भुनभुनेले चार वर्षको उमेरसम्म पनि एउटै शब्द सिक्न सकेको थिएन । छ न त ऊसँग उसकी आमा थिइन् । आमाछोरा कुरा गर्न सक्थे होला । तर दिनभरि जंगलमा काम गरेर थाकेर बेलुका घर आइपुगेकी आमाले के बोल्नु ? उनलाई त खालि यति ठूलो भइसक्ता पनि किन आफ्नो छोरो बोलेन भन्ने पीर मात्र थियो ।

डाक्टरले समस्याको पहिचान गरिसकेपछि कसरी अब ती आमाले बोल्न सिकाउन सक्थिन् भन्ने कुरा धैर्यपूर्वक बताए — “बच्चो र आफ्नो अनुहार एकै ठाउँमा पार्ने, बच्चोका आँखालाई आफ्नो ओठमा पार्ने, अनि एउटा अक्षर मात्र भन्ने, फेरिफेरि भन्ने, बच्चोले नभनेसम्म भन्ने, जस्तै ‘आ’, जस्तै ‘मा’, है त । ...बच्चोले एउटा अक्षर बोल्न जानेपछि ती एउटा एउटा अक्षर जोड्न सिकाउने अनि ती शब्द भन्न सिकाउने है । जस्तै दु+दु=दुदु, आ+मा=आमा, बुझ्नुभो नि ?”

नभन्दै अर्कोपल्ट ती आमा डाक्टर भेट्न आउँदा निकै उत्साही र खुशी देखिएकी थिइन् । उनले हँसिलो स्वरमा भनेकी थिइन्, “यो बोल्यो डाक्टर, यो बोल्यो । आमा भन्यो आमा । अब अरु पनि सिकाउँला यसैगरी ।” आमाले भुनभुनेको भाषिक सिकाइको साँचो त पत्ता लगाइन् । मेरो मन भने त्यो सानो भुनभुनेमै अल्झिएको छ । ऊ कत्तिको बोल्ने भयो होला ? उसले बिरालो प्रवृत्ति छोड्यो कि छोडेन होला ? ऊ बोल्ने भएर स्कूल जान पाउँछ कि पाउँदैन होला ? जंगलमा एक्लै बसेकी भुनभुनेकी आमाले कसरी उसको स्कूलको व्यवस्थापन गर्लिन् ? यता कैरवी अब त दुई वर्षकी भइसकी । ऊ फरर दोहोरो कुरा गर्न सक्छे । जब म कैरवीसँग भिडियो च्याट गर्छु, अनायास भुनभुने मेरो मनमा आएर थपक्क बस्छ । अनि म भगवान्सँग प्रार्थना गर्छु— “हे भगवान्, यो बालकले पनि बोल्न सिकोस् र आफ्ना मनका कुरा अरुसँग व्यक्त गर्न सकोस् ।”

कस्तो शक्तिशाली पात्रको कथा लेख्न सकेका होलान् डा. नवराज केसीले ?


(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  30 June 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



Friday 23 June 2023

अन्तिम भोज

 

अहिलेको जनचेतना स्तर र पुराना राजनीतिक दलहरुको कार्यशैली हेर्दा सत्तासिनहरुको अन्तिम भोज जस्तो लाग्छ । आलोपालो सत्ताभोगमा पल्किएका पुराना राजनीतिक दलहरुले आफूलाई निर्विकल्प जस्तो ठाने । कम्युनिष्टहरु त अझ सिद्धान्तच्यूत बने । यी बामपन्थ बिचलनका सैयौं उदाहरण तपाईँ हाम्रा आँखा अगाडि छर्लङ्ग छन् । देश त एक किसिमले माफिया राज जस्तो बनेको छ । बितन्डा समूहले भनेका कुरामा हो मा हो गरिएन भनेँ त्यसलाई एक्ल्याइन्छ र सफाया नै गरिन्छ । तर यसपालाको गएको चुनावले थोरै आशाका किरणहरु छरेको छ । केहि असल व्यक्तिका जनमूखी कामहरुले चाह्यो भनेँ कसरी परिणाममुखी काम गर्न सकिँदो रहेछ भन्ने उदाहरण पेश गरेको छ । मैले चर्चा गर्न खोजेका व्यक्तिहरु धराने मेयर हर्क साम्पाङ्ग र काठमाडौँका मेयर बालेन्द्र शाह हुन् ।


