Monday, 6 April 2020

सपनाका कुरा


सपना थरीथरीका हुन्छन्। एक, निदाएपछि देखिने सपना, अर्को ननिदाईकनै मनमनै खयाली पुलाउ पकाउदै देखिने सपना जसलाई अंग्रेजीमा डे ड्रिमिङ्ग भनिन्छ तेस्रो किसिमको सपना आफुलाई जीवनमा के गर्न मन लागेको भन्ने कुराको सपना। यो लेखमा चर्चा गर्न खोजिएको सपना चाहिं तेस्रो किसिमको हो। 
  
यस्ता सपना देख्नलाई कसैले छेक्न सक्दैन। त्यसैले हजारौं मानिसका सपना पनि हजारौं नै हुन्छन्। कसैको सपना विदेश गएर पैसा कमाउने हुन सक्ला, कसैको नेपाल सुन्दरी भएर आफ्नो देशलाई अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने हुन सक्ला, अनि कसैको भने सरकारी जागिरमा पस्ने। सबै मानिसका सपना किन समान हुँदैनन् ? यो पनि एउटा मन्थन गर्न सकिने विषय बन्न सक्छ।   

सम्भवत मानिसलाई कुनै सपना पाल्न धेरै कुराले प्रभाव पारिरहेको हुन्छ। जस्तै, आफ्नो पारिवारिक वातावरण, व्यक्तिगत चाहना, शैक्षिक वातावरण या भनौ आफ्नो समाजको बनावट। यस्तै कुराहरुको पुष्टि पत्रकार लेखक अश्विनी कोइरालाको 'उनी'  पुस्तकमा वर्णित लक्ष्मी राई सिर्जना जोशीका सपनाले गरेका छन्। हुन यो पुस्तकमा कोइरालाले हाम्रो समाजका ३६ प्रतिनिधि महिला पात्रहरुको कथा अन्तर्वार्ताका रुपमा सँगालेका छन्। अनि ती महिलालाई उनीहरुले भनेका कथाका आधारमा  "वर्ग", "सशस्त्र द्वन्द्व", "स्वतन्त्रता"," प्रेम", "प्राप्ति", "सफलता","अगुवा", "प्रतिभा" "संघर्ष" "अल्पसंख्यक", "अनुसन्धान", "कला", "श्रीमान्"," गृहिणी", "मृत्युअघि" " अन्त्यमा" गरि १६ भागमा विभाजित गरिएको छ। यी ३६ जना महिलामध्ये वर्ग समूहभित्र परेका लक्ष्मी राई सिर्जना जोशीका सपना दुई विपरित बिन्दुबाट उब्जिएका भएर बढी रोमान्चक छन्।     


लक्ष्मी राई विपन्न परिवारकी महिला पात्र हुन्। उनको जीवनको सार भनेको धादिङ्गको नागढुंगामा बसेर गिट्टी कुट्नु घरखर्च जुटाउनु हो। त्यसैले उनको सपना पनि आफ्नै जीवनको पृष्ठभूमिसँग मिल्दोजुल्दो छ। लक्ष्मी, जसलाई, "श्रीमान् ले रक्सी नखाएको दिन मालिकले ढुंगा कुटेको पैसा दिएको दिन खुशी लाग्छ," कस्तो सपना देख्तिहुन्? उनको सपना उनीजस्तै साधारण छ। उनी भन्छिन्, उनको आफ्नै एउटा रेडियो होस् उनी त्यहि रेडियो सुन्दै सुन्दै गिट्टी कुट्न पाउन्। आजको यो उच्च प्रविधिको युगमा पनि लक्ष्मीको सपना एउटा सानु रेडियोमा अल्झेको छ। उनलाई टेलिभिजन, इन्टरनेट अथवा मोबाइल फोनको व्यापकताको कुनै अत्तो पत्तो नै छैन। त्यसैले उनका सपनाले यस्ता चिजबीज छुनै सक्तैनन्।   


