हाम्रा ससुरा बुवा छोराहरुलाई अर्ती दिँदा भन्ने गर्नुहुन्थ्यो रे– हेर फलानाको छोरा घर छोडेर परदेश लाग्यो । तिमीहरु चाहिँ घरमै बसिरहन्छौ ? घर छोड्न नसक्ने तिमीहरु नामर्द रहेछौ । उहाँको विचारमा मानिसले उन्नती प्रगति गर्ने हो भने घरमा बसेर हुँदैन, घर छोड्नुपर्छ भन्ने थियो रे !
हुन पनि हो, हामी जीवनका अनेक पाठ बाहिरी संसारमा पसेपछि
मात्र सिक्न सक्छौँ । हालसालै हाम्रो छोरो करिब साढे तीन वर्ष अमेरीकामा बसेर एक
महिनाको छुट्टी मनाउन घर आएको थियो । परदेशिएको छोरामा आएको परिवर्तन देखेर म
प्रभावित नभइ रहन सकिन । ऊ नेपालमा हुँदा घरको काममा चासो राख्दैनथ्यो । बिहान
कलेज जानलाई सधैँ मैले नै उठाइदिनुपर्थ्यो । समग्रमा ऊ आफ्नो पढाइ, आफ्ना साथीभाइ र डिजीटल गेममै व्यस्त थियो । ए
लेभलको पढाइ सकेर उच्चशिक्षाका लागि उसले घर होइन, देश नै छोडेको थियो । केही वर्षपछि घर फर्कदा उसको स्वभाव अलि अर्कै
भएको रहेछ । ऊ हरेक दिन हामीलाई काम सघाउन तत्पर देखियो । उमेरसँगै उसमा परिपक्वता
त आयो नै तर ऊ धेरै नै उत्तरदायी, आत्मनिर्भर, आत्मअनुशासित, आत्मनिर्णय लिन सक्ने र संकट व्यवस्थापन गर्न सक्ने भएछ ।
यसले के देखाउँछ भने हामीले
केटाकेटीलाई उनीहरुको उमेर बढेसँगै अलिअलि बाहिरी संसार पत्ता लगाउने उत्तरदायित्व
दिँदै गयौं भने उनीहरु होशियार बन्दै जाने रहेछन् । हामी अष्ट्रेलियामा हुँदा मैले
विद्यावारिधिको अनुसन्धान गरेको विद्यालयमा कक्षा पाँचका विद्यार्थीलाई नै
क्याम्पिङ् गर्ने भन्दै विद्यालयले हरेक वर्ष एक हप्ताको लागि बाहिर कतै लैजाने गर्थ्यो । कतिपय एशियन आमाबाबुले आफ्ना छोराछोरीलाई एक्लै त्यसरी
पठाउन मानेनन् । मैले स्कूलकी प्रिन्सिपललाई सानै उमेरमा केटाकेटीलाई यतिका दिन
घरबाट टाढा लैजाँदा समस्या हुँदैन भनेर सोधेकी थिएँ । उनको उत्तर पनि चाखलाग्दो नै
थियो । उनले भनेकी थिइन् – हामी सधैँ यी नानीहरुलाई “कम्फोर्ट जोन” बाट निस्किएर बाहिर जान
प्रोत्साहित गर्छौं । सधैंभरि आमाबाबुले
सुरक्षा प्रदान गरिरहने हो भनें उनीहरुले आफ्नो जीवनमा आइपरेका समस्या समाधान गर्न
सक्तैनन् । सामाजिक सीप सिक्न सक्तैनन् । यो क्याम्पिङ् केटाकेटीका लागि जीवनोपयोगी सीपहरु सिक्ने
राम्रो अवसर पनि हो ।
चरा उडेकै राम्रो
समयको कुनै न कुनै कालखण्डमा गएर त
हामी सबैले आ–आफ्नो जीवनको जिम्मा आफैं लिनुपर्छ । केटाकेटी ठूला हुन्जेलसम्म
पनि आमाबाबुले च्यापिरहने गर्नाले उनीहरु सानो सानो कुरामा पनि आफ्नो निर्णय लिन
सक्तैनन् । शायद यस्तै कुरालाई मध्यनजर गरेर होला पश्चिमा मुलुकमा छोराछोरी १८
वर्ष भएपछि घर छोडेर हिंड्ने चलन भएको । यस्तो चलनले उनीहरुलाई आफ्नो खुट्टामा
उभिन निकै सहयोग गर्दो हो ।
म विशेषगरी आमाहरुले भन्ने गरेको
सुन्छु, “मेरो छोरालाई त भात पकाउन पनि आउँदैन
।” यस्तो कुरा सुनेर म छक्क पर्छु । लाग्छ, यो
गर्व गर्ने विषय होइन । सामान्य खाना बनाउन त सबैले जान्नुपर्छ । नत्र एक्लै परेको
बेला भोकै बस्नु ? या सधैँ बाहिरबाट मगाउनु ?