हिजो मात्र मेरो फेसबुक पेजमा एउटा ख्यालख्याल लाग्ने प्रश्न झुलुक्क आयो— "तपार्इंहरुका मेयरहरु के गर्दै हुनुहुन्छ ? नढाँटी लेख्नुहोस् त।" पक्कै पनि यो सार्वजनिक रुपमा प्रश्न राखेर मानिसहरुलाई बोल्न उक्साएको हुनुपर्छ । म आफैँले सोचेर हेरेँ— साँच्चै हाम्रा मेयरहरु के गरिरहेका छन् त ? उनीहरुले कहिलेकाहिँ अस्पताल बढारेको, कहिले तालिम उद्घाटन गरेको, कहिले सडक अनुगमन गरेको कर्मकाण्डी फोटोहरु मात्र मैले देखेकी रहेछु । उहाँहरु पक्कै व्यस्त भएर जनताकै काममा लाग्नुभएको होला । तर मलाई त आफ्ना घर अगाडि सडकका खाल्डा नपुरिएसम्म, भत्किएको कल्भर्ट नबनुन्जेलसम्म, अस्तव्यस्त अस्पतालमा सहज सेवा प्रवाह नहुन्जेलसम्म विकास र सुधार भएको छ भन्ने कुरामा विश्वास लाग्दैन । जन साधारणले पदासिन व्यक्तिहरुका व्यस्त दैनिकीको पर्वाह गर्दैनन् । जनताले हेर्ने भनेको परिणाम हो । अर्को चुनावमा घरदैलोमा आएर फेरि पनि हात जोड्ने नै हो भनेँ जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्न अब जरुरी छ ।

अझ अहिलेका राजनीतिक घटनाक्रमले त हामी जनता कति निरीह बनाइएका रहेछौँ भन्ने स्पष्ट हुन्छ । त्यहि भुटानी शरणार्थी काण्ड नै हेरौँ न । कत्रा कत्रा ओहदाका, राष्ट्रको द्वारपाल ठानिएका व्यक्तिहरु मानव बेचबिखन कार्यमा संलग्न रहेछन् । नागरिकलाई अनागरिक र अनागरिकलाई नागरिक बनाउन सक्ने गिरोहले पद र शक्तिको दुरुपयोग गरेर अझ कति अपराध गरे होलान् ? यो शरणार्थी काण्डले दलहरुको हैसियत उजागर गरिदिएको छ । यी काण्डहरुले गर्दा चुनाव जित्नु र सत्तासिन हुनु भनेको के हो भन्ने कुरा जनताहरुले राम्रोसँग बुझिसकेको छन् । यी दलीय राजनीतिका खेलाडीहरुको चरम लापरवाहिका कारणले उत्पन्न अवस्थामा मलम पट्टि गर्छौँ भन्दै नयाँ नयाँ दलहरु पनि अघि सरेका छन् । हुन त पुराना दलहरुले मनन गर्ने हो भने अहिलेको चुनावमा अस्तित्वमा आएका दलहरु पुरानाप्रतिको वितृष्णाकै परिणाम हुन् । पुराना दलहरु भ्रष्टाचारको दलदलमा नगाडिएका भए, जनमुखी भैदिएका भए मानिसहरुले विकल्प खोज्ने थिएनन् । नयाँ दल प्रतिनिधिहरु अहिलेसम्म उर्जाशील छन् तर उनीहरुलाई परख गर्न त बाँकी नै छ ।

माथि चर्चा गरिएका दलको छाप नलागेका दुई व्यक्तिहरु हर्क र बालेनले भनेँ एउटा सकारात्मक सन्देश फिँजाइरहेका छन् । उनीहरु अन्य क्षेत्रका जनप्रतिनिधिहरुलाई कर्मकाण्डी मात्र भएर पुग्दैन, परिणाममुखी हुनैपर्छ भनेर सन्देश दिइरहेका छन् । धराने खडेरीलाई मुद्दा बनाएर चुनाव जितेका हर्कले एक वर्षभित्रमै वर्षौदेखिको काकाकुल धरानलाई त्राण दिएका हुन् । अनेक बाधा, अड्चन र लफडाहरुलाई चिरेर उनले आफ्नो वाचा पूरा गरेका छन् । जनताकै भाकामा नाचेर उनले गरेको जनपरिचालन अत्यन्त सह्राहनीय र प्रशंसनीय कार्य हो ।