यसै पुस्तकमा वर्णित अर्की पात्र हुन् - सिर्जना जोशी। जोशी एक मिडियाकर्मी हुन्। उनले आफ्नो जीवनमा सम्पन्नता राम्रैसँग चाखेकी छन्। उनी आफ्नो खुट्टामा आफैं उभिएकी सफल महिला हुन्। उनी लेटेस्ट भर्सन् को आइफ़ोन बोक्न, म्याक एअर बुक ल्यापटप चलाउन, हरेक वर्ष विदेश भ्रमण गर्न विदेशमै आफुलाई मन लागेका कुराको किनमेल गर्न सक्षम छिन्। उनकै अनुसार विदेशको एक साधारण घुमघाममा करिब पाँच लाख नेपाली रुपैयाँ खर्च हुने गर्छ। यस्ती महिलाको सपना चाहिं कस्तो होला ? लक्ष्मीको जस्तो चानचुने पक्कै नहोला ! सिर्जनाको सपना भनेको मर्सिडिज बेन्च कार चढ्नु हो। उनी सधैंभरि आफुले चाहेको सामान पैसाले किन्न नसकिने कुरामा सहमत छन्। सिर्जना भन्छिन् , "मलाई मर्सिडिज बेन्चको सिएलएस ५०० नामको गाडी चढ्न मन लागेको छ। यो मेरो ड्रिम कार हो। नेपालमा आइपुग्दा यसको मूल्य दुई करोड दश लाख जति पर्छ। तर यो गाडी हाँक्न नेपालमा भनेजस्तो सडक नै छैन। एउटी महिलाले यो गाडी चढने सपना देख्नु आर्थिक कारणले पनि ठूलै कुरा हो। " यसरी पैसाको नभएर बाटोको समस्या भएकाले सिर्जनाको सपनाले पखेटा लाउन सकेको छैन। 
       
लक्ष्मी सिर्जना पारिवारीक, आर्थिक,शैक्षिक, सामाजिक हिसाबले दुई विपरित पृष्ठभूमिका पात्र भए पनि उनीहरुलाई आफ्ना सपना उत्तिकै महत्वपूर्ण प्रिय लाग्न सक्छन्। कारको जस्तै रेडियोको पनि ब्राण्ड हुन्छ भन्ने कुरासँग बेखर लक्ष्मीलाई एउटा "आफ्नो" रेडियो मात्र भए पुग्छ, जुनसुकै ब्राण्डको होस्। यसको विपरित सिर्जनाजस्ती सचेत महिलालाई ब्रान्डको महत्व कत्तिको हुन्छ राम्ररी थाह छ। त्यसैले उनी उच्च ब्रान्डको मर्सिडिज बेन्च कारमा चढ्ने सपना देख्न हिचकिचाउँदिनन्। यस्तो कार किन्ने क्षमता उनीसँग हुँदाहुँदै हिचकिचाउनु पनि किन ?


जे होस्, मान्छेलाई सपना देख्ने जति स्वतन्त्रता भए पनि पूर्ण रुपले स्वतन्त्र भएर सपना देख्न सक्तैन भन्ने कुराको उदाहरण हुन् - लक्ष्मी राई सिर्जना जोशीका सपना। लक्ष्मीको परिधिले उनलाई रेडियोभन्दा माथि गएर सपना देख्ने साहस दिएन भने सिर्जनाको परिधिले चाहिं एउटा उच्च कोटीको कार। सपनै हो भनेर उनीजस्ती सम्पन्न महिलाले एउटा प्राइभेट जेट किन्ने सपना पनि देख्न सक्थिन् तर उनले आफ्नु गच्छेभन्दा माथि गएर त्यसो गरिनन्। यति हुँदाहुँदै पनि सबैलाई आफ्ना साना ठूला सबै सपना प्यारा लाग्छन्।  त्यसैले ईश्वर वल्लभ आफ्नु गीतमा  भन्छन्, "हजार सपनाहरुको माया लागेर आउँछ        
 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa)       




Tuesday, 31 March 2020

सुच्चु दिदी


असोज २८, २०७६

प्यारी सुच्चु दिदी,

आज १० /१२ दिनको अन्तरालपछि जब म आफ्नु फेसबुक पेज हेर्दैथें, एउटा हेडलाइनमा गएर मेरा आँखा टक्क अडिए - "सुचिता खनाल जिवीत हुँदाको स्मरण - 'अनि म फुच्ची पनि ब्रोकर भएँ '"; के हो यो भनेर मैंले दोहोर्याएर पढें। विश्वास लागेन र त्यसमा गरिएका कमेन्टमा गएँ। मेरो मन एकदमै भारी भएर आयो। मलाई पत्याउनै मन लागेन ती कमेन्टमा लेखिएका कुरा ! 


