Friday, 4 June 2021

पटेलको राजनीति

 

फारसी कवि जलालुद्दिन रुमीलाई बुझ्न खोज्दैछु।  सन्दर्भ फरक होला तर उनको कविताको यो सानो उद्वरणले मलाई छुन्छ। 

हरेक श्वासमा

भक्तिको बीज रोप्छु

किसान हृदयको।  


हो, यसैगरी पटेल भाइ बढो तन्मयतापूर्वक  विश्वासका बीउ रोप्छ - हाम्रो घरछेउको सानो बारीमा।  घाम, पानी, जाडो, गर्मीको  उसलाई कुनै पर्वाह छैन।  उसले माटोको भोक तिर्खासँग आफूलाई समाहित गरेको छ।  माटो सँगै बोल्छ, माटोसँगै हाँस्छ, माटोसँगै गुन्गुनाउँछ । 

निषेधाज्ञाको समय छ।  घरबाट बाहिर कतै निस्कन पाइँदैन ।  कोठाभित्र कति बस्नु ? दिक्क भएर आफ्नो परिवेश नियाल्छु।  हाम्रो घरदेखि  तलतिर पटेल भाइको परिवार आएर बसेको   - दुई महिना अगाडिदेखि।  यसो तलतिर हेर्छु - पटेल भाइ माटो सुमसुम्याईरहेको हुन्छ।  माटो कति प्रिय उसलाई।  उसको पेशा नै तरकारी खेती गर्नु हो।  उसका हजुरबुवा २०/२५ वर्षअगाडि  अवसरको खोजीमा आफ्ना लालाबाला च्यापेर भारतको सीतामढीबाट नेपाल छिरेका थिए अरे।  तीन पुस्तादेखि दमकमा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने काममा जमेका छन् उनीहरु।  हजुरबा बितिसके।  बाबु बूढा छन्।

पटेल परिवारको माटो प्रेमप्रति आकर्षित हुन्छु।  पटेलभन्दा अगाडि पनि यो जमीनमा कसै कसैले केही केही बाली लगाउने गरेकै थिए। तर मैले ती कसैमा माटोप्रति त्यस्तो लगाव देखेकी थिइन। गर्मीले हामी खुइ खुइ गर्दै पंखामुनि बसिरहेका बेला उनीहरु तन्मयताका साथ तरकारी बारी गोडिरहेका हुन्छन्।  दर्के झरी थामिनेबित्तिकै कोदालो लिएर जमेको पानी कटाउने काममा जुटिहाल्छन्। 

   "पानीले गर्नु गर्यो नि भाइ ? " अलि चासो देखाउने स्वरमा सोध्छु।  " केही छैन आन्टी।  सब ठिक भैहाल्छ," निरढुक्क भएर भन्छ।  उसलाई केहीको हतारो छैन। निस्फिक्री भएर आफ्नो काममा लागिरहन्छ।  बेकामे भएर मानिसहरु आफ्ना आफ्ना घरमा थुनिएका बेला पनि पटेलको दिनचर्या बिग्रेको छैन। उसको सेरोफेरो त्यति ठूलो छैन। एउटा गाई, केही बाख्रा एक टुक्रा जमीन। बस् यतिमै रमाएको छ। 

बिहानै उठ्छ, दुध दुहुन्छ पुरानो साइकल टिपेर दुध पुर्याउन बजारतिर हुईंकिन्छ। करिब एक घण्टापछि फर्किन्छ फेरि श्रीमतीले टिपेर ठिक्क पारेका तरकारीका पोका लिएर त्यही साइकलमा बस्तीतिर छिर्छ।  हिजोआज लकडाउनले गर्दा मानिसका घरघरै पुग्छ व्यापार गर्छ।