उतातिर राजधानीमा स्वतन्त्ररुपमा उदाएका बालेनले त अझ बेकम्मा राज्यसंयन्त्रमाथि नै धावा बोलिरहेका छन् । एउटा अध्ययनशील र पठीत व्यक्ति सत्तामा आइपुग्दा के हुँदोरहेछ भन्ने कुराको उदाहरण त गत हप्ताका बालेनका सचेतक सूचनाहरु मात्र हेर्दा पनि पुग्छ । तपार्इंले याद गर्नुभएको भए केहि दिन अघि मात्र विद्यालय कर्मचारीहरुले अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरे । त्यसमा साथ र समर्थन गर्न शिक्षक संगठनहरु पनि लागि परे । तर त्यसैबिचमा कानूनी प्रावधानमा टेक्दै कुनै पनि बहानामा विद्यालय बन्द गर्न नपाइने कुराको आधारमा काठमाडौँका विद्यालय बन्द गर्न नपाइने सूचना बालेनले सार्वजनिक गरे । यो कुरा त सम्बन्धित मन्त्रालयका अधिकारीहरुले गर्नुपर्ने थियो । स्थानीय शिक्षा अधिकारीहरुले गर्नुपर्ने थियो तर त्यसो भएन । त्यसैगरी, भर्खरै हिसानले तयारी गरेको शैक्षिक मेलालाई काठमाण्डौ महानगरपालिकाले रोकिदियो । एस्इइ परीक्षाफल अगाडि नै शुरु हुने कक्षा ११ को भर्ना प्रक्रिया बन्द गरायो । हुन त हिसानले सो कार्यक्रम गर्न नपाउँदा भएको क्षतिको विगो दावी गर्दै पन्ध्र करोड महानगरले तिर्नु पर्ने भनी मुद्धा दायर गरेको छ । तर बुझ्न पर्ने कुरा के भनेँ त्यो रकम त जनताबाटै असूल उपर गरिँदो रहेछ । तालुकवाला मन्त्रालय र त्यसका अधिकारीहरुले यस्ता व्यापारीक निर्णयमा आँखा चिम्लेरै लाहाछाप लगाउने रहेछन् ।

भर्खरै मात्र काठमाण्डौ महानगरका दवावमा संस्थागत विद्यालयहरुले दिनै पर्ने छात्रवृत्ति विवरण सार्वजनिक गर्न बाध्य भएका छन् । त्यसबाट १३,००० विद्यार्थी कुनै न कुनै प्रकारले लावान्वित भएका छन् । स्वास्थ्य सेवामा पनि महानगरले अस्पतालहरुलाई दश प्रतिशत निशुल्क वेड छुट्याउन दवाव दिएको छ । यी सबै कुराहरुको अर्थ के रहेछ भनेँ कानूनहरु कागजी खेस्रा मात्र रहेछन् । तिनलाई पढ्ने र प्रयोजनमा ल्याउने हिम्मत यसभन्दा अघिका कुनै पनि मेयरहरुमा रहेनछ । कानूनका नजरमा सबै बराबर भन्ने कुरा हिजो लागू भएको रहनेछ । सत्ता र शक्तिलाई सकारात्मक दिशातिर लगाउन सके मुलुकलाई काँचुली फेर्न कति पनि समय नलाग्ने रहेछ भन्ने उदाहरणका लागि धरान र काठमाडौँलाई मात्र हेरे पुग्छ ।


मुलुकमा लुटतन्त्रको जालो कसरी फैलिएको छ भनेर कसैले भन्नु पर्दैन । उजुरी गर्न सक्ने र वेथितिका विरुद्ध बोल्न सक्ने आँट कसैको पुग्दैन । भीडतन्त्रमा देश चलेको छ । तीस चालिस वर्षदेखि एकै वर्गले पालो फेरो सत्ताको बागडोर समाएको छ । देशमा भोलि नै कायापलट भैहाल्छ भनेजस्ता स्वादिला गफ थर्थराउँदा आवाजमा सुनिन्छन् तर चुनावदेखि चुनावसम्मको मात्र हाम्रो यात्रा छ ।

अहिले भर्खरै चारवटा साना दलहरुको मोर्चा गठन भएको छ । मोर्चाको उद्धेश्य महान् देखिन्छ तर पात्रहरु उनै पुराना छन् । नयाँ ढंगबाट, नयाँ शिराबाट भन्ने आलाप गाएको यिनीहरुले युग भइसक्यो तर फेरि नबिकिने डरले मोर्चाका नाममा उनीहरु नामेट हुनबाट जोगिने प्रयासमा छन् । बेथितिहरुका डंगुरमाथि उनीहरु अझ जोशिलो हुँदै जनता फकाउन खोजिरहेका छन् ।

चुनाव आउन अब टाढा छैन । २०८४को चुनावले केहि पुराना दल र ढाँट प्रवृत्तिका पात्रहरुलाई पक्कै भित्ता लगाउने र युवा, जुझारु र पढेलेखेका स्वच्छ छवि भएका मान्छे भएमात्र केहि गर्ने रहेछन् भन्ने कुरा प्रतिस्थापित गर्ने नै छ । यस अर्थमा सत्तासिनहरुले जे जस्ता दावी गरेपनि यो उनीहरुको अन्तिम भोज नै हुनेछ । आफैं विचार गरिहेर्नुहोस् त तपाईंका जनप्रतिनिधिहरुको कार्यशैली प्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न ?

