Saturday 4 June 2022

अब कहिल्यै सान्दिदीको फोन आउँदैन

 

          हेलो !”

          “को ? बेनू बोलेकी ?”

          “हजुर । के छ हालखबर ?”

          “यता सबै राम्रो छ । त्यता कस्तो छ नि ?”

          “यहाँ पनि सब ठिक छ ।”          

        


    मेरी माहिली दिदी अर्थात् सान्दिदीले फोन गरेपछिको वार्तालापको शुरुको अंश सधैँ यस्तै हुने गर्थ्यो । धेरै कुरा पनि केहि नहुने, फोन पनि गरिरहनुपर्ने सान्दिदीको बानी थियो । कति पटक त मैँले कुरा केहि त हुँदैन भनेर फोन नउठाउने पनि गरेकी थिएँ ।

          तर अहिले ? म सान्दिदीकै फोनको प्रतिक्षामा हुन्छु । फोनको घण्टी बज्ने बित्तिकै सान्दिदीकै फोन आयो भनेर झस्किन्छु । हजुर किन यति चाँडै हामीलाई छोडेर जानुभएको सान्दिदी ? काठमाडौं बस्ने ठूल्दिदीले गएको जेठ तीन गते म्यासेज पठाउनुभएको थियो, “तैँले थाहा पाइस् ? रञ्जना त बिरामी भएर अस्पताल लगेको छ अरे ।” यसले मलाई अलि झस्कायो । वैशाख ३० गते त हो, म सान्दिदीसँग बोलेकी । त्यो दिन उहाँको विवाहोत्सव परेको हुँदा म र मेरा श्रीमान् दुवैले उहाँलाई शुभकामना दिएका थियौँ । हाँसी हाँसी कुरा गर्नुभएको थियो । अचानक के भयो ? मैँले तुरुन्त माहिला भिनाजुलाई फोन गरेँ । उहाँले अघिल्लै दिन बेलुका सान्दिदीलाई धरान घोपा अस्पताल पुर्याएको र अझै होस् नखुलेको कुरा गर्नुभयो । मेरो मनमा अनेक शंका मडारिन थाले । त्यसको एकछिनपछि सान्दिदीकी देउरानी निरु बैनीले फोन गरिन् र फेरि उही कुरा दोहोर्याइन् ।

          यस्तो सुनेपछि हामी तुरुन्त जंग भाइको गाडी मगाएर धरान गयौँ । अस्पतालको इमर्जेन्सी वार्डमा सान्दिदीलाई राखेको जानकारी प्राप्त भएको थियो । धरानमा आइसियू उपलब्ध नभएकोले विराटनगर लैजानुपर्ने कुरा पनि चलिरहेको रहेछ । धरानमा नभेटिए विराटनगर नै पुग्ने सल्लाहले हामी हिँडेका थियौँ ।

          गाडीबाट उत्रिएर हतार हतार हामी इमरजेन्सी वार्डतिर छिर्यौँ । आफ्नो बिरामी नियाल्ने क्रममा हामीलाई सान्दिदीको बेड भेट्न केहिबेर लाग्यो । अचेत अवस्थामा सुताइएकी सान्दिदीलाई मैँले नियालेर हेरेँ । बेडमा के के तानातिर्कुटा झुण्ड्याइएका थिए । अनुहारमा अक्सिजन मास्क थियो । उहाँलाई सास फेर्न गाह्रो भएजसरी शरीर जुरुक जुरुक हल्लिरहेको थियो । हजुरलाई के भयो भनेर मैँले सोध्न पाइँन । जति मान्छे उति नै कुरा गर्थे । मलाई कसैको कुरा पत्याउन मन लागेन । एकछिनपछि डक्टर आएर मुख्य समस्या भनेको दिमागमा तीन ठाउँमा रगत जमेको छ, त्यसको उपचार आइसियूमा राखेर मात्र गर्न सकिन्छ भने । यसको मतलव सान्दिदीलाई विराटनगर नै लानुपर्ने थियो । त्यहाँबाट छिटो लगिदिए हुन्थ्यो भन्ने सोचेर म “खै त कतिबेला लाने ?” भनेर त्यहाँ उपस्थितहरुलाई सोध्थेँ । कोही पेपर बन्दैछ भन्थे, कोही एम्बुलेन्स खोज्दै गरेको भन्थे । मेरो मनको हतारले मात्र के हुन्थ्यो र ! सबैथोक प्रकृयामा चल्नुपर्ने होला !