 " के देख्छु सपना! सपना तपाईं जे देख्नुहुन्छ त्यही देख्छु। " पटेललाई ख्यालख्यालमा सोधेको प्रश्नको उत्तर थियो यो।  हो, हामी सबै एउटइ सपना देख्छौं ।  पटेल आफ्ना ससाना तीन छोराछोरीको सुन्दर भविष्यको सपना देख्तो हो। उनीहरु सफल भएका सुखपूर्वक बुढो हुन पाएको सपना देख्तो हो।  उमेरमा तीसको वरिपरिको पटेलले मलाई पर्ल एस बकको प्रसिद्द उपन्यास ' गुड अर्थ' को मुख्य पात्र वांगलुङ्गको सम्झना गराउँछ।  वांगलुङ्ग जस्तै पटेलका पुस्तौं पुस्ता माटोमै लडिबुडी गरिरहेछन्।  कच्चै उमेरमा पटेललाई माटोले धेरै गहिरो पाठ पढाएको छ। यदाकदा मलाई झसङ्ग पार्छ।तपाईं पढालिखा हुनुहुन्छ।  पढालिखा गरेर कमाएर भात खानुहुन्छ; लुगा लगाउनुहुन्छ, गाडी चढ्नुहुन्छ पनि त्यहिँ गर्छु।" "कसरी पटेल भाइ ? " भन्ने प्रश्नमा भन्छ, " तपाईं पनि कमाउनुहुन्छ, खानुहुन्छ, सुत्नुहुन्छ, बच्चाबच्ची हुर्काउनुहुन्छ। तपाई मा के अन्तर ? " हो झलक्क हेर्दा  फरक देखिए पनि पटेल ममा केही फरक छैन; हाम्रो जीवन जिउने क्रम उस्तै छ।


  " संसारमा कोरोनाको यस्तो बिगबिगी छ। महामारी छ। देशमा संकट छ।  राजनीतिक उथलपुथल छ। यसको चिन्ता छैन पटेल भाइ ? " उसको विचार जान्न खोज्छु। 

 

     " के गर्ने आन्टी, जे भएपनि आफ्नो काम छोड्नु हुन्न नि ! होइन ? मेरो राजनीति नै यहि हो। " पटेल भाइको  उत्तर हुन्छ।  हुन पनि हो, आम मानिसको जीवनलाई राजनीतिक खिचातानीले के नै पो गर्न सक्छ ? राजनीति जनताको थियो भने अहिलेको कोभिड-१९ को महामारीमा उनीहरुले सम्भव भएसम्मको राहत पाउँथे होला नि।  डाक्टरहरु एकै स्वरमा भनिरहेका छन् -- अहिलेको आवश्यकता भनेको खोप मात्र हो।  तर खै सरकारको कानमा बतास लागेको? यहाँ, जो आफ्नो ज्यानको समेत माया मारेर अहोरात्र बिरामीको सेवामा लागेका छन्, त्यस्ता डाक्टर नर्समाथि नै हमला हुन्छ।  खोइ कसले लिएको उनीहरुको सुरक्षाको जिम्मा? अपराधीलाई सजाय दिने संयन्त्र कहाँ ? सरकार भनेको जनताको सेवाको लागि हो कि होइन? देशमा लकडाउन छ, बहुसंख्यक मानिसको काम छैन, काम नभएपछि माम छैन।  जताततै त्रास छ।  रोगले भन्दा भोकले अझ ठूलो समस्या ल्याएको छ।  जनतालाई साथ सहयोग दिनुको सट्टा सरकार आफ्नै सत्ता कसरी टिकाउने भनेर अनेक तानाबाना मिलाउनमै व्यस्त छ।  अनि यो राजनीतिमा कसरी विश्वास गर्नु ? हुँदा हुँदा अब नेपाल सबैभन्दा भ्रस्ट राष्ट्रहरुको सूचीमा  समेत परेछ। 

अरु देशका जनताको लागि यो संकटपूर्ण समयसँग लड्नका लागि सरकारको साथ भए पनि नेपाली जनताले आफ्नो जिम्मा आफैं लिनुपर्छ। आफ्नो वशभन्दा बाहिरको कुरो हो भने ईश्वर  भरोसा ! यस्तै यस्तै कुराले मन बहकिंदा म बाहिर निस्केर पटेलको दिनचर्या नियाल्छु। मलाई उसकै राजनीति ठीक लाग्छ। उसले मलाई निरन्तर आफ्नो कर्ममा लाग्न प्रेरणा दिन्छ; ठान्छु अहिलेको स्थितिमा मैले गर्न सक्ने त्यति नै हो। पटेललाई उसका बाबु बाजेले तरकारी खेती गर्न सिकाए। त्यसैले माटोसँग खेलिरहन्छ। मेरा बाबु बाजेले मलाई अक्षरको खेती सिकाए। त्यसैले मेरो काम अक्षरसँगै खेल्नु हो भन्ने कुरालाई आत्मसात गर्दै फेरि एकपटक रुमीलाई  सम्झदै कोठा भित्र पस्छु।   

हरेक श्वासमा

भक्तिको बीज रोप्छु

किसान हृदयको। 

 (Published in a Nepali local daily Purbasandesh, Damak, Jhapa on 4 June, 2021)

[ The pictures on this blog are posted here with permission from their owners or have been gathered from various sources on the Internet. If you are the copyright-holder to any of the photographs herein do not hesitate to contact me. They will be swiftly removed if desired so.]