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  23 June 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.] 



Friday 16 June 2023

कहिल्यै नवैलाउने फूल : छन्द कविता

 

 

करिब एक/डेढ महिनाअगाडि म एउटा पुस्तक विमोचनको कार्यक्रममा सहभागी भएकी थिएँ । यो पुस्तक विभिन्न छन्दमा लेखिएका कविताको संग्रह थियो । यो कविता संग्रहमा टिप्पणी गर्ने क्रममा एकजना महाशयले अहिलेको समयमा छन्दमा कविता लेखिनुहुँदैन भनेजस्तो मनसाय व्यक्त गरे । हामीले वर्तमान परिप्रेक्ष्यमा उत्तरआधुनिकताको डोरो पक्रिएर साहित्य सिर्जना गरेनौँ भने हामी विश्व साहित्यको मानचित्रबाट हराउँछौँ भन्ने कुरामा उनको जोड थियो । उनले भने अनुसार छन्दमा कविता लेख्नु भनेको पुरातनवादलाई पछ्याउनु हो जुन अहिले ‘आउट डेटेड’ भैसकेको छ । उनका यिनै अभिव्यक्तिबाट प्रेरित भएर म यो लेख लेख्दैछु । किन किन मेरो मन उनको भनाइसँग सहमत हुन मानेन ।


मानिसको कल्पनामा अथवा सिर्जनात्मकतामा यसरी लगाम लगाउन मिल्ला र ? नयाँ नयाँ सिद्धान्तको विकाससँगै पुराना सिद्धान्त नामेट भएर जाने हुन् र ? के साँच्चै छन्दलाई पछ्याउने मान्छेले अबको समयमा साहित्य सिर्जना गर्न सक्तैन र ? यस्तै यस्तै अनेक प्रश्न मेरो तुच्छ मस्तिष्कमा सलबलाएका थिए छन्दविरोधी महाशयका कुरा सुनेर । न म छन्दकी ज्ञाता हुँ, न त कविता विधा नै मेरो लेखन क्षेत्र हो । यो एउटा पाठकीय दृष्टिकोण मात्र हो ।

हो, कविता लेखनमा गद्य कविताको आगनसँगै नयाँ नयाँ शैली विकास भइरहेका छन् ,यो अत्याधुनिक युगमा । दुई/चार महिनाअगाडि एपी वान टेलिभिजनमा प्रस्तुत भएको ‘द पोएट आइडल’ भन्ने टेलिभिजन रियालिटी सोमा सहभागी प्रतिस्पर्धी नव कविहरुले आफूले लेखेका कविता संगीतको तालमा प्रस्तुत गरेका थिए । यसैगरि हिजोआजका चर्चित युवा कवि नवराज पराजुलीको कविता वाचन शैली पनि गज्जबको छ । उनी अभिनयका साथ कविता पाठ गर्छन् र उनका कविताले गहिरा गहिरा कथा भनिरहेका हुन्छन् । उनका पन्ध्र–बीस मिनेट लामा कविता सुन्न बस्ता पनि श्रोता बोर हुँदैनन् । अबको लाइनमा कविले के भन्ने हुन् भनेर उनीहरु अन्तिमसम्म उत्तिकै उत्सुक भएर सुनिरहेका हुन्छन् । पहिले पहिले लेखन र वाचनमा सीमित कविता अहिले आएर गीत संगीतजस्तै प्रस्तुतीमा पनि अगाडि बढेका छन् ।


गीत संगीतकै कुरा गर्दा पनि त यहाँ लोकगीत, आधुनिक गीत, पप गीत, रक गीत, र्‍याप गीत जस्ता अनेक किसिमका गीत गाइन्छन् । अनि के हामीले अहिलेको समयमा रक संगीत प्रचलित छ भनेर लोकगीतको अस्तित्व नै छैन भन्नू ? आज पनि हाम्रा कानलाई लोकगीत उति नै प्रिय छन्, जति पहिले हुने गर्थे । यसको मीठासले गर्दा नै त अहिले लोक दोहोरी पनि अरु किसिमका संगीतजस्तै चलेकै छ ।

