यसपाली गायिका विष्णु माझीको ‘चरी जेलैमा’ गीतले तीजको मर्म समाएर बजार लिएको छ । तीज गीतले महिलाहरुका पीडाका भारी बोकेको हुन्छ । खासगरी यस्ता गीतले विवाहित महिलाका आन्तरिक ब्यथाका मर्मलाई समाएको हुन्छ । यी शताब्दिऔं देखि तीज विषेश भनेर गाइएका महिलाका पेवा गीतहरु किन यति धेरै पीडामिश्रीत होलान् ? महिलालाई पिंजडाको चराको बिम्ब प्रयोग गरिएको ‘चरी जेलैमा’ गीत पनि हप्ता दिनमा झण्डै करोड पटक यूट्यूबमा हेरिएछ ।
एक समय थियो – महिलाहरु साँच्चै नै पिंजडाभित्र थिए । मानसिक र भौतिक
दुवै रुपमा उनीहरु बन्धनमा थिए । समाज कृषि केन्द्रित थियो । यस परिस्थितिमा
महिलाका लागि शिक्षा र रोजगारका अवसरका ढोका प्रायः बन्द थिए । त्यसबेलाका योगमाया
जस्ता क्रान्तिकारी महिलाहरुका वीर गाथा आज हामी मिथकका रुपमा सुनिरहेछौं, पढिरहेछौं
। पछिल्ला सय वर्ष यता नेपाली नारीहरु बिरलै मात्र सामाजिक बन्धन खुस्काएर बाहिरी
दुनियाँमा निस्किए होलान् । नेपाली प्रजातन्त्रका लागि अघिल्ला चरणमा संघर्षमा
होमिएका महिलाहरु पनि केहि औंलामा भाँच्न सकिने मात्र छन् ।
कृषिमा आधारित पुरातन समाजमा कामदारकै रुपमा बढि हेरिएका नाबालक चेलीहरु विवाह गरेर ल्याइन्थे र पठाइन्थे । हाम्रा आमा, हजुरआमाहरु नै यस कुराका प्रत्यक्ष उदाहरणहरु हुन् । पुराना तीज गीतले ती आमाहरुका दुःख, पीडा, संघर्ष, बिरह र वेदना बोकेका थिए । तिनै आमा, हजुरआमाहरुले तीज उत्सवमा गाउने बिरही भाका आजसम्म चलिरहेको छ । बाटोघाटो, सञ्चारका साधन र यातायात नभएको समयका तीज गीतले जति आँसु झार्थ्यो र पीडा समेटथ्यो आज त्यो स्थिति छैन । कानूनी रुपमा बाल विवाह वर्जित छ, साक्षरताको प्रतिशत बढेको छ, यातायात र सञ्चारले माइती र घरको दुरी छोट्याएको छ ।
बदलिएको समय
गएका तीन दशक यता समय बदलिएको छ । अन्य विकसित मुलुकसँग दाँजेर
हेर्ने हो भनें त हामी पछाडि नै छौं तथापि हाम्रा आमाहरुको समयभन्दा अहिलेको समय
खुकुलो भएको छ । शिक्षाको पहुँच सबैतिर समान रुपमा नपुगे पनि आर्थिक आय उपार्जनका
अवसरहरु खुलेका छन् । अब महिलाकै नाममा हुने थिचोमिचोका विरुद्ध व्यक्ति र समाज
दुबैले आवाज उठाउन थालेका छन् । महिलाहरु आफ्ना लागि र अर्काका लागि बोल्न थालेका
छन् । उनीहरुमा हक र अधिकारको चेत पलाएको छ । यी सबै परिवर्तनका पछाडि सामाजिक र
राजनैतिक चेतनाले त काम गरेको छ नै, त्यो भन्दा पनि
ठूलो कुरा त महिला आय आर्जनका उपलब्ध अवसरहरु नै महिला सशक्तिकरणका आधारहरु हुन्
जस्तो लाग्छ मलाई ।
पहाडबाट केटाकेटीको उज्वल भविष्य खोज्दै मधेश झरेका बहुसंख्यक
महिलाहरुले व्यवहार थामेर श्रीमानलाई विदेश पठाएका हुन्छन् । उनीहरु अलिकति
कृषिजन्य आय आर्जन, अलिकति साना व्यापार वा घरेलु तान बुन्नमा ब्यस्त देख्छु म ।
महिलाहरुले आय आर्जनकै कारणले व्यक्तिगत स्वतन्त्रता र सम्पन्नता उपभोग गर्न पाएका
हुन्छन् । भर्खरै मात्र एक मुश्लिम समुदायकी अपठित महिलाले आँट र साहसको भरमा करोडौंको गार्मेन्ट व्यवसाय चलाइरहेको कथा
पढिरहेकी थिएँ म । हसिना खातुनले शूण्यबाट शुरु गरेको व्यवसायका पछाडि उनको आफ्नो
आँट, सामाजिक हौसला र पुँजीको सहज उपलब्धताले ठूलो भूमिका खेलेको रहेछ ।
हाम्रो छिमेकमा पहाडबाट झरेकी मनिता सम्बाहाम्फे बस्छिन् । उनी सानो
जमीनको टुक्रामा आफूलाई पुग्दो तरकारी उब्जाउ गर्छिन्, सुँगुर, कुखुरा
र भैंसी पाल्छिन्, अलिकति अधियाँ खेती गर्छिन् ; अनि फूर्सद
निकालेर घरेलु सहायकको काम पनि गर्छिन् । वैदेशिक रोजगारमा भएका उनका श्रीमान्
समेतको प्रयत्नले उनीहरुले सात कठ्ठा जग्गा समेत जोडेका छन् । यस्ता उदाहरणीय