          बल्ल बल्ल चार बजेतिर सान्दिदीलाई एम्बुलेन्समा हालेर विराटनगर लगे । हामी जंग भाइसँग दमकतिर लाग्यौँ । जंग भाइका एकजना आफन्त पनि त्यस्तै बिरामी भएको तर औषधिले ठीक भएको कुरा उनी सुनाउँदै थिए । उनका कुराले केही आश्वस्त भए पनि म सान्दिदीको अवस्था देखेर ढुक्क हुन सकिरहेकी थिइन । अब के होला; कसो होला भनेर मन आन्दोलित भइरहेको थियो ।

          भोलिपल्ट दिउँसो करीब एक बजेतिर सान्दिदीको छोरो ऋषभले फोन गरेर “आमा इज् नो मोर्,” भन्यो । मेरो शंका वास्तविकतामा बदलियो । दुई तीन दिनको बीचमा सान्दिदी हामीलाई छोडेर अनन्तमा बिलाउनुभयो ।

         


सान्दिदी र मेरो बीचमा दुई वर्षको मात्र फरक थियो । धनकुटामा हाम्रो बाल्यकाल दिदी बहिनीको जस्तो कम र साथी साथीको जस्तो भएर ज्यादा बितेको थियो । हामी सँगै स्कूल जान्थ्यौँ, सँगै खेल्थ्यौँ, सँगै गाउँथ्यौँ, सँगै नाच्थ्यौँ । हामी जति मिल्थ्यौँ, झगडा पनि उति नै गर्थ्यौ । हाम्रो सम्बन्ध पछिसम्म पनि यस्तै यस्तै नै थियो । भेट भएका बेला हामी रातीसम्म गफ गर्ने र हाँस्ने गर्थ्यौं । यस्तो बेलामा मुवाँले हामीलाई धेरैपल्ट गाली पनि गर्ने गर्नुभएको थियो । गाली खाएर एकछिन चूप लाग्थ्यौँ, फेरि गफ गर्न थालिहाल्थ्यौँ ।

          सान्दिदीको विवाह धरान घरबाट भएको थियो । उहाँको कर्मघर पनि धरान नै परेको थियो । यो ठाउँ उहाँलाई असाध्य मन पर्थ्यो। “जहाँ गए पनि मलाई त धरान नै मन पर्छ,” उहाँ भन्ने गर्नुहुन्थ्यो । सान्दिदीलाई कुनै किसिमको गम्भीर शारीरिक रोग लागेको हामीलाई थाहा थिएन । उहाँलाई स्किजोफ्रेनिया भएको रहेछ । त्यो पनि शुरु शुरुमा थाहा हुन सकेन । रोग निकै छिप्पिएपछि मात्र हामीले पत्तो पाएको हुनाले उहाँलाई सुधार केन्द्रमै राखेर उपचार गर्नुपरेको थियो । करीब एक, डेढ वर्ष उहाँले त्यहाँ बिताउनुपरेको थियो । उहाँले दैनिक औषधि त खानु पर्थ्यो  तर उहाँ आफ्नो सामान्य जीवनमा फर्किसक्नु भएको थियो । खानकी शौकिन सान्दिदीलाई गेडागुडीको तरकारी, दही र कफि असाध्य मन पर्थ्यो । धरान जाने बेलामा मैंले, “सान्दिदी, हजुरलाई के ल्याइदिऊँ ?” भनेर सोद्धा सधैँ “कफि ले न,” भन्नुहुन्थ्यो ।

          सान्दिदीका धेरै ठूला सपना थिएनन् — राम्रो लाउनु, मीठो खानु, गफ गर्नु, हाँस्नु, आफन्तहरुकहाँ भेट गर्न जानु र आफूसँग भएको पैसा खर्च गरिहाल्नु उहाँका दिनचर्यामा पर्थे । “सान्दिदी, म बैंकमा खाता खोल्दिन्छु । भएको पैसा त्यहाँ जम्मा गर्नू र चाहिएको बेला अलि अलि झिक्नू नि,” म बेला बेला भन्ने गर्थे । उहाँ हाँस्तै, “आ...के बैंकमा राख्नु पैसा,” भन्दै टारिदिनुहुन्थ्यो ।

          सान्दिदी बितेको करिब दुई हप्ता भैसक्यो । यो समयमा हरेक क्षण उहाँ मेरो मनमस्तिष्कमा छाइरहनुभएको छ । उहाँ दमकमा त बस्नुहुन्न थियो । तर किन मलाई यहाँको आफ्नो घर सुन्ने लाग्छ ? म जता जान्छु, सान्दिदी मलाई पछ्याइरहनु हुन्छ । मेरो मनको शून्यता शायद घरको शून्यतामा प्रतिबिम्बित भएको होला । सान्दिदीको फोन आए पनि हुन्थ्यो नि, म कल्पना गर्छु । फेरि आफैंलाई सम्झाउँछु — अब सान्दिदीले कहिले पनि फोन गर्नु हुने छैन ।