नेपाली साहित्यमा नाम चलेका कृतिहरुको नाम लिँदा अझैसम्म पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘मुनामदन’ खण्डकाव्य अग्रपंक्तिमा आउँछ । यो खण्डकाव्य झ्याउरे छन्दमा लेखिएको छ । मुनामदनको कथा प्राय: सबै नेपालीको जीब्रोमा झुण्डिएकै छ । यसैगरि कवि शिरोमणि लेखनाथ पौड्यालका छन्दमा लेखिएका कविताहरु कति अर्थपूर्ण छन् ; अहिलेको समयमा पनि ती उत्तिकै सान्दर्भिक लाग्छन् । राष्ट्रकवि माधव घिमिरेले पनि छन्दमै कविता लेखेर यो उपाधि पाएका हुन् । फेरि हिजोआजका कविहरु छन्दमा कविता लेख्दै लेख्दैनन् भन्ने पनि त होइन नि ! उदाहरणका लागि हालसालै कवि रोहिणी रसिक छन्द कविता संग्रह ‘छन्द आराधना’ लिएर नेपाली साहित्यको आकाशमा उदाएका छन् । उनको यो कृति ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार–२०७९’ का लागि छानिएका पाँच उत्कृष्ट काव्यकृतिको छनोटमा पनि परेको छ । साहित्यपोस्ट अनलाइन साहित्यिक पत्रिकालाई दिएको एउटा अन्तर्वातामा कवि रसिक छन्दको महिमाबारे यसो भन्छन्, “साधकले नियमित साधना गर्दै जाने र साधनाबाट सिर्जित सिर्जना प्रशस्ति अभियान चलाउँदै जाने हो भने पद्य साहित्य हरेकको मनमा विराज गर्न सक्छ । जसरी रामायण, महाभारत, गुणरत्नमालाले सबैको जीब्रोमा स्थान जमाएको थियो त्यसैगरि छन्दको पुनरोदय हुन्छ र हुनु आवश्यक छ ।” हुन पनि हो, हाम्रा प्राचीन ग्रन्थहरु सबै छन्दोवद्ध नै छन्; तिनले आधुनिक समयमा आफ्नो लोकप्रियता गुमाएका छैनन् ।


छन्दमा कविता लेख्ने काम चानचुने होइन । हुन त कविता लेखन आफैमा पनि कठिन छ — थोरै शब्द प्रयोगबाट धेरै कुरा प्रभावकारी ढंगमा भन्नुपर्ने । त्यसमा पनि छन्द कविले त यी शब्दको प्रयोगमा बडो अनुशासित हुनुपर्छ । सानो एउटा मात्रा मात्र विराइयो भनें यसले छन्दको सुन्दरतालाई कुरुपतामा बदलिदिन्छ । त्रिभुवन विश्वविद्यालय, केन्द्रिय विभागमा नेपाली विषय प्राध्यापन गर्ने साहित्यकार रामप्रसाद ज्ञवाली पनि छन्दको क्लिष्टतालाई पुष्टि गर्छन् । उनले एउटा अन्तर्वातामा भनेका छन्, “लेखकको संख्या हेर्दा छन्दमा भन्दा गद्यमा लेख्नेको संख्या बढी छ । किनभने छन्दमा लेख्न शास्त्रमा लेख्नुपर्‍यो । गुण सिक्नुपर्‍यो । भाषा र छन्दका बीचमा ताल मिलाउन सक्नुपर्‍यो । धेरै साधना गरेपछि मात्र छन्दमा लेख्न सकिन्छ ।” उनका अनुसार छन्द कविताको युग पुनर्जागरण भएको छ ।