एकचोटि इन्डियाबाट एउटा केटो स्नातक तह
पढ्न अष्ट्रेलिया गएछ । त्यो बेलासम्म ऊ घर छोडेर कतै गएको रहेनछ । अष्ट्रेलिया त
गयो तर त्यहाँको रहनसहन केही नबुझेपछि आत्तिएर ऊ पढाइ शुरु नै नगरी इण्डिया नै
फर्किएछ ।
कुरैकुरामा मैंले छोरासँग अमेरिकामा तेरा कस्ता
कस्ता साथी छन् भनेर सोध्दा उसले मलाई निकै घतलाग्दा कुरा सुनायो । उसले चाहिँ बाबु आमाको कडा
निगरानीमा हुर्केका युवाको अर्कै खालको कमजोरी देखेको कुरा गर्यो । कहिल्यै पनि
आमाबाबुको नजरबाट पर जान नपाउँदा, विदेशमा
अचानक पाएको स्वतन्त्रतालाई उनीहरुले उत्तरदायीपूर्ण तरिकाले सम्हाल्न नसक्ने
रहेछन् ।
मेरो छोराले चिनेकै एउटा केटो यतिसम्म
सुरक्षा घेराभित्र रहेछ कि उसले विदेश जानु अगाडि एक रात पनि आमाबुबाबिना बिताएको
रहेनछ । जब उसले अमेरिकन कलेजले दिने स्वतन्त्रता चाख्यो, उसले त्यसलाई व्यवस्थापन गर्न सकेन । हरेक रात
रमाइलो गर्ने क्रममा चाँडै नै यसको असर उसको पढाइमा पर्यो र उसले वर्षौंको मेहनतले
कमाएको छात्रवृत्ति पनि गुमायो । त्यहि स्वतन्त्रता र रमाईलोको लतले गर्दा उसले चाहेको विषय पनि पढ्न पाएन । सायद उसले बिस्तारै आमाबुबासँग नहुँदा कसरी जोखिम
ब्यवस्थापन गर्ने र जिम्मेवार तरिकाले आफ्नो पढाइ र मोजमस्ती गर्ने भन्ने कुरा
सिक्न पाएको भए त्यस्तो दुर्दशा बेहार्नु पर्दैन थियो होला ।
आफ्ना सन्तानलाई बिस्तारै पखेटा फैलाउन नदिएर
आमाबुबाले अन्जानमा तिनीहरुलाई एउटा थुनिएको चरा जसरी राख्छन् । यसले बढ्दो उमेरका
केटाकेटीलाई दुई तरिकाले असर पर्छ । एक त थुनिएको चरालाई राम्ररी उड्न आउँदैन ।
अर्को,
उनीहरु आमाबाबुविरुद्ध विद्रोह नै गर्छन् । केहि चरा धेरै जोडले पखेटा फड्फडाउँछन्
र थाहा नपाई भित्तामा ठोक्किएर भूर्इंमा पछारिन्छन् । केहि चरा त पखेटा नखोली आफू थुनिएको स्थानमै बसिरहलान् । तर यसरी थुनिएका
चराले बिस्तारै आफ्नो पिँजडाप्रति नकारात्मकताको अनुभूति गर्न थाल्छन् । जब एक युवालाई आफ्ना आमाबुबाले उसको स्वतन्त्रता हनन् गरे जस्तो लाग्छ, ऊ स्वतन्त्रताको खोजी गर्न थाल्छ र स्वतन्त्रता
पाएपछि बाबुआमाबाट टाढिदै जान्छ । आफ्नो पिँजडाका नमीठा सम्झनाहरुले गर्दा कहिल्यै
घर नफर्की ऊ आफ्नै बाटाको बारेमा मात्रै सोच्छ । उसका आमाबुबाले उसलाई कैदी
बनाएजस्तो लाग्न सक्छ र ऊ आमाबुबाप्रति नकारात्मक हुन्छ । तर जानीजानी कुनै पनि
आमाबाबु आफ्नै सन्तानलाई कैदी भएको अनुभुति गराउन चाहँदैनन् । मायाले गर्दा आफ्ना
छोराछोरीलाई सान्सारिक घनचक्करबाट जोगाएर राखेको भन्ने उनीहरु सोच्लान् तर समझदार
आमाबाबुले आफ्ना छोराछोरीलाई परिपक्व बनाउन बिस्तारै उनीहरुलाई आफ्नै खुट्टामा
उभिन दिनु पर्छ ।
आफ्नो महत्व
घरको सुरक्षा नछाडिकन बाहिरी दुनियाँको असली चरित्र थाहा पाउन गाह्रो हुन्छ । त्यसैले पनि घरको मायालु वातावरणबाट अलि पर जानु र आफ्ना खुट्टामा उभिनु नितान्त जरुरी हुन्छ । आफ्नो बारेमा आफूले थाहा नपाउँदा कस्तो दूर्दशा हुन सक्छ भन्ने कुरा यो छोटो कथाले अझ स्पष्ट पार्ला । एउटा हरिण झन्डै ९० कि.मी. प्रति घण्टाको रफ्तारमा दौडिन सक्छ । अनि सिंह कस्सिएर दौडिदा ५८ कि.मी. प्रतिघण्टा मात्र दौडिन्छ तैपनि सिंहले हरिणलाई खेदेर मारेर खान्छ । किन होला ?
