Monday 6 April 2020

सपनाका कुरा


सपना थरीथरीका हुन्छन्। एक, निदाएपछि देखिने सपना, अर्को ननिदाईकनै मनमनै खयाली पुलाउ पकाउदै देखिने सपना जसलाई अंग्रेजीमा डे ड्रिमिङ्ग भनिन्छ तेस्रो किसिमको सपना आफुलाई जीवनमा के गर्न मन लागेको भन्ने कुराको सपना। यो लेखमा चर्चा गर्न खोजिएको सपना चाहिं तेस्रो किसिमको हो। 
  
यस्ता सपना देख्नलाई कसैले छेक्न सक्दैन। त्यसैले हजारौं मानिसका सपना पनि हजारौं नै हुन्छन्। कसैको सपना विदेश गएर पैसा कमाउने हुन सक्ला, कसैको नेपाल सुन्दरी भएर आफ्नो देशलाई अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने हुन सक्ला, अनि कसैको भने सरकारी जागिरमा पस्ने। सबै मानिसका सपना किन समान हुँदैनन् ? यो पनि एउटा मन्थन गर्न सकिने विषय बन्न सक्छ।   

सम्भवत मानिसलाई कुनै सपना पाल्न धेरै कुराले प्रभाव पारिरहेको हुन्छ। जस्तै, आफ्नो पारिवारिक वातावरण, व्यक्तिगत चाहना, शैक्षिक वातावरण या भनौ आफ्नो समाजको बनावट। यस्तै कुराहरुको पुष्टि पत्रकार लेखक अश्विनी कोइरालाको 'उनी'  पुस्तकमा वर्णित लक्ष्मी राई सिर्जना जोशीका सपनाले गरेका छन्। हुन यो पुस्तकमा कोइरालाले हाम्रो समाजका ३६ प्रतिनिधि महिला पात्रहरुको कथा अन्तर्वार्ताका रुपमा सँगालेका छन्। अनि ती महिलालाई उनीहरुले भनेका कथाका आधारमा  "वर्ग", "सशस्त्र द्वन्द्व", "स्वतन्त्रता"," प्रेम", "प्राप्ति", "सफलता","अगुवा", "प्रतिभा" "संघर्ष" "अल्पसंख्यक", "अनुसन्धान", "कला", "श्रीमान्"," गृहिणी", "मृत्युअघि" " अन्त्यमा" गरि १६ भागमा विभाजित गरिएको छ। यी ३६ जना महिलामध्ये वर्ग समूहभित्र परेका लक्ष्मी राई सिर्जना जोशीका सपना दुई विपरित बिन्दुबाट उब्जिएका भएर बढी रोमान्चक छन्।     


लक्ष्मी राई विपन्न परिवारकी महिला पात्र हुन्। उनको जीवनको सार भनेको धादिङ्गको नागढुंगामा बसेर गिट्टी कुट्नु घरखर्च जुटाउनु हो। त्यसैले उनको सपना पनि आफ्नै जीवनको पृष्ठभूमिसँग मिल्दोजुल्दो छ। लक्ष्मी, जसलाई, "श्रीमान् ले रक्सी नखाएको दिन मालिकले ढुंगा कुटेको पैसा दिएको दिन खुशी लाग्छ," कस्तो सपना देख्तिहुन्? उनको सपना उनीजस्तै साधारण छ। उनी भन्छिन्, उनको आफ्नै एउटा रेडियो होस् उनी त्यहि रेडियो सुन्दै सुन्दै गिट्टी कुट्न पाउन्। आजको यो उच्च प्रविधिको युगमा पनि लक्ष्मीको सपना एउटा सानु रेडियोमा अल्झेको छ। उनलाई टेलिभिजन, इन्टरनेट अथवा मोबाइल फोनको व्यापकताको कुनै अत्तो पत्तो नै छैन। त्यसैले उनका सपनाले यस्ता चिजबीज छुनै सक्तैनन्।   