यी सबै तथ्यहरुले के देखाउँछन् भने अहिलेको उत्तरआधुनिक समाजमा ‘छन्दमा कविता लेखिनु हुँदैन’ भन्ने भनाइ आधारहीन छ । नेपाली कविताको विकास क्रममा छन्द कविताको आफ्नै स्थान छ । गद्य कविताले छन्द कवितालाई विस्थापित गर्न सक्दैन । योभन्दा पनि महत्वपूर्ण कुरा एउटा श्रष्टाको सिर्जनालाई पुष्पित, पल्लवीत हुनबाट कुनै पनि सिद्धान्तको सीमाले रोक्नुहुँदैन । संसार हेर्ने दृष्टि सबैको एउटै हुँदैन; फरक फरक धारणा, विचार र विश्वासले त संसार सुन्दर छ । फूलबारी पनि सुन्दर विभिन्न फूलहरुले गर्दा नै हुन्छ । यसै परिप्रेक्ष्यमा, जब नयाँ सूचना र प्रविधिको विकास भयो, अझ भनौँ मानिसको जीवनमा इन्टरनेटले प्रवेश गर्‍यो, हरेक किसिमका ज्ञान र सूचना उनीहरुको कम्प्यूटरमा नै उपलब्ध भयो । इन्टरनेटको अत्यधिक प्रयोगले अब संसारका पुस्तकालय नचलेर बन्द पो हुने हुन् कि भन्ने त्रास मानिसको मनमा थियो । तर त्यसो भएन । विभिन्न पुस्तकले भरिएका पुस्तकालयलाई नयाँ सूचना र प्रविधिले विस्थापन गर्न सकेन । इन्टरनेटमा उपलब्ध इ–बुकका तुलनामा भौतिक रुपमा उपलब्ध पुस्तकको महत्व रत्तिभर पनि कम भएको छैन ।  

यसैगरी, कविता लेखन क्रममा विभिन्न खाले नयाँ नयाँ शैलीको विकास भए पनि छन्दमा लेखिने कविताको महत्व कम हुने छैन । गद्य कविताले जे बोल्छ, त्यो पद्य कविताले पनि बोल्न सक्छ । अझ यसमा थप कुरा लय हुन्छ, गेयात्मकता हुन्छ । आफ्नो आफ्नो रुपमा यी दुवैखाले कविता सुन्दर छन् । साहित्यमा यिनले आफ्नो आफ्नो स्थान कायम गरेका छन् र साहित्यको अस्तित्व भएसम्म ती स्थान सुरक्षित भइ रहने छन् ।

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  16 June 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




Friday 9 June 2023

सानुको सिक्किमे शैली

 

सिक्किमका पद्मश्री सम्मानीत श्रष्टा सानु लामाले नेपाली साहित्यको भण्डारमा धेरै कृतिहरु थपेका छन् । ती कृतिमध्ये सूर्यको तेस्रो किरण कथा संग्रह पनि एक हो । यो शीर्षक नै अलि नौलो भएकोले यसले जो कोहि पाठकको ध्यान खिच्न सक्छ । त्यसैले म पनि शीर्षक देख्ने बित्तिकै यो पुस्तकप्रति आकर्षित भैहालें । विषय सूची हेर्दा यो कथा संग्रहमा जम्मा तेह्रवटा कथा देखिन्छन् । तिनमा अन्तिमचाहिँ “सिक्किममा नेपाली साहित्यको गतिविधि” लाई लेखकले निबन्ध संग्रह भनेका छन् । बाँकी रहेका बाह्र वटा कथामा पछिल्ला दुईवटा “छुँदै जाने सम्झनाहरु” र “केही आफ्नो केही अरुको” कथा कम र संस्मरणात्मक लेख बढी लाग्छन् ।


बाँकी रहेका दश वटा कथाले चाहिँ समाजमा विद्यमान् विविध पक्षमा बारेमा बोलेका छन् । यसरी विविध पक्षलाई समेटेर रोचक पारामा कथा बुन्न सक्ने लेखकको विशिष्ट शैली लोभलाग्दो लाग्छ मलाई ।

मान्छेलाई निर्वासित जीवन बाँच्न कति गाह्रो हुन्छ भन्ने कुरा लामाको “बिहान हुन नसकेको रात” पढ्दा छर्लङ्ग हुन्छ । यसैगरि मानिसका बाल्यकालीन संझनाहरुले जीवनपर्यन्त पछ्याइरहने कुरालाई पनि यो कथाले पुष्टि गर्दछ । उदाहरणका लागि,“ गाउँको सेरोफेरो घुमेको, बाहिर-भित्र गरेको, पुच्छर समातेर चौंरीलाई दगुराएको, दृष्यहरु झल्झली देख्थे तिनी । घरदेखि पूर्वपट्टि भएको किचू नदीको किनारमा बसेर सुनेको शान्तसित बग्दै गएको नीलो पानीको कल्कल् शब्द अहिले पनि सुन्थे, अनि त्यही मनमोहक कल्कल् शब्दसित मिसिएर आएको आमाको मिठो स्वर तिनको कानमा पर्थ्यो, (पृ. ४) ।” यो कथा पढ्दै जाँदा मलाई अष्ट्रेलियामा भेटिएकी एक मोरिससकी महिलाको संझना आयो । जसरी यो कथाको बाबु पात्र सिक्किममा बसेर आफ्नो देश तिब्बत संझन्छ, त्यसरी नै ती महिला अष्ट्रेलियामा बसेर मोरिसस संझने गर्थिन् । उनले एकचोटि भनेकी थिइन्, “जब यहाँ पानी पर्छ र जमीन भिज्छ म मोरिससकै माटोको सुगन्ध पाउँछु !” कति मर्मस्पर्शी छ यो कुरा । यस्ता कुरा आफ्नो देश छाडेर विदेशमा बस्नेलाई मात्र थाहा हुन्छ ।