किनभने हरिणलाई आफ्नो दौडने क्षमताको
बारेमा थाहा हुँदैन । उसले केवल सिंह हिंस्रक जीव हो र यसले मलाई मार्छ भन्ने
मात्र संझन्छ । त्यस भयले गर्दा हरिण बारम्बार सिंहलाई पछाडि फर्केर हेर्छ र एक
प्रकारले बिस्तारै आत्मसमर्पण नै गर्छ । यदि हरिणले आफ्नो दौडने शक्ति थाहा पाउने
हो भने पक्कै पनि सिंहले समात्न सक्ने थिएन । त्यस्तै गरी मान्छेले पनि एकपटक घर
छाड्ने आँट नगर्ने हो भने आफ्ना बारेमा थाहै नपाई जुनी बित्न सक्छ ।
घर छाड्नु भनेको आत्मनिर्भरताको पाठ
पढ्नु पनि हो । आफैंले दुःखजिलो गरेर खाने र बस्ने परिस्थितिमा धेरै कुरा सिक्न
सकिन्छ । बाबुआमामा निर्भर गर्ने भन्दा आफ्ना खुट्टामा टेक्ने युवाहरु नै पछि गएर
जीवनमा केही गर्न सफल हुन्छन् । अर्काको मात्र भर पर्दा के सम्मको परिस्थिति आउँछ
भन्ने बारेमा एउटा रोचक कथा छ ।
एउटा बूढो मानिस बाटोको छेउमा बसेर
गुजारा चलाउँदो रहेछ । ऊ वास्तवमा कसैसँग केही माग्दो रहेनछ र आशा पनि गर्दो रहेनछ
। यस्तै हिउँ परेको एक रात एउटा धनाढ्यले त्यस बूढाप्रति दया देखाउँदै भनेछ– “ओहो
यस्तो जाडो छ । तिमीसँग सिरक, कोट
केहि छैन ?” बूढाले भनेछ, “छैन । म यस्तैमा बानी परेको छु ।” अनि त्यस
करोडपतिले एकैछिनमा न्याना लुगा र सिरक ल्याइदिन्छु पर्ख है भनेर आश्वासन दिएछ ।
यता बूढो चिसोमा पर्खी बसेछ । अब आउला, तब आउला भन्दा भन्दै रातै कटेछ । धनी मान्छेले घरमा पुगेपछि त्यो कुरै बिर्सेछ । भोलिपल्ट आफैंले गरेको प्रतिज्ञा झल्याँस्स संझेर दौडेर जाँदा पो बूढो त अघि नै मरिसकेछ । त्यहाँ त्यस बूढाले एउटा चिट्ठी लेखेर छाडेको रहेछ । त्यस चिट्ठीमा के लेखिएको रहेछ भने, “मसँग वर्षौंदेखि न्याना लुगा थिएनन् । तर म जस्तै चिसो पनि झेल्न सक्छु भन्ने मलाई लाग्थ्यो र मैले झेलिआएको पनि थिएँ । तर तिमीले न्याना लुगा र सिरकको आशा देखायौ । म त्यसका भर परेँ । मेरो त्यो चिसो झेल्ने शक्तिलाई आज तिमीमाथिको परनिर्भरताले जित्दैछ । शायद अब म तिम्रा कुराका भर परेकाले उज्यालो पार्दिन होला ।”
वर्षौंदेखि हिउँ र तुसारो खपिआएको
बुढोलाई आशक्तिले ढालेछ । ए्क्लै बाँच्न र अरुको भर नपर्न पनि घर छाडेपछि मात्र सिकिने हो । यस
अर्थमा समर्थवान् बन्नु छ भने हाम्रा ससुराबाले भने जस्तै घर छाड्नै पर्ने हो ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 7 January 2022)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
No comments:
Post a Comment
I would appreciate any and all suggestions on making improvements (as long as they are viable).