सुच्चु दिदी, हजुरका अनेक चित्र मभित्र गाढा भएर आए र म तिनलाई तह नलगाई नसक्ने भएँ। केहि समयदेखि सुतेको मेरो कलम हजुरको सम्झनामा उठेको छ।  


सुच्चु दिदी भन्नेबित्तिकै मलाई लामु कपाल दुई चुल्ठा बाटेर बिहान बिहान युनिफर्म साडी लगाएर क्याम्पस जाने केटीको सम्झना आउँछ। हजुरको हँसिलो मुहार र हँसाउने बानीलाई म कसरि बिर्सन सक्छु र ? एक दिन कुरै कुरामा बिना माइजुले सुच्चु भान्जी र सुमिता भान्जीमा सुमिता भान्जी राम्री हुनुहुन्छ भन्दा मैंले "मलाई त सुच्चु दिदी नै राम्री लाग्छ," भनेकी थिएँ। त्यतिबेला हजुर मलाई हेरेर नपत्याए जसरी हाँस्नुभएको थियो। तर मैंले त साँचो कुरा भनेकी थिएँ, सुच्चु दिदी! बिना माइजु मात्र होइन अरु मान्छे पनि हजुरहरु दुई दिदी बहिनीलाई तुलना गरेर सुमिता दिदीलाई नै राम्री भन्थे। तर मलाई त हजुर नै राम्री लाग्थ्यो ! सुमिता दिदीसँग म धेरै नबसेकी र हजुरसँग नजिक भएर मलाई त्यस्तो लागेको हुन सक्छ !  
  

जब अञ्जना दिदी मास्टर्स गर्न काठमाण्डौ जानुभयो तब म हजुरसँग अझ नजिकिएँ। हजुरले मलाई आफ्नै बैनीजस्तै ठानी आफ्नु कोठामा राख्नुभयो। मलाई विराटनगरको सम्झना आउँदा आफ्नु घरकोभन्दा बढी हजुरहरुकै घरको आउँछ। मैंले हजुरहरुसँग त्यो घरमा धेरै आत्मिय पलहरु बिताएकी छु। मम्मीको सेतो कपाल टिपीदिन होस् वा पूजाभाँडा माझ्न ; साँझबत्ती  बाल्न होस् वा डईडीलाई कुरा सुनाउन, बेनुको उपस्थिति बाक्लै हुने गर्थ्यो। एक दुई दिन मलाई देख्नु भएन भने डईडी "बेनु कहाँ गैछन्?" भनेर मेरो खोजी गर्न थाल्नुहुन्थ्यो। आफ्ना तीन छोराछोरीलाई दिइकन पनि मम्मीसँग हामीलाई दिने माया प्रशस्तै हुन्थ्यो। त्यसैले त मुवाँबुवालाई धनकुटामै छोडेर आए पनि मलाई उहाँहरुको न्यास्रो धेरै लाग्दैनथियो। 


करिब २ /३ महिना मैंले हजुरसँग कोठा शेयर गरेँ होला। हामी कसरि मिलेर काम गर्थ्यौं, होगि ? कैले कैले डल्ली बिरामी पर्दा म भाँडा माझ्थें, हजुर पखाल्नुहुन्थ्यो  , अनि हजुर माझ्नुहुन्थ्यो, म पखाल्थे।  


विराटनगरपछि हाम्रो भेट फेरि काठमाण्डौमा भयो। हामी त्यतिबेला कीर्तिपुरमा बस्थ्यौं र हजुरहरु जावलाखेलमा बस्नुहुन्थ्यो। हजुरहरुलाई भेट्न म आइरहन्थे। अनि मम्मी पनि चाडपर्वमा बोलाइरहनुहुन्थ्यो। हजुरहरु जावलाखेलमै हुँदा एकपटक हजुर र मैंले रातको १२/१ बजेसम्म गफ गरेका थियौं। त्यतिबेला हजुरले आफ्ना धेरै अन्तरंग कुरा मलाई सुनाउनु भएको थियो।  