 

कथाकार सानु लामामा भएको, परिवेशको होस् वा पात्रको, चित्र खिच्ने कला पनि विचित्रको लाग्यो मलाई । उनले सिक्किमका विभिन्न ठाउँको चर्चा यी कथामा गरेका छन् । ती ठाउँहरुमा पाठकलाई आफू नै पुगेको अनुभूति हुन्छ । त्यसैगरि उनले चित्रण गरेका पात्रको चित्र पनि सजीव बनेर पाठकको आँखामा आउँछ । “रेशी बगिरहेछ” भन्ने कथामा वर्णित ठाउँको निम्न अंशले यो  कुराको पुष्टि गर्छ । “उत्तर—पश्चिमबाट बगेर आएको रेशी खोला त्यहाँ फाँटिलो कुइनेटो घुमेर दक्षिण—पश्चिमतिर बिस्तारै बग्दै गएको थियो । खोलापारि सानो त्रिकोणी सुक्खाबारी र पुरानो ओतजस्तो कटेरोलाई काखमा राखेर पातलो जंगल उँभोतिर फैलिँदै गएको थियो,” (पृ. २१) ।   यसैगरि उनले “सात भाइकी चेली” कथामा उल्लेख गरेका पात्र “युवती गोरी औ सुन्दर थिई । दुवै गालामा लालिमा थियो । सुन्दर हातमा मसिना औंलाहरु । हाँस्ता दुवै गालामा खोपिल्टा परेर सुन्दर अनुहार अझ सुन्दर बन्थ्यो । .... चालक एक्लै — हल्का बदामी सुट लाएको पैंतीस—चालीस वर्ष उमेर पुगेको मान्छे थियो । लालवर्णको अनुहार, नाकको डाँडी छेउ—छेउसम्म आँखा आएकोले निधार लामो र चौडादार देखिन्थ्यो...” (पृ. ४७), जीवन्त लाग्छन् ।

मलाई मन परेको अर्को पक्ष भनेको यस संग्रहका कथामा प्रयोग भएका स्थानीय लवज हुन् । उदाहरणका लागि, मरौ परेको घर (मरिमराउ), जानी नै ? (सन्चै?), निको छ (राम्रो छ), ...हिमाल चढ्न जाँदा उतारेका फोटोहरु...(हामी फोटो खिच्नु भन्छौं तर सिक्किममा फोटो उतार्नु भनिँदो रहेछ; फेरि यसैलाई असममा फोटो उठाउनु भनेको सुनियो), हिज आइपुग्यो (हिजो आइपुग्यो) आदि । यस्ता उदाहरण यो कथा संग्रहमा धेरै भेटिन्छन् । यस्ता खालका स्थानीय लवजले कथालाई अझ बढि रोचक बनाएका छन् ।

साइनो” कथा पढ्दा मलाई साइनोको मर्मले मानिस बेलाबेला कसरी अप्ठ्यारोमा पर्छन् भन्ने कुराको संझना आइरहेको थियो । जसरी यो कथामा उमेर बढी भएको मानिस भानिज र कम भएको मानिस मामा हुँदा मामालाई असजिलो भएको छ, त्यसरी नै असजिलो मान्ने धेरै पात्रहरु मैले देखेकी छु । आफ्नो छोरासमानका अथवा ऊ भन्दा पनि जेठा व्यक्तिहरुलाई नाती भन्नुपर्दा मलाई नै अप्ठ्यारो लाग्छ । तर जे भए पनि यस्ता साइनो त हामीले निभाउनु नै पर्छ ।