जोधाहा नारीहरु समाजमा प्रशस्त छन् । उनीहरु एक्लै व्यवहार थाम्नुपर्दा
स्वनिर्णयकर्ता बनेका छन्, स्वाभिमानको रक्षा गर्न सक्ने भएका छन्
र परिवार रक्षाको जिम्मेवारी उठाउन सक्ने भएका छन् ।
उज्यालो संकेत
हाम्रो समाजमा महिलाहरुको श्रमको गणना हुन थालेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा महिला उत्पीडनका कथासँगै उनीहरुका प्रगतिका कथा पनि आउन थालेका छन् । एउटी महिलामाथि भएको हिंसा अब सहज रुपमा दबाउन सक्ने अवस्था छैन । यी सबै कुराका पछाडि महिला आत्मनिर्भरताले प्रमुख भूमिका खेलेको हुन्छ ।
महिला शिक्षाको अपरिहार्यता त कसैले नकार्न सक्दैन । आँट र साहस भएका
महिलाहरुलाई पनि अवसरहरु उपलब्ध छन् । हाम्रो टोलका घरमध्ये प्रायः प्रत्येक घरमा
कम्तिमा एकजना कामकाजी महिला हुनु शुभ संकेत हो । सहज पुँजीको उपलब्धताले पनि
महिलाहरुलाई आत्मनिर्भर हुन सहयोग गरेको छ । महिलाहरु आत्मनिर्भर हुने बित्तिकै
उनीहरुमाथि हुने विभेद र अत्याचार आधा भएर जान्छ जस्तो लाग्छ मलाई । परनिर्भरताको
स्थिति समाप्त हुनासाथ एउटी महिला आफ्ना लागि बोल्न सक्छे । उसले आफूमाथि हुने
अन्याय विरुद्ध आवाज उठाउन सक्छे । त्यसैले आत्मनिर्भरता भनेको स्वनिर्णयर्ता हुनु
हो, आत्मविश्वास हो र आत्मसम्मान पनि हो ।
पचास वर्ष अघिको आमा पुस्ता र अहिलेको छोरी पुस्तामा ठूलो भेद छ ।
छोरी पुस्ताले यसबिचमा लामो फड्को मारिसकेका छन् । लैङ्गिक समानताको कुरा
गर्नुपर्दाचाहिँ सामाजिक विभेदको खाडल फराकिलो छ । अवसरका उपलब्धता बराबर छैनन् ।
तैपनि शैक्षिक, प्रशासनिक, राजनैतिक र सामाजिक क्षेत्रमा जेजति
महिलाहरु अगाडि आएका छन्, तिनीहरुले आउँदा पुस्तालाई अगुवाई
गर्नेछन् ।
जेल ब्रेकर जे. बी. दाइ
केहि दिनअगाडि मात्र जे. बी. टुहुरे दाइको निधन भयो । उनलाई म
जेलब्रेकर जे. बी. दाइ भन्छु । प्रतिबन्धित समयमा ज्यानको बाजी थापेर सिङ्गो
देशलाई नै गीतको माध्यमबाट जुरुकजुरुक पार्ने खुबी भएका जनवादी गायक टुहुरे जनताका
मनमुटुमा युगौंसम्म रहिरहन्छन् । कुनै पनि राजनीतिकर्मीले भन्दा उनले जनमानसमा
गहिरो छाप छोडेका छन् । उनी हरेक उत्पीडित वर्गमा सहज लय भएका गीतहरुमार्फत पुगे ।
उनको जनजागरण अभियान बन्दनीय छ । हाम्रा विचारको संकुचनबाट बाहिर निकाल्ने, झक्झकाउने
र अन्याय विरुद्धका गीत जनजनमा पुर्याउने मानिस जेलब्रेकर हो । हाम्रो संकुचित
मनस्थितिको जेल ब्रेक गराइदिने जे. बी. टुहुरेमा श्रद्धान्जली ।
छैनन् चरी जेलैमा
घरेलु चौघेरा, चुला चौका, पारिवारीक बाध्यता भन्ने तर्कहरु अहिलेको समयमा फितला साबित हुन सक्छन् । केहि अपवाद बाहेक यी पुरातन जेलबाट आजका महिलाहरु मुक्त हुन सक्छन् । अब नेपाली नारीहरु चरी होइन नारी भएर उभिन सक्छन् । परिवर्तनका क्रममा रहेको मुलुकमा कसैको बाटो नहेरी अगाडि बढ्न सक्ने अवसरहरु अब उपलब्ध छन् । तीजका गीतमा वर्णीत बाध्यताको स्थितिमा परेकालाई एकअर्काले होस्टे हैंसे गर्ने हो भनें नारीले चरी हुनु पर्दैन र बाध्यताको जेलमा बसिरहनु पर्दैन । अब तीजमा हर्षका, उल्लासका, नारी शक्तिका र आत्मविश्वासले भरिएका गीतहरुमा हामी नाच्न सकौं । अन्त्यमा, सम्पूर्ण महिला दिदी बहिनीहरुलाई महिला वाक् स्वतन्त्रताको प्रतिनिधित्व गर्ने पर्व तीजको शुभकामना ।
(Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 3 September, 2021)
[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]
जनचेतना मुलक लेख,अब नेपाली नारीहरु चरी होइन नारी भएर उभिन सक्छन् ।
ReplyDeleteलेखकलाई हार्दिक बधाई ।