यसै पुस्तकमा वर्णित अर्की पात्र हुन् - सिर्जना जोशी। जोशी एक मिडियाकर्मी हुन्। उनले आफ्नो जीवनमा सम्पन्नता राम्रैसँग चाखेकी छन्। उनी आफ्नो खुट्टामा आफैं उभिएकी सफल महिला हुन्। उनी लेटेस्ट भर्सन् को आइफ़ोन बोक्न, म्याक एअर बुक ल्यापटप चलाउन, हरेक वर्ष विदेश भ्रमण गर्न विदेशमै आफुलाई मन लागेका कुराको किनमेल गर्न सक्षम छिन्। उनकै अनुसार विदेशको एक साधारण घुमघाममा करिब पाँच लाख नेपाली रुपैयाँ खर्च हुने गर्छ। यस्ती महिलाको सपना चाहिं कस्तो होला ? लक्ष्मीको जस्तो चानचुने पक्कै नहोला ! सिर्जनाको सपना भनेको मर्सिडिज बेन्च कार चढ्नु हो। उनी सधैंभरि आफुले चाहेको सामान पैसाले किन्न नसकिने कुरामा सहमत छन्। सिर्जना भन्छिन् , "मलाई मर्सिडिज बेन्चको सिएलएस ५०० नामको गाडी चढ्न मन लागेको छ। यो मेरो ड्रिम कार हो। नेपालमा आइपुग्दा यसको मूल्य दुई करोड दश लाख जति पर्छ। तर यो गाडी हाँक्न नेपालमा भनेजस्तो सडक नै छैन। एउटी महिलाले यो गाडी चढने सपना देख्नु आर्थिक कारणले पनि ठूलै कुरा हो। " यसरी पैसाको नभएर बाटोको समस्या भएकाले सिर्जनाको सपनाले पखेटा लाउन सकेको छैन। 
       
लक्ष्मी सिर्जना पारिवारीक, आर्थिक,शैक्षिक, सामाजिक हिसाबले दुई विपरित पृष्ठभूमिका पात्र भए पनि उनीहरुलाई आफ्ना सपना उत्तिकै महत्वपूर्ण प्रिय लाग्न सक्छन्। कारको जस्तै रेडियोको पनि ब्राण्ड हुन्छ भन्ने कुरासँग बेखर लक्ष्मीलाई एउटा "आफ्नो" रेडियो मात्र भए पुग्छ, जुनसुकै ब्राण्डको होस्। यसको विपरित सिर्जनाजस्ती सचेत महिलालाई ब्रान्डको महत्व कत्तिको हुन्छ राम्ररी थाह छ। त्यसैले उनी उच्च ब्रान्डको मर्सिडिज बेन्च कारमा चढ्ने सपना देख्न हिचकिचाउँदिनन्। यस्तो कार किन्ने क्षमता उनीसँग हुँदाहुँदै हिचकिचाउनु पनि किन ?


जे होस्, मान्छेलाई सपना देख्ने जति स्वतन्त्रता भए पनि पूर्ण रुपले स्वतन्त्र भएर सपना देख्न सक्तैन भन्ने कुराको उदाहरण हुन् - लक्ष्मी राई सिर्जना जोशीका सपना। लक्ष्मीको परिधिले उनलाई रेडियोभन्दा माथि गएर सपना देख्ने साहस दिएन भने सिर्जनाको परिधिले चाहिं एउटा उच्च कोटीको कार। सपनै हो भनेर उनीजस्ती सम्पन्न महिलाले एउटा प्राइभेट जेट किन्ने सपना पनि देख्न सक्थिन् तर उनले आफ्नु गच्छेभन्दा माथि गएर त्यसो गरिनन्। यति हुँदाहुँदै पनि सबैलाई आफ्ना साना ठूला सबै सपना प्यारा लाग्छन्।  त्यसैले ईश्वर वल्लभ आफ्नु गीतमा  भन्छन्, "हजार सपनाहरुको माया लागेर आउँछ        
 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa)       




No comments:

Post a Comment

I would appreciate any and all suggestions on making improvements (as long as they are viable).