हाम्रो समाजमा विद्यमान् “बडी इमेज” को धारणालाई “टी शर्ट” भन्ने कथामा राम्ररी केलाइएको छ । शारीरिक रुपमा राम्रो नै हुनुपर्ने समाजले प्रस्तुत गरेको सुन्दरताको परिभाषामा आफू फिट नहुँदा त्यसले लज्जाबोध हुने, अनि त्यसलाई छोप्न अनेक कल्पनाको सहारा लिनुपर्ने मनोवैज्ञानिक तथ्यलाई यहाँ उजागर गरिएको छ । “रेशी बगिरहेछ” भन्ने कथामा सांसारिकता र आध्यात्मिकता बीचको लडाई देखाइएको छ । आत्माको अमरत्वको कुरा पनि यहाँ भेटिन्छ । रेशी खोलालाई यो कथामा जीवनको निरन्तरतासँग तुलना गरिएको छ । अन्तरजातीय विवाहले परिवारमा आउने विचलन र बिस्तारै, विशेषत: सन्तान जन्मिएपछि, माइती र चेलीबीचको सम्बन्धमा आउने सुधार “सात भाइकी चेली” कथामा भेट्न सकिन्छ । “म भगवान् भएँ” कथामा गरीबी र अभावग्रस्त जीवनले निम्त्याएको नीरिहतालाई उजागर गरिएको छ ।

पुस्तकको शीर्षककै कथा “सूर्यको तेस्रो किरण” कथामा पुग्दा के रहेछ त यस्तो किरण भन्ने पाठकको खुल्दुलीको अन्त्य हुन्छ । वास्तवमा सूर्यको पहिलो किरणले जीवनको शुरुवातलाई दर्शाउँछ, दोस्रो किरणले यसको निरन्तरतालाई दर्शाउँछ भने तेस्रो किरणले व्यक्तिको अन्तरमा रहेको उज्यालोलाई दर्शाउँछ भन्ने कुरा यो कथा पढिसक्दा थाहा हुन्छ । त्यसैगरी “पेन्सन, तक्मा र गाडी” कथामा एकातिर सैनिकका परिवारले भोग्ने नियती देखाइएको छ भने अर्कोतिर कुनै पनि व्यक्तिको मृत्युपछि बाँचेका आफन्तीले कसरी निर्जीव वस्तुमा त्यो मृत व्यक्तिका स्मृतिहरु संगालेर राख्न सक्छ भन्ने कुरा देखाइएको छ । “सन्तान सुख” मा सन्तान आमाबाबुको खुशीका र बाँच्ने आधार हुन् भन्ने तथ्य भेट्न सकिन्छ । यसरी, यो कथा संग्रहमा कथाकार लामाले समाजमा विद्यमान् विविध पाटाहरुलाई सूक्ष्म रुपमा केलाएका छन् ।


यी कथा पढ्दै जाँदा मैले अनुभूति गरेको अर्को पक्ष भनेको यहाँ भएका नारी पात्रको उपस्थिति हो । कुनै पनि नारी पात्रलाई कथाकारले कमजोर रुपमा प्रस्तुत् गरेका छैनन् । यहाँ वर्णित सबै नारी सशक्त हुन् । यसको चरम उदाहरण भनेको "सूर्यको तेस्रो किरण" कथाकी  पात्र सावित्री हो ।  सावित्रीले मलाई हर्मन हेस्को प्रसिद्ध पुस्तक सिद्धार्थ की कमला भन्ने पात्रको स्मरण गराउँछे । सावित्री देह व्यापारको पेशा गर्छे । तर त्यो उसका लागि सिर्फ पेशा मात्र हो, बाहिरी रुपमा । उसको अन्तर उज्यालो छ, बेदाग छ । ऊ एउटी स्वतन्त्र नारी हो । समाजका पुरुष पात्रले उसको पेशालाई औँल्याउँदै जब ऊसँग दुर्ब्यवहार गर्न खोज्छन्, यो कुरा उसलाई पटक्क सह्य हुँदैन । यस्तै तुच्छ सोच राखेर आफूलाई आक्रमण गर्ने मोटेलाई उसले मारिदिन्छे र दृढ स्वरमा भन्छे, “मैले मोटेलाई मारिन । मैले त दुष्ट्यार्ईं , व्यभिचार, अत्याचार आदिलाई नष्ट पारेकी हूँ । समाजको कलङ्कलाई मेटाएकी हूँ...यसलाई हत्या हो भन्ने कोही छ भने उसले रावणवध, हिरण्यकशिपु वध, कंस वध, महिषासुर वध आदि वधहरुलाई पनि हत्या भन्नुपर्छ, हिंसामा गन्ती गर्नुपर्छ अनि दुर्गा, काली, राम, कृष्ण, विष्णु सबैलाई अपराधीको वर्गमा राख्नुपर्छ,” (पृ. ७०) ।

अन्तमा, सूर्यको तेस्रो किरण कथा संग्रहमा समेटिएका सबै कथा नौला र पठनीय छन् । 

(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on  9 June 2023)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]