          जुनसुकै उमेरमा आफ्ना प्रियजनको मृत्यु भए पनि त्यो असामयिक नै लाग्छ । तर सान्दिदीको मृत्यु साँच्चै नै असामयिक भयो । यसरी हठात् उहाँ हामीलाई छोडेर जानुहोला भन्ने कल्पनासम्म थिएन । उहाँले आफ्नी छोरी दुलही भएको हेर्नु थियो । घरमा बुहारी भित्र्याउनु थियो । केहि त गर्न भ्याउनुभएन ! आफ्नो नयाँ घर सान्दिदीलाई देखाउने मेरो पनि त धोको थियो । अलि लामो छुट्टी होस्, आफूलाई फूर्सद होस् अनि २/४ दिन सँगै बस्नेगरि बोलाउँछु भन्दै म मनमनै योजना बनाउँदै थिएँ, सब भताभुङ्ग भयो । एकचोटि पाँचैजना दाजुभाइ र दिदी बहिनी भएर तिहारको टिका लगाउने मेरो इच्छा पनि अपूरै भयो । हाम्रो ठूलो परिवार — २/३ वर्षदेखि कहिले को, कहिले को बित्ने भएर दशैँ, तिहार मनाउन पाइएको थिएन । यो वर्ष पनि हाम्रो दशैँ, तिहार थिएन । अर्को वर्षका लागि त सान्दिदी नै रहनुभएन ।


          सान्दिदीका शौख भनेका सिनेमा हेर्नु र गीत सुन्नु थिए । उहाँको स्वर राम्रो थियो । विशेषगरि नेपाली आधुनिक गीत र पुराना हिन्दी गीत उहाँ कण्ठस्थ गाउनुहुन्थ्यो । सबभन्दा पहिले क्यासेट प्लेयरमा मलाई पुराना हिन्दी गीत सान्दिदीले नै सुनाउनुभएको थियो । अहिले पनि जब म यस्ता गीत सुन्छु, उहाँलाई नै सम्झिन्छु । दीपक खरेलको “तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा...” उहाँलाई सबभन्दा मन पर्ने गीत थियो ।

    उहाँ भौतिक रुपमा नभएर के भो त ! मभित्र उहाँ सधैँ बसिरहनुहुन्छ, गफ गरिरहनुहुन्छ, हाँसिरहनुहुन्छ । सान्दिदी, हजुरको मुवाँ, बुवासँग भेट भइसक्यो होला, होइन ? छोराछोरीमध्ये सबभन्दा पहिले त हजुरले नै उहाँहरुलाई भेट्नुभयो ! यो संसार यस्तै हो, बाँचुन्जेल अनेक किसिमका चुनौतिको सामना गरिरहनुपर्छ । अलि छिट्टै मृत्युवरण गरे पनि यस्तो मृत्यु भाग्यमानीले मात्र पाउने गर्छन् । बुवा, मुवाँजस्तै अन्तिम दिनसम्म हजुर पनि सकृय नै रहनुभयो । हजुरले रोगले थलिएर ओछ्यान पर्नु परेन, कसैले हजुरको सेवा चाकर गर्नुपरेन । सबै आफन्त भेला भएर हजुरको अन्तिम बिदाइ गरे । केही समयको अघिपछि हो, हामी सबैको गन्तव्य त आखिर एउटै हो । हजुर मलाई उतै पर्खिरहनू है । म यहाँ हजुरको फोनको आश नगर्ने निरन्तर कोशीश गर्दैछु... । सान्दिदीका नाममा भारतीय कवी केशव प्रसाद मौर्यको एक टुक्रा कविताः

मृत्यु अटल है जाना होगा ।

यह भी तुमने हमें सिखाया ।।

 

अंगारो पर चलकर तुमने ।

शांतिपाठ भी खूब सुनाया ।।

 

कविता की तो बातें छोडो ।

शब्द शब्द पर खूब हँसाया ।।

 

वंदन तुम्हैं नमन तुमको है ।

जाते जाते खूब रुलाया ।।

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 3 June 2022)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]  




3 comments:

  1. This is so saddening Didi! I really hope that people meet the other deceased after they die. I hope she meets hajurbuwa and hajuraama. Faith also gives me hope that our baba has a company right now and he knows that we loved him.

    ReplyDelete
    Replies
    1. -Pramita

      Delete
    2. Faith is the only thing that we can stick to in such a situation, nani.

      Delete

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).