म सम्झिन्छु, हजुरको विवाह भएपछि अञ्जना दिदी र म हजुरलाई भेट्न गएका थियौं। भिनाजुको अफिसको क्वाटर पनि शायद जावलाखेलमै थियो (कुन ठाउँ ठ्याक्कै मेरो सम्झनामा आएन अहिले)। मैंले "भिनाजुको नाम चैं के हो नि सुच्चु दिदी ?" भनेर सोद्धा हजुरले , "रामेश्वर," भन्नुभयो। अनि फेरि, "रामेश्वर, परमेश्वर," भन्दै खित्का छोडेर हाँस्नुभयो। हामीले पनि हजुरको हाँसोमा हाँसो मिलाएका थियौं। 
     

हजुरलाई याद छ, हजुर शेयर बजारमा ब्रोकर भएपछि हजुरको बारेमा पहिलो आर्टिकल लेख्ने मैं त थिएँ नि ! "महिला दलाल " भनेर कान्तिपुर दैनिकको अन्तिम पेजमा हजुरको ठूलो, राम्रो फोटोसहित त्यो आर्टिकल छापिएको थियो। समयसँग बग्दै बग्दै हाम्रा बाटाहरु बदलिए। हाम्रो भेटघाटको क्रम पातलिंदै पातलिंदै शुन्य भयो। 
     

धेरैपछि एकपटक अकस्मात् हाम्रो भेट पुतलीसडकमा भएको थियो। हजुरका र मेरा आँखा जुधे। त्यसपछि हामीले एकअर्कालाई अँगालो हालेका थियौं। त्यतिबेला पनि हजुर उत्तिकै आत्मिय हुनुहुन्थ्यो। ज्वाईं पनि मसंगै हुनुहुन्थ्यो। तर हजुरर्संगको अनायासको भेटमा खुशी भएर मैंले हजुरको र ज्वाईंको परिचय गराउन नै बिर्सेंछु। मलाई पछि पो थक्क थक्क लाग्यो। 

हजुरसँग मेरो अन्तिम भेट सुमन दाजु बित्नु भएको बेला भएको थियो। हजुरलाई देख्नेबित्तिकै म भक्कानिएर रोएकी थिएँ। हजुरले धेरैबेर मेरो हात समाउनुभयो। त्यो समय नै  दु:खको थियो , हजुरले आफ्नु एक मात्र दाजुलाई असमयमै गुमाउनु परेको थियो। त्यसैले हामीले धेरै कुरा गर्न सकेनौं।  

एकचोटि अञ्जना दिदीसँग भेट हुँदा हजुरले, "अञ्जना दिदी हामी भेट्नुपर्छ। बेनुलाई नि लिएर आउनु ल," भन्नुभएको थियो रे ! खोई त त्यो दिन आएको ? दुई /तीन महिनाअगाडि मात्र  अञ्जना दिदीले ,"सुच्चुलाई नि ब्रेस्ट क्यान्सर भएछ , " भनेर सुनाउंदा मैंले त्यसलाई सामान्य रुपमै लिएकी थिएँ, सुच्चु दिदी ! मलाई लाग्यो, आजकल क्यान्सरको उपचार छ। मनिषा कोइरालाको फोर्थ स्टेजको क्यान्सर त निको भयो, हजुरको त फस्ट वा सेकेन्ड स्टेजको होला, निको भैहाल्छ।

अनि आज अचानक सुच्चु दिदी अब हुनुहुन्न भन्ने पढ्दा म कति विचलित भएँ, थाहा छ हजुरलाई? राती धेरै बेरसम्म सजीव भएर हजुर मेरोसामु आइरहनुभयो। 





हजुरको छोटो जीवन अर्थपूर्ण रह्यो, सुच्चु दिदी ! नेपाली महिलाका लागि हजुर प्रेरणाको स्रोत बन्नुभयो। शेयरबजार भनेको पुरुषहरुको मात्र हो भन्ने मान्यतालाई हजुरले तोडिदिनुभयो। नेपाली शेयरबजारकी पहिलो महिला दलाल "सुचिता खनाल" को नाम कहिले  मेटिने छैन। हजुरपछि पक्कै अरु महिला पनि त्यो क्षेत्रमा आए होलान् !  
  

हजुर भौतिक रुपमा नरहनुभए पनि मेरो हृदयमा सधैं मीठो संझना बनेर रहिरहनुहुनेछ। हजुर जहाँ भए पनि खुशी हुनु र हजुरको आत्माले सधैं शान्ति पाओस्।          

बेनु।